पोखरा: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको संझावनालई उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी कोटिहोममा बिहिबार प्रमुख अथितिको रुपमा सहभागि मन्त्री भट्टराइले पट्नेरीको विकासमा जनतासंसगै रहेको बताइन् । ‘यहाँहरुले दुइदुइ पटक निर्वाचित गराइसक्नुभएको छ, म यहाहरुसगैँ छु, यहाँहरु सबैको मायार सद्भावले अगाडी बढिरहेको छुु’ उनले भनिन् । सेती नदी माथी रहेको गुफामा जानका लागि आवश्यक संरचना बनाउन तपाईहरुले माग गर्नुभएको छ यसका लागि मेरो सहयोग रहन्छ’ उनले भनिन् । यस क्षेत्रको विकासका लागि स्थानीयले तयार गरेको परियोजनालाई बजेटको व्यवस्था गर्न सम्बन्धीत मन्त्रालयमा पहल गर्ने मन्त्री भट्टराईले आवश्वासन दिइन् । कोटिहोमका संकल्पकर्ता शोभाकान्त ढकालले यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थान बनाउन सकिने अथाह सम्भावन रहेको जानकारी गराए । सरकारी स्तरबाट बजेटको व्यवस्था गर्न सके ढुङगेसाँघु, पट्नेरी सेती नदि माथी रहेको गुफामा पर्यटक जानको लागि आवश्यक संरचना बनाउने सोचँ सुनाए । २ करोड रुपैया लागानी गर्न सके यस क्षेत्रमा सयौँ पर्यटक आउने र पर्याप्त आम्दानी समेत गर्न सकिने सभावना रहेको उनले जानकारी गराए । धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको संकल्पकर्ता ढकालले मन्त्री भट्टराईलाई अवगत गराएका थिए । गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ प्रमुख बाचक शोभाकान्त ढकाल(कृपालु दास), दिग्र्शनबाचक शिरोमणी दिपक सापकोटा, भागवतमन्जरी पुज्य राधाकिशोरी दासीले लगायतले कथा बाचन गर्नुका साथै हरेक दिन आमन्त्रीत कथाबाचकले कथावाचन गर्ने यज्ञका संयोजक नारायण भण्डारीले जानकारी दिए । प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) को धार्मिक पर्यटकीय केन्द्र बनाउने संकल्पलाई पुरा गर्न अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिले कोटिहोमको आयोजना गरेको हो । मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ ।
पोखरा: नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा न ३२ उपशाखाले गरेको खुल्ला रक्तदानमा २३ युुनिट रगत संकलन भएको छ । उपशाखाको २३ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रमको प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा उपसभापति उर्मिला खड्काले गोगन माविका शिक्षिका यामकुमारी तिलिजालाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि खड्काले रक्तदान जीवनदान भएको बताउनुुभयो । उहाँले रेडक्रसको महत्वबारे प्रकाश पार्नुुभएको थियो । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ उपशाखाका अध्यक्ष विन्दुराज तिवारीले उपशाखाले सामाजिक उत्तरदायित्व बहन गर्दै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै आएको बताउनुुभयो । शाखाका निवर्तमान अध्यक्ष किसान परियारले उपशाखाले आफ्नो स्थापना यता सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउनुुभयो । उहाँले शाखाको ६ कोठ भवन निर्माण कार्य जारी रहेको जानकारी दिनुुभयो । शाखाका अध्यक्ष विन्दुराज तिवारीको सभापतित्व एवम् सचिव विष्णुुबहादुर बस्नेतले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपशाखा उपसभापति बिमला थापा बस्नेतले गर्नुुभएको थियो भने रेडक्रसका सात सिद्धान्तको वाचन देवी तिवारीले गर्नुुभएको थियो । कार्यक्रममा समाजसेवी एवम नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोहनकुमार प्रधान ,समाजसेवी खेमराज अधिकारी, गरिमा विकाश बैकका शाखा प्रमुख सन्तोष अधिकारी, उपशाखाका निवर्तमान कोषाध्यक्ष शरणकुमार प्रधान, शुुभविहानी आमा समूूहका अध्यक्ष हिमकला खत्री लगायतले बोल्नुुभएको थियो । प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग एवम् शुभबिहानी आमा समुहको खाजा ब्यवस्थापनमा भएको कार्यक्रममा विभिन्न संघ सस्थाले आर्थिक, नैतिक एवम् भौतिक सहयोग उपलब्ध गराएको उपशाखाले जनाएको छ ।
काठमाडौं: इतिहासकार पुरुषोत्तम शमशेर राणाको आज निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको ९९ वर्षको उमेरमा निधन भएको उहाँकी बुहारी भगवती राणाले जानकारी दिनुभयो । उहाँका अनुसार राणालाई रक्तचाप कम भएपछि अस्पतालमा भर्ना गरिएको थियो । विसं १९८२ चैत १५ गते चारबुर्जा दरबार अर्थात् हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवनमा उहाँ जन्मनुभएको हो । तत्कालीन जहानिया शासनको प्रतिबन्धका कारण उहाँले पाल्पा दरबारमै अध्ययन गरी युपी बोर्डबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो । उच्च शिक्षा हासिल गर्ने क्रममा भारतको वाराणसीस्थित जयनारायण कलेजबाट इन्टर–मिडियट उत्तीर्ण गर्नुभएका उहाँ बनारस हिन्दू विश्वविद्यालयमा विकम पढ्ने क्रममा क्रान्तिमा लाग्नुभएको थियो । उहाँले राणाकालीन प्रमुख ऐतिहासिक दरबारसम्बन्धी श्री ३ राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरु, लुकेछिपेका प्रतिभाहरु, मेरा जीवनका स्मृतिहरुलगायतका पुस्तक लेख्नुभएको छ । उहाँ रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुनुहुन्छ ।
पोखराको हरित यातायात प्रणाली विकास परियोजना सम्बन्धी अध्ययन प्रतिवेदन कोरियाली टोलीले नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय बिच यस अघि भएको सम्झौता बमोजिम तयार प्रतिवेदन अध्ययन टोलीले नगर प्रमुख आचार्यलाई बुझाएको हो । पोखराको विद्यमान सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै सहज र सरल बनाउने विषयमा अध्ययन टोलीले गहिरो गरी अध्ययन गरी प्रतिवेदन तयार गरेको छ । यसअघि पनि पोखराको सार्वजनिक यातायात प्रणालीको विषयमा स्थलगत अध्ययन गरेको कोरियाली रेलमार्ग अनुसन्धान संस्थानले पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गर्नुपर्ने ३ स्थानमा बस टर्मिनल आवश्यक रहेको बताएको छ । परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ । यसको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुनेछ । पोखराको मुख्य चोक पृथ्वीचोकलाई थप विस्तार गरिनेछ । तिन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गर्ने गरी प्रतिवेदन तयार गरिएको छ । विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियन टोलीले विश्वास दिलाएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीहरूको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिनेछ । प्रतिवेदन अनुसार परियोजनाको अन्त्यमा पोखराको सार्वजनिक सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ । पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । क्याम्पीङ्चोक देखी बगर (बस स्टप १९), निर निवास देखी शान्तिनगर चोक (बस स्टप ११) र नुवारचोक देखी महिमा किराना (बस स्टप १८) सम्म गरी तिन वटा मुख्य बस चल्ने रुटहरू हुनेछन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा पुग्नुका साथै सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरूको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरूलाई सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका लागि पनि यो परियोजना प्रभावकारी हुनेछ । यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को. लिमिटेड सहित विभिन्न दातृ निकायहरूले साझेदारी गर्नेछन् । यस परियोजनाको पाइलोटिङ यही महिनाको अन्त्यबाट सुरु गरिनेछ । यसका लागि आवश्यक स्थानीय व्यवस्थापनको काम पोखरा महानगरपालिकाले गर्नेछ भने, आवश्यक प्रविधि र उपकरणहरू भने कोरियाली टोलीले गर्नेछ । पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा ६ स्थानमा बस स्टपहरू निर्माण गरी परीक्षण गरिनेछ ।
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले घोकन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय माध्यमिक विद्यालय पोखराको हीरक महोत्सवमा विहिबार उनले प्राविधिक शिक्षा, नवीनतम पाठ्यक्रम, र सीपमूलक कार्यक्रमहरू जस्ता शिक्षा नै आजको आवश्यकता रहेको उल्लेख गरे । राष्ट्रिय माध्यमिक विद्यालयले लामो यात्रा पार गर्दै शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भनाई उनको छ । स्थानीय तथा राष्ट्रिय स्तरमा हजारौँ विद्यार्थीलाई ज्ञान, सीप र नैतिकतामा सक्षम बनाउँदै समाज रूपान्तरणमा ऐतिहासिक भूमिका उक्त विद्यालयले खेलेको उनले बताए । विद्यार्थीहरूले विभिन्न क्षेत्र—शिक्षा, राजनीति, विज्ञान, साहित्य, कला र उद्यमशीलतामा पु¥याएको योगदान प्रशंसनिय रहेको भनाई उनको छ । शिक्षा कुनै पनि राष्ट्रको विकासको आधार भएको भन्दै मन्त्री थापाले प्रदेश सरकारले गुणस्तरीय शिक्षा सबैलाई सहज रूपमा उपलब्ध गराउनका लागि विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेको उल्लेख गरे । ग्रामीण तथा शहरी विद्यालयहरूलाई समान रूपमा प्रविधिमैत्री र स्रोतसाधनयुक्त बनाउन संघीय सरकार र स्थानीय तहसँग मिलेर प्रदेश सरकारले आफ्ना गतिविधिहरुलाई अगाडि बढाइरहेको मन्त्री थापाले बताए । राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव केवल उत्सव मनाउने अवसर मात्र होइन यसलाई आगामी दिनमा विद्यालयको स्तरवृद्धि र दिगो विकासका लागि नयाँ योजनाहरू बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा उनको छ । उनले प्रदेश सरकार पनि विद्यालयको भौतिक पूर्वाधार सुधार, डिजिटल शिक्षा प्रविधिको प्रवर्द्धन र गुणस्तरीय पाठ्यक्रमको विकासमा सधैँ तयार रहेको उनले उल्लेख गरे । शिक्षालाई गुणस्तरिय बनाउन प्रदेश सरकारले फ्राइडे फर फ्युुचर, सिक्दै कमाउँदै, अभिभावक शिक्षा लगायतका कार्यक्रमको अवधारणालाई अगाडि बढाएको जानकारी उनले गराएका छन् । प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र भएको अधिकारलाई प्रयोग गर्दै शिक्षामा सुधारन्मुख काम गर्दै आएको भनाई उनको छ ।
चितवन: भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केवल (तार) बिच्छ्याउने कार्य र घरघरमा जडान कार्य (सर्भिस कनेक्सन)को काम बाँकी रहेको छ । अहिले शहीदचोक र पुलचोक क्षेत्रमा काम भइरहेको उहाँले बताउनुभयो । निर्माण कार्य तिव्र पारिएकाले सन् २०२५ को जुलाईसम्म काम सक्ने गरी कार्ययोजना निर्माण गरेर काम गरिएको छ । जमिनको सतहभन्दा माथि देखिने काम र जमिनमा नदेखिने गरी दुई चरणमा विभाजन गरेर काम गरिएको छ । डिभाइस र फाउण्डेसन निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको उहाँले बताउनुभयो । अन्य कामलाई तिव्र गतिमा लैजान निर्माण कम्पनीलाई आयोजनाले आग्रह गरेको छ । सुवेदीले भन्नुभयो, “निर्माण कम्पनीले समय थप गर्न गरेको निवेदनलाई मध्यनजर गर्दै दश महिनाको समय थप गरिएको छ ।” सन् २०२२ को अक्टोबरमा दुई वर्षमा काम सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले ठेक्का सकारेको थियो । पछिल्लो सम्झौताअनुसार महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा भूमिगत मार्फत गर्दै लगिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बसेनीदेखि भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीदेखि पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङ्सम्मको सडक थपिएको छ ।” केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङ्सम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुवाती समयमा रु १ अर्ब ३० करोड वजेट भरतपुरलाई विनियोजन गरिएको थियो । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।
पाल्पा: नागरिकका गुनासो र अपेक्षा सङ्कलन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले ‘जनप्रतिनिधिसँग संवाद’ कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले १० वटै वडामा सुझावसहित गुनासो सङ्कलन गर्ने उद्देश्यले अभियानका रूपमा कार्यक्रम अघि बढाएको हो । स्थानीय सरकारका कामबाट नागरिक सन्तुष्ट छन्रछैनन्, नगरका विभिन्न वडा तथा बस्तीमा भएका प्रगति तथा समस्याबारे स्थानीयसँग प्रत्यक्ष सुझाव सङ्कलन सुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ । जनप्रतिनिधि प्रत्यक्ष रूपमा वडावडामा पुगेर नगरवासीको गुनासो सुन्ने, विकास निर्माणका साथै सामाजिक काम, आवश्यकताका आधारमा बजेट निकासा, पूर्वाधार निर्माणमा भएका प्रगति र ढिलासुस्ती, आगामी कार्यक्रममा महत्वका साथ समावेश गर्नुपर्ने योजनालगायत विषयमा स्थानीयबाट सुझाव लिन अभियान सञ्चालन गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । उहाँले आवश्यक सुझावसहित गुनासो प्रस्तुत गर्न स्थानीयलाई आग्रह गर्नुभयो । नगरपालिकाले वडावडामा सुरु गरेको उक्त कार्यक्रमले वडाभित्रका साना–ठूला सबै समस्या, विकास निर्माणका प्रगति, तत्काल गर्नुपर्ने कामलगायत विषयमा महत्वपूर्ण सुझाव दिन नागरिकलाई अवसर प्राप्त भएको चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक टङ्कनाथ पोखरेलले बताउनुभयो । “नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी सबैको उपस्थितिमा प्रत्यक्ष सहभागी भएर गाउँका समस्या, नागरिकका गुनासो, अपेक्षाअनुसार स्थानीय सरकारबाट भएका काम, आगामी दिनमा सुधार गर्नुपर्ने योजनालगायत विषयमा रचनात्मक सुझाव सङ्कलन गर्ने माध्यम यो कार्यक्रम बनेको छ”, उहाँले भन्नुभयो । नगरपालिकाले वडा नं १ बाट सुरु गरिएको कार्यक्रम दशवटै वडामा सञ्चालन गरिने नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले बताउनुभयो । उहाँका अनुसार वडा नं १ मा सहभागीले टोल विकास संस्थाको काम तथा संस्था दर्ता र सञ्चालनका लागि बजेट विनियोजन, विकास निर्माणसम्बन्धी प्रगति र ढिलाइ, वडामा सञ्चालित योजना सम्झौता, योजनाको नियमित अनुगमन र मुल्याङ्कन, सरकारी संरचनामा बनेका संरचनाको संरक्षण, सडक सुरक्षा, सवारीसाधनको भाडादर कार्यान्वयन, विद्यालयका शिक्षक दरबन्दी, आपराधिक क्रियाकलाप नियन्त्रणका लागि भएका पहल, आयआर्जनमूलक क्षेत्र, कृषि तथा पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक स्तरोन्नतिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट उपलब्ध गराउन सुझाव व्यक्त गरेका छन् । नागरिकबाट आएका सुझाव र वडाका समस्यालाई नगरपालिकाले आवश्यकता र महत्वका आधारमा प्राथमिकता दिएर काम गर्ने नगरप्रमुख थापाले बताउनुभयो । नागरिक र जनप्रतिनिधि एकै ठाउँमा सहभागी भएर नगर तथा वडाका विषयमा संवाद गर्दा तत्काल गर्नुपर्ने काम र समस्या समाधानका विकल्प प्राप्त भएका भन्दै आगामी नीति तथा कार्यक्रममा ती सुझाव समावेश गरी योजना सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो । वडावडामा संवाद कार्यक्रम सुरु गरेपछि जनप्रतिनिधिले नागरिकका समस्या सुन्ने र जानकारी लिने भएकाले आगामी दिनमा योजना कार्यान्वयनमा सहज हुने प्रमुख प्रशासकीय अधिकृत पण्डितले बताउनुभयो । नगरपालिकाले थालेको उक्त कार्यक्रम सिधैँ नागरिकसँग जोडिएकाले नगरको समग्र विकास निर्माणमा महत्वपूर्ण प्रभाव पार्ने उहाँको भनाइ छ । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा नागरिकले जोड दिएका छन् ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीको स्वागतमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यहीँ मङ्सिर १७ गते चीन प्रस्थान गर्नुभएको थियोे ।बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएको थियो । साथै प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली तथा राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श भएको थियो । उहाँको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच विभिन्न सहमतिमा हस्ताक्षर समेत भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत हुनुहुन्थ्यो ।
बागलुङ: बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका ४१ वर्षीय सुरेश कँडेल १० वर्ष अगाडि लन्डन पुग्नुभयो । रोजगारीका लागि विदेशमा राम्रो कमाइ हुने आशाले लण्डन पुग्नुभएका कँडेल पाँच वर्षपछि स्वदेश फर्किनुभयो । विदेशको दुःख देखेपछि स्वदेश फर्किनुभएका उहाँले काठमाडौँमा पाँच वर्ष होटल व्यवसाय गर्नुभयो । होटल व्यवसाय राम्रो भए पनि उहाँलाई गाउँघरको यादले सताइ रह्यो । आधा दशक होटल व्यवसाय गरेका सुरेश अन्तत विसं २०७७ मा गाउँ फर्कनुभयो । उहाँ गाउँ फर्कने समयमा देशभर कोरोना सङ्क्रमणको फैलिँदो थियो । कोरोना सङ्क्रमणका कारण गाउँमा पनि अन्य काम गर्ने वातावरण थिएन । कँडेलका घरमा बाबाआमाले पहिलेदेखि नै सामान्य रुपमा दूध बिक्री गर्दै आउनुभएको थियो । गाउँपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई भैँसी अनुदान दियो । अनुदानमा पाएको भैँसीले सुरेशलाई दूध उत्पादनमा लाग्ने हौसला दियो । उहाँले थप दुई वटा भैँसी लिएर व्यावसायिक रुपमै दूध उत्पादन गर्ने निधो गर्नुभयो । अहिले उहाँ जिल्लामै दुग्ध उत्पादन गर्ने अब्बल किसानका रुपमा परिचित हुनुहुन्छ । सुरेशको भैँसीपालन व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रो हुँदै गएको छ । अहिले उहाँलाई लन्डनमा नमिलेको खुसी भैँसी पालेर मिलेको छ । उहाँले भैँसी पाल्न थालेपछि वरपरका अन्य किसानले पनि व्यावसायिक रुपमा दूध उत्पादनमा लागेका छन् । कँडेललाई अहिले घरपरिवारको पनि दरिदो साथ छ । चार वर्ष अगाडि फार्म दर्ता गर्नुभएका कँडेलले वार्षिक १५ हजार लिटर दूध बिक्री गर्दै आउनु भएको छ । रु २ लाखबाट सुरु गरेको व्यवसायमा हालसम्म रु २५ लाख बढी लगानी उहाँले गरिसक्नुभएको छ । उहाँको फार्ममा हाल ७ उन्नत जातका भैँसी छन् । बागलुङ बजार नजिक रहेको हुँदा दूध खपत राम्रो छ । कँडेलले वार्षिक रु २० लाखको दूध बिक्री गर्दै आउनुभएको छ । विदेशमा दुःख गर्नुभन्दा परिवारसँगै घरगोठ र बारीमा काम गरे पनि राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । लन्डन पुगेका बेला स्पेन, पोर्चुगल, फ्रान्ससमेत घुमेको अनुभव सुनाउँदै त्यो ठाउँमा बस्न मन नलागेपछि स्वदेश फर्किएको कँडेलले बताउनुभयो । विदेशको ठूलो सपना देखे पनि त्यहाँको जति दुःख आफ्नै खेतबारीमा गरे मनलाई सन्तुष्टि मिल्ने र आम्दानी पनि गर्न सकिने उहाँको भनाइ छ । “विदेशमा गएपछि सजिलै कमाइ हुन्छ भन्ने सोचेको थिएँ, त्यहाँ गएपछि दुःख त्यहाँको कामलाई हेरेर म आफ्नै ठाउँमा फर्किन्छु भनेर फर्किएँ, केही वर्ष होटल व्यवसाय गरे, त्यहाँ राम्रै भएको थियो, मलाई सहर बजारभन्दा गाउँनै ठिक लाग्यो र यहाँ आएँ”, कँडेलले भन्नुभयो, “अहिले मलाई गाउँ फर्किएकोमा कुनै पश्चाताप छैन, मैले जे गरे ठिक गरेँ जस्तो लाग्छ, मैले दुई वटा भैँसीबाट परीक्षणका लागि दूध उत्पादनमा लागेको थिएँ, अहिले मलाई लन्डनभन्दा भैँसीगोठमा सन्तुष्टि मिलेको छ ।” कँडेलले गाउँमा सहर बजारभन्दा केही दुःख भए पनि सम्भावना धेरै रहेको बताउनुभयो । पछिल्लो समय धेरै युवाको रोजाइ विदेश रहेको सुनाउँदै त्यहाँ (विदेश) गर्ने दुःख आफ्नै पाखा पखेरामा गरे राम्रो आम्दानी गर्न सकिने र आनन्दको जीवनयापन हुने उहाँको भनाइ छ । भैँसी पालेर दूध बिक्रीबाट आफ्नो परिवार राम्रोसँग चलेको कँडेल बताउनुहुन्छ ।