काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ नाडा अटो शोको उद्घाटन गर्नुभएको छ। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको ब...

लमजुङ:    लमजुङमा आजदेखि जिल्लामै उत्पादित विद्युत् वितरण सुरु भएको छ ।  नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले मस्र्याङ्दी करिडोरको उदीपुरस्थित २२०/१३२/३३ केभी सबस्टेसनबाट जिल्लामा विद्युत् वितरण सुरु गरेको हो ।       विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेसनसहित जिल्लाका अन्य प्रसारण लाइनको निरीक्षणपछि उदीपुर सबस्टेशनबाट विद्युत् वितरण सम्भव रहेको जनाएसँगै आजदेखि जिल्लामै उत्पादित वितरण सुरु गरिएको वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले जानकारी दिनुभयो ।       यसअघि जिल्लामा दमौलीबाट आउने ३३ केभी प्रसारण लाइनबाट विद्युत् वितरण हुँदै आएको थियो । “यहाँ उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएर पुनःलमजुङ आउन ६० किमी दुरी पार गर्नुपर्ने थियो ।  उदीपुरस्थित सबस्टेसनबाट वितरण भएसँगै अब दुई किमी दुरी पार गर्नुपर्ने हुन्छ । यसले करिब ५८ किमी क्षेत्रको विद्युत्मा समस्या हुँदा लमजुङमा आपूर्ति बन्द हुने समस्या अन्त्य हुनेछ”, केन्द्रका प्रमुख भट्टराईले भन्नुभयो ।       दमौलीबाट वितरण हुँदा अन्य ठाउँमा भएका समस्याले जिल्लामा विद्युत् आपूर्ति बन्द हुने गरेको थियो । अहिलेसम्म दमौलीको लाइनका कारण लमजुङमा विद्युत् आपूर्तिमा अवरोध हुन्थ्यो ।  यहाँ उत्पादित विद्युत् जडान गरेपछि विद्युत् ट्रिपिङ (झ्याप्प झ्याप्प बिजुली जाने) को समस्या धेरै हदसम्म न्यूनीकरण हुने केन्द्र प्रमुख भट्टराईले बताउनुभयो । 

पोखरा:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ ।  आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।  अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि रविमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद थप गरिएको हो ।  रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि १३ दिन म्याद थप गरिएको छ ।   कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । पुन: तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो । उनीहरुविरुद्ध सहकारी  ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ । 

हेटौँडाः    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र_का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले सबै स्थानीय तहबाट खबरदारी अभियान चलाउने तयारी गरिरहेको बताउनुभएको छ ।  प्रेस सेन्टर मकवानपुरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देशव्यापी अभियान सञ्चालन गरी जनतासमक्ष पुग्ने बताउनुभएको हो ।   माओवादी केन्द्र सरकार बाहिर रहँदा अहिले जनतामाझ पुग्न सहज भएको उल्लेख गर्दै उहाँले केही कमजोरी सुधार गरेर परिवर्तनका पक्षमा सशक्त ढङ्गबाट अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।  अध्यक्ष दाहालले देशमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि विद्यमान निर्वाचन प्रणाली र शासकीय स्वरूप नै परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले भ्रष्टाचारको मूल कारण भनेको ठूलो धनराशि खर्च गरेर चुनाव जित्नु हो भन्दै त्यसको अन्त्यका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा आफूहरुले उठाएको स्पष्ट गर्नुभयो । अध्यक्ष दाहालले शासकीय स्वरूपमा परिवर्तन नआउञ्जेल नेपालमा स्थिरता कायम नहुने जिकिर गर्नुभयो । सहकारी ठगीको प्रशङ्गमा जवाफ दिँदै उहाँले आग्रह नराखी निष्पक्ष रुपमा अनुसन्धान प्रक्रिया अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै नेकपा माओवादीले अब सबै पालिकाबाट खबरदारी अभियान चलाएर आफ्नो भनाइ राख्ने तयार गरिरहेको बताउनुभयो ।   

बागलुङः    ढोरपाटन उपत्यका नजिकै एउटा सानो बस्ती छ । बस्तीमा पुग्दा केही चिटिक्क सजिएका, केही जीर्ण बनेका घर देखिन्छन् । काठैकाठ र माटोढुङ्गाले बनेका बार्दलीसहितका अधिकांश घरमा ताला लगाइएको छ । १ दशक अघिसम्म ती घरमा मानिसको बसोबास थियो । अहिले भने यहाँका अधिकांश घर सुनसान छन् । दशकौँदेखि बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्दै गएपछि बस्ती रित्तो बन्दै गएको हो ।  विसं २०१८ मा तिब्बतबाट आएका शरणार्थी पोखरा, काठमाडौँलगायत ठूला सहरमा जान थालेपछि बस्ती रित्तिन थालेको हो । ढोरपाटन नगरपालिका–६ को छेन्तुङ र वडा नं ९ को स्यालपाखेमा बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्न थालेपछि यहाँ बनेका घर जीर्ण बन्दै गएका स्थानीय बताउँछन् ।  खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका शरणार्थीले अवसर खोज्दै सहर पस्न थालेपछि बस्ती रित्तो बन्दै गएको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताउनुभयो । पहिले स्यालपाखे र छेन्तुङ गाउँमा ठूलो सङ्ख्यामा शरणार्थी बस्ने गरेमा अहिले बसोबास गर्ने घट्दै गएका उहाँको भनाइ छ ।  “ढोरपाटनमा पहिले धेरै शरणार्थीको बसोबास थियो, अहिले विस्तारै बस्ती खाली हुन थालेको छ । अवसर खोज्दै बजारतिर बसाइँसराइ गनृ गलेपछि अहिले गाउँमा बुढापाका मात्र छन्”, पुनले भन्नुभयो, “विकासका हिसाबले ढोरपाटन पछाडि रहेकाले पनि युवा अवसर खोज्न सहर तथा विदेश फस्न थालेका हुन् ।” नोर्जेलिङ तिब्बतीयन क्याम्प ढोरपाटनकी सचिव छिरिङ भुदीले अहिले ढोरपाटनमा करिब ४० जनाको मात्र बसोबास रहेको जानकारी दिनुभयो । आफ्नो बाउ र बाजे करिब ५३ वर्ष अघि यहाँ आएका भन्दै अहिले क्याम्पमा बुढापाका मात्र रहेका उहाँले उल्लेख गर्नुभयो ।  राज्यबाट यहाँका शरणार्थीलाई आधारभूत सेवा उपलब्ध हुनुपर्नेमा भुदलिे जोड दिनुभयो । क्याम्पमा बस्दै आएका हुनेखानेहरू सहर झरेपछि अहिले सामान्य परिवारका शरणार्थी मात्रै यहाँ बस्ने गरेका उहाँले बताउनुभयो ।  “पहिला यहाँ धेरै शरणार्थी बस्ने गरेका बुबा र हजुरबुबाले भन्नुहुन्थ्यो । अहिले घटेर ४० जना भएका छौँ”, भुदीले भन्नुभयो, “मानिस बसाइँ सरी जान थालेपद्धि अधिकांश घर जीर्ण बन्दै गएका छन् ।” जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार पछिल्लो तीन वर्षमा शरणार्थी परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या पनि कम हुँदै गएको छ । आर्थिक वर्ष २०७८/७९ मा ५६, आव २०७९/८० मा ५३ र गत आवमा ५० जनाले परिचयपत्र नवीकरण गरेका छन् ।   

बागलुङः    जैमिनी नगरपालिकाले प्रमुख धार्मिक गन्तव्यको रूपमा रहेको जैमिनीधामको प्रवर्द्धन गरी पर्यटक भित्र्याउन योजना बनाएको छ । जैमिनी नगरपालिका–१ जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा अवस्थित छ । जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न थालिएको हो । ऐतिहासिक धार्मिकस्थलमा पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमार्फत पर्यटक भित्र्याउन थालिएको नगरपालिका कार्यालयले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जैमिनीधामको महत्व बढाएको छ ।राजमार्गमा गुड्ने सवारीसाधनमा हिँडेका पर्यटक जैमिनीधाम दर्शनका लािग पुग्न थालेपछि पूर्वाधार निर्माण जोड दिइएको नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।  प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको स्थानलाई प्रचारप्रसार गरी पूर्वाधार निर्माणमा जोड दिइएको उहाँको भनाइ छ । “धार्मिक महत्वको क्षेत्रलाई प्रचारप्रसार गर्नुका साथै पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिएका छौँ । जैमिनी ऋषिको तपोभूमिलाई ध्यान केन्द्रका रूपमा विकास गर्न जग्गा व्यवस्थापन गरेका छौँ”, उपप्रमुख शर्माले भन्नुभयो ।  दीर्घकालीन योजना अनुसार जैमिनीधामको पुनःनिर्माण, सभाहल, आश्रयस्थल, पदमार्गलगायत संरचना निर्मायाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार भइसकेको उहाँले जानकारी दिनुभयो ।  शर्माका अनुसार चालु आर्थिक वर्षमा रु २५ लाखको पूर्वाधार निर्माण गर्ने योजनासहित काम अघि बढेको छ । “नगरपालिकाले पालिकाको केन्द्र कुश्मिसेरा हुँदै भैरवस्थान जोड्ने पदमार्ग निर्माण गरिरहेको छ ।  पहिलो काम जैमिनी ऋषिको पूर्णकदको शालिक निर्माण गर्ने नगरको उद्देश्य छ । यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयस्तर वृद्धि हुँदै जाने अपेक्षा लिएका छौँ”, उहाँले भन्नुभयो । कालीगण्डकीको तटीय क्षेत्रमा रहेकाले नदीको कटान जोगाउन नगरपालिकाले विगतका वर्षमा ठूलो लगानी गरिसकेको भन्दै नगर उपप्रमुख शर्माले अहिले करिब तीन रोपनी जग्गा व्यवस्थापन भइसकेकाले अब नगरपालिकाले गण्डकी ध्यान केन्द्र निर्माण अघि बढाउने उल्लेख गर्नुभयो ।  उहाँले गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको रु १० लाख र पर्यटन मन्त्रालयको रु १५ लाख लगानीमा ध्यान केन्द्रका लागि पूर्वाधार निर्माण थालिएको जानकारी दिनुभयो । जैमिनी ऋषिको पूर्णकदको शालिक स्थापना गर्ने योजना दुई वर्ष भित्रै सम्पन्न गर्ने नगरपालिकाको योजना छ । धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सङ्घीयतासँगै नगरपालिकाको नाम जैमिनी ऋषिको नामबाट राखिएको उपप्रमुख शर्माको भनाइ छ ।  उहाँका अनुसार यहाँ शङ्खशिला, देव शिला र नाग शिला, जैमिनी ऋषिले तपश्या गरेको गुफा संरक्षणलगायत पूर्वाधार निर्माण गरिने छ ।पूर्वाधार निर्माणका लागि करिब रु १४ करोड खर्च लाग्ने अनुमान छ । जैमिनीधाममा व्यवसाय गर्दै आउनुभएका स्थानीय हरि नायकले कालीगण्डकी करिडोरका कारण जैमिनीधाम आउने पर्यटकहरू बढेका बताउनुभयो । उहाँले करिडोर पुरै कालोपत्र भएमा बुटवल हुँदै मुक्तिनाथ जाने पर्यटकलाई जैमिनीधाममा रोक्न सकिने धारणा राख्नुभयो । “पर्यटक भित्राउन र रोकिराख्न व्यवस्थित सडक, बस्ने स्थान, रमणीय वातावरण आवश्यक पर्दछ । कालीगण्डकी करिडोरमा अहिले कालोपत्रको काम भइरहेको छ ।  लुम्बिनीका पर्यटकलाई मुक्तिनाथ भित्राउने मुख्य मार्गका रूपमा परिकल्पना गरिएको करिडोर सम्पन्न भएसँगै यसको सकारात्मक प्रभाव जैमिनीधामलाई पुग्नेछ”, नायकले भन्नुभयो । वेदव्यास पुत्र जैमिनी ऋषिले योगसाधना र तपस्या गरेको यस स्थलको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न नगरपालिले योजना बनाएर कार्यान्वय थालेको हो । यसअघि जैमिनीधाममा यहाँको प्रसिद्ध माघे सङ्क्रान्ति मेला लाग्ने गरेकामा पछिल्लो केही वर्षदेखि उक्त मेला कुश्मिसेरामा लाग्ने गरेको छ ।   

काठमाडौं:     युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको आफ्नो चौथोँ खेलमा नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।       युएईको अजमानस्थित द सेभेन स्टेडियममा आजको खेलमा नेपालले टस जितेर थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।       गत बुधबारदेखि सुरु एसिया छनोटमा नेपालको यो चौथौँ खेल हो । नेपालले यसअघि दुई खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको छ ।       प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै, आफ्नो दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । साथै तेस्रो खेलमा शनिबार घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो ।        छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । 

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले  प्राडा कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।  राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरुलाई राजदूत पदमा नियुक्ति गर्नुभएको  हो ।       राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्राडा  ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र  लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको  राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

काठमाडौँः    हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीयस्थल तिलिचो तालको आधार शिविर ९बेसक्याम्प०मा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट चार हजार दुई सय ५० मिटर उचाइमा रहेको बेसक्याम्पमा राष्ट्रिय प्रसारण लाइन पु¥याएर विद्युत् आपूर्ति सुरु गरिएको छ । बेसक्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।बेसक्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरु सञ्चालित छन् । बेसक्याम्पमा विद्युत्का ग्राहक सङ्ख्या १५ रहेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ ।      सौर्य ऊर्जाको व्यापकले नधान्दा पर्यटकीयस्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेको उल्लेख गर्दै मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको बताउनुभयो । “राष्ट्रिय लाइन पुगेपछि बेसक्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ, विद्युत्को प्रयोग गरी पानी उमाल्न थालिएको छ जसले गर्दा ग्यासको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ”, बेसक्याम्पमा होटलसमेत सञ्चालन गर्दै आउनुभएका वडाध्यक्ष गुरुङले भन्नुभयो । लामो लाइन भएकाले ट्रिपिङ हुने समस्या छ, लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन सकिएमा होटलमा एसी राख्न र खाना पकाउन विद्युतीय चुलो इन्डक्सन प्रयोग गरी ग्यासको प्रयोगलाई पूर्ण रुपमा कटौती गर्न सकिने उहाँको भनाइ छ । उहाँले उक्त क्षेत्रमा दाउरा महँगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्यासको प्रयोग हुने गरेको उल्लेख गर्नुभयो । केही दिनअघि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सार पुग्नुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत तिलिचो तालको बेसक्याम्पमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पु¥याइएको जानकारी दिनुभयो । वडाध्यक्षसहित स्थानीयसँगको छलफलमा कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “बेसक्याम्पमा राष्ट्रिय ग्रीड पु¥याउनमा केन्द्रित थियौँ, ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत हुने मनाङ जिल्लाको समग्र विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन लाइन सुधारलगायत काम उच्च प्राथमिकतामा राखी अगाडि बढाउनेछौँ ।”      मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित राधी साना जलविद्युत् केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१ स्याक्र्युस्थित ३३÷११ केभी सबस्टेसनमा पु¥याइएको छ । उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेसक्याम्पमा पु¥याइएको हो ।       मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत् र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरेको छ । राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएका बेला साना जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति दिने गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताउनुभयो ।      मस्र्याङ्दी करिडोर २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा दुईसय २० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भई त्यहाँबाट लाइन दिन सुरु गरेपछि मनाङको विद्युत् आपूर्तिमा सुधार हुनेछ । धारापानी सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि आवश्यक संरचनाको व्यवस्था गरिएको छ । उक्त सबस्टेसनबाट लाइन दिन थालेपछि प्रसारण लाइन लम्बाइ घटी विद्युत् अपूर्तिमा सुधार हुनेछ । धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ ।  

बाजुरा:     जिल्ला अस्पताल बाजुराबाट सुत्केरीको आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  जिल्लाको हिमाली गाउँपालिका–५ की २२ वर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।       सुत्केरी रोकायाको एउटा बच्चा गाउँमै जन्माएको र अर्को बच्चा जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर जन्माएको भए पनि पेटमा समस्या आएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिनुभयो ।  उहाँको जानकारीअनुसार जिल्ला अस्पताल बाजुराले सुत्केरीको अवस्था जटिल भएकाले महिला तथा बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत  उद्धार गरिएको हो ।       सुत्केरी रोकायाको यही कात्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माउनुभएको थियो भने उहाँको स्वास्थ्यमा समस्या भएपछि हिमाली गाउँपालिकाको एम्बुलेन्समा जिल्ला अस्पताल बाजुरामा ल्याइएको थियो ।       जिल्ला अस्पतालमा २३ गतेकै साँझ ९ बजे शल्यक्रिया गरेर दोस्रो बच्चालाई जन्म दिनुभएको थियो । बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।