काठमाडौँः तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, “दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।”
गण्डकी: मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे । कार्यालय सञ्चालनले अब भने यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने विश्वास लिइएको छ । कोरोला नाकामा नेपालले प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरेको हो । अध्यागमन कार्यालय सञ्चालनको लागि सरकारले कोरला नाकासम्म विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइनको विस्तार गर्नुका साथै नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइलको सेवा पु¥याइसकेको छ । कोरोला नाकामा चीनले आफ्नोतर्फ भन्सार कार्यालयका साथै अन्य आवश्यक पूर्वाधार निर्माण गरिसकेको छ । गृहमन्त्री रमेश लेखकले आज कार्यालयको शुभारम्भ गर्दै अध्यागमन कार्यालय सञ्चालनसँगै चीनसँगको द्विपक्षीय सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुईदेशका नागरिक आवतजावतसँगै द्विपक्षीय व्यापार अभिवृद्धिका लागि अध्यागमन कार्यालय महत्वपूर्ण हुने छ भन्नुभयो । समुद्र सतहदेखि चार हजार छ सय ५० मिटर उचाइमा रहेको यो नाकाको गत वर्ष कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रुपमा उद्घाटन गरिएको थियो । गण्डकी प्रदेशको उत्तरी भूूभागमा अवस्थित कोरला नाका सञ्चालनमा आएसँगै प्रदेशकै दक्षिणी नाका भारतसँग जोडिने त्रिवेणी रहेका कारण व्यापार प्रवद्र्धन, पर्यटन विस्तार आदिका लागि यो बहुुउपयोगी बन्ने विश्वास लिइएको छ । दुुई ठूला छिमेकी राष्ट्रसँग जोडिएको गण्डकी प्रदेशको समृद्धिमा यो नाका सञ्चालन कोषे ढुङ्गा सावित हुने विश्वास लिइएको छ ।
पोखरा: हिमशृङ्खला र सूर्योदयको मनमोहक दृश्यले वर्षौैैँदेखि पर्यटकलाई आकर्षित गर्दै आएको पोखरा–१८ स्थित सराङकोट अब नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदैछ । उक्त क्षेत्रमा निर्माणाधीन ६१ फिट अग्लो पञ्चमुखी गणेश मूर्तिले पर्यटन प्रवर्द्धनमा नयाँ आकर्षण थप्न थालेको हो । अन्नपूर्ण, धवलागिरि र माछापुच्छ्रे हिमालको दृश्यावलोकन तथा सूर्योदय र सूर्यास्तको दृश्यमा रमाउने पर्यटकका लागि सराङकोट विशेष गन्तव्य हो । पछिल्ला दिनमा थपिएका पूर्वाधार र धार्मिक संरचनाले प्राकृतिक सौन्दर्यसँगै धार्मिक पर्यटकलाई लोभ्याएको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले ५६ रोपनी जमिनमा उक्त पूर्वाधार बनाइएको हो । रु ४० करोड लगानीमा बृहत् सराङकोट धार्मिक पर्यटन गुरुयोजनामा निर्माण भइरहेको समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिनुभयो । समितिले गुरुयोजना सफल बनाउन र आर्थिक स्रोतका लागि विभिन्न समयमा ५महायज्ञ लगाएर रु ७ करोड आर्थिक स्रोत जुटाउन सफल भएको थियो । तीनै तहका सरकारको रु ४करोड ५० लाख लगानी यस क्षेत्रमा भएको छ । पोखरा महानगरले मात्र रु ३ करोड बढी सहयोग गरेको छ । व्यावसायिक प्रतिष्ठान, सङ्घसंस्था, स्थानीयको सहयोग उत्तिकै जारी रहेको छ ।निर्माण भइरहेको गणेश मूर्तिका लागि निर्माण संयोजक रहनुभएका अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङले आर्थिक स्रोत जुटाएर निर्माणकार्य अगाडि बढाउनुभएको छ । रु ७करोडमा गणेश मूर्ति र सहस्रधारा निर्माणमा खर्च हुने अनुमान गरिएको छ ।हालसम्म यहाँको पूर्वाधारमा रु २२ करोड बढी लगानी भइसकेको छ । मूर्तिको संरचना दक्षिण भारतीय कालिगढहरूद्वारा निर्माण गरिएको हो । उक्त क्षेत्रमा गणेश मूर्तिसँगै कैलाशेश्वर शिवमन्दिर, एक सय आठ शिवलिङ्ग, सहस्रधारा, भैरव मन्दिर, चण्डीमन्दिर, भीमकाली मन्दिर, धार्मिक सभाहल, ऐतिहासिक प्रवेशद्वार, व्यवस्थित शौचालय, एक भ्यूटावर रहेका छन् । जिसीका अनुसार सराङकोटको नामाकरण शाहवंशीय राजाले हतियार भण्डारण गर्ने ठाउँका रूपमा प्रयोग गरेको ऐतिहासिक पृष्ठभूमिसँग सम्बन्धित छ । यसैगरी तत्कालीन सेना र प्रहरीले त्यहाँ सराङ खेलको तालिम लिने भएकाले यस स्थानलाई सराङकोट भनिन थालियो । समितिका सदस्य कृष्ण थापाले ऐतिहासिक र धार्मिक महत्व बोकेको यस क्षेत्रका निर्माणाधीन पूर्वाधारले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भूमेकाली मन्दिरको पौराणिक धार्मिक महत्वले यहाँ धेरै भक्तजनलाई आकर्षित गर्दै आएको छ, विशेषगरी पोखरा र आसपासका क्षेत्रबाट दर्शन गर्न भक्तजन आउँछन्, अहिले शिव र गणेश मन्दिरको निर्माणले हिन्दू धर्मावलम्बीका लागि थप आस्था र आकर्षण थप्नेछ ।” पर्यटकीय आकर्षण सराङकोट पोखरा आउने पर्यटकको पहिलो रोजाइमा पर्ने उहाँले बताउनुभयो । विभिन्न सङ्घसंस्थाको समन्वयमा कार्यान्वयन भएको यस परियोजनालाई ‘शिव पञ्चमुखी गणेशधाम’ भनेर नामकरण गरिनेछ, जसले धार्मिक र सांस्कृतिक पर्यटनको नयाँ गन्तव्यका रूपमा यस क्षेत्रलाई स्थापित गर्ने लक्ष्य राखेको छ । देशमा पहिलोपटक निर्माण भइरहेको पञ्चमुखी गणेश मूर्तिले धार्मिक पर्यटनमा नयाँ अवसर सृजना गर्दै पोखराको पर्यटनमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गर्नुहुन्छ सनातन धर्म सेवा समितिका अध्यक्ष रवीन्द्र माकाजु । “प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र धार्मिक आस्थाको सङ्गमका रूपमा रहेको सराङकोट भारतलगायत अन्य देशका हिन्दू तीर्थयात्रीका लागि आकर्षक गन्तव्य हुनसक्छ”, अध्यक्ष माकाजुले भन्नुभयो । हिन्दू धर्ममा विशेषगरी पञ्चमुखी गणेशको दर्शनले विघ्नबाधा हटाई समृद्धि र सिद्धी प्राप्त हुने विश्वास रहेको र दक्षिण भारतीय पर्यटकबीच गणेश भगवान्को ठूलो आस्था भएकाले यसको प्रचारप्रसारमा पनि जोड दिनुपर्ने उहाँको सुझाव छ । यस क्षेत्रमा विस्तार भएका पूर्वाधारले पोखरा र सराङकोटका पर्यटन प्रवर्द्धनलाई सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुहुन्छ सराङकोट माउण्टेन लजका कार्यकारी निर्देशक एवं नेपाल पर्यटन बोर्डका पूर्वसदस्य विप्लव पौडेल । उहाँ भन्नुहुन्छ, “सराङकोट आफैमा पर्यटकीय गन्तब्य हो, पछिल्लो समय शिव मन्दिर, गणेश मूर्ती लगायतकापुर्वाधारहरुले यहाँको पर्यटनलाई थप चलायमान बनाउने आशा गर्न सकिन्छ”, कार्यकारी निर्देशक पौडेलले भन्नुभयो, “पर्यटनको प्रवर्द्घनले स्थानीय व्यवसायमा प्रभाव पार्ने र विशेषगरी होटल र होमस्टे व्यवसायको विस्तार गर्न पनि यसले थप अवसर सृजना गर्दछ ।” उहाँले विकाससँगै आउने चुनौतीहरूका विषयमा पनि ध्यान दिन आग्रह गर्नुभयो । “धार्मिक पर्यटकलाई आकर्षित गर्ने पूर्वाधारको दिगो व्यवस्थापन र संरक्षण हुनुपर्छ, वातावरणीय संरक्षण र व्यवस्थित यातायातमा पनि उत्तिकै ध्यान दिन जरुरी छ ।” पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धार्मिक र आध्यात्मिक पूर्वाधारमार्फत पोखरालाई बहुआयामिक पर्यटन थलोका रूपमा विकास गर्न पहल भइरहेको बताउनुभयो । “हिमालय शृङ्खला, फेवाताल, र पोखरा उपत्यकाको अनुपम दृश्यले आकर्षित गर्ने यस क्षेत्रले पछिल्लो समय पञ्चमुखी गणेश मूर्ति, शिवमन्दिर र भ्यूटावरजस्ता संरचनाको विकाससँगै पर्यटकीय महत्व थप्दैछ”, सराङकोट केवल सूर्योदय अवलोकनको गन्तव्यमात्र नभई धार्मिक र सांस्कृतिक पर्यटनको केन्द्र बन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले सराङकोटको प्राकृतिक सौन्दर्य, धार्मिक, ऐतिहासिक सांस्कृतिक धरोहरको संयोजनले दिगो पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “हिमालको मनोरम दृश्यसँगै धार्मिकस्थलहरूको दर्शनले पर्यटकलाई नयाँ अनुभव दिलाउने र पोखरामा उनीहरूको बसाइ लम्ब्याउन सहयोग पुग्नेछ ।” पर्यटकीय राजधानीका रूपमा परिचित पोखरामा नयाँ गन्तव्यको विकास अत्यावश्यक भएको उल्लेख गर्दै आचार्यले महानगरपालिकाले यस अभियानमा निरन्तर लगानी गरिरहेको जानकारी दिनुभयो । सराङकोट क्षेत्रमा मात्र महानगरले रु तीन करोडभन्दा बढी लगानी गरिसकेको उहाँले बताउनुभयो ।
ललितपुरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुम्भेश्वरमा स्थापना गरिएको कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको सालिकमा माल्यार्पण गरेर उहाँको जन्मशताब्दीका कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । अध्यक्ष दाहालले स्वर्गीय नेता कर्मचार्यको सालिकमा गरेसँगै जन्मशताब्दीका कार्यक्रम आरम्भ भएका नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । “कर्माचार्यको जन्म भएको एक सय वर्ष भयो यो वर्षभरि नै कार्यक्रम गरिँदैछ, आज दिउँसो प्रज्ञा प्रतिष्ठानमा जन्मशताब्दी आरम्भका अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ शीर्षकमा विचारगोष्ठी हुँदैछ, देशैभरि कार्यक्रम गर्न पार्टीपङ्क्तिलाई निर्देशन दिइएको छ”, कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो । गोष्ठीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कम्युनिष्ट नेता मोहन वैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली, अनिल शर्मालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । विसं १९८१ कात्तिक १४ गते भाइटीकाका दिन ललितपुरको झपाटोलमा बुबा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मनुभएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौँमा निधन भएको थियो । विसं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य हुनुहुन्थ्यो । उहाँ २००५ सालदेखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी हुनुभएको थियो । पार्टी स्थापनापश्चात् कर्माचार्य मजदुर सङ्गठनको संस्थापक अध्यक्ष बन्नुभएको थियो भने २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुका साथै २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष नारायण काजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवबहादुर गुरुङ, नेता रामनारायण बिडारीलगायत नेताहरूको उपस्थिति थियो ।
ढोरपाटन: १ दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो । खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे । तर हिजोआज जनशक्ति अभावमा खेतबारी बाँझोमा परिणत हुँदै गएका छन् । सीमित खेतबारीमा मात्रै किसानले खेती गर्ने छन् । पहिले हल गोरुको काम अहिले मिनिटेलर (आधुनिक हलो)बाटै हुन थालेको छ । बजार क्षेत्रमा एक दशक अगाडिदेखि नै आधुनिकको प्रयोग गरेर खेतबारी खनजोत गरिए गाउँमा त्यो सुविधा थिएन । अहिले यो सुविधा गाउँगाउँ र टोलटोलसम्मै पुगेपछि हल गोरु पाल्न छोडिएको हो । अहिले ग्रामीण क्षेत्रका किसानले अगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएपछि गाउँमा अचेल हल गोरु पाउन मुस्किल हुन्छ । जिल्लाको ढोरपाटन, गलकोट, जैमिनी नगरपालिका, निसीखोला, तमानखोला, ताराखोला गाउँपालिकाका एउटै परिवारले दस हलसम्म गोरु पाल्ने गरेको पाइन्थ्यो तर अहिले त्यो अवस्था छैन । अहिले बारी खनजोत र बाली लगाउने तथा भित्र्याउने कामका लागि अर्मपर्म गर्ने चलन पनि हटेको छ । पछिल्लो समय खनजोतका लागि मिनिटेलर हलो बढी प्रयोगमा आएपछि गोरुले दुई दिनमा सक्ने काम मिनिटेलरले दुई घण्टामै सकिदिन्छ । त्यसले गर्दा किसानको आधुनिक हलोप्रति आकर्षण बढेको गलकोट नगरपालिका–५ का कृष्णबहादुर खत्रीले बताउनुभयो । मिनिटेलर हलोले छिटोछिटो जोत्दा समयको बचत हुने र खर्च पनि कम हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पाँच÷सात वर्ष पहिला गाउँमा धेरै मान्छे थिए, वरपरका छरछिमेकी भएर अर्मपर्म गथ्र्यौ, गोरु नपाल्ने कोही हुन्थेन, अहिले त युवा जति विदेश गए, हामी बुढाबुढी भयौँ, गोरु पाल्न सक्ने अवस्था छैन, बजारमा गएर हलो किनेर ल्यायो, गोरुले दिन भरि लगाउने काम एकै छिनमा सकिन्छ ।” निसीखोला गाउँपालिका–४ का मनप्रसाद पौडेलले गोरुले खेतबारी जोत्दा समय लाग्ने भए उत्पादन राम्रो हुने तर मिनिटेलरले छिटो भए उत्पादनमा ह्रास आउने बताउनुभयो । मिनिटेलरले बारी गहिरो गरी नजोत्दा मकै, धान धल्ने गरेको सुनाउँदै पहाडी क्षेत्रमा हल गोरु नै ठीक हुने उहाँको अनुभव छ । “अहिले गाउँमा गोरु पाल्ने किसान निकै कम छन्, पहिले प्रत्येकको घरमा एक हल गोरु हुन्थे, अहिले मिनिटेलर हलो छ, गोरुले जोत्दा खेतीपाती सप्रिन्थ्यो, उत्पादन राम्रो हुन्थ्यो, तर अहिले धान, गहुँ, मकै कम उब्जनी हुन्छ”, उहाँले भन्नुभयो, “सुरुसुरुमा गाउँमा मिनिटेलर आउँदा प्रयोग गरियो, तर उत्पादन घटेपछि अहिले त ओल्लोपल्लो गाउँमा गएर भए गोरु खोजेरै जोत्ने गरेको छु ।” बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएपछि बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न थालेको छ । अघिल्लो वर्षदेखि नै किसानले रु पाँच हजारका दिन थालेको हो । गत वर्ष नगरपालिकाले ८१ किसानलाई प्रोत्साहन रकम प्रदान गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । हाते ट्रयाक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको गोरुले जोत्ने परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गरिएको उहाँको भनाइ छ । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “आधुनिकीकरणको नाममा हाम्रो परम्परागत खेती प्रणालीलाई अन्त्य गर्नुहुँदैन, आवश्यकताको आधारमा हेरेर आधुनिकीकरण गर्ने हो, व्यावसायिक खेती गर्न परम्परागत खेती गर्नका लागि हल गोरु नै राम्रो हुन्छ, नगरपालिकाले प्रोत्साहन गर्न थालेपछि किसान पनि खुसी हुनु भएको छ ।”
बाँकेः यसपटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धारयात्राअन्तर्गत बाँकेबाट पाँच जना सहयोगापेक्षीको उद्धार भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१८ बाट २, कोहलपुर नगरपालिका–११ बाट १, जानकी गाउँपालिका–६ बाट १र बैजनाथ गाउँपालिका–१ बाट १जना गरी ५सडक मानवहरूको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । गत असोज २८ गते झापाको मेचीनगरबाट सुरु भएको यात्रा यहाँ आइपुग्दासम्म एक सय ३९ जना सडकआश्रित मानवको उद्धार भएको छ । उद्धार गरिएकामा एक सय छ पुरुष र ३३ जना महिला छन् ।
तेह्रथुमः जिल्लाको लालीगुराँस नगरपालिका–१ की किसान दीपा पौडेलको बारी र बगैँचामा मौसमी तथा बेमौसमी सागसब्जी बाह्रै महिना हेर्न पाइन्छ । आफूले लगाउने सागसब्जीमा उहाँ रासायनिक मल र विषादीको साटो कम्पोष्ट मल र जैविक विषादी प्रयोग गर्नुहुन्छ । १० रोपनी जग्गामा जैविक सागसब्जी उमार्दै आउनुभएकी उहाँले सागसब्जी बिक्रीबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएको बताउनुभयो । स्थानीय तीनजुरे महिला किसान समूहकी सचिव दीपा त्यस क्षेत्रकी जैविक सागसब्जी उत्पादक किसान हुनुहुन्छ । लालीगुराँस नगरपालिका–७ ओखरबोटे महिला किसान समूहकी अध्यक्ष मेनुका पोख्रेलले पनि उहाँजस्तै सागसब्जीमा रासायनिक मल र विषादीको प्रयोग गर्नुहुन्न । यसैगरी लालीगुराँस नगरपालिका–३ की किसान गीता राईले पनि विगत पाँच वर्षदेखि रासायनिक मलबिना सागसब्जी फलाउँदै आउनुभएको छ । रासायनिक मल प्रयोग नगर्दा उत्पादन केही कम भए पनि उपभोक्ताका लागि स्वस्थकर हुने भएकाले त्यसतर्फ बढी ध्यान दिएको कृषक गीता बताउनुहुन्छ । दीपा र गीतामात्र होइन लालीगुराँस नगरपालिकाको वडा नम्बर १, ३ र ७ प्रयोग गरी सागसब्जी उत्पादन आएका छन् । रासायनिक मल प्रयोगकर्ता उहाँहरूलाई पाँच वर्षअघि तेह्रथुममा क्रियाशील गैरसरकारी संस्था दलित सचेतना समाज (ड्यास)ले त्यसको प्रयोग बिना पनि खेती गर्न सकिने यथेष्ट जानकारीसँगै तालिम दिएपछि उहाँहरू गाईभैँसीको गोबर र पत्करबाट बनेको मल प्रयोग गरी सागसब्जी उत्पादनतर्फ आकर्षित हुनुभएको हो । ड्यासले सञ्चालन गरेको तालिममा सहभागी भएपछि रासायनिक मलको प्रयोगबाट उत्पादित सागसब्जीले मानव स्वास्थ्यमा पार्ने असरबारे थाहा पाएको लालीगुराँस नगरपालिका–३ चित्रेकी किसान सुशीला राईले बताउनुभयो । तालिममार्फत रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने, माटो बिग्रिने र सागसब्जीमा पनि रोग निम्तिने जानकारी पाएपछि जैविक खेतीमा लागेको उहाँले बताउनुभयो । “पहिले सागसब्जीमा विषादी छर्किँदा दुई–तीन दिन बिरामी नै परिन्थ्यो, हातखुट्टा झम्झमाउने, दुख्ने हुन्थ्यो”, लालीगुराँस नगरपालिका–१ की गीता पौडेलले भन्नुभयो, “त्यो विषादीले असर गरेको रहेछ ।” ड्यासको तालिम पाएपछि पाँच वर्षदेखि रासायनिक मल र विषादीको प्रयोग बन्द गरेको उहाँले बताउनुभयो । पाँच वर्षदेखि कम्पोष्ट मलमात्र प्रयोग गर्न थालेपछि बल्ल माटोमा सुधार आउन थालेको उहाँले बताउनुभयो । तालिममा कम्पोष्ट मल बनाउने तरिका सिक्यौँ र अहिले छ–छ महिनामा समूहमा मिलेर वाष्पीकरण विधिबाट मल बनाउँछौँ, समूहका सबै सदस्यले एक–एकथरि मल बनाउने झारपात ल्याएर सामूहिक रूपमा मल बनाएर आपसमा बाड्छौँ किसान गीताले जानकारी दिनुभयो । यसबाट हाम्रो धेरै बचत भएको छ र सीप पनि सिक्न पाएका छौँ उहाँहरू भन्नुहुन्छ । जैविक मल प्रयोग भएको सागसब्जी छिट्टै नकुहिने र स्वाद पनि बेजोड हुने स्थानीय उपभोक्ता भूमि राईले बताउनुभयो । चिनी मलको अत्यधिक प्रयोग हुने सो क्षेत्रमा त्यसको प्रयोग शून्य बनाउन निकै गाह्रो भएको अनुभव ओखरबोटे महिला किसान समुहकी अध्यक्ष मेनुका पोख्रेलले सुनाउनुभयो । चिनीमल नहालेको सुरुको वर्ष अन्य वर्षको तुलनामा चार भागको एक भाग पनि सागसब्जी उत्पादन नभएको उहाँले बताउनुभयो । नगरपालिकाको भकारो र गोठ सुधार कार्यक्रमले कम्पोष्ट मल बनाउने तरिका सिकाएको उहाँको बताउनुभयो । मललाई छाना लगाएर राखिने गाईवस्तुको पिसाब ट्याङ्कीमा जम्मा गरी सागसब्जीमा लगाउँदा चिनीमलको जस्तै काम गर्छ भन्ने थाहा पाएपछि आफूहरूले त्यसै गरेको किसानहरूले सुनाउनुभयो । आर्थिक वर्ष २०७५÷७६ देखि ड्यासले सो क्षेत्रमा जैविक खेतीसम्बन्धी जनचेतनामूलक तालिम सञ्चालन गरेको थियो । तालिम लिएपछि २०७६ सालमै ड्यासको नै समन्वयमा तीनवटा वडामा ३७ वटा महिला किसान समूह गठन गरिएको ड्यासका कार्यक्रमका संयोजक कुमार विशङ्खेले बताउनुभयो । “अधिकांश घरका पुरुष रोजगारीका सिलसिलामा विदेशमा छन्, घरमा भएका महिला नै कृषि उत्पादन कार्यमा संलग्न छन्, त्यसैले हामीले महिला किसान समूह गठन गरी चरणबद्ध रूपमा जैविक उत्पादनका लागि कार्यक्रम गरेका छौँ”, उहाँले भन्नुभयो । लालीगुराँस नगरपालिकाको वडा नम्बर १, ३ र ७ मा नगरपालिकासँगको सहकार्यमा ड्यासले भकारो सुधार, गोठ सुधार कार्यक्रम, मल बनाउने तालिम सञ्चालन गरेको थियो । अहिले पनि ड्यासले रासायनिक मलको प्रयोगलाई कम गर्ने र जैविक मलको मात्रालाई बढाउँदै लाने विषयमा सचेतनामूलक कार्यक्रम गरिरहेको पाइएको छ । त्यसैगरी नगरपालिकासँगको सहकार्यमा जैविक खेतीका लागि किसानकै खेतबारीमा गएर ब्याड नर्सरीदेखि उत्पादनसम्म गरिने जैविक प्रक्रिया ९किसान पाठशाला० पनि सञ्चालन गरिएको थियो । गाईवस्तुको भकारो सुधार, भकारोमा छाना लगाउने अभियान, विभिन्न विद्यालयका आठ सय बढी बालबालिकाका लागि जैविकखेतीको विषयमा कक्षा सञ्चालन, जैविकखेतीको महत्वका विषयमा वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम ड्यासले सञ्चालन गरेको थियो । जैविकखेती गर्न चाहने विपन्न लक्षित महिलाहरूलाई अनुदान, जैविक सागसब्जी बिक्री केन्द्र, जैविक सागसब्जी सङ्कलन केन्द्र स्थापना, लालीगुराँस जैविक सहकारी संस्था स्थापना गरी त्यसमार्फत जैविक सागसब्जी मेलाजस्ता कार्यक्रम सञ्चालन गरिएको ड्यासले जनाएको छ । अधिक मात्रामा चिनीमल प्रयोग हुने सो क्षेत्र हाल जैविक सागसब्जीको केन्द्रका रूपमा विकास भएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम०लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्रीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभयो । उहाँले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न आग्रह गर्नुभयो । त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ रसञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालसमेत सहभागी हुनुहुन्थ्यो । टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता अर्यालले रु एक करोड दुई लाख ७० हजार कोषमा दाखिला गरिएको जानकारी दिनुभएको थियो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २५ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।