पोखरा:  लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीहरुको सम्मानमा एक कार्यक्रमको आयोजना गरि विदाइ गरेको छ ।  कलेजमा स्नातक तह तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुक...

भक्तपुर:    यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागु गर्न लागेको हो ।           यसैवर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । कक्षा आठ, १० र १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिकमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था छ ।           संशोधन गरिएको निर्देशिका अनुसार नियमित वा ग्रेड वृद्धि परीक्षामा कम्तीमा डी ल्याउनैपर्ने हुन्छ । विद्यार्थीले नियमित र मौका परीक्षा दिँदा पनि विद्यार्थीले जुनजुन विषयमा एनजी आएको छ, त्यो विषयको मात्रै परीक्षा दिन पाउने उहाँले बताउनुभयो ।  विद्यार्थीले यस्तो यो अवसर तीन वर्षसम्म पाउनेछन् । यस वर्ष कक्षा १० को अन्तिम परीक्षा आगामी चैत ७ गतेदेखि हुँदैछ ।

पोखरा:  ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।  ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष दाहालले प्रदेशको पर्यटन विकासको लागि टान गण्डकीसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले पर्यटन क्षेत्रमा देखिएका समस्याहरू समाधानका लागि सरकार र सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । “पर्यटन व्यवसायीले कति कमाउँछ भन्नेमा चासो जति छ,त्यति नै पोखरामा पर्यटन कति आए र यसलाई अझ कसरी बढाउन सकिन्छ भन्ने विषयमा विशेष ध्यान दिन जरुरी छ । उनले थपे ‘पर्यटन क्षेत्रमा आर्थिक कारण र चेतनाका कारण देखिएका समस्या समाधानमा ध्यान दिनु अत्यावश्यक छ ।’ उनले अन्तर्राष्ट्रिय विमानस्थल उडानको ढिलाइको विषयमा सरकारको सिस्टममा कमजोरी भएको स्वीकार गरे ।  अध्यक्ष दाहालले चेतनाको कमीले यी समस्याहरू उत्पन्न भएको बताउँदै अन्तर्राष्ट्रिय उडानको लागि पहल गरिरहने बताए ।  यसअघि टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले रोजगारको ठूलो सम्भावना भएको पदयात्रा पर्यटनमा समन्वय र सहकार्यको खाँचो देखाउँदै टान गण्डकी सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।  नेपालको पदयात्रा पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएको बताउँदै आचार्यले पर्यटन व्यवसायमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्न अध्यक्ष दाहाल आग्रह गरेका थिए । टान गण्डकीले बुझाएको १२ बुँदे ध्यानाकर्षण पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यथाशीघ्र अन्तर्राष्ट्रिय उडान गर्न, काठमाडौँ–पोखरा जोड्ने पृथ्वी राजमार्गको तत्काल स्तरोन्नति गर्न, जथाभाबी मोटरबाटो निर्माणका कारण पदयात्रा क्षेत्रमा असर परेकोले विश्वप्रसिद्ध पदमार्गहरू लोप हुँदै जानु र पदयात्रा पर्यटनमा कमजोरी ल्याउन थालेको भन्दै नयाँ पदमार्गको खोज, प्रवद्र्धन तथा संरक्षणमा सरकारले ध्यान पु¥याईदिन उल्लेख गरिएको छ ।  यसका साथै, निषेधित क्षेत्रमा १ जनाले पनि यात्रा गर्न मिल्ने व्यवस्था गर्न, स्थानीय निकायले पालिका प्रवेश गर्दा विदेशी र आन्तरिक पर्यटकबाट शुल्क लिने निर्णय रोक्न, अवैध रूपमा सञ्चालन हुने पदयात्रा रोकेर कडा कारवाही गर्न, टिम्स चेकपोस्ट पुनः सञ्चालन गर्न, र पर्यटन क्षेत्रमा प्रभावकारी रूपमा गाइड वा सहयोगी नपरी यात्रा गर्न नपाउने नीतिलाई पनि थप मजबुतीकरण गर्नुपर्नेमा टानको आग्रह छ । संघीय संरचनामा समन्वयको अभावलाई सम्बोधन गर्न एकद्वार प्रणाली लागू गर्न, पर्यटन नीति तथा कानुनलाई समयसापेक्ष परिमार्जन गर्न र गण्डकी प्रदेशमै कम्पनी रजिष्ट्रारको कार्यालय स्थापना गरेर दर्ता प्रक्रिया सहज बनाउन समेत टानले ध्यानाकर्षण पत्रमार्फत जानकारी गराएको छ । धवलागिरी क्षेत्रलाई संरक्षित क्षेत्रको रूपमा घोषणा गर्दै क्याम्पिङ ट्रेकिङको  प्रवद्र्धन गर्न समेत टानको जोेड छ । 

वालिङ:  स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गर्नुभयो ।   आफ्नो फार्ममा उत्पादित सुन्तला काठमाडौँस्थित अकिष्टा नेपाल प्रालिले खरिद गर्ने सम्झौता गरेसँगै बजारीकरणमा सहज भएको हो ।   पित्लेक कालिका कृषि फार्म र अकिष्टा नेपाल प्रालिबीच यहाँ उत्पादित सुन्तला खरिद बिक्री गर्ने सम्झौताअनुरुप कार्यान्वयन भएकाले उत्पादित सुन्तलाको बजारीकरणमा सहज भएको अगुवा कृषक लामिछानेले बताउनुभयो ।   “कम्पनीसँग यसवर्ष सम्झौता भएबमोजिम प्रतिकेजी रु ६५ का दरले हामीले बिक्री गर्याै, उहाँले भन्नुभयो, “कम्पनीबाट दुई–तीन जना कामदारसहित गाडी आयो, सुन्तला टिपेर लोड गरेर पठायौँ, ग्राहक खोज्नुपर्ने झन्झट भएन ।” कम्पनीसँग सम्झौता गरेर काम गर्दा अझै विश्वासिलो आधार भएकाले आफ्नोसहित अन्य छिमेकीहरुको पनि सुन्तला टिपेर पठाइएको उहाँले बताउनुभयो ।   किसान लामिछानेले यस वर्ष ६० क्विन्टल सुन्तला प्रतिकेजी रु ६५ का दरले बिक्री गरिसक्नुभएको छ । “दुई पक्षबीच भएको सम्झौताबमोजिम आफ्नोमात्रै अहिलेसम्म ६० क्विन्टल सुन्तला काठमाडौँ पठाइसकेको छु”, उहाँले भन्नुभयो, “अब तीन–चार क्विन्टल सुन्तला टिप्नै बाँकी छ त्यो पनि पठाउने तयारी भइरहेको छ ।”   यस वर्ष बिक्री भएको सुन्तलाबाट रु तीन लाख ९० हजार आम्दानी भइसकेको र अब रु २५–३० हजारको सुन्तला बिक्री हुन बाँकी रहेको उहाँले बताउनुभयो ।   गत वर्ष पनि सुन्तला बिक्रीबाट रु तीन लाख २५ हजार आम्दानी गर्नुभएका लामिछानेले यस वर्ष रु चार लाखभन्दा बढी आम्दानी गर्नुभएको हो ।   दश वर्ष पहिला व्यावसायिकरुपमा सुन्तलाखेती थाल्नुभएका लामिछानेको बगैँचामा हाल पाँच सय ५० बोट सुन्तला छन् ।   ती बोटमध्ये हाल तीन सय ५० बोटले फल दिन्छन् भने अरु बोट सानै छन् । विगत पाँच वर्षदेखि सुन्तला बिक्री गरी आम्दानी लिन थाल्नुभएको हो ।   “तेह्र रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ”, उहाँले भन्नुभयो, “सबै बोटले उत्पादन दिँदा आम्दानी झण्डै दोब्बरले वृद्धि हुन्छ ।” गत वर्ष पनि काठमाडौँकै एक कम्पनीसित सुन्तला खरिद बिक्रीको सम्झौता भएर बिक्री गरेको उहाँले बताउनुभयो ।   लामिछानेले जस्तै जिल्लाका अधिकांश व्यावसायिकरुपमा सुन्तला उत्पादन गर्ने कृषकले व्यापारीसित सम्झौता गरेर बजारीकरण गर्दै आएका छन् ।   स्वादका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जाको सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ, बुटवललगायतका ठूला सहरका व्यापारी तथा कम्पनीले बगैँचाबाटै खरिद गर्ने गरेका छन् ।   व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरिदिने भएकाले पनि जिल्लामा उत्पादित सुन्तलाको बजारीकरणमा समस्या नभएको हो ।

काठमाडौँ:  मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले श्रीलङ्काको सामना गर्दैछ ।   यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुनेछ ।   नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।   यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।   गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सम्मिलित छन् ।   जसमा समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन् ।   नेपाली टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् । यसमा टोलीको उप–कप्तानमा सोनी पाख्रिन उपकप्तान छिन् ।   त्यस्तै, टोलीमा साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन् ।   त्यस्तै, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत समेत टोलीमा रहेका छन् । प्रतियोगिता यही पुस ७ गतेसम्म चल्नेछ ।

पोखरा:  आगामी पुषको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा बैंकिङ पार्टनरको रुपमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ ।    तेह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखराको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले महोत्सवको बैंकिङ पार्टनरमा रहेर सहकार्य गरेको हो ।   महोत्सव आयोजक युनाईटेड क्लब पोखराका अध्यक्ष लोकबहादुर थापा र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।   सो अवसरमा बोल्दै ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले युनाईटेड क्लब संग अघिल्लो संस्करणका पोखरा महोत्सवहरुमा समेत सहकार्य गर्दै आइरहदा तेह्रौं संस्करणको पोखरा महोत्सवमासमेत महोत्सवको बैंकिङ पार्टनरको रुपमा रहेर सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।    युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी महोत्सवको आम्दानीको बचत रकमबाट आयोजना गर्ने सामाजिक कामबाट आफु प्रभावित भएकाले सहकार्यलाई निरन्तरता दिएको उनको भनाइ रहेको थियो ।   यस्तै क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागि भएकाले सम्पूर्णको साथ र सहयोगलेनै पोखरा महोत्सव तेह्रौं संस्करणसम्म आइपुगेको बताए ।   अघिल्लो संस्करणहरुमा जस्तै तेह्रौं संस्करणमा समेत ग्रीन डेभलपमेन्ट बैंक संग सहकार्य गर्न पाउदा आफुहरुलाई अझै हौसला प्रदान भएको थापाको भनाई थियो ।   उक्त अवसरमा युनाईटेड क्लब पोखराका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, , क्लबका कोषाध्यक्ष जयराम आचार्य, क्लबका कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।    महोत्सवको मिति नजिकिदै गर्दा महोत्सको तयारी तीब्र रुपमा अगाडी वढिरहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

म्याग्दी:  धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर कृषिमा लगानी बढाउदै छन् ।   धौलागिरि कृषि तथा पशुुपन्छी फार्म नाम दिएर कृषि क्रान्तिमा लागेका मगरको बगैँचा यतिबेला किबीले ढाकेको छ । तर बजार नपाउँदा भने निदै दुखी छन् मगर ।   “सत्तरी बोटमा करिब तीन हजार किलोग्राम किवी फलेको छ”, उहाँले भने “मङ्सिर महिनाभर करिब पाँच सय किलोग्राम मात्र किबी विक्री भयो । पुस महिनामा नटिप्ने हो भने झरेर नष्ट हुन्छ । बजार नपाएर तनावमा परेको छु”, मगरले भने ।   गत वर्षको तुलनामा दोब्बर बढी किबी फले पनि विक्री गर्न समस्या भएको मगरले गुनासो गरे ।   बजार अभाव र मूल्य नपाउने मगरको मात्र नभएर किबीखेती गरेका म्याग्दीका कृषकको साझा समस्या हो ।    धौलागिरिको शिवाङ, मराङ, मालिकाको दिच्याम, देवीस्थान, रुम, मङ्गलाको कुहँ, बरङ्जा, किमचौर, हिदी, बेनी नगरपालिकाको भकिम्ली, घतान, रघुङ्गाको दरमिजा, पाखापानी, चिमखोला, बेगखोला, अन्नपूर्णको ​नागी, राम्चे, हिस्तानमा ५० भन्दा बढी किबी बगैचा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।    सानो बजार र उत्पादन धेरै भएपछि किबी विक्री गर्न समस्या भएको बेनी नगरपालिका–३ भकिम्लीका कृषक लालबहादुर पुनले सुनाए ।   “यहाँका उपभोक्ताहरुको किबीमा अझै बानी परिसकेको छैन”, उनले भने, “पोखरा, काठमाडौँ लैजाँदा अन्य ठाउँको किबीसँग प्रतिस्पर्धा गरेर मूल्य पाइँदैन ।”    करिब दुई हजार किलोग्राम किबी फलाएका पुनले बागलुङका फलफूल व्यापारीलाई प्रतिकिलोग्राम रु १ सय ८० का दरले १ हजार ५ सय किलोग्राम बिक्री गरिसकेको बताए  ।    भकिम्लीका अन्य कृषकले भने बजार नपाउँदा किबी टिपेका छैनन् । मङसिर र पुस महिना किबी टिप्ने याम हो । पुुससम्म नटिपे किबी बोटमै पाकेर झर्ने, चराचुरुङ्गीको आहरामा सीमित हुने चिन्ता कृषकको छ ।    कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि बाझिएको खेतबारीमा कृषकले किबी खेती गरेका थिए । कृषि ज्ञान केन्द्रको अभिलेखअनुसार म्याग्दीको ११ हेक्टर क्षेत्रफलमा भएको किबीखेतीबाट गत आर्थिक वर्ष २०८०/०८१ मा ४४ मेट्रिक टन उत्पादन भएको थियो ।    केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष मौसम अनुकूल भएको, रोगकिराको समस्या नदेखिएको र फूल खेल्ने समयमा असिना नपरेकाले किबी उत्पादन बढेको बताए ।    धेरै दाना लागेका कारण आकार सानो हुँदा बजार नपाउने समस्या देखिएको बास्तोलाले बताए । “असी ग्रामसम्म तौल भएको किबीलाई गुणस्तरीय मानिन्छ । उपभोक्ताले किबीको ठूला दाना खोज्छन्”, उनले भने, “बोटमा धेरै दाना लागेकाले आकार सानो हुँदा कृषकलाई बिक्री गर्न समस्या भएको हो ।”    बत्तीस वर्षअघि जापानबाट आएका स्वयम्सेवकले धौलागिरि क्षेत्रमै पहिलोपटक म्याग्दीको राम्चेमा किबी भित्र्याएका थिए ।   व्यवसायिक खेती भएको पछिल्लो एक दशकयता हो । म्याग्दीको मध्य पहाडी क्षेत्रको भूगोल र   हावापानी किबी खेतीका लागि अनुकूल मानिन्छ । स्वादिलो र धेरै पौष्टिकतत्व पाइनु किबीको विशेषता हो ।    लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । समुद्री सतहदेखि एक हजार पाँच सयदेखि दुई हजार मिटरको उचाइमा किबीखेती गर्न सकिन्छ । रासस  

रामपुर:  गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् ।   बुधबार पाल्पाको रामपुर नगरपालिकामा भएको कार्यक्रममा उनले प्रहरी, स्थानीय सरकारप्रति नेपाली जनताको विश्वास र भरोसा थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।   उनले पालिका प्रमुखहरूले उठाएका माग जायज र जिल्लाका आवश्यकतालाई हेरेर व्यवस्थापनका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै प्राथमिकताका आधारमा क्रमिक रूपमा समस्याको समाधान गर्दै जाने उल्लेख गरे ।   पाल्पाका स्थानीय तहका प्रमुखहरुले गृहमन्त्रीसमक्ष शान्तिसुरक्षाको माग गरेका थिए ।   पालिकाको सुरक्षा व्यवस्था बलियो बनाउन प्रहरी चौकी स्थापना, स्तरोन्नतिदेखि दरबन्दीसम्मका व्यवस्था सुधारका लागि ध्यानाकर्षण गराइएको थियो ।   रामपुर नगरप्रमुख रमणबहादुर थापाले जनघनत्व बढ्दै जाँदा नगरको शान्तिसुरक्षालाई मजबुत बनाउन प्रहरी दरबन्दी थप गर्नुपर्ने आवश्यकता औँल्याए ।   ​कालीगण्डकी करिडोर सडकले रामपुरलाई नारायणगढ, बुटवल, काठमाडौँ, पोखरा जस्ता ठूला सहरलाई जोडेकाले शान्तिसुरक्षा व्यवस्थामा नगरमा चुनौती थपिएको उनको भनाइ थियो ।   तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तराई र पहाडलाई जोड्ने सिद्धार्थ राजमार्गको तिनाउमा प्रहरी चौकी स्तरोन्नति, नुवाकोटमा अस्थायी प्रहरी चौकी स्थापना गर्न माग गरे ।   रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले पनि पालिकामा शान्तिसुरक्षामा सहजता हुने गरी व्यवस्था गर्नुपर्ने बताए ।   माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले प्रहरी चौकी भए पनि दरबन्दी कम रहेकाले स्तरोन्नतिका लागि गृहमन्त्रीलाई अनुरोध गरे ।   रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसीले कागजमा अधिकार उल्लेख भए पनि काम गर्न कठिनाइ रहेकाले यसमा सहजीकरण आवश्यक रहेको धारणा राखे ।   कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठलगायत जिल्लाको शान्तिसुरक्षा, पर्यटकीयस्थलहरु रानीमहल दरबार, अर्गली दरबार, सेन दरबार जस्ता महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार र यसको बृहत् विकासका लागि मन्त्रालयबाट सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । हाल कालोपत्रका लागि पूर्वाधार तयारीको काम पूरा भएको छ ।   करिब दुई हजार दुई सय मिटर दूरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो ।   पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर किरण सुवेदीले जनगुनासो सम्बोधनका लागि स्तरोन्नतिका काम धमाधम अगाडि बढाइएको र अब कालोपत्रका लागि ‘प्लान्ट’ राख्ने काम भइरहेको बताए ।   उनका अनुसार आगामी माघभित्र सडक कालोपत्रको काम सम्पन्न हुने गरी प्रक्रिया अगाडि बढेको छ भने नाली, पर्खाल, कल्भर्टलगायत काम करिब छन् ।   विसं २०७९ साउनमा दुई वर्षमा सक्ने गरी ठेक्का दिइएको यस खण्डमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न हुन सकेको थिएन ।   समयमा काम नभएपछि आउँदो चैतसम्मलाई म्याद थप गरिएको छ । आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले काम तीव्रगति अगाडि बढाएका जनाइएको छ ।   यो प्रदेश राजधानी पोखरा जोड्ने मुख्य सडक हो । पर्यटकीय राजधानीसमेत रहेको पोखरा प्रवेश गर्ने मुख्य सडकमार्गमा धुलो र हिलोको समस्या हुँदा समस्या भएको भन्दै स्थानीय आक्रोशित छन् ।   त्यसैले छिटो सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले पटकपटक दबाबमूलक कार्यक्रम गर्दै आएका थिए ।   इन्जिनियर सुवेदीले कालोपत्रका लागि अन्तिम तयारी भइरहेकाले अब उक्त समस्या सधैँका लागि अन्त्य हुने बताए ।   पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक तीन वर्षअघि नै कालोपत्र गरिएको थियो ।   पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ सवारीसाधन पोखरा आउजाउ गर्छन् ।  रासस

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सहयोग गर्न कतार सरकारसँग आग्रह गर्नुभएको छ ।      नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग आज भएको भेटमा उहाँले बालबालिकाको स्वास्थ्योपचारमा केन्द्रित उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माणमा कतार सरकारको सहयोगको अपेक्षा आफूले गरेको बताउनुभयो ।      बालबालिकाको उपचार गर्ने देशको सबैभन्दा ठूलो अस्पतालमा सेवा विस्तार गर्न भवनसहितका संरचना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको छ । यसै सन्दर्भमा स्वास्थ्यमन्त्रीले कतारी सहयोगको अपेक्षा गर्नुभएको हो ।       स्वास्थ्यमन्त्रीको निजी सचिवालयका अनुसार कतारी राजदूतले नेपालसँगको सम्बन्ध विस्तारलाई आफ्नो मुलुकले प्राथमिकतामा राखेको बताउँदै पारस्परिक सहयोगका क्षेत्र बढाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।