प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज

बाग्लुङ | पुस ३, २०८१

प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज

बागलुङ:    निसीखोला गाउँपालिका–३ को बोहोरा गाउँमा गर्भवती र सुसारेलाई लक्षित गरी प्रतीक्षा घर सञ्चालनमा आएको छ । बोहोरागाउँ स्वास्थ्यचौकी भवनसँगै सञ्चालनमा ल्याइएको प्रतीक्षा घरमा टाढाबाट आउने गर्भवती र सुसारे लाभान्वित भइरहेका छन् ।


गर्भवती सुत्केरी हुनुपूर्व अनिवार्य रूपमा कम्तीमा आठ पटक गर्भ परीक्षण गराउनुपर्ने र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनुपर्ने प्रावधान भएकाले टाढाबाट आउने सेवाग्राहीको सहजताका लागि प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्वास्थ्यचौकीकी अनमी ताराकुमारी चन्दले बताउनुभयो । 


“टाढाबाट आउनेहरू यसअघि आफन्त वा होटलमा बस्ने गर्दथे । प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भ परीक्षण गराउन, सुत्केरी हुन आउनेहरूलाई खाने, बस्ने समस्या छैन”, उहाँले भन्नुभयो ।


उक्त प्रसूति प्रतीक्षा घरमा एकपटक चार जनासम्म बस्न मिल्ने श्ययासहित अन्य सामग्रीको व्यवस्थापन गरिएको अनमी चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार यो घरमा खाना पकाउने सामग्री, ग्यासको चुल्हो, स्वच्छ खानेपानीका साथै बाहिर विभिन्न सन्देशमूलक सामग्री लेखिएका छन् । 


गत वर्ष १ सय ७ जनाले सेवा लिएका बताउँदै चालु आवको ५ महिनामा ५२ जनाले सेवा लिइसकेका चन्दले जानकारी दिनुभयो । “सुत्केरी हुने १÷२ दिनअघि यहाँ आएर बस्दा जोखिम कम हुने भएकाले गर्भवतीलाई सोहीअनुसार सुझाव दिँदै आएका छौँ”, उहाँले भन्नुभयो । 


सदरमुकामबाट एक सय २० किमी पश्चिममा पर्ने दुर्गम गाउँ भएकाले गर्भवती र सुरारेको सहजताका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्थानीय सिनियर अनमी तिला मल्लले बताउनुभयो । 


प्रसूति व्यथाले च्यापेपछि मात्रै स्वास्थ्य संस्था धाउनुपर्ने समस्या अन्त्य गर्न, प्रसूतिको अवस्थामा आउने जोखिम कम गर्न, आमा र शिशुलाई स्वस्थ राख्न यो भवन उपयोगी बन्दै गएको उहाँले उल्लेख गर्नुभयो ।


केही समस्या देखिएमा तत्काल सुविधा सम्पन्न अस्पताल पठाउन पाइने भएकाले गर्भवती र सुसारेलाई एक÷दुई दिनअगावै प्रतक्षिा घरमा आएर बस्न आग्रह गर्दै आइएको स्वास्थ्यचौकीका प्रमुख टोपबहादुर चन्दले बताउनुभयो । 


“नियमित गर्भ परीक्षण गर्नेहरूमा पनि प्रसूतिको समयमा जोखिम आउनसक्ने भएकाले १÷२ दिनअघि यहाँ आएर बस्न स्वास्थ्यकर्मीमार्फत सुझाव दिन थालेका छौँ”, उहाँले भन्नुभयो । 


सिनियर अनमी मल्लले यहाँ आउने अधिकांश महिलाको स्वास्थ्य अवस्था जोखिम हुने बताउँदै ती महिलाको स्वास्थ्य जोखिम कम गराउन र समयमा उपचार उपलब्ध गराउन प्रतीक्षा घर प्रभावकारी माध्यम बन्दै गएको उल्लेख गर्नुभयो । 


“जतिसुकै स्वस्थ भए पनि प्रसूति अवस्थालाई सामान्य मान्न हुँदैन । गर्भवती र सुत्केरी अवस्थामा जुनसुकै बेला पनि जोखिम आउन सक्छ । यसतर्फ सबै सचेत भई स्वास्थ्य प्रोटोकलअनुसार नियमित गर्भ परीक्षण गर्नु र समयमा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनु प्रभावकारी उपाय हो”, उहाँले भन्नुभयो ।


यो स्वास्थ्यचौकीमा आइपुग्न वडाभित्रबाट तीनदेखि चार घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था छ । “गत वर्ष समयमा स्वास्थ्य संस्थामा आउन नसकेकी एक जनाले प्रसूतिका क्रममा ज्यान गुमाउनुुभयो । उहाँको समस्या देखेपछि स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले नियमित गर्भ जाँच गर्न र प्रसूति गराउन अनिवार्य रूपमा १÷२ दिनअघि स्वास्थ्य संस्थामा रहेको प्रतीक्षा घरमा आएर बस्न सुझाव दिँदै आएका छन्”, स्वास्थ्यचौकीका प्रमुख चन्दले भन्नुभयो ।


निसीखोला गाउँपालिकाको रु तीन लाख आर्थिक सहयोग तथा फेयरमेड फाउण्डेसन र विवाइसी बागलुङले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाको रु २ लाख ५० हजार लगानीमा उक्त प्रतीक्षा घर निर्माण गरी सञ्चालनमा ल्याइएको हो । 


चारवर्ष अघि निर्मित यो घरमा सुरुमा कोही नआए पनि पछिल्लो समय अधिकांश गर्भवती आउन थालेका स्वास्थ्यचौकीका प्रमुख चन्दले बताउनुभयो।पछिल्लो समय बडिगाड गाउँपालिका–२ को खरवाङ, हटिया स्वास्थ्यचौकी भवनमा एउटा कोठा छुट्टाएर प्रतीक्षा घर बनाइएको छ । 


अधिकांश स्वास्थ्य संस्थामा यो प्रयास सुरु भएको बताउँदै आगामी दिनमा प्रत्येक स्वास्थ्यचौकीमा प्रतिक्षा घर अनिवार्य गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो । 

नेपालगञ्ज:     प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउ...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत इलिमिनेटर खेलमा कर्णाली याक्स चितवन राइनोजलाई २१ रनले पराजित गर्दै प्रतियोगिताको दोस्रो क्वालिफायरमा पुगेको छ ।       यस ज...

थप पढ्नुहोस्

बागलुङ:    निसीखोला गाउँपालिका–३ को बोहोरा गाउँमा गर्भवती र सुसारेलाई लक्षित गरी प्रतीक्षा घर सञ्चालनमा आएको छ । बोहोरागाउँ स्वास्थ्यचौकी भवनसँगै सञ्चालनमा ल्याइएको प्रतीक्षा घरमा टाढाबाट आउने ...

थप पढ्नुहोस्