दक्षिणी लेबनानका गाउँहरूमा सोमबार भएको इजरायली आक्रमणमा नौ जनाको मृत्यु भएको छ । इजरायलले युद्धविरामकै समयमा आतङ्कवादी समूहले दावी गरेको आक्रमणको बदलामा दर्जनौं हिजबुल्लाह लक्षित आक्रमण गरिरहेको बताएको छ । इजरायल र हिजबुल्लाहले सोमबार लेबनानमा हजारौं मानिसहरुको नरसंहार र सीमामा ठूलो विस्थापन निम्त्याएको छ भने युद्धको अन्त्य गर्न बुधबार देखि लागु भएको युद्धविराम उल्लङ्घनको आरोपको सामना गर्नुपरेको छ । इजरायली सेनाले विज्ञप्ति मार्फत लेबनानमा दर्जनौँ पूर्वाधार लक्षित आक्रमण गरेको जनाएको छ । यसै गरी इजरायलले लेबनानमा सम्बन्धित पक्षहरूले जिम्मेवारी पूरा गर्न र हिजबुल्लाहको गतिविधिलाई रोक्न माग गरेको विज्ञप्तिमा उल्लेख छ । लेबनानको स्वास्थ्य मन्त्रालयले ह्यारिस गाउँमा भएको आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएको तथा तल्लुस गाउँमा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाएको छ । यसअघि, हिजबुल्लाहले इजरायल र लेबनानको सीमा क्षेत्रको विवादित भागमा रहेको “कफर शौबाको पाहाडमा इजरायल लक्षित आक्रमण गरेको जनाएको थियो । इजरायली सेनाले हिज्बुल्लाहले विवादित शेबा क्षेत्रमा रहेको आफ्नो चौकी तिर दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहलाई युद्धविराम उल्लङ्घनको आरोप लगाएउदै जवाफ दिने वाचा गर्नु भएको छ भने इजरायली रक्षामन्त्री इजरायल काट्जले पनि कडा प्रतिक्रिया दिने वाचा गर्नु भएको छ । त्यसको केही समयपछि, इजरायली सेनाले लेबनानका लक्ष्यहरूमा आक्रमण गरिरहेको जनाएको थियो । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायलसँगको सीमाबाट करिब २० किलोमिटर टाढाका क्षेत्रहरूमा आक्रमण भएको रिपोर्ट गरेको छ ।
भारतको दक्षिणी राज्य तमिलनाडुमा उद्धारकर्ताहरूले पहिरोमा फसेका चारवटा शव निकालेको बताएका छन् । तमिलनाडुको राजधानी चेन्नईबाट करिब १९५ किलोमिटर पश्चिममा रहेको तिरुवन्नमलाईमा आइतबार भारी वर्षा पछि आएको पहिरोले एउटा आवासीय भवनमा ढुङ्गा खसेको थियो, जसमा सात जना फसेका थिए । अधिकारीहरूले सोमबार ठूला चट्टानहरूले स्क्यानिङ मेसिनहरूलाई फसेका मानिसहरूलाई पत्ता लगाउन गाह्रो बनाइरहेका बताएका छन् । तिरुवन्नमलाईमा सोमबार दोस्रो पहिरो गएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा कुनै मानवीय क्षति भए नभएको तत्काल थाहा नभएको अधिकारीहरुले उल्लेख गरेका छन् ।
मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले इजरायली आक्रमण सुरु भएदेखि गाजामा ३४१ जनाका मृत्यु भएको जनाएको छ । आक्रमणले गाजा पट्टीमा प्यालेस्टिनीहरू बारम्बार विस्थापित भइरहेको चेतावनीसमेत दिएको छ । राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले प्रेस ब्रीफिङ्मा राहतकर्मीहरूले गाजामा अत्यावश्यक सहायता प्रदान गर्न जीवन जोखिममा पारी इजरायली आक्रमणले वर्ल्ड सेन्ट्रल किचनका तीन जना र सेभ द चिल्ड्रेनका एक जना गरी चार जना मानवतावादी कामदारको ज्यान लिएको बताउनु भयो । गत वर्षको अक्टोबरदेखि मृत्यु भएका सहायता कार्मीहरूको सङ्ख्या बढेर ३४१ पुगेको बताउदै उहाँले मानवीय साझेदारहरूले स्थानीय खाद्य प्रणाली सैन्य स्थल सञ्चालन, नागरिक क्षेत्रहरूमा आक्रमणले ध्वस्त पारेको उल्लेख गर्नु भएको छ । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई उद्धृत गर्दै डुजारिकले ५० दिन भन्दा बढी समयदेखि उत्तरी गाजाको बेइट लाहिया, बेइट हानुन र जबल्याका क्षेत्रमा कुनै सहयता नआएको तथा अपवादको रुपमा सोमबार डब्लूएफपीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को नेतृत्वमा मानवीय मिसनको साथ २०० खाना पार्सलहरू बेइत लाहियाको कमल अदवान अस्पतालमा पठाउन सक्षम भएको बताउनु भएको छ । घेराबन्दीको कारण भयाभह मानवीय अवस्थाको बीचमा, नागरिकहरूको नरसंहारको साथै आक्रमण सन् २०२३ अक्टोबर देखि गाजामा नरसंहार निरन्तर भइरहेको छ ।
पोखरा: नेपाली कांग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी कांग्रेस बुढा दिल बहादुर गरुङको आज बिहान १०२ बर्षको उमेरमा निधन भएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले गरुङको पार्थिव शरीरमा आज पोखराको रामघाटस्थित बौद्ध अर्घौसदनमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । श्राद्धञ्जली अपर्ण गर्दै काँग्रेस नेता जोशीले शताव्दी पुरुष स्व.गुरुङ नेपाली काँग्रेसको मात्र नभई सबै पार्टी र समुदायको साझा नेताका रुपमा रहनुभएको स्मरण गर्नुभयो । नेपाली काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभासदस्य समेत रहनुभएका स्व.गुरुङको निधन प्रति दुख व्यक्त गर्दै जारी गर्नुभएको शोक विज्ञप्ति नेता जोशीले पढेर सुनाउनुभएको थियो । पर्वत जिल्ला साविक आर्थरडाँडा घर भई हाल पोखरा महानगरपालिका शिवालयचोक बस्दै आउनुभएका स्व.गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवं काँग्रेस बुढाका नाममा प्रख्यात हुनुहुन्थ्यो । उहाँ तत्कालीन समयमा गाउँ पञ्चायतको संरचना सुरु भएपछि पाँच पटकसम्म वडा अध्यक्ष भएर काम गर्नुभयो भने तत्कालीन स्याङ्जा जिल्ला पञ्चायतको सदस्य समेत रहेर काम गर्नुभएको थियो ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको नतिजाबाट आफ्नो पार्टीले अघि सारेका ‘एजेन्डा’ र अघि बढाउन खोजेको अभियानलाई जनअनुमोदन गरेको पुष्टि भएको बताएको छ । उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि आज वक्तव्य जारी गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित जनप्रतिनिधिको सङ्ख्या र जनमतका हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताउनुभएको हो । आफ्नो नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पु¥याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरका रुपमा उपनिर्वाचनलाई लिइएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई आफ्नो पार्टीले ‘आफ्नो एजेन्डा र आफ्नै एकल पहिचान’का साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशका रुपमा लिएको बताउनुभएको छ । उहाँले जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । राजनीतिक उपलब्धिको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, फेरिएको व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहज रुपमा जनताको घरदैलोमा पु¥याउने महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा रहेको जनाउँदै अध्यक्ष दाहालले माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई जनसेवामा परिचालन गरिने बताउनुभयो । “हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीय तहले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन्, आगामी दिनमा यसलाई बढाउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेन्डामा केन्द्रित रहेर सबै जनप्रतिनिधिलाई पूर्ण रुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध छ”, वक्तव्यमा उहाँले भन्नुभएको छ । अध्यक्ष दाहालले स्थानीय तह उपनिर्वाचनमा आफ्नो पार्टीलाई अमूल्य मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले निर्वाचित सबै जनप्रतिनिधिलाई बधाईज्ञापन गर्नुभएको छ । उहाँले निर्वाचनमा अहोरात्र खट्ने पार्टीका नेता कार्यकर्ता, आम जनसमुदाय तथा निर्वाचन आयोग, राष्ट्रसेवक, सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई धन्यवादज्ञापन गर्नुभएको छ ।
एसिसी यु-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। मंगलबार युएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपालले अफगानिस्तानसँग एक विकेटको जित हात पारेको हो। अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको थियो। नेपालले ४१.३ ओभरमा ९ विकेटको क्षतिमा १२४ रन बनाएको हो। एसिसी यु-१९ एसिया कपमा नेपालको यो पहिलो जित हो। नेपालका लागि नरेन साउँदले सर्वाधिक २६ रन बनाए। कप्तान हेमन्त धामीले २२ रन र अर्जुन कुमालले २१ रन बनाएका थिए। अफगानिस्तानका लागि फैसल खानले अर्धशतक प्रहार गर्दा अरू ब्याटर सस्तैमा आउट भए। सन्तोष यादवको बलमा एलबिडब्लूको धरापमा पर्नुअघि उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। त्यसअघि नेपालले उत्कृष्ट सुरूआत गरेको थियो। नेपालले अफगानिस्तानका दुवै ओपनरलाई शून्यमा आउट गरेको थियो। खेलको पहिलो ओभरको तेस्रो बलमा नेपालका कप्तान हेमन्त धामीले अफगानिस्तानका ओपनर तथा कप्तान महबुब खानलाई शून्यमा बोल्ड गरे। अर्को ओभरमा अभिषेक तिवारीले अर्का अफगान ओपनर उजाइरुल्लाह निएजाइलाई पनि शून्यमै बोल्ड गरे। त्यसपछि पनि नेपाली बलरले उत्कृष्ट बलिङ गर्दा अफगानिस्तानको इनिङ्ग्स स्लो भएको थियो। युनिस विक्रम सिंह ठकुरी र सन्तोष यादवले अफगानिस्तानका मध्यक्रमका ब्याटरलाई खुलेर खेल्न दिएनन्। दुवैले तीन तीन विकेट लिए। युनिसले १० ओभरमा तीन मेडन राख्दा २४ रन खर्चिए। सन्तोषले ४.४ ओभरमा २२ रन दिए। कप्तान हेमन्त र अभिषेकले दुई दुई विकेट लिन सफल भए। हेमन्तले आठ ओभरमा एक मेडन राख्दा ३७ रन दिए। अभिषेकले ६ ओभरमा १७ रन खर्चिए। समूह ‘बी’ मा रहेका दुवै टोली यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन्। दुवै टोलीले यसअघि श्रीलंका र बंगलादेशविरूद्ध हार ब्यहोरेका थिए।
काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका चार जना पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बागटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन् । उहाँले भन्नुभयो, “सुमन भोज र अमित यादवलाई सोमबार पक्राउ गरिएको हो भने सुमन कुमार तथा ब्रजेस कुमारलाई आज पक्राउ गरिएको हो । उनीहरुबिरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थपका लागि अदालत लगिएको छ ।”
काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजसँग लज्जास्पद पोखरा एभेन्जर्सले हार ब्यहोरेको छ । पोखरालाई ८७ रनले चितवनले सहजै जीत निकालेको हो । १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखराले १३.२ ओभरमा अल आउट हुँदैं जम्मा ७४ रन मात्र बनाउन सक्यो । कप्तान कुशल भुर्तेल गोल्डेन डक आउट भए । अन्य ब्याटरको पनि खासै सम्झनलायक प्रर्दशन रहेन । नारायण जोशीले भने २४ बलमा ३० रनको योगदान दिए । यसअघि चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ अङ्कमा पुगेको छ । आज विभिन्न तीन सय सात कम्पनीका एक करोड ८१ लाख ६० हजार ३४ हजार कित्ता शेयर रु आठ अर्ब ५२ करोड १२ लाख १९ हजार दुई सय ९९ दशमलव ६७ मा कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा उपसमूहतर्फ ट्रेडिङ पाँच दशमलव ९६ प्रतिशतले बढेको भने फाइनान्स, जलविद्युत्, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा पनि हरियाली देखिएको छ । साथै बाँकी उपसमूहमा रातो देखिएको छ । दुई वटा कम्पनी दिव्यश्वरी जलविद्युत् लिमिटेड र इन्ग्वा जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खानीखोला जलविद्युत्, जोशी जलविद्युत् विकास कम्पनी र सुपर मादी जलविद्युत् कम्पनीको शेयर मूल्य समान नौ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यसैगरी अपर स्याङ्गे जलविद्युत् लिमिटेडको नौ दशमलव ५१ प्रतिशत, जानकी फाइनान्स कम्पनी लिमिटेडको छ दशमलव १८ प्रतिशत, गुँरास लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ४६ प्रतिशत, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ४६ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य तीन दशमलव ४४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।