काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्...

खोटाङ:   यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गर्नुभएका राई जिल्लाकै पहिलो किबी किसान हुनुहुन्छ ।  सुरुका वर्षमा प्रति केजी रु चार सय सम्मले बिक्री गर्नुभएका उहाँले यसवर्ष बोटमै किबी पाकिसक्दा पनि टिप्नुभएको छैन । उहाँको फार्ममा करिब ४ हजार किलो किबी उत्पादन भएको अनुमान गरिएको छ । किबीका बेर्नासमेत उत्पादन गर्दै आउनुभएका राईले गत वर्ष मात्र रु १४ लाख बढीको बेर्ना बिक्री गर्नुभएको थियो । करिब २५ रोपनी जमिनमा किबी खेती गर्नुभएका राईले यस वर्ष बिक्री हुने सम्भावना नभएपछि ‘वाइन’, ‘हुस्की’, ‘जुस’ लगायतका पेयपदार्थ बनाउने तयारी गर्नुभएको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका दोर्जी शेर्पाले करिब ६० रोपनीमा किबी खेती गर्नुभएको छ । एघार वर्षअघिदेखि किबी खेती सुरु गर्नुभएका शेर्पाको फार्ममा यसवर्ष ११ हजार केजीभन्दा बढी किबी फलेको छ ।  शेर्पाले उत्पादन गर्नुभएको किबी दिक्तेलबजार, हलेसी, धरान, विराटनगर, काठमाडौँलगायतका ठाउँमा बिक्रीका लागि पु¥याउने गरिएको छ । जिल्लाका स्थानीय हाटबजार तथा पसलहरुमा प्रतिकेजी रु एक सयदेखि रु एक सय ५० सम्ममा किबी बिक्री भइरहेको छ ।  विगतमा फार्मबाटै बिक्री भएको किबी यसवर्ष आफैँले ढुवानी खर्च व्यहोरेर बिक्रीका लागि बजार पठाउने गरेको शेर्पाले बताउनुभयो । “मेरो फार्ममा ३ सय ७५ वटा वयस्क बोट छन् । एउटै बोटमा १ सय ५० केजीसम्म फलेको छ । दुईवटा बोटको मात्रै टिपेर बिक्री गरिरहेको छु”,  उहाँले भन्नुभयो, “यो वर्ष सबै बोटको किबी बिक्री हुने सम्भावना कम छ । गत वर्षमा बिक्री गरिएको ठाउँ (धरान, विराटनगर, काठमाडौँलगायत)मा सम्पर्क गरिरहेको छु । त्यहाँ पनि बजार छैन भन्दै आएका छन् । यदि, दाना बिक्री नभएको खण्डमा वाइन, जुस र माडा बनाएर बिक्री गर्ने सोचमा छु ।”  किबी बिक्री नहुने सम्भावना बढेपछि शेर्पा चिन्तित हुनुहुन्छ । किबी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा किसानले चाहेजस्तो आम्दानी गर्न नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राई बताउनुहुन्छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै गत वर्ष १५ मेट्रिकटन उत्पादन भएकामा यो वर्ष बढेर ४० मेट्रिक टन भन्दा बढी उत्पादन भएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो । गत वर्ष १५ मेट्रिकटन मात्र उत्पादन भए पनि यो वर्ष भने बोट वयस्क हुँदै गएपछि उत्पादनमा वृद्धि भएको हो ।  नगरपालिकाको सात हेक्टर खेतीयोग्य जमिनमा व्यावसायिक किबी खेती रहेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिनुभयो । “किबी उत्पादन बर्सेनि बढ्दै जाने फल हो ।  जति वयस्क हुन्छ उतिनै उत्पादन पनि बढ्दै जान्छ ।  त्यही भएर यो वर्ष उत्पादनमा वृद्धि भएको हो”, उहाँले भन्नुभयो, “गत वर्ष दश मेट्रिकटन किबी किसानले बिक्री गरेका थिए । प्रति केजी रु एक सय ६० का दरले हिसाब गर्दा रु १६ लाख हुन आउँछ । यो वर्ष पनि रु १ सय ५० कै दरले अनुमान गर्दा ४० मेट्रिकटनको रु ६० लाख बराबरको हुन्छ ।” नगरपालिकामा थप ३५ हेक्टरमा १५ हजार किबीको बिरुवा रोपिएको जनाइएको छ । यसमध्ये नगरपालिकाले सात हजार र जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन परियोजनाले आठ हजार बिरुवा किसानलाई निःशुल्क वितरण गरेको छ ।  फलफूल खेतीबाटै नगरवासीको समृद्धि हासिल गर्ने लक्ष्य लिइएकाले उत्पादन, प्रशोधन र बजारीकरणलाई जोड दिइएको नगर उपप्रमुख विशन राईले बताउनुभयो ।किबी लगायतका फलफूल प्रशोधन गर्न नगरपालिका–६ नेर्पाको तालखर्कमा रु एक करोडभन्दा बढीको प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।  जिल्लाका अधिकांश लेकाली भेगमा बसोबास गर्ने किसानले पछिल्लो समय व्यावसायिक किबी खेती सुरु गरेका छन् । एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किबीको व्यावसायिक खेती सुरु गरेका किसान आफूले उत्पादन गरेका किबी बिक्री हुने छाडेपछि चिन्तित बनेका छन् ।   

काठमाडौं:     उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताले रु ५० करोडसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने बताउनुभएको छ ।  भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सुरु भएको दुईदिने २९औँ साझेदारी शिखर सम्मेलनको पूर्ण सत्रमा मन्त्री भण्डारीले विदेशी लगानीकर्ताहरूले अनलाइन प्रणालीमार्फत स्वतः पूर्वस्वीकृति प्राप्त गर्ने जानकारी दिनुभयो ।  त्यसैगरी, एफडिआईको थ्रेसहोल्ड रु पाँच करोडबाट घटाएर रु दुई करोडमा पु¥याइएको र सूचना प्रविधि क्षेत्रमा लगानीको थ्रेसहोल्ड नभएको सो अवसरमा मन्त्री भण्डारीले सम्मेलनमा जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “हामीले नेपालमा व्यापार गर्न नीतिगत र कानुनी पक्षमा सुधार गर्न ध्यान केन्द्रित गरेका छौँ, लगानीकर्तालाई दर्ता र सुविधा उपलब्ध गराउन १४ एजेन्सीलाई एउटै छानामुनि ल्याएर वन स्टप सर्भिस सेन्टर (ओएसएससी)स्थापना गरिएको छ ।” मन्त्री भण्डारीले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताहरूले आफ्नो लगानीको नाफा र पुँजीको ‘ग्यारेन्टी’सहित उच्च दरमा प्रतिफल प्राप्त गरिरहेका बताउनुभयो ।  उहाँले भन्नुभयो, “बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय व्यापार सम्झौतामा हाम्रा प्रतिबद्धताले नेपाललाई अन्तर्राष्ट्रिय व्यापारका लागि सबैभन्दा उदार र खुला बजार बनाएको छ ।”   नेपालमा नवप्रवर्तन, उद्यमशीलता र लगानीलाई प्रवद्र्धन गर्न सक्षम व्यापारिक वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “नियामक ढाँचालाई थप सुधार गर्न हाम्रा साझेदारहरूबाट प्रतिक्रिया र सुझावका लागि हामी खुला छौँ ।” मन्त्री भण्डारीले शिखर सम्मेलनमा भएको छलफल र विचार विमर्शले दिगो विकास, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र समृद्धिलाई अगाडि बढाउन अर्थपूर्ण साझेदारीका लागि मार्ग प्रशस्त गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो, “आर्थिक समृद्धिका हाम्रा साझा लक्ष्यलाई साकार पार्न पुँजी, नयाँ प्रविधि र विशेषज्ञता ल्याई हामीसँग साझेदार हुन सम्भावित क्षेत्रमा अन्वेषण गर्न म विश्वभरका व्यवसाय र लगानीकर्तालाई आमन्त्रित गर्दछु ।” ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय नारासहित नेपालले पर्यटन, जलविद्युत्, कृषि, औषधि र सुगन्धित वनस्पति, सूचना प्रविधि तथा उत्पादन जस्ता क्षेत्रमा लगानीका प्रशस्त अवसर प्रदान गरेको सो सम्मेलनमा मन्त्री भण्डारीले बताउनुभयो ।  उहाँले भन्नुभयो, “अहिले हामी द्विपक्षीय र त्रिपक्षीय व्यवस्थाका साथ हाम्रा छिमेकी मुलुक भारत र बङ्गलादेशमा विद्युत् निर्यात गर्ने अवस्थामा छौँ ।” साथै मन्त्री भण्डारीले नेपालले भारतसँगको आफ्नो बलियो र ऐतिहासिक सम्बन्धलाई महत्व दिएको उल्लेख गर्दै दुई देशको साझा इतिहास, सांस्कृतिक सम्बन्ध र आर्थिक अन्तर–निर्भरतामा यो सम्बन्धको जरा गहिरो रुपमा गाडिएको बताउनुभयो ।  नेपालमा पर्यटन र प्रत्यक्ष वैदेशिक लगानीका हिसाबले भारत सबैभन्दा ठूलो स्रोत देश रहेको उहाँले उल्लेख गर्नुभयो । सम्बोधन गर्नु पूर्वभारतीय समकक्षी पियुष गोयलले मन्त्री भण्डारीको स्वागत गर्नुभएको थियो ।  

अछाम:    नेपाल सरकारको प्राथमिक  योजना हो, सेती लोकमार्ग । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो लोकमार्ग आर्थिक वर्ष २०६५÷६६ बाट निर्माण सुरु गरिएको थियो ।  सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाको निर्माण भने सुस्त  गतिमा भइरहेको छ ।भारतसँग जोडिएको कैलालीको टीकापुरस्थित तीकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य रहेको छ ।  नेपाल(भारत–चीन) जोड्ने बहुउपयोगी यो सडक निर्माण गर्न दक्षिणखण्ड र उत्तरीखण्ड गरी दुई भागमा विभाजन गरिएको छ ।लोकमार्गको दक्षिणखण्डअन्तर्गत अछाम तर्फको ८० किलोमिटर,  बाजुरा १२ किमी, डोटी ४० किमी र कैलालीको ७२ किमीसहित २ सय ४ किमी सडक खण्ड पर्दछ ।  जसमध्ये अछाममा ५७ किमी र कैलालीमा ७० किमीसहित एक सय २७ किमी ट्र्याक खोलिएको आयोजनाले जनाएको छ । अछामखण्डको २३ र कैलालीको २ किमी, डोटीको ४० र बाजुराको १२ किमी ट्याक खोल्न बाँकी रहेको छ ।सडक विभागले बजेट सुनिश्चितता नगर्दा र दक्षिणीतर्फको डोटी खण्डको ४० किमी ट्र्याक खोल्न रूख कटानको आदेश नआउदा निर्माणको काम अवरुद्ध भएको थियो ।  हालै मन्त्रिपरिषद्बाट रुख कटानको आदेश आएपछि चालु आर्थिक वर्षमा काम अगाडि बढाइने सेती लोकमार्ग (दक्षिण खण्ड)टीकापुर–लोडे–चैनपुर सडक योजना कार्यालय साँफेबगरका प्रमुख वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।  यस लोकमार्गमा आवश्यक केही प्रस्तावित पक्की पुलमध्ये कैलालीतर्फ एउटा पुलको निर्माण सम्पन्न भएको छ  भने दुई वटा पुल निर्माणाधीन अवस्थामा छन् ।  त्यस्तै अछामतर्फ एउटा पुलको निर्माण सम्पन्न भएको छ भने थप एउटा पुल बोलपत्र प्रक्रियामा छ । उत्तरीखण्डअन्तर्गत बझाङ जिल्लामा १ सय २८ किलोमिटर सडक पर्दछ । कैलाली खण्डमा १४ किमी सडक कालोपत्रका लागि ठेक्का भइसकेको छ भने अछाम खण्डमा तीन किलोमिटर कालोपत्र भइसकेको छ ।  यस लोकमार्गको कुल लम्बाइ ३ सय ५९ किमी रहेको छ । चालु आर्थिक वर्षका लागि उत्तरी र दक्षिणीखण्डमा गरी रु ७० करोड बजेट विनियोजन गरिएको छ । लोकमार्गको १४४ किमी पहिलो पटक पैदलयात्रा सुदूरपश्चिमको गौरव आयोजनाका रूपमा रहेको लोकमार्गको एक टोलीले पहिलोपटक पैदलयात्रा गरेर अवलोकन गरेको छ । सडक योजना कार्यालय साँफेबगरका प्रमुख वीरेन्द्रबहादुर चन्दको टोलीले हालै साँफेबगरदेखि कैलालीसम्मको  एक सय ४४ किमी यात्रा गरेर सडकखण्डको वस्तुस्थित बुझेको हो ।  यो दूरी पार गर्न प्राविधिक टोलीले छ दिन लगाएको थियो । पहिलोपटक स्थलगत अवलोकन गरी दक्षिणखण्ड भित्रपर्ने सडक र पुलको अवस्थाबारे जानकारी लिइएको उहाँले बताउनुभयो । सेती लोकमार्ग निर्माण भए सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्नेछ । यहाँको पर्यटकीय क्षेत्रमा पनि उल्लेखनीय टेवा पुग्नेछ । यसले नेपालको चार धाममध्येको वैद्यनाथ धाम क्षेत्र, खप्तडलगायत क्षेत्रको प्रवर्द्धन तथा सहज पहुंँचमा सहयोग हुनेछ । यस्तै, भारतबाट मानसरोवर क्षेत्र जाने तीर्थयात्रीहरूलाई पनि सहज हुनेछ ।

काठमाडौंमा जारी  पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ ।   चितवनले  १ सय १२ रनको लक्ष्य पाएको थियो ।    निर्धारित १७.१ ओभरमा ५ विकेट गुमाउँदै  चितवनले लक्ष्य भेटेको हाे ।   चितवनका लागि सन्तोष कार्कीले ३१ बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक २८ रन बनाए ।   लुक बेन्केनस्टेइनले १७ बलमा १ चौका र २ छक्काको २२ रन बनाए । उनी जेर्हाड एरास्मसकाे बलमा एलबिडब्लु धरापमा परे ।   ओपनर हसन इसाखिलले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा १२ रन जोडे । कप्तान कुशल मल्ल र रवि बोपाराले समान ११ रन जोडे ।   शरद भेषवाकर ११ रनमा नट आउट रहे । काठमाडौंका लागि साहब आलमले ३ तथा डान डाउथवेट तथा जेर्हाड एरास्मसले समान १ विकेट लिए ।   त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । आज दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।   पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा पोखरामा पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ ।   चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा यही पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा महानगरपालिका १० रामघाटस्थित पुन समाजको कोर्टमा प्रतियोगिता सञ्चालन गरिने संयोजक राजकुमार गुरुङले जानकारी दिए ।   उनका अनुसार खुला पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।   यस्तै उपविजतो बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।   महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।   संयोजक गुरुङका अनुसार  पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।    प्रतियोगितामा पुरुषतर्फ सहभागिता जनाउनका लागि नगद रु ६ हजार र महिलातर्फ सहभागिता जनाउनका लागि नगद रु २ हजार शुल्क निर्धारण गरिएको सचिव अर्जुन गुरुङले बताए ।   उनका अनुसार टिम दर्ता फोनमार्फत (९८५६०६६३४४,९८४६३४२०२३, ९८४७८००३८९ र ९८१७१८४७७९) पनि गर्न सकिने छ ।    

काठमाडौं:     आज सुनको मूल्य प्रतितोला रू १ हजार २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला रू एक लाख ५० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू १ लाख ४९ हजार ३ सय कायम भएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला रू २५ ले घटेर रू १ हजार ८ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ ।  

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्नुभएको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गर्नुभयो ।   यसैगरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुखहरुसमेत प्रधानमन्त्री ओलीको बिदाइका लागि विमानस्थल पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई यसअघि नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।  बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले आफ्ना चिनियाँ समकक्षी लीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष झाओ लेजीले भेट गर्नुहुने कार्यतालिका छ ।   भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रम तथा बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत हुनुुहुन्छ ।   प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी यही मङ्सिर २० गते स्वदेश फर्कने कार्यतालिका छ ।

काठमाडौं:   पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई सामान्य लक्ष्य दिएको छ ।  लिगको दोस्रो दिनको पहिलो खेलमा काठमाडौंले चितवनलाई १ सय १२ रनको लक्ष्य दिएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो ।   काठमाडौंका लागि सुमित महर्जनले ४१ बलमा सर्वाधिक २९ रन जोडे । महर्जन १७औं ओभरको पाँचौं बलमा रिजन ढकालको बलमा आउट भए ।   माइकल लेभिटले १६ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए ।   काठमाडौंले दोस्रो विकेटका रुपमा आउट भएका लेभिटलाई तन्भिरको बलमा आउट गराएका थिए । लेभिट चौथो ओभरको चौथो बलमा दीपक बोहोराबाट समातिए ।   काठमाडौंले पहिलो विकेटका रुपमा ओपनर स्टेफन स्किनाजीलाई सोहेल तन्भिरले आउट गराए । स्किनाजी २ बलमा ४ रन बनाएर अमरसिंह राउटेलाको हातबाट समातिए ।   तेस्रो विकेटका रुपमा काठमाडौंले अर्का विदेशी खेलाडी जेरार्ड एरास्मसलाई ४ बलमा ४ रनमा गुमायो ।   उनलाई चितवनका कप्तान कुशल मल्लले बोल्ड आउट गराए । चौथो विकेटका रुपमा भीम सार्की ४ बलमा १ रन बनाउँदै तन्भिरको बलमा एलबिडब्लु धरापमा परे ।   पाँचौ विकेटका लागि शंकर राना तथा सुमित महर्जनले २९ रनको साझेदारी गरे । शंकर दशौं ओभरको तेस्रो बलमा अमरसिंह राउटेलाको बलमा आउट भए । शंकर १७ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन बनाउँदै आउट भए । शंकर विकेटकिपर विपिन रावलबाट क्याच भएका थिए ।   तेह्रौं ओभरको पहिलो बलमा लुक बेन्केनस्टेइनद्वारा राशिद खान ९ बलमा ४ रन बनाउँदै आउट भए ।   राशिद शरद भेषवाकरद्वारा समातिएका थिए । डान डाउथवेटले १८ बलमा नट आउट १९ रन जोडे ।   चितवनका लागि तन्भिरले ४ ओभरमा २१ रन खर्चिएर ५ विकेट लिए ।   एनपिएल एकै बलरले लिएको यो पहिलो पाँच विकेट हो । रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टेइनले समान १ विकेट लिए ।   शनिबारबाट सुरु लिगमा आज दुई खेल हुदैछ । आज हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।   पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

म्याग्दी:     म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् ।  रघुगङ्गा गाउँपालिका र नेलम्बो नेपाल पोखराको आयोजनामा शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको शिविरबाट १ हजार १ सय २७ जनाले सेवा लिएका हुन् ।  रघुगङ्गा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख टीकाबहादुर शाहीले ७ सय ८५ महिला र ३ सय ४२ जना पुरुषले शिविरबाट सेवा लिएका जानकारी दिनुभयो ।  शिविरमा हाडजोर्नी तथा नशा, छाला, सामान्य चिकित्सा, स्त्रीरोग, नाक, कान घाँटी र दाँत रोगसम्बन्धी बिरामीको स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, इसिजी, प्रयोगशालासँगै परामर्श र निःशुल्क औषधि वितरण गरिएको छ ।  शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य, चिकित्सक विनोद बराल, विशाल सापकोटा, मनिसा बराल, दीक्षा क्षेत्रीसहित २० जना बढीको स्वास्थ्यकर्मीको टोलीले सेवा दिनुभएको थियो ।  रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीले बेग, भगवती, पिप्ले, दग्नाम, झिँ, पाखापानी, चिमखोला र कुइनेमङ्गलेका बासिन्दाले सेवा लिएका बताउनुभयो ।  भौगोलिक विकटता, आर्थिक अभाव र पारिवारिक समस्याका कारण उपचार सेवा नपाएका बिरामीलाई लक्षित गरेर शिविर आयोजना गरेको उहाँले बताउनुभयो ।  भौगोलिकरुपमा टाढा रहेका वडा नम्बर ४, ५, ६, ७ र ८ का सर्वसाधारणलाई शिविरमा ल्याएर स्वास्थ्य उपचार लिनका लागि वडाको समन्वयमा यातायातको प्रबन्ध मिलाइएको थियो ।  चिकित्सकबाट स्वास्थ्य उपचार सेवा लिन गाउँ छाडेर सदरमुकाम बेनी, बागलुङ, पोखरा पुग्नुपर्ने बाध्यता शिविरले हटाएको शिविरमा स्वास्थ्य उपचार गर्न आउनुभएका रघुगङ्गा गाउँपालिका–२ भगवतीका ८६ वर्षीय लेठबहादुर खत्रीले बताउनुभयो ।  शिविरमा रघुगङ्गा गाउँपालिकाका स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण र उपचारमा सघाएको वडा नं २ का अध्यक्ष अमृत भण्डारीले बताउनुभयो ।