पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

सुनसरी:     जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको हो ।  अभियुक्तहरूलाई बिहीबार सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक रामचन्द्र तिमिल्सिनाले उनीहरू मानव तस्करीमा संलग्न रहेको आशङ्कामा अनुसन्धान थालिएको बताउनुभयो ।

काठमाडौं:    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी०की प्रमुख कार्यकारी अधिकृत एलिस  अलब्राइटबीच भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय  प्रसारण लाइनका बारेमा छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । उपप्रधानमन्त्री पौडेल र निर्देशक लीबीच भेटवार्ता अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीले पनि आजै भेटवार्ता गर्नुभएको छ । त्यस असरमा उहाँहरूबीच वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगबारे छलफल भएको थियो ।   उपकार्यकारी निर्देशक बोले नेपालको आर्थिक प्रगति सन्तोषजनक रहेको बताउनुभएको थियो । अर्थमन्त्रीका साथमा अर्थसचिव रामप्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा यहाँस्थित दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलको हुनुहुन्थ्यो ।

कञ्चनपुर:    शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए÷नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन् ।  धान भित्र्याएर अहिले उनीहरू फुसर्दिला छन् । फुर्सदमा बन्धुराम मुसा मार्न व्यस्त छन् । उनले मुसा मार्न तीन जनाको टोली नै बनाएका छन् । राजबहादुर, भागिराम पनि दिउँसोको खाना बोकेर मुसा मार्न काँधमा फरुवा राखेर बिहानै बन्धुरामसँगै निस्कन्छन् । साँझ अबेरसम्म मुसा मारेर तीनै जना घर फर्कने गर्छन् । थारू समुदायले मुसा मारेर त्यसबाट चटनी, टिना (तरकारी), पकुवा (ओगोमा पोलेको) लगायत परिकार बनाएर खाने गर्दछन् ।  पाहुनालाई अन्य परिकारसँगै मुसाका परिकार पस्किने चलन थारू समुदायको पुरानै हो ।  “खान्कीमा मुसाको परिकार भएन भने खाना खाएकै रुच्दैन”, बुधरामले भने, “त्यहीँ भएर मुसा मार्न साथीभाइसँग जाने गर्दै आएका छौँ, मुसा मार्ने परम्परा पुर्खौदेखि चल्दै आएको छ, त्यसलाई निरन्तरता दिएका छौँ ।” धान काटेर खाली भएका खेतमा मुसा पाइने गरेका छन् । दिनमा २० देखि ३० वटा मुसा मारेर ल्याउने गरेको उनी बताउँछन् । “मुसा धेरै मिले बाँडेर घरमै लैजान्छौँ”, भागिरामले भने, “थोरै भए खेतमै आगोमा पोलेर पकुवा बनाएर खाएर फर्कन्छौँ ।”  बुबाबाजेसँग अण्डैया पटैयामा मुसा मारेर ल्याएको सम्झना अङ्गनु चौधरीसँग छ । अहिलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रपर्ने अण्डैया पटैया पहिला निकै ठूलो गाउँ थियो । निकुञ्ज विस्तारका क्रममा त्यो गाउँ अहिले निकुञ्जभित्र पर्यो ।   मुसा पाइने क्षेत्रका रूपमा परिचित थियो । समूह बनाएर मुसा मार्न खेत खन्न जानेको सङ्ख्या निकै बढी हुन्थ्यो ।  “एक जनाको हिस्सामा ५० देखि ६० वटासम्म मुसा आउने गर्दथे”, उनी  भन्छन्, “अहिले मुसाको सङ्ख्या निकै कम छ, दिनभर खन्दा पनि मुस्किलले थोरै मुसा पाइन्छन् ।” अङ्गनुका अनुसार पहिला मुसा मार्नका लागि ओद्रा, खप्का, छन्नक्या लगाउने परम्परागत चलन थियो । समुहमा मुसा मार्न गए फरुवाले मुसाको दुलो खनेर र दुलोमा पानी खन्याएर मार्ने गरिन्छ । यी मुसा मार्ने विधि भने अहिले पनि चलनचल्तीमा छन् । थारू समुदायमा मुसा सिकार (मार्ने) गर्ने कार्य सामूहिक र एकल रूपमा पुस्तौँदेखि चल्दै आएको छ । “पहिले मुसाको सिकार गर्न गाउँगाँउबाट हुलकाहुल जाने गर्दथे”, रामबहादुर चौधरीले भने, “हाल थोरै जनाले मात्रै मुसा मार्न जाने गर्दछन्, युवाहरूले मुसा मार्न नै छाडिसके ।”  थारू युवाहरू व्यावसायिक कार्यमा व्यस्त हुन थालेपछि पहिलाजस्तो मुसा मार्ने कार्य नहुने उनको भनाइ छ । चालीस वर्षमाथिका मात्रै मुसा मार्नका लागि जाने गरेका छन् । थारू समुदायले विशेषगरी गहुँबाली र धानबाली भित्र्याइसकेपछिको समय मुसाको सिकार गर्ने गर्छन् । यसबेला खेतमा अन्नपात नहुने र वर्षाको मौसम समाप्त हुनेहुँदा सहज रूपमा मुसाको सिकार गर्न सकिन्छ । पहिला वन क्षेत्रमा समेत थारू समुदायका मानिस मुसा मार्न जाने गरेका थिए ।   हाल वन क्षेत्रमा मुसालगायत अन्य जीवजन्तुको सिकार गर्न प्रतिबन्ध लागेपछि खेतमै मुसा मार्ने कार्य गर्दै आएका छन् । शिकार गरिएको मुसालाई अचार बनाएर, मासुका रूपमा, लौकाको तरकारीसँग मिसाएर, पोलेर नुन खुर्सानी दलेर खाने गरिन्छ । थारू समुदायले सबैभन्दा बढी लौकाको तरकारीसँग पोलेको मुसाको मासु मिसाएर खान रुचाउने गरेको रामप्रसाद चौधरी बताउँछन् ।   थारू समुदायले विल खोदुवा, छपर, गोर्नी, खरकट्टी, चिड्डीलगायत जातका मुसाको सिकार गर्ने गर्दछन् । सिकार गरिएका मुसामा भाले (मुसण्डा), पोथी (मुसण्डी), वयस्क हुन लागेको बोर्टु, आँखा नखुलेको लाललाल बच्चा रहने गर्दछन् ।  विल (दुलो) खन्ने क्रममा मुसाले धान, गहुँका बाला दुलोमै थुपारेर राख्ने गरेकाले दिनभरमा एक बोरा जति धान, गहुँका बाला पनि सङ्कलन हुने गरेको थारू समुदायका बूढापाका बताउँछन् ।  पहिला थारू समुदायले मात्र मुसाको सिकार गरीखाने गर्दै आएकामा हाल गैर थारूहरूले पनि मुसाका परिकारको माग गर्ने गरेका छन् । मेला, उत्सव र सामुदायिक घरबासमा मुसाको मासु बिक्री हुने गर्छ । पहिलाजस्तो मुसा नपाइने गरेकामा थारू बूढापाका असन्तुष्ट छन् ।

काठमाडौं:    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभयो । अमेरिकी उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको छलफलमा उहाँले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन अनुरोध गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्द्धका अध्यक्ष चन्द्र ढकालले नेपालमा जलविद्युत् विकास तथा पर्यटन पूर्वाधार निर्माण क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले त्यसको उपयोग गर्न अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो ।  छलफलमा बहुराष्ट्रिय कम्पनी गुगल, मेटा, कोकाकोलालगायत प्रतिष्ठित अमेरिकी कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।

दाङ:    जिल्लाको बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला छ । सोही ठाउँमा एथ्लेटिक्सको सिन्थेटिक ट्रयाक छ । त्यही गौरवको उक्त रङ्गशाला संरक्षण गर्ने जिम्मा–दाङ जिल्ला खेलकुद विकास समिति हो । तर, त्यही समितिका कार्यालय प्रमुख बस्ने कोठा सुरक्षित छैन ।  सोही रङ्गशालासँगै निर्माण भएको नयाँ भवन अस्तव्यस्त छ । छतमा राखिएको जिप्सन पूरै भाँचिएको छ । गत जेठमा आएको हुरीबतासले पूरै जिप्सन उप्किए पनि त्यसको मर्मत हुनसकेको छैन ।  “हामीले मर्मतका लागि पटकपटक सम्बन्धित निकायमा भनेका छौँ”, कार्यालय प्रमुख शान्ति सोमैले भन्नुभयो, “तर सुनुवाइ भएको छैन ।” कतिबेला माथिबाट सबै खसेर चोट लाग्ने भन्ने डरैडरमा बस्ने गरेको प्रमुख सोमैले दुखेसो पोख्नुभयो । विसं २०७६ मा उक्त भवन निर्माण भएको हो । दुईवटा कोठामा त्यस्तो समस्या देखिएको प्रमुख सोमैले बताउनुभयो ।   रङ्गशालामा उम्रियो घाँँस त्यस्तै यहाँको फुटबल रङ्गशालामा पनि घाँस उम्रिएको छ । त्यहाँ उम्रिएको घाँस काट्ने औजार छैन । घाँस काट्नका लागि सेनालाई गुहार्नुपर्छ । केही महिनाअघि घाँस काटेको भए अहिले पुनः पलाएर ठूलो–ठूलो भएको छ ।  त्यो मेसिन खरिदका लागि पनि पटकपटक माग गरेको भए पनि प्राप्त हुन नसकेको कार्यालय प्रमुख सोमैले बताउनुभयो । त्यसले गर्दा पनि यसरी घाँस उम्रिने गरेको उहाँले बताउनुभयो ।  अन्तराष्ट्रियस्तरको उक्त रङ्गशालामा अठौँ राष्ट्रिय फुटबल तथा एथ्लेटिक्स प्रतियोगिता भएका थिए  । रु २४ करोड २४ लाख लागतमा  रङ्गशाला निर्माण भएको हो । दिवा एवं प्रतिष्ठा जेभीले भिआइपी प्यारापिटसहित रङ्गशाला निर्माण गरेको हो ।   रङ्गशालामा भिआइपी प्यारापिट, बाथरुम, बिजुली र रङरोगनसमेत गरिएको छ । रङ्गशालामा फुटबल मैदानका साथै सेन्थेटिक ट्रयाक पनि निर्माण गरिएको छ । जुन मोफसलमा पहिलो हो । त्यहाँ भिआइपी प्यारापिटभित्र खेलाडीका लागि चेञ्जिङ रुम, अफिस, कन्फ्रेन्स हल, रेफ्रीका लागि छुट्टै कोठा निर्माण गरिएको छ ।  रङ्गशालाको पश्चिमतर्फ निर्माण गरिएको भिआइपी प्यारापिटमा चार सय १२ सिट छन् । रङ्गशालाको पूर्वी भागमा दर्शकका लागि साधारण प्यारापिट निर्माण गरिएको छ । भिआइपी प्यारापिटका लागि आवश्यक धातु तथा दर्शक बस्ने सिट मलेसियाबाट ल्याइएको हो ।  रङ्गशालामा प्रयोग गरिएका तारबारसमेत विदेशबाटै ल्याइएको हो । फिफा मापदण्डअनुसार निर्माण गरिएको  फुटबल मैदानमा ‘बरमुडा’ दुबो रोपिएको छ । यो दुबो भारतको कोलकताबाट ल्याएर रोपिएको थियो ।

पोखरा महानगरपालिका–२५ हेमजास्थित अम्मटमा ‘बिच एण्ड फिस फेस्टिभल २०८१ मा आयोजना हुने फ्रिस्टाइल फुटबलको तयारी पूरा भएको छ ।   आर.एस.बिच क्लबको आयोजनामा हुने फ्रिस्टाइल फुटबलको तयारी पूरा भएको क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए । उनका अनुसार सो ब्याटलमा देशभरका १२ जनाले प्रतिस्पर्धा गर्नेछन् ।   'फ्रिस्टाइल ब्याटलको फाइनल भोलि नै हुनेछ । त्यसका लागि देशका विभिन्न ठाउँबाट खेलाडीहरु आइसकेका छन् ।' उनले भने ।   उनले फ्रिस्टाइलको वान भर्सेस वान ब्याटल भने शनिबार बिहान आयोजना गरिने जानकारी दिए ।   कार्कीले खुला फाइभ ए साइड फुटबलतर्फको उद्घाटन खेलपनि शुक्रबार दिउँसो २ बजे हुने बताए । उनका अनुसार उद्घाटन खेलमा आरएस ब्लु र डकहाउस रेड भिड्नेछन् ।   फुटबलको उपाधि विजेताले ५० हजार  र उपविजेताले २५ हजार पुरस्कारसहित प्राप्त गर्नेछन् ।    प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, गोलकिपर, डिफेण्डर र हाईस्कोररलाई पुरस्कार प्राप्त गर्नेछन् ।    यस्तै फ्रिस्टाइल फुटबल प्रतियोगितामा च्याम्पियन बन्ने खेलाडीले १० हजारसहित बन्जी प्याकेज र उपविजेताले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।   प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।   यस्तै ‘बिच एण्ड फिस फेस्टिभल २०८१ को समापनको दिन घोडा दौड र बल्छी हान्ने प्रतियोगिता समेत आयोजना गरिने छ ।   घोडा दौड प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । घोडा दौडमा सहभागिता जनाउन एक टिमलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।     

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमाको दायरामा वृद्धि गरी रु पाँच लाख पु¥याउने र औषधिको मूल्य समायोजनको काम सम्पन्न गर्ने बताउनुभएको छ ।  मन्त्रालयमा आज सय दिनमा भएका उपलब्धि सार्वजनिक गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारमा आफू सक्रिय रहेको बताउनुभयो ।  “स्वास्थ्य बिमा र औषधि समायोजन जसरी पनि पूरा गर्छु”, उहाँले भन्नुभयो, “यसका लागि प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, हामीले छलफलको प्रक्रिया सुरु गरेका छौँ ।” प्राकृतिक विपद् र डेङ्गी महामारीले ल्याएको जटिलताका बावजुत विगतमा भन्दा स्वास्थ्य क्षेत्रमा सुधार आएको मन्त्री पौडेलको भनाइ थियो ।  क्यान्सर र मिर्गौलाको उपचारका लागि बिरामी पत्ता लगाउन देशभर स्क्रीनिङ सेवा प्रारम्भ गर्ने उहाँले बताउनुभयो । तीन महिनाभित्र स्क्रीनिङको व्यवस्था पूरा गर्न मोबाइलमा रिङ्टोन सेवा सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।  सय दिनको उपलब्धिअन्तर्गत विषयत समितिको बैठक, जनस्वास्थ्य समितिको क्रियाशीलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षता उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विस्तार र विकास, उपचारात्मक सेवा विस्तार, चिकित्सा शिक्षा अध्ययन, जलन उपचारलाई निःशुल्क, जनस्वास्थ्यका समसामयिक समस्या सम्बोधन, महिला स्वास्थ्य स्वयमसेविकालाई सार्वजनिक यातायातमा शुल्क नलाग्ने सेवा सम्मान, स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कार्यक्रम, नीतिगत, कानुनी सुधार र पुनरावलोकन, औजार उपकरण मर्मत र अभिलेखीकरण, सिंहदरबार वैद्यखानाबाट औषधि उत्पादनमा वृद्धि, औषधिको मूल्य नीति सुझाव समिति गठन गरी कार्य प्रारम्भ, विकास साझेदारीसँगको सहकार्यलगायत विषय सम्पन्न भएको मन्त्री पौडेलले सो अवसरमा जानकारी गराउनुभयो । 

काठमाडौं:    काठमाडौँको चाल्नाखेलमा एक महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बस्ने ३७ वर्षीय अमृत लामा तथा सोही नगरपालिका–२ बस्ने २७ वर्षीया कविता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताउनुभयो । बन्धक बनाइएकी महिलाले विदेश जाने सिलसिलामा एजेन्टलाई चिनाएको र उक्त एजेन्टले आफ्नो रकम लिई काम नगरेको पक्राउ गरेकाहरुको आरोप रहेको प्रहरी उपरीक्षक जिसीले जानकारी दिनुभयो ।  उनीहरुलाई थप अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक जिसीले बताउनुभयो ।

काठमाडौं:    नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।  समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो । नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग खेल्ने छ ।       त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले पहिलो हाफमा श्रीलङ्काविरुद्ध चार गोलको अग्रता लिएको  थियो ।  पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी (साम्बा) र सविता राना मगरले एक एक गोल गरिन् । सविताले खेलको आठौँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । यस्तै खेलको ११औँ मिनेटमा नेपालका लागि सावित्राले गोल गर्दै २–० को अग्रता दिलाइन् ।       यसैगरी खेलको १३औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई ३–० को अवस्थामा पु¥याइन् । यस्तै रेखाले नै खेलको ३६औँ मिनेटमा थप गोल गर्दै नेपाललाई पहिलो हाफमा ४–० को अग्रता दिलाइन् ।       दोस्रो हाफमा नेपालले दुई गोल मात्र गर्नसक्यो । दोस्रो हाफमा अमिशा कार्की र रश्मीकुमारी घिसिङले एक एक गोल गरे । अमिशाले खेलको ४७औँ मिनेटमा तथा रश्मीले खेलको ९४औँ मिनेटमा गोल गरे ।       आइतबार नै समूह ‘ए’ को विजेता बङ्गलादेश र समूह ‘बी’ को उपविजेता भुटानबीच अर्को सेमिफाइनल खेल हुनेछ ।