पोखरा: नेपाल लोकतान्त्रिक पर्यटन ब्यावसायी संघ, गण्डकी प्रदेश सहित पोखराका पर्यटन व्यवसायीले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा विद्यमान समस्या लगायतका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्मरणपत्र प्रस्तुत गरेका छन् । संघका गण्डकी प्रदेश संयोजक सोमबहादुर थापामगर सहित पोखराका पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिले विभिन्न विषयमा मन्त्री पाण्डेलाई स्मरणपत्र प्रस्तुत गर्दै समसामयिक विषय बारे जानकारी गराएका हुन् । संयोजक थापाले प्रस्तुत गर्नुुभएको स्मरणपत्रमा पर्यटनका लागी आवश्यक गुणस्तरीय विकासका लागि पूर्वाधार नभएको भन्दै सडक सञ्जाल कमजोर, विमानस्थल बनेर पनि उडान हुन नसक्नुु दुःखदायी अवस्था भएको भनिएको छ । प्राकृतिक संकट व्यवस्थापन अर्को चुनौती बनेको बनेको उल्लेख गर्दै संघले पूर्वानुमान गर्न नसक्नु र तत्काल रेस्पोन्स गर्न नसक्नुुले सरकारी निकाय प्रतिको विश्वास घट्दै गएको भनिएको छ । पर्यटन क्षेत्रको बजारीकरण कमजोर बन्दै जानुु, पर्यटन बोर्डले आफ्नो कार्य क्षेत्र र उद्देश्य विपरित बजेट विनियोजन गर्नु, आर्थिक अनियमितता जस्ता विषय समस्याका रुपमा देखिएको जनाइएको छ । एउटै व्यवसाय धेरै ठाउँमा दर्ता गर्ने व्यवस्थाले व्यवसायी पटक पटक केन्द्र धाउनुुपर्ने अवस्थामा सहजीकरण गर्नुुपर्ने, वातावरणीय प्रभावका नाममा व्यवसायीले पाइरहेको दुुःख स्मरणपत्रमा उल्लेख गरिएको छ । पदयात्रा पर्यटनमा सम्भावना भएका र पदयात्राको हिसावले ख्याति कमाएका क्षेत्रमा विना अध्ययन निर्मित सडक व्यवस्थित गर्नुुपर्ने भन्दै संघले पर्यटकीय क्षेत्रमा मौलिक घरका संरचना संरक्षणका नीति नै बनाएर अघि बढ्नुुपर्ने सुुझाएको छ । त्यस्तै पर्यटकसँग लिइने प्रवेश शुल्क एक द्वार प्रणालीबाट उठाइ स्थानीय सरोकारवालाको माग सम्बोधन गर्नुुपर्ने, व्यवसायीलाई अझ आकर्षित गर्न उत्प्रेरणा जगाउनुुपर्ने, व्यवसायी पलायन रोक्नुुपर्ने नेपालमा भएका ट्राभल्स, ट्रेकिंङ्ग र ¥याफ्टीङ्ग एजेन्सिजलाई विभिन्न देशमा शाखा खोल्न प्रेरित गर्नुपर्ने लगायतका विषय उल्लेख गरिउको छ । विदेशी मुद्रा कारोवारमा डिजिटल भुक्तानी प्रक्रृया सहज बनाउनुुपर्ने लगायतका विषयमा सुुझाइएको छ । नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज(नारा) का पूर्व केन्द्रीय अध्यक्ष निम मगरले सरकारले जलयात्राका लागि अनुमतिपत्र दिए पनि ठाउँ ठाउँमा बाँधहरू बनाइँदा आँफूहरूको जलयात्रा पर्यटन प्रभावित बनेको बताउनुुभयो । उक्त अवसरमा रेष्टुुरेन्ट एण्ड बार एशोसिएसन(रेवान) पोखराका पूर्व अध्यक्ष चौबहादुर गुरुङ, पर्यटन व्यवसायी सुकबहादुर गुरुङ लगायतले पर्यटन क्षेत्रका समस्या बारे जानकारी गराउनुुभएको थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पर्यटन विभागका संयोजक आङ्गेलुु शेर्पा र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघका केन्द्रीय संयोजक दीपक महतले मन्त्री पाण्डेसँगको भेटघाटलाई संयोजन गर्नुुभएको थियो ।
काठमाडौं: गएरातिदेखिको लगातारको वर्षाले मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार बिहान टर्किस एयरलाइन्सको जहाज भारतको लखनउ र एयर इन्डियाको विमान बनारस ‘डाइभर्ट’ भएको छ । अन्तर्राष्ट्रिय उडानका आकाशमै ‘होल्ड’ भएका विमान अहिले अवतरण भइसकेका छन् । आन्तरिकतर्फ वर्षाले नियमित उडान प्रभावित भएको छ । निर्धारित उडान केही समय पछि सारिएको विमानस्थलले जनाएको छ । वर्षा रोकिएसँगै भिजिबिलिटीमा सुधार आएपछि अहिले विमानस्थलबाट हुने उडान नियमित सञ्चालन भइरहेको महाप्रबन्धक निरौलाले बताउनुभयो । आन्तरिक उडानमा केही ढिलाइ भए पनि नियमित विमान गन्तव्यमा उडिरहेका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भई भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं: संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुनुहुन्छ । नेपाल उद्योग परिसङ्घले आज शोक विज्ञप्ति निकालेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । स्वर्गीय अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । पशुपति आर्यघाटमा आजै उहाँको अन्तिम संस्कार गरिने परिसङ्घले जनाएको छ ।
काठमाडौं: देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेङ्गीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो । गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन् । डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन् । काठमाडौँ उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७, झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन् । त्यसैगरी, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो । हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन ।
काठमाडौं: सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु दुई हजार तीन सयले घटेको छ । सोमबार प्रतितोला रु एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण भएको छ । तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा रु ६० ले घटेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार सात सय ८५ मा कारोबार भएकामा आजका लागि रु एक हजार सात सय २५ निर्धारण भएको छ ।
बागलुङ: बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । ती घरमा मानिस भएनभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताउनुभयो ।
काठमाडौं: हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहने तथा सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै सबै प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ । साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्र्यान बहाव, बाढी र पहिरोको क्षतिबाट जोगिन विभागले आग्रह गरेको छ ।
काठमाडौं: नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको सेमिफाइनलमा इरान प्रतिद्वन्द्वी पाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । माल्दिभ्समाथि २५–६, २५–१९, २५–१८ को सहज जित निकाले पनि नेपाल लिगमा दोस्रो बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले चार खेलबाट नौ अङ्क बनायो । नेपालले यसअघि श्रीलङ्कालाई ३–० र भारतलाई ३–२ को सेटमा हराएको थियो । तेस्रो खेलमा भने नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । चार खेलबाट सात अङ्क बनाएको इरानले तेस्रो बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । यस्तै सोमबार नै भएको खेलमा भारत श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै शीर्षस्थानमा रह्यो । भारतले श्रीलङ्कामाथि २५–१३, २५–२१, २५–२० को नतिजा निकालेको थियो । जितसँगै भारतले चार खेलबाट १० अङ्क बनायो । हारेपनि चार अङ्कसहित शीर्ष चारमा अटाएको श्रीलङ्का र भारतबिच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । माल्दिभ्स यसअघिकै प्रतियोगिताबाट बाहिरिएको थियो । माल्दिभ्सले लिग चरणमा सबै हार खेप्यो ।
काठमाडौं: काठमाडौं महानगरपालिका–३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडकमा कैलाली धनगढी उपमहानगरपालिका–२ घर भई हाल काठमाडौं आलोकनगर बस्ने २२ वर्षीय मनत केसीलाई खुकुरी प्रहर गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली फिकल गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने १८ वर्षीय अनिष मगर, दैलेख महावु गाउँपालिका–४ घर भई हाल आलोकनगर बस्ने २६ वर्षी कुमार पण्डित तथा दार्चुला बाँज घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार हात्ती डाँडा बस्ने १९ वर्षीय प्रेमसिंह महरा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । खुकुरी प्रहारबाट घाइते भएका केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट प्रहरीले एक थान खुकुरी बरामद गरेको छ । उनीहरुमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।