नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो । पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उहाँले भन्नुभयो । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । काठमाडौँमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुआत गर्ने परम्परासमेत अझै छ ।
नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो । हङकङको मिसन रोड क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा एक सय रनमा समेटियो । अष्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको सहयोगमा अविजित ५५ रन बनाए । त्यस्तै एलेक्स रोसले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि प्रतिशि जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै एक सय ११ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी लोकेश बमले ३३, राशिद खानले र विवेक यादवले समान १२/१२ रन बनाए । अष्ट्रेलियाका लागि दुवै विकेट ज्याक उडले लिए ।
काठमाडौँ: यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाइटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिनुभयो । “आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान तथा तराईका केही भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ, काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ,” उहाँले भन्नुभयो, “तर पानी परे पनि क्षणिक रुपमा पर्ने हो । कुनै पनि स्थानमा निरन्तर पर्दैन ।” अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । माहाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिन अनुसार पनि शनिबार साँझसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक-आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ । साता दिनपछि चिसो बढ्ने सम्भावना अब एक सातापछि काठमाडौँ उपत्यकालगायत देशैभर चिसो बढ्ने सम्भावना रहेको छ । जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताउनुभएको छ । “भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ”, उहाँले भन्नुभयो, “कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरु हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न सुरु हुन्छ ।” शुक्रबार रातिसम्म काठमाडौँको तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका केही स्थानमा हल्का वर्षासमेत भएकाले चिसो सुरु भएको छ । चिसोयाम सुरु भएपछि मानिसलाई दम, रुघाखोकी, ज्वरोलगायत समस्या उब्जने तथा चिसोको समयमा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा जनस्वास्थ्यविद्हरुले सुझाव दिएका छन् ।
बुधबारदेखि आएको स्पेनको सबैभन्दा ठूलो बाढीमा मृत्यु हुनेहरूको सङ्ख्या शुक्रबार दुई सय पाँच पुगेको छ । सरकारले बाँच्नेहरूको खोजीका लागि थप सैनिक परिचालन गरेको छ । मङ्गलबारदेखि आएको बाढीले सवारी साधन बगाउने, पुल भत्काउने र शहरहरूलाई फोहरमा डुबाउँदा स्पेनमा दशकौँदेखि सबैभन्दा ठूलो विनाशकारी क्षति पु¥याएको छ । सबैभन्दा धेरै प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा आपत्कालीन सेवा समन्वय गर्ने संस्थाले त्यस क्षेत्रमा मात्र दुई सय दुई जनाको मृत्यु पुष्टि गरेको छ । छिमेकी काष्टिला–ला मान्चा र अन्दालुसिया क्षेत्रका अधिकारीहरूले पहिले नै तीन जनाको मृत्युको घोषणा गरिसकेका छन् । ड्रोन र कुकुरहरू सहित उद्धारकर्ताहरू पानीमा हिँडँदै र भग्नावशेषमा मलबामा खोजी गर्दै छन् । सरकारी अधिकारीहरूका अनुसार अझै धेरै व्यक्तिहरू बेपत्ता छन् । सरकारले पहिले नै एक हजार दुई सय सैनिक परिचालन गरिसकेको अवस्थामा अर्को पाँच सय सैनिक थप गर्न लागेको छ । बाढी सुरु भएको तीन दिनसम्म केही क्षेत्रहरू खानेपानी, खाद्यान्न र बिजुलीबाट वञ्चित छन् । धेरै सडक र रेल मार्गहरू अझै पनि अवरुद्ध हुँदा मृत्यु सङ्ख्या बढ्ने डर छ । चिभा शहरकी मेयर अम्पारो फोर्टले सार्वजनिक रेडियोलाई भन्नुभयो, “औद्योगिक क्षेत्रमा अझै पनि गाडीहरूको थुप्रो छ । धेरै गाडी खाली होलान् तर केहीमा मानिसहरू छन् भन्नेमा हामी निश्चित छौँ ।” राष्ट्रिय मौसम सेवा एइमेटका अनुसार भ्यालेन्सिया शहर पश्चिमतर्फको चिभा शहरमा मङ्गलबार मात्र आठ घण्टामा चार सय ९१ मिमी वर्षा भयो । यो करिब एक वर्षको वर्षासँग बराबर हुन्छ ।
भरतपोखरी विकास मञ्चद्वारा आयोजित खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूहले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा सरस्वती टीका माध्यमिक विद्यालय द्वितीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशुकल्याण माध्यमिक विद्यालय खल्याण गण्डकीबेसीले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगिताका विजयी समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी तथा भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले ती समूहलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुुभयो । त्यस्तै एकल नृत्य प्रतियोगितामा स्वस्तीका आचार्य प्रथम, शिरिषा मल्ल ठकुरी द्वितीय, बिपासा बिक तृतीय र सुनिता अधिकारीले सान्त्वना स्थान प्राप्त गर्नुुभयो । विजयीलाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । सो अवसरमा नेपाली मौलिक कला सहित्य सङ्गीत र अभिनयका क्षेत्रमा कृयाशिल गण्डकी साहित्य संगमका अध्यक्ष साहित्यकार भिम रानाभाटलाई साहित्यका क्षेत्रमा, सनिशा भट्टराईलाई अभिनयका क्षेत्रमा, पुजा भण्डारीलाई अन्तर्राष्ट्रिय बुद्धिचाल खेलाडीका रुपमा र कलाकार सुरेश मल्ल ठकुुरी (टुुकी) लाई गायन तथा सङ्गीतका क्षेत्रमा योगदान पुुर्याएको भन्दै सम्मानपत्र, दोसल्लासहित सम्मान गरिएको थियो ।
पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट सोही स्थानका ५३ वर्षीय टेकबहादुर ढेँगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । बिहीबार साँझ माथागढीको खहरेबाट फेँदीतर्फ जाँदै गरेको लु २ ख १४५ नम्बरको ट्रकले पैदलयात्री ढेँगालाई फेँदीमा ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका ढेँगालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइकोमा चिकित्सकले बिहीबार राति मृत घोषणा गरेको हो । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ । १० भन्दा बढी समूह बेनीमा एकै पटक देउसीभैलो खेल्न आउँदा चोकमा पालो कुर्नुपर्ने अवस्था हुन्थ्यो । यसपटक तिहार शुरु भएयता बेनी बजारमा देउसीभैलो खेल्ने जम्मा दुई वटा समूह मात्र छन् । बेनीको इन्द्रेणीचोकका व्यवसायी किरण कार्कीले यसपाली देउसीभैलोको रौनक नदेखिएको बताउनुभयो । “देउसीभैलो खेल्न आएका कलाकार पनि १२ कक्षासम्म अध्ययन गर्ने उमेर समूहका र आमा समूहका मात्र छन,” उहाँले भन्नुभयो “१२ कक्षा उत्तीर्ण गरेका धेरै युवायुवती विदेशिदाको असर देउसीभैलो खेल्ने संस्कृतिमा पनि देखिन थालेको हो ।” सदरमुकाम बेनी बजार मात्र नभएर म्याग्दीका अधिकांश ठाउँमा पछिल्ला केही वर्षयताको तिहारमा देउसीभैलो खेल्ने युवा युवतिहरु कम रहेका स्थानीयबासीहरु बताउँछन् । बजारमा भएका युवा युवतिहरु विदेशिनु र गाउँघरमा धान, कोदो भित्र्याउने, कोदो, गहुँ छर्ने कामको चटारो भएकाले देउसीभैलो खेल्ने कम भएका लोक संगितकर्मी संघ म्याग्दीका अध्यक्ष गोकुल सुनारले बताउनुभयो । “देउसीभैलोसँगै विभिन्न किसिमका गितमा नृत्य प्रस्तुत गर्न एउटा समूहमा २० देखि ३० जना कलाकार आवश्यक पर्छ,” द साइनिङ नृत्य समूहको देउसीभैलोमा सहभागी उहाँले भन्नुभयो “पुराना कालाकार विदेशिएपछि नयाँलाई तालिम दिएर नचाएका छौ ।” कलाकार र युवा पलायनको असर नाचगानमा राम्रो कला भएका राजकुमार परियार, गोकुल वि.क, सोनिया पुन, मिलन थापामगरलगायत म्याग्दीका कलाकारहरु पछिल्लो एक वर्षयता रोजगारीको शिलशिलामा विदेशिएका सुनारले बताउनुभयो । जिल्ला बाहिरका सहर र विदेशमा रहेका म्याग्देलीहरुले भने तिहारको अवसरमा देउसीभैलो खेलेका छन् । पोखरामा म्याग्दी–पोखरा चौतारी, पोर्चुगल, बेलायत, अमेरिका, जापान, दक्षिण कोरीया, अस्ट्रेलीयालगायत देशमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा देउसीभैलो खेलीएको छ । भेला भएर आफ्नो जातीय पोशाकमा सजिएर मौलिक गीतमा नाचगान सहित देउसीभैलो देखिएको अमेरिकामा रहनुभएका म्याग्दी ताकमका राहुल केसीले बताउनुभयो । “बाध्यताले विदेशिनु परेपनि आफ्नो संस्कार र संस्कृति प्यारो लाग्दो रहेछ,” उहाँले भन्नुभयो “हाम्रो सन्तानहरुले चाडपर्व र संस्कृतिको बारेमा सिकुन भनेर पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएका छौ ।” विसं २०७८ को जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार आठ सय ३० रहेकामा कुल जनसंख्या एक लाख सात हजार ३३ छ । २०६८ को जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ थियो । पछिल्लो जनगणनामा परिवार सङ्ख्या बढे पनि जनसङ्ख्या घटेको छ । हाल जिल्लामा पुरुषको सङ्ख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार आठ सय ८० छ । जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसङ्ख्या कुल परिवार संख्यामध्ये आठ हजार तीन सय २० रहेकामा जनसङ्ख्या भने १० हजार सात सय ६६ रहेको छ । देसीभैलोको उद्देश्य, स्वरुप र शैली फेरियो पहिले मनोरञ्जनका लागि खेलिने देउसीभैलोको शैली, स्वरुप र उद्देश्य पनि फेरिएको छ । संस्कृति संरक्षणसँगै आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसीभैलो खेल्ने चलन बढेको छ । कलाकारहरुले आफै भट्याउने, बजाउने चलन कम छ । रेकर्ड गित स्पिकरमा बजाएर नाच्ने गरिएको छ । यसो हुँदा देउसीभैलोको मौलिक पक्ष ओझेलमा परेको कलाकार अमित विश्वकर्माले बताउनुभयो । प्रविधिको उपयोग र आधुनिकताको अनुशरणसँगै मौलिकतालाई पनि निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ । सामुदायिक विद्यालयहरुले निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन, युवा क्लव, आमा समूह र विभिन्न संघ संस्थाले कोष स्थापनाको उद्देश्य राखेर देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोमा पौराणिक कथा प्रस्तुत गरेर रमाइलो पाराले भट्याउँदा सुन्नेलाई पनि आनन्द लाग्छ । देउसीभैलो खेल्न पुगेकाहरूले सम्बन्धित घरको वर्णन गर्दै आफूहरू आउनुको ऐतिहासिक कारण खोल्दै आशिषसमेत दिने चलन छ । घरधनीले पनि त्यस्ता समूहलाई गच्छेअनुसार फलफूल, रोटी र दक्षिणा दिने गर्दछन् । देउसी भैलोमा गाइने गीतमा बलिराजाको प्रसंङ्ग जोडिएको पाइन्छ । विभिन्न प्रसङ्ग र कथनसँग जोडिएको देउसी भैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्ने देखिन्छ ।
रौतहट: जङ्गली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्षीया पातली तामाङको बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक अधिकारीका अनुसार जङ्गली हात्तीले बिहान एक्कसी आक्रमण गर्दा वृद्धाको मृत्यु भएको, निजको श्रीमान्ले भने भागेर ज्यान बचाएको र घर पूर्णरुपमा क्षति भएको तथा सँगैको अर्काे घरलाई समेत क्षति पु¥याएको छ । घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्लास्थित नेपाल प्रहरी, डिभिजन बन कार्यालय र सशस्त्र बेस क्याम्प बिजयपुरको प्रहरी टोली बुट्वा–राङी गाउँ पुगी स्थानीयसँगको सोधपुछपछि अहिले थप अनुसन्धान प्रक्रियमा जुटेको प्रहरीले जनाएको छ ।
पोखरा: शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने भएको छ । शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वारा (जनस्तरबाट संकलित रकम) स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई प्रदान गर्न लागेको हो । नगद ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार उपाध्याय र लोककवि चेत बहादुर बरुवाल लोक साहित्य स्मृति पुरस्कार संस्कृतिकर्मि प्राडा कुशुमाकर न्यौपानेलाई प्रदान गरिने प्रतिष्ठानका सचिव दिपेन्द्र बाँनियाले जानकारी दिए । लोक साहित्य पुरस्कारको राशी १५ हजार ५ सय रहेको छ । वि.सं. २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको परिकल्पनामा स्थापित प्रतिष्ठानले ११ औं संस्करणको राष्ट्रिय पुरस्कार यही कार्तिक १५ गते वितरण गर्ने र चौथों संस्करणको लोक साहित्य पुरस्कार आगामी मंसिर १५ गते वितरण गर्ने जनाएको छ । राष्ट्रिय पुरस्कारबाट यसअघि मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य, डा. रविलाल अधिकारी, साहित्यकार सरुभक्त श्रेष्ठ, वरिष्ठ काटुनिष्ट दुर्गा बराल वात्सायन, चेतमानसिंह भण्डारी, जनगायक जीवन शर्मा,लोक गायिका हरिदेवी कोईराला, साहित्यकार हंशपुरे सुवेदी, भाषविद् चुडामणि बन्धु र संस्कृतिकर्मी प्रा.डा जगमान गुरुङ पुरस्कृत भइसकेका छन् । त्यस्तै वि.सं. २०७० मा स्थापित लोक साहित्य पुरस्कार यसअघि गितकार तिर्थ तामाङ, लोकनाथ पोखरेल र कवि रामप्रसाद पौडेल घर्मेलीले प्राप्त गरेको सहसचिव संजय थापाले जानकारी दिए । दुवै पुरस्कारका लागि अग्नीधर शर्मा तिमिल्सीनाको संयोजकत्वमा गठित श्रष्टा छनौट समितिको सिफारिसलाई प्रतिष्ठानले अनुमोदन गरी सार्वजनिक गरेको हो । प्रतिष्ठानले हास्यव्यंग्य, गीत संगीत,समालोचना, साहित्यका विभिन्न विधा, लोक साहित्य, जनवादी र प्रगतिशील सािहत्य, भाषा र नेपाली व्याकरणका क्षेत्रमा योगदान पुर्याउने श्रष्टालाई प्रत्येक दुई दुई वर्षमा सो पुरस्कार प्रदान गर्दै आईरहेको छ । प्रतिष्ठानले राष्ट्रिय पुरस्कारका साथै मदनचन्दा स्मृति पुरस्कार, लोक साहित्य पुरस्कार र बाल साहित्य पुरस्कार स्थापना गरी संचालन गरेको छ भने, श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रियस्तरको भजन प्रतियोगिता पनि गर्दै आइरहेको छ ।