काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

जुम्ला:    यहाँका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री यामलाल कँडेलसँग आग्रह गरेका छन् ।  कृषि विकास कार्यालयले शनिबार किसानसँग आयोजना गरेको छलफलमा उनीहरूले जुम्ला स्याउले बजार नपाएको गुनासो गर्दै सहयोगका लागि अनुरोध गरेका हुन् ।  स्याउको मूल्य निर्धारणका साथै बजार खोजिदिन प्रदेश सरकारलाई यहाँका किसानले माग गरेका चन्दननाथ नगरपालिका–४ किसान नारायण चौलागाईँले बताउनुभयो ।  किसानसँग मुख्यमन्त्री कार्यक्रम लागू भए पनि स्याउको मूल्यमा एकरुपता कायम नभएको उहाँको गुनासो छ । उक्त विषयलाई पनि सम्बोध गर्न किसानले माग गरेका थिए ।  प्रदेश सरकारले स्याउको बजार सुनिश्चित गर्न  कर्णाली राजमार्गमात्र कालोपत्र हुनुपर्ने तथा स्याउमा सरकारले दिने अनुदान रोक्नुपर्ने चन्दननाथ नगरपालिका–२ का किसान रत्नबहादुर भण्डारीले बताउनुभयो ।वास्तविक किसानले अनुदान नपाएका उहाँको आरोप छ ।  मुख्यमन्त्री कँडेलसमक्ष  किसानले माटो परीक्षण प्रयोगशाला स्थापना, सैद्धान्तिक ज्ञानमात्र आर्जन गरेका कृषि प्राविधिकलाई व्यावहारिक ज्ञान दिनुपर्ने र शीतभण्डारको व्यवस्था हुनुपर्ने माग गरेका थिए । जुम्लामा ४ हजार ४ सय ७५ हेक्टरमा स्याउखेती हुने गरेको छ । चालु आवमा रु ६१ करोड ४१ लाख  स्याउ बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ ।

म्याग्दी:    विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आउनुभएका बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त हुनुहुन्छ । जिल्लाको पर्यटकीयस्थल लभ्लीहिलसँगै जोडिएको जग्गामा उहाँले उत्पादन गरेका प्याज, काउली,ब्रोकाउली,बन्दा, गोलभेँडाका बेर्ना खरिद गर्नेको दैनिक भीड लाग्ने गरेको छ । दैनिक ६० जनाभन्दा बढी ग्राहक बेर्ना खरिद गर्न आफ्नो नर्सरीमा आउने गरेका उहाँले बताउनुभयो । मङ्सिर पहिलो सातासम्म विरुवा बिक्री गरेर उहाँले रु २ लाखभन्दा बढी आम्दानी गरेको जानकारी दिनुभयो । “हालसम्म रु २ लाख १० हजार बराबरका बेर्ना बेचेँ । नर्सरीमा विभिन्न जातका बेर्ना हुर्कदै छन् ” उहाँले भन्नुभयो । उहाँको परिवारका ४ सदस्यको इलम पनि बेर्ना उत्पादन भएको छ ।  बेर्नासँगै उहाँले सागसब्जी पनि लगाउनु भएको छ । जैविक उत्पादन भएकाले ती खरिद गर्न उहाँको बारीमा नै ग्राहकको भीड लाग्ने गरेको छ । बेनी बजारमा पनि उहाँका उत्पादन केही घण्टामा उपभोक्ताका घरमा पुगिसक्छन् ।  सागसब्जीका बेर्ना खरिद गर्न कार्कीको नर्सरीमा रत्नेचौर,भकुण्डे,गौश्वारा,बगरफाँट,पुलाचौर देखि पर्वतको मल्लाज र बागलुङको कुँडुले,बान्द्रे लगायतका स्थानबाट किसान आउने गरेका छन् ।  उहाँले १ याममा बेर्ना बेचेर रु २ लाखभन्दा बढी आर्जन गर्दै आएको बताउनुभयो । २ रोपनी जग्गामा उहाँको नर्सरी फैलिएको छ । “बीउ र मलमा रु ३० हजारदेखि ४० हजारसम्म लगानी हुन्छ । एकै सिजनमा रु २ लाखदेखि ३ लाखसम्म आम्दानी गर्न सफल भएको छु”, कार्कीले भन्नुभयो ।

सिन्धुपाल्चोक:    साँगाचोकगढी  नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाउनुभएको छ ।  ६ रोपनीमा रु ३० लगानी गरेर खेती सुरु गर्नुभएका उहाँले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गर्नुभएको छ  । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उहाँ बताउनुहुन्छ ।    विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुट का लागि गरेमा वार्षिक रु १२ देखि १५ लाखसम्म कमाउन सकिने उहाँको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उहाँले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाउनुभएको हो । वर्षको २ पटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो रु ५सय भन्दा बढीमा बिक्री हुने गरेको छ । चौतारा साँगाचोकगढी  नगरपालिकाले  ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि रु ४ लाखसहयोग गरेको छ ।  एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम  गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेतीबाट  प्रशस्त आम्दानी हुने उहाँ बताउनुहुन्छ । 

पोखरा:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज पाँचौ पटक कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ ।   सहकारी ठगी अपचलन गरेको आरोपमा कात्तिक २ गते पक्राउ परेका उनलाई गत कात्तिक २५ गते चौथों पटक १३ दिनका लागि म्याद थपिएको थियो ।   उक्त म्याथ गएराति सकिएकाले लामिछानेलाई आज फेरि कास्की जिल्ला अदालत उपस्थित गराउन लागिएको हो ।   लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।    लामिछाने गोर्खा मिडियाको तत्कालिन प्रवन्धक निर्देशक हुँदा पोखराको सूर्यदर्शन सहकारीको रकम उक्त गोर्खा मिडिया प्रालिमा लगेर अपचलन गरेको आरोप उनी माथि छ ।   अहिले लामिछानेमाथि संगठित अपराध तथा सम्पत्ती शुद्धिकरण लगायतका विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीले  जनाएको छ ।  

पोखरा:   कास्की प्रहरीले यौन शोषण गरेको आरोपमा ३ युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमो गोरखाको पालुङ्टार ४ स्थायी घर भई लेकसाइड बस्ने १९ वर्षीया ममता तामाङ, मकवानपुरको बाग्मती गाउँपालिका  वडा ८ स्थायी घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका ७ कपन बस्ने २३ वर्षीया रिना तामाङ र  पूर्वी नवलपरासी मध्यबिन्दु नगरपालिका १० स्थायी घर भई हाल लेकसाइड बस्ने करिब १९ वर्षीया जस्मिन ठकुरी रहेकी छिन् ।   पक्राउ परेकी उनीहरुले बालिकाहरुलाई जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा गत बिहीबार राति पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।    उनका अनुसार पोखराको एक होटलको कोठाबाट ४ जना बालिकालाई उद्धार गरिएको छ ।   प्रहरीका अनुसार ति बालिकाहरुलाई होटलमा काम लगाइदिन्छु, मासिक तलब राम्रो हुन्छ, खानाबस्नको राम्रो सुबिधा छ भन्ने प्रलोभनमा पारेर यौन कार्यमा संलग्न गराएका थिए ।    पक्राउ परेका उनीहरुविरुद्द मानव वेचविखन तथा ओसार पसार मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।  

दमौली:    बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ ।  स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उहाँले रु १० लाख पाँच सय ६५ सहयोग गर्नुभएको थियो । दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताउनुभयो ।  सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बौद्ध छ । भियतनामका इन्जिनियरको सहयोगमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण थालिएको उहाँले बताउनुभयो ।  गुम्बाका माध्यमबाट  बन्दीपुरको पर्यटन प्रवर्द्धमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो ।  समाजसेवी गुरुङप्रति उहाँले कृतज्ञता ज्ञापन गर्दै समाजमा उहाँजस्ता धेरैको खाँचो रहेको बताउनुभयो । 

काठमाडौं:     निजी मेडिकल कलेजका सञ्चालकहरूले स्नातकोत्तर तहमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने जनाएका छन् ।  पत्रकार भेटघाटमा उनीहरूले स्नातकोत्तर तहमा अध्ययन गर्ने सरकारी मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताएका हुन् ।  चिकित्सा शिक्षा आयोगले भने विद्यार्थीलाई अधिकृत सरहको सेवासुविधा उपलब्ध गराउनका लागि निजी मेडिकल कलेजले स्नातकोत्तर तह पढाउनका लागि भर्नुपर्ने स्वमूल्याङ्कन फारम भर्नुपर्ने बताएको छ ।       एसोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले स्नातकोत्तर तहका विद्यार्थीलाई सरकारी मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताउनुभयो ।  उहाँले स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई कलेजमा काम गराएबापत केही सुविधा भने दिने बताउनुभयो । “विद्यार्थी पढाइसँगै केही सिक्न पनि आएका हुन् । त्यसैले सरकारी तलब सरह हामीले दिन सक्दैनौँ”, उहाँले भन्नुभयो ।       आयोगले कलेजहरूलाई भर्न पठाएको स्वमूल्याङ्कन फारममा विद्यार्थीलाई मासिक रूपमा आठौँ तह, मेडिकल अधिकृतको तलब सरह भत्ता उपलब्ध गराउने प्रतिबद्धता मागेको छ । त्यो भनेको रु ४८ हजार सात सय हो । निजी कलेजले भने मासिक रु २० देखि २५ हजारसम्म दिँदै आएको बताएका छन् ।       यस्तै, एसोसिएसनका उपाध्यक्ष डा बुद्धिमान श्रेष्ठले आफूहरूले आयोगले तोकेअनुसार मेडिकल अधिकृत सरहको तलब दिन नसक्ने बताउनुभयो ।

रामेछाप:    रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो । रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा  व्यावसायिकरुपमा जुनारखेती गर्नुभएको छ । गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उहाँले राससलाई बताउनुभयो ।  अघिल्लो वर्ष रु दुई लाख ५० हजारको जुनार बिक्री भएको तामाङले बताउनुभयो । यस वर्ष रु तीन लाख ५० हजारबराबरको जुनार बिक्री गर्ने योजना रहेको उहाँले बताउनुभयो । रामेछाप–६ का टेकबहादुर तामाङले पनि सात रोपनी जग्गामा जुनारखेती गर्नुभएको छ । गत वर्षको तुलनामा ४० प्रतिशत उत्पादन बढेको उहाँले बताउनुभयो । “गत वर्ष मैले जुनार बिक्री गरेर रु ७० हजारमात्र लिन सकेको थिएँ, यस वर्ष रु एक लाखसम्मको बिक्री हुने अनुमान छ”, उहाँले भन्नुभयो ।  सुकाजोरका किसान रामकुमार कार्की, ओखे्रनीकै युगराज पाख्रिन, शेरबहादुर तामाङलगायत किसानले जुनार उत्पादन गरेपछि उनीहरूको आम्दानी पनि बढेको छ ।  रामेछाप नगरापलिकाको हिमगङ्गा, सुकाजोर, ओख्रेनी र मन्थली नगरपालिकाको वडा नं १३ र १४ फुलासीमा जुनार उत्पादन गत वर्षको तुलनामा बढेको किसानले बताएका छन् ।  जुनार जोन सञ्चालन समन्वय समितिका अध्यक्ष गुञ्जबहादुर कार्कीका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मन्थली र रामेछाप नगरपालिकामा जुनार जोनका रूपमा काम गरिरहेको छ ।  परियोजनाले विभिन्न अनुदान, प्राविधिक सहयोग, कीटनासक औषधि र भिटामिन, यान्त्रिकीकरणजस्ता सामग्रीसमेत किसानलाई वितरण गरेको छ ।  परियोजना कार्यालयकी प्राविधिक भवानी बस्नेतले मन्थली र रामेछाप नगरपालिका क्षेत्रभित्र लागू भएको जुनार जोन क्षेत्रमा गत वर्ष पाँच सय २० हेक्टरमा सुन्तला जातका फलफूल उत्पादन भइरहेकामध्ये जुनार चार सय २२ दशमलव पाँच, सुन्तला ७८ र कागती २० दशमलव आठ हेक्टरमा जुनार खेती गरिएको थियो ।  यहाँ चार हजार तीन सय ८० मेट्रिक टन जुनार फलफूल उत्पादन भई रु १९ करोड ९३ लाख ९५ हजारबराबरको बिक्री भएको प्राविधिक बस्नेतले बताउनुभयो । यस वर्ष चार सय ३७ हेक्टरमा जुनार, ८१ हेक्टरमा सुन्तला तथा २२ हेक्टरमा कागतीखेती गरिएकामा चार हजार चार सय एक मेट्रिक टन उत्पादन हुँदा रु २२ करोड ६८ हजारबराबरको बिक्री हुने अपेक्षा गरिएको छ ।  जुनार उत्पादन बढेपछि यहाँका किसान हर्षित छन् । उनीहरूले बगैँचाबाट नै जुनारको दानाको साइजअनुसार प्रतिकिलो रु ६० देखि रु ७५ सम्ममा बिक्री गर्ने गरेका छन् । 

गलकोट:     कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ ।  अहिले करिडोर भएर भारतका पर्यटक मुक्तिनाथ पुग्न थालेका छन् । भारतका पर्यटकलाई मुक्तिनाथ पुग्ने सबैभन्दा छोटो बाटो कालीगण्डी करिडोर भएको हो ।  करिडोरले भारतीय पर्यटकलाई मुक्तिनाथ पुर्याउने र कालीगण्डकी तटीय क्षेत्रका पर्यटकलाई लुम्बिनीसँग जोड्न सफल भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । उहाँले दक्षिण भेगको करिडोरका कारण बागलुङको मुहार नै फेरिएको बताउँदै अहिले सडक धमाधम कालोपत्र भइरहेको बताउनुभयो ।  करिडोरअन्तर्गत बागलुङमा मात्रै ४४ किलोमिटर सडक पर्छ । यस सडकले बागलुङको दक्षिण भेग बलेवा, कुश्मिसेरा, जैदी हुँदै छिस्ती छिचोलेर गुल्मी पुग्ने गरेको छ ।  “दक्षिण बागलुङको विकासको ढोका करिडोरले खोलेको छ, मार्ग ९ट्रयाक० खुलेको पाँच वर्षमा नै कालोपत्र भइरहेको छ, करिडोरको बाटो भएर भारतीय पर्यटक मुक्तिनाथ र चीनका पर्यटकलाई लुम्बिनी भित्र्याउन सकिन्छ, त्रिदेशीय व्यापारिक सम्बन्ध स्थापित हुन्छ”, उपप्रमुख शर्माले भन्नुभयो । करिडोर चौडा भएदेखि नै ठूला मालवाहक ट्रक र पर्यटक बोकेका बस गैँडाकोटबाट जैमिनीधाम, बागलुङ कालिका, पञ्चकोट हुँदै मुक्तिनाथ पुग्ने गरेका छन् । कालोपत्र सम्पन्नपछि यो क्षेत्रमा सवारीको चाप निकै हुने देखिन्छ भने भारतबाट बागलुङ, म्याग्दी र मुस्ताङ भित्रिने छोटो मार्ग यही करिडोर भएको उहाँ बताउनुहुन्छ ।  बागलुङका स्थानीय सनम रानाका अनुसार बागलुङमा कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको मिलनविन्दु भएकाले पर्यटकीय क्षेत्रको विकासमा सडक सञ्जालले सहयोग पुरयाउने छ ।  करिडोरको ट्रयाक खोलेको पाँच वर्षमा विभिन्न खण्डमा स्तरोन्नतिसँगै धमाधम कालोपत्र भइरहेको छ । गैँडाकोटबाट चीनको सिमाना कोरलानाकासम्म करिडोरको चार सय ९५ किलोमिटरको २०७६ सालमा नै नेपाली सेनाको सहयोगमा ट्रयाक खुला गरिएको थियो । चीनका पर्यटक करिडोरबाट नै लुम्बिनी आउन थालेका हुन् ।  करिडोर निर्माण गर्ने २४ वर्षअघिदेखिको योजना अहिले साकार हुने क्रममा छ । गैँडाकोट–राम्दी–मालढुङ्गा दुई सय २४० किमी र मालढुङ्गा–बेनी–जोमसोम सडकखण्ड २५५ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर करिडोरको स्तरोन्नति र कालोपत्र भइरहेको छ ।  गैँडाकोट–मालढुङ्गा खण्डको दुई सय ४० किमीमध्ये एक सय ६२ अर्थात् ६७ प्रतिशत सडक कालोपत्र भइसकेको कालीगण्डकी करिडोर गैँडाकोट–मालढुङ्गा आयोजना कार्यालयका प्रमुख कल्पना अधिकारीले जानकारी दिनुभयो ।  सामाजिक अभियान्ता टीकाराम ढकाल कालीगण्डकी करिडोर एक धार्मिकमार्ग भएको बताउनुहुन्छ । लुम्बिनीबाट मुक्तिनाथ हुँदैै मानसरोवर जानलाई करिडोरले सहज भएकामा कालोपत्र सम्पन्नपछि थप सहज हुने उहाँको अपेक्षा छ ।  चीन र भारतलाई सिधा जोड्ने करिडोरमा सवारीसाधन गुड्न थालेपछि भारतका तीर्थयात्री रुरु क्षेत्र हुँदै मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुग्ने थालेका छन् ।  चीनका बौद्धमार्गीहरू भगवान् गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा ल्याउने वातावरण मिलाउन आवश्यक रहेको ढकालको भनाइ छ । चौबीस वर्षअघि करिडोरको परिकल्पना गुल्मीबाट गरेको ढकालले बताउनुभयो ।  कालीगण्डकी करिडोरले पवित्र कालीगण्डकी नदी क्षेत्रमा रहेको रुरु, कालिका मन्दिर, गलेश्वर, मुक्तिनाथ मन्दिरजस्ता धार्मिक पर्यटकीय क्षेत्रको विकासमा टेवा पुर्याएको बताउनुभयो । करिडोर क्षेत्रमा त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डजस्ता महत्त्वपूर्ण तीर्थस्थल पर्छन् ।