निसान फर्काइएको सडकमा पदयात्रा सुरु
इलाम | पुस २४, २०८१

इलाम: भारतसँग नेपाल एकीकरणमा पूर्वतर्फको सीमामा विजयपश्चात् गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्ने उद्देश्यले आजदेखि निसान मार्ग पदयात्रा शुभारम्भ भएको छ ।
नेपाली सेनाको इलामस्थित रणसार्दुल गणसहित जिल्लाका तीन वटा पालिकाको समन्वयमा आज पुस २४ गतेदेखि २६ गतेसम्म पदयात्रा सञ्चालन हुनेछ ।
आज बिहान नेपाल–भारत पूर्वी सीमा मेची बजारबाट पदयात्राको शुभारम्भ भएको हो । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले इलाम नगरपालिकाका प्रमुख केदार थापालाई नेपालको झण्डा हस्तान्त्रण गरी पदयात्राको शुभारम्भ गर्नुभयो ।
आज निसान राखिएको ठाउँ पुर्णेडाँडामा बास बस्ने कार्यक्रम रहेको छ । ४१।१ किलोमिटरको पदयात्रामा करिब दुई सयले एकैपटक यात्रा गर्ने आयोजकले जानकारी दिएको छ ।
पदयात्राको टोलीले २५ गते पुनः सोही स्थानबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको इलाम नगरपालिकाका वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटनपछि फेरि निसान फर्काइएको गोरेटो सटकमा नै पदयात्रा हुनेछ ।
निसान बास बसेको माइजोगमाई गाउँपालिकाको नामासालिङस्थित हात्तीटारमा भोलि २५ गतेको बास बस्ने कार्यक्रम तय भएको छ । पुस २६ गते बिहान नामसालिङको हात्तीटारबाट सुरु भएको पदयात्रा माई बेनी, तिल्केनी हुँदै हाल निसान रहेको इलाम सदरमुकाममा पुग्नेछ । सदरमुकामस्थित माई स्थान मन्दिरमा हाल निसान र तोप राखिएको छ ।
निसान नेपाल एकीकरणसँग सम्बन्ध जोडिएको ऐतिहासिक सम्पत्तिका रूपमा लिइन्छ । नेपाल एकीकरणसँग ऐतिहासिक सम्बन्ध जोडिएको निसानको महत्व युवा पिँढीले भुल्दै गएको भए पनि पछिल्लो समय यसको जगेर्नामा स्थानीय तह जुटेका छन् ।
नेपालको पूर्वी सीमा कुनै बेला टिस्टा नदीसम्म पुगेको इतिहास छ । तत्कालीन समयमा नेपाली सेनाको वीरताको प्रतीकका रूपमा त्यहाँ राखिएको दुई सय वर्ष ४८ वर्ष पुरानो निसान फर्काइएको सडकमा पैदल यात्रा गरिने भएको हो ।
जिल्ला सदरमुकाम समेत रहेको इलाम नगरपालिका, भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका र निसानबीचमा राखिएको माईजोगमाई गाउँपालिकाको संयुक्त आयोजनामा पदयात्रा गर्न लागिएको हो । निसानसँग नेपाली सेनाको छुट्टै र ऐतिहासिक नाता भएका कारण पनि नेपाली सेनाले यसको संरक्षण गर्दै आएको छ ।
सदरमुकाममा राखिएको निसान २०५९ सालमा तत्कालीन सरकार र माओवादी द्वन्द्वका समयमा सुरक्षाका कारण देखाउँदै काठमाडौँ सारिएको थियो । २०७४ सालमा पुनः सो निसान इलाममा नै फर्काइएको थियो । सुगौली सन्धिपछि इलाम भित्र्याइएको सेनाको श्रीनाथ गुल्मको निसान १५ वर्षपछि काठमाडौँबाट पुनः इलाम सारिएको छ ।
भारतसँग सीमामा राखिएको निसान फर्काइको बाटोको संरक्षण गर्दै निसान पदयात्रा गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो । उहाँका अनुसार तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो ।
तत्कालीन अवस्थामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा खेलेको भूमिका समेत सम्झाएको इतिहासकाका जानकार युद्धप्रसाद वैद्यले बताउनुभयो । उहाँले निसान पृथ्वीनारायण शाहसँग सम्बन्ध जोडिएको र नेपाल भारत सीमासँग ऐतिहासिक भएको बताउनुभयो ।
पदयात्रा हुने स्थानका पालिका, वडा र टोल विकास समितिहरूले आफ्नो भूभागमा पर्ने पदमार्गको सरसफाइ गरिरहेका छन् । पदयात्रीलाई खाने–बस्ने व्यवस्थापन, स्थानीय वेशभूषासहितको झाँकी प्रदर्शन समेत हुने भएको छ । जसका लागि सम्बन्धित पालिका र वडाहरूले स्थानीय व्यवस्थापन गरिरहेका छन् ।
निसानलाई सेनाको ‘शक्तिको स्रोत’का रूपमा समेत लिइन्छ । नेपाली सेनाले निसानलाई ‘शक्ति स्वरूपदेवी’ र ‘निसान भगवती’ मान्दै पूजापाठसमेत गर्ने गरेको छ । निसान नेपाली सेनाको गणको प्रतीक हो । निसान विशेष किसिमको झन्डाको स्वरूपमा हुन्छ ।
यस पटकको पदमार्गमा समेत तत्कालीन नेपाली सेनाको पोसाकसहित नेपाली सेनाको सहभागिता रहने जनाइएको छ । निसानको साङ्केतिक निसानसहित दौरा सुरुवालसहितको नेपाली सेनाको पोसाकमा १० जना सेना रहने बताइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ। आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...
रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...
धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ। परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...