काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्...

काभ्रेपलाञ्चोक:     सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब छिट्टै आर्टिफिसिएल इन्टिलिजेन्स् (एआई) नीति ल्याउने बताउनुभएको छ ।  उहाँले काठमाडौँ विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आज धुलिखेलमा आयोजित ‘आइटी मिट–२०२४’को उद्घाटन गर्दै एक महिनाभित्र एआईको नीति ल्याई आवश्यक कानुन बनाउने पक्षमा सरकार क्रियाशील रहेको बताउनुभयो ।           “एआईको कानुन बनाएपछि सूचना प्रविधिमार्फत थप कार्यक्रम ल्याउन सकिन्छ, यसका लागि मन्त्रालयमा गृहकार्य भइरहेको छ”, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो ।  नेपाल आइटीको दशकमा प्रवेश गरेको भए पनि त्यसबाट अहिलेसम्म उल्लेख्य फाइदा लिन नसकेको चर्चा गर्दै उहाँले विषयविज्ञहरूसँग छलफल तथा अन्तरक्रिया गरी आवश्यक नियम कानुन बनाएर मुलुकलाई ‘आइटी हब’ का रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।              उहाँले भन्नुभयो, “एआईको जमाना आइसक्यो, अहिलेसम्म नेपालका सबै सरकारी संयन्त्र ई–गभर्नेन्समा गईसक्नुपथ्र्यो, त्यस्तो हुन सकेको देखिएन, डिटिजल नेपाल फ्रेमवर्कका लागि भए पनि एआईसम्बन्धी कानुन यथाशक्य छिटो तयार गरी कार्यान्वयनमा जानेछौँ ।”             राज्य संयन्त्रअन्तर्गतका निकायमा ई–गभर्नेन्स लागू गर्न सकिए भ्रष्टाचार नियन्त्रण हुने विश्वास व्यक्त गर्दै  सञ्चारमन्त्री गरुङले भन्नुभयो, “डिजिटल नेपाल फ्रेमवर्कमार्फत ई–गभर्नेन्सलाई लागू गर्न सक्छौँ, त्यसपछि मात्र भ्रष्टाचार नियन्त्रण गर्न सहज हुन्छ ।”            ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई पहिलो चरणमा सरकारी तहबाटै सुरु गर्ने पक्षमा वर्तमान सरकार रहेको जानकारी दिँदै सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “अहिले २२ मन्त्रालय रहेको सङ्घीय सरकार, सात प्रदेश सरकार र सात सय ५३ वटा स्थानीय तहसमेत गरी देशमा सात सय ६१ सरकारसहित मातहतका सबै सरकारी कार्यालयमा ई–गभर्नेन्सको कार्यक्रम लागू गर्न सकिए भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु, त्यसका लािग आवश्यक नियम–कानुन बनाउने कामलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको स्पष्ट गर्दछु ।”            उहाँले आवश्यक नियम, कानुनसहित ई–गभर्नेन्स कार्यान्वयन भएपछि मुलुकका तीनै तहका सरकारका नीति तथा कार्यक्रम, योजना र बजेट व्यवस्थापन प्रक्रिया सहज भई अपेक्षित परिणाम प्राप्त हुने धारणा व्यक्त गर्दै त्यसका पक्षमा वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो ।        सञ्चारमन्त्री गुरुङले आइटी क्षेत्रको विकास एवं विस्तार गरी त्यसलाई उद्योग तथा उत्पादनमूलक क्षेत्रमा जोड्दै देश र जनतालाई लाभान्वित तुल्याउन पक्षमा क्रियाशील रहेको सरकारलाई आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न विषय विज्ञहरूको ध्यानाकर्षण गर्नुभयो ।               कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङका डिन मनिष पोखरेलले सूचना प्रविधिका क्षेत्रमा भएका विकास तथा देशभरिका प्रविधिमैत्री युवालाई एकत्रित गरी नयाँ अवसर र प्रेरणा प्रदान गर्ने सोचका साथ ‘आइटी मिट–२०२४’ आयोजना गरेको बताउनुभयो ।  दुई दिनसम्म चल्ने कार्यक्रममा कोडिङ प्रतियोगिता, परियोजना प्रदर्शनी, गेमिङ इभेन्टस्, गुगलिङ प्रतियोगिता, केयुबिङ प्रतियोगिताजस्ता विविध गतिविधि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।  

काठमाडौं:     नेपाल उद्योग परिसङ्घले यस वर्षको राष्ट्रिय कर दिवसका अवसरमा नेपाल सरकारबाट सम्मानित हुनुभएका उच्च करदाताहरुलाई सम्मान गरेको छ ।  सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ जना संस्था तथा व्यक्तिलाई उच्च करदाताका रुपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुई वटा सरकारी लगानी रहेका कम्पनी छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसङ्घले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो ।       आज परिसङ्घ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गर्नुभएको हो । उहाँले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताउनुभयो ।  योगदानको कदर गर्दै उत्पादनमुलक तथा सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्थाका रुपमा परिसङ्घले उच्च करदातालाई सम्मान गरेको उहाँले बताउनुभयो ।      राष्ट्रिय कर दिवसमा आर्थिक वर्ष २०७८÷७९ मा वस्तु निर्यात कारोबारमध्येबाट डाबर नेपाल, एकलौटी फर्ममध्येबाट श्रुती ट्रेडर्स, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्ने कोडावतार, कृषि एवं पशुुपंछीजन्य उद्योगबाट पतञ्जली आयुर्वेद, बैंक तथा वित्तीय संस्था र बिमाबाट नबिल बैंकलाई परिसङ्घले सम्मान गरेको हो ।       स्वास्थ्य तथा शैक्षिक संस्थाबाट लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, पर्यटन क्षेत्रबाट तारागाउँ रिजेन्सी होटेल, वस्तु व्यापारतर्फबाट भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर, ऊर्जामुलक उद्योगबाट भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई सम्मान गरिएको हो ।       यसैगरी विसंं २०७५ साउनदेखि २०८१ साल असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिबृद्धि कर र विवरण र सो अवधिको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिबृद्धि कर दाखिला गर्ने होङ्सी शिवम् सिमेन्ट, वार्षिक कारोबार रकम रु ५० करोडसम्म कारोबार गर्ने करदातामध्ये आव २०७९÷८० को आयविवरण अनुसार सबैभन्दा बढी आयकर तिर्ने सोल्टी इन्टरप्राइजेज्, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने वरुण वभरेज नेपाल र व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आय कर तिर्ने जावलाखेल गु्रप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई परिसङ्घले सम्मान गरेको छ ।      कार्यक्रममा परिसङ्घ वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, गभर्निङ्ग काउन्सिल सदस्यद्वय विजयकुमार शाह, शशिकान्त अग्रवाल, पदाधिकारी सदस्य छाया शर्मा, महानिर्देशक डा घनश्याम ओझालगायत उपस्थित हुनुहुन्थ्यो ।

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुग्नुभएको छ ।   प्रधानमन्त्री ओलीले आज अस्पताल पुगेर राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुँदै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गर्नुभयो ।  प्रोस्टेटसम्बन्धी समस्याका कारण केही दिनदेखि अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको उपचारमा सङ्लग्न चिकित्सकसँग प्रधानमन्त्री ओलीले उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिनुभएको थियो ।  यही मङ्सिर १९ गते अस्पताल भर्ना हुनुभएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने हाल उहाँको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ । 

पोखरा:  पोखरा महानगरपालिका–२ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रवारीय कार्यक्रम अन्तर्गत अङ्ग्रेजी वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।  शुत्रवारीय अतिरिक्त क्रियाकलाप अनुसार आज विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको हो ।  वादविवाद कार्यक्रममा आधारभूत तह सिनियर तर्फबाट कक्षा ७ का छात्र विनायक गिरी प्रथम, कक्षा ६ का छात्र आदित्य लम्साल द्वितीय र सोही कक्षाकी छात्रा सबिता सुनारले तृतीय स्थान प्राप्त गरे ।  यस्तै आधारभुत (जुनियर) तर्फको संवाद प्रतियोगितामा कक्षा ४ का छात्राहरु दिया क्षेत्री र युनिका खनाल प्रथम, कक्षा ३ का छात्रहरु सौगात हमाल, अंकित मन्ना र आयान श्रेष्ठ द्वितीय र कक्षा २ का छात्राहरु एञ्जिला थापा र इभानी बास्तोलाले तृतीय स्थान प्राप्त गरे ।  विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस्ता विविध कार्यक्रमले विद्यार्थीहरुको  चौर्तफी बिकास हुन सहयोग पुग्ने बताए ।  कार्यक्रमको निर्णायक मण्डलमा शैक्षिक प्रमुख होमराज अधिकारी र शिक्षिका अनिता थापा रहेका थिए भने, कार्यक्रमको सञ्चालन शिक्षिका उर्मिला परियारले गरिन् ।   

पोखरा:     चौधरी ग्रुप अन्तरर्गत रहेको सिजी नेट जडान मार्फत पोखरा लामाचौरकी रितु गुरुङले  स्कुटर जित्न सफल भएकी छन् ।  गत मंसिर ७ गते काठमाडौँमा भएको लक्की ड्र मार्फत गुरुङले हिरो कम्पनीको जुम स्कुटर जितेकी हुन । उक्त स्कुटरको हाल बजार मुल्य २ लाख ६५ हजार रहेको छ । शुक्रबार पोखराको  अर्चलबोटमा रहेको सिजी प्लाजामा एक कार्यक्रमको आयोजना गरि स्कुटर बिजेता गुरुङलाई सिजीका शेल्स एण्ड मार्केटिङ नेशनल हेड आकेश जैसवालले स्कुटरको चावी हस्तान्तरण गरेका हुन् । देशै भरबाट २ महिनाको अवधीमा सिजी नेट  जडान गर्ने नयाँ तथा रिन्यु गर्ने ग्राहकहरुबाट लक्की ड्र मार्फत पोखराकी रितु गुरुङ बिजेता बन्न सफल भएको नेशनल हेड जैसवालले बताए । २ महिनाको उक्त अफरको बिचमा दैनिक,साप्ताहिक,मासिक र बम्पर उपहारको कार्यक्रम सञ्चालन गरेको जैसवालले उल्लेख गरे । सिजी नेटले गएको असोज १ गतेबाट कार्तिक ३० गते सम्म ‘ल है आयो हातै खाली नरहने अफरको बाहारʹ योजना सञ्चालन गरेको सिजी नेट पोखराका ब्रान्च म्यानेजर दिपेश सिग्देलले जानकारी दिए । स्कुटर बिजेता रितु गुरुङले आफुले कल्पना पनि नगरेको उपहार प्राप्त गरेको बताइन् । उनले सिजी नेट जडान पश्चात सहज रुपमा इन्टरनेट सेवा प्राप्त गरेको उल्लेख गरिन् ।  

धनुषा:    जनकपुरधाममा सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाह मण्डप बनाइएको छ ।  जानकी मन्दिरको प्राङ्गणमा हुने वैवाहिक कार्यक्रमका लागि हजारौँ श्रद्धालु यहाँ आइपुगेका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा उल्लेख्य दर्शनार्थी जनकपुरधाम आएका छन् ।   त्रेता युगको झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्न नेपाल र  भारतका साथै तेस्रो मुलुकबाट समेत दर्शनार्थी जनकपुरधाम आइपुगेका छन् । प्रत्येक पाँच वर्षमा अयोध्याबाट आउने जन्ती पनि यहाँ आएका छन् ।  अयोध्याबाट राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, अयोध्याका नगरप्रमुख गिरिशपति त्रिपाठी, विश्व हिन्दू परिषद्का केन्द्रिय मन्त्री राजेन्द्रसिंह पङ्कजसहितको टोली पनि यहाँ आइपुगेको छ ।  जकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा प्रत्येक वर्ष वैवाहिक कार्यक्रमको आयोजना हुने गर्छ । वैवाहिक कार्यक्रमका लागि छोरीको बिहेका लागि जस्तै मण्डप सजाइन्छ ।  जनकपुरधामस्थित  जानकी मन्दिरलाई मिथिला दरबारको रुपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारको रुपमा लिइन्छ । जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुली झैँ सिँगारिएको छ । जानकी  मन्दिरका महन्त रामतपेश्वरदास वैष्णवले भन्नुभयो, “यहाँ आउने दर्शनार्थीलाई छोरीको बिहेको आयोजना गरिरहेको जस्तै अनुभव हुन्छ ।” महन्त दास बिहेमा माता सीताको पिता राजा जनकको भूमिकामा हुनुहुन्छ । राम मन्दिरका महन्तबाबा राम गिरी  राजा दशरथको भूमिकामा हुनुहुन्छ । महन्त गिरिले भन्नुभयो, “सीताजस्ती बुहारी पाउने भएपछि हर्षविभोर हुनु स्वभाविक नै हो ।”  त्रेता युगमा अयोध्या नरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्री राम र मिथिलाका शिरध्वज राजर्षि जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा साताव्यापी रुपमा मनाइने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शनविधि गरिन्छ । यसमा राम लक्ष्मणको प्रतीकस्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाममा नगरदर्शन गराइन्छ ।  विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लीला हो । फूलबारी लीलामा राम जानकीको पहिलो भेट गराइन्छ । त्रेतायुगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको जानकार डा राजेन्द्र विमल बताउनुहुन्छ । यो विधि जानकी मन्दिरकै छेउमै रहेको विवाहमण्डपको फूलबारीमा गर्ने गरिन्छ ।  तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ । माता सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने वीर पुरुषसँगै आफ्नो छोरीको बिहे गरिदिने बचन लिएर धनुषयज्ञको आयोजन गरिएको संकृतीविद् एवं पण्डित मुकेश प्रतिहस्त बताउनुहुन्छ ।  त्रेता युगमा सो धनुष यज्ञको आयोजन रङ्गभूमि मैदान १२ बिघामा भएको जनविश्वास छ । सोही स्मरणमा धनुष यज्ञविधि सम्पन्न गरिन्छ । महोत्सवको चौथो दिन राममन्दिरको प्राङ्गणमा हजारौँ श्रद्धालुबीच तिलकोत्सव विधि सम्पन्न हुन्छ । अयोध्याबाट जन्तीको नेतृत्व गरी आउनुभएका रामजन्मभूमि ट्रष्टका महासचिव रायले विवाहपञ्चमी महोत्सवले नेपाल र भारत बीचको प्राचीन सम्बन्धलाई नयाँ स्तरमा अझ बढी प्रगाढ बनाउने काम गर्ने बताउनुहुन्छ ।  अयोध्याका नगरप्रमुख त्रिपाठीले विवाहपञ्चमी महोत्सवले नेपाल र भारतको सांस्कृतिक, धार्मिक तथा भावनात्मक एकतालाई प्रगाढ बनाएर जीवन्त बनाउने काम गरेको बताउनुभयो ।  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाहपञ्चमी महोत्सवको धार्मिकता, पौराणिकता र सांस्कृतिक वैशिष्ठ्यलाई अक्षुण राख्न तथा पर्वप्रति विद्यमान गहिरो आस्था अभिव्यक्त गर्न आज हरेक घरमा दीपोत्सव गर्न जनकपुरधामवासीलाई आह्वान गर्नुभएको छ ।  उहाँले विवाहपञ्चमीका दिन एघार वा एक्काइसवटा दीप भए पनि जनकपुरधामका प्रत्येक घरआँगनमा जलाएर रामजानकी विवाहप्रतिको श्रद्धाभक्ति तथा अनुष्ठान परम्परालाई थप भव्य बनाउन आग्रह गर्नुभयो ।  देश तथा विदेशका विभिन्न ठाउँबाट मेला भर्न जनकपुरधाम आउनुभएका श्रद्धालु भक्तजनलाई आफ्नै घरमा भए पनि बासको व्यवस्थापनमा सघाउन मुख्यमन्त्री सिँहले जनकपुरधामवासीसँग आग्रह गर्नुभएको छ । मेला हेर्न उत्तर प्रदेशको बोकडाबाट आउनुभएका ५८ वर्षीय भोला यादवलेले भन्नुभयो, “जनकपुरधामको नाम मात्रै सुनेको थिए, आज प्रयक्ष हेर्न पाए । मन गदगद भएको छ ।”  तिलकोत्सवमा जानकी मन्दिरबाट राम मन्दिरमा पाहुर आउँछ । जहाँ जानकी मन्दिरका महन्त  र राम मन्दिरका महन्तबीच  अङ्कमाल (समधि मिलन) हुन्छ ।  तिलकोत्सवमा सहभागी महिलाहरु रामजानकीको बिहेका गीत गाउँछन् भने हास्यपरिहासको माहौलसमेत हुन्छ । जसरी मिथिलामा समधीलाई विभिन्न किसिमको गाली गरिन्छ त्यसरी नै मन्दिरमा समेत दुबै पक्षबाट गालीसहित ठट्टा गरिन्छ ।  राम मन्दिरका महन्त राम गिरीका अनुसार समधी मिलन कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त, पूजारी सहभागी हुने गर्दछन् भने राम मन्दिरबाट महन्त स्वयम, गुठी संस्थानका प्रतिनिधि तथा स्थानीय युवा क्लबका प्रतिनिधिहरु सहभागी हुन्छन् ।  महोत्सवको पाँचौ दिन मटकोर विधि हुन्छ । मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाले जनकपुरधामकै पवित्र सरोवर रहेको गङ्गासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्परा अनुसार गीतनाच गाउँदै माटो खनेर ल्याउने गर्दछन् । सोही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ । छैँठौ दिन आज ऐतिहासिक रङ्गभूमि मैदानमा स्वयंवर विधि सम्पन्न हुनेछ । आजै राति वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ । स्वयम्बरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रङ्गभूमि मैदान १२ बिघा पुग्ने गर्छ । स्वयम्बरपछि दुबै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ जहाँ वैवाहिक कार्यक्रम हुने गर्छ ।  आज राति हुने सो वैवाहिक कार्यक्रममा महिला विवाहका गीत गाउने गर्छन् । विवाहपञ्चमीको सातौँ दिन भारतको अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तलाई भोजन गराउँदै बिदाइ गरिन्छ । इसलाई रामकलेवा भनिन्छ । रामकलेवामा बेहुला पक्षबाट आएकालाई गाली गर्नेसमेत परम्परा रहेको छ । मन्दिरका पूजारी तथा मिथिलाका नारी गीतकै माध्यमब्ँट गाली गर्ने गर्छन् । जसले अदभूत वातावरणको निर्माण गर्छ ।

मोरङ:    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरुबीच वार्ता एवं सहमति कायम गर्ने प्रष्ट पार्नुभयो ।  उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा ऋण सम्बन्धी सम्झौता नभएको उल्लेख गर्नुभयो ।      वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको सभापति देउवाको भनाइ थियो । मुलुकमा राजनीतिक स्थायीत्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढेको उहाँको धारणा थियो ।  सभापति देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र निर्वाचनवाट नेतृत्व चयन हुने बतानुभयो । उहाँ शनिबार विराटनगरमा हुने कांग्रेसको प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन यहाँ आउनुभएको हो । 

म्याग्दी:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको बताउनुभएको छ ।  प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटमा नेता ज्ञवालीले राजनीतिक सहमतिको आधारमा निर्माण भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी ऐन कार्यान्वयनका लागि आयोगको पदाधिकारी चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।       “सिफारिस समितिले आयोगका पदाधिकारीको छनोट गरेर सूची सार्वजनिक गर्ने छ । एक(दुई दिनमा आयोग गठन गर्ने सरकारको तयारी छ”, उहाँले भन्नुभयो, “आयोग गठन भएपछि २० वर्षदेखि थन्किएर रहेका शान्ति प्रक्रियाका बाँकी कामले पूर्णता पाउने, पीडितले न्याय पाउँनेछन् ।”      नेता ज्ञवालीले सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न शक्तिशाली नियमनकारी निकायको गठन र बचतको सुरक्षाका लागि कर्जा सुरक्षण कोष बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।      “सहकारी संस्थामा विकृति र बेतिथि मौलाएको महसुस गरेर नियमनकारी निकाय बनाउने तयारीसँगै र जोखिममा परेकाको बचतलाई फिर्ता गराउने काममा सरकारले प्राथमिकता दिएको छ”, उहाँले भन्नुभयो, “सहकारीको बचत अपचलनमा जोडिएका जोसुकै पनि अनुसन्धानको दायरामा आउँछन् ।” कानुन कार्यान्वयन गर्ने निकायलाई स्वतन्त्र ढङ्गले काम गर्ने दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।      सरकारले विश्वका सबै देशसँग सन्तुलितसम्बन्ध स्थापित गराउने प्रयास गरिरहेको नेता ज्ञवालीको धारणा थियो । प्रधानमन्त्रीको चीन भ्रमणले सात वर्षअघि भएको बिआरआई सम्झौता कार्यान्वयनमा अघि बढेको उहाँले बताउनुभयो ।

ललितपुर:     नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते बस्ने भएको छ ।  पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय भएको छ ।       बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि कांग्रेसले सूचना जारी गरेको छ ।