रामेछाप: शरद् ऋतु पर्यटकका लागि उपयुक्त समय हो । यहीँबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् । यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमणका लागि निस्किएका विदेशी पर्यटकहरूको लाम देखिन्छ तर मौसम सधैँ एकनास हुँदैन । लुक्ला तथा मन्थलीको मौसममा बेलाबेला खराबी आइरहन्छ । यसकारण पर्यटकहरू मन्थलीमा ‘होल्ड’ हुनुपर्दा यहाँका होटल व्यवसायीलाई माग धान्न धौधौ हुने गर्छ । हाल त्यस्तै भइरहेको छ । सोमबार र मङ्गलबार रोकिएका केही पर्यटक बुधबार उडे पनि १८ वटा उडान हुनासाथ लुक्लाको मौसम पुनः बिग्रिदा पर्याप्त उडान हुनसकेनन् । जसले एक हजारभन्दा बढी विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । विगत चार वर्षदेखि शरद् ऋतुको समयमा पर्यटकलाई मन्थलीसम्म सडक मार्गमार्फत ल्याएर मन्थलीबाट दैनिक रूपमा लुक्ला पठाउने गरिएको छ । तर बेला बेला मौसममा खराबी हुँदा विदेशी पर्यटक मन्थलीमै रोकिनुपर्दा व्यवस्थापनमा समस्या हुने गरेको होटल व्यवसायी बताउँछन् । क्षमताभन्दा बढी पर्यटकले आफूहरूलाई आवास व्यवस्थापन गर्न धौधौ हुने गरेको होटल तथा पर्यटन व्यवसायी सङ्घ रामेछापका निवर्तमान अध्यक्ष शेखरमान श्रेष्ठ बताउनुहुन्छ । यस बेला काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्यन्तै व्यस्त हुँदा नजिकको दूरीमा रहेको मान्थली एयरपोर्टबाट लुक्ला जाने पर्यटकलाई ओसारपसार गर्ने गरिएको छ । काठमाडौँका विभिन्न कम्पनीले सडकमार्ग भएर मन्थली ल्याउने र मन्थलीबाट हवाई उडानमार्फत लुक्ला पठाउने गरेका छन् । नागरिक उड्ययन कार्यालय रामेछापका प्रमुख हिरोणकुमार शाह खराब मौसमका कारण रोकिएको अवस्थाबाहेक अनुकूल मौसममा करिब ५५ वटासम्म उडान हुने गरेको बताउनुहुन्छ । हाल केही दिनदेखि मौसममा खराबी हुँदा धेरै पर्यटक मन्थलीमै रोकिएका उहाँले बताउनुभयो । पर्यटक सहयोगी चन्द्रबहादुर लामिछानेले क्षमताभन्दा बढी पर्यटक मन्थलीमै रोकिदा आवासीय सुविधाका लागि अन्यन्तै कठिनाइ भइरहेको बताउनुभयो । आफ्नो यात्रासूची बिग्रने भन्दै कोही हेलिकप्टरमार्फत त कोही सडक मार्गमार्फत लुक्लातर्फ लागे पनि अर्को दिन उडान तालिका भएका करिब पाँच यसभन्दा बढी पर्यटक पुनःमन्थली भित्रने गर्दा यहाँ पर्यटकको चाप अत्यधिक हुन थालेको उहाँको भनाइ छ । रामेछापमा भएका करिब ५० वटा होटलमा एक हजार जनासम्मलाई मात्र आवासीय सुविधा दिन सक्ने क्षमता छ तर जहाज नचलेपछि मन्थली बस्ने पर्यटकको सङ्ख्या एक हजार तीन सयभन्दा बढी रहेको पर्यटन व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष श्रेष्ठले बताउनुभयो । मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले पटकपटक मौसममा खराबी आउँदा पर्यटक रोकिने र यहाँ पर्याप्त होटल सुविधा नपुग्ने भएकाले नगरपालिका यसतर्फ सचेत रहेको बताउनुभयो । “जिल्लामा भित्रिएका पर्यटक नठगिउन् र सहज ढङ्गबाट आवासीय सुविधासमेत पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले विमानस्थल परिसरमा यात्रु सहायता कक्ष र होमस्टे सञ्चालनका लागि तालिम तथा आवश्यक सामान उपलब्ध गराएको छ । यसको व्यवस्थित प्रयोगको खाँचो छ”, उहाँले भन्नुभयो । जिल्लामा भित्रिएका पर्यटलाई बढीभन्दा बढी सुविधा दिएर एक रात मन्थली मै राख्न सक्ने वातावरण सृजना गर्न पूर्वाधार बनाउन ध्यान दिनुपर्ने र यसले मन्थलीलाई पर्यटकीय हब बनाउन योगदान पुग्ने स्थानीय समाजसेवी विपीन भट्टराई बताउनुहुन्छ ।
तनहुँ: यहाँको आँबुखैरेनी गाउँपालिका-१ का महिला सयपत्री फूल उत्पादनमा जोडिएका छन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ पुगेको बताइएको छ । गत वर्षदेखि उहाँका महिलाहरूले संगठित रूपमा सयपत्री उत्पादन गर्न थालिएको र त्यसको बजारीकरणका लागि देश तथा विदेशमा निर्यातको पहल भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सयपत्री फूलको बजारीकरणमा हामीले सघाउँदै आएका छौँ । कतारलगायत अन्य देशमा पनि पठाउन सकिन्छ कि भनेर समन्वय गरिरहेका छौँ ।” यहाँका महिलाले गत वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेकामा राम्रो प्रतिक्रिया पाएपछि यसपटक दोब्बर क्षेत्रफलमा विस्तार गरेका छन् । यहाँ विभिन्न समयमा उत्पादन दिनेगरी खेती गरिएको र यसपटक दसैँको शुभारम्भदेखि नै उत्पादन दिन थालेको छ । तिहार, एकादशी मेला र मङ्सिरमा हुने विवाहलाई मध्यनजर गरी फूल उत्पादनमा जोड दिइएको कृषि शाखा प्रमुख केसीले बताउनुभयो । यहाँ गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा फूलखेती गरिएको र यसले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको उहाँको भनाइ छ । लघुउद्यम महिला सङ्घका अध्यक्ष सुन्तली गुरुङले घरायसी काममा मात्रै सीमित महिलाहरू यतिबेला आत्मनिर्भर बन्ने प्रयासमा रहेको बताउनुभयो । उहाँका अनुसार सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको खेती गरिरहेका छन् । अध्यक्ष गुरुङले भन्नुभयो, “चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका हौँ । घरायसी काममा मात्रै व्यस्त रहने हामीलाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती गरिएकामा हाल राम्रै भइरहेको छ ।” गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयासस्वरूप गत वर्षदेखि फूलखेतीलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले अनुदानको कार्यक्रम अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । “धेरै मात्रामा प्लाष्टिकजन्य फूल तथा माला प्रयोग भएको छ । यसले मानवीय स्वास्थ्य र वातावरणलाई समेत असर पुर्याइरहेको छ । त्यसैले स्थानीयस्तरमै फूल उत्पादन गरी बाहिरबाट ल्याउन नपर्ने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य हो”, अध्यक्ष चुमानले भन्नुभयो, “यसले स्थानीय उत्पादन प्रवर्द्धन र महिलालाई आत्मनिर्भर बनाउन पनि योगदान गरिहरहेको छ । त्यस कारणले यस खेतीलाई थप व्यवस्थित बनाउने गरी पालिका लागिरहेको छ ।” गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको छ । अध्यक्ष चुमानले भन्नुभयो, “पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गरिरहेका छौँ, आफ्नै क्षेत्रमा उत्पादित फूललाई प्रयोगमा ल्याउन हामीले जोड दिएका छौँ। यसमा सबैको सहयोग जरूरी छ ।”
काठमाडौं: नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ १८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ९८ पैसा र बिक्रीदर नौ रुपैयाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ चार पैसा र बिक्रीदर चार रुपैयाँ छ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९ रुपैयाँ ६६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६९ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
भैरहवा: बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा नेपाली क्रिकेट विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ कात्तिक ३ देखि १० गतेसम्म प्रतियोगिता आयोजना हुने जनाइएको छ । एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले प्रतियोगितामा पाकिस्तानी क्लबबाट पाकिस्तान राष्ट्रिय टिमबाट खेलिसकेका इम्रान नाजिर, बङ्गलादेशको टिमबाट बङ्गलादेशी स्टारहरू आलोक कपाली र मुनिम साहरियर, भारतबाट आइपिएल खेलाडी दीपक पुनियासहित सबै टिममा प्रथम श्रेणीका खेलाडीको सहभागिता रहने बताउनुभयो । प्रतियोगितामा बाङ्गलादेशबाट गुलाज वरियर्स बाङ्गलादेश, टाइगर्स इन्टरनेशनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११, लाइफ केयर क्रिकेट क्लब भारत, श्रीलङ्का स्टेट सर्विसेज क्रिकेट एशोसिएसनको टिम सहभागी रहनेछ । विजयी टिमलाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिनुभयो । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही रु २० हजार तथा प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई रु पाँच हजार प्रदान गरिनेछ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजित यो प्रतियोगिताले रुपन्देही मात्र नभई नेपालकै क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका निभाउने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घले आधिकारिकता प्रदान गरेको छभने प्राविधिक सहयोग रुपन्देही क्रिकेट सङ्घले गरेको छ । भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा हुने प्रतियोगितामा प्रत्येक टिमले एकअर्कासँग खेल्ने र अन्तिम चारमा पुगेका बीच सेमीफाइनल हुने लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जय गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गर्न करिब रु एक करोड २० लाख खर्च हुने आकलन गरिएको छ ।
काठमाडौं: हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने छ । गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी आज राति कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
म्याग्दी: “चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ”, रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन् २०२४ को सेप्टेम्बर २३ अर्थात् यही असोज ७ गते सामाजिक सञ्जाल ‘इस्टाग्राम’मा धवलागिरि चढ्दै गरेको तस्बिरसहित आरोहणसम्बन्धी जानकारी गराउनुभएको थियो । संसारको सातौँ आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि आएका १४ जना रुसी पर्वतारोहीको नेतृत्वकर्ता डसिकाको यो नै अन्तिम सन्देश बन्न पुग्यो । यही असोज २१ गते अर्थात् अक्टोबर ६ तारिखका दिनदेखि आरोही एकाएक सम्पर्कविहीन भएपछि समाजिक सञ्जालमा बधाई तथा शुभकामना दिइरहेका आफन्त तथा शुभेच्छुकहरू निराश बने । धवलागिरिको चुचुरो चुम्न एक सय ६७ मिटरमात्र बाँकी रहेको अवस्थामा असोज २१ गते दिउँसो ११ बजे आधार शिविरमा रहेको टोलीलाई फर्कन लागेको जानकारी गराएका डसिकासहित पाँचजना आरोही सम्पर्कविहीन भएको दुई दिनपछि असोज २३ गते सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिए । अतिरिक्त अक्सिजनको प्रयोगबिना धवलागिरि आरोहण गर्न आएका डसिका, ओलेग क्रुग्लोभ, भाल्दिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोइ अन्ततः धवलागिरिमै अस्ताए । हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा खसेर ज्यान गुमाएका पाँचै जनाको शव दश दिनपछि बुधबार निकालिएको छ । एयर अल्टिच्युडको हेलिकप्टरबाट रसीमा झुण्डिएर घटनास्थलमा पुगेका सेभेन समिट टे«क्सका सञ्चालक मिङ्मा शेर्पासहितको टोलीले शव उठाएर इटली आधार शिविरमा ल्याएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले आधार शिविरबाट शवलाई काठमाडौँस्थित शिक्षण अस्पतालमा लगिएको बताउनुभयो । “मौसमको खराबी र प्रतिकूल भूगोलका कारण घटनास्थलबाट शव सङ्कलन गरेर ल्याउन ढिलाइ भएको हो । यसअघि दैनिकजसो शव ल्याउन गएका हेलिकप्टर रित्तै फर्किएका थिए । उद्धारकर्ताहरूको अथक प्रयासपछि हेलिकप्टरबाट रसीमा झुण्डिएर शव ल्याउनुभयो”, उहाँले भन्नुभयो । आइएम टे«किङ एण्ड एक्सिपडिसनमार्फत १४ जना रुसी पुरुष पर्वतारोहीहरू धवलागिरि हिमाल आरोहणका लागि गएका थिए । सो टोलीका डेनिस एलेक्सोन्को र आर्टस्योम तेसेन्त्सेभिल्स्लीले भने धवलागिरिको सफल आरोहण गरेका आरोहण गराउने कम्पनी एक्सपिडिसनले जनाएको छ । कम्पनीका अनुसार छ जना पर्वतारोही बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । आरोही समूहका एकजना भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौँ लगिएको थियो । चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठेरो भएका कारण उहाँले आरोहण रद्द गरेका जनाइएको छ । जिल्लाको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।
काठमाडौं: सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।
काभ्रेपलाञ्चोक: सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ । रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो । सडक डिभिजन भक्तपुरले आज सार्वजनिक सूचना जारी गरी भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेकाले जुनसुकै समयमा उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना हुँदा बेलुकी ६ बजेदेखि बिहानको ४ बजेसम्म धुलिखेल–भकुण्डेबेसी–वर्षेखोला सडकखण्ड बन्द रहने जनाएको हो । उक्त सडकखण्ड सञ्चालनमा आएसँगै अहिले बिपी राजमार्ग भएर काठमाडौँ भित्रिने सवारीसाधनको चाप बढेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार परिवर्तन हुन्छ भन्ने भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ । ६९ औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निश्चित अवधिपछि वर्तमान सरकार आफैँ फेरिने स्पष्ट पार्नुभयो । “अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने सुनिन्छि, दसैँपछि तुरुन्त परिवर्तन हुन्छ रे, कुन दसैँ भनेको ? ८४ सालको दसैँपछिको चुनावमा रु ठिकै हो । त्यसभन्दा यता मैले एक वर्ष नौ महिनापछि शेरबहादुर देउवालाई हस्तान्तरण गर्छु । त्यसबेला आफैँ फेरिन्छ यो सरकार”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसपछि देउवाजीले नेतृत्व गर्नुहुन्छ, उहाँको नेतृत्वमा २०८४ सालमा निर्वाचन हुन्छ । चुनावपछि जो आउँछ त्यसले सरकार बनाउँछ । यस कुरामा सबै ढुक्क रहन म आग्रह गर्न चाहन्छु ।” प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक इतिहासमा ठूलो योगदान गरेका नेपाली कांग्रेस र नेकपा ९एमाले० जस्ता पार्टीले मिलेर बनेको लगभग दुई तिहाइको सरकार ‘खरानीको डल्लो’ नभएको टिप्पणी गर्नुभयो । ‘वर्तमान संविधान र लोकतान्त्रिक प्रणालीमा ‘कम्प्रोमाइज’ हुँदैन’ प्रधानमन्त्री ओलीले जनप्रतिनिधिमार्फत निर्माण गरिएको वर्तमान संविधान र जनताको सङ्घर्षको बलमा स्थापित लोकतान्त्रिक प्रणालीमा कुनै ‘कम्प्रोमाइज’ नहुने स्पष्ट पार्नुभयो । उहाँले नेपाली जनतामा सार्वभौमसत्तानिहीत रहेको यस प्रणालीको रक्षा गर्नु सम्पूर्ण नेपालीको कर्तव्य भएको बताउनुभयो । “पूर्वज र अग्रजले यो देशको निर्माण र समृद्ध बनाउने सन्दर्भमा धेरै बलिदान र कष्ट व्यहोर्नुभएको छ । आजको स्वतन्त्रतायुक्त समाज यत्तिकै आइलागेको होइन, यो बडो मेहनतका साथ आएको हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनतामा सार्वभौमसत्ता रहेको र जनता शक्तिको स्रोत रहेको संविधान र यसबाट निर्दिष्ट अहिलेको लोकतान्त्रिक प्रणालीको रक्षा गरिनेछ ।” अलोकतान्त्रिक विधिबाट परिवर्तन गर्छु भन्नु अराजनीतिक विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “धेरै कुरामा ‘कम्प्रोमाइज’ हुन सक्दछ, तर प्रणालीको कुरामा कुनै सम्झौता हुँदैन । लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन पनि ल्याउन सकिन्छ, चुनावमा जाऔँ, एउटा सरकार मन परेन भने चुनावका माध्यमबाट अर्को सरकार गठन गर्न सकिन्छ ।” ‘कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ’ प्रधानमन्त्री ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका साथ पारित गरिने स्पष्ट पार्नुभयो । उहाँले प्रहरी ऐन संशोधन गर्ने विधेयक मन्त्रिपरिषद्ले पारित गरिसकेको संशोधित कानुन संसदबाट पारित भएपछि प्रहरीमा नयाँ दिनको उदय हुने उल्लेख गर्नुभयो । उक्त विधेयकलाई हाल आवश्यक सुझावका लागि लोकसेवा आयोगमा पठाइएको छ । नेपाल प्रहरीलाई आफूले जेलमा रहँदा, सांसद–मन्त्री हुँदादेखि नै नजिकबाट चिनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस सङ्गठनलाई अपराध अनुसन्धानमा तालिम र अत्याधुनिक साधनको उपब्धता गराउने विषयमा सरकारकोे ध्यान गएको बताउनुभयो । देशविदेशमा खटिएर शान्ति सुरक्षामा रहेका सबै प्रहरीलाई दिवसका शुभकामना दिँदै प्रधानमन्त्री ओलीले समाजमा प्रहरीले शान्ति सुव्यवस्था कायम गर्न खेलेको भूमिका असाधारण र प्रशंसनीय रहेको बताउनुभयो ।