‘एक वर्षभित्रै राहदानी नेपालमै छापिन्छ’
पाेखरा | पुस ७, २०८१
पोखरा: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी कागजात देशभित्रै छापिने उल्लेख गर्नुभएको छ । मन्त्री गुरुङले राहदानीलगायतका सरकारी कागजात देशभित्रै छाप्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो ।
वराह माध्यमिक विद्यालय माछापुच्छे ६, कास्कीमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय सुरक्षा र खर्च कटौतीका लागि पनि यसो गर्नु जरुरी रहेको औँल्याउनुभयो ।
“धेरैजसो सरकारी कागजात र परिचयपत्र विदेशमा छापिने गरेका छन् । अबको एक वर्षभित्रै पासपोर्ट ९राहदानी० नेपालमै छाप्छौँ,” उहाँले भन्नुभयो, “नोट पनि देशमै छापिने अवस्था निर्माण गर्छौं ।”
उहाँले देशमा अराजकता, अस्तव्यस्तता बढ्दै जाँदा त्यसलाई रोक्न दुई ठुला दल मिल्नुपरेको बताउनुभयो । सरकार गठन भएको ५ महिनामा देखिने गरी ठुलो परिवर्तन नभएको भए पनि समस्या पहिचान गरी समृद्धिको यात्रा थालिएको उहाँको भनाइ छ ।
“देश भित्रभित्रै मक्किएको, अर्थतन्त्र कमजोर बनेको अवस्था थियो । अराजकतावादी, उग्र वामपन्थी र विदेशी हस्तक्षेपबाट देशलाई असफल हुनबाट बचाउन एमाले र कांग्रेस मिलेका हुन्,” उहाँले भन्नुभयो ।
देशमा प्रमुख राजनीतिक दलहरूले ठुला ठुला आन्दोलन, क्रान्तिहरूको सफल नेतृत्व गरेको स्मरण गर्दै उहाँले आर्थिक, सामाजिक रूपान्तरण गर्दै समाजवादतर्फको यात्रा अब जरुरी भएको औंल्याउनुभयो ।
सरकारले काम गरिरहेको भए पनि सन्तुष्ट हुने अवस्था नभएको जनाउँदै उहाँले बाँकी अवधिमा देखिने गरी केही काम हुने दाबी गर्नुभयो ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले ३० प्रतिशत हाराहारीको विकास बजेटको पनि आधा मात्र खर्च हुने परिपाटी रहेको जनाउँदै यसलाई नबदली जनअपेक्षा पूरा नहुने प्रस्ट पार्नुभयो ।
“ऐन, कानुन, नीतिहरू बदल्दै अघि बढ्नु पर्छ । राजा महेन्द्रको पालाका ऐन, कानुनबाट गणतन्त्रको विकास र समृद्धि सम्भव छैन,” मन्त्री गुरुङले भन्नुभयो ।
मन्त्री गुरुङले सञ्चार मन्त्रालय देशभर गुणस्तरीय इन्टरनेट, नेपाल टेलिभिजन र रेडियो नेपालको पहुँच पु¥याउन लागिपरेकोसमेत जनाउनुभयो । पहिले लहडका भरमा विद्यालयहरू खोलिँदा अहिले अनेक समस्या आएको उहाँको भनाइ छ ।
“अध्ययन नगरी, पछि आउन सक्ने बसाइँसराइबारे नसोची स्कुल खोलिए, अहिले पूर्वाधार छन्, विद्यार्थी छैनन्,” उहाँले थप्नुभयो, “अब सरकारी विद्यालयहरूले पनि स्कुल बसको सुविधा र छात्रावास सुरु गर्नु पर्छ । हरेक गाउँमा स्कुल चल्ने अवस्था नहुँदा छात्रावास र बस अनिवार्य हुँदै गएको छ ।”
नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधारसहित सबैजसो क्षेत्रमा समस्या रहेको औँल्याउँदै उहाँले ती समस्या सुल्झाउँदै विकास र प्रगतिको पथ पहिल्याउन लागिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा आमूल परिवर्तन गर्नैपर्ने छ ।
अब शिक्षित बेरोजगार उत्पादन गर्ने होइन, सिप भएको, क्षमतावान र प्रतिस्पर्धी जनशक्ति तयार गर्न लाग्नु पर्छ ।” २०२४ सालमा स्थापना भएको वराह माविले कक्षा ११–१२ मा भेटेरिनरी अध्यापन गराउने गरेको छ ।
विद्यालयका अध्यक्ष आशमान रोकाले ग्रामीण क्षेत्रका विद्यालयलाई टिकाउन सरकार र अभिभावकको बलियो साथ चाहिनेमा जोड दिनुभयो । यहाँ सञ्चालित भेटेरिनरी शिक्षालयको रजत महोत्सवसमेत शनिबारै सुरुवात गरिएको छ ।
काठमाडौं: प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा ...
ताप्लेजुङ: ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय लिएको छ । पाथीभरा क्षेत्र विकास समितिको ...
काठमाडौं: लठ्ठीको साहारामा उभिएको बुढो शरीर । पावरवाला चस्माले परैबाट कसैलाई ठम्याउन खोज्दै थियो । आफ्नै जिल्लाबाट चुनिएर गएका नेता मन्त्री बनी गाउँघर आउनुभएको खबर सुनेर लमजुङ राइनास नगरपालिका&ndash...