काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

काठमाडौं:    लगातारको हिँडाइले थाकेका गोडा पटक्कै उकालो सरिरहेका थिएनन् । तर, चितवनकी अचर्ना कार्कीको पदयात्रा रोकिएन । मर्दी हिमालको फेदैमा पुग्ने उहाँको इच्छाशक्ति सामु थकित शरीर र फतक्कै गलेका गोडाले अवरोध गर्नै सकेनन् ।  तिहार पर्व मर्दी हिमालक्षेत्रमै मनाउने उद्देश्यले उहाँ पदयात्रामा निस्कनुभएको थियो, साथमा परिवार र साथीभाई लिएर । उहाँले भन्नुभयो, “शरीर थाके पनि जति हिँड्यो त्यति नजिक देखिने हिमालले शरीरमा थप ऊर्जा थप्ने रहेछ ।” कार्कीले पहिलो पटक पदयात्राको अनुभव लिएको बताउनुभयो । पछिल्लो समय फुर्सदमा पदयात्रामा निस्कने सँस्कारको विकास हुन थालेको छ । युवा पुस्तादेखि पाका पुस्तासमेत पदयात्रामा रमाउन थालेका छन् । कार्कीले तिहारमा टिका लगाउन नमिल्ने भएपछि घुम्न जाने गन्तव्यको रुपमा मर्दी ‘ट्रेक’ रोज्नुभएको थियो । जब उहाँ पदयात्रा सकेर फिर्नुभयो । उहाँले प्राकृतिक दृश्यसँगै केही फरक अनुभूति गर्ने अवसर पाएको बताउनुभयो ।  “हिँड्दा हिँड्दै जङ्गलको शान्त वातावरण महसुस गर्न पाएँ”, उहाँले भन्नुभयो, “यस्तो प्राकृतिक शान्ति कोलाहलले भरिएको सहरमा कहाँ पाउनु र” कार्कीले सकेमा वर्षमा एक पटक पदयात्रा आवश्यक रहेको बताउनुभयो ।  यसले शारीरिक र मानसिक दुवै तन्दुरुस्ती राख्नलाई फाइदा पुग्ने उहाँको ठम्याइ छ । कार्कीकै साथी सपना थापाले पहिलो पदयात्रा मर्दी हिमाल आधारशिविर पुगेर पूरा गर्नुभयो ।  वर्षभरि जागिर, परिवार र दैनिक जीवनको सङ्घर्षमा आफ्नो लागि समय नमिल्ने हुँदा फुर्सदको सदुपयोग गर्न पदयात्रामा निस्किएको उहाँले बताउनुभयो । सुरुमा पहाडको उकालो चढेर के हुन्छ र भन्ने नकारात्मक भाव पैदा हुन्थ्यो । अरुले पदयात्रा गरेर इन्स्टाग्राम, फेसबुक जस्ता सामाजिक सञ्जालमा फोटो पोस्ट गरेको देखेपछि विस्तारै उहाँमा पदयात्रा मोह बढ्दै गयो । जब उहाँले मर्दी ट्रेक पूरा गर्नुभयो । त्यसपछि पदयात्रा र भ्रमणप्रतिको विचार नै परिवर्तन भएको छ ।  उहाँले पहिलो पदयात्राको अनुभव सुनाउँदै भन्नुभयो, “पहाड चढ्नु मात्रै होइन, यात्राका क्रममा देखिने जनजीवनले थुप्रै जीवन उपयोगी कुरा सिक्न र देख्न पाइँदो रहेछ ।” विराटनगरकी प्रज्ञा दाहाल नेपालको भौगोलिकस्थिति प्रत्यक्ष हेर्न रुचाउनुहुन्छ । सम्भव भएसम्म मुलुकका पर्यटकीय गन्तव्य घुम्ने योजना उहाँको छ । बैंकका जागिरे दाहालले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हुँदा स्वदेश घुमफिरलाई पहिलो रोजाइमा राखेको बताउनुभयो । “आफ्नो देशको भूगोल, कला संस्कृति र सभ्यता बुझ्न पनि पदयात्रा जरुरी छ”, उहाँले भन्नुभयो, “हामीले घुम्दा स्थानीय समुदायको जीविकोपार्जनमा टेवा पुग्छ । अर्थतन्त्रमा सुधार आउँछ ।” बानेश्वरका विमल भट्टराई प्रत्येक वर्ष छोराछोरीसहित पदयात्रामा निस्कनुहुन्छ । उहाँले आफ्ना दुई छोरीलाई आन्तरिक पर्यटनको महत्त्व बुझाउन र संस्कृति सिकाउन यात्रामा लैजाने गरेको बताउनुभयो । बुवाको साथमा पदयात्रामा निस्कनुभएकी  सुविमा भट्टराईले यात्राका क्रममा देखेका र भोगका अनुभूति डायरीमा टिपेर राख्नुभयो । कक्षा १२ मा अध्ययनरत उहाँले पछि त्यही डायरीमा आधारित किताब निकाल्ने सोच बनाउनुभएको छ ।  किताबमा हिमाल र पहाडको बारेमा जति पढिएको हुन्छ, त्यसको वास्तविक अनुभूति गर्न यात्रा नै जरुरी हुने उहाँको अनुभव छ । मर्दी ट्रेकमा जुकाले हातमा टोकेको क्षण उहाँको लागि अद्भूत बन्यो ।  यसअघि उहाँले जुका भन्ने सुन्नुभएको थियो, तर कसरी टोक्छ र टोकेपछि के हुन्छ  थाहा थिएन । भट्टराईका अनुसार प्रकृतिको प्रत्यक्ष महसुस गर्न कोठाबाहिर हिँड्नैपर्छ । “कोठैमा बसेर मोबाइल हेरेर कहाँ यस्तो जुकाको जीवन नियाल्न पाइन्थ्यो र ”, उहाँ भन्नुहुन्छ, “मैले ट्रेकिङलाई सिक्ने र अनुभव गर्ने खुला विद्यालय मान्छु ।”  तिहारको अवसर पारेर मर्दी हिमाल पदयात्रा गर्नुभएका दाङका अघर दाहालले शरीर चुस्त राख्न र मस्तिष्कलाई ताजा बनाउन पदयात्रा उपयुक्त हुने बताउनुहन्छ । घरको वरिपरि हिँड्डुल गर्दा मोटरसाइकलको सहायता लिने उहाँले ३ दिनमा ४ हजार ५ सय उचाइमा रहेको मर्दी हिमाल आधारशिविर पुग्ने आँट गर्नुभयो । सबैले पहाड चढ्न सक्दैनस् भन्दै होच्याउँथे । त्यसैले उहाँमा थोरै इख थियो । पहाड चढेरै छोड्छु भन्ने अठोट थियो । तराईमा हुर्किनुभएका उहाँको परिवारका कुनै सदस्य हालसम्म हिमाली भेगमा पदयात्राका लागि जानुभएको छैन । दाहाल भन्नुहुन्छ, “मैले आँट गरेँ र सफल भएँ । पदयात्राले लक्ष्य प्राप्ति गर्न धैर्य गर्न सिकाउने रहेछ ।”  मर्दीका होटल व्यवसायी माया गुरुङ पछिल्लो समय आन्तरिक पर्यटककै भरमा व्यवसाय धानिएको बताउनुहुन्छ । “नेपालीहरु परिवारसहित घुम्ने संस्कृतिको सुरुवात भएको छ”, उहाँले भन्नुभयो, “नेपालीलाई सत्कार गर्न सजिलो पनि हुन्छ ।”  १२ वर्षदेखि मर्दी हिमाल क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका मर्दी हिमाल हाइ क्याम्पका अध्यक्ष राजकुमार तामाङका अनुसार आन्तरिक पर्यटक वृद्धि हुनुले पर्यटनमा दीर्घकालीन स्थायित्वको सम्भावना हुन्छ ।  मर्दी हिमाल पदयात्राका लागि ७४ वटा होटल सञ्चालित छन् । विदेशी र नेपाली पर्यटकहरु नजिकै माछापुच्छ्रे हिमाल, मर्दी, अन्नपूर्ण हिमश्रृङ्खलालगायत दृश्य एकैसाथ हेर्न मर्दी पदयात्रामा आउने गर्छन् ।  नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल १ लाख २४ हजार ३ सय ९३ विदेशी पर्यटक भित्रिएका छन् । अघिल्लो वर्षको तुलनामा यसवर्ष सोही अवधिमा छ दशमलव चार प्रतिशतले वृद्धि भएको हो । तुलनात्मक रुपमा आन्तरिक पर्यटकको आर्कषण पनि लोभ लाग्दो रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले पछिल्ल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्नु स्वभाविक रहेको बताउनुभयो ।  घुम्ने सँस्कृतिको विकास भएको र मान्छेले आयआर्जन गर्न थालेकाले खर्च गर्न थालेको उहाँले बताउनुभयो । आन्तरिक पर्यटक वृद्धि हुँदा प्रादेशिक अर्थतन्त्रमा टेवा पुग्ने तर राष्ट्रिय अर्थतन्त्र उकास्न चाहीँ विदेशी पर्यटक नै मूलस्रोत रहेको अध्यक्ष पाण्डेको बुझाइ छ । 

कालीकोट:   जिल्लाको शुभकालिका गाउँकांपालिका–४ स्थित रारा गाउँमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बिहान ८ बजे पोल चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीया वीरेन्द्र चौलागाईको मृत्यु भएको जानकारी दिनुभयो ।  चौलागाईं विद्युतसम्बन्धी सामान्य काम गर्दै आएका थिए । घटनाका विषयमा मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोटमा ल्याउन लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौं:    पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइएको छ ।  कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु अस्पतालमा आई उहाँप्रति श्रद्धाञ्जलि प्रकट गर्नुहुने कार्यक्रम छ । अहिले सानो गौचरणमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ । सानो गौचरणमा श्रद्धाञ्जलिपछि पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिनेछ । नेपाल सरकारले राजकीय  सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।  नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्रद्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।      राजनीति क्षेत्रमा देखिएका विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आउनुभएका उहाँ संविधान र कानुनका ज्ञाता हुनुहुन्थ्यो ।  विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उहाँ प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो ।  नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उहाँको उल्लेखनीय योगदान छ ।

बागलुङ:     ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरबाट १ हजार ५५ जनाले सेवा लिएका छन् ।  शनिबारदेखि सुरु भएको शिविरबाट जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका नागरिकले सेवा लिएका हुन् ।  ढोरपाटन नगरपालिका र लायन्स क्लब अफ ढोरपाटनको सहकार्यमा भएको शिविरमा आँखाको चेकजाँचसँगै उपचार र मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको छ ।  शिविरको पहिलो दिन ५ सय ८१ जना र दोस्रो दिन ४ सय ७४ जना नागरिकले सेवा लिएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले जानकारी दिनुभयो । २ दिनमा ५४ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको उहाँको भनाइ छ । शिविरबाट थप १५ जनाको आँखाको शल्यक्रिया गर्न सिफारिस गरेको आँखा रोग विशेषज्ञ विनम लामिछानेले बताउनुभयो ।  शिविरमा नेपाल नेत्र ज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा, धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग रहेको थियो ।  ताकम फाउन्डेसन नेदरल्याण्ड्सको विशेष सहयोग बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य सङ्घ, बुर्तिबाङ राइजिङ युवा क्लबले प्राविधिक सहयोग गरेका थिए । गत बिहीबार तमानखोला गाउँपालिकामा पनि निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो । उक्त शिविरबाट ८ सय जनाले सेवा लिएका थिए ।

काठमाडौं:   सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।  आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टी गर्ने र उहाँको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।  “पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ”, प्रवक्ता गुरुङले भन्नुभयो, “राजकीय सम्मान व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको छ ।”   प्रवक्ता गुरुङले पूर्वसभामुख ढुङ्गानाले नेपालको संसदीय प्रणालीलाई व्यवस्थित बनाउन खेल्नुभएको भूमिकाको बैठकले कदर गरेको उल्लेख गर्दै उहाँको निष्ठा र आदर्शलाई आत्मसम्मान गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । बैठकले ढुङ्गानाको निधनप्रति गहिरो दुःख शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो ।  मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । उहाँको आज अन्त्येष्टि गरिने जनाइएको छ ।

दाङ:    दाङको विकट भनिने बबई गाउँपालिका–७ मलैबासीका लागि अहिले विगतमा जस्तो दुःख छैन । विगतमा सडकको सहज पहुँच नहुँदा स्ट्रेचर वा डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजानुपथ्र्यो ।  बीचबाटोमा जङ्गल भएकाले जनावरको पनि उत्तिकै डर हुन्थ्यो । तर, अहिले सडकको पहुँचले धेरै सहज भएको छ । “पहिलो सडक नहुँदा धेरै गाह्रो थियो, चालु आर्थिक वर्षमा प्रदेश सरकारले सडक स्तरोन्नतिका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट बर्खामा पनि सवारी चलाउन मिल्ने गरी सडक स्तरोन्नति गरिनेछ”, स्थानीय बमबहादुर बुढाले भन्नुभयो । उहाँले प्रदेशसभा सदस्य धनबहादुर मास्कीलाई अनुरोध गरेपछि बजेट विनियोजन भएको उल्लेख गर्दै बजेटलाई बहुवर्षीय बनाउने गरी पहल भइरहेको बताउनुभयो ।  साथै पछिल्लो समय यहाँ सञ्चारको पनि सुविधा पुगेको छ । केही वर्षअघिसम्म फोन गर्नका लागि दुई घण्टा हिँडेर डाँडोमा जानुपथ्र्यो । हाल कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ ।  आगामी वैशाखदेखि टेलिकमको पनि सेवा पुग्ने वडाध्यक्ष तिलकराम भण्डारीले बताउनुभयो । “फोन नलाग्ने यहाँको मुख्य समस्या हो”, उहाँले भन्नुभयो, “टावर निर्माण भइरहेको छ, वैशाखदेखि सेवा सञ्चालनमा आउँछ ।” मलैको बस्ती राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बँदेल, बाँदरलगायतबाट बाली जोगाउन गाह्रो हुन्छ । केही स्थानमा तारबार लगाइए पनि अधिकांश ठाउँमा तारबार छैन । राष्ट्रिय निकुञ्जलाई अनुरोध गरेकाले त्यसलाई सम्बोधन गर्ने आश्वासन आएको स्थानीय टोपबहादुर बस्नेतले बताउनुभयो । मलैमा दुईवटा विद्यालय छन् ।  तीमध्ये सरस्वती प्रावि जलजलामा कक्षा ५ सम्म पढाइ हुन्छ भने देउती मावि तल्लो मलइमा कक्षा १० सम्म पढाइ हुन्छ । कक्षा ११ देखिमाथिको कक्षाका लागि भने तुलसीपुर वा घोराही पुग्नुपर्ने अवस्था छ ।  कक्षा १२ सम्म सोही ठाउँमा पढाइ हुने वातावरण मिलाउनुपर्ने स्थानीय बस्नेतले बताउनुभयो । खानेपानी र सिँचाइको भने सहज पहुँच छ । विद्युत् पनि दुई वर्ष अघि पुगेको छ । विद्युत् पुगेपछि त्यहाँका नागरिकलाई थप सहजता भएको छ । एउटा स्वास्थ्य चौकी छ । त्यसलाई थप सुविधा सम्पन्न बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।  बसाइँसराइ बढ्दै सोही क्षेत्रबाट बसाइँसराइ गरेर बाहिर जानेको सङ्ख्या भने घटेको छैन । प्रत्येक वर्ष १० देखि १५ परिवार बसाइँसराइ गरेर बाहिर जाने गरेका छन् ।  तर, अब सञ्चार र सडकको पहुँच पुग्ने वित्तिकै बसाइँसराइ पनि घट्ने अपेक्षा गरिएको स्थानीय सिवानी बस्नेतले बताउनुभयो । “सडक र सञ्चारको विकास हुन लागेको छ”, उहाँले भन्नुभयो, “त्यो विस्तार भएमा बसाइँसराइ पनि घट्छ कि भन्ने लागेको छ ।”  जनगणना २०७८ अनुसार तीनसय २५ घरधुरी भए पनि अहिले करिब दुई सय मात्रै बाँकी छन् ।

पोखरा चाइल्ड स्टार सिजन–३ को उपाधि कृष्मा जिसी र आश्रय भुषालले जितेका छन् ।   बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेनमेन्ट हाउस आयोजनामा शनिबार पोखरामा सो प्रतियोगिताको ग्राण्ड फिनाले भएको हो ।   मिस पोखरा चाइल्ड स्टार बनेकी कृष्मा सिर्जना आवासीय माविकी हुन् । यस्तै, स्टेप बाई स्टेप स्कुलका  आश्रयले अरुलाई पछि पार्दै मिस्टर पोखरा चाइल्ड स्टारको उपाधि जितेका हुन् । ऋषभ राना फस्ट रनर अप भए । उनले इन्टेलेक्चुअल अवार्डसमेत जिते ।   मिस पोखरा चाइल्ड स्टारतर्फ फस्ट रनर अप दीप्तिका गुरुङ भइन् । उनले मल्टिट्यालेन्ट अवार्ड समेत जितिन् । मन्जिता खत्री सेकेण्ड रनर अप, आर्या बराल थर्ड रनर अप भए । आर्याले एक्सप्रेस क्वीन अवार्ड पति जितिन् ।   यस्तै, रविना विश्वकर्माले वेस्ट क्वाट वाक, एरिका आचार्यले मिस पपुलर अवार्ड, ज्योत्स्ना बरालले फोटो जेनिक अवार्ड, हृजुता बरालले स्वीट स्माइल अवार्ड र गौरवी विकले मिस पपुलारिटी अवार्ड जितेका छन् ।   गत वर्ष सिजन–२ को उपाधि निलिषा गुरुङ र समीर कुमालले जितेका थिए ।   यसपालि, पोखरा उद्योग वाणिज्य संघ सभाहलमा करिब ४ घण्टा चलेको कार्यक्रममा निर्णायकमा पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा.दीपमाला श्रेष्ठ गुरुङ, अम्बिकाप्रसाद भट्टराई, झलक गुरुङ, इ.अनिल ढुंगाना र माया गुरुङ थिए ।   आयोजक नन्द इन्टरटेनमेन्ट हाउसका निर्देशक देवेन्द्र शाहीले कार्यक्रम संचालन गरेका थिए । शाही स्वयंको कोरियोग्राफी थियो ।   नन्द इन्टरटेनेमन्टले प्रतिभा प्रस्फुटन एवं क्षमता अभिवृद्धिका लागि बेलाबेलामा विविध कार्यक्रम गर्दै आएको संस्थाका निर्देशक देवेन्द्र शाहीले बताए । गत महिना संस्थाले गायन तथा नृत्य प्रतियोगिता ‘गण्डकी स्टार सिजन–५’ सफलतापूर्वक सम्पन्न गरेको थियो ।  

तनहुँ:    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मंसिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो ।  उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड० का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।   पाण्डेका अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ ।  राति १ बजेदेखि १ः३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ । दोस्रो चरणमा राति १ः३० बजेबाट बिहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने पाण्डेले बताए ।  आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिए ।   उनले भने, “मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनका लागि उक्त अवधि पूर्ण रुपमा बन्द रहनेछ ।” उक्त अवधिमा रोकिने सवारी साधनहरुले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्न आग्रह गरिएको छ ।  मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् ।  दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिए । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । सडकतर्फ ६८ प्रतिशत सकिएको छ ।

इलाम:    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।       इलामको चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा निर्मित चुलाचुली आधारभूत अस्पताल सञ्चालन सहयोगार्थ आयोजित समावेशी श्रीमद्भागवत सप्ताह महापुराण समापन समारोह एवम् अस्पताल उद्घाटन कार्यक्रममा आज उहाँले मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई परिणाममुखी बनाउने योजनाका साथ काम गरिरहेको बताउनुभयो ।       मन्त्री पौडेलले स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच हुनेगरी काम गरिरहेको बताउनुभयो । सरकारी अस्पतालका सेवालाई व्यवस्थित गर्दै लगिएको र सबै नेपालीलाई बिमाभित्र समेट्नेगरी मन्त्रालयले तयारी गरिरहेको बताउनुभयो ।  “अहिले स्वास्थ्य बिमाबाट रु एक लाखसम्मको उपचार भइरहेको छ, यसलाई बढाएर रु पाँच लाख बनाउने प्रस्ताव गरिएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बिमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउन श्रोतको सुनिश्चितका लागि आम्दानीका आधारमा बिमा कोषमा योगदान गर्ने व्यवस्था मिलाइनेछ ।”      मन्त्री पौडेलले आमनागरिकले स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउन सरकार निरन्तर लागिपरेको बताउनुभयो ।  “पाँचवटा अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार र आठवटा अस्पतालमा जलन रोगको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ । २९ वर्षमाथिका सबैको क्यान्सर र किड्नी परीक्षण गर्ने कार्यक्रम ल्याउँदैछौँ”, उहाँले भन्नुभयो ।       मन्त्री पौडेलले भवन निर्माण भएका अस्पतालको जनशक्ति र उपकरण व्यवस्थापनमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । “जहाँ भवन निर्माण भएका छन् तर उपकण छैनन्, पहिलो प्राथमिकतामा राखेर त्यस्ता अस्पताललाई सहयोग गरिनेछ”, उहाँले भन्नुभयो, “अहिले मन्त्रालयमा बजेटको शीर्षक छैन, भवन बनेका अस्पतालमा उपकरण र जनशक्ति व्यवस्थापन गर्नुपर्छ, त्यसका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरेका छौँ ।”      मन्त्री पोडेलले सेवाका आधारमा अस्पतालको वर्गीकरण गरिनेसमेत बताउनुभयो । अस्पताल शय्याका आधारमा नभई सेवाको आधारमा वर्गीकरण गर्ने तयारी गरेको उहाँको भनाइ थियो ।  “सबै सेवा एउटै अस्पतालबाट सम्भव हुँदैन, त्यसैले आधारभूत अस्पतालबाट सम्भव विशिष्टीकृत उपचारका लागि व्यवस्थापनमा लागेका छौँ”, मन्त्री पौडेलले भन्नुभयो ।       चुलाचुलीमा १५ शय्याको अस्पताल उद्घाटन भएको हो । यो अस्पताल सङ्घीय सरकारको रु १२ करोड ९० लाख लागतमा निर्माण भएको छ ।