काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

पोखरा महानगरपालिका वडानम्बर २१ दोबिल्लाघाटमा १ सय ८ धारासहतिको शिव मन्दिरको शिलान्यास गरिएको छ ।    देवघाट महेश्वरधाम, हरिहरगुफा एवम् नर्वदेश्वर मन्दिर सन्यास आश्रमधामका पिठाधीश डा. स्वामी श्री १००८ आत्मनन्द गिरी महाराज जीले एक कार्यक्रमकाबिच मन्दीरको शिलान्यास गरेका हुन् ।    दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गर्ने दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिको योजना अनुसार घाटमा शिव मन्दिरको शिलन्यास गरिएको हो ।    उक्त घाटमा यसअघि शवदाहस्थल व्यवस्थित गर्न मलामीका लागि विश्राम स्थल, अन्त्येष्टिका लागि आवश्यक दाउदा र दाउदा राख्ने गोदामघर निर्माण, वृक्षारोपण र तारवार लगाइएको थियो ।    मन्दिरको शिलान्यास गदै धर्मगुरु गिरीले सेती नदिको किनारमा बगरको रुपमा रहेको सार्वजनिक जमिन पवित्र धार्मिक क्षेत्रका लागि उपयुक्त स्थल रहेको बताए । उनले वैदिक, सनातनी र हिन्दूको संरक्षणका लागि पाठशाला संचालन गर्न पनि सुझाव दिए ।   मन्दीर शिलान्यास कार्यक्रममा बोल्दै पूर्वसभासद एवं उद्योगि कृष्णप्रसाद आचार्यले धार्मिक स्थलको संरक्षण र संम्बद्धनमा स्थानीयले अग्रसरता लिएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मन्दिी निर्माणमा ५ लाख रुपैया सहयोग गर्ने बचन दिए ।    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कास्कीका सदस्य सिता विकले धार्मिक स्थालको रुपमा विकास गर्ने समितिको योजनमा साथ र सहयोग रहेको भन्दै जनप्रतिनिधिको हैसियतले आवश्यक सहयोग गर्ने बचन दिइन् ।      मन्दिर निर्माणका लागि पोखरा–२१ घर भई हाल अमेरिका रहेका गोपाल रायमाझीले ५० हजार रुपैया आर्थिक सहयोग गरेका छन् । उनले यस पहिले पनि सोही स्थनाको संरक्षण र विकासका लागि १ लाख ५९ हजार रुपैया दिएको र थप ५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको समितिका अध्यक्ष भरत रायमाझीले जानकारी दिए ।    यस्तै अमेरिकाबस्ने बसन्त रायमाझीले २६ हजार ६ सय, अष्ट्रेलिया बस्ने सोनिया रायमाझीले ३५ हजार, टेकनाथ भण्डारीले २५ हजार, काठमाडौ घर भइ हाल अमेरिकामा बस्ने सिता थापाले १३ हजार ३ सय आर्थिक सहयोग गरेको समितिका सल्लाहकार मोती गिरीले जानकारी दिए ।    यस्तै मन्दिर निर्माणका लागि गोप्य दान साथै आमा समूह, टोल विकास संस्था लगायतका संघ संस्थाबाट समेत आर्थिक सहयोग प्राप्त भएको समितले जनाएको छ ।    कार्यक्रममा समितिका उपाध्यक्ष नेत्रलाल भण्डारीको स्वागत सचिव रमादेवी आचार्यले संचालन गरेकी थिइन् ।     

रुकुम पश्चिम:    रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छिन् ।   आज बिहान   दीपाले श्रीमानको चिर्पटले टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।  उहाँका अनुसार चिर्पटले टाउकोमा प्रहार गरेर मृतावस्थामा रहेको खबर छोरा  १८ वर्षीय खिमकुमालले प्रहरीलाई खबर गरेका थिए । सूचनालगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट गएको प्रहरी  टोलीले  आरोपी महिलालाई नियन्त्रणमा लिइएको छ । शव भने परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । घरायसी विवादका कारण श्रीमान्को हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको र घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।  

काठमाडौं:    यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) लाई प्रदान गरिएको छ ।   सिड्नी विश्वविद्यालय अष्ट्रेलिया, सिड्नी पिस फाउण्डेशनद्वारा स्थापित सो पुरस्कार विश्वमा शान्ति, न्याय, अहिंसा तथा मानवीय सेवामा अतुलनीय योगदान पुर्याएबापत हरेक वर्ष प्रदान गरिन्छ । सिड्नीमा सोमबार आयोजित कार्यक्रममा आइएफआरसीका महासचिव जगन चापागाईँले सो पुरस्कार ग्रहण गर्नुभएको आइएफआरसीले जनाएको छ ।  आइएफआरसीको सर्वोच्च पद महासचिवमा पुग्ने चापागाईँ पहिलो नेपाली हुनुहुन्छ । रेडक्रस तथा रेडक्रिसेन्ट अभियानलाई सशक्त बनाउन उहाँले अतुलनीय नेतृत्व प्रदान गर्दै आउनुभएको छ ।  यही नेतृत्वका कारण महासचिवमा  दोस्रो कार्यकालका लागि पनि सेवारत हुनुहुन्छ । विशेष गरेर कोरोना महामारीका समयमा सङ्कटासन्न समुदायलाई मानवीय सहयोगका लागि विश्वव्यापी रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिका ऐतिहासिक  रहेको बताइएको छ ।   आइएफआरसीमा नेपाल रेडक्रससहित विश्वका एक सय ९१ देशका रेडक्रस आवद्ध छन् ।  आइएफआरसीद्वारा जारी गरेको विज्ञप्तिका अनुसार पुरस्कार  ग्रहण गर्दै महासचिव चापागाईँले आइएफआरसीले ‘सिड्नी शान्ति पुरस्कार’ प्राप्त गर्नु गौरवको विषय रहेको चर्चा गर्दै यसले आगामी दिनमा रेडक्रसका स्वयंसेवकलाई अझ मानवीय सेवामा तल्लीन हुन उत्प्रेरण मिल्ने बताउनुभयो ।  सिड्नी पिस फाउण्डेसनका निर्देशक मेलानी मौरिसनले महासचिव चापागाईँलाई सो पुरस्कार प्रदान गर्नुभएको थियो ।

काठमाडौं:    धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० खयरघारीबाट एउटा ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा तीन जना घाइते भएका छन्।  मंगलबार बिहान करिब ६ बजे पृथ्वी राजमार्गमा पर्ने रारोङ १० स्थित सडकबाट लु २ ख २५० नम्बरको ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए। ‘दुर्घटना स्थलबाट चालकसहित तीन जनालाई उद्धार गरेर हामीले मझिमटारस्थित बिहानी फार्मेसीमा पुर्याएका छौँ,’ सिलवालले भने, ‘नवलपरासीबाट सामान लिएर काठमाडौँतर्फ जाँदै गरको ट्रक दुर्घटनामा परेको हो।’  दुर्घटनामा ट्रक चालक नवलपरासी पश्चिम घर भएकाका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापा र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङ घाइते भएका छन्।   दुर्घटनाको कारण नखुले पनि ट्रक आफैँ अनियन्त्रित भई त्रिशूली नदीमा खसेको अनुमान प्रहरीले गरेको छ। 

काठमाडौं:    नेपाल वायुसेवा निगमको नाइन–यएलजेड जहाज सि–चेकपश्चात् सोमबार काठमाडौँ आइपुगेको छ । नियमानुसार प्रक्रिया पूरा गरी उक्त जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गरेको हो ।      नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी नाइन–य एलजेड (मकालु) को जहाज नियमित सि–चेकको मर्मतपश्चात् युरोपेली उड्डयन सुरक्षा एजेन्सी (इएसा) र सङ्घीय उड्डयन प्रशासन (एफएए) बाट मान्यता प्राप्त युरोपेली मुलुक इटालीको मर्मत र ओभरहाल सङ्गठनले अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भार सम्पन्न गरी सेवामा रिलिजको प्रमाणपत्र प्रदान गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।       निगमका प्रवक्ता पौडेलले युरोपेली मुलुकहरु इयुमा नेपाललाई सुरक्षा सूचीमा राखेको अवस्थामा पनि नेपाल वायुसेवा निगमको दुईवटै वाइडबडी जहाजहरु युरोपको इटालीस्थित नेपल्समा मर्मतसम्भार कार्य सम्पन्न भएका बताउनुभयो ।       उक्त जहाजसहित निगमका चारवटै जहाजहरुले निगमको अन्तर्राष्ट्रिय क्षेत्रहरुमा नियमित उडान गरेसँगै यात्रुहरुलई थप सेवा पुग्ने विश्वास गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

ढोरपाटन:    गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पु¥याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ । ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो ।      नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनपूर्व गलकोटमा तीन सय ३० किलोमिटर ग्रामीण सडक निर्माण भएको भन्दै आफूहरु निर्वाचित भएर आएपछि करिब दुई सय २० किमी बढी सडक निर्माण भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभरि नयाँ तथा पुराना गरी पाँच सय ५० किमी ग्रामीण सडक रहेका छन् ।      नगरप्रमुख गैरेले वर्षौं अघि निर्माण भएका तथा नयाँ ट्र्याक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिलाई जोड दिने बताउनुभयो । अहिले पालिकाका ११ वटै वडाको सबै बस्तीमा बाह्रै महिना सडक सञ्चालन हुनेगरी काम भइरहेको उहाँले उल्लेख गर्नुभयो ।       यस वर्ष सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत हटिया बजारबाट कोटमैदानसम्म र नरेठाँटीबाट दुदिलाभाटीसम्मको सडक कालोपत्र गर्न थालिएको नगरप्रमुख गैरेको भनाइ छ । गत वर्ष हटिया–हरिचौर–ताराखोला सडक, हटिया बजारबाट कोटघर र नरेठाँटी–दुदिलाभाटी सडक स्तरोन्नति गरिएको उहाँले जानकारी दिनुभयो ।      “गलकोट नगरपालिकाको धेरै ठाउँलाई राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडेको छ, त्योसँगै नगरपालिकाले गाउँगाउँसम्म पुग्ने सडकलाई व्यवस्थित बनाउन थालेको छ”, प्रमुख गैरेले भन्नुभयो, “अधिंकाश बस्तीमा सडक पुगिसकेकाले नयाँ ट्र्याक नखोल्ने योजना बनाएका छौँ, अतिआवश्यक परेको ठाउँमा ट्र्याक खोल्नैपरे खोलिनेछ, अन्यथा स्तरोन्नतिमा केन्द्रित हुनेछौँ ।”      गत वर्ष करिब २० सडक स्तरोन्नति गरिएको भन्दै यस वर्ष पनि दर्जन बढी सडकस्तरीय बनाउने योजना रहेको उहाँको भनाइ छ । नगरपालिकाले गत वर्षदेखि सडक गुरुयोजना बनाएर काम गरिरहेको गैरेले बताउनुभयो । सात वर्षको अवधिमा करिब २० किमी ढलान तथा कालोपत्र, ८० किमी ग्राभेल, पाँच वटा मोटरेबल पुल र दुई दर्जन कल्भर्ट निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।      गलकोट–५ का स्थानीय प्रेमबहादुर विकले गत वर्षसम्म बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती दिएको सडक अहिले कालोपत्र भएसँगै आवागमन सहज भएको बताउनुभयो ।  दुई वर्ष अगाडिसम्म गाउँका धेरै सडक साँघुरा र अप्ठ्यारा हुँदा ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको भन्दै उहाँले अहिले स्तरोन्नति हुँदा स्थानीय तथा आगन्तुकलाई सकज भएको उल्लेख गर्नुभयो ।

जुम्ला:    जिल्लाको सिञ्जा गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले विभिन्न रोगसम्बन्धिका नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।  विशेषज्ञ चिकित्सकबाट पालिकास्थित स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी यहाँका नागरिकलाई घरदैलोमा नि:शुल्क उपचार सेवा दिन थालिएको हो ।      गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य शाखालाई रु ९५ लाख बजेट विनियोजन गरी सेवा सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो । स्थानीय सरकारको स्रोतसाधनबाट स्थानीयलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको उहाँले बताउनुभयो ।      “जबसम्म नागरिकको स्वास्थ्य सबल हुँदैन तबसम्म अन्य परिवर्तनको पनि अर्थ रहँदैन भनेर जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा लगानी बढाउने निर्णय गरी शिविरमार्फत सेवा दिन थालेका हौँ । स्वास्थ्य क्षेत्रमा दीर्घकालीन प्रतिफलसहितका योजना बनाएर अघि बढेका छौँ”, अध्यक्ष धितालले भन्नुभयो ।       गाउँपालिको आयोजनामा प्लान नेपालको साझेदारी र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको प्रविधिक सहयोगमा गत कात्तिक ३० गते शनिगाउँ स्वास्थ्य चौकी र यही मङ्सिर १ गते नराकोट स्वास्थ्य चौकीमा विशेषज्ञसहित स्वास्थ्य जाँच तथा अपाङ्गता पहिचान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य शिविरबाट सात सय २२ जनाले सेवा लिएका छन् ।      उक्त शिविरमा हाडजोर्नीसम्बन्धी दुई सय दुई, स्त्री रोगसम्बन्धी ९५, जनरल जाँच एक सय ५०, मनोसामाजिक परामर्श एक सय ३०, अपाङ्गता परीक्षण एक सय १० र मुखको परीक्षण ३५ जनाको भएको रोकायाले जानकारी दिनुभयो ।        कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा पुजन रोकायाबाट बिरामीको स्वास्थ्य जाँच भएको थियो । गत कात्तिक २८ गते नराकोट स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क कानको परीक्षणमा दुई सय ५९ जनाले सेवा लिएका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रोकायाले जानकारी दिनुभयो । उक्त शिविर गाउँपालिकाको आयोजना र नेपालगञ्जस्थित विएन अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।      सिञ्जाका ३२ वटा गाउँमा पुगेर मासिक रुपमा यहाँका ज्येष्ठ नागरिकको स्वास्थ जाँच गर्ने गरिएको स्वास्थ्य शाखाका प्रमुख रोकायाले बताउनुभयो । गाउँमै दक्ष चिकित्सकबाट निःशुल्क उपचार पाउँदा सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य भएको सिञ्जा–३ की नुन्नु उपाध्यायले बताउनुभयो ।      अहिले पालिकामा छ वडामध्ये तीनमा स्वास्थ्य चौकी र तीनमा आधारभूत स्वास्थ्य चौकीबाट सेवा प्रवाह भइरहेको गाउँपालिकाका अध्यक्ष धितालले जानकारी दिनुभयो । उहाँका अनुसार गर्भवतीका लागि नराकोट, धापा र शनिगाउँ स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा उपलब्ध गराइएको छ ।      आपत्कालीन अवस्थाका बिरामी, ज्येष्ठ नागरिक, अपङ्गता र सुत्केरीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष सीतली रोकायाले बताउनुभयो । गत आवमा चारवटा स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार पाँच सयबढीले सेवा लिएका गाउँपालिकाले स्वास्थ्य शाखाले जनाएको छ ।      आगामी वैशाखमा सिञ्जा कर्णाली प्रदेशकै उकृष्ट पोषणमैत्री स्थानीय तह घोषणा हुन लागेको बताउँदै विभिन्न १६ सूचकमध्ये १४ वटा पूरा गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रको पहुँच कम भएका ठाउँमा स्वास्थ्य शिविरमार्फत सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो ।      नवजात शिशुलाई खोप र ज्येष्ठ नागरिकलाई निःशुल्क औषधिसहित स्वास्थ्य जाँच कार्यक्रमले दीर्घरोगीले सहज उपचार पाएका स्थानीय बताउँछन् । गत आवमा स्वास्थ्यतर्फ सिञ्जा गाउँपालिका जिल्लाका आठ स्थानीय तहमध्ये पहिलो भएको थियो ।  स्वास्थ्य सेवातर्फ विभिन्न सूचक पूरा गरी ८७ प्रतिशत अङ्क प्राप्त गर्दै सिञ्जा जिल्लाकै पहिलो भएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । 

काठमाडौं:     गत कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । गत असोजमा एक लाख आठ सय ४८ कारोबार भएको थियो ।  घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३३ हजार पाँच सय १४ वटा लिखत पास भएका छन् । यस्तै, नामसारीतर्फ तीन हजार तीन सय ६२, हालसाविक दुई हजार एक सय १४, रोक्कातर्फ २५ हजार ३० छन् ।      विभागका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा सबैभन्दा बढी चार हजार दुई सय ६६ घर जग्गाको कारोबार भएको छ । मालपोत कार्यालय सुनसरीमा तीन हजार एक सय १५, बेलबारीमा दुई हजार आठ सय २१, धनुषामा दुई हजार एक सय ५८ वटा कारोबार भएका छन् ।      सिर्दिबास मालपोत कार्यालय गोरखामा एउटा मात्रै कारोबार भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । सो महिना मालपोत कार्यालय मनाङमा १९, हुम्लामा १५, डोल्पामा १६, ओखलढुङ्गामा १७ वटा कारोबार भएका विवरण प्राप्त भएको छ ।       सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने काठमाडौँ उपत्यकाका मालपोत कार्यालयमध्ये कलङ्कीमा एक हजार छ सय ४९ घर जग्गाको कारोबार भएको छ । भक्तपुर मालपोतमा दुई हजार तीन सय ४८, डिल्लीबजार कार्यालयले नौ सय ३९ वटा कारोबार गर्दा चाबहिल मालपोतले एक हजार चार सय २३ वटा कारोबार गरेको छ ।         विभागका अनुसार विसं २०८० कात्तिकमा ७७ हजार एक सय ८५ घर र विसं २०७९ कात्तिकमा ९७ हजार एक सय ९६ वटा कारोबार भएको थियो ।      विभागका अनुसार यस वर्षको कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबर राजस्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजस्व सङ्कलनको प्रवृत्तिले देखाएको छ ।      गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा पनि गिरावट आएको हो । असोजमा रु तीन अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ बराबरको राजस्व सङ्कलन भएको थियो ।      विभागका अनुसार काठमाडौँ उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले रु २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व सङ्कलन गरेको छ ।      मालपोत कार्यालय गोटीखेल ललितपुरले रु चार लाख ६७ हजार सात सय २०, भक्तपुरले रु १७ करोड ६९ लाख २३ हजार छ सय ४५ र डिल्लीबजारले रु १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजस्व सङ्कलन गरेका छन् ।      विभागका अनुसार मालपोत कार्यालयले चाबहिलले रु २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलङ्कीले रु १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले रु चार करोड ७९ लाख ५४ हजार नौ सय ४२, मनमैजु कार्यालयले रु पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले रु तीन करोड ५७ लाख २७ हजार छ सय ६५ बराबरको राजस्व सङ्कलन गरेका छन् । मुलुकभर एक सय ३३ वटा मालपोत कार्यालय छन् ।