काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

काठमाडौं:    राष्ट्रिय सुरक्षा परिषद्ले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका क्रममा नेपाली सेना परिचालनका लागि अपनाउनुपर्ने विधि अवलम्बन गर्नका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको परिषद्को ३६औँ बैठकले स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेनाको परिचालनसम्बन्धी विधि मन्त्रिपरिषद्मा पठाउन सिफारिस गरेको रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।      नेपालको संविधान २०७२ को धारा २६६ को उपधारा १ मा मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन गर्नका लागि राष्ट्रिय सुरक्षा परिषद्ले मन्त्रिपरिषद्लाई सिफारिस गर्नुपर्ने व्यवस्था छ ।       बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, नेपाली सेनाको प्रधानसेनापति र रक्षा सचिव उपस्थित हुनुहुन्थ्यो ।

पोखरा:     गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बालबालिकाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र बाल परिषद गण्डकीले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले बालबालिको अधिकारको सम्मान गर्ने भनेको राष्ट्रको समृद्धि र प्रगतिको आधार तयार गर्नु भएको उल्लेख गरे । “बालबालिका हाम्रो समाजको भविष्य हुन् । उनीहरुको अधिकारको सम्मान गर्ने भनेको हाम्रो राष्ट्रको समृद्धि र प्रगतिको आधार तयार गर्नु हो । बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षामा पहुँच र जीवनस्तरमा सुधार ल्याउनु हाम्रो प्राथमिक कर्तव्य हो । ”, उनले भने । नेपालले बाल अधिकारको क्षेत्रमा महत्वपूर्ण कदम चालेको र बालश्रम सँगै बालविवाहको अन्त्य गर्नका लागि कानूनी व्यवस्था बनाउन सफल भएको भनाई उनको छ । उनले बालबालिकाको शिक्षा र स्वास्थ्यमा सेवा पहुँच बढाउन विभिन्न कार्यक्रम र नीतिहरु प्रदेश सरकारले लागू गरेको बताए ।  बालबालिकाको संरक्षणका लागि शिक्षा, स्वास्थ्य, पोषण र सुरक्षा क्षेत्रमा प्रदेश सरकारले विशेष ध्यान दिएको उनले उल्लेख गरे । मन्त्री थापाले बालबालिकाको अधिकारलाई सम्मान र सुरक्षा दिन केवल सरकारको मात्र जिम्मेवारी नभई नागरिहरुको जिम्मेवारी पनि भएको बताए ।  सबै मिलेर नै समाजका प्रत्येक बालबालिकालाई एक सुरक्षित र समान अवसरको जीवन प्रदान गर्न आवश्यक रहेको भनाई उनको छ । मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले बाल बालिकाको अधिकार प्रति प्रतिबद्द हुन आवश्यक रहेको बताए ।  सबै लागे बालबालिकाको समस्यालाई समाधान गर्न सकिने भनाई उनको छ ।  निबन्ध प्रतियोगितामा लमजुङ सुन्दरबजारकी ग्रीष्मा दवाडी प्रथम भएकी छिन् भने दोस्रो र तृतिय क्रमशः लमजुङ जिल्लाको राइनासका सुनिल श्रेष्ठ र नवलपुर कावासोतीकी रचना न्यौपाने भएका छन् । सान्तवना पुरस्कार भने तनहुँ जिल्लाका म्याग्दे गाउँपालिकाका प्रवेश पण्डित पाएका छन् ।   प्रतियोगितामा प्रदेशका ४४ गाउँपालिकाका ४४ जनाको सहभागिता थियो । प्रदेश बाल परिषदका अध्यक्ष सन्दीप चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैर सरकारी महासंघ नेपाल गण्डकीका अध्यक्ष पदम पहारी, निबन्ध प्रतियोगिताका मुल्यांकन समितिका  संयोजक कृष्ण प्रसाद पौडेल, सामाजिक विकास महाशाखा प्रमुख मुना अधिकारी लगायतले बालेका थिए ।

काभ्रेपलाञ्चोक:    गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त काभ्रेको पनौती नगरस्थित सिँचाइ आयोजनाको कुलो पुनःनिर्माणका लागि एक हजार सात सय स्थानीयले श्रमदान गरिसकेका छन् ।  करिब तीन साताअघि देखि पुनःनिर्माण थालिएको उक्त आयोजनाको कुलो करिब ९० प्रतिशत काम सकिएको जनाइएको छ ।       जनश्रमदानमा स्थानीय कृषक, महिला कृषि सहकारी, विभिन्न युवा क्लब, महिला समूह, आमा समूह, विद्यार्थी, शिक्षक लगायतको सहभागिता रहेको छ । हाल दुई ‘सिफ्ट’मा काम भइरहेको पनौत–४ का वडाध्यक्ष दीपकप्रसाद दाहालले बताउनुभयो ।  “श्रमदान अभियानमा स्वतस्फूर्त उत्साहपूर्वक सहभागिता जनाइरहेको छ, अब पनौतीको फाँटमा सिँचाइ ल्याउन सकिने आत्मविश्वासमा सबै पुगेका छन्”, उहाँले भन्नुभयो ।            अबको केही दिनमा भत्किएर र पुरिएर क्षतिग्रस्त कुलो पुनःनिर्माणको काम सकिने जनाइएको छ । अभियानका लागि खाजालगायत निर्माणका लागि आवश्यक औजार, सामग्री स्थानीयबाटै सहयोग प्राप्त भएको वडाध्यक्ष दाहालले बताउनुभयो ।  उहाँका अनुसार सिँचाइ पुनःनिर्माणार्थ बागमती प्रदेश सरकारबाट प्राप्त रु ५० लाख बजेट कुलोको क्षतिग्रस्त संरचनाको निर्माणमा खर्चिने भएकाले कुलो सफाइका लागि जनश्रमदान अभियान सञ्चालन गरिएको हो । आयोजनाको २० प्रतिशत संरचना नयाँ निर्माण र ८० प्रतिशत क्षेत्रमा कुलोमा थुप्रिएको माटो निकाल्नुपर्ने अवस्था थियो ।      करिब ६ किलोमिटर कुलो सरसफाइका लागि जनश्रमदानबाटै सकिने अवधारणा बनाई श्रम अभियान थालिएको स्थानीय सक्रिय महिला कृषि सहकारीको अध्यक्ष सुमित्रा आचार्य बञ्जाराले बताउनुभयो ।  उहाँले भन्नुभयो, “जनश्रमदानमा सक्रिय सहभागिताले उत्साह थपिँदै गयो, अभियानमा महिलाको पनि उत्तिकै सहभागिता जनाइएको छ, यो अभियान सन्देशमूलक पनि छ ।” उहाँका अनुसार सहकारीमा आबद्ध महिलाले पनि कुलो पुनःनिर्माणको सम्पूर्ण काम नसकिएसम्म विश्राम नलिने प्रतिबद्धता जनाएका छन् ।  बजेटको मात्रै भर पर्दा किसानमा पानी अभावले समस्या थपिने हुँदा जनश्रमदानलाई अघि बढाइएको पनौती–८ का वडा सदस्य विश्वनाथ श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विपद्पछि भोकमरीको अर्को विपद् आउन नदिन समयमै कृषकको खेतबारीमा सिँचाइ पुया¥उने अभियानमा लागिएको हो ।  बाढीपहिरोले सिँचाइ आयोजनाको अधिकांश भागमा क्षति पुगेको थियो । जनश्रमदान अभियानबाट कुलो पुनःनिर्माण थालिएको मङ्गलबार २३औँ दिनमा मल्पीस्थित १ नं गेटसम्म कुलो सञ्चालन गरिएको छ । सो आयोजनाको पुनःनिर्माण सकिएपछि पनौतीको करिब ६ हजार रोपनी जमिनमा पुनः सिँचाइ सुविधा पुग्ने जनाएको छ । 

काठमाडौं:    चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब रु ८४ अर्ब सरकारी ऋण थपिएको छ ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ प्रतिशत नाघेको हो ।      “चालु आवको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा कात्तिक मसान्तसम्ममा रु ८३ अर्ब ९५ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण रु २५ खर्ब १८ अर्ब पाँच करोड पुगेको छ”, कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, “जुन कुल जिडिपीको ४४ दशमलव १४ प्रतिशत हुन आउँछ ।”      विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण गत असोज मसान्तसम्मको तुलनामा कात्तिक मसान्तसम्ममा रु अर्ब ९८ करोड बराबर सार्वजनिक ऋण घटेको प्रतिवेदनमा उल्लेख छ ।  कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व रु १२ खर्ब ५२ अर्ब १६ करोड १८ लाख र बाह्य ऋण दायित्व रु १२ खर्ब ६५ अर्ब ८९ करोड ७२ लाख बराबर छ । जिडिपीका आधारमा ऋण प्रतिशत हेर्दा आन्तरिक ऋण २१ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव १९ प्रतिशत हो ।      सरकारले चालु आवका लागि रु पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । पहिलो चौमासिकसम्ममा रु एक खर्ब ६५ अर्ब ७२ करोड ऋण प्राप्त भइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ३० दशमलव ३० प्रतिशत हो ।      चालु आवका लागि सरकारले रु तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेकामा वार्षिक लक्ष्यको ४३ दशमलव ६४ प्रतिशत अर्थात् रु एक खर्ब ४४ अर्ब पहिलो चौमासिकमा उठाएको छ । त्यस्तै, रु दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने वार्षिक लक्ष्य रहेकामा कात्तिक मसान्तसम्ममा १० दशमलव एक प्रतिशत अर्थात् रु २१ अर्ब ७२ करोड ऋण लिइएको छ ।      चालु आवमा सरकारी ऋणको साँवाब्याज भुक्तानी गर्नका लागि सरकारले रु चार खर्ब दुई अर्ब बराबर बजेट विनियोजन गरेको थियो । कात्तिक मसान्तसम्ममा रु एक खर्ब आठ अर्ब १४ करोड साँवाब्याज भुक्तानी भइसकेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।  कुल जिडिपीको आधारमा कात्तिक मसान्तसम्ममा ऋणको साँवाब्याज तिर्न भएको खर्च एक दशमलव ९० प्रतिशत बराबर हो ।

जुम्ला:     जुम्लाको सिञ्जा गाउँपालिका– २ मा निर्माणाधीन सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएको छैन । विसं २०७६ असार ६ गते शिलान्यास गरी निर्माण सुरु भएको छ वर्ष बितिसक्दासमेत काम अझै अधुरै छ ।  चार हजार वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको सो सङ्ग्रहालयका अधुरा संरचना पनि जीर्ण बन्दै गएका छन् ।   सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका सचिव महेन्द्रराज तिवारीले सिञ्जा सभ्यताको ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदा झल्किने तथा पर्यटकका लागि अवलोकन केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले निर्माण सुरु भएको पनि पूर्णता पाउन नसकेको बताउनुभयो ।  उहाँले मौलिकता झल्काउने गरी सङ्ग्रहालय बनाउनुपर्छ भन्दा सुनुवाइ नगरी कङ्क्रिटका भवनगायतका संरचना बनाउन सुरु गरे तिनले पूर्णता नपाउनु दुःखद भएको धारणा राख्नुभयो ।  “सङ्ग्रहालयका लागि बनिरहेका संरचनाप्रति म व्यक्तिगत रूपमा सन्तुष्ट छैन । सुरूदेखि नै सङ्ग्रहालयका लागि कङ्क्रिट संरचना नबनाउ भनेकै तर सुनुवाइ भएन । काम सुरु भयो, केही भवनमात्रै बनाउने काम भएको छ तर यस्तो अवस्थामा कहिले कामले पूर्णता पाएर सञ्चालनमा आउने हो टुङ्गो छैन”, सचिव तिवारीले भन्नुभयो ।  यहाँका विभिन्न स्थानमा १३औँ शताब्दीमा निर्माण भएका चारवटा ऐतिहासिक देवल रहेका छन् । तीमध्ये तीन वटा सङ्ग्रहालयस्थल भन्दा बाहिर छन् । ती तीनवटै देवललाई काँडेतारले सुरक्षा गरिएका छन् ।  सोही गाउँमा तीबाहेक विभिन्न स्थानमा आठवटा सम्पदा रहेका सिञ्जा गाउँपालिका–२ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सङ्ग्रहालयका लागि निर्माण गरिएका भवन सिमेन्ट, सरिया र जस्ता पाताको प्रयोग गरेर बनाइएका छन् ।  त्यहाँ साना ठूला गरी तीन वटा कङ्क्रिट भवन छन् । सोही स्थानमा रहेको परम्परागत माटोको घर भने जीर्ण बनेर भत्किँदै गएको छ ।  स्थानीयवासी उमेश बुढाले सिञ्जाको ऐतिहासिक पक्ष र यहाँको मौलिकता संरक्षणका लागि बनाइएको सङ्ग्रहालयको बाँकी काम सम्पन्न गरी तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।  सङ्ग्रहालयका लागि एक करोड ३४ लाख लगानी नेपाली खस भाषाको उद्गमस्थल रहेको सिञ्जामा कर्णाली प्रदेश सरकार र भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको सहजीकरणमा सङ्ग्रहालय निर्माण हुन थालेको ६ वर्ष भयो ।  विसं २०७६ मै रु ५० लाखको लागतमा सङ्ग्रहालय निर्माण सुरु गरिएको थियो । हालसम्म सङ्घ, प्रदेश र स्थानीय सरकारको रु एक करोड ३४ लाखभन्दा बढी खर्च भइसकेको छ ।  यहाँ सिञ्जा गाउँपालिकाले समेत लगानी गरिरहेको छ । सुरुमा सङ्घीय सरकारबाट विनियोजन ५० लाखमध्ये २० लाख विस्तृत परियोजना प्रतिवेदन (डिपिआर मा खर्च भयो । बाँकी रु ३० लाख पर्खाल निर्माणमा खर्च भएको खस सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका सचिव तिवारीले जानकारी दिनुभयो ।  गाउँपालिकाको रु २५ लाख लगानीमा पुस्तकालय भवन र रु आठ लाखमा परम्परागत भवन निर्माण सुरु भएको थियो । उक्त भवन दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । रु ५१ लाखको लागतमा सङ्ग्रहालय भवन निर्माण गरिएको छ । यसमा  कर्णाली प्रदेश सरकारको रु १० लाख र गाउँपालिकाको रु ४१ लाख खर्च भएको छ ।   सिञ्जा सभ्यताको संरक्षण र प्रवर्द्धनमा टेपा पुग्ने  विसं १४५५ मा राजा जालन्धरले सिञ्जा राज्य स्थापना गरेको इतिहास छ । राजा जालन्धर शिवभक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ जोडेर सिञ्जा नाम रहन गएको इतिहासकारहरूले भन्ने गरेका छन् ।  यहाँ शिलालेख, ऐतिहासिकस्थल, पाण्डव गुफा, विराटदरबार, कनकासुन्दरी मन्दिरलगायत ढुङ्गाले कुँदिएका विभिन्न आकृति छन् तर तिनको संरक्षण हुन सकेको छैन । हाल तिनका भग्नावशेष मात्रै भेटिन्छन् ।  सङ्ग्रहालय क्षेत्रमा १२ देखि १५औँ शताब्दीको बीचमा निर्माण गरिएका देवल तथा शिलालेख अहिलेसम्म सुरक्षित रहेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । उहाँले आगामी वैशाखसम्म बाँकी काम सम्पन्न गरी सङ्ग्रहालय सञ्चालनमा ल्याउने योजना रहेको  बताउनुभयो ।  “सङ्ग्रहालय सञ्चालनमा आएन भनेरै सबैले गुनासो गरिरहेका छन् । वास्तवमै यो यस क्षेत्रको ऐतिहासिक महत्वसँग जोडिएको बहुप्रतिक्षित योजना हो । यस विषयमा हामी सबै चिन्तित छौँ”, अध्यक्ष धितालले भन्नुभयो,“यो सञ्चालनमा आएमा सभ्याता संरक्षण मात्रै होइन, आन्तरिक तथा बाह्य पर्यटनदेखि खस भाषासम्बन्धी अनुसन्धान र अवलोकन सहज हुनेछ ।” सङ्ग्रहालय नाग्म–गमगढी सडक खण्डअन्तर्गत सिञ्जा हुँदै मुगु राराताल जाने बाटो नजिककै रहेको छ । यसको निर्माण सम्पन्न भएमा राराताल जानेहरूलाई पनि आकर्षित गरी पर्यटन प्रवर्द्धन लाई आकर्षण गर्न गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । 

म्याग्दी:    विभिन्न कम्पनीका डिलर (अधिकृत बिक्रेता)ले म्याद नाघेका सामान बिकाउन ग्रामीण क्षेत्रमा पठाउने गरेका पाइएको छ ।  अन्नपूर्ण गाउँपालिकाको ग्रामीण क्षेत्रमा पर्ने वडा नं ७ हिस्तान र वडा नं ८ राम्चेका पसलको अनुगमन गर्ने क्रममा म्याद सकिएका र सकिन लागेका सामग्री पाइएको हो ।      गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको टोलीले सोमबार र मङगलबार दुई वडाका ३६ वटा पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा रु ५१ हजार नौ सय ४० मूल्य बराबरका म्याद नाघेका सामान जफत र नष्ट गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।      “अनुगमनका क्रममा डिलरहरुले म्याद सकिने समय भएका सामान गाउँमा सस्तोमा पठाउने गरेको पाएका छौँ”, अध्यक्ष पुनले भन्नुभयो, “एक दिनअघि बिल काटेर गाउँमा पठाएको सामान पनि भेटियो ।  म्याद सकिन १५–२० दिनअघि बजारमा नबिकेका सामान गाउँमा पठाउने गरेको समस्या पाइयो ।” खाने तेल, कुरकुरे, कोक, फेन्टा, स्प्राइट, जुस, वियर, चिउरा, मिठाइलगायत बालबालिकाले र भोजभतेरमा बढी प्रयोग हुने सामग्रीको म्याद नाघेको पाइएको उहाँले जानकारी दिनुभयो ।       व्यापारीलाई म्याद हेरेर मात्र सामान खरिद र बिक्री गर्न आग्रह गर्दै सामान पठाउने अधिकृत बिक्रेतालाई पनि उद्योग वाणिज्य सङ्घमार्फत सचेत बनाउने अध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाले गत वर्षदेखि ग्रामीण क्षेत्रको बजार अनुगमनलाई निरन्तरता दिँदै आएको छ ।       अनुगमनका क्रममा दर्ता नभएका पसललाई दर्ता प्रक्रियामा आउन, समयमा नवीकरण गर्न र सरसफाइमा ध्यान दिन सुझाव दिइएको टोलीको भनाइ छ ।  उक्त टोलीमा अध्यक्ष पुनसहित प्रशासकीय अधिकृत भगवती खड्का कटुवाल, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा लीलाबहादुर चोखाल, वडाका जनप्रतिनिधि र कृषि शाखाका प्राविधिक सम्झना क्षेत्रीलगायत सहभागी हुनुहुन्थ्यो ।

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताउनुभएको छ ।  नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगेका सन्दर्भमा आज वक्तव्य दिँदै अध्यक्ष दाहालले शान्ति सम्झौताबाट नयाँ युगको सूत्रपात भएको बताउनुभयो । “आजको दिन सबैले स्मरण र सम्मान गर्नुपर्ने दिन हो”, उहाँले भन्नुभयो ।  उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायत न्यायपूर्ण सङ्घर्षमा साहदत प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।      शान्ति सम्झौताको मूलभूत मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने प्रक्रियामा रहेको जानकारी दिँदै अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारका पालामा सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि आवश्यक विधेयकलाई अन्तिम रुप दिइएको स्पष्ट पार्नुभयो ।  “अब त्यो निष्कर्षतर्फ जाँदैछ, हामी सबै यसमा खुसी छौँ”, उहाँले भन्नुभयो, “शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याएर नेपाललाई शान्तिको नयाँ ‘मोडेल’का रुपमा प्रस्तुत गर्न आपसी समन्वय र सहकार्य गर्दै अघि बढेका छौँ ।”       संविधानसभामार्फत संविधान जारी भइसकेपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत विकास र समृद्धिको जुन अपेक्षा गरिएको थियो, त्यो पूर्ण रुपमा हुन नसकेको असन्तुष्टि जनतामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ सङ्कल्पका साथ जानुपर्ने आवश्यकता औँल्याउनुभयो । त्यसका लागि संविधानलाई विकसित र परिमार्जित गर्न सकिने उहाँको भनाइ छ ।       अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन अनवरत खटिने राजनीतिक दल, नागरिक समाज र आमजनताप्रति आभार प्रकट गर्नुभयो । उहाँले जनअपेक्षाअनुसार सुशासन, विकास र समृद्धिको पक्षमा लाग्न सबैसँग आग्रह पनि गर्नुभयो ।       विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । सात राजनीतिक दलका तर्फबाट तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी)का तर्फबाट अध्यक्ष दाहालले हस्तक्षर गर्नुभएको थियो । 

गुल्मी:    जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाउनुभएको हो । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुनुहुन्छ । हालसम्म उहाँले तीन सय मुरी धान खेतबाट उठाइसक्नुभएको छ भने अझै सय मुरी उठाउन बाँकी छ ।  “हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौँ, अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी छ, धान काटेर सुकाउन राखेको छु । अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी छ”, अर्यालले भन्नुभयो । उहाँले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गर्नुभएको हो । भाडामा लिएको जग्गाको वार्षिक प्रति रोपनी तीन हजारका दरले बुझाउँदै आएको अर्यालले बताउनुभयो । यसरी उत्पादन गरिएको धानबाट चामल बनाउने र प्याकेजिङ गरेर बेच्ने उहाँको योजना छ । “पहाडमा सधँै तराईबाट चामल आउने भएकाले त्यसलाई रोक्न पनि गाउँमै मिलको स्थापना गरी चामललाई बिक्री गर्ने योजना छ”, उहाँले भन्नुभयो, “मिलका लागि राज्यले सहयोग गरे त धेरै सहज हुने थियो ।”  धान खेतीका साथै उहाँले व्यावसायिक भैँसीपालन पनि गर्नुभएको छ । उहाँसँग अहिले २१ वटा माउ भैँसी, एउटा ठूलो राँगो र १४ वटा पाडापाडी छन् ।  उत्पादन भएको धानबाट चामललाई ब्रान्डिङ गरी बिक्री गर्ने र भुस भैँसीको आहारका रूपमा प्रयोग गर्ने योजना बनाइरहेको अर्यालले बताउनुभयो । धान काटेलगत्तै उहाँले उक्त जग्गामा मकैखेती, घाँस वा अन्य तरकारी लगाउने उहाँले सुनाउनुभयो ।  धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एउटै किसानले यति धेरै परिमाणमा धान उत्पादन गर्नुले गरे के हुँदैन भनेर अरुलाई पनि राम्रो सन्देश दिएको बताउनुभयो । यस्ता किसानलाई प्रोत्साहनका लागि पालिकाले आवश्यक सहयोग गर्ने उहाँको प्रतिबद्धता छ ।  “मेघनाथले मिल स्थापनाका लागि सहयोग पाए हुन्थ्यो भन्ने गरेको सुनेका छौँ । यसमा लागत साझेदारी गर्न पालिका तयार छ । धुर्कोटमै चामलको मिल स्थापना हुने विषय पालिकाको लागि गौरवको विषय हो नि”, अध्यक्ष पोखरेलले भन्नुभयो ।  कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले गुल्मीमा उत्पादित चामललाई ‘ब्रान्डिङ’ गर्नुपर्ने बताउनुभयो । गुल्मी जिल्लाभर यसवर्ष सात हजार हेक्टरमा बर्खे धान लगाएकामा २१ हजार मेक्ट्रिक टन उत्पादन भएको उहाँले जानकारी दिनुभयो । 

काठमाडौं:    इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार नेपाल आउनुहुने भएको छ ।  किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएका नेपाली युवा किक बक्सर घिमिरे जापानको नागोया सहरमा बस्दै आउनुभएको छ ।       ‘हिमालय चितुवा’ घिमिरेले इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा नागोया कंग्रेस सेन्टरमा गत कात्तिक १० गते आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ (इस्का)  प्रतियोगिताको उपाधि चुमेर विश्वविजेता बन्नुभएको थियो ।  यो प्रतियोगितामा उहाँले फ्रान्सका कडा प्रतिद्वन्द्वी एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल हुनुभएको थियो । यसका लागि बक्सर घिमिरेले आफ्नै खर्चमा थाइल्यान्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण लिनुभएको थियो । यो प्रशिक्षण लिने उहाँ पहिलो नेपाली बक्सरसमेत हुनुभएको थियो ।       इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्नुहुने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिनुभएको थियो ।       ‘हिमालय चितुवा’ का रूपमा विश्वप्रसिद्ध हुनुभएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर हुनभएको थियो  । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा घिमिरेले पहिलो राउन्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर  ‘इन्टरनेसनल किक बक्सिङ’को उपाधि चुम्नुभएको थियो  ।       हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक हिट प्रतियोगिताको ‘टाइटल म्याच’को उपाधि ९बेल्ट० समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल हुनुभएको थियो ।       उहाँले विश्वप्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई ‘नक आउट’ गर्न सफल हुनुभएको थियो ।  हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्यान्ड, थाइल्यान्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसक्नुभएका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल हुनुभएको छ ।        जापानको नागोया सहरमा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आउनुभएको छ ।  कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुनुहुन्छ ।  चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उहाँको  परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ । नेपाल बसाइका क्रममा अविरलले आफ्नो अनुभव युवा पुस्ताका बक्सरलाई जानकारी गराउनुहुनेछ ।