काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्...

काठमाडौं:      नेपाल र चीनबीचको सम्बन्धलाई  पर्यटनका माध्यमबाट पनि अझ सुमधुर गर्दै दुवै देशको भ्रमणमा एकअर्काका नागरिकलाई प्रेरित गर्ने उद्देश्यले पर्यटन व्यवसायी, विमान कम्पनीहरूसँगको साझेदारीमा बुधबार यहाँ चाइना कल्चरल सेन्टर (सिसिसी)द्वारा ‘निहाओ चाइना’ कार्यक्रम आयोजना गरियो ।    चीनको राष्ट्रिय ध्वजावाहक एयर चाइना, चाइना सदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स र चाइना नेशनल टुरिष्ट कार्यालय काठमाडौँले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा यहाँस्थित सिसिसीे कार्यालयका निर्देशक सियाओ जियाङले कार्यक्रमका माध्यमबाचट नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटन तथा त्यहाँका पर्यटकीय गन्तव्यबारे बुझ्न मद्दत पुगेको बताउनुभयो ।  उहाँले चिनियाँ र नेपाली पर्यटन व्यवसायीबीचको सम्बन्ध स्थापना, सूचना आदानप्रदान र भावी सहकार्यका निम्ति अवसर मिल्ने विश्वास व्यक्त गर्नुभयो ।  चाइना नेशनल टुरिष्ट अफिसका मोहन सुवालले पर्यटकीय उत्पादन, चिनियाँ खाना, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा र चिनियाँ पर्यटनका अन्य सम्पदाको बारेमा जानकारी दिनुभएको थियो ।  कार्यक्रममा नेपाली पर्यटन व्यवसायीका साथै गुआङ्सी गुआङ्दा टुरिजम इन्भेष्टमेन्ट कम्पनी, तिब्बत यती इन्टरनेशनल ट्राभल सर्भिस र सिचुआन मिङ्यान ट्राभल एजेन्सीका चिनियाँ पर्यटक कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो । नेपाल भ्रमण वर्ष २०२५ लाई सफल पार्न तथा नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा द्विदेशीय पर्यटन प्रवद्र्धनका कार्यक्रम उपयोगी हुने कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका थिए ।

काठमाडौँ:  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।   आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ ।   राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ र बिक्रीदर एक सय ७२ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।   केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।   यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा कायम भएको छ ।   केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकिएको छ ।   यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा तोकिएको छ ।   राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७४ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८० पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३९ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ९७ पैसा तोकेको छ ।   यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।   राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सोलुखुम्बु:  जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ ।   वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो ।   सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब पाँच सय मिटर लामो पहिरो बस्तीतर्फ सर्दैछ, जसले स्थानीयवासी त्रसित छन् ।   स्थानीय चित्रकुमारी कार्कीले जलविद्युत् आयोजना निर्माणका क्रममा निस्किएको माटो अनियन्त्रित रूपमा थुपारिँदा पहिरोको जोखिम थप बढेको बताए ।   यसले बस्ती र जग्गा दुवै जोखिममा पारेको उहाँले बताए ।   स्थानीय तेजबहादुर कार्कीले यस क्षेत्रमा ३० वर्षअघि पनि यहाँ पहिरो गएकामा उस्तै अवस्था दोहोरिन लागेको भन्दै फेरि स्थानीय त्रासमा रहेको बताए ।   “वर्षायाममा त समस्या हुन्छ नै, यहाँ त सुख्खायाममा पनि पहिरो जाने गरेकाले समस्या भएको छ । यसको उचित व्यवस्थापन नभए बस्ती नै विस्थापित हुने जोखिम छ”, उनले भने ।   सोलुदुधकुण्ड नगरपालिका–११ का अध्यक्ष टङ्कबहादुर कार्कीले पहिरोका कारण एक सयभन्दा बढी घर जोखिममा रहेको बताए  ।   उनले भने, “हिउँदको समयमा समेत पहिरो गइरहेकाले गाउँ नै जोखिममा छ, यो पहिरो यही गतिमा बढ्दै जाने हो भने सय डेढ सय घरपरिवार विस्थापित हुने अवस्था आउँछ । पहिरो विस्तार हुँदै गइरहेकाले यसको रोकथामका लागि तत्काल काम गर्न आवश्यक छ ।”   वडाध्यक्ष कार्कीले पहिराले स्थानीयको दैनिकी नै प्रभावित भइरहेको बताए  । स्थानीय चित्रकुमारी बस्नेतले पहिरोका कारण सुख्खायाममा पनि ढुक्कले सुत्न नपाएको सुनाइन् ।   “राति निन्द्रा नै लाग्दैन । जहिले पनि पहिरोले हाम्रो घर पुरेर लैजान्छ कि भन्ने डरले हामीलाई सताइरहन्छ । बाउबाजेदेखिको सम्पत्ति भनेको यही घरबारी थियो, यही अवस्था रहेमा यो केही बच्नेवाला छैन”, उनले दुःखेसो पाेखिन् ।   करिब ३० वर्षअघि सामान्य रहेको पहिरो यही मङ्सिर १२ गतेपछि मात्रै करिब पाँच सय मिटर फैलिएको उहाँले सुनाइन् ।   स्थानीयका अनुसार पहिरोले नजिकै रहेको उतिसको जङ्गलसहित गोरेटो बाटोसमेत कटान गरिसकेको छ । त्यसभन्दा माथि रहेको खेतीयोग्य जमिन चिराचिरा भएको छ ।   पहिरो बस्ती नजिकको सडकछेउ पुगिसकेको छ । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले पहिरो क्षेत्रको वस्तुस्थिति आँकलन गर्न जिल्ला सुरक्षा समितिको टोलीले पहिरोग्रस्त क्षेत्रको निरीक्षण गरेको बताए ।   उनले जलश्रोत तथा सिँचाइ सब डिभिजन कार्यालय र ओखलढुङ्गाको भू–जलधार संरक्षण कार्यालयका विज्ञसहतिको टोलीले समेत पहिरोग्रस्त क्षेत्रको अध्ययन सुरु गरेको बताए ।   “स्थानीय प्रशासन नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सधैँ सचेत छ । पहिरो रोकथाम र नागरिकको जिउधनको सुरक्षामा हामी हदैसम्म गम्भीर छौँ, यसका लागि कुनै कसर बाँकी राख्ने छैनौँ तर समग्र अवस्थाको आँकलन गरी पहिरो रोकथामका लागि विज्ञ टोलीले थप अध्ययन गर्न आवश्यक छ । यसका लागि तिनै तहका सरकारबीच समन्वय गरी अगाडि बढ्नुपर्छ”, प्रजिअ घिमिरेले भने । 

दमौली:   तनहुँको व्यास नगरपालिका–११ स्थित बागेश्वरी सडक दश दिन बन्द गरिने भएको छ ।   उक्त मार्गको बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरिएकाले दश दिन बन्द गरिएको हो ।   बुधबारदेखि दश दिनका लागि उक्त खण्डमा सवारीसाधन आवतजावत रोक लगाइएको बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईले जानकारी दिए ।   उक्त मोटरमार्गको घाँसीकुवादेखि बरभञ्ज्याङसम्म भने सवारीसाधन सञ्चालन गर्न सकिनेछ । उक्त खण्डमा कालोपत्र समेत गर्न लागिएको छ ।   बाटो खुलेको ३१ वर्षपछि सडक कालोपत्र सुरु गरिएको हो । सङ्घीय सरकारबाट रु चार करोड बजेट विनियोजन भएपछि सडकको कालोपत्रलगायत स्तरोन्नतिको काम सुरु गरिएको भट्टराईले बताए ।   व्यास नगरपालिका–११ देखि भानु नगरपालिका–६ जोड्ने खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको उनले बताए ।   पहिलो चरणमा व्यास नगरपालिका–११ शेरादेखि ढुङ्गाखानीसम्म करिब एक किलोमिटर खण्ड कालोपत्र हुनेछ । जसअनुसार पाँच दशमलव पाँचदेखि सात दशमलव पाँच मिटरसम्म चौडाइ र नाला निर्माण गरिने जनाइएको छ ।   हालसम्म ८ सय ५० मिटर सडक कालोपत्र भइसकेको छ । अध्यक्ष भट्टराईले भने, “सडक खुलेको ३१ वर्षपछि यसको स्तरोन्नतिको काम भइरहेको छ । सडक कालोपत्रसँगै यस भेगका जनतालाई आवतजावतमा सहज हुनेछ ।'

काठमाडौँ:  ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ ।   हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् । विशेष गरी यहाँ पर्यटकीय ‘सिजन’ असोज-मङ्सिरमा पर्यटकको चहलपहल बाक्लै हुने गरेको छ ।   यसपटक पनि त्यस्तै देखियो तर यहाँका व्यापारी, व्यवसायीहरूले भने यसपटक ठमेलमा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति देखिए पनि आर्थिक गतिविधि भने नबढेको बताएका छन् ।   ठमेल क्षेत्रका व्यवसायीको भनाइमा यो सिजनमा सङ्ख्यात्मक रूपमा बढी नै आए पनि खर्चालु (हाइन्ड) पर्यटक भने आएनन् ।   अर्थात् मुख्य पर्यटकीय सिजनमा ठमेल क्षेत्रमा विदेशी पर्यटक धेरै सङ्ख्यामा आए पनि उनीहरूबाट हुने आर्थिक गतिविधि विगतको तुलनामा सन्तोषजनक रहेन ।   ठमेलको सुस्मिता क्रियसन इन्टरप्राइजेजका प्रबन्ध निर्देशक नवराज थापा अघिल्ला वर्षको तुलनामा यो वर्ष खर्चालु पर्यटक नआएकाले व्यापार राम्रो नभएको बताए । “पर्यटकको उपस्थिति बाक्लै देखिन्छ तर किनमेल गर्ने खालका पर्यटक देखिएनन्”, नौ वर्षदेखि यहाँ व्यवसाय गर्दै आएका उनले भने,“ यो सिजनमा खर्च गर्ने पर्यटक आएनन्, पर्यटक मात्रै आए । ट्रेकिङ पसलमा फाट्टफुट्ट व्यापार छ, अन्यमा खासै छैन । कहिलेकाही त सुको व्यापार हुँदैन ।”   ठमेलका सडक गल्ली र चौकमा विदेशी पर्यटक लस्करै भेटिन्छन्, सायद गन्तव्य घुमेर स्वदेश फर्किने तरखरमा छन् उनीहरू ।   व्यवसायी थापाका अनुसार भारत, चीन र बङ्गलादेशी नागरिकले ठुलो परिमाणमा पस्मिनालगायत सामग्री खरिद गर्ने गरे पनि युरोपियन र अमेरिकी पर्यटकले गुणात्मक अर्थात् महङ्गा सामान खरिद गर्छन् ।   पछिल्लो समय चिनियाँ सामग्री आएर यहाँको पस्मिना व्यापार पनि समस्यामा छ ।   “विगतमा नेपाली पस्मिना रुचाउने पर्यटक हाल नक्कली सामानको बिगबिगी भएकाले खासै किन्ने रुचि देखाउँदैनन् । ठमेलमा मात्रै डेढदेखि दुई सय हाराहारीमा रहेका यस्ता पसलमा उत्साहजन कारोबार छैन”, व्यवसायी थापाले भने ।   ठमेलमा एक हजार दुई सयभन्दा बढी पसल रहेको बताइन्छ । आर्थिक समस्याले कतिपय व्यवसायीले सटर बन्द गर्नुपर्ने अवस्था आएको छ ।   यहाँ गोरखा भूकम्पबाट ओरालो लागेको व्यापार व्यवसाय अझै राम्रोसँग तङ्ग्रिन सकेको छैन । भूकम्पअघि दैनिक रु ५० हजारदेखि एक लाख कमाएको अनुभव रहेका थापाले अहिले सिजनमै मुस्किलले रु १० हजार कमाइ हुने गरेको बताए ।   कम्फर्ट मनिचेन्जर प्रालिका सञ्चालक लव अर्याल पनि पर्यटकीय सिजनमा विदेशीहरूको उपस्थिति बाक्लै देखिए पनि व्यवसाय उत्साहजनक नरहेको बताए ।   शरद ऋतु पर्यटनको मुख्य सिजन मानिन्छ । यसयाममा विशेषगरी पदयात्रा, पर्वतारोहण, मनोरञ्जनका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गरेका छन् ।   ठमेल २४ सै घण्टा खुले पनि रात्रिकालीन व्यवसाय राम्ररी चलेको छैन । राति ठमेलका क्लब, डिस्को, डान्स र दोहोरी खुले पनि रक्सी पसलसमेत बन्द रहन्छन् ।   फाट्टफुट्ट सडकमा चिया र केही क्याफे खुलेका देखिन्छन् । ठमेलको सातघुम्तीमा विगत लामो समयदेखि नेवा कोल्डस्टोर सञ्चालन गरिरहेका अजय विन्दाकारको बुझाइमा पनि यो सिजनमा पर्यटक आए पनि व्यापार व्यवसाय छैन ।   “यसपटक मान्छे (विदेशी पर्यटक) छन् तर व्यापार व्यवसाय सन्तोषजनक छैन । आर्थिक मन्दीकै कारण पनि होला, किनमेल गर्ने पर्यटक छैनन् । होटलमा बासबस्ने र रेष्टुरेन्टमा सामान्य खर्च गर्ने पर्यटक मात्रै छन्” उनले भने ।   ठमेलको द नर्थफिल्ड क्याफेका कर्मचारी प्रकाशराज गिरी पनि यस सिजनमा पर्यटकीय चहलपहल रहे पनि होटल रेष्टुराको व्यापार राम्रो हुन नसकेको सुनाए ।   ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले यो सिजनमा पर्यटक आए पनि आर्थिक गतिविधि उत्साहजनक नरहेको बताए ।   “यसपटक बजेट टुरिस्ट धेरै आए, खर्च गर्ने पर्यटक आएनन् । पर्यटकको बसाइँ पनि कम भयो”, उनले भने, “यसपटक मौसमले पनि साथ दिएन । गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढी पहिरोलगायत प्राकृतिक विपत्तिका घटनाले पर्यटन क्षेत्रमा नकारात्मक असर प¥यो ।”   विगत वर्षमा धेरै पर्यटकका कारण ठमेलका होटल भरिभराउ हुन्थे । सोही कारण मूल्य पनि बढ्ने गरेको सुनाउदै पर्यटन व्यवसायी शर्माले यस वर्ष त्यस्तो हुन नसकेको बताए ।   उनले भने, “यो वर्ष मौषमले साथ दिएन, त्यसैमा खर्चालु पर्यटक नआएकाले ठमेलका व्यापार व्यवसायमा उत्साह देखिएन ।”   शर्माका अनुसार ठमेलमा करिब १२ हजार व्यापारिक फर्म छन् । त्यसमा पदयात्रा र पर्वतारोहणका सामग्रीको कारोबार गर्नेहरू बढी छन् । होटल सङ्घ नेपालका महासचिव साजन शाक्यका अनुसार यसपटकको सिजनमा ठमेल क्षेत्रका होटलमा करिब ८० प्रतिशत ‘अकुपेन्सी’ थियो ।   यो सन्तोषजनक नै हो तर व्यापार भने विगतमा जस्तो उत्साहजनक हुन नसकेको उनकाे भनाइ छ ।   विदेशी पर्यटक पदयात्रा, पर्वतारोहण र घुमफिर सकेर अहिले धमाधम स्वदेशतिर फर्किरहेका छन् ।   नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ मा १० लाख १४ हजार सात सय ७८ विदेशी पर्यटक नेपाल आएका थिए ।

काठमाडौँ:  हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ ।   कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।   विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।   त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।   शुक्रबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

सुन्तलाखेती प्रवद्र्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको छ ।   महोत्सव सञ्चालनका लागि रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाले रु पाँच लाखका दरले रु १० लाख प्रदान गरेका महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुँवरले जानकारी दिए ।   महोत्सव सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर हुने उनले बताए ।   सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सव रैनादेवी छहरा गाउँपालिका–५ कनौजेपानी खेलमैदानमा हुनेछ । गत वर्ष पनि रिब्दीकोट गाउँपालिकाको आयोजनामा सुन्तला महोत्सव भएको थियो ।   महोत्सवमा कृषि उपज, कागती, अमिलो, जुनार, मुन्तला पनि समावेश गरिने उनले जानकारी  दिए । रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाका पाँच सय बढी किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका छन् ।   उनीहरूले गत वर्ष रु ४६ करोडको सुन्तला बेचेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

काठमाडौँ:  त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात् स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ ।   समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ ।   समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको जानकारी दिनुभयो ।   उहाँका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदैछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछ ।   समारोहमा विसं २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७३ हजाार नौ सय ९५ जना ‘ग्रेस लिस्ट’ भएका विद्यार्थी दीक्षित हुँदैछन् । समारोहमा विभिन्न १७ वटा पदकसमेत प्रदान गरिने छ ।   उहाँले प्रमुख अतिथिको टुङ्गो लाग्न बाँकी रहेको बताउनुभयो ।

पोखरा:  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्की को १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ को मार्चपासमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल विजयी बनेको छ ।   पोखरा महानगरपालिका १ मोहरीयाटोलमा अवस्थित विन्ध्येश्वरी आदर्श अन्य विद्यालयलाई पछि पार्दै विजयी बनेको हो ।   मार्चपासमा मेरिगोल्ड दोस्रो स्थान हाँसिल गर्याे भने, ढुङ्गे साँघु विद्यालय तेस्रो बन्यो ।   यसैगरी हार्भड, सोसल पब्लिक, फिस्टेल र विभुती शिक्षा सदन विद्यालय सान्त्वना स्थान हाँसिल गरे ।   पोखरा रंगशालामा सुरु भएको १८ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको औपचारिक उद्घाटन खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका थिए ।   सो अवसरमा बोल्दै मन्त्री चौधरीले कास्की प्याब्सनले नेपाली खेलकुदमा खेलाडी उत्पादनमा अहम भूमिका खेलेको बताउँदै आफ्ना विद्यार्थीहरुलाई राष्ट्रियता, अनुशासन, मेहनत र लगनशिलतालाईसमेत आत्मसात गराउनु पर्नेमा जोड दिएका थिए ।   १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा प्याब्सन कास्कीका ९९ विद्यालयमध्ये ८८ विद्यालयहरुको सहभागिता रहेको छ ।