पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभा भवनको शिलान्यास गरेका छन् ।  पोखरा महानगरपालिका–३ नदीपुरमा बन्ने प्रदेश सभा भवनको आज मंगलबार मुख्यमन्त्री पाण्डेले शिलान्यास...

सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा आज विहान डुबेको छ । कारमा गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।   कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का अन्दाजी ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएका थिए ।   घटनालगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।   कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ ।   घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आस्थाको पर्व छठका लागि जनकपुरधामका पोखरीहरूलाई आकर्षक रुपमा सजाइएको छ । जनकपुरधामलगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व सुरु भएको छ । अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्व सुरु हुन्छ । बजारमा पूजा सामग्री किन्नेको चहलपहल बढेको छ ।   छठको पहिलो दिन आज नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएपछि छठपर्व सम्पन्न हुनेछ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहलपहल बढेको हो ।   आदिदेव सूर्य भगवान्लाई अघ्र्य दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, इनारलगायत जलाशयको किनारमा घाट बनाएर विशेष रूपले शृङ्गारिँदै छ ।   खासगरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी गङ्गासागर, धनुष सागर, अङ्गराजसर, दशरथ तलाउ, रत्नसागर, गोर्धोइ पोखरीलगायत पोखरीलाई सजाइँएको छ । गङ्गासागरमा तीनवटा समितिले छठको तयारी गरिरहेको छ ।   ग​ङ्गासागर छठ पूजा समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतभन्दा यो वर्ष सजावटमा वृद्धि गर्नुभएको छ ।   उहाँले छठ घाटमा अघ्र्य लिएर आउने श्रद्धालुहरूका लागि घाटमा नम्बरिङ गरिएको बताउनुभयो । उहाँले पछिल्लो तीन वर्ष प्रतिअघ्र्य रु पाँच सय ५१ निर्धारण गरिएकामा यस वर्ष रु पाँच सयमात्र निर्धारण गरिएको बताउनुभयो ।   गङ्गासागरमा गङ्गासागर छठ पूजा समिति, जनक युवा क्लब र बजरङ्ज युवा क्लबले छठको तयारी गर्ने गरेको छ । जनकपुरधामको प्रसिद्ध गङ्गासागर, धनुष सागर तथा अङ्गराज पोखरीमा मात्र ११ हजारभन्दा बढी श्रद्धालु छठ पूजा गर्ने गर्छन् । जनकपुरधामको छठपर्व सबैभन्दा प्रसिद्ध रहेको बताइउको छ ।   यसका लागि यहाँ हप्तौँ पहिलेदेखि तयारी सुरु गरिन्छ । जनकपुरधामका साथै धनुषाका गाउँगाउँमा रहेका पोखरीसमेत छठपर्वमा सरसफाइका साथै सजाउने कार्य भइरहेको छ ।   चार दिनसम्म मनाइने छठपर्वको पहिलो दिन बर्तालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्छन् भने दोस्रो दिन साँझ प्रसादका रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्छन् ।   त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ स्वदेश ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।   उनले वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिबाट रु पाँच करोड दुई लाख ९४ हजार ठगी गरी फरार भएकी थिइन् ।   आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो ।   अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याई सम्बन्धित कसुरमा कानुनी कारबाही गराउन नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकामा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको थियो ।   साथै पक्राउमध्ये सुजनलाई गत कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको र बिनुलाई सम्बन्धित कसुरमा कानुनबमोजिम कारबाहीका लागि काठमाडौँ ल्याइएको हो ।   उनलाई थप कारबाहीका लागि सोमबार प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ ।

पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ । फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।   ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याक्न थालेपछि प्रभावित षेत्रका बासिन्दाहरूले आफुहरू भयभीत भएको बताएका छन् ।   इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको सङ्ख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट दश हजार २९५ जना प्रभावित भएको बताउनुभएको छ । उहाँका अनुसार विस्थापितको सङ्ख्या अझै गणना भइरहेको छ ।   एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखी नजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ । ज्वालामुखी नजिकै पाँचवटा गाउँ खाली गरिएको र हजारौँ मानिस अन्यत्र शरण लिन बाध्य भएका छन् ।   ज्वालामुखीमामिला सुरक्षा निकायले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखी विस्फोट भएको (केन्द्रविन्दु) को सात किलोमिटर दायराभित्र केहि गतिविधिहरू नगर्न निर्देशन दिएको छ ।   पछिल्लो समयमा माउन्ट लेवोटोबी लाकी–लाकीमा ज्वालामुखी गतिविधिमा उल्लेखनीय रुपमा वृद्धि भइ घरहरुमा क्षति गरे पछि स्थानीयले साम्प्रदायिक भवनमा शरण लिएका छन् ।   ज्वालामुखी सुरक्षा निकायले वर्षाले गर्दा लाभा बाढी आउन सक्ने चेतावनी दिदै ज्वालामुखीको प्रभावबाट बच्न स्थानीयहरूलाई मास्क लगाउन आग्रह गरेको छ । 

भारतको उत्तराखण्डमा सोमबार भएको एउटा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३६ पुगेको छ । प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८:३० बजे दुर्घटना भएको हो । मार्चुला भारतको पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो । दुर्घटनामा थप केही व्यक्ति घाइते भएका र घाइतेमध्ये गम्भीर चोट लागेका तीन जनालाई हवाइ उद्धार गरी देहरादून लगिएको छ ।   सरकारी उद्धार टोलीले सार्वजनिक गरेको तस्बिरमा बसको भग्नावशेष बाक्लो झाडीमा देखिएको छ भने गाडीको अगाडिको भागमा पूर्णरूपमा क्षति भएको छ ।   उत्तरी राज्य उत्तराखण्डका एक वरिष्ठ अधिकारी दीपक रावतले भन्नुभयो, “अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरमार्फत अस्पताल लगिएको छ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाका कारण आफ्ना प्रियजन गुमाएकाहरुप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।   प्रधानमन्त्रीको कार्यालयबाट जारी एक विज्ञप्तिमा मृतकका परिवारलाई दुई लाख भारतीय रूपैयाँ र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग स्वरुप दिने जनाएको छ ।   उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अल्मोडा बजार नजिकैको जङ्गलमा भएको उक्त दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइसकिएको बताउनुभएको छ ।   भारतको पहाडी इलाकामा सडकको दुरावस्था, पूराना यातायातका साधन र चालकको लापर्बाहीका कारण हुने दुर्घटनाका कारण हरेक बर्ष सयौँ व्यक्तिको अकालमा मृत्यु हुने गरेको छ ।

 छठ पर्व मनाउन तीन दिनमात्रै बाँकी रहँदा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका गाउँगाउँमा छठपूजाका छठ घाट दुलहीझैँ सजाउने काम भइरहेको छ । यहाँ प्रमुख चाडका रूपमा मनाइने छठका लागि विभिन्न पोखरी, नदी र तलाउमा बनाइएका मन्दिर र घाटलाई विभिन्न वस्तुले दुलहीझैँ सजाउने काम तीव्र रूपमा भइरहेको हो । मिथिलाञ्चलभर एउटै पोखरी तथा नदी तलाउमा धेरै व्यक्तिले छठ पर्व मनाउने चलन रहेकाले १५/२० दिन पहिलेदेखि नै छठ घाटमा विभिन्न तयारी गरिन्छ ।   जलेश्वर नगरपालिका–५ निवासी संस्कृतिविद् धु्रव रायले मिथिलाञ्चलमा धुमधामका साथ छठ मनाउनका लागि तयारी करिब अन्तिम चरणमा रहेको ेबताउनुभयो ।   सूर्य भगवान तथा छठ माताको पूजा पानीमै हुने भएकाले मिथिलाञ्चलका जलाशय सरसफाई, घाट निर्माण, सडक, बाटो बनाउने काम सकेर अब घाटमा पंडाल निर्माण, बिजुलीबत्ती जडान, तोरन झुण्ड्याउनेलगायत काम जोडतोडका साथभइरहेका जलेश्वर नगरपालिका–८ का वडा अध्यक्ष विजयकुमार सिंहले जानकारी दिनुभयो ।   जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले स्थानीयस्तरमा रहेका सबैजसो जलाशयमा एक महिना पहिलेदेखि नै सरसफाई, मर्मतसम्भार, मन्दिर निर्माण गरी छठको तयारी सुरु हुने बताउनुभयो ।   उहाँले यसका लागि जलेश्वर नगरपालिकाभित्र रहेका प्रमुख जलाशय वरुण सरोवर, परिक्रमा पोखरी, पाठक पोखरी, चौधरी पोखरी, अस्पताल पोखरी, मिश्रपोखरी, भारी पोखरी, सारी पोखरी, सुगापोखरी, पिगौना पोखरी, बखरीघाटलगायत घाट सिङ्गार्ने काम भइरहेको बताउनुभयो ।   यसैबीच परापूर्व कालदेखि नै सूर्यपूजा तथा छठी माताको पूजाको लागि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीमा बीच पानीमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै बाँसको तैरिने बाटो निर्माण गरिएको छ भने करीब आधा किलोमिटरसम्म गुफाबाला पंडाल र विभिन्न साजज्जा र बिजुलीबत्ती जडान गरिने कार्य भइरहेको स्थानीय प्रदीप पाठकले बताउनुभयो ।

यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ । केही दिनयता धानका लागि मौसम अनुकूल देखिएको छ । मुलुकका विभिन्न स्थानमा परेको हल्कादेखि मध्यमसम्मको वर्षाका कारण धानलाई केही असर गरेको मन्त्रालयले जानकारी गराएको छ ।   मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष धान भित्र्याउने समयमा मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्न सक्ने जानकारी दिनुभयो ।   “गत असोजमा आएको बाढी तथा डुबानका कारण मधेस प्रदेश तथा बागमती प्रदेशलाई सबैभन्दा बढी असर गर्‍यो, पाकेको बाली पनि बगायो, कति स्थानमा काटेको बाली नै पानीको भेलले नष्ट गरायो”, उहाँले भन्नुभयो, “मधेस प्रदेशमा ५७ हजार हेक्टर धान खेतमा क्षति भएको छ, वास्तविक क्षतिको विवरण आउन अझै बाँकी छ । सिरहा, सप्तरीमा जग्गा कटानी भएको र बालुवा थुप्रिएर धान क्षति भको छ जसले गर्दा दुई प्रतिशतसम्म धान उत्पादनमा ह्रास आउँछ कि भन्ने हाम्रो अनुमान छ ।”   राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा मथुरा यादवले गत असोजमा परेको भारी वर्षाका कारण कोशी, मधेस र बागमती प्रदेशमा धान उत्पादनमा असर परेको बताउनुभयो ।   “मौसमसम्बन्धी पूर्वसूचना किसानमा पुग्न सकेमा धान कति बेला काट्न हुने या नहुने विषयमा जानकारी हुन्छ र कम क्षति पुग्छ”, उहाँले भन्नुभयो ।   क्षतिको आँकलन गरिँदै   मन्त्रालयले मनसुनजन्य विपद्का कारण धान खेतमा भएको क्षतिसम्बन्धी विस्तृत आँकलन निकाल्न आगामी मङ्सिर अन्तिम साता प्रदेशिक गोष्ठी गर्ने भएको छ ।   मन्त्रालयका सूचना अधिकृत जोशीका अनुसार सबै प्रदेशबाट सङ्कलित डाटालाई समेटेर क्षतिको यकिन तथ्याङ्क निकाल्न गोष्ठी आयोजना गर्न लागिएको छ ।   गोष्ठीमा सबै प्रदेशकासम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहने उहाँको भनाइ छ ।   रोपाइँमा मात्रै अनुकूल रह्यो मनसुन   यस वर्ष धान रोपाइँका लागि मात्रै मनसुन अनुकूल रहेको थियो । अधिकांश रोपाइँ आकाशे पानीकै भरमा सम्पन्न हुने गरेकोमा यस वर्ष धेरै पानी पर्दा रोपाइँका लागि मनसुन सुखद् रहेको मन्त्रालयले विश्लेषण गरेको थियो । मन्त्रालयको अनुसार ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।   कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४ दशमलव ६ प्रतिशतमा रोपाइँ सम्पन्न भएकोमा यस वर्ष झण्डै चार प्रतिशत रोपाइँ बढेको थियो । मुलुकभर १३ लाख ९८ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७८ हजार छ सय ११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।   मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९९ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । कोशी प्रदेशमा करिब दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर रोपाइँ हुने क्षेत्रफल रहेकामा हालसम्म दुई लाख ७५ हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।   अघिल्लो वर्ष भदौ ७ गतेसम्म कोशी प्रदेशमा ९७ दशमलव सात र मधेस प्रदेशमा ९७ दशमलव तीन प्रतिशतमा रोपाइँ सम्पन्न भएको थियो ।   बागमती प्रदेशमा यस वर्ष ९९ दशमलव दुई, गण्डकी प्रदेशमा भने ९७ दशमलव आठ, लुम्बिनी प्रदेशमा ९८ दशमलव तीन, कर्णाली प्रदेशमा यस वर्ष ९९ दशमलव दुई र सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत नै रोपाइँ सम्पन्न भएको थियो । गत वर्ष करिब ५७ लाख मेट्रिकटनसम्म धान उत्पादन भएको थियो । यस वर्ष बढी रोपाइँ हुँदा धान उत्पादन सात प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ ।   तर भित्र्याउने बेलामा खराब मौसमका कारण उल्टो गत वर्षको तुलनामा घट्ने अनुमान गरिएको छ । कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले धान भित्र्याउने समयमा मौसम अनुकूल नरहँदा उत्पादनमा ह्रास आउने सम्भावना रहेको बताउनुभयो ।   “यस वर्ष धान रोपाइँ राम्रो भएको थियो, धानका लागि वर्षा पनि राम्रो भयो”, उहाँले भन्नुभयो, “तसर्थ ७ प्रतिशतसम्म धान उत्पादन बढ्ने अपेक्षा थियो, भित्र्याउने बेलामा मौसम अनुकूलन नहुँदा अब उत्पादन घट्ने भयो ।” यस वर्ष रासायनिक मलको सहज उपलब्धता र किसानका लागि मनसुन सुखद रहेको कारण झण्डै चार प्रतिशतले रोपाइँ बढेको थियो ।   अधिकांश स्थानमा रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको र वर्षा राम्रो भएकाले रोपाइँ समयमा नै सकिएको जोशीले जानकारी दिनुभयो । “अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ समयमा नै हुनेगर्छ, नत्र आकाशे पानीकै भर पर्नुपर्छ”, उहाँले भन्नुभयो, “रोपाइँलाई सहज थियो मौसम, अहिले भएन ।”   वर्षाको थप असर   गत असोजको मात्रै होइन केही दिनयता परेको वर्षाको कारण धान खेतलाई असर गरेको छ ।   जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको अनुसार केही दिनयता मुलुकको अधिकांश पहाडि भेगमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । यसले काटेर थुपारिको धानको पाँजा (निहिन) लाई असर पार्ने देखिएको छ ।   मङ्गलबारदेखि मौसम सफा हुने   महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केही दिनयता मुलुकको विभिन्न पहाडी क्षेत्रमा भइरहेको वर्षा आज रातिसम्म रहने छ ।   “हामी तीन दिने मौसमी पूर्वानुमान गर्ने छौँ, मङ्गलबार दिउँसोदेखि मौसम सफा रहने छ”, उहाँले भन्नुभयो, “तीन दिनसम्म वर्षा हुने सम्भावना छैन, पछिको अवस्था कस्तो रहन्छ भन्ने अनुमान अहिल्यै गर्न सकिने छैन ।” उहाँका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।   आयात बढ्ने सक्ने   मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा रु ८८ करोड ६५ लाख मूल्य बराबरको धानको बीउ आयात भएको छ ।   यसैगरी, करिब रु ११ अर्ब ५५ करोड मूल्य बराबरको धान आयात भएको छ । मन्त्रालयका अनुसार यस अवधिमा रु आठ अर्ब ६९ करोड मूल्य बराबरको चामल आयात भएको छ ।   करिब रु नौ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ । यस वर्ष धान उत्पादन कम भएसँगै आयात पनि बढ्न सक्ने मन्त्रालयको अनुमान गरिएको छ ।   यस्तो छ, धान उत्पादनको अवस्था   कृषि मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा धानको कूल उत्पादन गत आवभन्दा ४ दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन पुगेको थियो । जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो ।   कूल धानबाली भित्र्याइएको क्षेत्रफल आव २०७९/८० को तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको छ । यो क्षेत्रफल अघिल्लो चार आवका औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो ।   धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा चार दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन दशमलव ९८ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ जुन गत चार वर्षको औषत उत्पादकत्वभन्दा छ दशमलव ९२ प्रतिशतले बढी हो । गत आवमा धानको उत्पादन कोशी प्रदेशमा उच्च रहेको छ भने कर्णाली प्रदेशमा न्यून रहेको छ ।   गत आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश चार दशमलव ४३ मेट्रिकटन प्रतिहेक्टरसहित अग्रस्थानमा रहन गर्‍यो भने मधेस प्रदेश तीन दशमलव ४९ मेट्रिकटन प्रतिहेक्टर मेट्रिकटनमा सीमित भई न्यून स्थानमा रहन पुग्यो । मुख्य धानको तुलनामा विगतका आवमा जस्तै चैते धानको उत्पादकत्व उच्च कायम रहेको छ ।

प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।   मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन ।   “मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ । सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो । काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुनसकेको छैन ।   उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य सङ्ख्यामा पर्यटक अलपत्र परेका विमानस्थल कार्यालयले जनाएको छ ।   काठमाडौँबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन ।   अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ । देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बङ्गाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।   बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका केही स्थानमा तथा तराई भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाडौँ उपत्यका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।

प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ ।   उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको तीन बुक तास र छ बुक नखोलेको तास प्रहरीले बरामद गरेको छ ।   जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।