सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

काठमाडाैं | माघ ९, २०८१

सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

काठमाडौं:   सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुनेभएको छ ।  । 
 

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित  पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो ।


सञ्चार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको उहाँले स्पष्ट गर्नुभयो ।  

 
यसैगरी मन्त्री गुरुङले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद्अन्तर्गत दुवै सदनको अधिवेशन आह्वान हुन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभयो ।  

 
अर्थमन्त्रालयसम्बद्ध समपूरक अनुदानसम्बन्धी कार्यविधि र विशेष अनुदानसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गर्ने तथा सहलगानीसम्बन्धी कार्यविधि, २०७७, र कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि, २०७८ खारेज गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।  
 

एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनय गर्ने तथा सिमरा विशेष आर्थिक क्षेत्रको ‘ब्लक बी’ र ‘ब्लक सी’ लाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको छ । 

 
यसैगरी नेपाल खानेपानी संस्थान, बुटवल खानेपानी आयोजनाको लागि पाल्पा जिल्लाको साविक तिनाउ गापा–३ स्थित करिब ३० रोपनी जग्गा उपलब्ध गराउन तथा  भारतको नयाँदिल्लीमा यही  माघ १० देखि १३ सम्म हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई स्वीकृति दिने निर्णय भएको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो ।  

 
त्यस्तै, जग्गा प्राप्ति तथा अचल सम्पत्ति अधिग्रहण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको कार्यविधि ३५ दिन थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।  

 
विदेशस्थित नेपाली नियोगहरुमा नयाँ स्वीकृत भएका कूटनीतिक कर्मचारीतर्फ र नयाँ स्वीकृत भएका स्थानीय कर्मचारीतर्फको पद तथा विदेशस्थित नेपाली नियोगहरुमा नयाँ स्वीकृत भएका अर्दली पदका लागि पारिश्रमिक स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

 
यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष नियुक्ति नहुँदासम्म जिम्मेवारी तोक्ने तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिने, बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव लोकराज पराजुलीको महान्यायाधिवक्ताको कार्यालयको नायब महान्यायाधिवक्ता पदमा र महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय भएको सञ्चारमन्त्री एवं नेपाल सरकारका प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

चितवन:     चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार, आइतबार र सोमबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो ।  तीन...

थप पढ्नुहोस्

जाजरकोट:     जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको । यो दुर्घटनामा दुईजना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत छेडागाड नगरपालिका(११ मा मंगललबार बिहान भे १ प १०५५ नम्बरको ट...

थप पढ्नुहोस्

पोखरा:  मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा मानव कंकाल फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार घरपझोङ गाउँपालिका–२ सामाग्री छैरो चौरस्थित बेनी–जोमसोम सडक खण्डम...

थप पढ्नुहोस्