मुस्ताङ: मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु दसैँलगत्तै आउन थालेका हुन् । कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गर्नका लागि दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशका विभिन्न जिल्लाका साथै भारतबाट धार्मिक तीर्थालु कागबेनी आउने गरेका पुजारी हिमाल सुवेदीले बताउनुभयो । उहाँका अनुसार, दैनिक दुई सयभन्दा बढीले दिवङ्गत आफन्तको सम्झनामा कागबेनीमा श्राद्ध गर्ने र तर्पण दिने गरेका छन् । मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको सङ्गम रहेको कागबेनी पितृतर्पणका लागि महत्वपूर्ण तीर्थस्थलका रुपमा मानिन्छ । कागबेनीमा बडादसैँ र चैते दसैँको औँशीमा हजारौँको सङ्ख्यामा पितृतर्पण गर्नेहरुको घुइँचो लाग्ने गरेको पुजारी सुवेदीले जानकारी दिनुभयो । यस वर्ष बाढी पहिराका कारण सोह्रश्राद्धको समयमा उल्लेख्यमात्रामा तीर्थयात्री आउन सकेका थिएनन् । “बाढी, पहिरोले सडकमार्ग अस्तव्यस्त बनाएपछि सोह्र श्राद्धमा ठूलो सङ्ख्यामा भक्तजन आउन सकेका थिएनन्, दसैँपछि मौसममा सुधार भएपछि कागबेनीमा तर्पण दिन दिनहुँ भीड लाग्ने गरेको छ”, पुजारी सुवेदीले भन्नुभयो । दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका एक सय आठ धाराबाट बगेर आएको गण्डकीको सङ्गम भएकाले यहाँ पुगेर पिण्डदान गर्दा सबैभन्दा ठूलो फल मिल्ने कुरा शास्त्रहरूमा उल्लेख छ । परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको धार्मिक मान्यता छ । कागबेनीमा भगवानको दैवीशक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध ,पिण्ड र तर्पण दिनाले पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटबाट पितृ तर्पण गर्न पुग्नीभएका शालिकराम रिजालले बताउनुभयो । विश्वमा शालिग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीबाट सङ्कलन भएका शालिग्राम शिलालाई भगवान्का रुपमा भक्तजनले लैजाने गरेका छन् । भक्तजनको आगमन बढेसँगै शालीग्राम शिलासँगै पूजा सामग्रीको बिक्री बढेको स्थानीय देवबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार, शालीग्राम शिलालाई भक्तजनहरुले विष्णु भगवान्को अवतारका रुपमा मुस्ताङको चिनोका रुपमा लैजाने गर्छन् । कागबेनी धाममा श्राद्ध गर्न आउने तीर्थालुहरू यहाँ पितृ उद्धारका कर्म पूरा गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जान्छन् । भक्तजनको सङ्ख्या बढेसँगै कागबेनी क्षेत्रका होटल भरिभराउ भएका छन भने व्यापार व्यवसायसमेत चलायमान भएको छ । दसैँ तिहारको बिदाको समयमा मुस्ताङमा दैनिक करिब पाँच हजार पर्यटक भित्रने गरेका छन् । बेनी–जोमसोम सडक मार्ग र अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये अधिकांश कागबेनी र मुक्तिनाथमा पुग्ने गरेका छन् ।
नुवाकोटः नुवाकोटको विदुर नगरपालिका–८ स्थित राइसिंबाट म्यागङ गाउँपालिका–३ गोगने हँुदै धादिङको खनियाबास पुग्ने सडकक कालोपत्र गरिने भएको छ । बागमती मुख्यमन्त्री बहादुरकःसिंह लामा ९तामाङ०ले राईसिंमा आयोजित कार्यक्रममा कालोपत्रको शुभारम्भ गर्नुभयो । ट्रयाक खोलिएको करिब २० वर्षपछि सुरु भएको कालोपत्र कार्यले दुई जिल्लाका ग्रामीण क्षेत्रलाई बजारीकरणसँग जोड्दै कृषि उब्जनीको बजारीकरणमार्फत अर्थतन्त्र बलियो बनाउन उल्लेख्य योगदान पुग्ने सो अवसरमा मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गर्नुभयो । “अहिले विदुर–८ राईसिंबाट विदुर–१३ हर्कपुर हुँदै गोगनेसम्म १० किलोमिटर सडकमध्ये चालु आर्थिक वर्षमा चार किमी कालोपत्र गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “बाँकी रहने थप छ किमीसहित गोगने हँुदै धादिङको खनियाबास गाउँपालिकासम्म आगामी आर्थिक वर्षमा बजेट सुनिश्चित गरिने छ ।” गत जेठ १८ गते भएको सम्झौताअनुसार चार किमी सडक विस्तारका लागि रु १४ करोड ६१ लाखमा निर्माण कम्पनीले जिम्मेवारी पाएको छ । सो कार्य उक्त कम्पनीले १८ महिनाभित्र सम्पन्न गनुपर्ने उल्लेख छ । बहुवर्षीय ठेक्का भएकाले चालु आवमा रु आठ करोड बजेट विनियोजन भएको छभने बाँकी रकमसहित तोकिएको गन्तव्यसम्म पुर्याउन अपुग रकम अर्को वर्ष विनियोजन हुने पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख रोशन पाठकले जानकारी दिनुभयो । राईसिं–हर्कपुर–गोगने सडकखण्ड’लाई धादिङको खनियाबास जोडेर धादिङका विकटमा पर्ने पालिका र नुवाकोटको म्यागङ गाउँपालिकाका ५० हजारभन्दा बढी स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख रहेको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । हाल उक्त कच्ची सडकमा यात्रुबाहक सवारीसाधन हिँडाउन जोखिमको कारण कठिनाइ भएकाले सडक कालोपत्रपश्चात गाउँगाउँका बस्तीमा गाडी चलाउन, कृषि उब्जनीलाई बजार पुर्याउन र दैनिक उपभोग्य सामग्री गाउँ लैजान उक्त सडक निकै लाभदायक हुने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
म्याग्दी: घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान हो । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । परिवारसहित गत हप्ता ढोरपाटन घुम्न गएका बेनीका मिलन खत्रीको टोली हिमशृङ्खला अवलोकनका लागि जलजलामा पुगेर फर्कनुभयो । “शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदोरहेछ”, उहाँले भन्नुभयो, “समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गरायो ।” समुद्री सतहबाट तीन हजार चार सय २० मिटर उचाइमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विषेशता हो जलजलामा रहेको ‘गोठस्टे’का सञ्चालक फुलबहादुर विश्वकर्माले दैनिकजसो पर्यटकहरू आउने गरेका बताउनुभयो । “ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटक हिमालको दृश्यावलोकनका लागि जलजला आउने गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “दसैँ–तिहारको बिदा र घुमघामको अनुकूल मौसम भएकाले पर्यटकलाई बसोबासको व्यवस्था मिलाउन धौधौ भएको छ ।” गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा बस्ती, होटल र रेष्टुरेन्ट छैन । म्याग्दीको लुलाङका विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आउनुभएको छ । च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार,गाइभैँसिको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैँ बन्दोबस्तीको सामान लगेर जानुपर्छ । हिजोआज दैनिक २० देखि ५० जनासम्म पर्यटक आउने गरेका विकले बताउनुभयो । ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । पैदलयात्रा गर्न पाँचदेखि छ घण्टा लाग्छ । बेनीबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना हुदैँ खोरियासम्म गाडी र त्यहाँदेखि पाँच घण्टा उकालो यात्रा गरेपछि जलजला पुगिन्छ । जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । ढोरपाटन सिकार आरक्षका रेञ्जर सुवेदीले जलजला ढोरपाटन घुम्न आउनेहरूका लागि ‘भ्यू प्वाइन्ट’का रूपमा विकास भएको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म पाँच हजार दुई सय चार जना पर्यटकले ढोरपाटन भ्रमण गरेका छन् । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जलजलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणका साथै प्रचारप्रसारमा जोड दिएको बताउनुभयो । बागलुङतर्फबाट सडकले जोडिएको जलजलामा म्याग्दीतर्फबाट जिल्लाकै प्राथमिकताप्राप्त आयोजना सञ्चालन भएको उहाँले बताउनुभयो ।
बझाङः बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ । सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित केदारस्यूँ गाउँपालिकामा भेटिएका छन् । तथ्याङ्कानुसार केदारस्यूँ गाउँपालिकामा १९, थलारामा १८, छबिसपाथिभेरामा १३, बुङ्गल नगरपालिकामा ११, दुर्गाथली गाउँपालिकामा नौ, बित्थडचिर गाउँपालिकामा आठ जनाले औषधि सेवन गरिरहेको ग्लोबल फण्ड एचआइभी÷टिबी रोकथाम परियोजनाका कार्यक्रम अधिकृत अमृतप्रसाद पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार जयपृथ्वी नगरपालिकामा आठ, मष्टामा तीन, खप्तडछान्नामा तीन, तलकोटमा दुई जना एचआइभी सङ्क्रमितले औषधि सेवन गरिरहेको उहाँले बताउनुभयो । “जिल्लामा देखिएको तथ्याङ्कानुसार सबै जिल्लामा छैनन्”, उहाँले भन्नुभयो, “कतिपय सङ्क्रमित जिल्ला बाहिर गएर नियमित औषधि सेवन गरिरहनुभएको छ ।” तथ्याङ्कअनुसार चालु आवको चार महिनामा आठ जना नयाँ सङ्क्रमित देखिएका छन् । जिल्लामा १५ हजार नौ सय ४६ जनाको एचआइभी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएको पण्डितले जानकारी दिनुभयो । परियोजना संयोजक लोकेन्द्र पन्तले सङ्क्रमित भएका बिरामीको नियमित उपचारका साथै सीमान्तकृत समुदायका व्यक्तिलाई संस्थाले सहयोग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समुदायमा पछाडि परेका, पारिएका, भूमिहीन वर्ग, बालबालिका, दलित, जनजाति महिला÷पुरुषलाई शैक्षिक, सामाजिक र आर्थिक रूपमा समान अवसर दिलाइ क्षमता अभिवृद्धि तथा अन्य सामाजिक सुधारात्मक कार्यमा सुधार ल्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।” उहाँले जिल्लामा कार्यक्रम लागू भएका पालिका तथा समुदायमा एचआइभी जाँच, यौन शिक्षा, क्षयरोग स्क्रिनिङ र अस्थायी साधन वितरण गर्दै आएको बताउनुभयो ।
काठमाडौं महानगरपालिकाले स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गर्दै प्लाष्टिकका फूल विक्री गर्न रोक लगाएको छ । स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा फूल विक्री वितरण गर्न व्यवस्था मिलाएको हो । प्लाष्टिकजन्य फूल तथा सजावटका समाग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवद्र्धन गरिएको महानगरले जनाएको छ । मेयर बालेनले भनेका छन्, ‘हामी व्यापारीहरूलाई प्लाष्टिकका फूल तथा अन्य सजावटका समाग्री विक्री वितरण नगर्न नगराउनुहुन अनुरोध गर्दछौँ । यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुनेछ यससँगै सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्नुहुन अनुरोध गर्दछौँ ।’
काठमाडौं: टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान)ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ । टुर्गानले सोमबार पर्यटक प्रहरीसँगको सहकार्यमा काठमाडौँको वसन्तपुरमा गरेको जाँचका क्रममा अनुमतिनलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको हो । टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र नलिएका तथा अनुमतिपत्र लिएर पनि नवीकरण नगरेका पथप्रदर्शकलाई कारबाही गरिएको जानकारी दिनुभयो । उहाँले पर्यटक पथप्रदर्शकको नलिई घुमाउने एक जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएको बताउनुभयो । टुर्गानले पर्यटक प्रहरीको सहकार्यमा काठमाडौँ उपत्यकाको पशुपतिनाथ, स्वयम्भू, पाटन, भक्तपुर, वसन्तपुर दरबार क्षेत्रमा विभिन्न समयमा नक्कली पथप्रदर्शकको जाँच गर्दै आएको छ । उक्त टोलीले अनुमतिपत्र नलिएका तथा नवीकरण नगरेका पर्यटक पथप्रदर्शकलाई दुई घण्टा ‘होल्ड’ गर्ने र सचेत गराउने गरेको छ । हाल देशभर चार हजार नौ सय ९० व्यक्तिले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र लिएका छन् । नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दूतको कामसमेत पर्यटक पथप्रदर्शककोे रहेकाले अनुशासित र मर्यादित भएर आफ्नो व्यापार व्यवसाय गर्न टुर्गानले सम्पूर्ण पथप्रदर्शकलाई अनुरोधसमेत गरेको छ ।
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उहाँले भन्नुभयो । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनवन्तरी जयन्ती पनि कात्तिक १४ गते बुधबार परेको समितिका अध्यक्ष प्रा अधिकारीले जानकारी दिनुभयो । तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ । कात्तिक १५ गते दिउँसो १५ः१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको समितिका अध्यक्ष प्रा अधिकारीले उल्लेख गर्नुभयो । उहाँका अनुसार रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी १७ः१५ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन । गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक पनि यसैदिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४५ पनि यसै दिनदेखि सुरु हुन्छ । भाइटीका कात्तिक १८ गते ११ः३७ बजे कात्तिक १८ गते आइतबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३७ बजे भाइटीकाको शुभ साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् हुने उहाँले सुनाउनुभयो । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि राजधानी लगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेका छन् । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजागरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिनेक्रम पनि सहरी क्षेत्रमा बढ्न थालेको छ । बडादसैँमा सुनसान प्रायः हुने काठमाडौँ उपत्यका तिहारमा झिलीमिलीले उत्सवमय बनेको छ । झिलीमिलीमा देउसी, भैलोको रमाइलोसँगै तिहारमा जुवा खेल्नैपर्छ भन्ने मान्यताले पनि कतिपयलाई आकर्षण गर्दछ । लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । कतिले भने विभिन्न सामाजिक कामको सहयोगका लागि तिहार अर्थात् यमपञ्चक लागेदेखि नै देउसी, भैलो खेल्ने गरेका छन् । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिन देखि नै देउसी भैलो खेल्ने परम्परा पनि रही आएको छ । कौडा, लङ्गुरबुर्जा, तासलगायत विभिन्न स्वरुपका जुवा तिहारका अवसरमा खेल्ने गरिन्छ । यसबाट कतिले जीतको आनन्दका साथै कतिले हारको नरमाइलो अनुभव पनि सँगाल्ने गर्छन् । धेरै पैसा राखेर जीत, हारका रुपमा जुवा खेल्दा कतिले भने धन सम्पत्ति नै सिध्याउने पनि गर्छन् । संस्कृतिका नाममा यस्ता विकृतिको भने अन्त्य हुनुपर्ने आवाज पनि उठ्ने गरेको छ । दीपावली अर्थात् तिहार पर्वका अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरे पनि पड्क्न भने छोडेको छैन । प्रत्येक वर्ष प्रहरीले एक साताअघिदेखि नै पटाका नपड्काई सभ्य रुपमा दोस्रो चाड तिहार मनाउन आह्वान गर्ने गरेको छ ।
अर्घाखाँची: अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ । सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाउनुभएको थियो । प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताउनुभयो । आज बिहान थप सात जना उपचारका लागि अर्घाखाँची अस्पतालमा पुगेका छन् । यो पनि पढ्नुहोस देउरालीको प्रसाद खाएका २५ जना बिरामी अस्पतालका प्रमुख डा जगन्नाथ तिवारीले बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको बताउनुभएको छ । उनीहरू सबैको अवस्था सामान्य छ । आइतबार रातिदेखि बिरामी परेका उनीहरू सोमबार दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए । ‘फुड प्वाइजन’का कारण बिरामी परेको डा तिवारीको जानकारी दिनुभयो । बिरामीमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छभने एक जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले बताउनुभयो । दुई जना उपचारपछि निको भएर घरमा फर्किएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
ढोरपाटन: जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ व्र्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । मौरीपालनबाट उहाँले वार्षिक रु १२ देखि रु १५ लाखसम्म आम्दनी गरिरहनुभएको छ । घर्कंदो उमेरमा पनि उहाँ हट्टाकट्टा देखिनुहुन्छ । काम गर्ने जोस जाँगर पनि उहाँमा युवाको जत्तिकै छ । उपाध्यायको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन् । मौरीको घुनुघुनु आवाजसँगै सुरु हुने उपाध्यायको दैनिकी बारीमा काम गरेर बित्ने गरेको छ । उपाध्यायका अनुसार बार्दली र बारीमा गरी हाल दुई सय बढी घरमा मौरी छन् । वैदेशिक रोजगारीमा जान असफल भएपछि उहाँले विसं २०५० देखि व्यावसायिक रुपमा मौरीपालन गर्न थाल्नुभएको हो । तीन दशक मौरीपालन गर्नुभएका उपाध्यायले हाल सुन्तला, ड्रागन र कागतीखेती समेत गर्न थालेको बताउनुभयो । उहाँको बारीमा पुग्दा फलफूलसँगै अदुवा, लटरम्म फलेका गोलभेँडा र तरकारी फलेका देख्न सकिन्छ । उहाँले सुन्तलका तीन सय र कागतीका एक सय ५० बोट लगाउनुभएको छ । ती बिरुवाले विस्तारै फल दिन थालेको उहाँले बताउनुभयो । जैमिनी क्षेत्रमा अगुवा मौरीपालक कृषकका रुपमा परिचित उपाध्यायले फलफूल र तरकारी बिक्री गरी लाखौँ आम्दानी गर्दै आउनुभएको छ । उहाँ अगुवा कृषकमात्र नभई कृषकका प्रशिक्षक पनि हुनुहुन्छ । आफूले जानेको ज्ञान सीपलाई किसानमाझ पु¥याउँदा उनीहरुलाई सहयोग पुग्ने उपाध्यायले विश्वास व्यक्त गर्नुभयो । वर्षमा १२ क्विन्टल मह बिक्री गर्ने बताउँदै उहाँले सबै खर्च कटाएर रु १२ देखि रु १५ लाखसम्म आम्दानी हुँदै आएको जानकारी दिनुभयो । “विदेश जानका लागि धेरै प्रयास गरेँ, सफल हुन सकेन, त्यसपछि मौरीपालनतर्फ लागेँ”, उपाध्यायले भन्नुभयो, “मैले मौरी पाल्नका लागि तालिम पनि लिएको छु, धेरै ज्ञान बटुलेको छु, २७ वटा समूहलाई तालिम पनि दिइसकेको छु । कैयौँ किसानले फोनबाट पनि सोधपुछ गर्नुहुन्छ ।” मह प्रतिकेजी रु एक हजार तीन सयमा बिक्री हुने भन्दै घरबाटै बिक्री हुने भएकाले बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो । महको माग निकै बढेको हुँदा पु¥याउन नसकेको उपाध्यायको भनाइ छ । कहिलेकाहीँ रोग लाग्ने, आहारको कमी हुनेलगायत समस्या हुने उहाँको भोगाइ छ । मौरीपालनका लागि धेरै शारीरिक श्रम नचाहिने भएकाले सजिलो पेसा मन्ने उहाँले पहाडी क्षेत्र मौरीपालनका उपयुक्त हुने धारणा राख्नुभयो । उपाध्यायले भन्नुभयो, “विसं २०४८ तिर मौरीपालनसम्बन्धी तालिम लिएँ, त्यसपछि व्यावसायिक रुपमा पाल्न थालेको हुँ अहिलेसम्म पाल्दै आएको छु । महको माग बढी भएकाले पु¥याउन सकिरहेका छैनौँ ।” युवा विदेश जानुभन्दा स्थानीय सरकारको सहयोगमा स्वरोजगारमूलक काममा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाउँमा बसेर व्यावसायिक कृषि गर्ने किसानलाई नगरपालिकाले प्रोहोत्सान गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । किसानलाई आवश्यक अनुदान, मल, बीउ, तालिम र प्राविधिक सहयोग गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । पछिल्लो समय गाउँमै व्यवसाय गर्नतर्फ धेरैले चासो देखाएको भन्दै नगरपालिकाले कृषकमुखी कार्यक्रम ल्याउने योजना बनाइरहेको उपप्रमुख शर्माले बताउनुभयो ।