काठमाडौं: कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।
काठमाडौं: स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसै सन्दर्भमा दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । दार्चुलाको दुहुँ गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि ‘क’ र ‘ख’ मतदान केन्द्रमा मतदान जारी छ । यो पालिकामा एक हजार दुई सय ७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त पदका लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा निधन भएपछि उपनिर्वाचन भएको हो । त्यसैगरी गोरखा नगरपालिका–५ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । उक्त पदका लागि वडाका दुई स्थानमा मतदान भइरहेको छ । यहाँ दुई हजार दुई सय २५ मतदाता छन् । उक्त पदका लागि नौ राजनीतिक दलबाट नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा वडाध्यक्षमा विजयी खिलबहादुर रानाको निधन भएको थियो । त्यसैगरी, गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको लागि तीनवटा मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको छ । निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार हालसम्म पाँच प्रतिशत मतदान भइसकेको छ । यो वडामा चार हजार ९१ मतदाता छन् । उक्त पदका लागि आठ जनाले मनोनयन दर्ता गराएका छन् । तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्युपछि यहाँ उपनिर्वाचन भएको हो ।
पोखरा: पोखरा महानगरपालिका– ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ । कोष स्थापना भएसँगै त्यसमा रु ३० लाख दाखिला पनि भएको छ । विभिन्न सङ्घसंस्था प्रतिष्ठान एवं व्यक्तिहरूबाट अक्षयकोषमा रकम दाखिला भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्दप्रसाद्र रेग्मीले जानकारी दिनुभयो । अक्षयकोषमा कम्तीमा रु एक करोड पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । अक्षयकोषमा पद्मजगत् स्मृति प्रतिष्ठानले रु १० लाख, धनबहादुुर थापाले रु एक लाख ११ हजार, भगवती पन्तले ५२ हजार ५५, मातृका सिग्देलको स्मृतिमा हरिमाया सिग्देल र परिवारजनले रु ५१ हजार १११, वासुदेव तिवारीले रु ५० हजार, खगराज अधिकारीले रु ३७ हजार र विष्णुुमाया पण्डितले १५ हजार प्रदान गर्नुभएको जानकारी उहाँले दिनुभयो ।
काठमाडौं: स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । हेटौँडाबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएअनुसार हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका–१२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन् । सो वडामा आठ हजार ५३ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गत निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको हो । सो वडाको वडाध्यक्षका लागि विभिन्न दलका नौ जना तथा तीन जना स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा छन् । यसैगरी, रासस प्रतिनिधिले सप्तरीको राजविराजबाट सम्प्रेषण गरेको समाचारमा डाक्नेश्वरी नगरपालिका वडा नं. १ र ४ मा वडाध्यक्ष पदका लागि पाँच मतदान केन्द्रमा मतदान जारी छ । दुवै वडाबाट निर्वाचित वडाअध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो । वडा नं. १ मा एक स्वतन्त्रसहित आठ जना तथा वडा नं। ४ मा पनि एक महिलासहित आठ जना उम्मेदवार छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार डाक्नेश्वरी नगरपालिका– १ मा दुई हजार ६३५ र वडा – ४ मा एक हजार २८१ मतदाता छन् । दैलेखस्थित रासस समाचादाताका अनुसार महावु गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि दुई मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । आज बिहान निर्धारित समयमा सुरु भएको मतदानमा ९२ वर्षीया जगत्कुमारी सिंहले पहिलो मतदान गर्नुभएको छ । उक्त निर्वाचनमा सात उम्मेवारबीच प्रतिस्पर्धा हुँदैछ । उक्त वडामा एक हजार सात सय ६० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रुपमा मतदान भइरहेको सिमकोटस्थित हाम्रा समाचारदाताले जनाएका छन् । सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविमा मतदान केन्द्रमा भोट हाल्न मतदाता लामबद्ध भएका छन् ।
काठमाडौं: राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे संसदीय अध्ययन तथा अवलोकन भ्रमणका लागि १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मलेसियाको क्वालालम्पुर प्रस्थान गर्नुभएको छ । मलेसिया सरकारको निमन्त्रणमा नेपाली संसदीय टोली यही मङ्सिर २१ गतेसम्म औपचारिक भ्रमणका लागि गए राति त्यसतर्फ प्रस्थान गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिमण्डलमा मधेश, बागमती र कोशी प्रदेशका सभामुख क्रमशः रामचन्द्र मण्डल, भुवनकुमार पाठक र अम्बरबहादुर विष्ट हुनुहुन्छ । त्यस्तै लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाण केसी, गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापा, सुदूरपश्चिम प्रदेशका उपसभामुख कोइलीदेवी चौधरी र कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने पनि उक्त अध्ययन भ्रमण टोलीमा सहभागी हुनुहुन्छ । नेपाली प्रतिनिधिमण्डलले मलेसियाका सभामुख र उपसभामुखका साथै सेलागोर प्रान्तीय संसद्का सभामुख र उपसभामुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । उपाध्यक्ष घिमिरेको नेतृत्वमा रहेको टोली यही मङ्सिर २१ गते स्वदेश फर्कनेछ ।
काठमाडौं: नेपाल पहिलो पटक दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगिताको चौथो संस्करणमा नेपाल चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले अब आइतबार सेमिफाइनलमा घरेलु टोली पाकिस्तानसँग खेल्ने छ । यसअघि पाकिस्तानले लिग चरणको खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो । लिग चरणमा श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानसँग पराजित भएको नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई पराजित गरेको थियो । नेपाल अफगानिस्तानसँग एक सय आठ रनले तथा दक्षिण अफ्रिकासँग ११ रनले विजयी भएको थियो भने श्रीलङ्कासँग ७० रनले, बङ्गलादेशसँग ६७ रनले तथा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, दक्षिण अफ्रिका र अफगानिस्तान सहभागी छन् । दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपाल सन् २०१२ देखि सहभागी हुँदै आएको छ । यसअघि सम्पन्न तीनवटै संस्करणमा नेपाल सेमिफाइनलमा पुग्न सकेको थिएन । दोस्रो सेमिफाइनल खेल आइतबार नै बङ्गलादेश र श्रीलङ्काबीच हुनेछ । फाइनल खेल भने मङ्गलबार हुनेछ ।
धनुषा: जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि सोबार फूलबारी लीला, तेस्रो दिन मङ्गलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ । नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताउनुभयो । त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ । महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईधर्मावलम्बी पनि सामेल हुने गरेका छन् । सर्वपक्षीय बैठक सम्पन्न निर्विघ्नपूर्वक महोत्सव सम्पन्न गर्न जानकी मन्दिरमा सर्वदपक्षीय बैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सम्बद्ध सबैलाई जुट्न मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले आग्रह गर्नुभएको छ । हरेक वर्षझैँ यो वर्ष पनि विवाहपञ्चममीमा सहभागी हुन भारतको अयोध्याबाट प्रतीकात्मक रूपमा जन्ती आउने कार्यक्रम छ । मुख्यमन्त्री सतीश सिंहका साथै विश्व हिन्दू परिषद्का पदाधिकारीले अयोध्यास्थित श्रीराम मन्दिरका पुजारीलगायत श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अगुवालाई हालै अयोध्याको भ्रमण गरी विवाहपञ्चमीमा सरिक हुन आमन्त्रण गर्नुभएको थियो ।
काठमाडौं: ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो । केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआइभी सङ्क्रमण ९१ प्रतिशतले घटेको छ । सन् २०१० यता विश्वमा एचआइभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको सङ्ख्या आधाले घटेको छ । अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुवान्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआइभी सङ्क्रमणमा शतप्रतिशतले वृद्धि भएको छ । एचआइभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा हाम्रो मुलुक पनि एक हो । यस्तै सफलता केन्या, मलावी र जिम्बावेले हासिल गरेका उक्त केन्द्रले जनाएको छ ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर मौसम सफा रहेको बताएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले ती स्थानमा पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।