काठमाडौं: मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा ग¥यो । स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा ३५ रन बनाइन् । त्यसैगरी, ग्याब्रियला फोन्टेन्लाले १२ रन जोडिन् । बलिङतर्फ नेपालकी सिमना केसी र रचना चौधरीले समान दुई–दुई विकेट लिए भने कप्तान पूजा महतो र कृष्मा गुरुङले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडिन । त्यसैगरी, सावित्री धामीले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् भने अमी बलडाइ र नइमा शेखले समान दुई÷दुई विकेट लिए । त्यस्तै, क्रिस्टी म्यायाकोलले एक विकेट झारिन् । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । जितसँगै स्कटल्यान्डले सुपर सिक्समा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । स्कटल्यान्ड पहिलो खेलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।
गोरखा: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ । गोरखा नगरपालिका–८ आहालेस्थित श्री सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको आज उद्घाटन गर्नुहुँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले शिक्षा क्षेत्रको विकास देशको प्राथामिकतामा हुनुपर्नेमा जोड दिनुभयो । “शिक्षा नै त्यस्तो आधार हो, जहाँबाट मुलुकको विकास र समृद्धि सम्भव छ, यसले अनुशासन र स्थिरताको आधार तयार गर्नसक्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “त्यसका लागि शैक्षिक क्षेत्रको सुधार गर्न वर्षौंदेखि अगाडि बढ्न नसकेको शिक्षा विधेयकलाई मेरै नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले पारित गरेर सदनमा छलफलका लागि पु¥याएको छ ।” शिक्षा क्षेत्रमा पर्याप्त लगानी गरेर मात्र शैक्षिक क्षेत्रको सुधार सम्भव रहेको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले शिक्षा क्षेत्रलाई अगाडि बढाउनका लागि राज्यले लिने प्रतिबद्धताको स्तरले देशकै सभ्यता, विकास र सुशासनको स्तर मापन हुने बताउनुभयो । “हामी कहाँ अझै पनि शिक्षालाई व्यापारको आधार बनाउने काम रोकिएको छैन”, अध्यक्ष दाहालले भन्नुभयो, “संविधानमा शिक्षालाई मौलिक अधिकारका रुपमा व्याख्या त गरियो तर संविधान बनेको लामो समय बितिसक्दा पनि शिक्षा ऐन नबन्दा समस्या भइरहेको छ ।” संविधानमा शिक्षालाई जनताको मौलिक अधिकारका रुपमा उल्लेख गरेको भए पनि आवश्यक ऐन निर्माण नगर्दा र बजेट विनियोजन नहुँदा समस्या भएको उहाँको भनाइ छ ।
काठमाडौं: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा देखिएका समस्या सम्बोधन गर्न समयानुकूल हुनेगरी कानुन परिमार्जनको खाँचो औँल्याइएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आजको बैठकमा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतले तत्कालीन लाभ नहेरी दीर्घकालीन सोचका आधारमा राष्ट्रिय निकुञ्ज र वन्यजन्तुमैत्री कानुन निर्माण गर्न सुझाव दिनुभयो । राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण व्यवस्थापनमा स्रोत अभाव रहेको जानकारी गराउँदै उहाँहरूले जलवायु परिवर्तनको असरले निकुञ्ज क्षेत्रमा खानेपानी र पोखरीको अभावले पनि केही चुनौती खडा गरेको बताउनुभयो । वरिष्ठ संरक्षण अधिकृतहरूले जङ्गली जनावरबाट मध्यवर्ती क्षेत्रका जनतालाई आक्रमण हुँदा तत्काल उद्धार तथा उपचार कोष र केन्द्रको व्यवस्थाको प्रबन्ध गर्न सुझाव दिनुभयो । राज्यले राजस्व उठाउनेतर्फ मात्र नभई राष्ट्रिय निकुञ्जकबाट पर्यटन प्रवर्द्धन, होटल व्यवसाय र रोजगारी सिर्जनामा पुर्याएको योगदानलाई समेत भुल्न नहुने जनाउँदै उहाँहरूले मध्यवर्ती क्षेत्रका जनताले झेल्नुपरेको समस्या समाधान गर्न विशेष खाले योजना र बजेटको व्यवस्थाका लागि पहल गरीदिन अनुरोध गर्नुभयो । राष्ट्रिय निकुञ्ज आर्थिक समृद्धिका लागि पर्यटक भित्र्याउने मुख्य थलो भएकाले हिमाल, नदी, वन्यजन्तु, धार्मिकस्थल तथा जीव र वनस्पतिको संरक्षणमा राज्यले विशेष ध्यान पुर्याउनु पर्ने उहाँहरूको भनाइ थियो । विभिन्न परियोजना र आयोजनाको नाममा प्रकृति सम्पदाको दोहन भइरहेकाले त्यसलाई रोक्न पर्ने बताउँदै वरिष्ठ संरक्षण अधिकृतले निकुञ्जले अतिक्रमणमा परेको भनी किटानी गरेको स्थानमा बसोबासका लागि लालपुर्जा वितरण गर्ने कार्य नहोस् भनी सुझाव दिनुभयो । पूर्वाधार निर्माण गरिँदा वातावरण र वन्यजन्तुमैत्री हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँहरूले संरक्षणको कार्य स्थानीय, निजी र सरकारी संयन्त्रको साझेदारीमा हुँदा फलदायी हुनेतर्क गर्नुभयो । उहाँहरूले वातावरणको समुचित सन्तुलन हुने गरी कानुन निर्माणमा ध्यान पुर्याउन सुझाव समेत दिनुभयो । यसअघि सदस्यहरूले राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका जनताबीचको सहकार्य तथा मानव र वन्यजन्तुबीच भइरहेको द्वन्द्व घटाउन चाल्नुपर्ने कदमका बारे जानकारी माग गर्नुभएको थियो ।
काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षितरुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताउनुभएको छ । कृषि विकास बैंक लिमिटेडको आज यहाँ आयोजित ५८औँ वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरुमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय रहेको बताउनुभयो । “पछिल्लो दिनहरुमा बैंकको बचत बढेको छ तर कर्जा अपेक्षित रुपमा बढेको छैन । यो चिन्ताको विषय हो । हामीले उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने सम्भावित क्षेत्रमा बैंकको लगानी बढाउँदै जानुपर्छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो । उहाँले कृषि विकास बैंकलाई थप व्यावसायिक र प्रतिस्पर्धी भएर काम गर्नसमेत निर्देशन दिनुभयो । “बैंकको सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीको सामूहिक प्रयासबाट बैंक प्रतिस्पर्धी बन्दै गएको छ । तर हामी यसैमा रमाएर बस्ने होइन । अझै राम्रो, अब्बल र प्रतिस्पर्धी बैंकका रुपमा अगाडि बढ्नुपर्छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको तितो अनुभव हामीसँग छ । यसकारण बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध जीवन्त हुनुपर्छ ।” कृषि विकास बैंक जुन उद्देश्यले स्थापना भएको हो त्यो प्राप्त गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरु सुधार हुँदै गएको र अर्थतन्त्र लयमा फर्किन थालेको बताउनुभयो । यद्यपि, बैंकहरुले कर्जा असुलीमा केही समस्या भोगिरहेको उहाँले स्वीकार गर्नुभयो । “मुलुकको वर्तमान आर्थिक तथा वित्तीय सूचकहरु हेर्दा समग्रमा अर्थतन्त्र सुधारोन्मुख छ । बाह्य क्षेत्रमा सन्तुलन छ । बाढीपहिरोका कारण मुद्रास्फीति व्यवस्थापनमा केही चाप देखिए पनि समग्रमा वाञ्छित सीमाभित्रै छ । बैंकमा तरलता पर्याप्त छ । ब्याजदर घटेको छ”, गभर्नर अधिकारीले भन्नुभयो, “गतवर्षको तुलनामा भन्दा सरकारी राजस्व बढेको छ । आयात–निर्यात बढ्न थालेको छ । पछिल्लो समय पुँजी निर्माणसँग सम्बन्धित सामानहरुको आयात बढेको छ । यसकारण हामी निरुत्साहित हुनुहुँदैन । हाम्रा सकारात्मक पक्ष धेरै छन् ।” बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा भने केही समस्या देखिएका कारण यसले खराब कर्जा बढाएको उहाँको भनाइ थियो । “अर्थतन्त्र लामो समय शिथिल भएका कारण र पछिल्लो समय केही अराजक गतिविधि गर्ने तथा ऋण नतिर्ने भनेर अभियान चलाउने व्यक्ति र समूहका कारण कर्जा असुलीमा समस्या भएको छ । यसले दीर्घकालमा कति असर पार्छ भने कुरामा हामी सजग छौँ”, गभर्नर अधिकारीले भन्नुभयो । कृषि विकास बैंकको व्यवस्थापन र कार्यक्षमता अब्बल रहेकोसमेत गभर्नर अधिकारीले बताउनुभयो । नेपालमा कृषि क्षेत्रमा लगानी गर्ने नेतृत्व कृषि विकास बैंकले गरिरहेको उहाँको भनाइ थियो । बैंकिङ प्रणालीबाट कृषि क्षेत्रमा भएको लगानीमा यो बैंकको मुख्य योगदान रहेको गभर्नर अधिकारीले बताउनुभयो । वित्तीय समावेशीता प्रवद्र्धन, ग्रीन फाइनान्स, प्रविधिप्रयोग लगायतका विषयमा बैंकले राम्रो गरिरहेको उहाँले बताउनुभयो । बैंकको सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले दिगो बैंकिङ र वित्तीय स्थायित्वका लागि प्रचलित कानुन र नियामक निकायको निर्देशनको सही पालना, जोखिम व्यवस्थापन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र कर्जाको गुणस्तर कायम गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो । आधुनिक बैंकिङ सुविधा, संस्थागन सुशासन, सुरक्षित तरिकाले सूचना प्रविधिको उच्चतम प्रयोग, लगानीमैत्री नीतिलगायतका माध्यमबाट व्यवसाय विस्तार र गुणस्तरीय सेवा प्र्रवाहमा विशेष ध्यान पु¥याएको उहाँको भनाइ छ । नेपालको ग्रामीण तथा कृषि क्षेत्रको विकासमा सहयोग गर्ने प्रमुख उद्देश्यका साथ विसं २०२४ माघ ७ गते रु पाँच करोड अधिकृत पुँजीसहित कृषि विकास बैंकको स्थापना भएको थियो । बैंकले कृषि र कृषिमा आधारित उद्योग व्यवसायको विकास एवं कृषिको आधुनिकीकरण, औद्योगीकरण, यान्त्रीकरण र व्यवसायीकरणका लागि सरल र सुलभ कर्जा प्रदान गर्दै आएको छ । अहिले बैंक ५१ प्रतिशत सरकारको र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्वमा रहेको छ । बैंकले हालसम्म एक लाख ५१ हजार कर्जा ग्राहकमा करिब रु दुई खर्ब छ अर्ब कर्जा लगानीमा रहिरहेको छ । त्यसैगरी करिब २० लाख ३४ हजार निक्षेपकर्ताको रु दुई खर्ब ५९ अर्ब निक्षेप परिचालन गरिरहेको छ । बैंकको अधिकृत पुँजी रु २५ अर्ब, जारी पुँजी रु १९ अर्ब २८ करोड ६४ लाख ५१ हजार तीन सय छ । संस्थापक शेयरधनी नेपाल सरकारको ५१ प्रतिशतले हुन आउने रु सात अर्ब छ करोड ६१ लाख ६४ हजार तीन सय ९३ र सर्वसाधारण समूह शेयरधनीको ४९ प्रतिशतले रु छ अर्ब ७८ करोड ९० लाख ५९ हजार नौ सय सात कायम हुनेछ । यसैगरी बैंकको पुँजीकोषको अवस्था सुदृढ र मजबुत देखिएको छ । गत वर्ष १३ दशमलव ७५ प्रतिशत रहेको पुँजीकोष अनुपात गत मङ्सिरसम्ममा १३ दशमलव १४ प्रतिशत छ । हाल बैंकको शेयरधनी सङ्ख्या करिब तीन लाख रहेको छ । आगामी दिनमा बैंकले कोषको लागत कम गर्ने, खर्च घटाउने, न्यूनतम सञ्चालन खर्च कायम गर्ने, निष्क्रिय कर्जा अझै घटाउँदै लैजाने, नयाँ र योग्य जनशक्ति बजारबाट भित्र्याउनेलगायत काम गर्दै जाने योजना रहेको बैंकका प्रवक्ता एवं कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिनुभयो ।
झापा: मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४ हापेन चोकमा आज सवारीसाधन दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य तीन घाइते भएका छन् । मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिनुभयो । प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र.१–०१–००१ ज ३८५१ नंको जिप एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार थामी, अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ घाइते भएका छन् । उनीहरुकोे सिटी अस्पताल बुधबारेमा उपचार भइरहेकोे छ । प्रहरीले अटोरिक्साका चालक ५३ वर्षीय अजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुुसन्धान गरिरहेको छ ।
काठमाडौें: टिकटकले अमेरिकामा सेवा बन्द गरेको केही घण्टापछि आइतबार संयुक्त राज्य अमेरिकामा सेवा पुनः सुरु गरेको छ । टिकटकले सेवा सञ्चालनका लागि वातावरण बनाएको भन्दै सोमबार पुनः सत्तासम्हाल्ने नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसको श्रेय दिएको छ । राष्ट्रपति जो बाइडनको निवर्तमान प्रशासनले यसअघि नै कुनै पनि प्रतिबन्ध नलगाउने बताएको थियो । टिकटकको चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी सहायक कम्पनी गैर–चिनियाँ क्रेताहरूलाई बेच्नका लागि समयसीमा नजिकिंदै गर्दा संयुक्त राज्य अमेरिकामा टिकटक शनिबार अबेर बन्द भएको थियो । –चीनको आग्रह– राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन लागू भएपछि चीनले सोमबार संयुक्त राज्य अमेरिकालाई सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको विषयमा ‘तर्कसंगत आवाज’ सुन्न आग्रह गरेको थियो । “अमेरिकी पक्षले तर्कसङ्गत आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नेछ र संयुक्त राज्य अमेरिकामा सञ्चालित सबै देशका बजार संस्थाहरूका लागि खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित व्यावसायिक वातावरण प्रदान गर्नेछ भन्ने कुरा हामी आशा गर्दछौँ,” विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भन्नुभयो । माओले भन्नुभयो, “टिकटक धेरै वर्षदेखि संयुक्त राज्य अमेरिकामा सञ्चालन भइरहेको छ र अमेरिकी प्रयोगकर्ताहरूले यसलाई गहिरो प्रेम गर्छन । यसले अमेरिकामा घरेलु रोजगारीलाई बढावा दिन र उपभोग बढाउन सकारात्मक भूमिका खेलेको छ ।”
काठमाडौं: काठमाडौँ महानगरपालिकाले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूले सेवन गर्ने दीर्घरोगको औषधिसम्बन्धी लगत सङ्कलन गरिरहेको छ । कामपामा रहेका ज्येष्ठ नागरिकहरूलाई कस्तो किसिमको रोग लागेको छ र उहाँहरूलाई कस्तो औषधि दिन सकिन्छ भन्ने जानकारी लिनका लागि लगत सङ्कलन गरिरहेको कामपा स्वास्थ्य विभागको भनाइ छ । उहाँहरूलाई औषधिको उपलब्धता सरल, सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित पुस २२ गतेदेखि परिपत्र गरेर लगत सङ्कलन गरिरहेको कमपा स्वास्थ्य विभागले जानकारी दिएको छ । कामपामा रहेको ३२ वटै वडाको विवरण प्राप्त भएपछि उहाँहरूको स्वास्थ्य प्रवद्र्धनका थप कार्यक्रम तर्जुमा गर्न सहज हुनेछ, विभागका प्रमुख दीपक केसीले जानकारी दिनुभयो । प्रमुख केसीका अनुसार कामपाकै पञ्जीकरण शाखाबाट २०८१ साउन १ गतेसम्म अद्यावधिक गरेका ७० वर्ष उमेर पूरा भएका २३ हजार सात सय ७० जना ज्येष्ठ नागरिकको विवरण प्राप्त गरेको छ । मेडिकल अधिकृत डा दिवस न्यौपानेका अनुसार हरेक ज्येष्ठ नागरिकको मोबाइलमा सन्देश पठाएर सहयोगीमार्फत गुगल फर्ममा विवरण मागिएको छ । हालसम्म एक हजार चार सय ९६ जनाको विवरण प्राप्त भइसकेको छ । उहाँहरूमध्ये धेरैले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरिरहनुभएको छ । महानगरपालिकाभित्रै बसोबास गरिरहनुभएको छ भने ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको विवरण परिवारका सदस्य वा सहयोगी कसैले आफू बसोबास गरिरहेको नजिकैको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गएर पनि विवरण टिपाउन सकिनेछ । विभागलाई प्राप्त भएको विवरणमा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको सङ्ख्या ३७ हजार ६ सय ५४ जना छ । ७० वर्ष उमेर पूरा भएकाको सङ्ख्या २३ हजार सात सय ७० जना छ । धेरै उमेर हुनेमा एक सय १० वर्ष उमेरको व्यक्ति हुनुहुन्छ । एक सय वर्ष उमेर पूरा हुनुभएका ज्येष्ठ नागरिकको सङ्ख्या ४७ जना रहेको कामपाको भनाइ छ । नब्बे देखि ९९ वर्षसम्मका आठ सय ६४, ८० देखि ८९ वर्षसम्मका पाँच हजार चार सय ८३ र ७० देखि ७९ वर्षसम्मका १७ हजार तीन सय ७४ ज्येष्ठ नागरिक हुनुहुन्छ ।
गण्डकी: कास्कीको मादी गाउँपालिका-२ मा रहेको पर्यटकीयस्थल कर्पुडाँडादेखि लमजुङको क्व्होलासोथार जोड्ने पदमार्गको निर्माण अघि बढाइएको छ । एक हजार दुुई वर्षअघि गुरुङ समुदायको बसोबास रहेको उक्त समुदायका व्यक्तिहरू त्यहाँबाट बसाई सरेको इतिहास रहेको उल्लेख गर्दै क्व्होलासोथारलाई केन्द्रित गरी पदमार्ग निर्माण सुरु गरिएको हो । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गका रुपमा पहिचान गरिएको उक्त मार्गअन्तर्गत कर्पुडाँडाबाट तोरोडाँडा खण्डमा पदमार्ग निर्माण गरिसकिएको मादी गाउँपालिका वडा नं २ का पूर्वअध्यक्ष एकजङ्ग गुरुङले जानकारी दिनुभयो । उहाँका अनुुसार गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ३० लाखबाट उपभोक्ता समितिमार्फत उक्त पदमार्ग निर्माण गरिएको हो । यस खण्डमा रहेको अप्ठ्यारो र उकालो स्थानमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाइएको छ भने केही ठाउँमा माटो काटेर हिँड्न सहज बनाइएको छ । यस खण्डको तीन हजार दुुई सय २० मिटर दूरीको पदमार्गलाई व्यवस्थित गरिसकिएको जानकारी दिँदै उहाँले यस मार्गको गण्डकी प्रदेश सरकारले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको बताउनुभयो । “डिपिआरअनुसार कर्पुडाँडाबाट क्व्होलासोथार पुग्नका लागि २० किलोमिटरभन्दा बढी पदमार्ग निर्माण गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “गुरुङ समुदायको प्राचीन थलोको ऐतिहासिकतालाई यस पदमार्गले पर्यटनसँग जोड्नेछ ।” परापूर्वकालमा कास्की र लमजुङका बासिन्दा मनाङ आवतजावत गर्न तथा पशुगोठ लिएर लेकबेँसी गर्न प्रयोग गरेको यो मार्ग पछिल्लो समय प्रयोग नहुँदा झाडी र जङ्गलमा परिणत भएको थियो । उहाँले यही बाटोलाई थप स्तरोन्नति गर्दै पदमार्गका रुपमा विकास गर्न खोजिएको बताउनुभयो । बस्तीदेखि टाढाको जङ्गलमा रहेको यहाँको पदमार्ग निर्माणका लागि ताङतिङका बासिन्दा करिब दुई महिना जङ्गलमै बसेर काम गरेका थिए । समुद्री सतहदेखि दुई हजार नौ सय मिटर उचाइमा अवस्थित कर्पुडाँडा हिमशृङ्खला अवलोकन र हिउँ खेल्नका लागि कास्कीको नयाँ पर्यटकीय गन्तव्य हो । गुराँसे जङ्गल, रङ्गीवीरङ्गी फूल, चराचुरुङ्गीको आवाजसँगै हिमालको दृ्श्यावलोकन गर्दै पदयात्रा गर्न पाउनु यहाँको विशिष्टता हो । यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यको साथै मनास्लु हिमाल, अन्नपूर्ण–२, अन्नपूर्ण–४, अन्नपूर्ण–३ , माछापुच्छे«, मर्दी हिमाल, अन्नपूर्ण साउथ, बुद्ध, मनास्लु, हर्क गुरुङ चुलीको सुन्दर दृश्यले रोमाञ्चक बनाउँछ । कर्पुडाँडादेखि नौ घण्टा पैदलयात्रामा पुगिने क्व्होलासोथार जाने पदमार्ग भएर लमजुङको पसगाउँ, सिङ्दी, घलेगाउँ, घनपोखरा, कास्कीको कोरीडाँडा र मनाङ पनि पुग्न सकिन्छ । पदमार्ग निर्माण भएसँगै स्थानीयवासी, पशुगोठ लिएर लेकबेँसी गर्ने गोठाला र पदयात्री पर्यटकलाई सहज हुने उहाँको भनाइ छ । गुराँसे जङ्गलको बीचमा रहेको पदमार्गबाट गुरुङ समुदायका पुराना बस्ती, पशुगोठ, तालतलैया र हिमाल हेर्दै हिँड्न पाइन्छ । आगामी दिनमा तोरोडाँडादेखि तप्रा हुँदै क्व्होलासोथारतर्फ जोड्ने थप पदमार्ग निर्माण, मोबाइल फोन सेवा विस्तार र खानेपानीको सुविधाका लागि पहल गरिएको गुरुङले बताउनुभयो । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गका रुपमा पहिचान गरी यसको प्रवर्द्धन र विकासमा जुटेको सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो । “हामीले यस पदमार्गको पहिचानसँगै प्रवर्द्धनका कार्यक्रम अघि बढाएका छौँ”, उहाँले भन्नुुभयो, “गत पुसको दोस्रो साता सङ्घले गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मादी गाउँपालिकासँगको सहकार्यमा पहिलो चरणमा उक्त पदमार्गको प्रवर्द्धनात्मक पदयात्रा सम्पन्न गरिसकिएको छ ।” प्रवर्द्धनात्मक पदयात्राका क्रममा देखिएका यहाँका आवश्यकता, चुनौतीसँगै तत्कालै गर्नुपर्ने पूर्वाधार विकासका कामलाई अभिलेखीकरण गरी त्यसको समाधानका लागि सम्बन्धित निकायमा पहल गरिने उहाँले बताउनुभयो । क्व्होलासोथारबाटै नेपाल र विश्वका विभिन्न ठाउँमा गुरुङ समूदाय फैलिएको बताउँदै उहाँले यस समुदायको इतिहास, वर्तमान र भविष्यलाई जोडेर गुरुङ सम्पदा पदमार्गको परिकल्पना गरिएको उहाँको भनाइ छ । क्व्होलासोथारमा पुराना गोलघर, दरबार, घट्ट, घोडा बाध्ने तबेला, भग्नावशेष छन् । पुरातत्व विभागले हालै गरेको उत्खननका क्रममा पौराणिक महत्वका सामग्रीहरू पनि भेटिएका थिए । अहिले यहाँ बस्ती छैन । पाहुनाको सहजताका लागि तीन वटा आश्रयस्थल बनाइएको छ । गुरुङ जातिको मुख्य पुर्ख्यौली थलो क्व्होलासोथारसँगै प्राचीन पशुगोठ र नुन लिन जाने मार्गलाई गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्ने लक्ष्य राखिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले बताउनुभयो । “हामी गुरुङ समुदायको प्राचीन इतिहास र संस्कृतिसँगै यहाँको प्रकृतिलाई गुरुङ सम्पदा पदमार्गमार्फत पर्यटकीय रुपमा जोड्ने अभियानमा लागेका छौँ”, उहाँले भन्नुभयो, “विभिन्न पदमार्ग छोटिँदै गएका अवस्थामा यो मार्ग महत्वपूर्ण विकल्प बन्न सक्ने हाम्रो विश्वास छ ।”
काठमाडौं: ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान’बाट सम्मानित हुनुभएको छ । द इन्टरनेसनल अवार्ड फोरम युएसएद्वारा भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा उपाध्यक्ष गोलेलाई उक्त सम्मान प्रदान गरिएको हो । स्थानीय सरकारको प्रमुख जिम्मेवारीमा रहँदा महिला, बालबालिका र ज्येष्ठ नागरिकका समस्या समाधानका लागि नीति योजना, कार्यक्रम र बजेट निर्माण तथा कृषि, पर्यावरण र धर्मसंस्कृतिको संरक्षणमा पु¥याएको योगदानस्वरुप उपाध्यक्ष गोलेलाई उक्त सम्मान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । उपाध्यक्ष गोलेले गत असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकको खोज, उद्धार र राहत वितरणमा गर्नुभएको सक्रिय भूमिकाको कदरस्वरुप सम्मान गरिएको आयोजक संस्थाले उल्लेख गरेको छ । उक्त वर्षासँगैको बाढी पहिरोमा परेर महाङ्काल गाउँपालिकामा मात्रै १३ जनाको मृत्यु, एक जना बेपत्ता र तीन सय घरपरिवार विस्तापित भएका थिए । सो संस्थाले प्रत्येक वर्ष दक्षिण एसियाली क्षेत्रमा समाजसेवाका क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरुलाई विभिन्न छवटा विधामा सम्मान गर्दै आएको छ । यसवर्ष नेपालबाट उपाध्यक्ष गोले महिला नेतृत्व सम्मान पाउनुभएको हो ।

