गलकोटः   विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमै गाउँपालिकाको केन्द्र टुङ्ग्याएको छ ।  काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात बसे...

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षिय दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशिर्वाद ग्रहण गर्नुभएको छ ।  सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नुभयो ।       राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसँैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गर्नुभएको हो ।  सोही अवसरमा उहाँले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यहरुलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।       विजयादशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ः०० बजे देखि ३ः३० बजेसम्म विशिष्ट व्यक्तित्वहरु तथा र ३ः३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका र जमरा लगाइदिनुहुने कार्यक्रम रहेको छ ।  राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिनुहुने कार्यक्र छ ।       साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि दसैँको टीका र जमरा लगाइदिनुहुने कार्यक्रम छ । यसैगरी दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिनुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।      दसैँलाई असत्यमाथि सत्यको विजयको प्रतीक र  देवी दुर्गाले महिषासुर दैत्यलाई पराजित गरेको कथासँग जोडिएको छ । टीका लगाउँदा देवीको आशीर्वाद स्वरूप विजयशक्ति प्राप्त हुन्छ भन्ने विश्वास छ ।  टीका लगाउनु धार्मिक रूपमा शुद्धता र पवित्रताको प्रतीक  तथा यो परम्पराले नेपाली संस्कृति तथा परम्पराहरूलाई संरक्षण गर्दै अघि बढाउने र दसैँको टीकाले परिवारका सबै सदस्यहरूलाई एक ठाउँमा भेला गराउने भएकाले यसको महत्व छ ।  दसैँको टीकाले धार्मिक, सांस्कृतिक, र पारिवारिक रूपमा गहिरो महत्व राख्दछ, जसले नेपाली समाजमा एकता, प्रेम र शान्तिको भावना प्रवर्द्धन गर्ने समेत विश्वास लिइएको छ । 

काठमाडौं:     सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।       श्रीलङ्काको कोलम्बोमा हुने फाइन भिडन्त स्थानीय समयअनुसार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । हिजो भएको लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।       त्यसअघि नेपाललले श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र कीर्गिस्तानसँग ३–२ सेटको हार ब्यहोरेको थियो ।            नेपाल दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने उज्वेकिस्तान शतप्रतिशत जीतसहित पहिलो स्थानमा रहँदै फाइनलमा पुगेको हो । समूह चरणमा सबै खेलमा उज्वेकिस्तानले जीत हासिल गरेको थियो ।           श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलङ्कासहित तुर्किमिनिस्तान, माल्दिभ्स, कीर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन् । 

काठमाडौं:    राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा अन्तर–व्यवस्थापिका सङ्घ ९आईपीयू०को १४९ औँ महासभामा भाग लिन नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ ।      महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।      अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर–व्यवस्थापिका सङ्घ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत छ ।      यही असोज २७ देखि कातिक १ गतेसम्म महासभामा भाग लिन गएको अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा सासदहरु सुनिता बराल र निशा डाँगी हुनुहुन्छ ।      प्रतिनिधिमण्डलमा राष्ट्रिय सभासदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल तथा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसहितका अधिकृत हुनुहुन्छ । अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आगामी कातिक ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने भएको छ ।       उहाँले यही असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।       विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ ।       राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनुहुनेछ ।  साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ ।  राष्ट्रपतिले दाइका हातबाट टीका लाउने      राष्ट्रपति पौडेलले बडा दसैँ २०८१ का अवसरमा विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउनुहुने भएको छ । राष्ट्रपति पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्नुहुने भएको हो । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नुहुनेछ ।       राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान यस वर्षको दसैँको शुभ साइत ११ः३६ बजे टीका र जमरा ग्रहण गर्नुहुनेछ ।        सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिनुहुने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

तनहुँ:   तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुग्नुभएको थियो । एक वर्षअघि त्यहाँ पुग्नुभएका पन्थले १० महिने कोर्ष पूरा गरिसक्नुभएको थियो । आठ महिनापछि उहाँ पाइलट बन्दै हुनुहुन्थ्यो ।      छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दसैँ पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार तर त्यो सपनामै सीमित हुन पुगेको छ । विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनमा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताउनुभयो ।       यता नेपालमा रहेको पन्थ परिवार दसैँका लागि जमराको चाँजोपाँजो गर्दै थिए । त्यहीबेला खबर आयो, छोरा विराट असोज १७ गते घटनास्थापनाका दिन आफैँले चलाएको कार दुर्घटनामा परी सधैँका लागि अस्ताए । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उहाँको मृत्यु भएको जनाइएको छ ।            कानुनी प्रक्रिया पूरागरी पन्थको शव बडादसैँको नवौँ दिन शुक्रबार राति दमौली ल्याइएको छ । राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । दसैँका बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ । बुबा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थलगायत परिवार शोकको पीडा व्यक्त गर्ने अवस्थामा पनि छैनन् । आफन्त ईश्वरराज पन्थले भन्नुभयो, “ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला! अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ ।”      छिमेकी नन्दन श्रेष्ठले विराटको अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको बताउनुभयो । “आशाका मुनामा तुषारापात भएको छ । परिवारको सपना सपनामै रहेको छ । आत्मा अमर छ, शरीरमा आत्माको यात्रा अनन्त छ । बाबु विराटको आत्माले शान्ति पाओस्”, उहाँले भन्नुभयो । 

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गर्नुभएको छ ।      विजया दशमी २०८१ को अवसरमा उहाँले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहनुभएका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गर्नुभयो ।  “जो जहाँ छौ, पीडामा परेकाहरुको पिडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु”, उहाँले भन्नुभयो ।      प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दसैँ टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गर्नुभएको छ ।       “विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ । भारी मनकासाथ दसैँको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था र म पनि रमाउन सकिरहेको छैन”, उहाँले भन्नुभएको छ, “दसैँअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरुले जीवन गुमाउनुपर्यो । कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।”      प्रधानमन्त्री ओलीले शुभकामना भडियो सन्देशमार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गर्नुभयो ।  “प्रकोपले किसानको अन्नबालि नोक्सान भएको छ, त्यसको मूल्याङ्कन गरेर क्षतिपूर्ति उपलब्ध गराउछौँ । भत्किएका घरहरु पुनःनिर्माण गरी हस्तान्तरण गर्नेछौ । यसप्रति आश्वस्त रहँदै, सबैलाई दसैँ मनाउन र मिल्नेहरुले टीका लगाउन म आग्रह गर्न चाहन्छु ।”       उहाँले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह समेत गर्नुभयो ।  “सरकारको नेतृत्व गरिरहेका हुनाले मेरो काँधमा थप जिम्मेवारी छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहाँहरुको आशु पुछ्ने, उहाँहरुको घाउमा मलहम लगाउने, पीडितलाई राहत दिने, पुनःनिर्माणको काम यथाशीघ्र सम्पन्न गर्ने, चाडपर्वमा आवातजावतलाई सहज र सुगम बनाउने समेत उत्तरदायित्वमा लागिरहेको घडीमा सबैलाई धैर्य धारण गर्न पनि आग्रह गर्दछु ।”

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।      शुभकामना सन्देशमार्फत उहाँले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै उहाँले दसैँको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृृद्धिको कामना गर्नुभएको छ ।           “विजया दशमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु”, उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

काठमाडौं:    मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।       महाशाखाका मौसमविद् गोविन्दकुमार झा अनुसार आज तीन प्रदेशका पहाडी भू–भागका हल्का वर्षाको सम्भावना पूर्वानुमान गरिएको छ । वर्षा भएपनि खासै ठूलो भारी वर्षाको सम्भावना छैन ।      “आज दिउँसो बदली र वर्षाको सम्भावना छ, तर, ठूलो भारी वर्षा भने हुनेछैन, त्यसैले आत्तिनुपर्ने अवस्था छैन, बदली रहेपनि झरी पर्नेछैन, क्षति पुर्याउने किसिमको पानी पर्दैन ।”      मौसमविद् झाले वर्षा भएपनि दसैँको टीका विथोल्ने किसिमको झरी पर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरिएको छ ।       कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ ।      न्यूनतम तापक्रम क्रमशः घट्र्दै गएकाले काठमाडौँमा सामान्य चिसो बढेको छ । अबको एकसाता न्यूनतम तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कत अपनाउन महाशाखाले अनुरोध गरेको छ ।       आज काठमाडौँको अधिकतम तापक्र २७ देखि २९ सम्म र न्यूनतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस रहनेछ ।

काठमाडौं:   नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रु पैयाँ ८० पैसा निर्धारण गरिएको छ ।        युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।        अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३० पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ७९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ७९ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।        जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा कायम भएको छ ।        केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ तीन पैसा र बिक्रीदर चार रुपैयाँ चार पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा कायम छ ।       साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ १३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२ रुपैयाँ ९७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १९ रुपैयाँ ७४ पैसा तोकिएको छ ।        राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २३ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५५ पैसा तोकेको छ ।      भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।          वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।