काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ नाडा अटो शोको उद्घाटन गर्नुभएको छ। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको ब...

चितवनः     यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्रि सेवा सुरु गरिएको हो । यसका लागि आवश्यकपर्ने उपकरण रु एक करोड ५० लाखमा खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि सेवा सुरु गरिएको हो ।   उहाँका अनुसार एक जना डाक्टर र एकजना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो । तालिमप्राप्त जनशक्ति र उपकरण आएसँगै सेवा सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।  अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार यसअघि यो परीक्षण धेरै भारत पठाउने गरिन्थ्यो । केही नमूना काठमाडौँ जाने गर्दथ्यो । नतिजा आउन १५ दिनभन्दा बढी समय लाग्ने गरेकोमा अहिले पाँच दिनमा नतिजा आउने गरेको उहाँले जानकारी दिनुभयो । बाहिर पठाउँदा रु ३० हजारभन्दा बढी खर्च हुने गरेकोमा यहाँ परीक्षण हुँदा रु १२ हजार मात्रै लाग्ने गर्दछ । अस्पतालमा रक्त क्यान्सरका बिरामी धेरै नै हुने भएकाले बिरामीलाई सहज भएको छ ।  उहाँले भन्नुभयो “छिटो रोग पहिचान गर्न पनि सहज भएको छ ।” कार्यकारी निर्देशक डा पौडेलले अस्पतालका सेवा विस्तार गर्ने कार्यमा आफू लागिरहेको बताउनुभयो । अस्पतालमा थन्किएर बसेको सिटी स्क्यान मर्मत गरेर सञ्चालनमा ल्याइएको छ,भने लामो समयदेखि रोकिएको मेमोग्राम सेवा छिट्टै सञ्चालनमा ल्याइदै छ ।  

पर्सा:    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताउनुभएको छ ।       परिवारका सदस्यसहित आज वीरगञ्जको घडीअर्वा पोखरीका छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिने कार्यक्रममा सहभागी हुँदै महामन्त्री थापाले तराई–मधेसको छठ पर्व सहभागी हुने रहर पहिलादेखि भए पनि यसपाली पूरा भयो भन्नुभयो ।  “तराई–मधेसको छठ पर्व हेर्ने पहिलादेखि नै मन थियो । हिजो साँझ सूर्य अस्ताउँदो समयमा जनकपुरको छठ हेर्ने अवसर मिल्यो । आज उदाउँदो सूर्यका अवसरमा वीरगञ्जको छठ पर्व हेर्न पाइयो”, उहाँले भन्नुभयो, “यहाँको छठ पर्व निकै व्यवस्थित र भव्य लाग्यो । एकदमै आनन्दको अनुभूति भयो ।”       महामन्त्री थापाले काठमाडौँको भन्दा तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताउनुभयो ।  “काठमाडौँको कमलपोखरीमा हामी आफैँ संलग्न भएर छठ पूजा गर्न थालेको त १२–१३ वर्ष भइसक्यो । छठपर्वसँग जोडिएको विधि र उत्साहका विषयमा त जानकार नै छु”, उहाँले भन्नुभयो, “विगतमा हामीले सञ्चालन गरेकाले पनि थाहा नै छ ।”      महामन्त्री थापाले जनकपुर र वीरगञ्जमा छठ पर्वको आआफ्नै विशेषता रहेको पनि बताउनुभयो ।  “सुरुआती चरणमा वीरगञ्जको घडीअर्वा पोखरीको गेटभित्र छिर्नेबित्तिकै त सजावट देखेर आनन्द लाग्यो । यहाँ त अनुमान गरेकोभन्दा पनि धेरै आकर्षक बनाइएको रैछ”, उहाँले भन्नुभयो, “काठमाडौँको कमलपोखरीमा पनि सजावट हुने गरे पनि त्यहाँकोभन्दा भव्य र सभ्य रहेको पाए ।”

भोजपुरः    भोजपुरमा किरात संस्कृतिलाई बचाउन साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।  पराम्परातगत रुपमा गरिँदै आएका प्रचलनको संरक्षणसँगै संस्कार संस्कृतिलाई नयाँ पुस्तासम्म पुयाउने लक्ष्यले भोजपुरको टेम्केमैयुङ–४ नागीले प्रशिक्षण कार्यक्रम  सञ्चालन गरेको हो । किरात रीतिरिवाजको संरक्षणसँगै संस्कार संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउने लक्ष्यले ५ दिने साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको टेम्केमैयुङ–४ का वडाध्यक्ष हर्कराज राईले बताउनुभयो ।  प्रशिक्षण कार्यक्रममा ६० जनाले सहभागिता जनाएका छन् । मुख्य रुपमा तीन वटा सिलीको प्रशिक्षण गरिएको हो । आधुनिक प्रविधिको विकाससँगै पराम्परागत चलन लोप हुने खतरा बढ्दै गएकाले नयाँ पुस्तालाई जागरुक गराउन प्रशिक्षण दिएको उहाँले बताउनुभयो । “किरात संस्कृतिको संरक्षण तथा विकास गर्ने लक्ष्यले साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हौँ”, वडाध्यक्ष राईले भन्नुभयो, “पुर्खाले गरी ल्याएको चलनलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन यसले भूमिका खेल्नेछ ।” परीक्षण कार्यक्रममार्फत आप्तुवारुङ सिली, चासुम सिली र तायामा खियामा सिलीको विषयमा मुख्य रुपमा जानकारी दिइएको प्रशिक्षक शरणबहादुर राईले बताउनुभयो ।  यस्ता प्रशिक्षण कार्यक्रमले भाषा, संस्कार सस्कृतिको संरक्षण गर्दै पुुर्खाले मान्दै आएका चलनको संरक्षण तथा विकासको टेवा पुग्ने उहाँको भनाइ छ । “पछिल्लो अवस्थामा युवायुवतीले आफ्नो चालचलन रहनसहनलाई भुल्दै गएको अवस्था छ”, उहाँले भन्नुभयो, “जसका कारण पुराना चलन लोप हुने खतरा बढ्दै गएको छ । नयाँ पुस्तालाई अद्यावधिक गराउन साखेवा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर आवश्यक ज्ञान सीप प्रदान गरेका छौँ ।”  सहभागीलाई श्रव्य, दृश्य तथा अभ्यास गराएर विभिन्न किरात सिलीको महत्व तथा नाच्ने तरिका बारेमा प्रशिक्षण दिइएको किरात राई वान्तावा खिम भोजपुरका अध्यक्ष लालबहादुर वान्तवा राईले बताउनुभयो ।  किरात रीतिरिवाजसम्बन्धी ज्ञान भएका पुराना पुस्ता सकिँदै गइरहेकाले भावी पुस्तालाई आफ्नो संस्कारप्रति सक्रिय बनाउन कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ ।   वडाको पहलमा गरिएको प्रशिक्षण कार्यक्रमले भाषा, संस्कार, संस्कृतिको संरक्षण टेवा पुग्ने सहभागीले बताएका छन् ।  विभिन्न अवसरमा साखेवा सिली नाचिने भए पनि कतिपयले यसको महत्वको तथा नाच्ने तरिका नजानी नाच्ने गरेकाले प्रशिक्षण कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।  वडाले रु १ लाख ४० हजार बजेट विनियोजन गरेर किरात राई वान्तावा भाषा तथा संस्कार र साखेवा सिली प्ररिक्षण कार्यक्रम सञ्चालन गरेको हो । भाषा, संस्कार संस्कृतिहरु लोप हुँदै गएको अवस्थामा वडाले सञ्चालन गरेको कार्यक्रम प्रशंसायोग्य रहेको स्थानीयवासीको भनाइ छ ।   

काठमाडौँः    गीतकार दिनेश अधिकारी, सङ्गीतकार अशोक राई (भारत) र गायक अर्जुन रसाइली (अमेरिका)लाई यस वर्षको अम्बर गुरुङ स्मृति पुरस्कार प्रदान गरिएको छ । गायक एवं सङ्गीतकार पेमा लामाको प्रमुख आतिथ्यमा दार्जिलिङको मिरिकमा गत मङ्गलबार आयोजित कार्यक्रममा अम्बर गुरुङ सालिक संरक्षण समितिले गीतकार अधिकारीलाई रु ५१ हजार नगद र ताम्रपत्रसहितको पुरस्कार प्रदान गरेको हो । त्यस अवसरमा गीतसङ्गीत र गायन क्षेत्रका आवद्ध व्यक्ति एवं कलाकारले स्वर्गीय गुरुङका गीत प्रस्तुत गरेर उहाँप्रति सम्मान प्रकट गर्नुभएको थियो ।  समितिका अध्यक्ष शीला लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल, भारत, भुटान र अमेरिकाका साहित्य साधकहरूको उपस्थिति थियो ।  

काठमाडौँः     स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु २ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु १ लाख ६४ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ६६ हजार ५ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बिहीबार प्रतितोला रु १ हजार ९ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार नौ सय ८० निर्धारण भएको छ । 

काठमाडौँः     समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक भोलि हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भोलि शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सहभागी हुन सचिवालय सदस्यहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्माकुमारी अर्याललाई पत्राचार गरिएको जानकारी उहाँले दिनुभयो ।   

प्युठान:   प्युठानमा मोटरसाइकलको ठक्करबाट ३ महिनाको शिशुको ज्यान गएको छ ।       ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको ३ महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।       उहाँका अनुसार शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कुँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्न गई घाइते भएका थिए ।  घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्युठान नगरपालिका–१ चेरनेटा बस्ने २३ वर्षीय विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

रसुवा:    लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराइरहेका राहदानी नं बिसी ८९१५०२८ का ३४ वर्षीय स्लोभाकियाका अन्ड्रेज हुसुर्कालाई तेस्रोपटकको हवाई खोज उद्धारबाट फेलापरेको हो । समुद्र सतहबाट एक हजार सात सय मिटरको उचाइमा रहेको लिरूङ हिमाल क्षेत्रको करिब ३० मिटरको गहिरो खोंचमा वरिष्ठ क्याप्टेन विवेक खड्काको उद्धार समूहले पर्यटकको शव फेलापारेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । ती पर्यटकको शव परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल  राखिएको छ ।  उनीसँगै गएका चेकरिपब्लिकका राहदानी नं ४६१५६३३०९१ राहदानी नं ५० का  मारेक होलेसेक भने गत हप्ता सम्पर्कमा आएका थिए । ठमेलस्थित काठमाडौँ ट्रेकिङ कम्पनीमार्फत पठाएको पर्यटकलाई हिमालमा पठाउँदा न्यूनतम मापदण्ड पूरा गरेरनगरेको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

धरानः    इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहनुभएको छ ।  परिश्रमी उहाँले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै  आउनुभएको छ । उहाँले भन्नुभयो,  “बेतका सामान बनाउने र बिक्री गर्दै आएको २२ वर्ष भयो । फर्निचर महँगो भए पनि यसको बजार छ । इटहरी, तरहरा र मोरङको पथरीसम्म बिक्री गर्दै आएको छु, ती स्थानमा मात्र बिक्री गर्दा खर्च कटाएर मासिक रु ५० हजारसम्म बचाउन सकिन्छ ।” बेतबाट बनेका डोका, डाला, नाङ्लो मुढा, कोक्रोलगायत फर्निचरमा ग्राहकको आकर्षण बढिरहेको छ । उहाँले भन्नुभयो, “बेतको फर्निचर आकर्षक र टिकाउ भएकाले ग्राहकको रोजाइमा आफ्ना उत्पादन परेका छन् ।” उहाँले सजावटका सामान पनि बनाउन थाल्नुभएको छ । ती सामानको उच्च माग रहेकाले आफू त्यसमा नै बढी व्यस्त हुने गरेको बताउनुभयो । हाल उहाँको पसलमा १२ प्रकारका बेतका सामान बिक्रीमा छन् । बेतबाट बनेका सजावटका सामान रु ७ सयदेखि रु १६ हजार सम्ममा बिक्री हुने गरेका छन् । सिलगुडीबाट १ बण्डल बेतलाई रु ३ हजार ५ सय पर्ने गरेका छन् । एक बण्डल बेतबाट ५ वटासम्म सामान बनाउन  सकिने भएकाले आफूलाई घाटा नभएको उहाँले बताउनुभयो ।राजकुमारजस्तै धरान–९ का पर्शु तामाङले पनि बेतका सामग्री बेचेर मनग्ये आम्दानी गर्नुभएको छ ।  ११ वर्षदेखि बेतका फर्निचर बनाउँदै आउनुभएका उहाँले मासिक रु ८० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो ।  उहाँले कोक्रो, सोफा, डाइनिङ टेबल, कुर्सी, मुढा, ह्याङ्गर, धाकी, गमला र्याकलगायत सामान बनाउने गर्नुभएको छ ।  उहाँले भन्नुभयो, “बेतको सामान बनाउन जोकोहीले सक्दैनन्, त्यसैले भारतीय कालीगढ राखेर काम गरिरहेको छु, बिक्रीको समस्या छैन । बेतको सामान १० देखि २५ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।”  हातमा सीप भए रोजगारीका लागि विदेशिनु नपर्ने तथा स्वदेशमै व्यवसाय गर्न उहाँ युवापुस्तालाई प्रेरित गर्नुपर्नेमा जोड दिनुहुन्छ ।