काठमाडौं: नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ । विवरणअनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको थियो । मङ्गलबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ । सोमबार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा थियो । मङ्गलबारका लागि युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ । सोमबार पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८० पैसा रहेको थियो । मङ्गलबारका लागि पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ७२ पैसा निर्धारण भएको छ । केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७६ पैसा, बिक्रीदर एक सय ५२ रुपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा, बिक्रीदर ८७ रुपैयाँ २८ पैसा निर्धारण भएको जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा, बिक्री दर ९६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिद दर एक सय रुपैयाँ १६ पैसा, बिक्रीदर एक सय रुपैयाँ ६१ पैसा बराबर रहनेगरी विनिमयदर तय गरिएको छ । यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा, बिक्रीदर आठ रुपैयाँ ७३ पैसा तय भएको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा, बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा, बिक्रीदर ३६ रुपैयाँ पाँच पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९४ पैसा, बिक्रीदर ३७ रुपैयाँ १० पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ । यस्तै थाईभाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ सात पैसा, बिक्रीदर ३० रुपैयाँ २० पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २३ पैसा, बिक्रीदर १२ रुपैयाँ २९ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ तीन पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ । यस्तै कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४० पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बीमा दाबी गरिएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म रु ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी भएको छ । बीमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन् । प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । सो कम्पनीमा पाँच सय एक दाबीका आवेदन परेका छन् । दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक सय ७६, सगरमाथा लुम्बिनीमा तीन सय ७७, हिमालयन एभरेष्ट दुई सय ४३, नेकोमा दुई सय १९, युनाइटेड अजोडमा तीन सय २३, सानिमा जिआइसीमा दुई सय १७, आइजिआई प्रुडेन्सियलमा दुई सय ९६ दाबी परेका छन् । त्यस्तै, नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा एक सय ७२, नेपाल इन्स्योरेन्समा एक सय ७६, प्रभु इन्स्योरेन्समा एक सय ३७, राष्ट्रिय बीमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चार/चार वटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सात दाबी निवेदन परेका छन् । कूल दाबीमध्ये नौ सय दुई वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ । कूल एक हजार छ सय ५३ वटा सम्पत्ति बिमा दाबी गरिएकामा तीन सय ९८ वटाको भुक्तानी भएको छ । कूल सम्पत्ति बिमा दाबी रु आठ अर्ब ७५ करोड ८७ लाख ५१ हजार दुई सय ३४ भएकामा रु ४६ करोड ७० लाख ९७ हजार सात सय ८० मात्रै भुक्तानी भएको छ । इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ तीन सय चार वटा दाबी परेका छन् । विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । अधिकांश ऊर्जा उत्पादक केन्द्रले बीमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीहरुले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकोसमेत ध्यानाकर्षण गराएका छन् । दाबी भएकामध्ये ३८ वटाको रु तीन करोड ११ लाख २८ हजार पाँच सय ५५ मात्रै भुक्तानी भएको छ । मोटर बीमा निजीतर्फ आठ सय ८७ दाबी परेकामा दुई सय ८० को रु छ करोड १६ लाख ९७ हजार पाँच सय ८७ भुक्तानी भएको प्राधिकरणको विवरणमा उल्लेख छ । मोटर बीमासार्वजनिकतर्फ तीन सय ५० दाबी हुँदा ९१ वटाको रु ४३ करोड दुई हजार एक सय ७७ बराबरको भुक्तानी भएको छ । पुशपन्छी बीमा ५१ दाबी पर्दा २१ वटाको रु २४ लाख ९२ हजार आठ सय ५४ मात्रै भुक्तानी भएको छ । बाढीपहिरोका कारण पशुपन्छी र चौपायासमेत उल्लेख्य मात्रामा मरेका वा बेपत्ता भएका थिए । त्यस्तै, सामुद्रिक बीमा २२ को दाबी पर्दा दुईको भुक्तानी भएको छ । कृषिबाली बिमातर्फ एक सय ३१ को दाबी हुँदा ६५ को भुक्तानी भएको छ । विविधतर्फ २० को दाबी पर्दा सातको भुक्तानी भएको छ । प्राधिकरणका अनुसार कोसी प्रदेशमा दुई सय ५१, मधेसमा एक सय एक, वाग्मतीमा दुई हजार नौ सय ६८, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० वटा बिमा दाबी भएको छ । अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि बीमाको पहुँच नहुँदा कम मात्रैले दाबी गर्न सक्ने अवस्था रहेको जनाइएको छ । वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश वाग्मती प्रदेश भएकाले पनि दाबी पनि बढी परेको प्राधिकरणले जनाएको छ ।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)ले यही मङ्सिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ । क्यानले सोमबार नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरेको हो । क्यानका अनुसार मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल मध्याह्न १२ः१५ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । मङ्सिर १६ गते कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनले मङ्सिर १६ गते कुनै पनि खेल नराखिएको हो । मङ्सिर १७ देखि २४ गतेबाहेक पुस १ गतेसम्म निरन्तर लिग चरणका खेल हुनेछन् । मङ्सिर १७ देखि मङ्सिर ३० गतेसम्म (मङ्सिर २४ गतेबाहेक) दिनमा दुई वटा खेल हुनेछन् । पहिलो खेल बिहान ९ः१५ बजेदेखि र दास्रो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । पुस १ गते भने एक खेलमात्रै हुनेछ । यस्तो छ लिग चरणको खेल तालिका ? मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भएपछि दोस्रो खेल मङ्सिर १७ गते हुनेछ । यस्तै १७ गते बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्नेछन् भने दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जानकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् । मङ्सिर १८ गतेको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स, दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेञ्जर्सबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी १९ गते पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाज, दोस्रो खेलमा विराटनगर किग्ङ्स र लुम्बिनी लायन्स भिड्नेछन् भने २० गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ । यस्तै २१ गते पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज, दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् भने २२ गते हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम, दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच खेल हुनेछ । मङ्सिर २३ गते पहिलो खेलमा जनकपुर बोल्टस् र लुम्बिनी लायन्स, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच भिडन्त हुने क्यानले जारी गरेको खेल तालिकामा उल्लेख गरिएको छ । त्यस्तै २५ गते हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स, दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेञ्जर्सबीच भिडन्त हुनेछ । यही २६ गते पहिलो खेलमा जनकपुर बोल्टस् र सुदूरपश्चिम रोयल्स, दोस्रो खेलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् । मङ्सिर २७ गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र विराटनगर किङ्ग्स, दोस्रो खेलमा जनकपुर बोल्टस् र काठमाडौँ गुर्खाज भिड्नेछन् भने २८ गतेको पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स, दोस्रो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी २९ गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र काठमाडौँ गुर्खाज, दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्टस्बीच खेल हुनेछ भने ३० गतेको पहिलो खेलमा विराटनगर किङ्ग्स र काठमाडौँ गुर्खाज र दोस्रो खेलमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । यस्तो छ, लिग चरणपछिको तालिका लिग चरणका खेलहरु सकिएपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । आगामी पुस ३ गते पहिलो क्वालिफायर र इलिमिनेटर खेल हुनेछ । ३ गते बुधबार बिहान ९ः१५ बजे इलिमिनेटर खेल हुनेछ । जसमा लिग चरणको खेलमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ । इलिमिनेटर खेलमा विजयी हुने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछन् । त्यस्तै पुस ३ गते नै दिउँसो १ः१५ बजे पहिलो क्वालिफायरको खेल हुनेछ जसमा लिग चरणको शीर्ष स्थानमा रहेको टोली र दोस्रो स्थानमा रहेको टोली भिड्नेछन् । पहिलो क्वालिफायरको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्छ भने पराजित भएको टोलीले दोस्रो क्वालिफायरको खेलमा स्थान बनाउँदै पुनःएकपटक फाइनलमा पुग्ने अवसर पाउँछ । दोस्रो क्वालिफायर खेल पुस ४ गते बिहीबार मध्याह्न १२ः१५ बजे हुनेछ । जसमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र इलिमिनेटर खेलमा विजयी भएको टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायर खेल जित्ने टोली फाइनलमा प्रवेश गर्छ । एनपिएलको फाइनल खेल आगामी पुस ६ गते शनिबार मध्याह्न १२ः१५ बजे हुनेछ । फाइनल खेलमा पहिलो क्वालिफायर खेल जितेको टोली र दोस्रो क्वालिफायर जित्ने टोली उपाधिका लागि भिड्नेछन् ।
पर्वत: उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक छ घण्टा उक्त खण्ड बन्द गरिने भएको हो । सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउन सवारीसाधन बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिको बैठकले आजदेखि आठ दिनसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत रोकेर निर्माण गर्ने निर्णय भएको जानकारी दिनुभयो । म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापका कारण निर्माण प्रभावित भएकाले समय तालिका बनाइएको उहाँले बताउनुभयो । सडक फराकिलो बनाउन किनारामा रहेको ठूलो ढुङ्गा फुटाउने, सबबेस, बेस राखेको मालढुङ्गा–लस्ती खण्डको चार किलोमिटर दूरीमा प्राइमकोट बिछ्याउने र कालोपत्र गर्ने तयारी भइरहेको चापागाईंले बताउनुभयो । उक्त खण्ड अवरुद्ध हुँदा मालढुङ्गा–बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको सूचना अधिकारी चापागाईंले बताउनुभयो । अन्य सवारीका लागि सडक अवरुद्ध भए पनि अत्यावश्यक एम्बुलेन्स, दमकल र शववाहन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ । कुश्मा–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ । तेह्र किमी दूरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो । तीस महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण व्यवसायीले विभिन्न कारण देखाउँदै ढिलाइ गरेको हो । यो सडक चालु आर्थिक वर्षभित्र पूर्ण रुपमा सम्पन्न गर्नेगरी काम गर्न निर्माण व्यवसायीलाई आयोजना कार्यालयले निर्देशनसमेत दिएको छ । उक्त सडक भएर म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनीअन्तर्गत बेनीतर्फ २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्र गर्न लागिएको हो ।
काठमाडौं: मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गर्नुभएको छ । विश्व हिन्दू परिषद् नेपाल धनुषाद्वारा आज अयोध्याधाममा आयोजित समारोहमा मुख्यमन्त्री सिंहले राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा मुख्यमन्त्री सिंहले नेपाल र भारतबीच परापूर्वकालदेखि आर्थिक सामाजिक, धार्मिक र रोटी—बेटीकोसम्बन्ध रहेकाले आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले विवाहपञ्चमी समारोह हर्षोल्लासका साथ मनाउन नेपाल र भारतका नागरिकले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण र सराहनीय रहेकोे बताउनुभयो । ट्रष्टका महासचिव रायले जनकपुरधाम र अयोध्याको सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल र भारत सरकारका साथै नागरिक तहमा रहेको सम्बन्ध महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विवाहपञ्चमीको महत्व बढाउन दुवै देशका सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । आज भएको तिलकोत्सव समारोहका लागि मुख्यमन्त्री सिंहको नेतृत्वमा मधेस प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँ, स्वास्थ तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, प्रदेशसभा सदस्य रुपा यादव र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायत दुई ५१ जनाको टोली अयोध्या आएको छ । जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ । यही मङ्सिर २१ गते जनकपुरधाममा रामजानकी विवाहपञ्चमी हुँदैछ ।
काठमाडौं: निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहमाकायमभएका मतदानस्थलरकेन्द्रमा आधारभूत भौतिक संरचनाको उचित प्रबन्ध मिलाउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले मतदान स्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको हो । सङ्घीय सरकार र प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा स्थानीय तहका पूर्वाधार तथा भौतिक साधन, सभागृह तथा अतिथि गृह, सवारी साधन र अन्य विद्युतीय उपकरण मर्मत सम्भार गरी उपनिर्वाचनका लागि आवश्यकताअनुसार प्रयोग गर्न आयोगले आग्रह गरेको छ । उपनिर्वाचनका लागि खटाउन सकिने कर्मचारीको विवरण अद्यावधिक गरी र निर्वाचन प्रयोजनका लागि माग भएका बखत तत्काल उपलब्ध गराउने अवस्थामा राख्न पनि आयोगको अनुरोध छ । यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाइ निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । आयोगले मतदानस्थल र मतदान केन्द्रसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारसमेत स्थानीय तहबाट प्राथमिकताका साथ आवश्यक मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न आग्रह गरेको छ । स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदानमा सञ्चालित कुनै संस्था वा निकाय वा सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधनको प्रयोगमा पूर्णतः रोक लगाउन निर्देशन दिइएको छ । निर्वाचन प्रचारप्रसार सामग्री यथासम्भव समयमै मतदाता समक्ष पुर्याउने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ । उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटनलगायत कार्यहरू नगर्नेरनगराउने व्यवस्था मिलाउन आयोगले सूचित गरेको छ ।
पोखरा: गण्डकी प्रदेशमा भाषा आयोगले सिफारिस गरेको मगर र गुरुङ (तमु) भाषालाई सरकारी कामकाजको भाषा बनाउने माग गरेको छ । आज (सोमबार) तमु धिं नेपालले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई तुरुन्त सरकारी कामकाजको भाषा बनाउन माग गरेको हो । तमु धिं नेपालका अध्यक्ष हुमबहादर तमुले गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा मगर र गुरुङ भाषालाई प्राथमिकता दिएपनि कार्यान्वयन नगरेको भन्दै गुनासो गरे । ‘नेपालको संविधानको धारा ६, ७, ३२,२८७ साथै भाषा आयोग ऐन २०७७ समेत गरी भाषा आयोगले सिफारिस गरेको मगर र गुरुङ भाषालाई चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकता दिएको धन्यवाद दिन चाहान्छु’, अध्यक्ष तमुले भने, ‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषा सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि आवश्यक प्रक्रिया बढाई कार्यान्वयन मागसमेत गर्दछु ।’ यस्तै तमु धिं नेपालले गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे समक्ष ५ बुँदे मागसमेत राखेको छ । ज्ञापन पत्रमा भनिएको छ,गण्डकी प्रदेशमा बाहुल्यता भएको जातिको मातृभाषालाई प्रदेश सरकारको सरकारी कामकाजको भाषा रुपमा ल्याउने र मातृभाषाको संरक्षण, विकासका लागि गण्डकी प्रदेशमा भाषा आयोगको शाखा कार्यालय स्थापना गर्नसमेत माग गरेको छ । तमु धिं नेपालले गुरुङ भाषा नामाकृत गाउँ, बस्ती, ठाउँ, भुगोलहरुको नामाकरण पुनः गुरुङ भाषामै गर्न, मातृभाषा खोज, अध्ययन साथै तालिम केन्द्रको व्यवस्था, गुरुङ जातिको बसोबास रहेको स्थानको विद्यालयमा गुरुङ भाषा पठनपाठन गर्न समेत माग गरेको छ ।
पोखरा: पोखरा महानगरपालिका–१ स्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा त्रिदिवशीय कार्यक्रम आज दोस्रो दिन १२ खेल सम्पन्न भएका छन् । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीको शारीरिक विकास, मनोरञ्जन र उनीहरुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको त्रिदिवसीय कार्यक्रम अन्तर्गत दोस्रो दिन १२ खेल सम्पन्न भएका हो । दोस्रो दिनको सदनात्मक र खुल्ला रुपमा आयोजना गरिएको प्रतियोगितामा कक्षा नर्सरीमा वाटर रेस प्रतियोगितामा परितोष पौडेल प्रथम, इमान थापा क्षेत्री द्वितीय र अनिक शिट तृतीय भएका छन् । यस्तै कक्षा एल.के.जी. बाट वाटर रेसमा सृष्टि मोन्डल प्रथम, कृष्ण मेट्या द्वितीय र नोमिका नेपाली तृतीय भएका छन् । सोही कक्षाबाट मेकिङ गाल्र्यान्ड (माला बनाउने) खेलमा एल्बिना तामाङ प्रथम, प्रज्ञा खनाल द्वितीय र सायरा देवकोटा तृतीय भएका छन् । यु.के.जी. तर्फबाट विज्ञान दौडमा प्रीतिकोना मोन्डल प्रथम, एड्विन देवकोटा द्वितीय र कृषा कार्की तृतीय भएका छन् । यसैगरी यु.के.जी.तर्फ कै अर्को खेल ब्यालेन्स रेस विथ ब्यागमा प्रथम, द्वितीय र तृतीय भएका छन् । कक्षा एकबाट विज्ञान दौडमा सुभान सुवेदी प्रथम, पारोमिता मोन्डल द्वितीय र समीक्षा बास्तोला तृतीय भएका छन् । सोही कक्षाको ब्यालेन्स रेस विथ ब्यागमा प्रथम, द्वितीय र तृतीय भएका छन् । यस्तै जुनियर प्रा.वि. तहमा कक्षा २ बाट गणित दौडमा एन्जिला थापा प्रथम, रेनिस अमगाईं द्वितीय र रन्जन सुनार तृतीय भएका छन् । कक्षा २ मा स्पोन रेसमा अंश सुनार प्रथम, स्वप्निल सुनार द्वितीय र क्रेलिशा बि.क.तृतीय भएका छन् । कक्षा ३ बाट गणित दौडमा अंकित मन्ना प्रथम, अन्मोल तामाङ द्वितीय र दिप्सना बि.क. तृतीय भएका छन् । सोही कक्षामा स्पोन रेसमा युनेश रोका प्रथम, कपिल पौडेल द्वितीय र काव्या बि.क. तृतीय भएका छन् । कक्षा ४ बाट मेमोरी पावर खेलमा युनिका खनाल प्रथम, सखिम बास्तोला द्वितीय र दिव्या लम्साल तृतीय भएका छन् । कक्षा ५ मेमोरी पावर खेलमा श्रीषा तिमिल्सिना प्रथम, केन्जल जि.सी. द्वितीय र रुपा ठकुरी तृतीय भएका छन् । कक्षा ४ को गणित दौडमा दिया क्षेत्री प्रथम, युनिका खनाल द्वितीय र प्रेमिका नेपाली तृतीय भएका छन् । कक्षा ५ को गणित दौडमा श्रीषा तिमिल्सिना प्रथम, मुस्कान भण्डारी द्वितीय र प्रज्वल न्यौपाने तृतीय भएका छन् । सोही तहमा ४००मी. रिले दौडमा छात्रातर्फ पहेँलो सदन प्रथम र निलो सदन द्वितीय भएको छ । ४००मी. रिले दौडमा छात्रतर्फ पहेँलो सदन प्रथम र रातो सदन द्वितीय भएको छ । टग अफ वार समूहमा हरियो सदन प्रथम र निलो सदन द्वितीय भएको छ । यसैगरी सेभेन ए साइड फुटबलमा पहेँलो सदन प्रथम र हरियो सदन द्वितीय भएका छ । त्यस्तै आधारभूत सिनियर तर्फ ४००मी. दौड छात्रामा कक्षा ७ की खुश्बु सापकोटा प्रथम, कक्षा ६ की सबिता सुनार द्वितीय र कक्षा ६ कै सृष्टिका कोइराला तृतीय भएका छन् । मा.वि.तर्फ ४००मी. दौडमा छात्रातर्फ कक्षा १० की सुजिता सुनार प्रथम, सोही कक्षाकी अनिता बि.क. द्वितीय र निर्सरा पौडेल तृतीय भएका छन् । सोही तहमा छात्रतर्फ ४००मी. दौडमा कक्षा ९ का अस्दीप बर्देवा प्रथम र सुजन राई द्वितीय भएका छन् । यस्तैआधारभूत सिनियरमा छात्रातर्फ ४००मी. रिलेमा निलो सदन प्रथम र पहेँलो सदन द्वितीय भएका छन् भने छात्रतर्फ निलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् । मा.वि. तहमा ४००मी. रिले दौडमा छात्रातर्फ निलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् । सोही तहको छात्रतर्फको रिले दौडमा रातो सदन प्रथम र निलो सदन द्वितीय भएका छन् । टग अफ वारको छात्रतर्फ रातो सदन प्रथम र हरियो सदन द्वितीय भएका छन् भने छात्रातर्फ पहेँलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् । मा.वि. तहको सेभेन ए साइड फुटबलमा रातो सदन प्रथम र हरियो सदन द्वितीय भएका छन् । त्रिदिवसीय कार्यक्रम मंगलबार सम्पन्न हुने विद्यालयलय जनाएको छ ।
म्याग्दी: म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ । गत असारको नगरसभाबाट छनौट भई बजेट बिनियोजन भएका वडा स्तरीय २ सय ७१ मध्य ४७ वटा सम्झौता र नगर स्तरीय ३२ मध्य ८ वटा ठेक्का प्रक्रीयामा रहेका नगरपालिकाले जनाएको छ । सडक, खानेपानी, सिचाई, पहिरो तथा नदी नियन्त्रण, भवन, खेलमैदान निर्माण सम्बन्धि योजना छनौट भएका छन् । वडा स्तरीय १७ वटा योजना सम्पन्न भएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । रु ५ लाख सम्म बजेटका योजनाहरु वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको बेनी नगरपालिकाले १० वटा मध्य ७ र ८ नम्बर बाहेकका वडामा उपभोक्ता समिति गठन गरेर कार्यान्वयनका लागि अभिमुखीकरण गराएको छ । पूर्वाधार आयोजनाहरुका लागि रु १२ करोड ४३ लाख २५ हजार बजेट बिनियोजन भएकोमा साउन देखि कात्तिक महिनासम्म रु ४५ लाख ९६ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । बेनी–अर्थुङ्गे तोरीपानी, बेनी–अर्थुङ्गे–पुलाचौर–भुतपानी, बेनी–लभ्लिहिल–ज्यामरुककोट, अर्थुङ्गे–पुलाचौर, महारानीथान–छाप डाडाखेत, बेनी–अुर्थङ्गे–तोरीपानी–पात्लेखेत सडक, खबरा र पुलाडाडा पुरुण्डी खानेपानी, रावण पार्क र जामुनाखर्क नमुना विद्यालय भवन बेनी नगरपालिकाको चालु आर्थिक वर्षमा सञ्चालित ठूला आयोजना हुन् । गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको खबरा खानेपानी, बेनी–अर्थुङ्गे–पुलाचौर–भुतपानी र बेनी–अर्थुङ्गे–तोरीपानी सडक योजना निर्माण सकिएको ईञ्जिनियर सुदिप गौतमले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगका २१ वटा योजना कार्यान्वयनको चरणमा छन् । न्यायिक समितिमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेरा आएको छ र नयाँ दर्ता भएका छ सहित १० वटा फस्यौट भएको र दुई प्रक्रियामा रहेका नगर उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । रु ५ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको नगरपालिकाले पहिलो चौमासिकमा रु ८० लाख २७ हजार १८ हजार राजस्व संकलन गरेको छ ।

