पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

काभ्रेपलाञ्चोक:     पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट गएराति जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् ।  जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट रु ९३ हजार तीन सय १५ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।       पक्राउ परेकालाई इप्रका बनेपामा राखी आज म्याद थपको तयारी भइरहेको प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।  उहाँका अनुसार ख्याकूका रमेश थापाको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा राति प्रहरी टोलीले पक्राउ गरेको हो ।       प्रहरीले यसअघि बुधबार साँझ मात्रै पनौती–९ कुँवर गाउँबाट पाँच जनालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई रु ९५ हजार नगद बरामद गरेको थियो । उक्त समूहलाई मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:   उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गर्नुभएको छ ।  विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका मन्त्री पौडेलले यहाँस्थित नेपाली राजदूतावासले प्रवासी नेपालीसँग आयोजना गरेको छलफलमा मातृभूमिको विकासका निम्ति लगानीका माध्यमबाट सघाउन आग्रह गर्नुभएको हो ।  मन्त्री पौडेलले भन्नुभयो, “वर्तमान सरकारको उद्देश्य जनचाहनाअनुसार विकास गर्दै समृद्धिको मार्गमा अघि बढ्नु हो, त्यहीअनुरुप काम गरिरहेका छौँ ।” उहाँले ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानीका पर्याप्त अवसर भएकाले यहाँ आर्जन गरेको सीप, पुँजी र ज्ञानलाई नेपालमा उपयोग गर्न सुझाउनुभयो ।  साथै उहाँले लगानीकर्तालाई सरकारले प्राथमिकताका साथ सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्थमन्त्रीले सहभागीका जिज्ञासाको जवाफ दिँदै नेपालमा लगानीको वातावरण र प्रतिफल प्राप्तिको सुनिश्चितता भएकाले ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अधिक पुँजी आवश्यक परेकाले गैरआवासीय नेपालीको सहयोग आवश्यक भएको बताउनुभयो । छलफलका सहभागीहरूले नेपालको कर प्रणाली, लगानीमैत्री वातावरण, कर्मचारी संयन्त्रको कार्यसम्पादन र प्रविधिबारे जिज्ञासा राखेका थिए । 

काठमाडौं:     सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा रु एक हजार चार सयले वृद्धि भएको हो ।        शुक्रबार प्रतितोला रु एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार चार सय निर्धारण भएको छ ।  त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ ।  शुक्रबार प्रतितोला रु दुई सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ८५ निर्धारण भएको छ । 

पोखरा:  लेखनाथको आदर्श चोकमा गएराति बोलेरोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका–२९ आदर्श चोकमा बोलेरोले पैदल यात्रीलाई ठक्कर दिँदा ५७ वर्षीय सोनु खड्काको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  तालचोकबाट गगनगौडातर्फ जाँदै गरेको ग ३ च ४७५७ नम्बरको बोलेरोले गएराति आदर्श चोकमा सर्लाही घर भई पोखरा–२९ बस्ने खड्कालाई ठक्कर दिएको थियो ।  बोलेरोको ठक्करबाट गम्भिर घाइते भएकी खड्काको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।  दुर्घटनापछि बोलेरो जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

काठमाडौंमा जारी साफ वुमन्स च्यायिपनसीपमा समूह विजेताको रुपमा सेमिफाइलनमा पुगेको नेपालले आज भारतविरुद्द खेल्दैछ ।    समूहचरणमा श्रीलंकालाई ६–० को फराकिलो गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।    आज सेमिफाइनल अन्तरगत नेपालले भारतविरुद्द खेल्नेछ । नेपाल यसअघि ४ पटक फाइनलमा भारतसँग पराजित भएको थियो । तर अहिले सेमिफाइनलमै जित्ने अवसरमा पाएको छ ।   उक्त खेल आज बेलुकी दशरथ रंगशालामा साढे ६ बजे सुरु हुनेछ ।   यस्तै अर्काे सेमिफाइनलमा आज साढे १ बजे भुटान डिफेन्डिङ च्याम्पियन बङ्गलादेशसँग भिड्नेछ ।    

मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ ।   शनिबार बेलारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस फुटबल क्लब सिराहालाई ५–३ गोलअन्तरले हराउँदै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापा–११ ले रु आठ लाख नगदसहित ट्रफी जितेको छ ।   यस्तै उपविजेता सलहेस फुटबल क्लब सिराहाले रु चार लाख नगदसहित ट्रफी प्राप्त गरेको छ ।   झापा–११ का लागि दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङ तथा सलहेशका लागि राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले गोल गरेका थिए । सलहेशका समीर तामाङको प्रहार झापाका गोलरक्षक सन्दीप लिम्बूले गोल हुनबाट बचाएका थिए ।   फाइनल खेलमा मध्यान्तरअघि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछिको खेलको ५०औँ मिनेटमा सलहेश फुटबल क्लबका अजयी मार्टिनले गोल गर्दै आफ्नो टोलीलाई १–० को अग्रता दिलाएका थिए ।   यस्तै खेलको ७१औँं मिनेटमा झापाका प्रदीप बुढाथोकीले जवाफी गोल गर्दै खेल बराबरीमा पुर्याए ।   निर्धारित समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि जित हारको निर्णय टाइब्रेकरबाट गरिएको हो ।   फाइनल खेलको म्यान अफ दी म्याच अभिषेक गुरुङ घोषित भए । उनले नगद रु पाँच हजारसहित ट्रफी प्राप्त गरे । झापाका सन्दीप लिम्बू उत्कृष्ट गोलरक्षक, उत्सव राई उत्कृष्ट मिडफिल्डर, सन्तोष गुरुङ उत्कृष्ट प्रशिक्षक र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए ।   तामाङले रु १० हजार नगदसहित ट्रफी र अन्य खेलाडीले जनही रु सात हजार नगद तथा ट्रफी प्राप्त गरे । यस्तै सलहेश फुटबल क्लबका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । उनले खेल अवधिभर पाँच गोल गरेका थिए ।   सलहेशका समीर तामाङले उत्कृष्ट फरर्वाडको उपाधिसँगै रु सात हजार नगद र ट्रफी प्राप्त गरे ।   विजयी खेलाडीलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई र एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राईलगायतले ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए । उक्त प्रतियोगिता यही कात्तिक २ गतेदेखि सुरु भएको थियो ।

बागमती प्रदेशका १० जिल्लाभर आर्थिक वर्ष २०८१/०८२ को पछिल्लो तीन महिनामा (साउनदेखि असोजसम्म) मा सवारी दुर्घटनाबाट ६० जनाको मृत्यु भएको छ ।   ट्राफिक प्रहरी कार्यालय बागमती प्रदेशका अनुसार ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको र १ हजार ३ जना घाइते भएका थिए ।   यस्तै सो अवधिमा ३५ हजार ८५ सवारीसाधनबाट रु २ करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।   पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।  

म्याग्दी:    मालिका गाउँपालिकाको छ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो । मालिका–२ रुम, बेली, जेम, घ्याङ्लेपानीमा दुई ५६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, पात्लेका एक सय २०, मालिका–४ ओखरबोटमा एक सय दुई घरमा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले जानकारी दिनुभयो । प्राधिकरणको विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका चारवटा वडामा बत्ती बलेको हो ।   म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि रु २२ करोड बजेटको योजना सञ्चालन भएको छ । घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले यसअघि उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गरेका थिए् । वर्षौँको प्रयासपछि बिजुली बलेपछि स्थानीयमा खुसीयाली छाएको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो ।  मालिका गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने पात्ले, लुप्सीपार, किटेनी, डाडागाउँ, औला, सेउलीबाङ, अदिभारा, इग्रे, खतेन बस्तीका तीन सय २५ घरमा विद्युतीकरण भएको उहाँले बताउनुभयो । केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि स्थानीयलाई घरायसी कामकाज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको मालिका–३ पात्लेकी बालकुमारी रोकाले बताउनुभयो ।   विद्युत् सुविधा विस्तारका लागि ४७.६ किलोमिटर मुख्य, एक सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न २०८० असोजमा रविन्द्र÷ढुङ्गाना जेभीसँग रु तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो । सोही ठेक्कामार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफैँले गरेका हुन् ।  आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ११ स्थानमा एक हजार चार सय ३८ उपभोक्ता थपिएका विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो । गत वर्ष थपिएकासहित केन्द्रमा २३ हजार ग्राहक छन् ।

ललितपुर:    शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव स्वास्थ्य, ऊर्जा भण्डारण, कार्बन उत्सर्जनलाई कम गर्ने विषयमा छलफल भएको छ ।  सम्मेलनको दोस्रो दिन शनिबार ऊर्जा, वातावरण र बायोमेडिकलबारे भएका पछिल्ला अनुसन्धान, अन्वेषणबाट पत्ता लागेका कुरा तथा अनुसन्धानबाट हासिल उपलब्धिको उपयोगिताको सम्भावनाका बारेमा समेत छलफल भएको छ । ‘नेपाल मटेरियल्स साइन्स सोसाइटी’को आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सहआयोजनामा जारी ‘एड्भान्स फङ्सनल मटेरियल्स’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन सुरुआतमा चीनको साङ्घाइस्थित  दोङ्वा विश्वविद्यालयका प्राध्यापक बिन दिङले ऊर्जाका क्षेत्रमा गरिएको आफ्नो अनुसन्धान र विश्वमा पछिल्लो समय भइरहेका अन्वेषणबारे आफ्नो धारणा राख्नुभयो । उहाँले नयाँ प्रविधिको प्रयोग गरेर न्यानो फाइबरको उत्पादन र यसको उपयोगिताबारे जानकारी गराउनुभयो ।  न्यानो फाइबरलाई ऊर्जा भण्डारण, ब्याट्री बनाउन, मानव स्वास्थ्यका लागि हानिकारक ग्यास सोस्नेलगायत विषयमा उपयोग गर्न सकिने प्राध्यापक दिङले जानकारी दिनुभयो । उहाँले न्यानो फाइबरलाई मानव स्वास्थ्यको उपचारका लागि पनि प्रयोग गर्न सकिने उल्लेख गर्नुभयो । त्यसैगरी जापानस्थित नेशनल इन्स्टिच्युट फर मटेरियल्स साइन्स (निम्स)का प्राध्यापक डा लोककुमार श्रेष्ठले ऊर्जा, वातावरण र नानो मटेरियल्स’सम्बन्धी शीर्षकमा धारणा राख्दै ऊर्जा भण्डारण गर्ने उपकरण कसरी निर्माण गर्न सकिन्छ र यसको कार्यक्षमता के हुन्छ भन्ने विषयमा सहभागीलाई अवगत गराउनुभयो । हेल्थकेयर, बायोमेडिकल शीर्षकमा मन्तव्य राख्दै त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र विभागका प्रा डा पारसना यादवले नेपालमा क्यान्सरको उपचारका सम्बन्धमा भए–गरेका अनुसन्धानबारे जानकारी गराउनुभयो ।  त्यस्तै सोही विषयमा धारणा राख्दै डा कृष्ण कट्टेलले क्यान्सरको उपचारमा विश्वमा चलिरहेको नयाँ पद्धतिको अनुसन्धान र उपचार विधिका बारेमा व्याख्या गर्नुभएको थियो । यसैगरी आइआइटी रुड्की भारतका प्रा डा विमल श्रीवास्तवले वायुमण्डलमा उत्सर्जन भएको कार्बनडाइक्साइडलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनुभयो ।  उहाँले वायुमण्डलमा कार्बन उत्सर्जनलाई कम गर्ने मात्र नभएर उत्सर्जित कार्बनडाइक्साइडबाट अल्कोहल बनाउन सकिने विषयमा आफ्नो धारणा राख्नुभयो । नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रा डा टिस्टा प्रसाईँ जोशीले पिउने पानीमा देखिने आर्सनिकको मात्रा कसरी घटाउने र त्यो झिकिएको आर्सनिकको बहुउपयोगिता कसरी गर्न सकिन्छ भन्नेबारे आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो ।  सम्मेलनको दोस्रो दिन विभिन्न मुलुकका ३० भन्दा बढी वैज्ञानिक तथा अनुसन्धानकर्ताले ऊर्जा, वातावरण र बायोमेडिकलबारे विभिन्न अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गर्नुभयो । भारत, चीन, मलेसिया, इण्डोनेसिया, दक्षिण कोरिया, जापान, संयुक्त राज्य अमेरिकालगायत १६ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ता सहभागी उक्त सम्मेलन आजसम्म चल्नेछ ।