पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

पोखरा:  पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि अन्तर्गत रहेको कोईली ट्राभल्सले पोखराको हेमजाबाट भक्तपुरसम्म सुविधायुक्त बस सञ्चालनमा ल्याएको छ ।  ट्राभल्सले आजदेखि पोखराको हेमजाबाट पोखरा पर्यटन बसपार्क हुँदै २ वटा सुविधायुक्त बस सञ्चालनमा ल्याएको हो ।  पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका संरक्षक एवम् जगदम्बा ट्राभल्सका सञ्चालक केशवराज अधिकारीले ट्राभल्सले आजदेखि सञ्चालमा ल्याएको पोखरा–भक्तपुर बस सेवाको शुभारम्भ गरे । बस सेवाको शुभारम्भपछि बोल्दै पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका संरक्षक एवम् जगदम्बा ट्राभल्सका सञ्चालक केशवराज अधिकारीले समय अनुसार यात्रुहरुलाई सेवा दिने उद्धेश्यले सुविधायुक्त बसहरु सञ्चालमा आइरहेको बताए ।  ‘कुनै समय बस व्यवसायीहरुले यातायात क्षेत्रमा सिन्डिकेट लगाए भन्ने आरोप पनि लगाए, चुहिने भाचिएको सिट भन्ने लगायतका आरोप खेप्दै व्यवसायमा अगाडि बढ्यौ’, अधिकारीले भने, ‘अहिले समयमको माग अनुसार राजमार्गमा व्यवसायीहरुले सुविधायुक्त बसहरु सञ्चालन ल्याइरहेका छौं ।’ उनले सुविधायुक्त बसहरु सञ्चालमा ल्याएपनि सडका कारण व्यवसायमा चुनौती थपिएको बताए ।  ‘यातायात व्यवसायीहरुमा अहिले सडक र मौसमका कारण चुनौती खडा भइरहेको छ’, उनले भने, ‘चुनौतीकाबीच व्यवसायीहरुले यात्रुहरुलाई सहज रुपमा सेवा दिन सुविधायुक्त बसहरु सञ्चालनमा ल्याएका छन् ।  व्यवसायी अशोक कुमार चौधरी र मेघराज त्रिपाठीले कोईली ट्राभल्सबाट  २ वटा सुविधा युक्त बसको सेवा सुभारम्भ गरेका हुन् । बसमा २१ वटा सोफासहितको  र ८ सिल्परसहितको सिट रहेको छ ।   पोखरा–भक्तपुर र भक्तपुर–पोखरा एक जनाका लागि १ हजार ६ सय रुपैयाँ भाडा निर्धारण गरिएको बसमा यात्रुका लागि खाजा, चियाको सेवासमेत रहेको सञ्चालक अशोक कुमार चौधरीले बताए ।   

पोखरा:  गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन् ।  स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीविसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिएकी हुन् । सोमबार देखि पोखरामा सुरु भएको आठौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशीक पुष्प मेला २०८१ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘उपलब्ध भएसम्म हामीले अब स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ । यसले उत्पादनमा जोडिनुहुनेलाई उत्साह त मिल्छ नै, सँगै देशको अर्थतन्त्रलाई पनि टेवा पुर्याउँछ ।’ नजिकिदै गरेको फूलहरु समेतको पर्व तिहारमा पनि देशमा उत्पादीत फूलको प्रयोग गर्न उनको सुझाव छ ।  ‘देशको उत्पादनले मात्रै फूलको माग धान्न सक्ने अवस्था अहिले छैन । केहि समय अघिको वर्षाले पनि यसको खेतीमा असर गरेको छ । तर मिलेसम्म, उपलब्ध भएसम्म तिहारमा देशमै फूलेका फूलले शुभकामना र आशिष दिऔँ’ मन्त्री श्रेष्ठले भनिन् । आज कात्तिक १२ देखि पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको प्रर्दशनी तथा मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ ।   

म्याग्दी:     पहिलो अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरो माथिएस हर्जोग ७५ वर्ष अघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर पहिलो अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फर्किनुभएको छ ।  गत शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आउनुभएका हर्जोग शनिबार आफ्ना बुबा मौरिसका पदचाप पछ्याउँदै अन्नपूर्ण हिमालको आधार शिविर पुग्नुभएको थियो ।  म्याग्दीको अन्नपूर्ण–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा सर्वोच्च शिखर सगरमाथामा मानव पाईला पुग्नुभन्दा तीन वर्षअघि सन् १९५० जुन ३ तारिखमा मौरिस हर्जोग सहितको फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो । बुबा हिँडेको बाटो हेर्न र हिँड्न  अन्नपूर्ण क्षेत्रमा आउनुभएका माथिएसले प्राकृतिक सुन्दरताले भरिपूर्ण अन्नपूर्ण प्रथम हिमालको विश्वभर प्रचारप्रसार गर्न अनुरोध गर्नुभएको छ ।  माथिएसले अन्नपूर्ण र मौरिस हर्जोग पदमार्गलाई विश्वभर चिनाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो । माथिएसलाई उद्धृत गर्दै उहाँसँगै अन्नपूर्ण आधारशिविर जानुभएका मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले भन्नुभयो, ‘‘जेठो हिमाल भनेर चिनिने अन्नपूर्ण अहिले गुमनाम जस्तै छ ।  अन्नपूर्णको पर्यटकीय सम्भावनाका बारेमा विश्वभर प्रचारप्रसार गर्नुपर्दछ । मौरिस हर्जोग पदमार्ग, आधार क्षेत्र लगायतका स्थानहरुमा पर्यटन पूर्वाधार निर्माण गरेर विश्वभरका पर्यटकलाई यस क्षेत्रमा ल्याउनुपर्दछ ।’’ अभियान्ता गुरुङका अनुसार माथिएसले आधार शिविरस्थित पञ्चकुण्ड ताल नजिक राखिएको पिता मौरिसको सालिकमा माल्यार्पण गर्नुका साथै सामूहिक तस्बिर पनि खिच्नुभएको थियो । उहाँले आधार शिविर पुगेर केही बेर ध्यान पनि गर्नुभएको गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, ‘‘पदयात्राका क्रममा माथिएसले ७५ वर्ष पहिला आफ्ना पिता हिँडेको मार्ग देखेर चकित हुनुभयो । अहिले जस्तो उवेला पदमार्ग थिएन । भिरपहराको बाटो हुँदै मौरिस यही बाटो भएर अन्नपूर्ण हिमाल आरोहण गर्नुभएको बारेमा हामीले उहाँलाई जानकारी गराएपछि माथिएस दङ्ग पर्नुभयो ।’’  सन् २०२५ जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा माथिएसले ८२ वर्षीय आमासहित सम्पूर्ण परिवार अन्नपूर्णको पदयात्रामा आउने प्रतिबद्धता व्यक्त गरेको गुरुङले बताउनुभयो । बु बाले लेखेको ‘द अन्नपूर्ण’ किताबलाई नेपालीलगायत अन्य भाषाहरुमा पनि अनुवाद गरेर प्रकाशित गर्ने माथिएसले बताउनुभयो । हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरण समेत गरेको छ भने आधार शिविरमा रहेको पञ्चकुण्ड ताल नजिक मौरिसको सालिकसमेत राखेको छ ।  माथिएसको अन्नपूर्ण क्षेत्रको भ्रमणले यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको पालिका अध्यक्ष भरतकुमार पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ ।  पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तब्यका रुपमा विकास भएको छ ।

पोखरा:    भ्यू प्वाइन्ट क्लबको आयोजनामा पोखरा महानगरपालिका २२ भेडीखर्कमा दोस्रो संस्करणको ‘भेडीखर्क कप सिक्स ए साइड फुटबल प्रतियोगिता’ हुने भएको छ ।   तिहारको अवसरमा ‘खेल स्वास्थ्यका लागि स्वस्थ युवा देशका लागि’ भन्ने नारासहित २२ गतेदेखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने क्लबका सचिव अमित बरालले जानकारी दिए ।    उनका अनसार सो प्रतियोगिताको विजेताले नगद रु ५१ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।   यस्तै उपविजेताले नगद रु २६ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।    सो प्रतियोगितामा विधागततर्फ सर्वाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई पुरस्कृत गरिने बरालले बताए ।    प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु ५ हजार निर्धारण गरिएको छ । भने, टिम दर्ता फोनमार्फत (९८६०५८७८२८, ९८४६९८३८०४)पनि गर्न सकिने आयोजकले जनाएको छ ।      

काठमाडौं:    निजी क्षेत्रका ऊर्जा उत्पादकको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रको ऊर्जा विकासका लागि सहजीकरण गर्न ऊर्जामन्त्री दीपक खड्का समक्ष माग गरेका छन् ।  इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको टोलीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भेटेर सरकारले राखेको ऊर्जा विकासका लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न माग गर्नुभएको हो ।  अध्यक्ष कार्कीले आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाले जलविद्युत् आयोजनालाई दिनुपर्ने ऋण प्रवाह गर्न नसक्नु, भारतबाट विस्फोटक पदार्थ आयातमा अनौपचारिक रोक लगाउनु, वन तथा वातावरण मन्त्रालयले रुख कटानको स्वीकृति नै नदिनु, सरकारी जग्गा प्राप्तिमा हदबन्दीलगायतका झमेलाले आयोजना समयमै बनाउन नसकिएको उल्लेख गर्दै विद्युत् उत्पादनको अन्तिम मितिको म्याद बढाउन आग्रह गर्नुभयो ।     इप्पानले जलविद्युत् आयोजनाको अध्ययनमा लामो समय लाग्ने र कतिपय आयोजना अध्ययन गर्दागर्दै सम्भाव्य नहुने हुँदा आयोजना सबै हिसाबले सम्भाव्य भएर उत्पादन अनुमतिपत्र प्राप्त गरेपछि मात्रै उद्योग विभागमा दर्ता गर्ने व्यवस्था गरिदिनसमेत मन्त्रीसमक्ष आग्रह गरेको छ ।  यसैगरी, आयोजनाको प्रकृति र क्षमता अनुसार वित्तीय व्यवस्थापनको समय तोकिदिनसमेत माग गरेको छ । भेटमा मन्त्री खड्काले सरकारले सन् २०३५ सम्ममा २८ हजार पाँच सय  मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पूरा गर्न निजी क्षेत्रको साथ र सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।  “मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले निजी क्षेत्रलाई सँगै लिएर अगाडि बढ्न चाहेको छ, निजी क्षेत्रको ऊर्जा विकासमा देखिएको समस्या समाधान गर्न सरकार लाग्छ,” उहाँले भन्नुभयो ।       मन्त्री खड्काले विद्युत् उत्पादनका लागि लाइसेन्स लिएर बस्ने तर आयोजनालाई अगाडि नबढाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै काम नगर्ने आयोजनाको लाइसेन्स खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले बाढीपहिरोबाट क्षति पुगेका आयोजनाको बारेमा अध्ययन गरेर निर्णय गरिने बताउनुभयो । 

गलकोट:     राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिन एक महिना मात्रै बाँकी छ ।  कालोपत्रका लागि बिडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता २०८१ मङ्सिरमा सकिँदै छ । तर सडकको प्रगति भने जम्मा ५० प्रतिशत मात्रै रहेको छ ।  निर्माण कम्पनीलाई पटक–पटक ताकेदा गर्दासमेत कामले गति लिन नसकेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ ।  दुई वर्षमा सक्नेगरी सम्झौता भए पनि बल्ल आधा मात्रै काम भएको आयोजनाले जनाएको छ । बलेवा–मालढुङ्गा खण्डको गलुवामा गएको पहिरोले ट्र्याक बगाउदा करिडोर निर्माणलेसमेत गति लिन नसकेको हो ।  म्याद सकिनै लाग्दा आधा मात्रै काम भएको कालीगण्डकी करिडोर आयोजना कार्यालयका पाल्पाका सूचना अधिकारी अरुण खत्रीले बताउनुभयो । उहाँका अनुसार बलेवा–हर्मिचौरको ४४ किलोमिटर सडक सम्झौता अगावै काम सक्नेगरी कालोपत्र भइरहदा छोटो खण्डको रुपमा रहेको बलेवा–मालढुङ्गा सडकको १० किमि सडकले तीव्रता पाउन नसेकेको हो ।  “सम्झौता नथपे काम सकिने अवस्था देखिँदैन, मङ्सिरमा सम्झौता सकिन्छ, भौतिक प्रगति बल्ल ४८ प्रतिशत पुगेको छ, म्याद नथपि काम नसकिने देखियो”,  सूचना अधिकारी खत्रीले भन्नुभयो, “छ महिना म्याद थपेर निर्माण कम्पनीलाई ताकेता गर्ने हो । चालु आवमै काम सक्ने गरी निर्देशन दिएका छौँ ।” सूचना अधिकारी खत्रीका अनुसार १० किलोमिटर दूरी रहेको उक्त खण्डका लागि रु ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको थियो ।  सम्झौता अनुसार दुई वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरिसक्नुपर्नेमा आधा मात्रै काम गरेपछि स्पष्टिकरणसहित म्याद थप्ने तयारी आयोजनाको छ ।  असार मसान्तसम्म कालोपत्र गर्नेगरी कामले तीव्रता दिन थालिएको निर्माण कम्पनी बिडारी कन्ट्रक्सनले जनाएको छ । निर्माण व्यवसायी धुव्र बिडारीले सुरुमा निर्माणले तीव्रता पाए पनि समयमै भुक्तानी नपाउँदा समस्या भएको जानकारी दिनुभयो । “पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ । अब कामले तीव्रता पाउँछ, छ महिनाको म्याद मागेका छौँ, असार मसान्तभित्र काम सक्ने लक्ष्य छ”,  उहाँले भन्नुभयो । बागलुङ खण्डको ५४ किलोमिटर सडकमा कालोपत्र गर्न आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्र्भट र ग्याबिन जाली लगायतका पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको भए पनि ४४ किमि सडक कालोपत्रको चरणमा पुग्दा १० किमि सडकमा ढिलाइ भएको हो ।  करिडोरका कारण कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउनसक्ने सम्भावना छ । कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्र सम्पन्न गर्ने गरी ठेक्का लगाएको थियो । कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ ।  करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपालको उत्तरी सीमा चीनको कोरला र दक्षिणी सीमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइन्छ । 

काठमाडौं:    गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताउनुभएको छ ।  सिंहदरबारस्थित प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण÷नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा प्रष्ट रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्न भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानुन र विधयेक प्रस्तुत गरिएको धारणा राख्नुभयो ।      “प्रस्तुत विधयेक चाँडोभन्दा चाँडो समितिबाट टुङ्गो लगाएर आगामी अधिवेशनमा पूर्णता दिने कुरामा समितिले काम गरिदेओस भन्ने सरकारका तर्फबाट आग्रह छ”, गृहमन्त्री लेखकले भन्नुभयो–“यी विधयेक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानुन बनाउनुपर्छ ।”      विधेयकलाई आउँदो अधिवेशबाट पुर्ण रुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुङ्गोमा पु¥याएर सङ्घीय संसद्को अधिवेशनमा प्रस्तुत गर्न उहाँले आग्रह गर्नुभयो ।  “अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐनसम्बन्धी ऐनलाई समसामयिक रुपले परिमार्जन र संशोधन गर्न विधयेकहरु प्रस्तुत गरिएका छन्”, उहाँले भन्नुभयो, “जुन सम्मानित समितिमा विचाराधीन छ ।”      गृहमन्त्री लेखकले भ्रष्टाचारलाई न्यूनीकरण गरेर यसमा शून्य सहनशीलताको नीति अवलम्बन गरेर मुलुकमा सुशासनको प्रत्याभूति गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।  “यी विधयेकहरु पूर्ववर्ती सरकारबाट प्रस्तुत भएका भए पनि सरकार भनेको अविछिन्न उत्तराधिकारी हो, सरकार अलग÷अलग हुँदैन”, उहाँले भन्नुभयो ।

सङ्खुवासभा:      सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरिदबिक्री सुरु भएको छ । गीतसङ्गीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ ।  चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य मुख्य बजारमा समेत मादल बिक्री हुन थालेको छ । तिहारमा देउसी, भैलो खेल्दा मादल प्रयोग हुने भएकाले तिहार लक्षित मादल बिक्री सुरु भए पनि व्यापार भने घट्दो छ ।  एउटा मादलको मूल्य रु तीन हजारदेखि १५ हजारसम्म पर्ने गरेको छ । सानो र ठूलो मादलको मूल्य फरकफरक पर्दछ । मादल व्यवसाय गर्दै आउनुभएका भोजपुर षडानन्द नगरपालिका–६ केउरेनिपानीका शेरबहादुर सार्कीले मादलबाट वार्षिक रु एक लाख ५० हजार आम्दानी हुने गरेको भए पनि पछिल्लो वर्षहरुमा व्यवसायमा निरासा आएको बताउनुभयो ।  केही वर्षअघिसम्म ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाच गान गर्ने चलन थियो । तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउसी भैलो खेल्नेको थुप्रै समूह पाइन्थ्यो । तर आधुनिकतासँगै विद्युतीय बाजाको प्रयोग बढ्न थालेपछि मादलको महत्व कम हुँदै गएको हो ।   डिजिटल गीतसङ्गीतको कारण मादल नै सङ्कटमा पर्न थालेको छ । जसले गर्दा यो व्यवसायमा लागेकालाई भने झनै समस्या पर्दै गएको भोजपुर दिङ्लाकै अर्का मादल व्यवसायी बलबहादुर बयलकोटीले बताउनुभयो । पहिलेपहिले जोर मादल बजाएर आँगनमा देउसी खेलिन्थ्यो तर अहिले क्यासेट बजाएर सिकुवामा देउसी खेल्ने चलनले मादल लोप हुँदै गएको बयलकोटीले बताउनुभयो ।   विद्युतीय बाजा सस्तोमा पाइने भएकाले मादल बिक्रीमा कमी हुँदा मादल बजाउनेकै सङ्ख्या पनि कम हुँदै गएको छ । पछिल्लो समय मादल बिक्री हुन छोडेपछि इलेक्ट्रोनिक्स साउण्ड सिस्टमको माग बढी रहेको व्यापारी बताउँछन् ।  ठूला–ठूला मेला महोत्सवका लागि मात्र प्रयोग हुने विद्युतीय बाजा हिजोआज तिहारमा भैलो खेल्नका लागि पनि प्रयोग हुन थालेका कारण मादल बनाउने पेसा अँगालेका व्यक्तिको व्यवसाय नै सङ्कटमा पर्दै गएको छ ।

काठमाडौं:     विश्व कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले गत बसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको तस्बिर अङ्कित टिसर्ट प्रदर्शन गरेका थिए ।  गोलकिपर सुब्बाको जीवनीमा आधारित ‘एन्जिला’ नामक चलचित्रको प्रवद्र्धनका सिलसिलामा उक्त टिसर्ट सगरमाथा लगिएको थियो ।   आगामी माघ ११ गतेदेखि सार्वजनिक हुने उक्त चलचित्रमा प्रसिद्ध अभिनेता दयाहाङ राईलगायतका कलाकारसँग गोलकिपर सुब्बाले मुख्य पात्र बनेर अभिनय गरेकी छिन् । चलचित्रको पोष्टरमा गोलकिपर सुब्बाले बल समाइरहेको तस्बिर छापिएको छ ।       हिजो काठमाडौँको दशरथ रङ्गशालामा उनै गोलकिपर सुब्बा कप्तान रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसँग खेलेको सातौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमी फाइनल खेल कुनै चलचित्र प्रदर्शनभन्दा कम भएन ।  खेलमा प्रतिस्पर्धा, तनाव, विवादास्पद अवस्था, रोमाञ्चकारी क्षण तथा सुखद अनुभूतिजस्ता अनुभव दर्शकहरुले गरेका थिए । राति अबेरसम्म फुटबल प्रतियोगिता हेरेपछि नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाट अवकाश प्राप्त पूर्वप्रधानाध्यापक दीपक कपालीले नेपाल र भारतबीचको फुटबल प्रतियोगिता कुनै चलचित्र हेरेजस्तै रोमाञ्चकारी लागेको टिप्पणी गरेका छन् ।       लिग चरणमा समूह विजेता बनेपछि चिर प्रतिस्र्धी भारतसँगको प्रतिस्पर्धालाई नेपाली दर्शकहरुले निकै महत्व दिएका थिए । घरेलु मैदानमा हजारौँ नेपाली फुटबलप्रेमीहरुको उपस्थितिमा खेल्न पाउनु नेपाली फुटबल खेलाडीहरुका लागि महत्वपूर्ण अवसर थियो ।  नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक राजेन्द्र तामाङले सन् २०२२ मै भारतलाई नेपालले हराए पनि प्रतिस्पर्धीसँग सतर्क भएर खेल्नुपर्ने बताएका थिए । उनी नेपालको टिममा दक्षिण तथा मध्यएसियाकै उत्कृष्ट स्ट्राइकर भएकामा ढुक्क थिए ।  भारतीय प्रशिक्षक सन्तोषकुमार कष्यप भने सधैँ खाली रङ्गशालामा खेल्ने गरेका महिला खेलाडीहरुले आज भरिभराउ रङ्गशालामा खेल्न पाएकामा खुसी देखिन्थे ।  विगतमा महिला फुटबल प्रतियोगिताहरुमा दर्शकहरुको उपस्थिति कमै हुने गरेको थियो । तर करिब १५ हजार दर्शक क्षमताको दशरथ रङ्गशाला हिजो खचाखच भरिएको थियो । यसबाहेक टेलिभिजन प्रसारण तथा सामाजिक माध्यम युट्युबका माध्यमबाट पनि लाखौँ फुटबलप्रेमीहरुले यो खेल हेरेका थिए ।       महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता पाँचपटक जितिसकेको भारत तथा उक्त प्रतियोगितामा पाँचपटक नै उपविजेता बनेको नेपालबीचको हिजोको फुटबल खेल पूर्वाद्र्ध अवधिमा प्रतिस्पर्धात्मक रुपले अघि बढेको थियो ।  दुवै पक्षबाट गोल आफ्नो पक्षमा गर्ने प्रयास गरेता पनि सफलता भने मिलिरहेको थिएन । यस अवधिमा भारतीय खेलाडीहरुले बढी फल खेलेको देखिएको थियो ।      भूटानी रेफ्रीको निर्णय       मध्यान्तरपछिको ५१औँ मिनेटमा भूटानी रेफ्री ओम चोकीले नेपालकी स्ट्राइकर रेखा पौडेललाई दोहोरो पहेँलो कार्डसहित रातो कार्ड देखाएर मैदानबाट बाहिर निकालेपछि खेल तनावपूर्ण हुन सुरु भएको थियो । रे खा नेपाली फुटबल टिमकी पहिलो रोजाइकी स्ट्राइकर हुन् । यसपालिको प्रतियोगितामा उनले नेपाली खेलाडीहरुमध्ये सर्वाधिक सात गोल गरिसकेकी थिइन् ।  युएईमा क्लबमा आबद्ध भई व्यावसायिक खेल खेलिरहेकी उनलाई निकाल्ने रेफ्रीको निर्णयपछि दर्शकहरु आक्रोशित बनेका थिए । त्यसपछि रङ्गशालामा सुरक्षाकर्मीहरु बढाइएको थियो । स्ट्राइकर रेखा पौडेलले अब नेपालले बङ्गलादेशसँग खेल्ने फाइनल खेल गुमाउनेछिन् ।       रेखालाई मैदानबाट निकालिएपछि खेल केही बेर अवरुद्ध बनेको थियो । १० खेलाडीमा सीमित नेपाली पक्षलाई ७२औँ मिनेट भारतीय टिमकी सङ्गीता बासफोरले गोल गरेकी थिइन् । त्यसको लगत्तै नेपाली पक्षका तर्फबाट प्रिती राईले गोल गरे पनि रेफ्री ओम चोकीले मान्यता नदिएपछि खेल पुनः करिब एक घण्टा १५ मिनेट रोकिएको थियो ।  यसअघि दशरथ रङ्गशालामा यसरी लामो अवधिसम्म खेल रोकिएको उदाहरण छैन । जाडोयाममा रातिको समयमा लामो समयसम्म खेल रोकिए पनि फुटबलप्रेमीहरु आ–आफ्नो स्थानमा नै रहिरहेका थिए ।  रेफ्री चोकीले सुरुमा गोल भएको सङ्केत गरे तापनि सहायक रेफ्री र फोर्थ अफिसियलको सङ्केतअनुसार गोललाई मान्यता नदिएपछि विवाद बढेको थियो । नेपाली खेलाडीहरुले खेल्न नमानेपछि उनीहरुलाई मनाउन फुटबल पदाधिकारीहरुले धेरै प्रयास गरेका थिए ।  नेपाली टिमले खेल पुनः सुरु नगरे कारबाही गर्न सकिनेसम्मको जानकारी साफ च्याम्पियनसिपका सम्बन्धित अफिसियलहरुले दिएपछि नेपाली टिम पुनः खेल्न मञ्जुर भएको नेपाली प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिएका छन् ।       खेल पुनः सञ्चालन भएलगत्तै नेपाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले गोल फर्काई आफ्नो टिमलाई बराबरीको स्थितिमा लग्न सफल भएकी थिइन् ।  दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये मानिएकी उनले गोल गरेर मुलुकको शिर उँचो त बनाइन् तर गोल गरेको जोसमा मैदान बाहिर निस्किएर टिसर्ट खोलेकामा रेफ्री चोकीबाट पहेँलो कार्ड ब्यहोर्न बाध्य बनिन् ।  खेलको निर्धारित समयमा एक–एक गोल भई बराबरीमा टुङ्गिएपछि समय नथपेर गराइएको ‘टाइब्रेकर’मा नेपालले भारतलाई दुई गोलका विरुद्ध चार गोलले पराजित गरी फाइनलको ढोका खोलेको थियो ।       टाइब्रेकरका लागि दुवै पक्षले गोलकिपर समेत परिवर्तन गरेका थिए । भर्खरै मैदान प्रवेश गरेकी नेपाली गोलकिपर अन्जना रानामगरले दुईवटा पेनाल्टी बचाएर मुलुकलाई जिताउन महत्वपूर्ण भूमिका निभाएकी थिइन् ।  साँझ ६ बजेर ३० मिनेट जाँदा सुरु भएको उक्त फुटबल तीन घण्टाभन्दा बढी चलेको थियो । खेल समाप्त हुँदा रातिको झन्डै १० बजिसक्दा पनि पनि दर्शकहरु प्यारापिटको सिटबाट नउठेर नेपाली टिमको जितमा खुसियाली मनाइरहेका थिए ।        भूटानसँगको त्यो बराबरी       सातौँ साफ महिला च्याम्पियनमा नेपालको पहिलो खेलनै बिग्रेको थियो । विगतमा पराजीत गर्दै आएको भुटानलाई कुनै गोल गर्न नसकी पराजीत गर्न नसकेकामा नेपाली टिमले आलोचना पनि ब्यहोर्नुपरेको थियो ।  नेपाललाई भूटानी टिम भारी साबित हुन पुगी लिग खेल गोलरहित अवस्थामै टुङ्गिएको थियो । सो खेलमा नेपाली खेलाडीहरुले टिममा खेल नखेली व्यक्तिगत खेलेकाले गोलरहित खेल ब्यहोर्नुपरेको स्वयम् नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले पत्रकारहरुलाई बताएका थिए ।       विगतको तुलनामा भूटानले खेलमा सुधार गर्दै गएको कुरामा कुनै शङ्का छैन तापनि नेपाल र भूटानबीचको खेलमा नेपाली खेलाडीहरु वास्तवमै स्वार्थी भएको देखिएको थियो । प्रशिक्षक तामाङ खेलाडीहरु स्वयम्ले गोल बन्ने गरेर नायक बन्ने होडमा लागेको  स्पष्ट पारेका थिए ।       गोलको वर्षा       सातौँ महिला साफ च्याम्पियनसीपको लिग चरणमा नेपालले माल्दिभ्स विरुद्धको खेलमा गोलको वर्षा नै गरेको थियो ।  नेपालले माल्दिभ्सलाई शून्यका विरुद्ध ११ गोलले पराजित गरेको थियो । रेखा पौडेलले पाँच गोल, प्रिती राईले तीन गोल तथा सविता रानामगर, अमिशा कार्की र अनिता केसीले एक÷एक गोल गरेका थिए ।  खेलाडी रेखा पौडेल युएईमा व्यावसायिक फुटबल खेलिरहेको अवस्थामा राष्ट्रिय टिमबाट आबद्ध हुन स्वदेश फर्की टिममा सामेल भएकी थिइन् ।       यसअघिका महिला साफ च्याम्पियनसिपका प्रतियोगिताहरुमा पनि नेपालले माल्दिभ्स, पाकिस्तान जस्ता देशलाई अत्यधिक गोल गरेको थियो । नेपालले लिग चरणमै श्रीलङ्कालाई शून्यका विरुद्ध छ गोलले हराएको थियो ।  यस खेलमा रेखा पौडेलले दुई गोल गरेकी थिइन् भने सविता रानामगर, सावित्रा भण्डारी, अमिशा कार्की र रश्मीकुमारी घिसिङले एक÷एक गोल गरी नेपालीलाई लिगको समूह विजेताका रुपमा सेमी फाइनलमा प्रवेश गराउन योगदान गरेका थिए ।       भोकै तयारी       यो प्रतियोगिताको सिलसिलामा आफू एक हप्ता रोएरै तनावमा बसेको नेपाली टिमकी अग्रपङ्क्तिकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ ले बताएकी छिन् ।  भूटान विरुद्धको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि टिमकी स्कोकर सावित्राको अनुपस्थितिलाई पनि कारण मानिएको थियो । उनी फ्रान्समा स्थानीय क्लबका तर्फबाट फ्रान्सेली लिग खेल्न गएकी थिइन् । उनले त्यहाँ पनि गोल गरेकी थिइन् ।  उनी फ्रान्सदेखि नेपालमा साफ च्याम्पियनसिप खेल्न आएकी थिइन् । माल्दिभ्स विरुद्धको खेलको अघिल्लो राति मात्र उनी काठमाडौँ आइपुगेको अवस्थामा पनि उनलाई प्रशिक्षकले तयारी अवस्थामा राखेका थिए ।  दक्षिण एसियाकै उच्चकोटीकी स्कोरर मानिएकी साम्बाले सन् २०१६ को साफ च्याम्पियनसिपमा कूल १२ गोल गरेर प्रतियोगिताकै धेरै खेलाडी बन्न सफल भएकी थिइन् ।       फ्रान्सबाट स्वदेश फर्कने क्रममा विमानमा खानेकुरा नखाएर जुस मात्र पिएर आएको अवस्थामा पनि प्रशिक्षक तामाङले साम्बालाई खेलको उत्तराद्र्ध अवस्थामा मैदानमा उतार्ने लक्ष्यले बेन्चमा राखेका थिए ।  तर नेपालका तर्फबाट माल्दिभ्सविरुद्ध मध्यान्तरअघि नै चार गोल भइसकेपछि उनलाई मैदानमा उतार्ने अवस्था आएन । भारत विरुद्धको महत्वपूर्ण खेलमा ‘प्लेयर अफ द म्याच’को उपाधि सावित्रा भण्डारीले पाएकी थिइन् ।  उनले दर्शकहरुको अपार मायाका कारण नै नेपाली महिला फुटबल टिमले सफलता प्राप्त गरेको धारणा व्यक्त गरेकी छिन् ।       अब बुधबार बङ्गलादेश विरुद्धको फाइनलमा सावित्रासहितका नेपाली महिला फुटबल टिमसँग आबद्ध खेलाडीहरुले साफ च्याम्पियनसिप उपाधि पहिलोपटक मुलुकलाई दिलाउन अझ उत्कृष्ट योगदान दिने अपेक्षा नेपाली फुटबलप्रेमीहरुले गरेका छन् ।  गत छैटौँ महिला साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशसँग एक गोलका विरुद्ध तीन गोलले पराजय भोग्नु परेको पीडा नेपाली महिला खेलाडीहरुले भुलेका छैनन् ।