गण्डकी: गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेङ्गी सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २, १४ र कात्तिक ४ गते गरी क्रमशः ८१, ७०, ७५ र २६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यस अवधिमा कास्कीमा सबैभन्दा बढी ८ हजार ९ सय ७९ जना र सबैभन्दा कम मनाङमा मात्र छ जनामा डेङ्गी सङ्क्रम पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिनुभयो । प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा महानगरपालिकामा मात्रै आठ हजार आठ सय ५८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको उहाँको भनाइ छ । प्रदेशका १२ वटा स्थानीय तहमा भने अहिलेसम्म डेङ्गीको सङ्क्रमण देखिएको छैन । गत जनवरीमा जम्मा ७० जनामा डेङ्गी देखिएकामा गत सेप्टेम्बरमा छ हजार २ सय ६७ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । अक्टुबरमा ६ हजार ४४ र नोभेम्बर सुरु भएयता हालसम्म जम्मा ९ सय ४७ जनामा डेङ्गी देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार कास्कीपछि सबैभन्दा बढी तनहुँमा ३ हजार ८ सय १७, पर्वतमा १ हजार ४ सय ३१, बागलुङमा १ हजार ३ सय ८४, गोरखामा १ हजार १ सय २, स्याङ्जामा ७ सय २६, म्याग्दीमा ४ सय ५६, नवलपुरमा २ सय ९७, लमजुङमा १ सय २५, मुस्ताङमा १६ र मनाङमा ६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने र ४ प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताउनुभयो । “चिसो याम सुरु भएकाले अब विस्तारै सङ्क्रमण कम हुँदै जान्छ, फागनुदेखि फेरी सङ्क्रमण बढ्न थाल्छ”, उहाँले भन्नुभयो । डेङ्गीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ । डेङ्गी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको छ ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । खानेपानी र विद्युत् सुविधाको अभावमा समुिद्र सतहदेखि ३ हजार २ सय १० मिटर उचाइमा रहेको पुनहिलमा हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यअवलोकन गरि प्रकृतिमा रमाउन जाने पर्यटकलाई समस्या भएको हो । घोडेपानीदेखि एकाबिहानै उकालो हिँडेर पुनहिल जाने क्रममा पदमार्गमा उज्यालो, मोबाइल, क्यामेरालगायत सामग्री चार्ज गर्न बिद्युत्, पिउन र शौचालयमा प्रयोग गर्ने पानी नहुँदा समस्या भएको काठमाडौँबाट आएका श्याम रञ्जितकारले गुनासो गर्नुभयो । “अध्यारोमा उकालो हिँड्न पदमार्गमा सडक बत्ती र मोबाइल, क्यामेरामा ब्याट्री सकिँदा पुनहिलमै चार्ज गर्ने सुविधा भए पर्यटकलाई सजिलो हुने थियो,” उहाँले भन्नुभयो “पानीको अभावमा शौचालय जाँदा समस्या भयो । बोकेर लगेको पानी महँगो पर्ने रहेछ् ।” पर्यटकको सहजताका लागि पदमार्ग उज्यालो बनाउन, विद्युतीय उपकरण चार्ज गर्न र केही तल रहेको मूलबाट पानी तान्ने उद्देश्यले विसं २०८० पुष महिनामा नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले घोडेपानीदेखि १५ वटा पोल र एक किलोमिटर एबिसी तार तानेर पुनहिलसम्म लाइन पु¥याए पनि स्थानीयवासी र गाउँपालिकाले मिटरबक्स जडानमा बेवास्ता गर्दा बिजुली नबोलेको हो । केन्द्रका प्रमुख सत्यनारायण गामीले स्थानीयवासीको माग अनुसार पुनहिलमा करिब रु २५ लाख खर्चेर बिजुलीको लाइन पु¥याइएको बताउनुभयो । घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले मिटरबक्स जडानका लागि गाउँपालिकाले बेवास्ता गरेको गुनासो गर्नुभयो । पुनहिलमा घोडेपानीबाट ग्यालिन, बोत्तल र ड्रममा बोकेर पानी लैजाने गरिएको छ । एक घण्टा लगाएर उकालोमा पानी बोकेर लैजानुपर्ने भएकाले पुनहिलमा तातोपानी, चिया, कफीको मूल्य बढी तिर्नुपर्दा पर्यटकले मर्कामा परेको गुनासो गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पुनहिलको जग्गा गाउँपालिकाको नाममा नभएकाले त्यहाँ मिटरबक्स राख्न समस्या भएको बताउनुभयो । पुनहिल र तातोपानी कुण्डलगायत पर्यटकीयस्थलमा विद्युत् आपूर्तिका लागि एकै पटक ५ वटा मिटरबक्स खरिद गर्न लागिएको उहाँले बताउनुभयो । चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न सकिने पुनहिलमा यहाँ वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी र त्यो भन्दा बढी आन्तरिक पर्यटक पुग्ने गर्छन् । पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति रु ५० र विदेशीले रु एक सय ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । चालु आर्थिक वर्षमा पुनहिल प्रवेश शूल्क र चिया पसल सञ्चालनका लागि गाउँपालकाले रु ४० लाख १ सयमा ठेक्का लगाएको छ ।
सिरहा: सिरहाको मिर्चैैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै रहेको चुनिया खोलामा पानी सुक्दै जानथालेपछि चिन्ता बढेको छ । गाईबस्तुलाई खुवाउने पानीको लागि त्यही खोलामा रसाइरहेको पानीमा आश्रित चमेलीजस्तै यस खोरियागाउँका २६ घरपरिवालाई अब पानीको जोहो कसरी गर्ने चिन्ताले सताएको छ । दैनिक १०÷१५ गाग्री पानी ओसार्ने चमेलीले सुक्दै गरेको खोलातर्फ देखाउँदै सिङ्गो हिउँद समय कसरी पानीको समस्या टार्ने जनाउँदै चिन्ता व्यक्त गर्नुभयो । “दिनदिनै खोलाको पानी सुक्दै जान थाल्यो । अबको एक÷दुई दिनमा गाग्रो भर्नै समस्या होला जस्तो छ”, गाग्रोमा पानी भर्दै गर्नुभएकी उहाँले भन्नुभयो,“हिउँदको छ महिना पूरै गाउँ काकाकुल हुन्छ । खोला, इनार, कुवा सबै सुक्छन् । मान्छेलेसमेत तिर्ख मेट्ने मुस्किल हुन्छ, बस्तुभाउको के कुरा ।” चुरेको फेदमा अवस्थित यो गाउँ सुख्खा क्षेत्र भएकोले बर्सेनि खानेपानीको हाहाकार हुने स्थानीयवासी खड्गबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो,“मङ्सिर नलाग्दै पानीका स्रोत सुक्न थाले । पानीकै चरम अभावले बसाइँ सर्ने अवस्था आइसक्यो । न त अघाउञ्जेल पानी पिउन पाइन्छ, न त कुनै बालिनाली सप्रिन्छ । हाम्रो त उठीबासको अवस्था छ ।” हिउँद समयमा अधिकांश चुरे क्षेत्रका पानीका स्रोत सुक्ने भएकाले दुई घण्टाको बाटो दक्षिणतर्फ धाएर फूलबारियाबाट पानी ओसार्नुपर्ने नियती उहाँले दोहो¥याउनुभयो । २ दशकदेखि खोरिया गाउँमा बस्दै आउनुभएका विश्वकर्माका अनुसार अहिलेसम्म गाउँमा खानेपानी, विद्युत् र सडकसमेत विस्तार भएको छैन । चुनावताका विकासका आश्वासन पाउने गरेपनि सधैँभरी गरिबी, अभाव र पीडामा जिन्दगी चलिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आसैआसमा जिन्दगी जानेभो हजुर । हामी गरिबको लागि कुनै सरकार रहेनछ ।” अन्नको नाउँमा परम्परागत कोदो खेतीमात्र वर्षमा एक पटक उत्पादन गर्नु यहाँका किसानको बाध्यता हो । अन्य बाली खडेरीले खाने विश्वकर्माको भनाइ छ । खोरियागाउँमा पानीको समस्या बारेमा मिर्चैया नगरपालिका बेखबर छैन । गत आर्थिक वर्ष दुई किलोमिटर दक्षिणतर्फ रहेको मौरहामा मधेश प्रदेश सरकारको स्रोतबाट ‘डिपबोरिङ’ गाड्ने भनी अध्ययनसमेत भइसकेको मिर्चैया ७ का वडाध्यक्ष रामदयाल ठाकुर बराहीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा त्यो योजना पूरा गर्नेगरी यस भेगमा अभाव हुने खानेपानीको समस्या समाधान गर्न आँफु लागिपर्ने वडाअध्यक्ष बराहीले प्रतिबद्धता व्यक्त गर्नुभयो । जलवायु परिवर्तनको असरका कारण चुरे क्षेत्रका अधिकांश क्षेत्रका कुवा, इनार र खोला सुक्ने हुँदा नगरपालिकाको मात्र नभएर देशकै लागि चुनौती बन्दै गएको नगरप्रमुख श्रवणकुमार यादवको भनाइ छ । अघिल्लो वर्षको हिउँद समयमा कतिपय सुख्खा क्षेत्रमा ट्र्याक्टरमा पानी ओसारेर गाउँबस्तीतिर वितरण गरेको स्मरण गर्दै स्थानीयको समस्याबारे आफू जानकार रहेको र समस्या समाधानका लागि पहल गरिरहेको उहाँ बताउनुहुन्छ । “नगरपालिकाले चुरेक्षेत्रलाई लक्षित गरि यस आर्थिक वर्षमा तीनवटा डिपबोरिङ सम्पन्न गर्ने लक्ष्य राखेको छ, जसमध्ये वडा नं ९ को घुर्मीमा एउता बोरिङ चालु गरिएको छ । अन्य स्थानमा त्यसका लागि प्राविधिक अध्ययन गरिरहेका छौँ”, उहाँले भन्नुभयो,“स्थानीय स्रोत र साधनकले मात्र सम्भव छैन । त्यसका लागि प्रदेश तथा केन्द्रमा पनि पहल गरिरहेका छौँ । पानीको चरम अभाव रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाउने छौँ ।” उहाँले नगरका उत्तरी भेगका खोरिया, रामपुरा, सुन्दरपुर, ननुवा लगायतका बस्तीमा पानीको समस्या देखिएको र अब एकीकृतरूपमा समस्या समाधानको पहल गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय चुरेक्षेत्रमा पानीका सतह गहिरिँदै जाँदा ठूला ‘डिपबोरिङ’ असफल भइरहेकाले यसको विकल्पका बारेमा योजना बनाउनुपर्ने जानकार बताउँछन् । वातावरणविद् दिनेश यादव भन्नुहुन्छ, “डिपबोरिङ पनि खानेपानी समस्या समाधानकको दीर्घकालीन उपाय होइन भन्ने कुरा अन्य ठाउँका अभ्यासले देखाइसकेको छ । त्यसैले चुरे संरक्षणका साथै यहाँका वन व्यवस्थापन, जलाधार क्षेत्र संरक्षण र नदी कटान नियन्त्रणमा तीनै तहका सरकारले एकीकृत योजना बनाएर कार्यान्वयन गर्नुको विकल्प छैन ।”
दैलेख: कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन् । नारायण नगरपालिका–७ बिजौराका किसान रोहित खत्रीले आफ्नो नौ रोपनी खेतमध्ये पाँच रोपनीमा गुणे धान फलाएको बताउनुभयो । सोही नगरपालिका–११ बिन्ध्यवासिनीकी पदमा विकले पनि नौ रोपनीमा गुणे धान फलाउनुभएको छ । केही दिनपछि यो धान भित्र्याउने तयारीमा खत्री र विक हुनुहुन्छ । अन्य धानको तुलनामा गुणेको मूल्य बढी पाइने भएकाले आफूहरूले यो जातको धान लगाएको भैरवी गाउँपालिका–४ डाँडीमाडीका राजकुमारी आचार्यले बताउनुभयो । दैलेखका नौमुले, डुङेश्वर, राकम कर्णाली, भैरवी, पादुकालगायत स्थानका खेतमा हाल गुणे र कालोगुणे झुलिरहेका छन् । जिल्लाको कुल खेतीयोग्य ४१ हजार १३१ हेक्टरमध्ये झण्डै ८ हजार हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख राजु भूजले बताउनुभयो । १ हजार हेक्टरमा भने हुने गुणेखेती भएको छ । हरेक वर्ष दैलेखमा ३० हजार क्विण्टल टन गुणे धान उत्पादन हुने गरेको भएपनि बजारको माग पूरा हुन नसकेको दैलेखका व्यापारीहरुले बताएका छन् ।
काठमाडौं: गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ । थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले राससलाई जानकारी दिनुभयो । “टुकुचाखोलामा भेटिएको पोलियो भाइरस स¥यो वा सरेन भन्ने यनिक गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमूना सङ्कलन गरेर पटकपटक परीक्षण गर्दा पुनः पोलियो भाइरस भेटेनौँ”, उहाँले भन्नुभयो, “यदि उक्त भाइरस सङ्क्रमण भएको भए खोलाको ढलको नमूनामा फेरि त्यो भेटिन्थ्यो । पोलियो भाइरस नदेखिएपछि हामीले सङ्क्रमित होइन भनेर पुष्टि गरौँ।” गत असारमा काठमाडौँ महानगरपालिका–१२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचाखोला सङ्गमबाट नमूना सङ्कलनपछि परीक्षण गर्दा पोलयो फेला परेको थियो । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले टुकुचाखोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमूना सङ्कलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताउनुभयो । सन् २०१७ देखि खोप शाखाले ढलबाट नमूना सङ्कलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ । काठमाडौँका उपत्यकाका बागमती, धोबीखोला, मनहरा, विष्णुमतीबाट नमूना सङ्कलन गरेर महिनाको दुईपटक यस्तो परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा गौतमले बताउनुभयो । काठमाडौँ उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका एक–एक स्थानबाट नमूना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुनेगरेको छ । सन् २०१० यता मुलुकमा पोलियो सङ्क्रमण भेटिएको छैन । पोलियो जीवाणुबाट फैलने पोलियो सङ्क्रामक रोग हो । पोलियो सङ्क्रमणका बिरामीलाई ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेलगायत लक्षण देखिन्छन् ।
गण्डकी: बिरामीको चाप भइरहने पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पूर्वाधार र जनशक्ति अभावमा अस्तव्यस्त बनेको छ । दैनिक सरदर तीन सय बिरामीले सेवा लिने उक्त केन्द्र साघुँरो र अव्यवस्थित भवनबाट सञ्चालन भइरहेको छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत विसं २०७५ पुसमा स्थापना भएको उक्त केन्द्रमा स्वास्थ्य उपकरणकोसमेत अपुगता छ । भवन अभावमा प्रयोगशाला र भान्छा एउटै कोठाबाट सञ्चालन भइरहेको छ । प्रयोगशाला बातानुकूलित हुनुपर्नेमा पङ्खाबाट काम चलाइएको केन्द्रका चिकित्सक जनक खड्काले बताउनुभयो । बहिरङ्ग सेवा, मनोसामाजिक परामर्शलगायत सेवाका लागि उपयुक्त कोठा नभएको उहाँको भनाइ छ । महानगरअन्तर्गतका स्वास्थ्य संस्थामध्ये सबैभन्दा बढी बिरामी आउने उक्त केन्द्रलाई सुविधायुक्त बनाउनेतिर महानगरले चासो नदिएको स्थानीवासीको गुनासो छ । पोखरा महानगरपालिका–८ नयाँबजारमा रहेको उक्त केन्द्र पहिले दमकलको कार्यालय रहेको पुरानो भवनबाट सञ्चालन भइरहेको केन्द्रका प्रमुख कुश्मराज सुवेदीले बताउनुभयो । उहाँले केन्द्रमा पूर्वाधार व्यवस्थापनदेखि सेवाको गुणस्तर सुधारको काम सुरु गरिएको बताउनुभयो । सुवेदीले गत असोज १३ गतेदेखि केन्द्र प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । “म आउनुपूर्व केन्द्र झनै लथालिङ्ग अवस्थामा थियो, खानेपानी, शौचालयसमेतको राम्रो सुविधा थिएन”, उहाँले भन्नुभयो, “अहिले भवन मर्मत, रङ्गरोगनलगायत आन्तरिक व्यवस्थापनको काम भइरहेको छ, केन्द्रको परिसरमा पर्खाल लगाउने काम भइरहेको छ ।” प्रमुख सुवेदीले स्वास्थ्य उपकरण र जनशक्ति थपका लागि महानगर र प्रदेश सरकारसँग पहल भइरहेको बताउनुभयो । खुला ठाउँमा भएकाले केन्द्रको सुरक्षामा पनि चुनौती रहेको उहाँको भनाइ छ । यसअघि सामान्य घेराबारसमेत नहुँदा केन्द्रको भवन परिसरमा सवारीसाधनको पार्किङ गर्ने, दुव्र्यसनमा फसेका युवाहरु सुत्ने आदि गर्दै आएका थिए । बिरामीको चापअनुसार चिकित्सक र स्वास्थ्यकर्मी अपुग रहेको प्रमुख सुवेदीले बताउनुभयो । अस्पतालमा १५ जनाको दरबन्दी रहेको उक्त केन्द्रमा दुई जना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी र प्राविधिक सेवारत छन् । दरबन्दी अनुसार एक जना जनस्वास्थ्य अधिकृत, फर्मासिस्ट र कविराजको अझै पदपूर्ती हुन सकेको छैन । केन्द्रमा इसिजी, थाइराइडलगायतको जाँच गर्ने उपकरणसमेत नरहेको प्रमुख सुवेदीले बताउनुभयो । “उपकरण नहुँदा कतिपय बिरामीलाई अन्यत्रका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । केन्द्रमा सबैभन्दा बढी नसर्ने रोगका बिरामीहरु आउने गरेका छन् । बीमासँगै निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेकाले केन्द्रमा सेवा लिन आउने बिरामीको जाप बढी हुने गरेको चिकित्सक खड्काले बताउनुभयो । उहाँका अनुसार गत भदौयता झण्डै ११ हजार जनाले उक्त केन्द्रबाट सेवा लिएका छन् । केन्द्रले स्वास्थ्यचौकी तहबाट प्रदान हुने सबै सेवासहित सामान्य सर्जरी, प्रयोगशाला सेवा, सुरक्षित गर्भपतनलगायत सेवा प्रदान गदै आएको छ । प्रयोगशालामा हर्मोनलबाहेकका सबै परीक्षण सेवा उपलब्ध रहेको जनाइएको छ । “भौतिक पूर्वाधारसहित जनशक्ति र स्रोतको व्यवस्थापन गर्न सकेमा यो केन्द्रलाई सुविधासम्पन्न नगर अस्पतालका रुपमा विकास गर्न सकिन्छ”, प्रमुख सुवेदीले भन्नुभयो, “यसतर्फ महानगर नेतृत्वको ध्यान जानु जरुरी छ ।’
दार्चुला: दार्चुलामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर–९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका–५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको हो । दुर्घटनामा भारतको उत्तर प्रदेश विजनौरका सुहिल साह, बैतडी डिलासैनी–५ का उत्तम रोकाया, शैल्यशिखर–५ का सन्दीप रावल सोही स्थानका प्रकाश रावल र मालिकार्जुन गाउँपालिका–८ निवासी जीप चालक सुनिल जोशी घाइते भएका छन् । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो । जात्रा हेरेर फर्किएकाहरु सवार जीप दुर्घटनामा परहेको हो । यो पनि पढ्नुहोस दार्चुलामा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु दार्चुलामा दुर्घटना अपडेटः ७ को मृत्यु, ६ जनाको अवस्था गम्भीर
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी भएर आज बिहान स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसमभाका अध्यक्ष नारायणप्रसाद दाहाल, गृहमन्त्री रमेश लेखकले स्वागत गर्नुभयो । राष्ट्रपतिको स्वागतका लागि मन्त्री,सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।नेपाली सेनाको १ टुकडीले राष्ट्रपतिलाई सम्मानगारतबाट सम्मान गरेको थियो । राष्ट्रपति पौडेल अजरबैजानका आफ्ना समकक्षी इलहम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गर्नुभएको थियो । राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका जल तथा वातावरणविज्ञ डा परमेश्वर पोखरेल, राष्ट्रपति कार्यालयका सचिव नाराणप्रसाद शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्कर,राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, राष्ट्रपतिका सञ्चारविज्ञ किरणकुमार पोखरेल पनि स्वदेश फर्कनुभएको छ ।
सिरहा: मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन् ।मिर्चैया नगरपालिका–७ मा पर्ने यस गाउँमा जब प्रवेश सुरु हुन्छ, बारीभरि कोदोखेती देख्न सकिन्छ । यहाँका किसानका लागि यो निर्विकल्प खेती हो । वर्षमा १ पटक मात्रै यहाँका किसानले कोदो उत्पादन गर्छन् । चुरेको फेदमा अवस्थित यो गाउँ सुक्खा क्षेत्र भएको र सिँचाइ सुविधा नहुँदा कोदोखेतीको विकल्प नभएको यहाँका किसानको भनाइ छ । “बाउबाजेदेखि यही कोदो रोप्दै आएका छौँ । अन्य बालीका लागि सिँचाइको सुविधा छैन । पिउने पानी त नभएर छ महिना समस्या हुन्छ”, स्थानीय हर्कबहादुर परियारले भन्नुभयो, “जेजति उब्जनी हुन्छ यही कोदोको जोहो गर्नुपर्ने बाध्यता छ ।” यतिबेला कोदो पाकेको छ । किसान बाली भित्र्याउने तयारीमा छन् । परियारले दुई कठ्ठा बारीमा कोदो लगाउनुभएको छ । “यो अगौटे बीउको कोदो आजभोलि नै टिप्ने बेला भइसकेको छ । आफ्नो उत्पादनको दुई गेडा अन्न भए पनि स्याहार्नु त पर्यो”, परियारले भन्नुभयो । उहाँले उत्पादन गर्नुभएको १०÷१२ पाथी कोदोले केही महिना मात्र जोहो टर्छ, बाँकी महिना ज्याला मजदुरी गरेर छ जना परिवारको जीविका चलाउनुपर्छ । परियारको जस्तै भनाइ छ सोही बस्तीकी धनसरी विश्वकर्माको पनि । खडेरीले अन्य बाली खाने हुँदा आफूहरूले कोदा रोपेर जीविका चलाउनुपरेको उहाँको भनाइ छ । उहालेँ भन्नुभयो, “मान्छे र गाईवस्तुलाई खानेपानीका लागि छ महिना एक घण्टाको बाटो धाएर पानी बोक्नुपर्छ । भएका कुवा र इनार मङ्सिर नलाग्दै सुक्छन् । यस्तो ठाउँमा कोदोबाहेक अन्य अन्नपात उब्जदैन । मकै रोपे पनि खडेरीले खाइहाल्छ ।” कोदोबाहेक गहत, बोडी र तिललगायतका अन्नपात लगाउने गरेको उहाँले जानकारी दिनुभयो ।उब्जने त्यही कोदो बालीमा पनि स्थानीय सरकार तथा अन्य निकायले उन्नत बीउ तथा अनुदान सहयोग नगरेको यहाँका किसानको गुनासो छ । उत्तरी भेगका करिब १० प्रतिशत किसानले कोदोखेती गरे पनि नगरपालिले हालसम्म कोदोखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने कुनै प्रकारको नीति र योजना नरहेको मिर्चैया नगरपालिका कृषि शाखा प्रमुख नागेश्वर हाथीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका किसानलाई कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित नगरले अहिलेसम्म कुनै नीति बनाएको छैन । आगामी दिनमा नगरका तर्फबाट किसानलाई कोदो उत्पादनका लागि प्रोत्साहन, बजार व्यवस्थापन र व्यावसायीकरणका लागि सहयोग गर्न पहल गर्नेछौँ ।” यहाँका कर्जना, मिर्चैया, गोलबजार र धनगढीमाई नगरपालिकाका चुरेफेदका सुक्खा बस्तीका गाउँमा मुख्यगरी कोदोखेती गरिन्छ । कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार जिल्लामा करिब छ सय ४५ हेक्टर जग्गामा कोदोखेती गरिने तथ्याङ्क छ । त्यस्तै ९ सय ६७ मेट्रिक टन कोदो बर्सेनि उत्पादन गरिन्छ । प्रमुख महासेठका अनुसार स्थानीय तहले नै कृषिसम्बन्धी हेर्ने भएकाले किसानको प्रोत्साहनका लागि आफूहरूको कुनै विशेष योजना नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले जिल्लाको दक्षिणी भेगमा पनि यहाँका किसानले कोदोखेती गर्ने गर्थे । तर अहिले उत्तरी भेगमा मात्र सीमित छ । स्थानीय तहले कृषि शाखामार्फत प्रत्यक्ष किसानलाई हेर्ने हुँदा अहिले हामी एक हिसाबले अधिकारविहीनजस्तो भएका छौँ । स्थानीय तहसँग समन्वय गरेर भए पनि किसानलाई कोदोखेतीमा आकर्षित गर्नुपर्ने आवश्यकता छ ।” जिल्लाका परम्परागत बालीनालीको संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुने गरे पनि अहिले मुख्य खाना भात भएकाले विभिन्न रोग पनि सँगसँगै आएको खोरिया बस्तीका खड्गबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा कोदोखेती विस्थापित हुँदै गएको छ । बजारका अन्य खानेकुराले मानिसलाई रोगी बनाउँदै छ । सरकारले कोदोखेतीको संरक्षणमा ध्यान नदिँदा सीमित किसानले आफ्ना लागि आवश्यक पर्ने मात्र कोदोखेती गर्ने गरेका छन् ।”