सम्मान र पुरस्कारले उत्साहित पूजा

महोत्तरी | मंसिर ६, २०८१

सम्मान र पुरस्कारले उत्साहित पूजा

महोत्तरी:    यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ । 

हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा यु–१९ महिला टी–२० विश्वकप प्रतियोगितामा छनोट भइ घर फर्केदेखि पूजालाई भेट्ने, बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लागेको छ ।

    
काठमाडौँ हुँदै शुक्रबार आफ्नो घर महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवाना पुगेकी पूजालाई त्यसयता दिनहुँ बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लाग्ने गरेको छ । 


शुक्रबार पूजालाई कुशवाहा कल्याण समाजका अध्यक्ष विजयकुमार महतोसहितका पदाधिकारीले सम्मानपत्र र रु ५१ हजार नगद पुरस्कार प्रदान गरेका थिए । सोही दिन गौशाला नगरक्षेत्रका बस्ती बस्तीमा दीपावली गरेर नगरबासीले खुशी व्यक्त गरेका थिए ।

    
यसैगरी शनिबार र आइतबार दिनभरि पूजालाई भेट्नेको  उनको घरमा घुइँचो लागेको थियो । नेकपा ९माओवादी केन्द्र० का उपमहासचिव गिरिराजमणि पोखरेलदेखि जिल्लाका विभिन्न राजनीतिक दलका नेता, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, विभिन्न खेलका खेलाडी र सयौँ सर्वसाधारणले उनलाई बधाई दिँदै यु–१९ महिला टी–२० एसिया कप र विश्वकपको शुभकामना दिएका थिए ।

    
गत सोमबार पूजालाई एनपिएल टोली जनकपुरधाम बोल्ट्सले ‘फेस अफ दी बोल्ट्स’ को रुपमा सार्वजनिक गरेको छ । एक समारोहबीच उक्त टोलीले उनलाई रु ५० हजार पुरस्कार प्रदान गरेको थियो । सोमबार नै गौशाला नगरबासीले पूजाको शोभायात्रा सम्पन्न गरेका छन् । 


विशेष रुपले सजाइएको रुथरुपी सवारीमा पूजा र उनका परिवारजनलाई राखेर गौशाला नगरपालिकाका सबै बस्तीमा घुमाइएको थियो । शोभायात्रामा गौशाला–२ घर भएका सांसद लक्ष्मी महतो कोइरी, गौशाला नगरप्रमुख डा दिपेन्द्र महतोसहित जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, खेलाडी तथा सर्वसाधारण सहभागी थिए । 

    
मङ्गलबार गौशाला नगरपालिकाले पूजालाई सम्मान गरेको थियो । नगरप्रमुख डा दिपेन्द्र महतोले पूजालाई रु एक लाख ५१ हजार प्रदान गरेका थिए । उनलाई मङ्गलबार नै मधेश प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोदकुमार जयसवालले डुमरवानास्थित उनको घरमै पुगेर बधाई दिएका थिए । 


“प्रदेश सरकार खेलाडीहरुका साथमा छ, मधेश सरकार खेलक्षेत्रको विकासका लागि हरसम्भव प्रयत्न गरिरहनेछ”, मन्त्री जयसवालले पूजालाई बधाई दिँदै भने । 

    
बुधबार पनि पूजाको डुमरवानास्थित घरमा उनलाई भेट्ने, बधाई दिने र सम्मान पुरस्कार दिनेको लाम देखिन्थ्यो । रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल प्रालिका सञ्चालक र चिकित्सकहरुको टोलीले उनको घरमै पुगेर रु ११ हजार पुरस्कार प्रदान गरेको थियो । 

    
“विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन तथा एशिया कप उचाल्ने अबको लक्ष हो”, पूजाले बधाई दिन आउनेलाई जवाफ दिने गरेकी छिन् । “अहिले हामीप्रति आम रुपमा दर्शाइएको सकारात्मक चासोले अब झन राम्रो गर्नुपर्ने दायित्वबोध भएको छ”, पूजा भन्छिन, “सबैको प्रेम र हौसलाले उर्जा थपेको छ ।” 

    
पूजासहित नेपाली महिला क्रिकेट टोलीको सफलताले उनका बुबा रञ्जित महतो औधी खुसी छन् । “पूजा अब देशकी छोरी हुन्, उनले देशको नाम विश्वभर चिनाउने छिन”, उनले भने । 


रञ्जितका तीन छोरी र एक छोरासहित चार सन्तान हुन् । जेठी छोरी अञ्जुबाहेक सबै क्रिकेट खेलाडी हुन् । पूजाको सफलताले कान्छी छोरी आरती र छोरा कृष्ण पनि क्रिकेट खेलप्रति अझ उत्साहित भएका छन् ।

पोखरा:   एडुब्रिज कन्सल्टेन्सीले पोखराको विरौटामा आठौं शाखा विस्तार गरेको छ । एडुब्रिज कन्सल्टेन्सीका सञ्चालक योगेश क्षेत्री र गण्डकी प्रदेश शाखाका निर्देशक किसान सुनारले सयुक्त रुपमा शाखाको उद्घाटन गरे । ...

थप पढ्नुहोस्

म्याग्दी:  भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाट यात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ प...

थप पढ्नुहोस्

पोखरा:   फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ ।  सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले ...

थप पढ्नुहोस्