पोखरा: इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायतले शुभारम्भ गरे । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा पोखरा महानगरपालिकाका वडा नं २६ देखि ३३ सम्म र रुपा गाउँपालिकाका बासिन्दाहरूले समेत सेवा लिन सक्ने गरी लेखनाथमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रले वैदेशिक रोजगारीमा जान चाहने र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि समेत आवश्यक परामर्श सेवा दिने गर्दछ । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने सन्दर्भमा सामी परियोजना मार्फत सरकारले प्रभावकारी कार्यहरू गर्दै आइरहेको छ । नगर प्रमुख आचार्यले महानगरपालिकाले स्वदेश मै रोजगारी सृजना गरी उद्यमशीलताको प्रवर्द्धनमा लागिरहेको उल्लेख गर्दै वैदेशिक रोजगारीमा जानेहरूका लागि समेत आवश्यक तालिम र परामर्शका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको बताए । विभिन्न अवधिका तालिमका कक्षाहरू सञ्चालन गरिरहेको महानगरपालिकाले सीप विकासमा जोड दिइरहेको उनले बताए । वैदेशिक रोजगारीका सम्बन्धमा आइपर्ने कुनै पनि प्रकारका समस्याहरूको समाधानका लागि महानगरपालिका आवश्यक समन्वय र सहकार्यका लागि प्रतिबद्ध रहेको नगर प्रमुख आचार्यले बताए । सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले वैदेशिक रोजगारीका सवालमा दैनिक रूपमा आउने समस्या र गुनासाको सुनुवाइ विलम्ब नगरी गर्ने गरिएको बताए । वैदेशिक रोजगारीलाई सुरक्षित र विश्वासिलो बनाउने कार्यमा आफूहरू लागिरहेको उनले बताए । सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकीका उपसचिव प्रकाशचन्द्र ढुङ्गानाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आवश्यक रहेको बताए । सामी परियोजनाकी प्रदेश स्तरीय कार्यक्रम व्यवस्थापक उमाकला शर्माले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको उल्लेख गर्दै यसको निराकरणका लागि चेतना र वैदेशिक रोजगारीमा आत्मसम्मानको आवश्यकतामा जोड िदए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ, वडा नं.३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी र पोखरा महानगरपालिकाका रोजगार संयोजक तथा सामी कार्यक्रमका फोकल पर्सन विष्णुप्रसाद दाहाल लगायतले बोल्नुभएको थियो । कार्यक्रमका सहभागीहरूले वैदेशिक रोजगारीका सम्बन्धमा भोग्न परेका समस्याहरूका बारेमा जिज्ञासा राखेका थिए ।
काभ्रेपलाञ्चोक: गत असोज दोस्रो साता बाढीपहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि रोशी गाउँपालिकाले अस्थायी आवास निर्माण थालेको छ । बाढीपहिरोमा परी उक्त गाउँपालिकामा १२ जनाको ज्यान गएको थियोभने चार सय ८२ घर पूर्ण रूपमा तथा आठ सय ८३ घर आंशिक रूपमा क्षति पुगेको थियो । चिसो बढ्दै गएपछि बाढीपहिरोपीडित अझ प्रभावित हुने भएपछि पहिलो चरणमा घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार हाल वडा नं २ बाट अस्थायी आवास निर्माणको काम सुरु गरिएको हो । यस वडामा ३० अस्थायी आवास निर्माण हुनेछ । विभिन्न सहयोगी संस्थाको साझेदारीमा विपद्पीडितको अस्थायी आवास निर्माण भइरहेको जनाइएको छ । “अस्थायी आवासले छिमेक एवं आफन्तको घरमा बसेका तथा तथा टहरामा बसेकालाई राहत पुग्नेछ, हामी सहयोग जुटाएर पहिलो चरणमा पूर्ण रूपमा घर क्षति भएकालाई अस्थायी आवास बनाउने क्रममा छौँ”, अध्यक्ष लामाले भने। उनका अनुसार बाढीपहिराले दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको थियोभने एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । यस्तै बाढीपहिराले निर्माण सम्पन्न भएको डम्फू उद्यान, १० शय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको थियो । स्थानीय स्रोत, साधन प्रयोग गरी अस्थायी आवास निर्माण भइरहेको हो । वडा नं २ मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट स्वीकृत मापदण्डअनुसार नै अस्थायी आवास निर्माणको काम भइरहेको उनले बताए । उनका अनुसार व्यक्तिगत सहयोगमा वडा नं ९ नार्के तथा आसपास ३० अस्थायी आवास निर्माणको काम भइरहेको छ । उक्त गाउँपालिकाले विपद् व्यवस्थापनका लागि गत कात्तिक ३० गते नै विशेष गाउँसभामार्फत चालु आर्थिक वर्षमा योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले विपद्सँग सम्बन्धित बनाएर दुई सय ६६ योजना संशोधन गरेको छभने विपद् कोष रु दुई करोड ८० लाखको बनाएको जनाएको छ । कोषको रकमले स्थानीय तहमा अत्यावश्यक विपद् खर्च, बाढीपहिराले पुर्याएको क्षतिको तथ्याङ्क सङ्कलन, राहत वितरणलगायत विविध शीर्षकमा खर्च गर्नेगरी संशोधन गरिएको थियो । अध्यक्ष लामाका अनुसार तत्कालका लागि विपद्ले क्षति पुर्याएका पूर्वाधारको मर्मत तथा निर्माणका लागि रु एक करोड, विपद् हेल्पडेस्कका लागि रु पाँच लाख, तथ्याङ्क सङ्कलन तथा जनशक्ति परिचालनमा रु १० लाख, राहत (खाद्यान्न, लत्ताकपडा)का लागि रु ५० लाख, मृतक परिवारलाई प्रतिपरिवार रु ५० हजार, मर्मतसम्भारमा रु ५० लाख, विपद् सामग्री खरिदमा रु १० लाख तथा बाढीपीडितलाई सहायताका लागि रु ५५ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले गत असारमा पारित बजेटको आकार घटाएको हो । चालु आवका लागि विनियोजित रु ६९ करोड २० लाख ९८ हजारमा रु तीन करोड ४३ लाख घटाएर रु ६५ करोड ७७ लाख ९८ हजार बजेट कायम गरेको छ ।
पोखरा: नेपाल पुन मगर समाज केन्द्रिय समितिको अध्यक्ष खमबहादुर गर्वुजा पुन मगर सर्वसम्मत निर्वाचित भएका छन् । पोखरा सम्पन्न भएको नेपाल पुन मगर समाज केन्द्रिय समितिको दोस्रो राष्ट्रिय महाधिवेशनबाट खमबहादुर पुनमगरको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् । नेपाल पुन मगर समाजको दोस्रो महाधिवेशन पोखरामा २९ र ३० गते भएको थियो । नेपाल पुन मगर समाज केन्द्रिय समितिको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर फगामी पुनमगर, उपाध्यक्षमा नरबहादुर फगामी पुनमगर, महिला उपाध्यक्षमा रामकुमारी पुन मगर, महसचिवमा प्रतिमाया पुन मगर (थजाली), सचिवमा हेमकुमारी गर्बुजा पुन मगर र कोषाध्यक्षमा दलबहादुर पुन मगर सर्वसम्मत निर्वाचित भए । यस्तै सदस्यहरुमा देउकुमारी गर्बुजा पुन मगर, दलबहादुर पुन मगर, देउबहादुर चोवादी पुन मगर, कृष्ण गर्बुजा पुन मगर, आशिष पुन मगर, देव चोचाङ्गी पुन मगर, कुमार बहादुर पुन मगर, जगबहादुर पुन मगर, दिपक पुन मगर, टेकबहादुर पुन मगर, गोविन्द पुन मगर, देवबहादुर पुन मगर, खगेन्द्रमान पुन मगर, यामबुमार पुन मगर, माया पुन मगर, बलबहादुर पुन मगर, भिम बहादुर पुन मगर, कल्पना पुर्जा पुन मगर, यामकुमारी खोरजा पुन मगर, तुलबहादुर पुर्जा पुन मगर, डिलदेवी पुर्जा पुन मगर, निरज पुन मगर, देव गर्वुजा पुन मगर, कुम पुन मगर, तुलबहादुर तिलिजा पुन मगर र टेकबहादुर पहरे पुन मगर निर्वाचित भए । ६ बुँदे घोषणापत्र जारी नेपाल पुन मगर समाज केन्द्रिय समितिले ६ बुँदे घोषणापत्र समेत जारी गरेको छ । नेपाल पुन मगर समाज केन्द्रिय समितिका नवनिर्वाचित अध्यक्ष खमबहादुर गर्वुजा पुन मगरले ६ बुँद घोषणापत्र जारी गरिएको जानकारी दिए । ‘हामीले यही मंसिर २९ र ३० गते पोखरामा दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका छौं, महाधिवेशनबाट मलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गराउनुभयो’, अध्यक्ष पुनमगरले भने, ‘मेरो नेतृत्वमा ३१ सदस्य समिति निर्वाचत भएका छौं, हामीले पोखराबाट ६बुँदे घोषणापत्र समेत जारी गरेका छौं ।’ ६ बुँदे घोषणापत्रमा भनिएको छ, ‘मगर खाम मातृभाषा, धर्म संस्कार, संस्कृति र भेषभुषा संरक्षण एवम् प्रवद्र्धन गर्न प्रतिवद्धता जाहेर गर्ने, देश विदेशमा रहेका पुन मगर लगायत सम्पूर्ण मगरहरुलाई एकताको लागि नेपाल पुन मगर समाजले प्रतिवद्ध गर्ने, संविधानमा व्यवस्था भए अनुसार मगर खाम मातृभाषालाई मगर खाम बाहुल्यता रहेको स्थानीय तह र क्षेत्रहरुमा सरकारी कामकाजी भाषाको रुपमा लागू गर्न पहल गर्ने ।’ यस्तै पुन मगरहरुलाई आर्थिक समृद्धि, स्वास्थ्य तथा शैक्षिक गुणस्तर उत्थान एवम् सामाजिक सशक्तिकरण पक्रियामा जागरण ल्याउने, कुनै पनि पार्टी भन्दा जाति ठुलो हो भन्ने ध्येलाई आत्मसाथ गर्दै पुनमगर समाजलाई विशुद्ध जाति उत्थानको रुपमा अगाडि बढाउन प्रतिवद्धता जाहेर गर्दै व्यक्तिगत रुपमा पुन मगरहरु कुनै पनि राजनीतिक पार्टीमा सहभागी हुन समाजले कुनै रोक नलगाउने उल्लेख गरिएको छ ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवा संवेदनशील र महत्वपूर्ण निकाय हुँदाहुँदै पनि राज्यको बेवास्ताका कारण पछि परेको बताउनुभएको छ । मन्त्रालयमा आज हुलाक सेवा विभागले ‘एक सय ५०औँ विश्व हुलाक दिवस’ र ‘इन्टरपोल एक सयौँ वार्षिकोत्सव’ शीर्षकका दुई हुलाक टिकटमा टाँचा प्रदानपछि उहाँले हुलाकलाई आधुनिकीकरण गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । हुलाक सेवा बलियो नहुँदा सूचना प्रविधिको विकाससँगै निजी क्षेत्रले फाइदा उठाइरहेको मन्त्री गुरुङको भनाइ थियो । उहाँले परम्परागत कार्यशैलीमा थप रूपान्तरण गरेर विभागले ‘डिजिटल’ शैलीमा सेवा प्रदान गर्न जरूरी रहेको बताउनुभयो । जसका लागि सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्दै मन्त्रालय कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया करिब अन्तिम चरणमा पुगेको मन्त्री गुरुङले जानकारी दिनुभयो । “सुरक्षण मुद्रण केन्द्रको सिइओ बनाइसकेका छौँ । अब आफ्नै देशको छापाखानाबाट कागजात छाप्न सक्षम हुन्छौँ”, उहाँले भन्नुभयो, “सुरक्षण मुद्रण परिचालन हुन थालेपछि धेरै राजस्व बचाउन सकिन्छ ।”
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरियामा रहनुभएका मन्त्री भण्डारीले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा बुसान चेम्बर अफ कमर्सको सहयोग एवं कोरियास्थित नेपाली दूतावास कोरिया र कोरिया नेपाल इन्टरनेसनल एक्सचेन्ज एसोसिएनको आयोजनामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गदै यस्तो बताउनुभएको हो । “वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ । ढुक्कका साथ लगानी गर्न कोरियन लगानीकर्तालाई म आग्रह गर्दछु”, मन्त्री भण्डारीले भन्नुभयो । उहाँ कोरियाले अपर त्रिशूलीमा गरेको लगानीले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको भन्दै प्रशंसा गर्नुभएको थियो । कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहेको र आगामी दिनमा नेपाल र कोरियाबीचको आपसी सम्बन्ध थप उचाइमा पु¥याउनुपर्ने बताउँदै मन्त्री भण्डारीले नेपालको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न आग्रह गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री भण्डारीले महत्वपूर्ण व्यापार साझेदारका रूपमा रहेको कोरियाको भौतिक विकास, ज्ञान, सीप र प्रविधिलाई नजिकबाट नियाली रहेको र कोरियामा भइरहेको विकासबाट नेपालीहरूलाई थप लाभान्वित गर्न चाहेको समेत मन्त्री भण्डारीले बताउनुभएको थियो । नेपालमा युवा जनशक्ति, कच्चापदार्थको उपलब्धता, भौगोलिक विविधताले समेत लगानीको प्रतिफल प्राप्त हुने भएकाले यहाँ लगानी गर्न उहाँले आग्रह गर्नुभयो । “भारत, चीन, बङ्गलादेशलगायत छिमेकी मुलुकको बजारका कारणले समेत नेपाल लगानीको उपयुक्त सम्भावना छ । नेपालमा लगानी गरी व्यवसाय प्रवर्द्धन र थप रोजगारी सृजना गर्न कोरियन लगानीकर्ताहरुलाई सरकारका तर्फबाट गर्नुपर्ने सबै किसिमको सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु”, मन्त्री भण्डारीको भनाइ थियो । यसैगरी उहाँले नेपाली युवालाई रोजगारी प्रदान गरेकामा इपियस कोरिया र कोरिया सरकारलाई धन्यवादसमेत व्यक्त गर्नुभएको थियो ।भ्रमणका क्रममा कोरिया सरकारका मन्त्रीसँग आफूले व्यापार तथा लगानी सम्झौता गर्न लागेको मन्त्री भण्डारीले बताउनुभएको उहाँका प्रमुख स्वकीय सचिव भट्टले बताउनुभयो ।
काठमाडौं: हुलाक सेवा विभागले दुई नयाँ टिकट प्रचलनमा ल्याएको छ । हुलाक सेवा विभागले ‘एक सय ५०औँ विश्व हुलाक दिवस’, र ‘इन्टरपोल एक सयौँ वार्षिकोत्सव’ शीर्षकका दुई टिकटमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र मन्त्रालयका सचिव राधिका अर्यालद्वारा टाँचा प्रदान गरिएको छ । सन् २०२४ का हुलाक टिकटहरूको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरिएको हो । हुलाक विभागअन्तर्गत हालसम्म एक हजार चार सय ५२ प्रकारका हुलाक टिकट छापिसकेको छ । आज टाँचा प्रदान गरिएका हुलाक टिकट रु १० दरका १०÷१० लाख प्रकाशनमा ल्याइएका विभागले जनाएको छ । विश्वस्तरमा हुलाक सेवा र संरचनाको नेतृत्व गर्ने विश्व हुलाक सङ्घ ९युपियू० को स्थापना सन् १८७४ अक्टोबर ९ मा भएको हो । यसमा नेपालसहित एक सय ९२ सदस्य राष्ट्र छन् । सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाउने गरिन्छ । यस्तै, सन् १९२३ सेप्टेम्बर ७ मा इन्टरनेसनल क्रिमिनल पोलिस अर्गनाइजेसन (इन्टरपोल) को स्थापना भएको हो । अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवाद, लागुऔषध, मानव बेचबिखनलगायत सीमापार हुने बहुआयामिक तथा सङ्गठित अपराध नियन्त्रण तथा रोकथामका लागि विश्वव्यपी रूपमा प्रहरी सङ्गठनहरूलाई एकबद्ध गर्ने उद्देश्यला स्थापना भएको जनाइएको छ । टिकट टाँचा प्रदानपछि मन्त्रालयका सचिव अर्यालले हुलाक विभागको ऐतिहासिक र सांस्कृतिक महत्व रहेको बताउनुभयो । दुई वर्षअघि विदेशबाट हुलाक टिकट छाप्नुपर्ने अवस्था सम्झाउँदै उहाँले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गरेर राष्ट्रिय सुरक्षाका अरू कागजातहरू पनि स्वदेशमै छाप्ने तयारी मन्त्रलायले गरिरहेको जानकारी दिनुभयो । “हामीले अब आफ्नै छापाबाट टिकटदेखि रुपैयाँसम्म छाप्नुपर्छ भनेर लागेका छौँ”, सचिव अर्यालले भन्नुभयो । उहाँले केही हुलाक टिकट राजनीतिक परिवर्तनका कारण प्रचलनमा ल्याउन नमिल्ने खालका रहेको जानकारी गराउँदै ती टिकटलाई सङ्ग्रहालयमा सुरक्षित राख्न हुलाक विभागलाई निर्देशन दिनुभयो । उहाँका अनुसार हुलाक टिकट समय, काल र इतिहासको समेत साक्षी हुने हुँदा भावी पुस्ताका लागि टिकट अनुसन्धानको मुख्य आधार हुनसक्ने बताउनुभयो । हुलाक विभागका महानिर्देशक मनमाया पँगेनी भट्टराईले हुलाकका समस्या र चुनौती अध्ययन गर्दै आधुनिक हुलाक बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौं: महिला यु–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई छ विकेटले हराएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा सोमबार पाकिस्तानले दिएको एक सय पाँच रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि कप्तान पुजा महतोले ४७ बलमा तीन चौकाको मद्धतले ४७ रन बनाएकी हुन् । यस्तै, सोनी पाख्रिनले १३, सिमाना केसीले १२, साना प्रवीणले १० र सावित्री धामीले ८ रनको योगदान दिइन् । नेपालले अतिरिक्त १५ रन पायो । बलिङतर्फ पाकिस्तानकी फातिमा खान र क्वारातुलेनले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको थियो । पाकिस्तानका लागि कोमल खानले ४४ बलमा दुई चौकासहित ३८ रन बनाइन् । यस्तै, महम अनीसले नटआउट २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२, फातिमा खानले नटआउट छ रन बनाइन् भने अरीशा अन्सारीले एक रन जोडिन् । बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक÷एक विकेट लिइन् । यो सँगै नेपाल सुपर फोरमा प्रवेश गरेको छ ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो । सहकारी ठगीसम्बन्धी मुद्दामा कात्तिक २ गते काठमाडौँबाट प्रक्राउ गरी उहाँलाई पोखरा ल्याइएका थियो ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजना हुने पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा यही पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा १० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा हुने प्रतियोगिताको तयारी तिब्र पारिएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार खुला पुरुषतर्फ अहिलेसम्म कुल १४ टिम र महिलातर्फ ४ टिमको दर्ता भएको छ । संयोजक गुरुङले अन्य टिम पनि दर्ता गर्नका लागि सम्पर्कमा आइरहेको बताए । उनका अनुसार खेल तालिका भने २ गते १२ बजे प्रकाशित गरिनेछ । गुरुङले पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए । यस्तै उपविजता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । संयोजक गुरुङका अनुसार पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ सहभागिता जनाउनका लागि नगद रु ६ हजार र महिलातर्फ सहभागिता जनाउनका लागि नगद रु २ हजार शुल्क निर्धारण गरिएको सचिव अर्जुन गुरुङले बताए । उनका अनुसार टिम दर्ता फोनमार्फत (९८५६०६६३४४,९८४६३४२०२३, ९८४७८००३८९ र ९८१७१८४७७९) पनि गर्न सकिने छ । यो पनि पढ्नुहोस स्वर्गीय प्रदीपको सम्झनामा खुला बास्केटबल प्रतियोगिता हुँदैं