काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्...

काठमाडौं:    संयुक्त अरब इमिरेट्स (युएई)मा जारी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।       दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको हो । योसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो ।       नेपालले जितका लागि दिएको एक सय ४२ रनको लक्ष्य पच्छ्याएको बङ्गलादेशले २८ दशमलव चार ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।  बङ्गलादेशका लागि ओपनर जबार अबररले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ६५ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५९ रन बनाएका हुन । यस्तै, कप्तान मोहम्मद हाकिमले ७२ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ५२ रन जोडे । मोहम्मद फरिदले १३ रन जोडे । नेपालका लागि युवराज खत्रीले चार विकेट लिए भने हेमन्त धामीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रनको योगफल बनाएको थियो । यस्तै ओपनर आकाश त्रिपाठीले ७७ बलमा सर्वाधिक ४३ बनाए । उत्तम थापा र अभिषेक तिवारीले समान २९÷२९ रन जोडे । त्यसबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।      बङ्गलादेशका लागि अल फहाद, मोहम्मद इकबाल हसन इमोन र रिजन हुसेनले समान दुई÷दुई विकेट लिए । यसैगरी, साद इस्लाम, मोहम्मद रफी उज्जामान र मोहम्मद अजिजुल हाकिमले समान एक–एक विकेट लिए । यस जितसँगै बङ्गालादेशको भने यो लगातार दोस्रो जित हो । बङ्गलादेशले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।      नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल यही मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । 

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचआइभी नियन्त्रणका लागि चेतना विस्तार आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले विश्व एड्स दिवसका अवसरमा आयोजना गरेको ‘एचआइभी एड्स सङ्क्रमित नागरिकको मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन २०८१’ को सार्वजनिकीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।  मन्त्री पौडेलले अझै चेतना विस्तार हुन नसक्दा सङ्क्रमण भइरहेको  र सङ्क्रमितले विभेद भोग्ने अवस्था रहेको भन्दै सबैले सचेत रहनुपर्नेमा जोड दिनुभयो ।        उहाँले एड्स नियन्त्रणको सवालमा स्वास्थ्य मन्त्रालय सधैँ सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार राजनीतिक स्थायित्वका साथै सङ्घीयताको सबलीकरणका लागि आवश्यक सुधारमा कटिबद्ध भएर लागिरहेको बताउनुभएको छ ।  काठमाडौँमा आज आयोजित बाह्रखरी कथा प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उहाँले विगतमा देखिएका समस्या र चुनौतीहरूको व्यवस्थापन, राजीतिक परिस्थितिलाई सम्हाल्दै सरकार अगाडि बढिरहेको बताउनुभयो ।  मन्त्री गुरुङले वर्तमान गठबन्धन सरकार देशलाई नयाँ दिशा दिने गरी नीतिगत सुधारदेखि संस्थागत व्यवस्थापनका काममा कटिबद्ध भए लागिरहेको बताउनुभयो ।  “यो स्थायी सरकार हो । धेरैले यसको दीर्घायुको बारेमा विभिन्न कुरा गरिरहेको सुन्छु तर ढुक्क हुनुहोस्, यो सरकार दायाँबाँया हुँदैन । देशलाई नयाँ दिशा दिएरै छोड्छ”,  उहाँले भन्नुभयो,“राज्यको पुराना नीति परिमार्जन, डिजिटल माध्यमबाट ३ वर्षमा करिब तीन लाख युवालाई रोजगारी, सङ्घीयतालाई मसिनो ढङ्गले विस्तार, वन, प्रहरी, निजामती सेवालगायत ऐनलाई आवश्यक परिमार्जन गर्ने काममा सरकार लागिरहेको छ ।” मन्त्री गुरुङले विकासका लागि  तीन खर्ब मात्रै बजेट छुटयाइएको अवस्थामा पनि पुँजीगत खर्च गर्न नसक्नु विडम्बना भन्दै अब सरकारले खर्चमा जोड दिने र त्यसका लागि नीतिगत र कानुनी सुधार गरिनेसमेत बताउनुभयो । 

कोभिडको महामारीसँगै रोकिएको मोफसलकै चर्चित आदर्श कप फुटबल प्रतियोगिता ६ बर्ष पछि आयोजना हुँदैं छ ।   आदर्श युवा क्लबको आयोजनामा यही मंसिर २२ देखि २९ गतेसम्म भण्डारढिक खेलमैदानमा हुने २५ औं सस्करणको आदर्श कपको तयारी तिब्र पारिएको क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए ।   उनका अनुसार पछिल्लो २४ औं संस्करणको ऋद्दिसिद्धी आदर्शकप २०७५ सालमा भएको थियो । त्यसयता प्रतियोगिता रोकिएको थियो ।   त्यसपछि अहिले ६ वर्षपछि प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।   सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।    यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।   विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ ।   करिब ६० लाख रुपैयाँ खर्च हुने सो प्रतियोगिता आयोजकसहित ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।   अध्यक्ष गुरुङका अनुसार आयोजक आदर्श युवा क्लब, कास्की –११, विभागीय क्लब नेपाली सेना सिद्धिदल गण (पश्चिम पृतना), नेपाल प्रहरी गण्डकी प्रदेश र सशस्स्त्र प्रहरी गण्डकी मुख्यालय, एन्फा तनहुँ, एन्फा गोरखा र एन्फा स्याङ्जा गरि कुल ८ टिमको सहभागिता रहनेछ ।   प्रतियोगिताका लागि वडा नंं २९ को कार्यालयले संरक्षकत्व प्रदान गर्दै खेल मैदान मर्मत संभारमा सहयोग गरेको आयोजकले जनाएको छ । 

कैलाली:    यहाँस्थित लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण हुने भएको छ । आज लम्कीचुहा नगरपालिकाका नगर प्रमुुख सुशीला शाहीले नयाँ भवनको शिलान्यास गर्नुभयो ।  बिरामीको चापलाई मध्यनजर गर्दै नगर अस्पतालको स्तरोन्नति गरी २५ श्ययाको अस्पताल सञ्चालन गर्ने उदेश्यले नयाँ भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । नयाँ भवन निर्माण भएपछि बिरामीलाई सेवा दिन सहज हुने उहाँको भनाइ छ ।  हाल लम्कीचुहा नगरपालिकामा दैनिक तीनदेखि चार सय बिरामीले सेवा लिइरहेका छन् । सेवाग्राहीलाई सेवा दिन पर्याप्त भवनको अभाव भएकाले नयाँ भवन निर्माण हुन लागेको अस्पतालका व्यवस्थापन प्रमुुख जयन्द्र जैशीले बताउनुुभयो ।  लम्कीचुहा नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको भवन अढाई तलाको हुनेछ । पहिलो चरणमा एक तलाको काम चालु आर्थिक वर्षको असार मसान्तमा सम्पन्न गर्ने लक्ष्य छ ।  हाल १५ श्ययाको अस्पताल भवन निर्माणसँगै २५ श्ययामा स्तरोन्नति गरिने जैशीले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाको वडा नं १० मा ५० श्ययाको प्रादेशिक अस्पताल निर्माण भइरहेको छ । भल्कामा नगर अस्पतालको स्तरोन्नतिको काम भइरहेको छ ।”  लम्कीचुहा नगर अस्पतालले हाल २४सै घण्टा आकस्मिकलगायत प्रयोगशाला सेवा दिइरहेको छ । चुहाको प्रादेशिक अस्पताल सञ्चालन भएमा विशेषज्ञसहितको सेवा सञ्चालन गर्न सहज हुने र एकीकृत रुपमा अस्पताल सञ्चालन गरिने व्यवस्थापन प्रमुख जैशी बताउनुहुन्छ ।  भवन निर्माणको जिम्मा मालिकामण्टा बेतालमाडौँ कन्स्ट्रक्सन लम्कीचुहा–६ गुुलराले पाएको छ । भवन रु दुई करोड २७ लाख २१ हजारमा निर्माण हुुन लागेको हो ।  बहुवर्षीय ठेक्कामा निर्माण हुन लागेको भवनको लागत रु १४ करोड अनुमान गरिएको अस्पतालका सञ्चालक सदस्य खडानन्द सापकोटाले जानकारी दिनुभयो ।

काठमाडौं:    सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।  नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।       उक्त तथ्याङ्क अनुसार सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ । सन् २०२४ अन्त्य हुन अब एक महिना मात्र बाँकी छ । डिसेम्बरमा करिब ७० हजार पर्यटक आउने बोर्डले अनुमान गरेको छ । यसरी हेर्दा वर्ष २०२४ मा ११ लाख १५ हजार हाराहारी मात्रै पर्यटक भित्रिने देखिन्छ ।      नोभेम्बरमा मात्रै एक लाख १४ हजार पाँच सय एक पर्यटक आएका छन् । यो अघिल्लो वर्ष सन् २०२३ को सोही महिनाको तुलनामा पाँच दशमलव ४० प्रतिशत बढी हो । उक्त वर्षको नोभेम्बरमा एक लाख आठ हजार छ सय ३० पर्यटक भित्रिएका थिए ।      सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार तीन सय तीन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका बोर्डको तथ्याङ्कमा उल्लेख छ । बोर्डका निर्देशक मणिराज लामिछानेले हालसम्मको पर्यटक आगमन विश्लेषण गर्दा सन् २०२३ को तुलनामा झण्डै १० प्रतिशत मात्रै बढ्ने देखिएको बताउनुभयो । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका उहाँले जानकारी दिनुभयो ।       बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटक भन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेले उल्लेख गर्नुभयो ।        संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को छ महिनाको आँकडा अनुसार विश्वव्यापी रूपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ  । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ । विभिन्न कारणले सन् २०२४ मा प्रक्षेपण गरिएको पर्यटक आगमन लक्ष्य भेट्टाउन कठिन भएको बोर्डका निर्देशक लामिछानेले उल्लेख गर्नुभयो ।       “हालसम्मको पर्यटक आगमन हेर्दा विश्वव्यापी रूपमा नेपालको पर्यटक आगमन सकारात्मक देखिन्छ”, उहाँले भन्नुभयो, “पर्यटनका विभिन्न सूचकलाई विश्लेषण गर्दा सन् २०१९ को भन्दा बढी पर्यटक आउने प्रक्षेपण गरिएको थियो । लामो समयसम्म बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिनु, विमान दुर्घटना र प्राकृतिक विपत्तिलगायत कारणले पर्यटक आगमन सुधार हुन नसकेको अनुमान गरिएको छ ।”      करिब छ महिना बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिनु, बीचमा विमान र हेलिकप्टर दुर्घटना हुनु, असोजको ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोपछिका घटना र गत कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १० घण्टा उडान बन्दलगायत कारणले अपेक्षित रूपमा पर्यटक आउन नसकेका बोर्डले विश्लेषण गरेको छ ।      बोर्डको विवरणमा नोभेम्बरमा भारतबाट १९ हजार नौ सय १५ पर्यटक आएका छन् । संयुक्त राज्य अमेरिकाबाट १० हजार नौ सय ८१ र चीनबाट नौ हजार चार सय ५८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।  संयुक्त अधिराज्य बेलायतबाट छ हजार पाँच सय ११, बङ्गलादेशबाट पाँच हजार एक सय ४८, अष्ट्रेलियाबाट चार हजार आठ सय २९, थाइल्याण्डबाट चार हजार दुई सय ६२, श्रीलङ्काबाट चार हजार तीन सय ९५, जर्मनीबाट तीन हजार नौ सय २६ र फ्रान्सबाट तीन हजार आठ सय ४१ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।      कुन महिनामा कति पर्यटक      मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।  अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३, अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक आएका तथ्याङ्कमा उल्लेख छ ।  नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।

काठमाडौं:    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँदिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको आयोजनामा सोमबार र मङ्गलबार आयोजना हुने औपचारिक कार्यक्रमका लागि उहाँ भारत प्रस्थान गर्नुभएको हो ।  सो सम्मेलनमा सरकार–उद्योग साझेदारीलगायत विषयमा छलफल हुने जनाइएको छ । भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलको औपचारिक निमन्त्रणमा मन्त्री भण्डारी नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । सो शिखर सम्मेलनमा भारतसहित नेपाल, अल्जेरिया, बहराइन, भूटान, इजराइल, इटाली, साउथ अफ्रिका, कम्बोडिया, म्यानमार, कतार, सेनेगललगायत राष्ट्रका उद्योग तथा वाणिज्य र वित्तमन्त्रीहरुको सहभागिता रहने मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो ।  सो सम्मेलन नयाँदिल्लीस्थित सुस्मा स्वराज भवनमा सम्पन्न हुने जनाइएको छ ।

काठमाडौं:    नेपाल फार्मेसी परिषद्ले आगामी पुस ४ गतेदेखि ‘फर्मासिष्ट’लाई अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था लागु गर्ने भएको छ । उक्त व्यवस्था लागू गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आग्रह बमोजिम परिषद्ले पहिलो चरणमा फर्मासिष्टको पहिचान खुलाउन पोशाक अनिवार्य गर्ने निर्णय गरेको थियो ।  परिषद्ले फर्मासिष्ट तथा सहायकका लागि सेतो एप्रोनसहितको पोशाक र पोशाकमै परिचयपत्र अनिवार्य गर्ने जनाएको छ ।  कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि वितरणमा कार्यरत फर्मासिष्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय आगामी पुस ४ गतेदेखि लागू हुँदैछ ।       यस निर्णयले औषधि बिक्रीवितरणमा आधिकारिक व्यक्तिमात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषद्का रजिस्टार सञ्जिवकुमार पाण्डेले बताउनुभयो ।  मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । औषधि बिक्रीवितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधि व्यवस्था विभागलाई अनुगमन बढाउन सजग गराउनुभएको छ ।       मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले परिषद्को निर्णय कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले पत्राचार गर्ने बताउनुभयो ।  यसका अलावा औषधि बिक्रीवितरणमा बेथिति देखिए नदेखिएको अनुगमन गर्ने र दोषी देखिएमा एकैसाथ कारबाही गरिने उहाँले बताउनुभयो ।  औषधिको मूल्य समायोजन गर्न गठित समितिले काम गरिरहेको छ । समितिको सुझावअनुसार अधिकतम उपयोग हुने औषधिमा नागरिकलाई कम भार पर्नेगरी मूल्य समायोजन गर्ने मन्त्रालयको तयारी छ । 

काठमाडौं:    नेत्रहिन टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।  पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ ।       नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य पाकिस्तानले पाँच दशमलव तीन ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । विभिन्न छ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो ।  लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग समान १० विकेटले पराजित भएको थियो । त्यसैगरी नेपाल श्रीलङ्कासँग ७० र बङ्गलादेशसँग ६७ रनले पराजित भएको थियो भने अफगानिस्तालाई एक सय आठ र दक्षिण अफ्रिकाकालाई ११ रनले हराएको थियो ।      आजको जितमा पाकिस्तानका लागि कम्रन अख्तरले सर्वाधिक ६३ रनको योगदान दिए । उनले २१ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन् । यसैगरी बाबर अली ३२ रनमा अविजित रहे ।       त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो ।  नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० र रमेश बानियाँले अविजित १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पाकिस्तानका लागि माती उल्लाहले तीन र बाबर मुनरिले एक विकेट लिए ।