काठमाडौं: भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्नुहुने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौँमा हुनुहुन्छ । उहाँ आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कास्की: २५ मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवद्र्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले राससलाई बताउनुभयो । आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ । आयोजनामा रु ५ अर्ब बढी लगानी भएको छ । सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४ सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १ सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा त्यसलाई खसालेर विद्युत् उत्पादन गरिएको हो । आयोजना जलप्रवाहमा आधारित छ ।
इलाम: १० लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा भोलिदेखि यही मङ्सिर २९ गतेसम्म हुने प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव प्रकाश घिमिरेले बताउनुभयो । १२ हजार दर्शक अटाउने प्यारापिट, मञ्चलगायतका सम्पूर्ण तयारी पूरा भएको तथा प्रतियोगितमा भाग लिन डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र सङ्कटा क्लब इलाम आइसकेका छन् । प्रतियोगितमा भिड्ने त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, दार्जिलिङको जिटिएका खेलाडी आउन बाँकी छ । स्पर्धामा आयोजक रेड हर्स क्ब पनि सहभागी हुनेछ । उक्त क्लबले गत वर्ष पहिलोपटक प्रतियोगिता आयोजना गरेको थियो । विजेताले उपाधिसहित नगद रु १० लाख र उपविजेताले रु ५ लाख पुरस्कार पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई रु २५ हजार नगद प्रदान गरिनेछ ।
तनहुँ: गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरू गरिएका तनहुँका तीन सडक समस्याग्रस्त सूचीमा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट सुरू गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालयले समस्याग्रस्त आयोजनाका रूपमा सूचीकृत गरेको हो । आँबुखैरेनी–छिम्केश्वरी सडक, दुलेगौडा–हर्कपुर सडक र भानुमार्ग–चन्द्रावती पिलिगार्ग, कुन्छा–कालीमाटी सडकलाई समस्याग्रस्त आयोजनाका रूपमा राखिएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो । निर्माण सुरू भएर लामो समयसम्म अलपत्र परेका ती सडक आयोजनालाई समस्याग्रस्त आयोजनाका रूपमा सूचीकृत गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ती सडक योजना समयमै सम्पन्न भएनन् । त्यहीकारण यसलाई समस्याग्रस्त आयोजनाका रूपमा राखी निर्माण सम्पन्न गराउन लागिपरेका छाँै । सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गरेका छौँ ।” आँबुखैरेनी–छिम्केश्वरी सडकको १६ किलोमिटर कालोपत्रको काम २०७६ साल मङ्सिर ६ गतेदेखि सुरू भएको थियो । उक्त सडकको म्याद २०८१ साल असोज २० गते सकिएको छ । उक्त खण्डमा हालसम्म आठ किलोमिटर कालोपत्र सकिएको छभने बाँकी काम हुनसकेको छैन । रू ५१ करोड ८४ लाख ९० हजार छ सय ९० लागत अनुमान गरिएको उक्त सडकको ठेक्का रू ३६ करोड पाँच लाख ५० हजार पाँच सय १५ मा लागेको थियो । सडक स्तरोन्नतिको ठेक्का एमएस शर्मा काष्ठमण्डप जेभीले पाएको थियो । प्रमुख तिवारीका अनुसार निर्माण व्यवसायीलाई हालसम्म रू ३० करोड दुई लाख एक हजार आठ सय ६२ भुक्तानी भएको छभने रू छ करोड तीन लाख ४८ हजार छ सय ५२ भुक्तानी बाँकी छ । चालु आर्थिक वर्षमा सडकका लागि रू एक करोड ५० लाख विनियोजन भएको छ । त्यस्तै भानुमार्ग चन्द्रावती पिलिगार्ग कुन्छा कालीमाटी सडकको स्तरोन्नति २०७६ साल कात्तिक ४ गते सुरू भएको थियो । उक्त सडकको म्याद २०७९ साल असार ३० गते सकिएर २०८२ असार १३ गतेसम्मका लागि म्याद थप भएको तिवारीले बताउनुभयो । दश दशमलव १२ किलोमिटर खण्ड स्तरोन्नतिमध्ये आठ किलोमिटरमा मात्रै प्रगति भएको छ । उक्त खण्ड स्तरोन्नतिका लागि रू २३ करोड दुई लाख ८० हजार छ सय ६१ मा सम्झौता भएको थियो । उक्त सडक स्तरोन्नतिको काम एमएस शङ्करमाली निर्माण सेवाले पाएको छ । तिवारीका अनुसार हालसम्म रू छ करोड ९५ लाख २६ हजार छ सय ४० भुक्तानी भएको छ । चालु आर्थिक वर्षमा रू दुई करोड बजेट विनियोजन भएको तिवारीले जानकारी दिनुभयो । यस्तै, एमएस शङ्करमाली निर्माण सेवाले नै ठेक्का पाएको दुलेगौडा–हर्कपुर सडकको काम पनि अलपत्र छ । उक्त सडक स्तरोन्नतिका लागि २०७६ साल कात्तिक ४ गते सम्झौता भएको थियो । सडक निर्माणको म्याद २०७९ साल असार ३० गते सकिएर २०८२ असार १३ गतेसम्मका लागि म्याद थप भएको छ । उक्त सडकमा हालसम्म रू १० करोड ५८ लाख ८४ हजार पाँच सय नौ भुक्तानी भएको र चालु आर्थिक वर्षका लागि रू दुई करोड विनियोजन भएको प्रमुख तिवारीले जानकारी दिनुभयो । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ट्रयाक खुलेको २४ वर्षपछि कालोपत्र सुरू हुँदा स्थानीयवासी खुसी भएका थिए । तर कामको प्रगति नबढ्दा स्थानीयवासी चिन्तित छन् ।
काठमाडौं: पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए । ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर लागेपछि आगलागीका घटना बढ्न थालेको छ । दैनिक आगलागीका घटना भइरहेका छन् । वर्षा नभएको र चिसो मौसम बढिरहेकाले पनि अबको समय आगलागीको उच्च जोखिम हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ । एक त ज्वलनशील वस्तु जम्मा हुन थालेको र अर्को जाडोमा आगो ताप्ने चलनले आगलागी र डढेलो बढ्छ । त्यहीअनुसार तयारी थालिएको पनि उहाँले बताउनुभयो । अबको केही समयपछि डढेलोको जोखिम पनि उत्तिकै हुने भएकाले अहिलेदेखि नै तयारी थालिएन भने बढ्दो डढेलोको जोखिमले मानव तथा भौतिक सम्पत्तिमा ठूलो क्षति हुनसक्नेतर्फ विज्ञहरूले सचेत गराएका छन् । विज्ञहरूका अनुसार पछिल्लो एक दशकको तथ्याङ्क अध्ययन गर्दा नेपालमा डढेलोका कारण ठूलो जनधनको क्षति हुन थालेको छ । डढेलो मानव बस्तीमा सल्किने क्रम पनि बढिरहेको छ । विज्ञहरूले डढेलो लागेपछि नियन्त्रण गर्न कठिन हुने भएकाले डढेलो लाग्न नदिने उपाय खोजी गरी पूर्वतयारीलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा सुझाव दिएका छन् । यो क्रम अहिलेदेखि नै सुरू गर्नुपर्नेमा उहाँहरूको सुझाव छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोसम्बन्धीका विज्ञ सुदीप छतकुलीले आगलागीबाट नेपालमा १३ जिल्ला अति संवेदनशील र ११ जिल्ला संवेदनशील रहेको जानकारी दिँदै पछिल्लो समयमा डढेलो बढ्दै जानु चुनौतीको विषय भएको बताउनुभयो । तर पनि कुनै न कुनै रूपमा आगलागी र डढेलोले देश नै प्रभावित हुने गरेको छ । उहाँले जङ्गलमा पतकर, काठ तथा वन पैदावर बढ्दै जाँदा डढेलो लाग्ने क्रम बढेकाले त्यसको व्यवस्थापन जरूरी रहेको बताउनुभयो । उहाँका अनुसार गएको वर्ष नेपालका ७४ जिल्ला डढेलो र आगलागीबाट प्रभावित भएको छ । शतप्रतिशतजस्तै डढेलो मानवीय कारणले लाग्ने गरेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार ६४ प्रतिशत मानिसले जानीजानी डढेलो लगाउने गरेका छन् । एकतीस प्रतिशत हेल्चक्रयाइँका कारण डढेलो लाग्ने गरेको छ । यसरी हेर्दा केही प्रतिशतबाहेक मानिसकै गतिविधिका कारण डढेलो लाग्ने भएकाले सचेत हुनेपर्नेमा उहाँले जोड दिनुभयो । डढेलोसम्बन्धीका अध्यक्ष एवं अर्का डढेलोसम्बन्धी विज्ञ डा कृष्ण भुजेलले आगलागी हुने दिन पनि बढ्दै गएको बताउनुभयो । उहाँले सिवालिक क्षेत्रमा बढी डढेलो लाग्ने गरेको जानकारी दिँदै जङ्गलबाट बस्तीमा डढेलो सल्किने क्रम पनि बढेको बताउनुभयो । भुलेलले भन्नुभयो, “विभिन्न कारणले बस्ती र वन जोडिन थालेको छ, त्यसैले वनमा लागेको आगो बस्तीमा सल्किने क्रम पछिल्ला वर्षहरूमा बढ्दै गएको हो, यसले ठूलो जनधनको क्षति गराइरहेको छ ।” नेपालमा तथ्याङ्क हेर्दा बढी लुम्बिनी प्रदेशमा डढेलो लागेको छ । त्यसपछि सुदूरपश्चिम, कर्णाली, बागमती, मधेश प्रदेश, कोशी र गण्डकीमा डढेलोका घटना भएको छ । केही वर्षहरूमा गरिएको अध्ययनले डढेलो लाग्ने क्रम बढ्नु र क्षति पनि बढाउँदै लैजानुले डढेलो लाग्ने मौसमभन्दा केही महिना अगाडिदेखि नै रोकथामको तयारी थाल्न जरूरी रहेको उहाँले सुनाउनुभयो । उहाँले यही मङ्सिर पुसदेखि नै तयारी थाल्नुपर्नेमा जोड दिनुभयो । जङ्गल व्यवस्थापन प्रभावकारी नहुनु, वनपैदावर र जल्ने वस्तु थुप्रिँदै जानु, कृषि भूमि बाँझिदै गएर जङ्गलमा परिणत हुनु र त्यसले बस्तीसम्म फैलिँदा घरमा पनि डढेलो पुग्नु, जलवायु परिवर्तनलगायत कारण आगलागी बढिरहेको विज्ञहरू बताउँछन् । डा भुजेलले अब ज्वलनशील पदार्थ जङ्गलबाट हटाउन नसके डढेलो र आगलागी भयावह हुनेतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले तल्लो स्थानीय तहदेखि केन्द्रसम्मका निकाय सक्रिय भएर लाग्न सके डढेलोकै लागि कमाण्ड पोष्ट निर्माण गरी फायर फाइटिङ टिम निर्माण गर्न जरूरी रहेको बताउनुभयो । उहाँले डढेलो लाग्नै नदिने उपायको खोजी गर्नतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो । वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक दीपक ज्ञवाली गएको वर्ष ७४ जिल्लामा पाँच हजारभन्दा बढी डढेलोका घटना भएको जानकारी गराउँदै जङ्गल र घरसँगसँगै जोडिन पुग्दा जङ्गलमा लागेको डढेलो घरसम्म आइपुग्ने गरेको र जनधनको क्षति भइरहेको बताउनुहुन्छ । जङ्गलका प्रज्वलनशील पदार्थ हटाउन सके डढेलो नियन्त्रणमा सहयोग पुग्ने हुँदा अब वन व्यवस्थापन यसतर्फ केन्द्रित हुनुपर्नेमा उहाँको जोड छ । विपद्सम्बन्धी अगुवाइ गर्ने संस्था गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हो । तर पनि अन्य बाढीपहिरोजस्ता विपद्लाई झैँ डढेलोलाई प्राथमिकता दिन अझै सकिएको छैन । प्राधिकरण आएपछि केही प्रयास भएका छन्, तर पर्याप्त छैन । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल वन व्यवस्थापनलाई कसरी व्यवस्थित र बलियो बनाउने भन्नेबारे वर्तमान आवश्यकतासहितको राष्ट्रिय रणनीति आवश्यक भएको बताउनुहुन्छ । त्यसका लागि प्राधिकरणले आवश्यक प्रक्रिया अघि बढाइसकेको र तयारीमा जुट्न कर्मचारीहरूलाई निर्देश गरिसकिएको उहाँले बताउनुभयो । डढेलो जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि सँगसँगै वनमा थुप्रिएर बसेका सुकेका पत्करहरूको उचित व्यवस्थापन गर्न सबै क्षेत्रको समन्वयात्मक भूमिका र अग्रसरता जरूरी रहको उहाँले बताउनुहुन्छ । उहाँका अनुसार प्राधिकरणले भर्खरैमात्र डढेलोको विपद् न्यूनीकरणसम्बन्धी राष्ट्रिय बहस सम्पन्न गरेको छ । उक्त बहसले महत्त्वपूर्ण सुभाव दिएकाले त्यसलाई कार्यान्वयनका लागि प्राधिकरणले पहल थालेको र संयुक्त कार्र्य अघि बढाउने विषयमा आह्वानसमेत गरिएको बताउनुभयो ।
कञ्चनपुर: हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ ९चाइनिज रुबीथ्रोट० चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो । नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरूलाल डगौरा शुक्लाफाँटा नेचरगाइड एशोसिएसनका सुवन चौधरी र महानन्द जोशीको टोलीले सो चरा फेलापारेका हुन् । हिमाली क्षेत्रमा हिउँ पर्ने क्रमसँगै चिसो बढेपछि यो चरा तराई क्षेत्रमा आउने गर्दछ । “तराई क्षेत्रमा आउने भए पनि विरलै देखापर्ने गरेको छ”, चराविज्ञ डगौराले भन्नुभयो, “कञ्चनपुरमा भने पहिलोपटक देखापरेको छ, यो चरा यस क्षेत्रका लागि दुलर्भ नै हो ।” अहिलेसम्मको तथ्याङ्कमा यो चरा नदेखिएको उहाँको भनाइ छ । उहाँका अनुसार यो चरा बङ्गलादेश, भुटान, म्यानमार, नेपाल, पाकिस्तान, रुस र थाइल्याण्डमा पाइन्छ । गर्मीका बेला हिमाली क्षेत्रमा र जाडोमा तराई क्षेत्रमा बसाइ सर्ने गर्दछ । जाडोमा यो चरा नेपालदेखि भारतको आसामसम्म बसाइ सरेर पुग्ने गर्छ । यसले गर्मीका बेला प्रजनन गर्ने गर्दछ । घना रुख र झाडीमा गुँड लगाएर अण्डा पारेर बच्चा कोर्लने गर्दछ । कृष्णवक्ष रातोकण्ठ चराको भालेको सेतो निधार, स्टलेटी खैरो हुन्छ भने पखेटा खैरो रङको र पुच्छर सेतो टुप्पोमा कालो रङको हुन्छ । घाँटी र छातीको छेउ कालो हुन्छ भने घाँटीको बीचमा रातो रङको हुन्छ । पोथी निलो खैरो रङको हुन्छ । घाँटी सेतो हुन्छ । “यस चराका जोडी प्रजननको समयमा एक्लै वा जोडीमा देखिने गर्दछन्”, चराविज्ञ डगौराले भन्नुभयो, यसले स–साना कीरा र कमिलालाई आहाराका रूपमा खाने र बचेरालाई खुवाउने गर्दछन् ।” तराई क्षेत्रमा चिसो बढ्न थालेपछि यो चरा पुनः पुरानै बासस्थानमा फर्कने गर्दछ । यो चरा विशेषगरी समुद्री सतह दुई हजार पाँच सयदेखि दुई हजार सात सय मिटरको उचाइसम्म देखिने गरेको छ । सिमसार क्षेत्र संरक्षणमा स्थानीय बासिन्दाको चासो बढ्दै जानु र चराको सिकार गर्ने क्रममा कमी आएपछि दुर्लभ प्रजातिका चरा देखिन थालेको चराविज्ञ डगौराको भनाइ छ ।
तनहुँ: म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको रु तीन करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सभाहल निर्माणका लागि स्थानीय सरस्वती घिमिरेले आधा रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । सभाहलको निर्माण गत असारमा पूरा भएको हो । आज त्यसको औपचारिक उद्घाटन हुँदैछ । अब गाउँपालिकाले कार्यक्रम गर्न अन्यत्र पेक्षालयको व्यवस्था गर्नुपर्ने छैन । साथै अन्य सङ्घसंस्थालाई पनि कार्यक्रम गर्न सहज हुनेछ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ दुई पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ एक पैसा र बिक्रीदर एक सय ५३ रूपैयाँ ६९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ सात पैसा र बिक्रीदर ८७ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ २३ पैसा र बिक्रीदर ९६ रूपैयाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रूपैयाँ ८५ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ २९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ एक पैसा र बिक्रीदर नौ रूपैयाँ पाँच पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ र बिक्रीदर ३६ रूपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रूपैयाँ ९६ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ३५ पैसा र बिक्रीदर ३० रूपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३७ पैसा र बिक्रीदर १२ रूपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ नौ पैसा र बिक्रीदर १९ रूपैयाँ १८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रूपैयाँ ९८ पैसा र बिक्रीदर चार सय ४१ रूपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ७७ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ३६ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ ३७ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ९३ पैसा तथा भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो । अदालतले निगमका तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद हुने फैसला गरेको छ । त्यसमा बिगो रु एक अर्ब ४७ करोड १० लाखको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना गरिएको छ । निजले ज्येष्ठ नागरिक ऐनअनुसार ५० प्रतिशत सजाय छुट पाउने छन् । निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई एक वर्ष नौ महिना कैद सजायको फैसला भएको छ । दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना भने सोही बराबरको बिगो जफतसमेत हुने फैसलामा उल्लेख छ । विशेष अदालतले पूर्वसचिव एवं तत्कालीन निगम सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गानालाई एक वर्ष छ महिना कैद सजाय सुनाएको छ । ढुङ्गानालाई कुल बिगोको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना हुने फैसला भएको छ । पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धिसागर लामिछानेलाई पनि एक वर्ष छ महिना कैद सजायको फैसला भएको छ । दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना लामिछानेलाई हुनेछ । बिगो असुलउपरको फैसला लामिछानेलाई पनि लागू हुनेछ । अदालतले जहाज खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीका तीन प्रतिनिधिलाई पनि दोषी ठहर गरेको छ । ती कम्पनीका प्रनिनिधिलाई एक वर्ष छ महिना कैद र दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवानाको फैसला गरेको छ । अदालतले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई सफाइ दिएको छ । उक्त प्रकरणमा दुई विदेशीसहित २७ प्रतिवादीले अभियोगबाट सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिदमा भ्रष्टाचार भएको उल्लेख गर्दै मुद्दा दायर गरेको थियो ।