काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा दु्रत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । “नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मङ्कीपक्स सङ्क्रमण देखिएकाले पनि नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिम नरहेको भन्न सकिदैन”, उहाँले भन्नुभयो । उहाँले मङ्कीपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताउनभयो । मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ । केही दिनयता अफ्रिकी मुलुक कङ्गोमा मङ्कीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ वी’ फैलिरहेको छ । मन्त्रालयका अनुसार जनवरी यतामात्र उक्त भाइरसका कारण पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि मङ्कीपक्स सङ्क्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकालिन् घोषणा गरेको छ । सर्ने तरिका मङ्कीपक्स सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, ¥यालको सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ । लक्षण मङ्कीपक्स सङ्क्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरु बढ्ने गर्दछन । आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्दछ । मन्त्रालयको पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भएता पनि नागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मङ्कीपक्स सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सम्भव हुने जनाइएको छ ।
सुर्खेत: जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकै घरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् । उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताउनुभयो । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ ।
गण्डकी: “तुल, ब्यानर र झण्डाले गाउँ नै राताम्मे थियो, तत्कालीन जनमुक्ति सेनाले पहरा दिएको थियो”, शिक्षक गेहेन्द्र गुरुङले विगत सम्झँदै भन्नुभयो, “सिक्लेस गाउँमा माओवादी शीर्षनेता शिविरमा बसेका थिए ।” यो विसं २०६३ जेठको अन्तिम साताको कुरा हो । कास्कीको उत्तरपूर्वी गाउँ सिक्लेसमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०को केन्द्रीय प्रशिक्षण चलिरहेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराईलगायत उच्च तहका नेताहरु प्रशिक्षणमा सहभागी थिए । “अध्यक्ष दाहाललगायत नेताहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भवनमा बस्नुभएको थियो, अन्य नेता, कार्यकतासहित समाजघरमा बाँडिएर बसेका थिए”, शिक्षक गुरुङले भन्नुभयो । माओवादी र तत्कालीन सात राजनीतिक दलबीच विसं २०६२ मङ्सिरमा भएको १२ बुँदे समझदारीपछि शान्ति प्रक्रियाको जग बसेको ठानिए पनि दुईपटकसम्म भएका शान्तिवार्ता असफल भएका थिए । तथापि १२ बुँदे समझदारीलाई निष्कर्षमा पुर्याउन माओवादी र सात राजनीतिक दलका नेताहरू प्रतिबद्ध थिए । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले माओवादीसँगको वार्तालाई सघन रूपमा अगाडि बढाइरहेको थियो । सोही सिलसिलाको एउटा महत्त्वपूर्ण कडीका रूपमा लिने गरिन्छ सिक्लेस वार्तालाई । अध्यक्ष दाहाल भूमिगत जीवनबाट पहिलोपटक सिक्लेसमा सार्वजनिक हुनुभएको थियो । हेलिकप्टर लिएर सिक्लेस पुग्नुभएका तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलासहितको सरकारी वार्ता टोली र माओवादी अध्यक्ष दाहालसहितका नेताबीच पर्यटकीय गाउँ सिक्लेसमा विसं २०६३ जेठ २८ मा भेटवार्ता भएको थियो । अध्यक्ष दाहाल र नेता भट्टराई त्यसको दुई दिनअघि नै सिक्लेस पुग्नुभएको थियो । जेठ २८ को सिक्लेस वार्ता नै दशवर्षे द्वन्द्वको बैठान र शान्तिको प्रस्थानबिन्दुका रूपमा चिनिन पुग्यो । सिक्लेस वार्ताको सफलतापछि माओवादी अध्यक्ष दाहाल र बाबुराम भट्टराई विसं २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक हुनुभएको थियो । सोही दिन बालुवाटरमा माओवादी र सात राजनीतिक दलबीच भएको आठ बुँदे सहमतिका आधारमा विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । विस्तृत शान्ति सम्झौतापछि संविधानसभा हुँदै मुलुक लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ । शान्ति सम्झौतामार्फत द्वन्द्वलाई शान्तिमा रुपान्तरण गरेको माओवादी मूलधारको राजनीतिमा आएको पनि १८ वर्ष बितिसकेको छ । बालुवाटारमा पहिलोपटक सार्वजनिक हुनुपूर्व तत्कालीन गृहमन्त्री सिटौलासँग अध्यक्ष दाहाल र नेता भट्टराईबीच सिक्लेसमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सभाकक्षमा भेटवार्ता भएको थियो । त्यो बेला जनमुक्ति सेनाबाट नेताहरूको सुरक्षार्थ सिक्लेसमै खटिनुभएका नेकपा (माओवादी केन्द्र) कास्कीका इञ्चार्ज दीपक कोइरालाले वार्ता सफल भएपछि विसं २०६३ असार २ गते अध्यक्ष दाहाल र नेता भट्टराई बालुवाटारमा सार्वजनिक भएको बताउनुभयो । “वार्तामा समझदारी जुटेपछि गृहमन्त्री सिटौला काठमाडौँ फर्किनुभयो, पुन असार २ गते उहाँ आएपछि अध्यक्ष दाहालसहितका नेताहरु पोखराको लामाचौरबाट हेलिकप्टरमा काठमाडौँ जानुभएको हो”, उहाँले भन्नुभयो । इञ्जार्च कोइरालाले अध्यक्ष दाहालसहितका नेताहरू सिक्लेसबाट हिँडेरै पोखरा महानगरपालिका–१६ मा पर्ने लामाचौरमा आएको सुनाउनुभयो । जनमुक्ति सेनाको सुरक्षा घेराबीच सिक्लेस वार्ता भएको उहाँले बताउनुभयो । पार्टी प्रशिक्षण र सांस्कृतिक कार्यक्रमको सुरक्षार्थ जनमुक्ति सेना सिक्लेसमा खटिएका थिए । माओवादी अध्यक्ष दाहालले सिक्लेसमा सार्वजनिक मञ्चबाट पहिलोपटक भाषण गरेको इञ्चार्ज कोइरालाले बताउनुभयो । “शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गर्दा सिक्लेस बिर्सन नहुने ठाउँ हो, त्यहाँ भएको वार्ताले विस्तृत शान्ति सम्झौतासम्मको बाटो तय गरेको थियो”, इञ्चार्ज कोइरालाले भन्नुभयो, “राजनीतिक दलहरूबीचको बृहत् सहमतिका साथ टिआरसी विधेयक पारित भएकाले अब शान्ति प्रक्रियाका बाँकी कामले छिट्टै निकास पाउनेछ र देश दिगो शान्ति र स्थिरतामार्फ अगाडि बढ्नेछ ।” बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन ९टिआरसी० विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित भएसँगै शान्ति प्रक्रिया निष्कर्षतिर अगाडि बढेको छ । तत्कालीन सरकार र नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्याय निरुपण टुङ्गोमा पुग्ने अवस्था बनेको हो । मादी गाउँपालिका–१ सिक्लेसका वडाध्यक्ष देवीजङ्ग गुरुङले सिक्लेसबाट सुरु भएको शान्ति स्थापनाको पहलले अन्तिम रूप लिन लागेकामा खुसी व्यक्त गर्नुभयो । “शान्ति वार्ता हुँदा म भर्खर ७ कक्षामा पढ्दै थिएँ, माओवादीले विद्यार्थीलाई पनि कार्यक्रममा लैजान्थे, एक किसिमको त्रास त थियो, तर सिक्लेसमा ततकालीन द्वन्द्वका समयमा कुनै अप्रिय घटना भने भएन”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण परिघटनाको साक्षी सिक्लेस गाउँ र यहाँका बासिन्दा पनि हुन् ।” जोखिमका बीच पनि गाउँलेले माओवादीका नेता, कार्यकर्तालाई आतिथ्यता दिएर महत्त्वपूर्ण योगदान गरेको उहाँको भनाइ छ । “माओवादी कार्यकर्ताले स्थानीय बासिन्दाको काममा पनि सघाउने गर्थे, कोदो रोप्दा, रोपाइँमा साथ लागेर काम गर्थे”, वडाध्यक्ष गुरुङले भन्नुभयो । सिक्लेस भएको वार्ताको स्मरण र शान्ति प्रक्रियाको प्रारम्भस्थलको प्रतीकका रूपमा वार्ता भएकै ठाउँमा शान्ति स्मारकसमेत निर्माण गरिएको उहाँले बताउनुभयो । मादी गाउँपालिकाको आर्थिक सहयोग र जनश्रमदान जुटाएर ‘एक्याप’को कार्यालय परिसरमा निर्माण गरिएको शान्ति स्मारकको विसं २०७५ मङ्सिर २४ गते माओवादी अध्यक्ष दाहालले नै अनावरण गर्नुभएको थियो । तत्कालीन गृहमन्त्री एवं सरकारी वार्ता टोलीका संयोजक सिटौला पनि शान्ति स्मारकको अनावरणमा पुग्नुभएको थियो । शान्ति स्मारकछेउ गुरुङ संस्कृति झल्काउने गोलघर पनि निर्माण गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो । उक्त गोलघरलाई शान्ति सङ्ग्रहालयका रूपमा विकास गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । सिक्लेस पुग्ने पर्यटकका लागि शान्ति स्मारकले पनि नयाँ आकर्षण थपेको उहाँले बताउनुभयो । स्मारक अनावरणका क्रममा सिक्लेस आउँदा माओवादी अध्यक्ष दाहालले सिक्लेसको विकासका लागि पहल लिने प्रतिबद्धता जनाए पनि अपेक्षित उपलब्धि हासिल नभएको वडाध्यक्ष गुरुङले बताउनुभयो । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले त्यो बेला सिक्लेसलाई शान्ति प्रक्रियासँग जोडिएको ऐतिहासिक महत्वको स्थलका रूपमा विकास गरिने बताउनुभएको थियो । शान्ति प्रक्रियालाई सम्झाउने सिक्लेस पर्यटकीय दृष्टिले उत्तिकै महत्त्वपूर्ण छ । हिउँचुलीको काखमा झुरुप्प परेको बस्तीले सिक्लेसलाई मनप्रिय बनाएको छ । वरिपरि हरिया वनपाखा र खर्क त्यहाँका आकर्षण हुन् । सिरसिरे लेकाली हावा । उस्तै चराको चिरबिर । तलपट्टि सुसाइरहेको मादीखोला । सिक्लेसको भूगोल आफैँमा चित्रमय लाग्छ । हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने यो गुरुङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिको सङ्गम हो । ग्रामीण पर्यटनको अनुपम धरोहर हो । पर्यटकीय राजधानी पोखराबाट ४१ किमी दूरीमा पर्ने सिक्लेस पदयात्राका लागि बढी लोकप्रिय छ । पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै तीन हजार आठ सय मिटरको कोरी लेकसम्म पुग्ने गरेका छन् । सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईटा पदमार्ग छन् । वडाध्यक्ष गुरुङले दुई दशकअघि सिक्लेसमा पर्यटन व्यवसायको जग बसेको बताउनुभयो । उहाँका अनुसार सिक्लेस, कोरीलगायतका क्षेत्रमा दर्जनौँ होमस्टे र होटल सञ्चालनमा छन् । सिक्लेस पुग्ने पर्यटक गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस उद्यान, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेशभूषा, झाँकी, नाचगीत आदिमा रमाउँछन् । पदयात्रा रुचाउने पर्यटकले छोटो र लामो दूरीको पदयात्रा तय गर्छन् । पोखराबाट दुई÷अढाइ घण्टाको मोटरयात्रामा सिक्लेस पुगिन्छ । पोखरा–सिक्लेस सडक स्तरोन्नति भइरहकाले यातायात सेवा पनि सहज बन्दै गएको छ ।
बझाङ: अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिनुभयो । गए राति गएको पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु भएको उहाँले बताउनुभयो हो । उहाँले भन्नुभयो, “चारजनाको मृत्यु भएको र छजनाको उद्घार गरिएको खबर छ, हामी राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदैछौँं ।” पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान निकालिएको हो । पहिरोमा पुरिएका अन्य छजनाको जीवितै उद्घार गरिएको छ । वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको छ ।
खोटाङ: खोटाङ सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र सम्पन्न गर्ने काम सम्पन्न भएपछि तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले सोही दिन परीक्षण उडानको शुभारम्भ समेत गर्नुभएको हो । समिट एयरको नाइन एन–एएम्जी विमानले परीक्षण उडान भरेपछि उद्घाटन गरिएको कार्यक्रमलाई उहाँले लामीडाँडा विमानस्थलमा नियमित उडान भराउनका लागि प्राधिकरणसँग छलफल भइरहेको जानकारी दिनुभएको थियो । तर, विमानस्थलमा परीक्षण उडान भरेपछि अहिलेसम्म एकपटक पनि विमान उडान तथा अवतरण भएको छैन । विसं २०२८ देखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको विमानस्थलको टनिङ प्याडमा दायाँबायाँ २८–२८ मिटर कालोपत्र गरिएको गरिएको छ । पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको विमानस्थल कालोपत्र गर्ने जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्ट्रक्सन प्रालिले कालोपत्र गरेको हो । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीय बासिन्दालाई सेवा दिने उद्देश्यले निर्माण गरिएको विमानस्थल यसअघि जिल्लाको निकै व्यस्त रहने विमानस्थलमा पथ्र्यो । स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर २०२६ सालदेखि निर्माण सुरु गरेको विमानस्थल दुई वर्षपछि २०२८ सालबाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याइएको थियो । अठचालीस वर्षसम्म कच्ची अवस्थामा नियमित उडान हुँदै आएको विमानस्थलमा कालोपत्र गरिएसँगै नियमित उडान बन्द हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । कालोपत्र गरिएको विमानस्थलमा नियमित उडान नभएपछि दुर्घटनाका घाइते तथा बिरामीलाई हेलिकप्टर चार्टर गरेर अन्यत्र उपचारमा लानुपर्ने बाध्यताले स्थानीय बासिन्दा समस्यामा परेका हुन् । तीन जिल्लाका स्थानीय बासिन्दा तथा त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने भक्तजन एवं पर्यटकले सेवा लिँदै आएको विमानस्थलको उडान कटौती गरेर राज्यले आफूहरूमाथि ठूलो अन्याय गरेको रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले आरोप लगाउनुभएको छ । “स्थानीय बासिन्दाले कुटो र कोदालो प्रयोग गरेर सञ्चालनमा ल्याएको लामीडाँडा विमानस्थलमा कालोपत्र भएको छ । तीन जिल्लाका जनताले नियमित उपयोग गर्दै आएको हवाई सुविधा खोस्ने काम भएको छ”, उहाँले भन्नुभयो, “नियमित उडान भराउन सम्बन्धित निकायमा पटकपटक अनुरोध गरिरहेका छौँ । राज्यको ठूलो लगानीमा कालोपत्र गरिएको विमानस्थल पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म कसैले पनि चासो दिएका छैनन् । यसप्रति ध्यान जान जरुरी छ ।” लामीडाँडा विमानस्थलमा उडान कटौती गरेपछि कर्मचारी र आवश्यकीय उपकरणसमेत उठाएर अन्यत्र लगेको स्थानीय बासिन्दाले बताएका छन् । राज्यकोषको लगानीमा कालोपत्र गरिएको विमानस्थल उपयोगविहीन भएपछि सरकारको आलोचना हुँदै आएको छ । विमानस्थलमा उडान कटौती हुनुको कारण पत्ता लगाएर नियमित उडान भर्नेगरी पहल भइरहेको सांसद रामकुमार राई ‘पासाङ’ले बताउनुभयो । “लामीडाँडा विमानस्थलमा उडान कटौती हुनु दुःखद् विषय हो । राज्यकोषको लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थल छ वर्षदेखि उडान अवरुद्ध छ”, उहाँले भन्नुभयो, “नियमित उडान भर्नेगरी सम्बन्धित निकायमा पहल गरिरहेको छु । अहिलेसम्म कुनै नतिजा आएको छैन । यद्यपि, पहल गर्ने काम भइरहेको छ ।” दश स्थानीय तह रहेको खोटाङ जिल्लामा तीनवटा विमानस्थल छन् । जिल्लाका सबै क्षेत्रका स्थानीय बासिन्दालाई हवाई सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका तीनवटै विमानस्थल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्र गरिएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा निर्माण गरिएको थामखर्क र जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिक खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा भने नियमित उडान भइरहेको छ । खानीडाँडा र थामखर्क विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँका लागि नियमित उडान भर्दै आएको जनाइएको छ । प्राधिकरणको रु सात करोड २४ हजार तीन सय ८० लागतमा लामा बुइल्डर्स÷चाङ्मिला जेभी निर्माण कम्पनी कालोपत्र गरेको खानीडाँडा विमानस्थलमा हप्ताको दुईपटक उडान हुँदा सबैभन्दा बढी जिल्ला अस्पताल दिक्तेलबाट अन्यत्र ‘रेफर’ गरिएका बिरामीलाई सहज भएको छ । दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल रौता कन्स्ट्रक्सन प्रालिले प्राधिकरणको रु १० करोड ६० लाख ७१ हजार लगानीमा कालोपत्र गरेको हो ।
चितवन: खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ । खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल आज विहान दुर्घटनाहुँदा लमजुङ राइनस नगरपालिका–६ धमेलीकुवाका रत्ननगर नगरपालिका–१५ खोलेसिमलका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । मोटरसाइकल दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नवलपुर: पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउनेक्रम हराउँदै गएको बर्दघाट सुस्तापूर्व कावासोती–६ का शालिकराम न्यौपानेले बताउनुभयो । “अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सीप नहुँदा हिजोआज यो क्रम हराउँदै गएको पाइन्छ”, उहाँले भन्नुभयो, “सहजता र आधुनिकताले पनि धेरै परम्परा र मौलिक सीप लोप हुँदै गएका छन् ।” केही वर्ष अगाडिसम्म जनै बनाएर आफन्तलाई पनि दिने गरेको भए तापनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको कावासोती–१७ का धनपति अधिकारीले बताउनुभयो । “पछिल्लो समय युवाले नियमित जनै लगाउनै छाडे”, उहाँले भन्नुभयो, “अहिलेका छोरानातिले जनै लगाएर के हुन्छ भनेर उल्टै आफ्नो रीतिरिवाज भुल्न थालेका छन् । यो चिन्ताको विषय हो ।” गाउँमा अहिले जनै बाट्नै छाडिसकेको अधिकारीले बताउनुभयो । जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उहाँले बताउनुभयो । बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक–फरक मूल्यमा उपलब्ध हुने गरेका छन् । नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यताअनुसार जनैपूर्णिमाका लागि जनैको कारोबार पनि धेरै हुने गरेको पाइन्छ । विगत वर्षहरूमा गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिहरूले एक महिना अघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो नै उत्कृष्ट जनै रहने गरेको पण्डित बुद्धिसागर भण्डारीले बताउनुभयो । “आफ्नै हातले धागो सङ्ग्ल्याएर, कतुवामा बाटेको जनै नै राम्रो हो, हिजोआज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो”, उहाँले भन्नुभयो, “भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावट राम्रो र उपयुक्त हुँदैन ।” पछिल्लो समय हिन्दू धर्मावलम्बीको पवित्र पर्वका रूपमा मनाइने जनपूर्णिमाको महत्त्व नयाँ पुस्ताले बिर्सँदै गएको पण्डित भण्डारीले गुनासो गर्नुभयो । “रक्षाबन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भए तापनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “आधुनिकताका नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।” शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रूपमा जनैपूर्णिमालाई लिइने पण्डित भण्डारीले बताउनुभयो । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु, महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ । ठाउँठाउँमा पुरोहितले विधि पुर्याएर पूजा गरेको जनै र रक्षाबन्धन धारण गर्नुपर्ने हो उहाँले भन्नुभयो । जनैपूर्णिमा (रक्षाबन्धन)का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको छ । “तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनपूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ”, उहाँले भन्नुभयो, “हिन्दू धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैको तीर्थस्थलमा गई मन्त्रोच्चारण गरी विधिपूर्वक पूजाआजा गरेर घरमा लगेको जनै र रक्षाबन्धन लगाएर जनैपूर्णिमा पर्व मनाउने परम्परा रहिआएको छ ।”
म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ । डाँडागाउँको गलकोटमा गए राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा संलग्न दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेलापरेको छ । मृतकको टाउकोमा चोट लागेको छ । वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार नाताले दिदीभाइ पर्ने उनीहरूबीच केही समयअघि जग्गा किनबेचको विवाद थियो । थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।
काठमाडौं: झाडापखालाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको छ । तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आइतबार साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पताल प्रमुख डा रुपेश सङ्ग्रौलाले बालकलाई ढिला गरी उपचार गर्न ल्याएकाले मृत्यु भएको बताउनुभयो । बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो । भुजेल परिवारमा अन्य दुई जनालाई पनि झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईले जानकारी दिनुभयो । बिरामीलाई घरैमा राखेर गाउँपालिकाको ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत उपचार भइरहेको उहाँले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकले समयमै उपचार गराउन नसक्दा बालकको मृत्यु भएको र दाहसंस्कार लागि शव घर लैजान पनि चन्दा सङ्कलन गरिएको पत्रकार हरिबोल आचार्यले बताउनुभयो । स्थानीयस्तरमा बनीबुतो गरेर परिवार धान्दै आएका युवराज र अनु दम्पत्तीका दुई छोरी र एक छोरा थिए । दुई छोरीमध्ये कान्छी अरुणा र आमासमेत झाडापखालाकै बिरामी रहेका आचार्यले जनाएका छन् ।