म्याग्दी: बेनीमा आगामी माघमा आठौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सञ्चालन हुने भएको छ । आगामी पुस २८ देखि माघ ८ गतेसम्म आयोजना हुने महोत्सवको ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्र पारिएको मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार महोत्सवमा रु १० करोड बराबरको कारोबार हुने र रु एक करोड २९ लाख खर्चको अनुमान गरिएको छ । “महोत्सव व्यापारिक तथा मनोरञ्जनका लागि मात्रै नभइ म्याग्दीमा लगानी ल्याउनका लागि पनि उपयोगी हुने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो “म्याग्दीको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग ब्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रवद्र्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको छ ।” महोत्सवमा औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशनी, पुरुष–महिला भलिबल, बास्केटबल, विभिन्न कलाकारको प्रस्तुति रहनेछन् । पुख्र्यौली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल एकल लोकनृत्य, जनजातिका झाँकी पनि प्रर्दशनी गरिनेछ । महोत्सवका अवसरमा आयोजना गरिने अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई रु १ लाख ५१ हजार र उपविजेतालाई रु ७५ हजार १ सय पुरस्कारको व्यवस्था गरिएको छ । लोक दोहोरी गीत प्रतियोगिताका विजेतालाई रु १ लाख १ सय र उपविजेतालाई रु ६१ हजार १ सय पुरस्कार प्रदान गरिने जनाइएको छ । महोत्सव सञ्चालनबाट भएको आम्दानीबाट म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापना गरेको व्यवसायी हितकोषमा रु १० लाख, विपद् राहत कोषमा रु ५ लाख जम्मा गर्ने र टिकट बिक्रीबाट हुने केही प्रतिशत रकम म्याग्दीका सामाजिक सङ्घ संस्थालाई सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसअघि विसं २०५८ देखि २०७८ सालसम्म सात पटक म्याग्दी महोत्सव आयोजना भएको थियो । म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारमा परापूर्वकालदेखिनै माघे सङ्क्रान्ति पर्वको अवसरमा मेला लाग्ने गरेको थियो ।
धादिङ: चितवनबाट काठमाडौँतर्फ आउदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । पृथ्वी राजमार्गअन्तर्गत दिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो । बुलेट सडकबाट तल खसेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ । यद्यपि घाइते कोही पनि भेटिएको छैन । अहिले चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ । सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौं: राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार एवं राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)नेपालका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १४ सदस्यीय फोटोपत्रकार टोली फोटो प्रदर्शनीका लागि चीनको सान्तोङतर्फ प्रस्थान गरेको छ । पिन्चाओ फोटोग्राफर एशोसिएसनको निमन्त्रणामा एनएफपिजेको टोली त्यसतर्फ प्रस्थान गरेको हो । चीनका फोटोग्राफर सु छुई तथा नेपाल–चीनमैत्री सङ्घको सहकार्यमा ‘सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल’ फोटो प्रदर्शनीमा नेपालका पर्यटन क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने १ सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा १ महिनासम्म प्रदर्शनी गरिने प्रदर्शनीका संयोजक सुनिल शर्माले जानकारी दिनुभयो ।
मुगु: रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा र लोखर्के भेटिएका छन् । स्तनधारी वन्यजन्तुको अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले जडान गरेका क्यामरामा कालो चितुवा र लोखर्के निकुञ्ज क्षेत्रमा आएका तस्बिर फेला परेका हुन् । निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार क्यामेरामा कालो रङको चितुवा, हिमाली भालु, स्याल, कस्तुरी, बँदेल, लोखर्केजस्ता स्तनधारी वन्यजस्तु ‘ट्रयाप’ भएका र तीमध्ये कालो रङको चितुवा र लोखर्के पहिलोपटक देखिएको हो । निकुञ्जमा ठूला तथा मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र विवरणबारे अनुसन्धान गर्न क्यामेरा ट्रयाप प्रविधिको प्रयोग गरिएको हो । त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागबाट विद्यावारिधि गरिरहेका विद्यार्थी तिलक थापामगर, अनुसन्धानकर्मी विमलराज श्रेष्ठ, स्नातकोत्तरका विद्यार्थी वाचन प्रसाईँ र मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष बिर्खबहादुर रोकाया अनुसन्धानमा सक्रिय हुनुहुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र रारा राष्ट्रिय निकुञ्ज कार्यालयको अनुमतिमा गत कात्तिक ६ गतेदेखि २१ दिनका लागि निकुञ्जका विभिन्न ४० स्थानमा क्यामरा जडान गरिएका थिए । निकुञ्ज क्षेत्रमा निकुञ्ज कार्यालयले चराचुरुङ्गीको गणना गर्दै आएको भए पनि यहाँ रहेका वन्यजन्तु, जलचर, वनस्पतिको गणना हालसम्म गरेको छैन ।
दाङ: घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरीपालन गर्नुभएको छ । उहाँले मौरी पालेर जीविका चलाउन थालेको पनि २४ वर्ष भइसक्यो । १ याममा रु १२ लाखको मह बेच्ने उहाँको दैनिकी मौरीको हेरचाहमा नै बित्ने गरेको छ । उद्यमी मगरको मौरी फार्ममा दुई सय घार क्षमताको भए पनि हाल भने ८६ मौरीसहितका घार छन् । उहाँले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताउनुभयो । “परिवारको सहयोग छ, आफैँले सुरुमा रोल्पा हुँदा मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ, धेरैजसोले घरमा नै आएर लैजान्छन्”, किसान मगरले भन्नुभयो, “मौरीपालनमा चोखो आम्दानी छ, त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएको छु ।”उहाँको फार्ममा युरोपिय, इटालियन, मेरीफेरा, सेरेना जातका मौरीका घार छन् । मौरीपालनबाट उहाँ वार्षिक रु १२ लाख आम्दानी गर्न सफल हुनुभएको छ । दुई–तीन वर्ष वैदेशिक रोजगारीमा रहँदा उहाँले त्यहाँ मौरीपालन गरेको देखेर स्वदेश फर्केर त्यही व्यावसाय थालेको बताउनुभयो । उहाँले २०५७ सालमा मौरीपालन थाल्दा जिल्लामा १७ जना व्यावसायिक रुपमा मौरी पाल्ने किसान थिए । व्यावसायिक रूपमा मौरीपालन थालेदेखि हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उहाँको भनुभव छ । साथै उहाँले मौरीपालनका निम्ति आवश्यक पर्ने घार लगायत सामग्री पनि बनाउने गर्नुभएको छ । ती सामान रोल्पा, सल्ल्यान, प्यूठानलगायत जिल्लाका मौरीपालक किसानले खरिद गर्दै आएका उहाँले बताउनुभयो । नेपाल मौरीपालक महासङ्घ दाङ शाखाले यस वर्षको महको मूल्य निर्धारण गरेको छ । तोरी स्रोतको रु ५ सय र जङ्गली स्रोतको रु ६ सयमा नघट्नेगरी मूल्य तोकिएको उक्त शाखाले जनाएको छ ।
लेखनाथ: शनिबारदेखि लेखनाथको भण्डारढिकमा ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने नारासहित २५ औं संस्करणको आदर्श कप सुरु भएको छ । आदर्श युवा क्लब भण्डारढिकले ६ वर्षपछि अयाोजना गरेको आदर्श कप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको हो । उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे । सो अवसरमा बोल्दै उनले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उल्लेख गरे । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएको बताए । उनले विभिन्न खेल गतिविधिहरुलाई पर्यटनसँग जोडेदै समग्र प्रदेशको विकास गरिने धारणा राखे । यसअघि एन्फा तनहुँ र आयोजकबीच भएको उद्घाटन खेलमा आयोजक आदर्श पुवा क्लब विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरको छ । आयोजकको जीतमा ४१ औं मिनेटमा आदर्श युवा क्लबका सजिन मगरले निर्णायक गोल गरे । उनै मगर म्यान अफ द म्याच घोषित भए । दोस्रो खेल आज दिउँसो १ बजे नेपाल आर्मी सिद्धिदल गत (पश्चिम पृतना) र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयबीच प्रतिष्पर्धा हुनेछ । शौर्य सिमेन्टको मुख्य प्रायोजनमा शनिबारदखि सुरु भएको प्रतियोगिता आगामी २९ गतेसम्म चल्नेछ । सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार पाँच सय २५ रुपैयाँ र उपविजेताले नगद रु २ लाख २५ हजार पाँचसय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी विभिन्न विधामा खेलाडीलाई पनि नगद र ट्रफिसहित पुरस्कृत गरिने क्लबका अध्यक्ष पदम गुरुङले बताए । उनका अनुसार क्वाटरफाइनल खेलका लागि प्रवेश शुल्क १ सय र सेमिफाइनल तथा फाइनल खेलका लागि १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
कैलाली: कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट रु एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनारलाई गए राति पक्राउ गरिएको हो । भारतभारतबाट आएका उनीहरूबाट रु ८० लाख ७९ हजार पाँच सय ६१ बराबरको छ सय २० ग्राम सुन, रु १५ लाख २८ हजार चार सय ६० बराबरको आठ किलो नौ सय १४ ग्राम चाँदी, विभिन्न दरका रु छ लाख ११ हजार छ सय २५ भारतीय मुद्रा, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद भएका छन् ।
रामेछाप: गोकुलगङ्गा गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्न पालिकाले प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको छ । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सयोगमा गोकुलगङ्गा गाउँपालिकाले पालिकाका ३३ विद्यालयलाई सहभागी गराएर प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको हो । मेलामा बालबालिकाद्वारा निर्माण गरिएका शिक्षण सिकाइ क्रियाकलापअन्तर्गतका सामग्री र परम्परागत सामग्री (ढिकी, जाँतो, ओखल, मुसल) लगायत सामग्री प्रदर्शनीमा राखिएका थिए । कार्यक्रमका अवसरमा जङ्कफुड (पत्रु खाना) खान नहुने, नियमित स्वास्थ्यको ख्याल राख्नुपर्ने, आफ्ना बालबालिकाले गृहकार्य गरे÷नगरेको अभिभावकले नियमति अनुगमन गर्नुपर्नेलगायत सन्देश दिने खालका दोहोरी गीत तथा नाटक प्रदर्शन गरिएको थियो । एकअर्को विद्यालयलाई अन्तरघुलन गराई प्रारम्भिक शिक्षण सिकाइ क्रियाकलापलाई वृद्धि गर्दै पालिकाको शैक्षिक अवस्था सुधार गर्न कार्यक्रम अयोजना गरिएको गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले बताउनुभयो । यस्ता सिकाइ मेलाले आफूहरूजस्ता विद्यार्थीलाई स्थानीयस्तरमा भएका सामग्री र सीप कसरी प्रयोग गर्ने भन्ने जानकारी हुने तथा अन्तरविद्यालयको सीप एकअर्काले आदानप्रदान गर्दा विद्यार्थी साथीबीच सद्भाव कायम हुने कार्यक्रममा सहभागी शारदा मावि कक्षा १२ की छात्रा प्रियङ्का रेग्मीले बताउनुभयो । यस्ता गतिविधले आफूजस्ता विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन मद्दत पुग्ने गोकुलगङ्गा माविमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी सचिन भण्डारीले बताउनुभयो । गोकुलगङ्गा गाउँपालिकामा २०७८ सालदेखि सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाले गुणस्तरीय शिक्षा सुदृढीकरणका लागि प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा प्रवर्द्धन परियोजनामार्फत बालबालिकाका लागि विभिन्न गतिविधि सञ्चालन गर्दैआएको छ । स्थानीयस्तरमा शिक्षकले निर्माण गरिरहनुभएको शैक्षिक सामग्री र त्यसको प्रयोगसहित अभिभावकको पनि संलग्नता शिक्षण सिकाइ क्रियाकलापमा हुनुपर्छ भन्ने सन्देश दिन मेला आयोजना गरिएको सेतो गुराँस राष्ट्रिय बाल विकास केन्द्रले जनाएको छ । यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थीका शिक्षण सिकाइ क्रियाकलाप वृद्धि हुने प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा प्रवर्द्धन परियोजना प्रमुख कर्ण दराईले बताउनुभयो । प्रारम्भिक तहका बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गराउन र जगैदेखि सिकाइ उपलब्धि बढाउन सकियो भने विद्यार्थीको सीप वृद्धि हुने भएकाले गाउँपालिकाले सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको सहयोगमा यस्तो कार्यक्रम आयोजना गरेको गाउँपालिकाका शिक्षा अधिकृत नरेन्द्रसिं भण्डारीले बताउनुभयो । रामेछापमा गुणस्तरीय भवन भए पनि विद्यार्थी र शिक्षाको गुणस्तर खस्कँदै गइरहेकाले घट्दै गएको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न यस्ता कार्यक्रम विभिन्न पालिकाले गर्न सके शैक्षिक गुणस्तर वृद्धि हुने गाउँपालिकाका प्रवक्ता चन्द्र सुनुवारले बताउनुभयो ।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछभने सोही मैदानमा हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्ने छन् । यसअघि भएका तीनवटै खेलमा जनपुर बोल्ट्स विजयी भएको छ । सुदूरपश्चिम पनि तीनवटै खेल जितेर अङ्कतालिकाको अग्रस्थानमा छ ।