पोखरा:   गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिम (अपे्रन्टिशीप) कार्य...

काठमाडौं:     मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिने पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको शतबीजारोपण मार्गमा उल्लेख छ ।       रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।       यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् । शुक्रबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।       प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको शुक्रबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ ।  बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति छ ।      आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीको शुक्रबार राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।       शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु(याउन अनुरोध गरिन्छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम शतबीज भन्नाले हेमाद्री नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्नुहुन्छ ।       “भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ,” उहाँले भन्नुभयो ।       वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।       यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि प्रसिद्ध छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।       त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।       आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।       माता, पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नुनहुने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ ।  तर कुल परम्परा अनुसार कति भक्तजन भने शुक्रबार पनि बरखी बारेकै अवस्थामा पशुपतिनाथमा आएर बत्ती बालेका छन् । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ ।

म्याग्दी:    म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको हाँडेभिर–बगरफाँट–भकिम्ली सडकको मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति गर्न सुरु भएको छ ।    विसं २०६४ मा कृषि सडकका रुपमा बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्याक’ खुलेको थियो ।  ट्याक खुलेको करिब १७ वर्षपछि बगरफाँटदेखि दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो । बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गरी ग्राभेलसहित स्तरोन्नति गर्न थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडक गत वर्ष नै कालोपत्र भइसकेको छ । गत वर्ष गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाको रुपमा छनोट भएको यस योजनामा पूर्वाधार विकास कार्यालयले रु पाँच करोड ५९ लाखमा सडक स्तरोन्नतिको लागि माछापुच्छे« हिमालयन जेभीसँग ठेक्का सम्झौता भएको थियो ।  यस सडक स्तरोन्नतिको लागि रु १० करोड लागत अनुमान गरी ठेक्का प्रतिस्पर्धामार्फत योजनालाई कार्यान्वयन गराइएको हो । यस योजनाबाट बगरफाँदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा ३९० मिटर सडक ढलान गरेर स्तरोन्नति गरिने पूर्वाधार विकास कार्यालय म्याग्दीका इञ्जिनियर सञ्जय सुवेदीले बताउनुभयो ।  उहाँका अनुसार, चालु आवमा प्रदेश सरकारबाट यस योजनाको लागि रु एक करोड ६० लाख मात्रै बजेट प्राप्त भएको छ ।  “निर्माण व्यवसायी कार्य क्षेत्रमा परिचालन भइसकेको छ, धमाधम सडक स्तरोन्नति गरे अहिले आएको बजेटले निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन नसक्ने अवस्था छ, हामीले थप बजेटका लागि लेखेर पठाइसकेका छौँ”, उहाँले भन्नुभयो । गत जेठमा ठेक्का सम्झौता भएको यस योजनाको निर्माण अवधि १८ महिना मात्रै रहेको छ ।  करिब दुई महिनादेखि कार्यक्षेत्रमा परिचालन भएका निर्माण व्यवसायीले सडक फराकिलो बनाउने, मेसिनरी पर्खाल र ग्याविन जाली लगाउने कामलाई तीव्रता दिएका छन् । अहिलेसम्म करिब १० प्रतिशत काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि निरोज भण्डारीले बताउनुभयो ।  अहिले कार्यक्षेत्रमा ५० जना बढी मजदुरसँगै आवश्यक मात्रामा निर्माण सामग्री र मेसिन उपकरण परिचालन गरेको र निर्माण कार्यलाई द्रुत गतिमा निर्धारित समयअगावै निर्माण कार्यलाई सम्पन्न गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो ।  मुख्य बस्तीमा सडक विस्तारको क्रममा देखिएको जग्गा विवाद स्थानीयले सहमतिमै टुङ्गो लगाएसँगै निर्माण व्यवसायीले पहिलो चरणमा सडक फराकिलो बनाउने कामलाई जोड दिएका छन् ।  सडकको मार्ग खुलेको करिब दुई दशकपछि स्तरोन्नति हुन लागेको सडक योजनालाई गुणस्तरीय बनाउन र स्थानीयस्तरमा सहजीकरण गर्न स्थानीयवासीले सहजीकरण समिति गठन गरेर नियमित अनुगमन गर्न थालेका छन् ।  सहजीकरण समितिका संयोजक चन्द्रबहादुर घिमिरेले सडक विस्तारको क्रममा देखिएको जग्गासम्बन्धी विवाद समाधान गरिएको र निर्माण व्यवसायीले गर्ने काममा निगरानी बढाइएको बताउनुभयो ।  “जिल्ला सदरमुकामसँग जोडिएको सडक ओझेलमा परेको थियो, अहिले स्तरोन्नतिको लागि बजेट आएको छ, हामीले यो योजनालाई सफल बनाउँदै कालोपत्रे नै गर्नका लागि थप बजेटको लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।        हाँडेभिरदेखि बगरफाँट–दूधेखोला–हल्लेगौडा, मुसुङडोले  हुँदै बागलुङको ताराखोला जोड्ने यो सडकमार्गअन्तर्गत दूधेखोलादेखि बास्कुना–थामडाँडा–अर्जेखोला हुँदै मङ्गला गाउँपालिकाको वडा नम्बर ३ र ४ बरङ्जालाई समेत यो सडकले जोडेको छ ।  गण्डकी प्रदेश सरकारले चालु आवमा पठाएको बजेट योजनाको लागि पर्याप्त नभएकाले थप बजेट व्यवस्थापनको लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जानकारी दिनुभयो । 

काठमाडौं:     नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार यूरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, जापानी येनलगायतको मूल्य बढेको छ ।   राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ ।      युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २१ र बिक्रीदर एक सय ७१ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।      केन्द्रीय बैंकका अनुसार, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।      यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ९९ पैसा र बिक्रीदर नौ रुपैयाँ ०३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ ।      केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा तोकिएको छ ।      त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।      राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९६ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ ३५ पैसा र बिक्री दर तीन सय ५१ रुपैयाँ ९१ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।      राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

काठमाडौं:    राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ । स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो । त्यसो त दुलही झैँ सिङ्गारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ ।  त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ । यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ ।  यही मङ्सिर १२ गते नै टिकट बुक गरिसक्नुभएका इमाडोल निवासी रमण थापाले त्रिवि मैदानमा चर्चित विदेशी खेलाडीको खेल हेर्न आफू निकै आतुर रहेको बताउनुभयो ।       त्यसो त एनपिएलमा विश्वचर्चित स्टार खेलाडीको सहभागिताले पनि प्रतियोगिता थप रोमाञ्चक हुने आशा गरिएको छ । विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह थपिएको हो ।  भारतका लागि तीनवटै फर्म्याटमा खेलिसकेका स्टार खेलाडी  धवन, न्यूजिल्याण्डका मार्टिल गप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न आउँदैछन् । त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी–२०का स्टार खेलाडीको सहभागिताले पनि एनपिएल निकै चर्चामा आएको हो ।  विश्वचर्चित खेलाडीसँगै एनपिएलमा लगानीकर्ता टोलीले पनि खेलाडीमा खर्च गर्न कुनै कन्जुस्याँई गरेको देखिँदैन । फ्रेन्चाइज टिम किन्नकै लागि करिब रु तीन करोड माथीसम्म खर्च गरेको छ । पोखरा एभेन्जर्सले करिब रु तीन करोड ५७ लाखमा फ्रेन्चाइज किनेको थियो । यस्तै कम खर्च गर्नेले पनि कम्तीमा रु एक करोडभन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ । एनपिएलको अर्को आकर्षण भनेको खेलाडीले कार पाउनु पनि हो । नेपाली क्रिकेट इतिहामा खेलाडीले खेलेरै कार पाउने यो पहिलो पटक हुनेछ । क्यानका अनुसार प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले एक थान कार पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै क्यानले प्रतियोगिताको विजेता टोलीलाई ठूलै नगद पुरस्कार दिने भनिएता पनि हालसम्म के कति पुरस्कार दिने भन्ने विषयमा खुलाएको छैन ।  आजको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।  जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् ।  उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरले एनपिएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्यान्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेकिाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ । जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक छन् ।  जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके हुनुहुन्छ । दासानायकेले सुरुआतमा सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हाल्नुभएको थियो ।  त्यसदौरान उहाँकै प्रशिक्षणमा नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । त्यस्तै नेपालले विभिन्न समयमा क्रिकेटको छनोट चरण पार गर्दै सन् २०१४ मा बङ्गलोदशमा भएको विश्वकपमा सहभागितासमेत जनाएको थियो । उहाँकै प्रशिक्षणमा उपाधि जित्नेमा जनकपुर बोटल्स विश्वस्त रहेको छ । जनकपुरका कप्तान अनिल शाहले आफनो टोलीको तयारीसँगै अभ्यास खेल पनि खेलेको र टोली सन्तुलित रहेको भन्दै टिम जित्नकै लागि मैदानमा उत्रिने बताउनुभयो । विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका कप्तान लामिछानेले विभिन्न देशमा फ्रेन्चाइज खेल्दा आफ्नो देशमा पनि विश्वका स्टारसहित राम्रो फ्रेन्चाइज लिग होस् भन्ने चाहना पूरा हुन लाग्दा खुसी लागेको बताउँदै जनकपुरविरुद्धको पहिलो खेलबाटै जित निकाल्ने गरी मैदानमा उत्रिने बताउनुभयो ।  विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् ।  विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् । टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन् । उक्त खेलको प्रत्यक्ष प्रशारण विश्वका ठूला प्रतियोगिता र लिग प्रशारण हुने ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ ।  त्रिविमा अध्ययनरत विधार्थीलाई टिकट मुल्यमा छुट       नेपाल प्रिमियर लिग (एनपीएल)मा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले टिकट मूल्यमा छुट प्रदान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।  क्यानका अनुसार त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने खेलमा त्रिवि विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ५० प्रतिशत छुट दिने जानकारी दिएको छ ।  प्रतियोगितामा जनकपुर बोट्ल्ससँगै विराटनगर किङ्ग्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ । 

पोखरा:   पोखरामा आज बेलुका ट्रकले ठक्कर दिँदा धनकुमारी बुढाको मृत्यु भएको छ । रुकुम पश्चिम घर भई पोखरा याम्दी बस्दै आएकी बुढालाई ट्रकले आज बेलुका याम्दीमा ठक्कर दिएको थियो ।     घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएकी ५५ वर्षीय बुढाको मणिपाल शिक्षण अस्पतालमा उपचारमो क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कास्की:    खानेपानीमन्त्री प्रदीप यादवले पचासौँ वर्षको प्रतीक्षापछि पोखरेली जनताले सहजरूपमा शुद्ध खानेपानी प्राप्त गर्न सफल भएको दाबी गर्नुभएको छ ।  पोखरा महानगरपालिकाको खानेपानी सुधार आयोजना आज पोखरा–१९ पुरनचौरमा उद्घाटन गर्दै मन्त्री यादवले सहज तवरले खानेपानी प्राप्त गर्ने जनताको अधिकार सुनिश्चित गर्न सरकार निरन्तर लागिपरेको बताउनुभयो । नेपाल–जापान सहयोगअन्तर्गत मित्रराष्ट्र जापान सरकारको रू चार अर्ब अनुदान सहयोगमा सो आयोजनाको संरचना निर्माण सम्पन्न भएको हो । “मेलम्चीपछिको उक्त ठूलो खानेपानी आयोजना सम्पन्नसँगै अब पोखराली उपभोक्ताको धाराबाट धमिलो पानी आउने छैन”, मन्त्री यादवले भन्नुभयो, “गुणस्तरीय मापदण्डअनुसार पोखरेली जनताले खानेपानी प्राप्त गर्ने छन् ।”  आफू खानेपानीमन्त्री भएसँगै अधुरा योजनालाई छिटो सम्पन्न गर्ने कार्यलाई तीब्रता दिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा खानेपानी संस्थानमा देखिएका समस्या र कर्मचारी व्यवस्थापनामा आफ्नो ध्यान केन्द्रित गर्ने बताउनुभयो । ‘माछापुच्छ्रे गाउँपालिकामा मुहान रहेको मर्दी खोलाको पानीलाई पोखरा–१९को पुरन्चौर र हेम्जाका पोखरीमा फिल्ट्रेसन गरी पोखरा–२ विन्ध्यवासिनीस्थित ट्याङ्कीमा जम्मा गरी पोखरामा पानी वितरण हुनेछ ।  बीस इञ्चको पाइपबाट दैनिक चार करोड १० लाख लिटर पानी ट्याङ्कीमा जम्मा गरी  पोखराका १९ वटा वडाका ५० हजार धारमा पानी वितरण गरिने छ । उक्त खानेपानी आयोजनाबाट पोखराका साढे तीन लाख जनता लाभान्वित हुनेछन् ।  सङ्घीय सांसद दामोदर पौडेलले संरचना निर्माणसँगै संरक्षण र व्यवस्थापनामा सरकार र खानेपानी संस्थानले ध्यान दिन जरूरी भएको बताउनुभयो । साथै उहाँले आयोजना निर्माण भए पनि पोखरामा खानेपानीको अभाव अझै रहने बताउनुभयो ।  पानीको मुहान भएको क्षेत्र माछापुच्छ्रे गाउँपालिका र पुरन्चौर क्षेत्रमा बसोबास गर्ने जनताका लागि विकास निर्माणका काम अगाडि बढाउन उहाँले जोड दिनुभयो ।  गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरूङले खानेपानीको मुहान नजिकै बस्ती र मृत्यु भएका मानिस जलाउने ठाउँ भएकाले त्यसलाई व्यवस्थित गर्दै खोलाको संरक्षण गर्न जरूरी भएको बताउनुभयो ।  पोखरालाई पानी दिएर सहयोग गर्ने माछापुच्छ्रे गाउँपालिकावासीको हितमा विकास निर्माणका कार्य अगाडि बढाउन खानेपानी मन्त्रालय र पोखरा महानगरपालिकाको ध्यान जान आवश्यक भएको उहाँको भनाइ छ ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराका विभिन्न वडामा नयाँ पाइपलाइन विस्तारसँगै अब केही दिनमा शुद्ध पानी वितरण गरिने बताउँदै पोखराको पस्र्याङ, फूलबारी र टुँडिखेल र रामबजारको कोलपाटनमा पानीका ट्याङ्कीबाट शुद्ध पानी वितरण हुने जानकारी दिनुभयो ।  धाराबाट सीधै पिउनयोग्य पानी पोखराका अधिकांश भागमा पुग्ने विश्वास उहाँको छ ।  खानेपानी मन्त्रालयका सचिव प्रमिला शाक्यले जापान सरकारको अनुदान सहयोगमा खानेपानी आयोजना सम्पन्न भएसँगै अब पानीको मुहान क्षेत्रमा रहेको बस्तीमा मानिसको आवश्यकता पूरा गर्ने कार्यमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

काठमाडौं:    भारतीय क्रिकेटर शिखर धवन नेपाल आएका छन् । शनिबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिल) खेल्न धवन आज साँझ नेपाल आएका हुन् । धवनले एनपिएल टोली कर्णाली याक्सबाट खेल्नेछन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरेले स्वागत गर्नुभएको हो ।     विमानस्थलमा सञ्चारकर्मीसँग धवनले आफू एनपिएल खेल्न पाउँदा उत्साहित भएकोे बताए ।       ३९ वर्षीय बायाँहाते ब्याटर धवन इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादसँगै दिल्ली क्यापिटल्स, डेक्कन चार्जर्स र पञ्जाब किङ्सबाट खेलिसकेका छन् । सन् २०१६ मा धवन सम्मिलित हैदरावादले आइपीएलको उपाधि जितेको थियो ।  

पोखरा:    गएको मंसिर ५ गते पोखरा चिप्लेढुङ्गास्थित टे«डमल अगाडि पार्किङमा राखेको ग २३ प ९२०८ नम्बरको डुक (मोटरसाइकल) एकाएक हरायो ।  पार्किङमा राखेको मोटरसाइकल हराएको सूचना कास्की प्रहरीकहाँ पुग्यो । त्यसपछि वडा प्रहरी कार्यालय बैदामले मोटरसाइकल खोजतलाज गर्दै जाँदा बिजय थापा नाम गरेको फेसबुक आईडीमा उक्त मोटसाइकलको पार्टपुर्जा निकालेर बिक्रीका लागि राखेको भेट्यो ।   मोटरसाइकलको पार्टपुर्जा बिक्रीका फेसबुकमा राखेका बिजय थापालाई अनुसन्धानका लागि प्रहरीले बुधबार नियन्त्रणमा लियो । अनुसन्धानको क्रममा थापाले ग २३ प ९२०८ नम्बरको डुक मोटसाइकलको पार्टपुर्जा आफ्नो ग १६ प १४ ६२ नम्बरको मोटरसाइकलमा राखेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  थापाले केही पार्टपुर्जा आफ्नो मोटरसाइकलमा राखेको र अन्य पार्टपुर्जा छुट्टाएर पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित कोठा भाडामा लिएर लुकाएर राखेको अवस्थामा फेला पारेको कास्की प्रहरीले जनाएको छ ।  पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।    

गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले आर्थिक सशक्तीकरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन् ।   शुक्रबार नवलपुरको कावासोती स्थित कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले समाजमा सहकार्यको भावना जागृत गर्दै संगठित भएर पुँजीको सही परिचालन गर्दै आएका सहकारीले आर्थिक सशक्तीकरणमा महत्वपूर्ण टेवा पुर्याएको बताएकी हुन् ।   ‘उद्धेश्य अनुरुप सञ्चालन नहुँदा, पारदर्शिता नहुँदा, समाजप्रति र बचतकर्ताप्रति उत्तरदायी नहुँदा केही सहकारीहरुमा समस्या आएको छ । तर पारदर्शि ढङ्गबाट अघि बढीरहेका सहकारीहरुको कार्यप्रगति राम्रो छ । स्थापनाको उद्धेश्य अनुरुप, बचतकर्ताहरुको भावना अनुरुप सञ्चालन भइरहेका सहकारीहरुले आर्थिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्’ उनले भनिन् ।   सहकारीलाई उद्यमसँग जोड्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड थियो ।   अन्नबालीका लागि नवलपुर उर्वर भूमी भएकाले सामूहिक खेती लगायतका कृषि उद्यमसँग जोडिन बचतकर्ताहरुलाई उनले आह्वान गरिन् ।   ‘सहकारीलाई उद्यमसँग जोडिरहँदा केही चुनौतीहरु देखा पर्न सक्छन् । हामीले चुनौतीलाई अवसरका रुपमा लिँदै अघि बढ्नु पर्दछ’, उनले भनिन्,‘आर्थिक उन्नयनका लागि उद्यमशिलताको विकल्प छैन । तसर्थ सबै बचतकर्ता, श्यर सदस्य लगायत सहकारीमा आवद्ध सम्पूर्णलाई उद्यममा अघि बढ्न आह्वान गर्दछु ।’