पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभा भवनको शिलान्यास गरेका छन् ।  पोखरा महानगरपालिका–३ नदीपुरमा बन्ने प्रदेश सभा भवनको आज मंगलबार मुख्यमन्त्री पाण्डेले शिलान्यास...

काठमाडौँः    नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताउनुभयो । सरकारले डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ ।  उहाँका अनुसार अहिले नेपालमा ४२औँ हप्ताबाट डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेङ्गी सङ्क्रमणको ४५औँ हप्ता चलिरहेको छ ।   डा दाहालले ४२औँ हप्तामा मात्रै २ हजार ५ सय ८२, ४३ औँ हप्तामा २ हजार २ सय ४ , ४४ औँ हप्तामा १ हजार ७१ र ४५औँ हप्ता चलिरहँदा ५५ जनामा मात्र सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।  “जाडो बढेसँगै डेङ्गी सङ्क्रमण घटिरहेको छ”, उहाँले भन्नुभयो, “४५ हप्तामा आइपुग्दा फाट्टफुट्ट मात्र देखिन थालेका छन् । सङ्क्रमण घटेपनि सावधानी अपनाउनुपर्छ ।”  अहिलेसम्म २९ हजार १ सय ५८ मा सङ्क्रमण भएको भन्दै १२ जनाको निधन भएको किटजन्य रोग शाखाका प्रमुख डा दाहालले जानकारी दिनुभयो ।  उहाँका अनुसार डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ ।  सबैभन्दा बढी कास्कीमा ७ हजार २ हजार २४ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ ।  उपत्यकामा ६ हजार ६ सय १२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । काठमाडौँमा ४ हजार ५ सय ९५, भक्तपुरमा ८ सय ३१ र ललितपुरमा १ हजार १ सय ८६ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।  

पोखरा:   रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेदेखि आन्दोलनरत रहेको समर्थकहरुले आज पनि पोखराको मानवअधिकार चोकमा प्रर्दशन गर्ने भएको छ ।   लामिछानेको रिहाइको माग गर्दै मानवअधिकार चोकमा प्रदर्शन गरिने केन्द्रीय विभाग सदस्य उत्तम पौडेलले जानकारी दिए ।    उनका अनुसार आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकमा उक्त कार्यक्रम हुँदैंछ ।   यस्तै पार्टीको निर्देशन अनुसार विभिन्न जिल्लामा समेत विरोध कार्यक्रमको तयारी भइरहेको छ ।   मंगलबार तेस्रो पटक कास्की जिल्ला अदालत पेश गरिएका लामिछानेलाई १५ गतेदेखि गणना हुने गरि फेरि १० दिन हिरासतमा राखेर अनुसन्धान  गर्न अदालतले अनुमति दिएपछि रास्वपाका कार्यकर्ता थप आक्रोशित बनेका हुन् ।   हिजो भएको प्रर्दशनको क्रममा ११ जना रास्वपाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपनि बेलुकी छाडिएको थियो।     पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।  

पोखराः    प्रदेश गौरवको आयोजनामा समेटिएको क्यान्सर, मुटु, मिर्गौला र बाल रोग सम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणका लागि गण्डकी प्रदेश सरकारले सङ्घीय सरकारसँग जग्गा माग गरेको छ ।  प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेर कास्कीको पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको २ सय रोपनी जग्गा प्रदेश सरकारलाई उपलब्ध गराइदिन माग गरिएको जानकारी दिनुभयो ।  प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा उक्त विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेपनि जग्गा व्यवस्थापनको जटिलतालगायत कारणले कार्यान्वयन हुन सकेको छैन । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा पनि उक्त योजना समेटिँदै आएको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो । “प्रधानमन्त्रीसमक्ष जग्गाव्यवस्थापनलगायत विभिन्न १२ मागहरु मन्त्रालयकातर्फबाट पेस गरिएको छ, प्रधानमन्त्रीले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ”, उहाँले भन्नुभयो ।  मन्त्री पाठकले जग्गा अभावकै कारण विशिष्टीकृत अस्पताल निर्माणमा बिलम्ब भइरहेको बताउनुभयो । उहाँले प्रदेशमा एकीकृत सेवासहितको मातृशिशु, महिला तथा बाल अस्पताल स्थापनाका लागि पनि पहल भइरहेको जानकारी दिनुभयो ।  जटिल रोगको उपचार सेवाका लागि सर्वसाधारण काठमाडौँ जानुपर्ने बाध्यता अन्त्यका लागि पोखरामा सुविधासम्पन्न विशिष्टीकृत अस्पतालको जरुरी रहेको उहाँको भनाइ छ । मन्त्री पाठकले अन्तरङ्ग सेवासहित २५ शय्याको गण्डकी आयुर्वेद अस्पताल र धवलागिरि आयुर्वेद अस्पतालको स्तरवृद्धिका लागि आवश्यक बजेटको प्रबन्ध गरिदिन सङ्घ सरकारसँग माग गरिएको बताउनुभयो ।  प्रदेश सरकारले प्राकृतिक चिकित्सा, आयुर्वेद उपचार पद्धति र मेडिकल विज्ञानसमेत सेवालाई एकै ठाउँबाट प्रवाह हुने गरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापनाको लक्ष्य लिएको उहाँले बताउनुभयो ।  उक्त केन्द्रका लागि राष्ट्रिय खेलकुद परिषद्को नाममा पोखरा रङ्गशाला परिसरमा रहेको पाँच रोपनी ७ आना जग्गा प्राप्तिका लागिसमेत सहजीकरण गरिदिन प्रधानमन्त्रीसमक्ष माग राखिएको मन्त्री पाठकको भनाइ छ ।  गण्डकी प्रदेश सरकार र स्थानीय तहअन्तर्गत सञ्चालित अस्पताल र स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणदेखि स्वास्थ्य सेवाको गुणस्तर वृद्धिका लागि आवश्यक स्रोतसाधनको व्यवस्थाका लागि सङ्घ सरकारसँग माग गरिएको उहाँले बताउनुभयो ।  स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर मन्त्रालयले काम सुरु गरेको मन्त्री पाठकको भनाइ छ । स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना बनाइएको उहाँले बताउनुभयो ।  मन्त्रालयको कार्ययोजनाअन्तर्गत कानूनी सुधार, सुशासन, आपूर्ति व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास तथा विस्तार, सेवा प्रवाह तथा गुणस्तरको सुनिश्चितता, सूचना व्यवस्थापन, जनस्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य, सर्ने तथा नसर्ने रोगको व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।   “नागरिकलाई सर्वसुलभ र गुणस्तीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य मन्त्रालय प्रतिबद्ध छ” मन्त्री पाठकले भन्नुभयो ।   

धनगढी:   लोड गरिएको अवस्थामा दुई नाल भरुवा बन्दुकसहित कैलालीमा एक जना पक्राउ परेका छन् ।    अस्थायी प्रहरी पोस्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले जिल्लाको गोदावरी नगरपालिका ४ तखरे गाउँ बस्ने ६५ वर्षीय लाल बहादुर बुढामगरलाई मंगलबार साँझ दुई नाल भरुवा बन्दुक, गोली, बारुदसहित पक्राउ गरेको हो ।   बुढामगरको घरबाट करिब ५० मिटर पूर्व रहेको चैतडा सामुदायिक जङ्गलको खोल्सामा लुकाई–छिपाई राखेको अवस्थामा २ नाल लोड गरेको भरुवा बन्दुक, सोही बन्दुक नजिकै रहेको कालो रङको झोलाभित्र ४ ओटा फलाम र ४ ओटा सिसाको गोली गरी जम्मा ८ ओटा गोली र अन्दाजी १००/२०० ग्राम बारुद बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कवीन्द्र सिंह बोहराले जानकारी दिए ।   बुढामगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

चितवनः    भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न रु १ करोड १ लाखको अक्षयकोष स्थापना भएको छ ।  केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो ।  योगी नरहरिननाथबाट गौँ संरक्षण सुरु भएको भन्दै उहाँले त्यसलाई निरन्तरता दिइएको बताउनुभयो । अक्षयकोषका लागि रु ११ हजार १ सयको आजीवन सदस्य र रु १ लाख १ हजारको संरक्षक सदस्य बनाइएको छ । पैतालिस जना संरक्षक सदस्य र ३ सय २५ जना आजीवन सदस्य छन् । विसं २०७४ बाट कोष स्थापना गरी रकम सङ्कलन गर्न थालिएको हो ।  कोषमा  रु १० करोड जम्मा गर्ने लक्ष्य छ । यो तिहारमा रु १८ लाखभन्दा बढी सङ्कलन भएको उहाँले बताउनुभयो ।   गौँ संरक्षण केन्द्रले २ सय ५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ । ती गाई पाल्न कोष स्थापना गरिएको हो । केन्द्रका पूर्वसंयोजक टङ्कनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताउनुभयो ।  दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन् । योगी नरहरिनाथले स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना गर्नुभएको हो ।  केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ ।

धरानः   बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाउनुभएको थियो ।  तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उहाँ कृषि क्षेत्रमा सक्रिय हुनुभयो ।  अहिले उहाँलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ । तत्कालीन समयदेखि भुइँकटहर खेतीकोमा लाग्नुभएका उहाँले यसैबाट मनग्गे आम्दानी गरिरहुनभएको छ ।  हाल उहाँले एक विघामा भुइँकटहर लगाउनुभएको छ । यसबाट वार्षिक रु १५ लाख आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । वार्षिक रु एक लाख खर्च खर्च कटाउँदा रु १४ लाखसम्म सजिलै बचाउन सकिने उहाँको भनाइ छ ।  उहाँले भन्नुभयो, भुइँकटहरको माग राम्रो छ बजारमा भनेको  मूल्य पनि पाइन्छ । गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ ।” उहाँका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उहाँले भुइँकटहर प्रतिगोटा रु १ सयदेखि रु १ सय ५० सम्म बिक्री गर्दै आउनुभएको छ ।  भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उहाँको भनाइ छ ।  अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि  समस्या नभएको उहाँले सुनाउनुभयो ।  उहाँका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक रु १ लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ ।  उहाँले एउटा विरुवालाई रु १० देखि रु २० सम्ममा बिक्री गर्दै आउनुभएको छ ।  उहाँको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप रु ७७ हजार उपलब्ध गराइसकेको छ ।  

पोखरा:   गण्डकी प्रदेशसभा सदस्य  तथा पूर्व मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको हो ।   उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । सर्वाेच्चले उनलाई दोषी ठहर गरेको छ ।    उनी गण्डी प्रदेशमा सबैभन्दा बढी पटक मन्त्री बन्ने सांसद हुन् ।   पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित सांसद हुन् । स्वतन्त्र निर्वाचित भएपनि उनी सत्तामोहका लागि कहिले नेकपा (एमाले) कहिले एकिकृत समाजवादी बन्ने गरेका थिए । पछिल्लो सयम उनी स्वतन्त्र भएको दाबी गर्दै आएका छन् ।   कसरी लाग्यो मनाङेलाई मुद्धा ?   चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा २०६१ सालमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।   यो विवादमा उनी २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो ।   उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस ७६ गते धरौटी राखेर उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो । त्यसपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए ।   दीपक मनाङे उर्फ राजीव गुरुङको गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो ।   ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो। आक्रमणमा मनाङे समूहले चक्रेको हात नै छिनाएको थियो । पछि शिक्षण अस्पतालमा चक्रेको हात जोडिएको थियो ।   ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङेमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको थियो । तर जिल्ला अदालतले सामान्य कुटपिट मात्रै भएको भन्दै मनाङेलाई २ वर्ष कैद सजाय सुनायो । तर जिल्ला अदालतको फैसला चित्त नबुझेपछि सरकारवादी उक्त मुद्दा पुनरावेदन अदालत पाटनमा दायर भयो ।   पुनरावेदनले जिल्ला अदालतको फैसलामा केही उल्टी गर्दै ज्यान मार्ने उद्योग अन्तर्गत मनाङेलाई ५ वर्षको जेल सजाय तोक्यो भने मनाङेसँगै अन्य आरोपितलाई सफाई दिएको थियो ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।   अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको हिरासत बसाई लम्बिने भएको छ ।   आज उनलाई कास्की जिल्ला अदालत लगिएको थियो ।    कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको तेस्रो पटक म्याद थप गरिएको हो ।   मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो ।    कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले हिरासतमा राखेर सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।   उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाको तत्कालिन प्रबन्धक निर्देशक हुँदा सो मिडियामा लगेर अपचलन गरेको आरोप छ ।