पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

म्याग्दी:    मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ ।   अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो ।  लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले खेर गइरहेको तातोपानीलाई पर्यटकीय गन्तव्य बनाउने र उपयोगमा ल्याउन पहल थालिएको बताउनुभयो ।  “लोमान्थाङको नजिकै भएर पनि ओझेलमा परेको तातोपानीको मुहानलाई व्यवस्थापन गर्न चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेका छौँ”, उहाँले भन्नुभयो, “तातोपानीलाई व्यवस्थित रुपमा उपभोग गर्न सक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने सम्भावना छ ।” लोमान्थाङ खोलाको किनारमा रहेको तातोपानीलाई पोखरीमा सङ्कलन गरेर स्नानको गर्ने व्यवस्था मिलाउने तयारी गरेको अध्यक्ष गुरुङले बताउनुभयो । चिसो हावापानी र मौसम हुने लोमान्थाङमा रहेको तातोपानीको मुहन प्रकृतिको वरदान हो । खोलाको किनारमा जमिनभित्रबाट करिब ५० डिग्री सेल्सियस तातोपानी निस्कन्छ ।  लोमान्थाङ–सुर्खाङ पदमार्गमा पर्ने तातोपानी कुण्ड नजिकैसम्म सडक पुगेको छ । बेनी–जोमसोम–कोरला सडक निर्माण भएपछि विकल्पमा पुराना घोरेटो बाटोलाई स्तरोन्नति गरेर पर्यटक हिँडाउन थालिएको हो ।  कुण्डको नजिकै आश्रयस्थल र स्नान गर्ने ठाउँ पनि छ । जमिनभित्रबाट भुक्लुक भुक्लुक गरेर तातोपानी निस्कने गर्छ । स्थानीयवासी भने तातोपानी नुहाउनका लागि जाने गर्छन् ।  पोखरीको पानीलाई भाडामा राखेर शरिरमा राख्दै नुहाउने गर्छन् ।  व्यवस्थित र प्रचारप्रसार नभएकाले लोमान्थाङ आउने पर्यटक कुण्डसम्म पुग्न नसकेका लोमान्थाङका वडाध्यक्ष ढुढुके विष्टले बताउनुभयो । कुण्डलाई व्यवस्थित गरेर लोमान्थाङ घुम्न आउने पर्यटकको बसाई लम्बाउने प्रयासमा रहेको उहाँले बताउनुभयो ।  लोमान्थाङदेखि ३० मिनेट पैदलयात्रा गरेपछि तातोपानीको मुहानमा पुगिन्छ । स्थानीयका अनुसार तातोपानी कुण्डमा स्नान गर्दा हाडजोर्नी तथा छालासम्बन्धी रोग निको हुन्छन् । तातोपानीमा स्नान गरेपछि थकान मेटाउन र शारीरिक स्फूर्ति हुन्छ ।  विशाल फाँटको बीच भागमा माटोको पर्खालले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको बस्ति हो । वरपर सुक्खा कलात्मक पहाडको बीच भागमा रहेको लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको यो ठाउँ समुद्री सतहदेखि तीन हजार सात सय २० मिटरको उचाइमा छ ।  समथर खेतीयोग्य फाँटको बीचमा बसेको लोमान्थाङ वरपरको भूगोल मनमोहक र आकर्षक छ । फाँटको फेदीमा तातोपानीको मुहान रहेको छ ।  माटोको पर्खालभित्र रहेको ऐतिहासिक बस्ती, दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको आकर्षण भएको लोमान्थाङ गाउँपालिका–५ का वडासदस्य लाक्पा वाङदी गुरुङले बताउनुभयो ।  अर्धनिषेधित क्षेत्रमा पर्ने उपल्लो मुस्ताङमा वार्षिक तीन हजार जनाको अनुपातमा विदेशी पर्यटक आउँछन् । त्यहाँ हिजोआज भने नेपाली पर्यटकको चहलपहल छ । 

जनकपुरधामबाट प्रहरीले २ सय २१ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन् ।   वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित चेकजाँचको क्रममा बाबा आयलस सेन्टर नजिकबाट ना. ५ ख १७७ नम्बरको मिनी ट्रकमा लुकाएर लैजाँदै गरेको गाँजासहित उनलाई पक्राउ गरेको हो ।   ट्रकमा फल्स बटन बनाएर राखेको १६ वटा पोकामा रहेको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  

निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ।   अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन।   दमौली बजारमा डिजाइन सेन्टरबाट २३/२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।   उनका अनुसार दमौली बजार खण्डमा नाला निर्माण भइरहेको छ।   ‘केही समय पहिला बिजुलीको नयाँ पोलहरु गाडीएको छ। बिजुलीको पोललाई आधार मानेर त्यसभित्र सडक विस्तार हुनेछ,’ उनले भने।   पाण्डेकाअनुसार सडकविन्दुबाट १२.२५ मा नाला निर्माण हुनेछ।   बिजुलीको पोलभन्दा बाहिर दुई मिटरमा पैदलमार्ग निर्माण गरिने उनले जानकारी दिए।   ‘दसैँ बिदा अगाडिदेखि काम सुरु गरिएकामा दसैँ बिदा सकिएपछि कामले झनै गति लिएको छ। मुग्लिन पोखरा सडकको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी, बन्दीपुरमा कामले गति लिँदा सदरमुकाम दमौलीमा काम हुन सकिरहेको थिएन,’ उनले भने।   सडक विस्तारका क्रममा दमौली बजारका ७४ घरटहरा भत्काइनेछन्। त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचना पर्छन्। केही लाभग्राहीले पहिलो किस्ता बापतको रकम बुझिसकेको पाण्डेले बताए।   पूर्वी खण्डमा आर्थिक वर्ष २०८०/८१ मा एकतर्फी रुपमा ५५ किलोमिटर दुई लेन कालोपत्र भएको छ। हालसम्म भने एकतर्फी रुपमा ६३ किलोमिटर कालोपत्र सकिएको पाण्डेको भनाइ छ।   पाण्डेकाअनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन्। त्यस्तै दुई ठूला पुल र १०३ वटा कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिए।   व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब र बिम बनाउने चरणमा पुगेको उनले बताए।

बलात्कार आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।    वडा प्रहरी कार्यालय घोराहीको नियन्त्रणमा रहेका प्युठान सरुमारानी गाउँपालिका–४ घर भई  ज्वालामाई गण भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले झुन्डिएर आत्महत्या गरेका हुन ।     वडा प्रहरी कार्यालय घोराहीको शौचालयको झ्यालमा प्रयोग गरिएको फलामको  रडमा आफूले लगाएको स्याण्डो र टिसर्टले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए ।   प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार सोमवार बिहान करिब पाँच बजेतिर शौचालय गएको र लामो समयसम्म नफर्किएपछि ढोका खोलेर हेर्दा झुन्डिएको अवस्थामा भेटिएका थिए ।    गत असोज २४ मा भलुबाङका १४ र ८ वर्षीय दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङस्थित शस्त्र प्रहरी बल ज्वाला माई गणका दुई प्रहरी नियन्त्रणमा थिए ।  आरोपित अर्का एक जना  हिरासतमै छन् ।

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले १ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका ४ गैह्रापाटन बस्ने २७ वर्षीय डा. शास्वत कोइराला रहेका छन् ।   कास्की प्रहरीका अनुसार पोखरा १२ परिवार नियोजनको कार्यालय अगाडी चेकजाँजको क्रममा उनलाई ग ३ प ९७४४ नम्बरको कारमा ओपोट्याब (OPOTAB)​ ५० र तपेन्टाडोल (Tapentadol Tablets) ४ सय ट्याब्लेट फेला पारेको थियो ।   त्यसपछि उनको घरमा खानतलासी गर्दा थप १ सय ६० चक्की लागुऔषध फेला पारेको थियो ।   यसैगरी नवलपरासीको मध्यविन्दु नगरपालिका ३ लेडा घर भई पोखरा १० हस्पिटलचोक बस्ने २४ वर्षीय सञ्जय चौधरीपनि लागुऔषधसहित पक्राउ परेका छन् ।   चौधरीको साथबाट ओपोट्याब (OPOTAB) ५० र तपेन्टाडोल (Tapentadol Tablets) १ हजार ३ सय ट्याब्लेट बरामद भएको थियो । पक्राउ परेका दुवै जनालाई १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गर्नुभएको छ ।   प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाकासम्म पुगी अवलोकन गर्नुभएको हो ।     प्रदेश प्रमुख भट्टले नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट यताका नेपालका भुुभाग निरीक्षण गर्नुभयो ।   त्यसअघि जोमसोममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले प्रदेश प्रमुख भट्टलाई कोरला नाका, त्यहाँ नेपाल तर्फका प्रगति विवरण तथा सडकको स्तरोन्नतिका बारेमा जानकारी गराउनुभएको थियो ।   उहाँले चीनतर्फ भव्य भवन लगायतका आधुनिक संरचना बनिसकेको जानकारी पनि गराउनुभयो ।   तिब्बततर्फ भन्सार लगायतका कार्यालयका लागि भव्य भवन र सहरी योजना बनाइसकेकाले नेपालतर्फ पनि आवश्यक संरचना आवश्यक भइसकेको प्रजिअ भुसालले बताउनुभयो । बेनी जोमसोम र जोमसोम कोरला सडक स्तरोन्नतिमा ढिलाई गर्न नहुने उहाँको भनाई थियो ।   धेरै पहिले नेपाल–तिब्बत व्यापारको महत्वपूर्ण नाका रहेकाले अब यसलाई सहज रुपमा खुलाउन सकेमा गण्डकी प्रदेशसँगै समग्र मुलुककै आर्थिक विकासमा टेवा पुग्ने लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताउनुभयो ।   नेपाल–चीन जोड्ने अन्य नाकाहरू भन्दा कोरला नाका सुरक्षित र छोटो भएकाले यस नाकालाई नेपाल सरकारले तुरुन्त खोल्न सके व्यापार मात्र होइन, पर्यटन क्षेत्रलाई पनि फाइदा गर्ने उहाँको भनाई थियो ।    लोमन्थाङ गाउँपालिका वडा नं.ं २ अध्यक्ष कर्म नाम्ग्याल गुरुङले चीन तर्फका सबै संरचना बनिसकेकाले कोरला नाकालाई सहज रुपमा खुलाउन अब समस्या नरहेको भन्दै पहलका लागि प्रदेश प्रमुखको ध्यानाकर्षण गराउनुभयो । लोमन्थाङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने खाँचो उहाँले औंल्याउनुभयो ।    कोरला नाका खुलाउँदा नेपालको आर्थिक वृद्धिमा सहयोग हुने मुस्ताङका स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी र पोखराका व्यवसायीको पनि विश्वास छ ।   कोरला नाका खुलाउन सके पोखरा आर्थिक केन्द्र बन्न सक्ने नेकपा एमाले लोमन्थाङ गाउँपालिका कमिटि अध्यक्ष लाक्पा वाङ्दी गुरुङले उल्लेख गर्नुभयो । शालिग्राम उत्पत्ति भएको ठाउँ दामोदरकुण्ड पनि यहीँ रहेकाले मुक्तिनाथ हुँदै यस क्षेत्र धार्मिक पर्यटनको पनि केन्द्र बन्न सक्ने गुरुङले बताउनुभयो ।    जिल्लाको पर्यटन विकासमा नेपाल सरकार र गण्डकी सरकारले विशेष ध्यान दिनुपर्ने बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. १ का अध्यक्ष प्रमेश गुरुङले बताउनुभयो ।   गण्डकी प्रदेश प्रमुख भट्टले कोरला नाका यस प्रदेशकै महत्वपूर्ण सम्पति रहेकाले सहज रुपमा खोल्ने र आवश्यक संरचना तथा भन्सार सञ्चालनका लागि नेपाल सरकारको ध्यान रहने बताउनुभयो ।    उपल्लो मुस्ताङसम्मको अवलोकन भ्रमणका क्रममा प्रदेश प्रमुख भट्टले पर्वतका पुलहरू, बञ्जी स्थल, बागलुङ कालिका भगवती दर्शन, मुक्तिनाथ मन्दिरमा दर्शन, घमीको स्याऊ खेती, लोमन्थाङ गाउँ अवलोकन, नेचुङ नजिकैको पाँच तले शिजा झोङ गुफा र कोरला नाकाको नेपाल क्षेत्र अवलोकन भ्रमण गर्नुभएको थियो ।   

काठमाडौं:     नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको छ । जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई तीन विकेटले पराजित गरेको हो । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा नेपालले दिएको २ सय ८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९।४ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान मोनांक पटेलले ६२, हर्मीत सिघले ५७ रन बनाएका थिए । नेपालका लागि कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर चार विकेट लिए । सोमपाल कामीले दुई र ललित राजवंशीले एक विकेट लिए । यसअघि नेपालले टस हरेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुँदै २ सय ८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाएका थिए भने अनिल शाहले ५६, आसिफ सेखले ५२ र आरिफ सेखले ३७ रन बनाएका थिए । नेपाल लिग(२ मा नौ खेलमा सातमा हार, एकमा जित र एक खेलमा अंक विहीन हुँदै तीन अंकका साथ सातौं स्थानमा छ । अमेरिका दश खेलमा सात मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । अब सिरिजमा अर्को खेल भोली मंगलबार राति नेपालले स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

काठमाडौं:   नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।  सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।  निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।   त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् ।  पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।        मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको छ । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको हो । नेपाल अहिले १० खेलाडीमा सीमित बन्यो । रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए ।  दोस्रो हाफमा भारतकी सङ्गीता बास्फोरले उत्कृष्ट गोल गर्दै अग्रता लिइन् । भारतले गोलको खुसी मनाइरहेको अवस्थामा नेपालले लगत्तै गोल गरेको थियो । तर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । तनावका कारण खेल लामो समयसम्म खेल रोकिएको थियो ।      खेल पुनः सुरु भए लगत्तै नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा पु¥याइन् । त्यसपछि गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा नेपालले चार तथा भारतले दुईवटा मात्र गोल गर्न सक्यो ।  नेपालले अब फाइनल खेल बङ्गलादेशसँग खेल्ने छ । दशरथ रङ्गशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको हो ।     

सोलुखुम्बु:     ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ ।       आज सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ)मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिनुभयो ।       मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पु¥याउनुहुने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्याङ्कनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार कूल ४० देखि ५० वटा विधामा अवार्ड प्रदान गरिनेछ ।       अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत रहने अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अवार्ड वितरण गर्न सम्बन्धित विषयविज्ञ सम्मिलित एक मूल्याङ्कन एवं छनोट समिति गठन भइसकेको छ ।       उहाँले पछिल्ला केही वर्र्षयता जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा परिरहेकाले यसले पर्यटन क्षेत्रमा पनि असर गरिरहेकाले बताउँदै यस विषयमा विश्व समूदायको ध्यानाकर्षण गराउन कालापत्थरमा पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।      “पाँच हजार छ सय ५३ मिटरको उचाइमा आयोजित यो सम्भवतः पहिलो पत्रकार सम्मेलन हो, यहाँबाट हामीले विश्वलाई जलवायु परिवर्तनको अवस्थाबारे बुझाउने अपेक्षा गरेका छौँ”, अध्यक्ष लामाले भन्नुभयो ।      कम्पनीका प्रबन्ध निर्र्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन)ले जलवायु परिवर्तनले सबैभन्दा बढी हिमाली क्षेत्र प्रभावित भएको उल्लेख गर्दै हिमाल बचाउनका लागि ढिला गर्न नहुनेमा जोड दिनुभयो ।       “जलवायु परिवर्तनबाट विशेष गरी मुलुकको पर्यटन क्षेत्रमा ठूलो असर परिरहेको छ, हिमालबाट हिउँ हराउन थालेको छ, सेता हिमाल काला पहाडमा परिणत हुन थालेका छन् । यो क्षेत्रलाई बचाउन सकिएन भने पर्यटन क्षेत्रलाई बचाउन सकिँदैन, आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत यो सन्देश हामी विश्व समुदायलाई दिन चाहन्छौँ”, उहाँले भन्नुभयो ।            प्रबन्ध निर्र्देशक मोक्तानले जलवायु परिवर्तनको असरका कारण सदियौँदेखि जमेका हिमतालहरु फुट्ने क्रम सुरु भएको, अधिक र न्यून वर्षा हुन थालेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद् बढ्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।      लुक्लाका पर्यटन व्यवसायी, समाजसेवी तथा स्टार युथ क्लबको केन्द्रीय अध्यक्ष एवं समाजसेवी नाम्गेल शेर्पाले जलवायु परिवर्तनबाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “गत वर्षको कात्तिकमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही क्षेत्रमा आएर जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभएको थियो । यस वर्ष हामी खुम्बुवासीले यसबारे आवाज उठाएका छौँ ।”      पत्रकार सम्मेलनमा उपस्थित आरोही मिङ्मा तेञ्जी शेर्पाले आफू १७ वर्षदेखि हिमालमा काम गरिरहेको बताउँदै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा असर देखिन थालेको उल्लेख गर्नुभयो ।       “मैले सन् २००७ मा काम सुरु गर्दा र अहिलेको अवस्थामा धेरै फरक देख्न सकिन्छ । जलवायु परिवर्तनका कारण मौसम अस्थिर भएको छ । केही समयअघि खुम्बु क्षेत्रको थामेमा ठूलो विपद् आयो, पहिले हिउँमा आरोहण गर्ने गरेकामा अहिले ढुङ्गा र माटोमाथि आरोहण गर्नुपरेको छ । तसर्थ हिमाल जोगाउन र जलवायु परिवर्तनका असर न्यूनीकरणमा हातोमालो गर्न विश्व समुदायको ध्यानाकर्षण हुन जरुरी छ”, उहाँले भन्नुभयो ।       वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा दोर्जी शेर्पा र पर्यटन व्यवसायी एवं आरोही मिङ्मा शेर्पासँगको सहकार्यमा एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टले अवार्ड आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।  कम्पनीले हालसम्म स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । हालसम्म कम्पनीले जापान, मालदिभ्स, दुबईमा कार्यक्रम गरिसकेको छ ।