काठमाडौं: श्रीलङ्कालाई हराउँदै भूटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’को अङ्कतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भूटानले श्रीलङ्कालाई ४–१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै भूटानले दुई खेलबाट चार अङ्क जोडेको छ । पहिलो खेलमा भूटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो । आज खेल सुरुआती सातौं मिनेटमा भूटानकी डेकी ल्जोहामले गोल गर्दै पहिलो अग्रता दिलाइन । त्यस्तै खेलको २३औं मिनेटमा श्रीलङ्काकी कप्तान थुशानी मधुशिकाले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याइन । त्यसपछि खेलको ३२औँ मिनेटमा भूटानकी दोर्जी एडेनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाइन । खेलको ७६औँ मिनेटमा डेकीले व्यक्तिगत दोस्रो गोल गर्दै भूटानलाई ३–१ को अग्रता दिलाइन् । डेकीले गोल गरे लगत्तै नामग्याल डेमाले गोल गर्दै भूटानलाई ४–१ गोलको जित दिलाइन । समूह ‘बी’मा रहेको नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।
दाङ: तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन् । घोराही उपमहानगरपालिका–१४ झिंगौराका ३९ वर्षीय लोकेन्द्र रोका मगरले सयपत्री फूल तयार पारिसक्नुभएको छ । उहाँले विगत १२ वर्षदेखि फूलखेती गर्दै आएको बताउनुभयो । यसवर्ष पनि डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको र चाडपर्वमा मात्रै नभइ अन्य समयमा पनि आफूले बारीमा फूल फुलाइरहेको सुनाउनुभयो । व्यावसायिक रूपमा फूलखेती गर्नुभएका उहाँ यही व्यवसायमा सन्तुष्ट हुनुहुन्छ । “विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फर्केपछि फूलखेती थालेको हुँं । बाहिरी देशमा कमाएकोभन्दा आफ्नै देशमा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ”, रोका मगरले भन्नुभयो । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका रोका मगरले जिल्लामा दसैँं तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती थाल्नुभएको हो । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका वीरेन्द्र खड्काले पनि घोराही उपमहानगरपालिका–१४ झिंगौरामै व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ । उहाँले यसवर्ष दुई बिघा बढी जग्गा भाडामा लिएर फूलखेती गर्नुभएको छ । विगत चार÷पाँच वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । २६ वर्षीय उहाँले बालिविज्ञान विषयमा तीनवर्षे डिप्लोमा तह (आइएस्सीएजी) अध्ययन गर्नुभएको छ । गत वर्ष तिहारको समयमा रु सात लाख बढीको फूल बेचेर आम्दानी गर्नुभएका उहाँले यस वर्षको तिहारका लागि पनि फूल फुलाइसक्नुभएको छ । यस्तै, घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँका इन्द्रा बुढाको बारीमा पनि यतिबेला फूल फुलेर ढकमक्क भएका छन् । यसवर्ष उहाँले १० कठ्ठा जग्गामा फूलको व्यावसायिक खेती गर्नुभएको छ । बुढाले विगत आठ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको बताउनुभयो । “विगत आठ वर्षदेखि यही खेती गरिरहेको छु । विशेषगरी तिहारलगायत चाडपर्वको बेला बढी माग हुन्छ”, उहाँले भन्नुभयो,“ यसपटक पनि माग आउन थालिसक्यो । अबको केही दिनमा फूल टिपेर माला बनाउन सुरु गछौँ ।” प्लास्टिकजन्य माला विस्थापित तिहारकोे अवसरमा दाङको लमही नगरपालिकाले प्लास्टिकजन्य मालाको प्रयोगलाई निषेध गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले पालिकाभित्र रहेका पुष्प व्यावसायिकले उत्पादन गरेको सयपत्री फूलको माला प्रयोग गर्न आग्रह पनि गरेको छ । लमही नगरपालिकाभित्र विभिन्न पाँचजना व्यवसायीले सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् । लमही नगरपालिकाको– ३, ५ र ६ मा गरी कूल २२ कठ्ठा १५ धुर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको कृषि शाखाले जानकारी दिएकोे छ । जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई विस्थापित गर्न सघाउ पुगेको जानकारहरू बताउँछन् ।
काठमाडौं: रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका लागि सचेतना अभियान सञ्चालन गर्ने भएको छ । रोटरीले यही कात्तिक ८ गते उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड पोलियोे नाओ’ विशेष अभियान सञ्चालन गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले पोलियो उन्मूलनका लागि जनचेतना फेलाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार रोटरीले वार्षिक रुपमा अक्टोबर २४ तारिखलाई विश्व पोलियो दिवसका रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनतेतना फैलाउन विभिन्न गतिविधि गर्दै आइरहेको छ । अभियानअन्तर्गत कात्तिक ८ गते बिहान ६:३० बजे ललितपुरको जावलाखेलबाट बृहत् साइकल ¥याली हुने तय गरिएको छ । सोही दिन साँझ धरहर सन्देशहरु प्रदर्शनी गरिने आयोजकले जनाएको छ । “नेपालमा आधिकारिक रुपमा पोलियोका बिरामी छैनन् । तर हामी सधैँ सचेत बनिरहनुपर्छ । पछिल्लो समय काठमाडौँको ढलमा पोलियो भाइरस भेटिएको समाचार प्रकाशित भएको थियो । यस कारण पनि हामी सधैँ सचेत भइरहनुपर्छ”, गभर्नर शाक्यले भन्नुभयो । उहाँले पोलियो उन्मूलनका लागि पाँच वर्ष मुनिका सबै बालबालिकालाई नछुटाइ पोलियोविरुद्धको खोप लगाउन अति जरूरी रहेको उल्लेख गर्नुभयो । पोलियो खोप अभियानका लागि रोटरीले इन्टरनेशनलले नेपाल सरकारसँग सहकार्य गर्दै आइरहेको छ । रोटरीले पोलियो उन्मूलन अभियानसहित सात वटा क्षेत्रमा सामाजिक काम केन्द्रित गर्दै आइरहेको छ । त्यसमध्ये एक महत्वपूर्ण क्षेत्र स्वास्थ्य क्षेत्रको पोलियो विशेष कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको हो । विश्वबाट नै पोलियो भाइरस उन्मूलन गर्न रोटरीले सुरुवाती समयदेखि नै प्रभावकारी रुपमा काम गर्दै आइरहेको दाबी गरेको छ । सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट सुरु भएको रोटरी इन्टरनेशनल संसारको सबैभन्दा पुरानो सेवामूलक सामाजिक संस्था हो । विभिन्न मुलुकमा ४६ हजारभन्दा बढी रोटरी क्लब ५३८ वटा डिष्ट्रिक्टहरुअन्तर्गत आबद्ध छन् । साथै १२ लाखभन्दा बढी सदस्य रोटरी सेवामा सक्रिय रहेको संस्थाले जनाएको छ । नेपालमा रोटरीको सुरुवात सन् १९५९ मा भएको थियो । सन् २००८ जुलाई महिनादेखि नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्ट ३२९२ को स्थापना भएको हो । हाल नेपालमा १६१ वटा रोटरी क्लबले स्थानीयस्तरसँगै राष्ट्रियस्तरमासमेत विभिन्न कार्य गर्दै आएका छन् ।
काठमाडौं: ग्लोबल आइएमई बैंकले प्राइम पावर लिमिटेडले प्रवर्द्धन गर्ने सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने भएको छ । कर्जा लगानीसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले आज हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी सञ्चालन गर्नेछ । त्यसअवसरमा प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत् खरिदका साथै चनौटास्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत् जोड्नका निमित्त नेपाल विद्युत् प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी दिनुभयो । यस परियोजनामा संलग्न लगानीकर्ता समुहद्वारा विभिन्न पाँच सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कूल जडित क्षमताको आयोजनामा समेत लगानी छ । नेपालमा सञ्चालित सौर्य परियोजनामध्य उक्त परियोजना सौर्य ऊर्जाअन्तर्गत विद्युत् क्षेत्रको सबैभन्दा ठूलो क्षमताको परियोजना हो । बैंकले नविकरणीय र हरित उर्जा उत्पादन, प्रशारण तथा वितरणमा आफ्नो लगानी प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप सौर्य तथा जलविद्युत्मा सुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको छ ।
काठमाडौं: निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको आज बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र हेटौँडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्बाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्याङ्कनका लागि विशेषज्ञसहितको अध्ययन समिति गठन गरिनेछ । सम्पत्ति र दायित्व मूल्याङ्कन भएपछि विज्ञसहितको सुझावका आधारमा निजीकरणको ढाँचा र प्रक्रिया पहिचान गरी नेपाल सरकार समक्ष सिफारिस गरिनेछ । समितिको बैठकमा दिइएको जानकारी अनुसार जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपडा उद्योग, विराटनगर जुट मिल, बुटवल धागो कारखाना र गोरखकाली रबर उद्योग विगत लामो समयेदेखि बन्द र रुग्ण छन् । यसैगरी उदयपुर र हेटौँडा सिमेन्ट कारखानाको कार्य सम्पादन स्तर कमजोर हुनुका साथै निरन्तर घाटामा रहेका छन् । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, सङ्घीय संसद् अर्थ समितिका सभापति सन्तोष चालिसे, प्रतिनिधिसभा सदस्य तथा निजीकरण समितिका सदस्य राजन केसी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, मन्त्रालयका सचिवलगायत सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको सय दिनमा गर्नुभएको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्री यादवले आज यहाँ एक कार्यक्रममार्फत एक सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गर्दै मेलम्ची खानेपानी आयोजना सञ्चालन गरी काठमाडौँ उपत्यकामा प्रतिदिन १७ करोड लिटर पानी पथान्तरण गर्न सफल भएको बताउनुभयो । यस वर्षको ‘मनसुन’ सुरु भएपछि बन्द भएको मेलम्ची खानेपानी आयोजना सञ्चालनका क्रममा आवश्यक मर्मतसम्भारसहित विरोधमा उत्रेका स्थानीय जनतासँग निरन्तर छलफल र समन्वय गरी मेलम्चीको पानी काठमाडौँ ल्याएको उहाँले स्पष्ट गर्नुभएको छ । मेलम्चीवासीसहित मुहान क्षेत्रका सरोकारवाला जनताका तर्फबाट विभिन्न माग राखी चरणबद्ध रुपमा आन्दोलन भइरहेको अवस्थामा विरोधमा उत्रेका स्थानीय जनतालाई विश्वासमा लिएर मेलम्चीको पानी ल्याउन सफल भएको मन्त्री यादवले बताउनुभयो । गत असोज २२ गतेदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पथान्तरण तथा वितरण कार्य सुरु भइसकेकाले अब काठमाडौँवासीले खानेपानीको समस्या झेल्नुनपर्ने मन्त्रालयले बताएको छ । यसैगरी, काठमाडौँको कोर क्षेत्रअन्तर्गत न्युरोड–ठमेल क्षेत्रमा बिच्छ्याइएको थप ३० किमी पाइपलाइनमा परीक्षणका रुपमा पठाएको पानी वितरण प्रणालीमा समस्या नदेखिएपछि नयाँ पाइप सञ्जालबाट आपूर्ति व्यवस्था मिलाएको तथा ठमेलसहित आसपासका क्षेत्रमा ३४ दशमलव ८९ किमी पाइपलाइनमा समेत परीक्षण कार्य पूरा गरी नियमित रूपमा पानी आपूर्ति गर्न लागेको मन्त्रालयले जनाएको छ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा अहिलेसम्म एक हजार सात सय किमी पाइप विस्तार गरेको, सो आयोजनामार्फत दैनिक १७ हजार लिटर पानी आपूर्ति हुने गरेको तथा हाल उपत्यकामा ४७ हजार लिटर पानीको माग देखिएको स्पष्ट गरेको छ । खानेपानी मन्त्रालयले गत असोज १० गतेदेखिको बाढीपहिरोका कारण काठमाडौँ उपत्यकामा बिग्रेभत्केका ढलहरुको मर्मतसम्भारसहित व्यवस्थापन गरेको उल्लेख गरेको छ । यसैगरी, कीर्तिपुरमा ६० लाख र महाँकालचौरमा ८० लाख लिटर क्षमताको पानीपोखरी निर्माण कार्य गत असोजमा पूरा गरी त्यस क्षेत्रका जनतालाई पानी सुनिश्चित गर्ने काम भएको मन्त्रालयले जनाएको छ । योसँगै कीर्तिपुरमा ६ हजार र महाँकालचौरमा आठ हजार घनमिटर क्षमताको पानीपोखरी तयार भएको छ । बाढीपहिरोका कारण पानी आपूर्ति व्यवस्था बन्द भएको ललितपुर जिल्लामा खानेपानीको प्रबन्ध गर्ने क्रममा सम्बद्ध क्षेत्रका सङ्घीय तथा प्रदेश सांसद तथा स्थानीय जनप्रतिनिधिहरू समेतको सहयोगमा ललितपुरवासीलाई खानेपानीको व्यवस्था गरेको मन्त्रालयले स्पष्ट गरेको छ । त्यस्तै, तीन करोड ७० लाख लिटर क्षमताको धोबीघाट फोहोरपानी प्रशोधन केन्द्रलाई हालैको बाढीले नोक्सान पु¥याएपछि प्रशोधन कार्य रोकिएको सन्दर्भमा बीमा कम्पनीबाट क्षतिग्रस्त उपकरणको मूल्याङ्कन गरी क्षतिपूर्तिको व्यवस्थासहित मर्मतसम्भार तथा सञ्चालनको कामलाई दु्रतगतिमा अघि बढाउन दिएको निर्देशनअनुसार काम भइरहेको छ । यसैगरी, बाढीका कारण काठमाडौँ उपत्यकामा बिग्रएका काठमाडौँ उपत्यकामा खानेपानी लिमिटेड ९केयुकेएल० का पानी प्रशोधन केन्द्रका उपकरणहरु तत्काल मर्मत गर्नका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिनु भई अहिले काम सुरु भइरहेको मन्त्रालयले जनाएको छ । ललितपुर जिल्लाको नल्लु, वासुकी, र देवकीस्थित खानेपानी मुहान क्षेत्रमा पुगेर पछिल्लो समय आएको बाढीले खानेपानीको संरचनामा पु¥याएको क्षतिको विवरण लिई अवरुद्ध भएको खानेपानी आपूर्ति यथासक्य छिटो सञ्चालन गर्न निर्देशन दिएबमोजिम सम्बद्ध निकायमार्फत द्रुतगतिमा काम भइरहेको पनि मन्त्रालयले जनाएको छ । काभ्रेको पनौती, बनेपा र धुलिखेल नगरपालिकास्थित मन्त्रालयसम्बद्ध एकीकृत खानेपानी आयोजना, नेपाल खानेपानी संस्थान तथा खानेपानी तथा ढल व्यवस्थापन विभागको परियोजनामा पु¥याएको क्षतिको जानकारी लिई मर्मतसम्भारका लागि निर्देशन दिनुभएअनुसार तदारुकताका साथ काम भइरहेको मन्त्रालयले स्पष्ट गरेको छ । मन्त्रालयको पहलमा गत महिना भेरी पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्ने क्रममा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भई संयुक्त रूपमा सर्वेक्षेणको कामसमेत सुरु भएकाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको व्यवस्था हुने भएको छ । सय दिनको यस अवधिमा जापानी सहयोग नियोग ९जाइका० को अनुदान सहयोगमा पोखरा खानेपानी सुधार आयोजनाको निर्माण तथा परीक्षण कार्य सम्पन्न भएको खानेपानी मन्त्रालयले जनाएको छ ।
काठमाडौं: सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि थप १५ बस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा बस सेवाको उद्घाटन गर्नुभयो । प्रालिका अध्यक्ष प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । “काठमाडौँ उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो । काठमाडौँको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएका उहाँको भनाइ थियो । अध्यक्ष प्रजापतिले सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । सो यातायातले काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट सेवा दिँदै आएको प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिनुभयो । प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको उहाँले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताउनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताउनुभयो । “राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ । तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षौं लाग्न सक्छ । यसतर्फ हामी सचेत हुनुुपर्छ”, इन्द्रजात्राजस्ता पर्वहरुमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो । नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवादन तथा विशेष धूनहरु रहेको तथा यसको संरक्षणमा भइरहेका प्रयासको उहाँले प्रशंसा गर्नुभयो । सो अवसरमा समितिका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवत्लाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउन २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषद्बाट भएको निर्णयलाई सबै तह र निकायमा कार्यान्वयनका लागि निर्देशित गर्न माग गर्नुभयो । उहाँले राष्ट्र बैङ्कबाट निष्कासन हुने नोटमा नेपाल संवत्को पनि प्रयोग गर्न र विदेशस्थित नेपाली नियोगहरुमा नेपाल संवत्को नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन आग्रह गर्नुभयो । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सरकारी निकायमा नेपाल संवत्को प्रयोगको अवस्थाबारे अनुुगमनको व्यवस्था गर्न सुुझाव दिनुुभयो । सरकारले २०६५ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । यस वर्षको नेपाल संवत् ११४५ कछलाथ्व पारु यही कात्तिक १७ गते मनाइँदैछ । उक्त दिन बिहान भक्तपुरको मध्यपुर थिमीस्थित साख्वाको प्रतिमामा माल्यार्पण र काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रम हुनेछ । समारोह समिति र प्रतिष्ठानले ती कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा दिएको छ । सो अवसरमा पूर्वमन्त्रीहरु कृष्णगोपाल श्रेष्ठ, दिलीप महर्जन, अगुवाहरु हीतकरवीर सिंह कंसाकार, मल्ल के सुन्दर, प्रा नरेशमान बज्राचार्यलगायतको उपस्थिति थियो ।
जनकपुरधाम: साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा रु पाँच करोड २३ लाख बराबरको आयोडिनयुक्त नुन बिक्रीवितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि असोज महिनासम्म आफनो डिलरमार्फत ४५ हजार तीन सय ७० बोरा नुन बिक्री गरेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिनुभयो । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले तीनवटै जिल्लामा २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्रीवितरण गर्दै आएको छ । चालु आर्थिक वर्षमा प्रतिबोरा आयोडिनयुक्त नुन रु एक हजार एक सय ५० का दरले डिलरमार्फत बिक्री भइरहेको प्रमुख साहले बताउनुभयो । कार्यालयले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मूल्यका पसलसमेत सञ्चालन गरी नुन बिक्री गरिरहेको छ । गत असोज ७ गतेदेखि यही कात्तिक २९ गतेसम्मका लागि सञ्चालन गरिने ती पसलबाट असोज ३० गतेसम्ममा चार हजार छ सय प्याकेट नुन बिक्री गरेको प्रमुख साहले बताउनुभयो । सहुलियतदरको पसलबाट प्रतिप्याकेट रु २४ तथा सोभैm डिलरमार्फत रु २६ मा बिक्रीवितरण भइरहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा कार्यालयले रु १८ करोड ६२ लाख ८१ हजार मूल्य बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको थियो ।