पाल्पा: जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो ।जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष जिल्लामा ३६ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष यहाँ ३४ हजार ७ सय ६२ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष ३ दशमलव ६ प्रतिशतले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो । गुणस्तरीय र उन्नत जातका बीउको प्रयोग, अनुकूल मौसम, मलको उपलब्धतालगायत कारण धान उत्पादन बढेको उहाँले बताउनुभयो । “केही स्थानामा धान पसाउने बेला रोग, कीराको समस्या देखिए पनि समग्र जिल्लाभर उत्पादन बढेको छ । किसानले उन्नत जातको बीउको प्रयोग गर्नु, यसवर्ष प्रयाप्त सिँचाइ, आधुनिक प्रविधिको प्रयोगलगायत कारणले उत्पादनमा वृद्धि आएको हो”, प्रमुख चौधरीले भन्नुभयो । उहाँका अनुसार यस वर्ष जिल्लामा ८ हजार ६ सय २० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । गतवर्ष ८ हजार २ सय हेक्टर क्षेत्रमा खेती गरिएको थियो । गाउँगाउँमा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहयोगमा सिँचाइ आयोजना कार्यक्रम सञ्चालनमा आएपछि कुलो, नहर व्यवस्थित हुँदा धान लगाउने क्षेत्रफल बढ्न थालेको प्रमुख चौधरीले जानकारी दिनुभयो । सिँचाइको अभावले बाँझो रहेका जग्गामा पछिल्लो समय सिँचाइ सुविधा पुगेपछि बारी तथा बाँझिएका जमिनमा पनि किसानले धान लगाउने गरेका छन् । धानखेतीका लागि मौसम अनुकूल हुँदा उत्पादन वृद्धि भएको किसान सीता देवकोटाले बताउनुभयो । “रोपाइँ गरेदेखि वर्षा भइरहेकाले सिँचाइ गर्न सजिलो भयो, वर्षदिनभरि खाने अनाज राम्रो उत्पादन हुँदा खुसी लागेको छ । भकारीभरि धान भएपछि मन ढुक्क छ, कतै बीउको समस्याले पसाउने बेला रोगकीरा देखिए पनि अधिकांश किसानले यसवर्ष अघिल्ला वर्षमा भन्दा धेरै धान भित्र्याउनु भएको छ”, उहाँले भन्नुभयो । जिल्लामा साबित्री, साँवामन्सुली, रामधान, हाइब्रिड, उन्नतलगायत जातका धान चलनचल्तीमा छन् । स्थानीय सरकारले अनुदानमा उन्नत जातका गुणस्तरीय बीउ उपलब्ध गराउन थालेपछि विगतका वर्षमा भन्दा पछिल्ला वर्षमा उत्पादन क्रमिक रूपमा बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
काठमाडौं: देशभरका होटल व्यवसायीको छाता संस्था होटल सङ्घ नेपाल (हान)ले होटल क्षेत्रलाई उद्योग सरह विद्युत् उपलब्ध गराउन माग गरेका छन् । सङ्घका अध्यक्ष विनायक शाह नेतृत्वको टोलीले आज उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर होटल क्षेत्रलाई उत्पादन मुलक उद्योगले पाएको विद्युत् छुट सरहको सुविधा दिन माग गरेको हो । हानले होटलमा विद्युतीय चुल्हो राख्नका लागि आवश्यक नीति बनाउनुपर्ने, होटललाई समेत टाइम अफ डे (टिओडी) मिटर प्रदान गर्ने व्यवस्था लागू गरी प्रोत्साहित नीति लिन मन्त्रीसमक्ष आग्रह गरेको छ । होटल व्यवसायीहरुले औद्योगिक व्यवसाय ऐन, २०५६ को दफा ३ बमोजिम होटल उद्योगमा दर्ता हुनुपर्ने र पर्यटन ऐन २०३५ को दफा १० बमोजिम होटल, लज, रिसोर्ट, पर्यटक स्तरमा दर्ता गराउन चाहेमा सरकार समक्ष दर्खास्त दिनुपर्ने व्यवस्था बमोजिम पर्यटन विभागबाट स्तर निर्धारण भएका होटललाई अन्य उत्पादनमूलक उद्योग सरहको सुविधा दिन माग गरेका छन् । भेटमा ऊर्जामन्त्री खड्काले निजी क्षेत्र सुदृढ नभएसम्म राष्ट्रिय अर्थतन्त्र सुदृढ नहुने भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति वर्तमान सरकारले लिएको बताउनुभएको थियो । मन्त्री खड्काले नेपालमा होटल क्षेत्रले ठूलो रोजगारी प्रदान गरेको भन्दै यसलाई अगाडि बढाउन सरकार लाग्ने स्पष्ट पार्नुभयो ।
बलेवा: यहाँस्थित ऐतिहाँसिक गाजाको दह नजिकै व्यापार गर्दै आउनुभएका नरबहादुर थापाले दशक अघिसम्म दहमा पानीको सतह भरिभराउ देख्नुहुन्थ्यो । पछिल्लो समय दहमा बिस्तारै पानी सुक्दै गएको छ । वर्षात्मा हावा चल्दा तालको छालले छेउका घरमा असर गर्ने डर हुन्थ्यो । तर अहिले त वर्षात्मा पनि यो ताल सुख्खा जस्तै भयो । भरिभराउ हुनुपर्ने तालको आधा पनि पानी नभरिएपछि स्थानीय बासिन्दा चिन्तामा छन् । २ हजार ५ सय मिटर उचाइको गाजा दहको पानी सुक्दा पर्यटकीय स्थल ओझेलमा पर्ने, तल्लो खण्डमा पानीको समस्या बल्झिने चिन्ता बढेको थापाले बताउनुभयो । सयौं वर्षदेखि पहाडको धुरीमा रहेको बागलुङको प्रसिद्ध गाजाको दह पछिल्लो समय सुक्दै जान थालेको हो । हिउँदमा नसुक्ने, वर्षात्मा धमिलो पनि नहुने विशेषता बोकेको यो दहमा डोजर लगाएर संरक्षण गर्न खोज्दा पानी घटेको स्थानीयको अनुमान छ । पाँच वर्षअघि यहाँ पर्खाल लगाएर पानी संरक्षण प्रयास गरिएको थियो । यसका लागि डोजर लगाएपछि पानीको सतह सुक्दै जान थालेको स्थानीयले जनाएका छन् । बागलुङ सदरमुकामदेखि २४ किमी पश्चिमको यात्राबाट पुगिने गाजाको दह पर्यटकीय र धार्मिक गन्तव्य हो । यहाँ सिद्ध बराहको थान छ । यो थानमा जैमिनी, गलकोट, बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाबासी पूजा गर्न पुग्छन् । त्यस बाहेक अन्यत्रबाट पनि घुम्न जानेहरु धेरै छन् । यो दहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहित मनास्लु हिमाल समेत देखिन्छ । उच्च पहाडमा भएकोले हिउँदमा हिउँ पर्छ । जंगल छेवैमा भएर पनि यो ताल सँधै सफा हुन्छ । यसैले यहाँ पर्यटक जानेआउने गर्छन् । यहाँबाट बागलुङसहित पर्वत, गुल्मी, म्याग्दी र स्याङजाका धेरै क्षेत्र देखिन्छन् । त्यसैले यहाँ पैदल यात्रा गरेर पनि पर्यटकहरु पुग्ने गर्छन् । “यो दह धार्मिक रुपमा पनि प्रसिद्द छ, तर संरक्षणको नाउँमा डोजर लगाएर पानी घट्यो ” स्थानीय थापाले भन्नुभयो “अब मौलिक रुपमै संरक्षण नगरे दहको अस्तित्व सकिन्छ । ” सडक अप्ठ्यारो भएकोले गाजा दह पुग्ने सडकलाई स्तरीय बनाउन पनि उहाँले माग गर्नुभयो । गाजा दहको छेवैमा रहेको सिद्द थानमा बैकुष्ठ चर्तुदर्शी तथा बाला चर्तुदर्शीमा मेला लाग्ने गरेको छ । बाला चर्तुदर्शीमा त सतबिज झर्नेको भीड समेत लाग्छ । पूर्णिमा मेला र विभिन्न चाडपर्वमा यहाँ गाजा दह नुहाउने भक्तजन पनि पुग्छन् । धार्मिक र पर्यटकीय स्थान भएकोले पर्यटन क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने स्थानीयको माग छ । गण्डकी प्रदेश सरकारले यो दहलाई पर्यटन क्षेत्रमा सूचिकृत गरेको छ । तर पूर्वाधार निर्माणमा बजेट नदिएको स्थानीयले गुनासो गरेका छन् । सिद्ध बराह मन्दिर र ताल संरक्षण गर्न स्थानीयले महायज्ञ समेत लगाएका छन् । शनिबारदेखि शुरु भएको महायज्ञ सात दिन चल्ने जैमिनी नगरपालिका वडा नंं ३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले बताउनुभयो । यो महायज्ञ धार्मिक मात्र नभई सास्कृति र दह संरक्षणको अभियान भएको उहाँको भनाइ छ । पानी सुक्दा पर्यटकीय गतिविधि पनि ठप्प हुने स्थानीय यानुकला कालामगरले गुनासो गर्नुभयो । ताल छ भनेरै धेरै मानिस घुम्न आउने हो, पानी सुक्यो भने त यहाँ कोही आउँदैन’ कालामगरले भन्नुभयो, “यहाँको महत्व जोगाउनु पर्छ । ” गाजा दहको आसपासमा बस्ने मगर र छन्त्याल समुदाय बसोबास गर्दछन् । उहाँहरुले यहाँको धार्मिक मठमन्दिरमा पूजा गर्नुहुन्छ । साथै, मेलापर्व पारेर लोकदोहोरी, सोरठी, सालैज्यो र विनासालैज्यो जस्ता संस्कृति समेत देखाउने चलन छ ।
पोखरा: नेपाली अग्रणी कन्फेक्सनरी उद्योगका रुपमा परिचित नाम सुजल फुड्स प्रालिले हरेक नेपाली माझ लोकप्रिय क्यान्डी रिमझिम बललाई पुन: बजारमा ल्याउने भएको छ । सन् १९७६ मा सुरु गरिएको यो क्यान्डी ८० र ९० दशकका पुस्ताको लागि यादगार स्वादको प्रतीक बन्न सफल भएको थियो । उबेला ब्ल्याकबल उपनामबाट परिचित यस क्यान्डीको अनौठो पिरो र मिठ्ठो स्वादले सबैको मन जितेको थियो। सुजल फुड्सले फेरि एकपटक उपभोक्ताहरूमाझ पिरो मिश्रित मिठो स्वादको पुरानो यादलाई ताजा बनाउन रिमझिम बल पुन: लन्च गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । पछिल्लो समय विभिन्न मिडिया प्लेटफर्महरूमा यस ओरिजिनल ब्ल्याक बल क्यान्डीबारे निकै चर्चा र उपभोक्ताहरूको मागका कारण यसलाई पुनः बजारमा ल्याउने निर्णय गरिएको कम्पनीको भनाई छ । सुजल फुड्सले रिमझिम बलको पुनः लन्चको सुरुवात पोखराबाट गर्ने पनि जनाएको छ । पुराना उपभोक्ताहरूलाई बाल्यकालका सम्झनाहरू दिलाउने र फेरी एकपटक आफ्नो मन पर्ने क्यान्डी खान पाइने कम्पनीको विश्वास छ । नयाँ पुस्तालाई पनि तिक्खर स्वादहरूको खोजीमा पुरानो मिठासको अनौठो अनुभूति दिनेमा कम्पनी ढुक्क छ । सुजल फुड्सले यस रिमझिम बलको पुनः लन्च अभियानबारे थप जानकारी चाँडै सार्वजनिक गर्ने पनि जनाएको छ । जहाँ पुराना प्रशंसकहरूलाई पुराना यादरुको यात्रा गराउँदै नयाँ पुस्तालाई नयाँ र फरक स्वादको अनुभव दिने योजना बनाइएको सुजल फुड्स प्रालिले जनाएको छ ।
काठमाडौं: फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले १ गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २५ वर्षीया समृद्धी मगर, काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई हाल काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने ३० वर्षीय दिपेन्द्र दर्जी तथा काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई हाल हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २६ वर्षीय वर्षा दर्जी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आपाराधिक लाभ लिने उद्देश्यले योजना बनाइ मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई निज वर्षा दर्जीले घाउ ड्रेसिङको लागि अनलाइनबाट सम्पर्क गरी आफु एक्लै भएको अवस्थामा कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरर्जस्ती करणी मुद्दामा फसाइ दिन्छु भनि डर त्रास देखाई रु १८ लाखबाट बार्गेनिङ गर्दै रु आठ लाख दिए कुरा मिल्छ भनि रकम असुली गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो ।” दर्जीले समाजिक सञ्जाल मेसेन्जरबाट खुट्टामा घाउ भई ड्रेसिङका लागि आइदिनु प¥र्यो भनि पीडित व्यक्तिलाई म्यासेज गरेको र दर्जीको कोठामा पीडित व्यक्ति जाँदा निजको खुट्टामा कुनै पनि किसिमको घाउ चोट नरहेको तथा निज दर्जीले आफ्नो ढोकाको चुकुल लगाइ पीडितलाई कोठामा राखेको खुल्न आएको प्रहरीले जनाएको छ । यसैगरी पीडितले ढोकाको चुकुल खोली बाहिर निस्किँदै गर्दा समृद्धि मगर भन्ने अर्को १ महिला आई पीडितसँग कुरा गर्नु छ भनि कोठाभित्र लगि जबरर्जस्ती करणी मुद्दामा फसाइ दिउँ वा सहमतिमा आउनु हुन्छ भन्दै घम्की दिएको प्रहरीको भनाइ छ । रु १८ लाखदेखि रकमको माग गरी रु आठ लाख दिने शर्तमा कुरा मिलाइ भक्तपुरको मध्यपुर ठिमी–३ कौशलटारमा रहेको वेभ सेकुवामा यही मङ्सिर ११ गते बिहान रु २५ हजार नगदसहित दिपेन्द्र दर्जी र समृद्धि मगरले लिएको र समृद्धिले दिएको सिदार्थ बैंकको क्युआर खातामा रु २५ हजार थप जम्मा गरेको तथा सोही स्थानमा रु ७५ हजारको चेक लिएको तथा एक जना व्यक्ति हाल फरार रहेको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले बताउनुभयो । पक्राउ परेकाहरुको साथबाट एनआइसि एसिया बैंकको वर्षाको नाममा काटी दिएको रु ७५ हजारको चेक एक थान, नगद रु १ हजारको १ थान र रु ५०० का ३९ थान गरी जम्मा रु २० हजार ५ सय, विभिन्न कम्पनीका मोबाइल चार थान बरामद गरिएको तथा निज दिपेन्द्र दर्जी ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान)मा विसं २०७१ मा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट पक्राउ परी सजाय भुक्तान गरेको व्यक्ति रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
पोखरा: लामा अमृत फाउण्डेसन घान्द्रुकका सस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धा आश्रममा मनाएका छन् । ३७ वर्षीय गुरुङले आफ्नो जन्मोत्सव पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित मानवसेवा आश्रम र सीता पाइलास्थितको वृद्धाआश्रममा खाद्यान्नका सामाग्री सहयोग गरेका जन्मोत्सव मनाएका हुन् । उनले सहयोग हस्तान्तरण गर्दै आफ्नो जन्मोत्सवमा आर्शिवाद लिन वृद्धाश्रम पुगेको बताए । ‘मैले विगत ६ वर्षदेखि जन्मोत्सवको अवसरमा मानवसेवा आश्रम र पोखरा वृद्धा आश्रममा खाद्यान्न, दैनिक उपभोग्य सामान र फलफुल वितरण गर्दै आएको छु’, गुरुङले भने, ‘फजुल खर्च भन्दा समाजसेवामा खर्च गर्न मन लाग्छ, त्यसैले ५ वर्षदेखि मृगौला पीडित तामाङलाई समेत सहयोग गर्दै आएको छु ।’ उनले युवा पुस्तालाई सन्देश दिने उद्देश्यले जन्मोत्सव आश्रममा मनाएको बताए । ‘यो मेरो सहयोग भन्दापनि सन्देश हो, उनले भने, ‘भोज गरेर खर्च गर्नुको सट्टा असहायको साहरा बन्न सक्नुपर्छ भन्ने हेतुले हरेक वर्ष मैले यसरी नै जन्मोत्सव मनाउने गर्दछु ।’ हरेकवर्ष आफ्नो जन्मोत्सव वृद्धाश्रममा मनाउदै आएको बताउदै यसपटकपनि सोही कार्यलाई निरन्तरता दिएको गुरुङले जानकारी दिएका थिए । युवा व्यवसायी तथा समाजसेवी गुरुङले सामाजिक सेवासँगै खेलकुद विकासको क्षेत्रमासमेत काम गर्दै आएका छन् । उनले यसअघि कोरोना महामारीको समयमा पनि विपन्न परिवारहरुलाई राहात स्वरुप खाद्यान्नका समाग्री सहयोग गरेका थिए । गुरुङले सहयोग गरेको मानवसेवा आश्रम छोरपाटनमा ८२ र सीता पाइलास्थित पोखरा वृद्धाश्रममा ४५ जना आश्रित छन् । सोही अवसरमा उनले पोखरा १४ का मृगौलापीडित नरबहादुर तामाङको परिवारलाईसमेत खाद्यान्न तथा नगद सहयोग गरेका थिए ।
खोटाङ: सगरमाथा राष्ट्रिय लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारस्थित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी नदीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज १२ गते आएको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको हो । फोक्सिङटारमा करिब ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गर्नेगरी ठेक्का आह्वान गरिएको सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल)सडक आयोजना कार्यालय उदयपुरका आयोजना प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार यही मङ्सिर १८ गतेसम्म ठेकेदार कम्पनीले दरखास्त हाल्न पाउनेगरी समयसीमा निर्धारण गरी सूचना प्रकाशन गरिएको छ । अहिले अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याउने र पुनः खोलेर राख्नेगरी ठेक्का आह्वान गरिएको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ । फोक्सिङटारमा २०७९ सालमा एक सय २० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल बनेपछि लामो समयदेखि बर्सेनि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने र झिकेर राख्नुपर्ने बाध्यता अन्त्य भएको थियो । २ वर्ष नबित्दै बाढीले उक्त पुल बगाएपछि जिल्लावासीका लागि पुनःअस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको हो । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको सुनकोसीस्थित फोक्सिङटारमा विसं २०७९ मा खोलेर राखिएका सामानलाई पुनः राख्ने तयारी गरिएको आयोजना प्रमुख ज्ञवालीले बताउनुभयो । सो स्थानमा हिउँदमा राख्ने र वर्षा लाग्ने वित्तिकै झिक्ने गरी अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालन गर्ने गरिएको थियो । निर्माण कम्पनी गौरी–पार्वती–वाईपी जेभीले फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै विसं २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा मोटरेबल पक्की पुल बन्न १० वर्ष कुर्नुपरेको थियो । सडक कार्यालयले सूचना प्रकाशन गरेपछि संविधानसभा सदस्य विशाल भट्टराईले फोक्सिङटारमा आगामी पुस दोस्रो साताभित्र अस्थायी बेलिब्रिज जडान सम्पन्न गरेर सञ्चालनमा ल्याउनेगरी पहल भइरहेको जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका उहाँले वर्षाद्को समयमासमेत निकाल्नु नपर्नेगरी पुल निर्माण गर्न पहल थालिएको उहाँले तदारुकताका साथ लागेको उल्लेख गर्नुभयो । प्रतिनिधिसभाका सांसद रामकुमार राई ‘पासाङ’ले फोक्सिङटारमा स्थायी पुल निर्माण गर्न सशक्त पहल गरिरहेको बताउनुभयो । “फोक्सिङटारमा तत्काल अस्थायी बेलिब्रिज जडान गर्न पटकपटक सम्बन्धित निकायमा खबरदारी गरेपछि सडक पूर्वाधार कार्यालयले ठेक्का आह्वान भएको सूचना प्रकाशन गरेको छ । सम्भवतः आगामी पुसभित्र अस्थायी बेलिब्रिज जडान भएर सञ्चालनमा आउँछ”, उहाँले भन्नुभयो, “यहाँ स्थायी पुल नबनेसम्म समस्या समाधान हुँदैन । स्थायी पुल निर्माण गर्न पहल भइरहेको छ ।”कोसी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले फोक्सिङटार पुलको स्थायी समाधान गर्ने प्रयास जारी रहेको उल्लेख गर्नुभयो । प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’को सचिवालयले फोक्सिङटारमा स्थायी पुल बनाउन पहल गरिरहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ । यहाँको मोटरेलब पक्की पुल बाढीले बगाएपछि पूर्वी तराईसँगको सिधा सम्पर्क विच्छेद भएको वर्तमान अवस्थामा स्थानीय जनप्रतिनिधि र नागरिकको खबरदारीले यथाशीघ्र अस्थायी बेलिब्रिज जडान भएर सञ्चालनमा आउने अपेक्षा स्थानीयले गरेका छन् । मोटरेबल पक्की पुल बाढीले बगाएपछि जिल्लाको भौतिक पूर्वाधार विकास १० वर्ष पछाडि धकेलिएको जिल्लावासीको भनाइ छ ।दिक्तेल–गाईघाट खण्डको महुरे–फोक्सिङटार ९४९ किलोमिटर० सडक कालोपत्रको काम अलपत्र छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको उक्त खण्डमा ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको स्थानीय बताउँछन् ।
बागलुङ: मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा एकै पटक ५ वटा पुल निर्माण सुरु गरिएको छ । बागलुङको काठेखोलामा एउटा र पर्वतमा ४ वटा पुल निर्माण थालिएको हो । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका अनुसार काठेखोला, पर्वतको डिमुवा सुन्दरेखोलामा पुल निर्माण सुरु भइसकेको छभने मोदीखोलामा २ वटा पुलको काम यही मङ्सिरभित्र सुरु हुने भएको छ ।पातीखोलामा पुल निर्माणका लागि सर्वेक्षण भइरहेको लोकमार्ग कार्यालय पर्वतकी सव–इन्जिनियर अस्मिता भट्टराइले जानकारी दिनुभयो । काठेखोला, पातीखोला र मोदीखोलामा पुल बनेर यातायात सञ्चालन गरिए पनि लोकमार्ग फराकिलो बनाएपछि पुललाई थप चौडा बनाइने उहाँको भनाइ छ । उहाँका अनुसार काठेखोला, डिमुवा सुन्दरेखोला र मोदीखोलामा एकरएक र पातीखोला दुई वटा पुल निर्माण गर्न लागिएको हो । सव–इन्जिनियर भट्टराईले भन्नुभयो, “सुन्दरे खोलामा अहिलेसम्म पुल बनेकै थिएन, यहाँ आवश्यक देखिएको हुँदा पहिलो पटक पुल बनाउने भएका हौँ, अन्य ठाउँमा वर्षौँ अगाडि पुल बनेका थिए, ती पुल साँघुरो र जीर्ण बन्दै गएको हुँदा त्यस स्थानमा दोहोरो गाडी ओहोरदोहोर गर्न सक्ने गरी पुल निर्माण थालिएको हो ।” ५ वटै पुल निर्माणको जिम्मा लुम्बिनीरप्राकृतिक जेभीले पाएको छ । डिजाइन गरेर काम सुरु भएको पुलको निमार्ण आगामी दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ । रु ४४ करोड १५ लाख ३५ हजारमा ती ५ पुल निर्माण हुने छन् ।
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताउनुभएको छ । भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको चौथो तीन दिने प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रको सहकार्य बिना आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताउनुभयो । पछिल्लो समय आर्थिक सूचकाङ्हरुमा सुधार देखिएको उल्लेख गर्दै उहाँले पूँजी बजारमा निजी क्षेत्रको उपस्थिति बढाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “पुँजी बजारलाई बढाउनुपर्ने छ, स्वदेशी उत्पादन बढाउनुपर्ने छ, व्यापार घाटा न्यून गर्नुपर्ने छ, नविनतम प्रविधि भित्र्याउनुपर्ने छ, आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनुपर्ने मुख्य चुनौती हाम्रा सामु छ ।” उहाँले उद्योग व्यवसायसँग सम्बन्धित बाधक विभिन्न कानुन परिमार्जनका लागि सरकारले तयारी गरेको बताउनुभयो । स्वदेशी लगानीकर्तालाई उत्साहित हुने गरेर सरकारले सुविधा दिइने उहाँको भनाइ छ । नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै उहाँले समग्र उद्योगी व्यवसायीलाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभयो । “सरकार मेरो छ, म उद्योग चलाइरहेको छु, सरकार साथमा छ भन्ने महसुस अहिलेको सरकारले गराउन खोजेको छ”, मन्त्री भण्डारीले भन्नुभयो । सेवा प्रवाहको क्षेत्र र उत्पादनका क्षेत्रमा रहेका जटिलता हटाउन सरकारले पहलकदमी थालेको उहाँले बताउनुभयो । उद्योग मन्त्रालयमा सुधारका कार्य गर्नका लागि पहल भइरहेको उहाँले जानकारी गराउनुभयो । उहाँले छिट्टै लगानीका क्षेत्रमा देखिएका समस्या सुधारका लागि वर्तमान सरकारले पहलकदमी अगाडि बढाउने बताउनुभयो । उहाँले सरकारले वित्तीय क्षेत्र, लगानीकर्ता, कूटनीतिक निकायका प्रतिनिधिलगायत सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित व्यावसायिक सम्मेलन गर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललगायत वक्ताहरुले वर्तमान सरकारले निजी क्षेत्रको सुझावअनुसार आर्थिक अवस्था सुधारका कार्य अगाडि बढाएकोमा प्रशंसा गर्दै आगामी दिनमा सरकारले निजी क्षेत्रका समस्या समाधानमा पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
                    
