काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्...

काठमाडौं:   युएईमा जारी यु–१९ एसिया कप क्रिकेटमा प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ ।   दुबईको सारजाह क्रिकेट रङ्गशालामा भएको टसमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्नेछ ।   प्रतियोगिताबाट बहिरिसकेका दुवै टोली पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।   अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलङ्कासँग १३१ रनले पराजित भएको थियो ।   एसिसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् ।   प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र स्वत छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका थिए ।   समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।   समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

बेइजिङ:   नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।   चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको होे ।   वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेको हो ।

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई बलियो लक्ष्य दिएको छ ।   एनपिएलको चौथो खेलमा विराटनगरलाई सुदूरपश्चिमलाई १ सय ८३ रनको बलियो लक्ष्य दिएको हो । मंगलबारको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रनको बलियो योगफल तयार गर्यो ।   सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले नट आउट रहँदै सर्वाधिक ५७ रन जोडे । उनले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे ।   ब्रेन्डन मक्मेलनले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन जोडे । पाँचौ ओभरको अन्तिम बलमा अनिल खरेलको बलमा ३ बलमा ७ रन जोडेका मक्मेलनको स्टपिङ आउट गराउन विराटनगरका विकेटकिपर लोकेश बम चुकेका थिए ।   विनोद भन्डारीले २० बलमा ४ चौकाको सहयोगमा २३ रन जोडे । दोस्रो विकेटका रुपमा सुदूरपश्चिमले ओपनर विनोदलाई गुमाएको थियो । विनोद पाँचौ ओभरको चौथो बलमा अनिल खरेलद्वारा आउट भए ।   इशान पान्डेले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । १७औं ओभरको पाचौं बलमा इशान रन आउट भए ।   त्यसअघि पहिलो विकेटका रुपमा सुदूरपश्चिमले अमित श्रेष्ठलाई १ रनमा गुमाएको थियो । अमित दोस्रो ओभरको अन्तिम बलमा इस्मत आलमको बलमा मार्टिन गप्टिलबाट समातिए ।   आरिफ शेखले ५ बलमा २ चौकाको सहयोगमा ९ रन जोडे । आरिफ छैठौं ओभरको चौथो बलमा बसिर अहमदको बलमा निकोलस किर्तनबाट क्याच आउट भए । सेफ जेबले १५ बलमा १ छक्काको सहयोगमा १४ रन जोड्दै अनिल खरेलको बलमा बोल्ड आउट भए ।   विराटनगरका लागि अनिल खरेलले ३ तथा इस्मत आलम, बसिर अहमद र क्रिस सोलले समान १ विकेट लिए ।   मंगलबारको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुदैछ ।

नुवाकोट:   सडक निर्माणको जिम्मेवारी लिएर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि पूर्वाधार विकास कार्यालय नुवाकोटले खोजी थालेको छ ।   जिल्लाको शिवपुरी गाउँपालिका–४ स्थित आइतरामपाटी–पुणीभञ्याङ हुँदै सिक्रे मैदान, तलाखु, छाप सडक स्तरोन्नतिको जिम्मा लिएको केबिएनएस–केबिके जेभीलाई कार्यक्षेत्रमा फर्किएर काम सुरु गर्न कार्यालयले खोजी थालेको हो ।   निर्माणको सम्झौता र सडक शिलान्यास गरेर अहिलेको काम गर्नुपर्ने मुख्य समयमा निर्माण व्यवसायी सम्पर्कमा नआएपछि कार्यतालिकाअनुसार काम अघि बढाउन पत्राचारमार्फत खोजी थालिएको कार्यालय प्रमुख सुजन थापाले जानकारी दिनुभयो ।   उहाँका अनुसार गत जेठ १७ मा भएको सम्झौता र कात्तिक ६ मा भएको सडक शिलान्यासपश्चात पनि काम नभएपछि निर्माण व्यवसायीलाई कार्यक्षेत्रमा फर्केर कामलाई शीघ्र अघि बढाउन पत्राचार गरिएको छ ।   “गत आर्थिक वर्षको बहुवर्षीय ठेक्काअनुसार दुई वर्षभित्र सडक स्तरोन्नतिसहित कालोपत्र गर्न ठेक्का लगाइएको हो”, उहाँले भन्नुभयो, “सम्झौतापश्चात छ महिनासम्म काम अघि बढाउन निर्माण व्यवसायीले चासो नदिएपछि पुनः दबाब दिने उद्देश्यले गत कात्तिक ६ मा पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महतमार्फत शिलान्यास गरेर काम गर्न निर्देशन दिए पनि व्यवसायीले अटेर गरेका छन् ।”   बीस वर्षअघि ट्रयाक खोलिएको उक्त सडकको करिब छ किलोमिटर स्तरोन्नतिसहित कालोपत्र गर्न रु १६ करोड ३० लाखमा केबिएनएस–केबिके जेभीले ठेक्का लिएको थियो ।   निर्माणको जिम्मा लगाउने समयमा भएको सहमतिअनुसार काम नभएपछि योजना कार्यान्वयनका लागि बजेटको स्रोत सुनिश्चितता गर्ने बागमती प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री बहादुरसिंह लामाले निर्माण सुरु गर्न ढिलो नगर्न पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिनुभएको छ । सोपश्चात कार्यालयले निर्माण व्यावसायीलाई कार्यक्षेत्रमा फर्कन खोजी थालेको हो ।

बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ ।   शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई युवालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–५ गढीमाईका १९ वर्षीय अजयराम चमार र जितेन्दरराम चमार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहन पोखरेलले जानकारी दिनुभयो ।   “शहीद लखन गाउँपालिकामा जम्मा नौवटा मात्रै वडा छ ।   उनीहरुले प्रयोग गर्दै आएको आर्थिक सहयोगको पत्रमा ११ नं वडा लेखिएको छ”, उहाँले भन्नुभयो, “पत्रमा उनीहरू जन्मदेखि लाटो र कान नसुन्ने भनेर लेखिएको रहेछ । तर, उनीहरू मजाले बोल्ने र सुन्ने क्षमताका छन् । त्यसैले उनीहरू दुवै जनालाई पक्राउ गरेर कारबाहीका प्रक्रिया अगाडि बढाएका छौँ ।”   शहीद लखन गाउँपालिका वडा नं ११ ले आर्थिक सहयोगका लागि भनेर दिएको पत्रमा वडाध्यक्षले मङ्सिर १० गते हस्ताक्षर गरेर सिफारिस दिएको देखिन्छ । तर, सिफारिसपत्रमा हस्ताक्षर गर्ने वडाध्यक्षको नाम भने उल्लेख छैन ।   प​क्राउ परेका दुवै जनाविरुद्ध अवैध चन्दा ऐनअन्तर्गतको कसुरमा खोटाङ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।   प्रहरीले उनीहरूको साथबाट विभिन्न कागजपत्र, नक्कली बिरामीको फोटो र नगद रु १७ हजार सात सय ६० बरामद गरेको जनाएको छ ।   पक्राउ परेका उनीहरूले एक जना व्यक्तिबाट बढीमा रु एक हजारसम्म सहयोग रकम भनेर लिएको देखिएको प्रहरीले जनाएको छ ।   पक्राउ परेका उनीहरू दुवै जनामाथि कीर्ते जालसाजीसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

पर्वत:  नागरिकलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतमा चालु आर्थिक वर्षमा १ सय ९ वटा योजना सञ्चालन हुने भएका छन् ।   जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा सङ्घीय र गण्डकी प्रदेश सरकारका गरी एक सय नौ योजना सञ्चालन हुने भएका हुन् ।   सङ्घीय सरकारअन्तर्गत ३४ र गण्डकी प्रदेशअन्तर्गत ७५ वटा योजनामा बजेट विनियोजन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ ।   गण्डकी प्रदेशअन्तर्गत कुश्मा नगरपालिकामा २६, फलेबास नगरपालिकामा १९, जलजला गाउँपालिकामा १०, पैँयु गाउँपालिकामा नौ, मोदी गाउँपालिकामा चार, महाशिला गाउँपालिकामा चार र विहादी गाउँपालिकामा तीन वटा योजनामा बजेट विनियोजन भएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिनुभयो ।   उहाँका अनुसार सङ्घीय सरकारअन्तर्गत फलेबास नगरपालिकामा पाँच, कुश्मामा दुई, माशिलामा तीन, मोदीमा दुई, जलजला र पैँयुमा तीन वटा योजना रहेका छन् ।   यसबाहेक सङ्घीय शसर्त अनुदानबाट १६ योजना सञ्चालन हुने उहाँले बताउनुभयो । चालु आर्थिक वर्ष विसं २०८१÷८२ मा ७५ योजनाका लागि गण्डकी प्रदेश सरकारबाट रु ११ करोड ४० लाख र १८ योजनाका लागि सङ्घीय सरकारबाट रु एक करोड ५९ लाख बजेट विनियोजन भएको छ ।   यसैगरी सङ्घीय शसर्त अनुदानअन्तर्गत १६ योजना पुनःस्थापना गर्न रु ९८ लाख बजेट विनियोजन भएको छ ।   योसहित चालु आर्थिक वर्षमा रु १३ करोड ९७ लाख बजेट प्राप्त भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।   कार्यालयका अनुसार योजनाको लागतअनुसार बजेट विनियोजन नहुँदा यस वर्ष अधिकांश योजना पूर्ण रूपमा सम्पन्न नहुने भएका छन् ।   बजेट अद्यावधिक गरी केही थप भएमा निर्माणाधीन अवस्थामा रहेका १२ योजना चालु आवमा सम्पन्न हुने कार्यालय प्रमुख पौडेलले बताउनुभयो । गत आवभन्दा रु छ करोड बजेट घटेर आएकाले पनि सबै योजना निर्धारित समयमा सम्पन्न हुन नसक्ने उहाँको भनाइ छ ।   “योजना बढी छन्, बजेट सीमित छ । त्यसैले अन्तिम चरणमा रहेका योजनालाई पूर्णता दिनेगरी काम गरिरहेका छौँ”, कार्यालय प्रमुख पौडेलले भन्नुभयो । प्रत्येक योजनामा न्यूनतम रु पाँच लाखदेखि बढीमा रु ६४ लाखसम्म बजेट विनियोजन भएको छ ।   जिल्लाका सबै परिवारमा खानेपानीको पहुँच पु¥याउने सरकारको योजनाअनुसार चालु आवमा बजेट विनियोजन भएका सबै योजना कार्यान्वयनमा गइसकेका कार्यालयले जानकारी दिएको छ ।   पर्वतमा अन्य संस्थागतबाहेक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत हालसम्म १६ हजारभन्दा बढी परिवारमा ‘एक घर, एक धारा’ विस्तार गरिएको छ ।   चालु आवमा सञ्चालित योजनाहरूले पूर्णता पाएमा दुई हजारभन्दा बढी घरमा ‘एक घर एक धारा’ विस्तार गर्न सकिने कार्यालयले जनाएको छ ।

मोरङ:   जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।   जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।   झापाको तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी नगरपालिका–३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङ्गवा, कन्काई नगरपालिकाका–९ का ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बङ्गाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ, सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।   उहाँका अनुसार निजहरूको साथबाट नगद रु दुई लाख ७२ हजार चार सय ३०, भारतीय रुपैयाँ दुई हजार छ सय ३०, सुनजस्तो देखिने बिस्कुट आठ थान, विभिन्न पहेँलो धातुको तिलहरी चार थान र अन्य सुनका गरगहना बरामद भएको छ ।   निज आरोपितहरूलाई प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, मोरङ र सुनसरी प्रहरीको सहयोगमा सुनसरीस्थित इटहरीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक चिमरियाले बताउनुभयो । 

पोखरा:    ६ वर्षपछि लेखनाथको भण्ढारढिकमा आयोजना हुन लागेको २५ औं सस्करणको आदर्श कपको उद्घाटन खेलमा आयोजक र एन्फा तनहुँ भिड्ने भएका छन् ।   कुल ८ टिमको सहभागिता रहने प्रतियोगितामा आदर्श युवा क्लबले आज खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेलमा आयोजक र तनहुँ भिड्ने जानकारी दिएको हो ।   कलबका अध्यक्ष पदम गुरुङले उक्त खेल दिनको १ बजे सुरु हुने बताए ।    अध्यक्ष गुरुङका अनुसार अर्काे दिन दोस्रो खेल नेपाल सिद्धिदल गण पश्चिम पृतना हेक्वा र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयबीच हुनेछ ।   यस्तै २४ गते कास्की ११ र एन्फा स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । २५ गते  नेपाली प्रहरी गण्डकी प्रदेश र एन्फा गोरखा भिड्नेछन् ।    २६ गते पहिलो सेमिफाइनल र २७ गते दोस्रो सेमिफाइनल खेल हुने अध्यक्ष गुरुङले जानकारी दिए । फाइनल भने २९ गते दिउँसो १ बजे सञ्चानल गरिने छ ।     सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।    यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।   विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।   यो पनि पढ्नुहोस   ६ वर्षपछि लेखनाथमा आदर्श कप, उपाधि राशी ४ लाख २५ हजार  

पोखरा:    गण्डकी विश्वविद्यालयको आयोजनामा दोस्रो संस्करणको कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।   मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म पोखरा रंगशालामा दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।    प्रतियोगितामा गण्डकी प्रदेशका माध्यमिक विद्यालयले सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक डा. मधुसुधन सुवेदीले जानकारी दिए । सोमबारदेखि टिम दर्ता खुला गरिएको सुवेदीले बताए । उनका अनुसार दर्ता शुल्क २५ सय तोकिएको छ ।    उक्त प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्ने प्रतियोगिता संयोजक सुवेदीले बताए । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १५ हजारको व्यवस्था गरिएको छ ।   प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा सञ्चालित स्नातक तहको खेलकुद व्यवस्थापन समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरिएको खेलकुद व्यवस्थापन संकायको संयोजक सुवेदीले बताए ।   विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ ।   २०७९ मा भएको प्रथम कुलपति रनिङसिल्ड फुटबलको उपाधि कालिका माध्यमिक विद्यालयले जितेको थियो । २०७७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा पठनपाठन हुँदै आएको छ ।