पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

काठमाडौं:    भारतीय राजधानी नयाँ दिल्लीबाट काठमाडौंमा अवतरण गरेको विस्तारा एयरलाइन्सको विमानमा बमको हल्ला फैलिएपछि नेपालका सुरक्षाकर्मीले आवश्यक जाँचलाई अघि बढाएका छन्।  १५७ यात्रुसहित दिल्लीबाट काठमाडौं आएको विमानमा बम भएको हल्लापछि सुरक्षाकर्मीले सर्च सुरु गरेका हुन्। अपराह्न ४:३० मा त्रिभुवन विमानस्थलमा उक्त जहाज अवतरण गरेको थियो। जहाजमा बम भएको हल्लापछि सेना र प्रहरीले सर्च गर्न थालेका हुन्।  बमको हल्लापछि त्रिभुवन विमानस्थलको उडान समेत प्रभावित भएको छ।  भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार मात्रै ५४ वटा उडानमा बम भएको सूचना फैलिएपछि उडान प्रभावित भएका छन्।  भारतको इन्डियो, विस्तारा, एयर इन्डिया लगायतलाई लक्षित गर्दै बमले उडाइदिने धम्की आएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ।

काठमाडौं:     भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गर्नुभएको छ ।         गत असोज १२ को बाढीले सिन्धुली र रामेछाप जोड्ने पक्की पुल बगाएपछि सोही स्थानमा दु्रतगतिमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सडक, पुलसम्बद्ध प्राविधिक तथा नेपाली सेनालाई एक समारोहबीच मन्त्री दाहालले सम्मान गर्नुभएको हो ।        आज बिपी राजमार्गअन्तर्गत सिन्धुली एवं रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका क्रममा खुर्कोट पुग्नुभएका यातायातमन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताउनुभयो ।        सो अवसरमा सडक विभागका महानिर्देशक रामहरि पोखरेल, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लीलजन खनालसहित टोलीको उपस्थिति थियो ।        बाढीले रामेछापतर्फको ५१ मिटर पक्की पुल बगाएपछि आवागमन पूर्णरुपमा अवरुद्ध भएकामा आजदेखि यातायात सञ्चालनमा आएको नेपाली सेनाले जनाएको छ । बेलिब्रिज सञ्चालनमा आएसँगै गाडीको भारबहन क्षमता परीक्षण गरी यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताइयो ।        सम्मान कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङसहित स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, सरकारी अधिकारीसहित स्थानीय जनताको उपस्थिति थियो ।

काठमाडौं:    सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।       सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ ।  बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए ।  एक सय ७७ जना घाइते भएका छन् भने, १८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्र्रदान गर्ने क्रम जारी छ ।

म्याग्दी:    चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।      हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको घोडेपानीका होटल व्यवसायीहरुले बताएका छन् ।  दसैँको समयमा घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएपछि घोडेपानी तथा पुनहिलमा पर्यटकको आगमन बढेको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताउनुभयो ।      उहाँका अनुसार तिहार र छठ पर्वका अवसरमा घोडेपानी घुम्न आउने आन्तरिक पर्यटकलाई यहाँका सबै होटल तथा लजले खाजा, खाना र आवासमा १० प्रतिशतसम्म छुट दिएका छन् ।  म्याग्दीको सदरमुकाम बेनीबाट सवारी साधनमार्फत दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक घोडेपानी आएका छन्भने कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाडा, पर्वतको भुक देउराली हुँदै पैदलयात्रा गरेर आउने पर्यटकहरुको सङ्ख्या पनि उल्लेख्य रहेको होटल व्यवसायीहरुले बताएका छन् ।      दसैँपछि धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको होटल सञ्चालक विरेन पुनले बताउनुभयो । पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको दूरीमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ ।      धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प (एबिसी)बाट फर्कने तथा पोखराबाट घोरेपानी आएर घान्द्रुक र एबिसीतिर जाने गरेका होटल व्यवसायी पुनले जानकारी दिनुभयो ।  विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायी उत्साहित भएको उहाँको भनाइ छ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ ।      समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा रहेका २६ सानाठूला सुविधायुक्त होटलमा दैनिक एक हजार दुई सयजना पाहुना बास बस्ने क्षमता रहेको छ । प्याकेजमा प्रतिव्यक्ति रु एक हजार पाँच सयदेखि रु पाँच हजारसम्मका सुविधायुुक्त कोठामा बास बस्न सकिन्छ ।      हिमाल, पहाडी भूूगोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण–६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र उपयुुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा परिचित छ ।  म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्न पछिल्लो समय सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार शुल्क लिने गरिएको छ ।      घोडेपानी पुगेका धेरै पर्यटक हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्वारका रूपमा चिनिएको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोडके, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनी बजारलगायत विभिन्न धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणमा पर्यटक पुग्ने गर्छन् ।

पोखरा:    गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको आज सम्पन्न बैठकमा गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका विषयमा छलफल गरिएको छ । बैठकले विधेयक प्रभावकारी बनाउने सम्बन्धमा विज्ञ, मातहतका सबै निकायसँग थप छलफल गर्ने निर्णय गरेको समितिका सभापति भोजराज अर्यालले बताउनुभयो ।  उहाँकाअनुसार बैठकमा  सडकको वर्गीकरण, ठेक्का प्रणालीमा भएका त्रुटी सच्याउने लगायतका विषयमा सुझाव प्राप्त भएको छ । बैठकमा समितिका सदस्यहरुले सडक पूर्वाधार निर्माण गर्दा त्यसको आवश्यकता र औचित्य समेतका आधारमा त्यसले पार्ने दीर्घकालीन प्रभावलगायतमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । समितिका सदस्य दीपेन्द्रबहादुर थापाले सडक विकासको मेरुदण्ड भएको बताउँदै बिना योजना जथाभावी बाटो खन्दा केबल खर्च मात्रै वृद्धि हुने बताउनुुभयो । सडक पूर्वाधार बन्ने तर त्यहाँ बस्ती नरहने जस्ता गम्भीर विषयलाई आत्मसात गरी आवश्यकताका आधारमा सडक निर्माण हनुपर्ने उहाँको धारणा थियो । अर्का सदस्य प्रकाश बरालले सडक मापदण्ड निर्माणमा आवश्यकता र औचित्यलाई ध्यान दिनुुपर्नेमा जोड दिनुभयो । बैठकमा समितिका सदस्य सीताकुमारी सुन्दास, पार्वती तामाङ, महेन्द्र थापा, गणेशमान गुरुङ, लक्ष्मण पाण्डे लगायतले सडकको वर्गीकरण गरिनुपर्नेमा जोड दिनुभयो । बैठकले कालीगण्डकी करिडोर अन्तर्गत निर्माणाधीन कोराला नाकासम्मको सडकको स्थलगत अनुगमन तथा निरीक्षण गर्ने निर्णय समेत गरेको छ । 

पोखरा महानगरपालिका–२५ हेमजास्थित अम्मटमा ‘बिच एण्ड फिस फेस्टिभल २०८१ आयोजना गर्ने भएको छ ।   हेमजामा रहेको आर.एस.बिच क्लबले यही कात्तिक ९ गतेदेखि खुला ‘फाइभ ए साइड फुटबल प्रतियोगिता’ आयोजना गर्ने क्लबका अध्यक्ष रमेश कार्कीले बताए ।    ‘आर.एस.बिच क्लबले आयोजना गरेको बिच एण्ड फिस फेस्टिभल २०८१ को अवसरमा फाइभ ए साइड फुटबल प्रतियोगिता कात्तिक ९ गतेदेखि सञ्चालन गर्दै छौँ, अध्यक्ष कार्की भने, फेस्टिभलमा बल्छि हान्ने, साइकिलिङ, फ्रि स्टाईल फुटबल र बन्जी जम्प प्रतियोगिता गर्दै छौं ।’   उनका अनुसार फाइभ ए साइड फुटबलको उपाधि विजेताले ५० हजार  र उपविजेताले २५ हजार पुरस्कारसहित प्राप्त गर्नेछन् ।    प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, गोलकिपर, डिफेण्डर र हाईस्कोररलाई पुरस्कार प्राप्त गर्नेछन् ।    यस्तै फ्रि स्टाइल फुटबल प्रतियोगितामा च्याम्पियन बन्ने खेलाडीले १० हजारसहित बन्जी प्याकेज र उपविजेताले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।   प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।   घोडा दौड प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । घोडा दौडमा सहभागिता जनाउन एक टिमलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।    यस्तै बल्छी हान्ने प्रतियोगितासमेत आयोजना गरिएको क्लबले जनाएको छ ।   अम्मट गुफाको प्रचारप्रसार एवम् प्रर्वद्धन गर्ने उद्धेश्य   आर.एस.बिच क्लबका अध्यक्ष रमेश कार्कीले ऐतिहासिक महत्व बोकेको अम्मट गुफाको प्रचारप्रसारसँगै प्रवद्र्धन गर्ने उद्धेश्य रहेको बताए ।    ‘हामीले अम्मटरमा रहेको एतिहासिक अम्मट गुफाको प्रचारप्रसार गर्ने हो, यहाँ साहसिक बन्जी जम्प, जीपलाइन पनि सञ्चालन रहेको छ, कार्कीले भने, ‘यस स्थानमा व्यवसायिक मत्स्यपालसँगै यस क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्दै व्यवसायिक खेलकुद तथा पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउने उद्धेश्य रहेको छ ।’  

गलकोट:    स्वास्थ्य बिमा कार्यक्रममा यहाँका एक लाख २६ हजार तीन सय ९९ जना आबद्ध भएका छन् । विसं २०७३ आसरदेखि जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा क्रमशः आबद्ध हुनेको सङ्ख्या वृद्धि भएको हो । यहाँको  धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमा सेवा लागु भएकाले बिमामा आबद्ध हुनेको सङ्ख्यामा वृद्धि भइरहेको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताउनुभयो ।  पौडेलकाअनुसार स्वास्थ्य बिमामा आबद्धमध्ये ६६ हजार आठ सय ३९ महिला र ५९ हजार पाँच सय ६० पुरुष छन् ।  “स्वास्थ्य बिमामा आबद्ध भएपछि एक लाख सम्मको स्वास्थ्य उपचार निःशुल्क पाइने भएकाले नागरिक बिमामा आकर्षित भएका छन्”, पौडेलले भन्नुभयो, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजारले स्वास्थ्य बिमा गराएका छन्, एक पटक प्रमियिम तिरेपछि वर्षभरी सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।”  दुई लाख ४९ हजार दुई सय ११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गराइसकेका छन् । स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि धौलागिरि अञ्चल अस्पतालमा बिरामीको सङ्ख्यामा तेब्बरले वृद्धि भएको छ ।  पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार पाँच सय तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्यको हकमा प्रति सदस्य रु सात सयका दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ ।  बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेको छ ।

काठमाडौं:    विश्वभर शान्ति,एकता,मैत्री र मेलमिलाप प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ वार्षिकोत्सव पर्सी बिहीबार विविध कार्यक्रमका साथ जङ्गी अड्डामा मनाइँदै छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च पास, झाँकी प्रदर्शन, तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त ब्यान्डको प्रस्तुति रहनेछ । जङ्गी अड्डामा आयोजना हुने राष्ट्रसङ्घ स्थापना दिवस कार्यक्रमले शान्ति, समानता र सहकार्यका लागि एकजुट हुने सन्देश प्रवाह गर्ने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताउनुभयो ।           अन्तर्राष्ट्रिय श्रम, खाद्य तथा कृषि, विश्व स्वास्थ्य, हुलाक, नागरिक उड्डयन, जलवायु, बौद्धिक सम्पत्ति, सामुद्रीक, कृषि विकास कोष, औद्योगिक विकास र पर्यटन सङ्गठनलगायत उक्त विश्व संस्थाका १५ वटा विशिष्टिकृत निकायमार्फत श्रम, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलवायुका क्षेत्रमा मुलुकलाई सहयोेग प्राप्त हुँदै आएको छ । छ दशक पुरानो सहकार्य सन् १९५५ मा राष्ट्रसङ्घको सदस्य भएको नेपालले त्यसको तीन वर्षपछि शान्ति सैनिक परिचालन गर्न थालेको हो । मुलुकले शान्ति सेनामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मी परिचालन गर्दै आएका छ । राष्ट्रसङ्घीय शान्ति सेनामा सैनिक परिचालन गर्ने मुलुकको सूचीमा नेपाल प्रथम स्थानमा छ ।  राष्ट्रसङ्घको आह्वानमा हाल विश्वका एक सय २० राष्ट्रबाट ९७ हजार शान्ति कार्यरत छन् ।       राष्ट्रसङ्घको छाता मुनि विश्वका विभिन्न मुलुकमा स्थापना भएका ११ शान्ति मिसनमा छ सय ५१ महिलासहित पाँच हजार नौ सय १८ नेपाली शान्ति सैनिक परिचालन भएछन् ।  शान्ति सेनामा महिला परिचालन गर्ने  मुलुकको सूचीमा पनि नेपाल शीर्षस्थानमा छ ।  शान्ति मिसनमा सशस्त्र प्रहरी बलबाट एक सय ९५ र नेपाल प्रहरीका २८ जना कार्यरत छन् ।      द्वन्द्वबाट जटिल, जोखिम र चुनौतीपूर्ण बनेको परिवेशमा पूर्ण निष्ठा र व्यावसायिकताका साथ काम गरेर नेपाली शान्ति सेनाले  देशको गरिमा बढाएको छ । नेपाली सेनाका अनुसार हालसम्म ४४ मिसनमा एक लाख ५३ हजार छ सय ५४ नेपाली शान्ति सैनिक आफ्नो सौर्य प्रदर्शन गरेका छन् ।  सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवक्षक परिचालन गरेर विश्वशान्ति स्थापनाका निम्ति स्थापना भएको  राष्ट्रसङ्घसँग सहकार्य सुरु गरेको नेपालले सन् १९७४मा  नेपाली सेनाको पुरानो गोरख गणलाई इजिप्टमा परिचालन गरेको थियो । हालसम्म ७३ नेपाली शान्ति सैनिकले वीरगति प्राप्त  गरेका छन् भने ६९ जना घाइते भएका छन् ।       शान्ति सेनाका पूर्वफोर्स कमाण्डर ईश्वर हमाल नेपाली सैनिक व्यावसायिक तथा चुनौतिपूर्ण परिस्थितिमा पनि निर्भीकतापूर्वक निर्देशन कार्यन्वयन गर्ने भएकाले सबै फोर्स कमाण्डरले नेपालीलाई रुचाउने गरेका बताउनुहुन्छ ।  मिलनसार र उत्कृष्ट ढङ्गबाट  जिम्मेवारी पूरा गरेकै करण राष्ट्र सङ्घ र द्वन्द्वग्रस्त मुलुकका नागरिकको पहिलो रोजाइमा नेपाली सेना पर्दै आएको उहाँको विश्लेषण छ ।       राष्ट्रसङ्घबाट माग भएमा १० हजार सैनिक परिचालन गर्न नेपाल तयार रहेको सरकारले बताउँदै आएको छभने नेपालको योगदानलाई कदर गर्दै सिरियास्थित शान्ति मिसनको फोर्स कमाण्डरको जिम्मेवारी बलाधिकृत रथी निर्मल थापाले सम्हाल्ने अवसर प्राप्त भएको छ ।  यसअघि कृष्णनरसिंह थापा, भिक्ट्री राणा, बालानन्द शर्मा, पवनजङ्ग थापा, पूर्णचन्द्र थापाले फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्नु भएको थियो ।