पोखरा: गण्डकी प्रदेशको ७ जिल्लामा मनसुनजन्य विपद्मा परेर २२ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, स्याङ्जा र नवलपुरमा पहिरोमा पुरिएर २१ जनाको मृत्यु भएको हो । एकजनाको भने चट्याङ लागेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र रेग्मीले बताए । उनले पछिल्लो ११ दिनमा ७ जिल्लामा विपद्बाट २२ जनाको मृत्यु भएको जानकारी दिए । बाँकी ४ जिल्ला (मनाङ मुस्ताङ गोरखा म्याग्दी) मा भने मानवीय क्षति भएको छैन । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको तथ्याङ्क अनुसार मनसुनजन्य विपद्मा (बाढी, पहिरो, चट्याङ) परेरर २३ जना घाइते भएका छन् । यो पनि पढ्नुहोस पहिरामा पुरिएर स्याङ्जामा तीनको मृत्यु, पाँचजना घाइते तनहुँ पहिरो अपडेट: बेपत्ता तीनै जनाकाे शव फेला कास्कीमा वर्षाको प्रभाव: सय बढी परिवार विस्थापित पहिरोमा पुरिएर भिरकोटमा वृद्धाको मृत्यु एसएसपी रेग्मीले लमजुङमा विपद्का घटनामा परेर ५ जनाको मृत्यु भएको बताए । उनका अनुसार गत असार १२ गते गएको पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको थियो । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरो जाँदा ६७ वर्षीय रुद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, ८ वर्षीय इच्छा गुरुङ र निश्मा गुरुङको मृत्यु भएको थियो । यस्तै लमजुङको दोर्दी गाउँपालिका–९ धैरेनीमा पहिरोमा घर भत्किदा विकल सुनारको मृत्यु भएको थियो भने विमल सुनार घाइते भएका थिए । लमजुङको क्वहोलासोथार गाउँपालिका–३ बगुममा पहिरोमा पुरिएर भिमबहादुर घले घाइते भएका थिए । असार १२ गते नै लमजुङको बेशीशहर नगरपालिका–११ तीनपिल्ले र राईनास नगरपालिकामा चट्याङ लागेर चन्द्रमान श्रेष्ठ र रामचन्द्र अधिकारी घाइते भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ट उपरीक्षक रेग्मीले बताए । यस्तै असार १२ गते नै गएको पहिरोमा पुरिएर कास्कीमा २ जनाको मृत्यु भएको थियो । कास्कीको पोखरा महानगपालिका–२७ मा पहिरोमा पुरिएर ३ वर्षीय बालक अनमोल सुनार र मादी गाउँपालिका–तितेपानीमा पहिरोमा पुरिएर १३ वर्षीय आयुश्मा रानाभाटको मृत्यु भएको थियो । यस्तै पहिरोमा पुरिएर पोखरामा २७ वर्षीय रितु सुनार घाइते भएकी थिइन् । यस्तै पोखरा–२७ अघौं खोलाढोकमा पहिरोमा परी माया विक घाइते भएकी थिइन् । यस्तै असार २२ गते तनहुँको शुक्लागण्डकी–७ काउरेमा पहिरोमा पुरिएर हिरा नेपाली, अनिशा बास्तोला, श्याम भण्डारीको मृत्यु भयो । पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरुको शव आइतबार मात्र फेला परेको थियो । ऋषिङ गाउँपालिकामा पनि पहिरोमा पुरिएर कृष्ण बहादुर पुलामीको मृत्यु भएयो । तनहुँको शुक्लागण्डकी नगरपालिकामा पहिरोमा परी ९ जना घाइते भए । तनहुँको देवघाट गाउँपालिकामा चट्याङ लागेर २ जना घाइते भएको गण्डकी प्रदेश प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यस्तै बागलुङको गलकोट नगरपालिका र पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा पहिरोमा पुरिएर २÷२ जनाको मृत्यु भएको । स्याङ्जाको विरुवा गाउँपालिकामा पहिरोमा परी ५ जना घाइते भएका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–५ ज्यामिरेमा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने, आधिखोला गाउँपालिका–२ उखुबारीमा पहिरोमा परी १ जना घाइते भएका छन् । यस्तै नवलपुरको कावासोती नगरपालिका–१४ अग्यौलीमा चट्याङ लागेर दिलकुमारी थरुनीको मृत्यु भएको छ ।
पोखरा: गुणस्तरीय होटल सम्बन्धी कुकिङ तालिमलाई लक्षित गरी पर्यटन राजधानी पोखराको सिर्जनाचोकमा चार वर्ष अघिदेखि सञ्चालनमा आएको आर.के.हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लिले अन्तराष्ट्रियस्तरकोे किचन ल्याब सञ्चालनमा ल्याएको छ । कुकिङ तालिमको प्रभावकारिता अभिबृद्धि गर्दै स्वदेश एवम् विदेशमा दक्ष जनशक्ति तयार गर्ने लक्ष्यका साथ संस्थाले अन्तराष्ट्रियस्तरको किचन ल्याब सञ्चालनमा ल्याएको हो । किचन ल्याबको एक कार्यक्रमका बीच आइतबार होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, बाराही ग्रुपका कर्पोरेट म्यानेजर राजकुमार केसी लगायतले उद्घाटन गर्नुभयो । कार्यक्रममा होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन राजधानी पोखरामा दक्ष जनशक्तिका लागि पर्याप्त अवसरहरू रहेको बताउँदै उत्पादित जनशक्तिलाई रोजगारीको समस्या नरहेको बताउनुभयो । बाराही ग्रुपका कर्पोरेट डाइरेक्टर राजकुमार केसीले कुकिङ तालिम प्राप्त गरेका दक्ष जनशक्तिको भविष्य उज्वल रहेको बताउँदै उच्च मनोबलका साथ तालिम लिएर त्यसलाई ब्यबहारिकतामा उतार्न आग्रह गर्नुभयो । होटेल संघ पोखराका पूर्व अध्यक्ष विकल तुलाचनले आर.के.हस्पिटालिटीले बजारको माग अनुसारको सिकाई गरिरहेको बताउँदै विद्यार्थीहरूले आफ्नो सिकाईलाई लगाबका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । आर.के.हस्टिालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक तथा प्रशिक्षक आर.के.लामाले देश तथा विदेशका सामान्य होटल लगायत पाँच तारे होटेलहरूमा रोजगारका लागि योग्य बनाउने तथा शतःप्रतिशत रोजगारीको सुनिश्चितता गर्दै आएको संस्थाले देशैभरका विद्यार्थी तथा अभिभावकको मन जित्न सफल बनेको बताउनुभयो । विगत २४ वर्षदेखि होटल र हस्पिटालिटीका क्षेत्रमा काम गरेको आफ्नो अनुुभव सुनाउँदै उहाँले साढे २० वर्ष त होटेल क्षेत्रमा नै काम गरी यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ चार वर्ष यता आर.के. हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.सञ्चालनमा ल्याएको बताउनुभयो । यस संस्थाबाट हालसम्म करिब १५ हजार जनशक्ति उत्पादन भैसकेको उल्लेख गर्दै उहाँले उत्पादित जनशक्ति कोही पनि बेरोजगार नरहेको बताउनुभयो । सिटिइभिटिबाट मान्यताप्राप्त संस्थाले तीन महिनादेखि १० महिना समयावधिका विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको बताउँदै उहाँले, “हामीले विश्व बजारमा फस्टाउँदै गएको होटेल तथा रेष्टुरेन्टलाई दृष्टिगत गरी विद्यार्थीहरूलाई कन्टिनेन्टल, इटालियन, चाइनिज, फ्रेन्च, इन्डियन बेकरी तथा पेष्ट्री खानाका परिकारहरूलाई समावेश गरी अलराउन्डर कुकिङमा विद्यार्थीहरूलाई दक्ष बनाउँदै आएका छौं”, भन्नुभयो । “कुकिङ एउटा साधारण सिप मात्र होइन, यो एउटा मूल्यवान कला पनि हो”, उहाँले भन्नुभयो, “राम्रो कुक र सेफ बन्नका लागि समय, धैर्यता, लगनशीलता, मेहेनतका साथै कुशल प्रशिक्षकको आवश्यकता पर्दछ ।” कार्यक्रममा सिनियर सेफ उमेश भुवाइँ लगायतले बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
पोखरा: मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको मादी गाउँपालिका ४ तारकाङबेशी–भगवती सडकखण्डको काँडेखोलामा एउटा स्कुटर फेला परेको छ । काँडेखोलाको पुलमुनि बेवारिसे अवस्थामा ग १०प ९१९३ नम्बरको डियो (निलो रंग) स्कुटर फेला परेको हो । सोही स्थानमा स्कुटरको चाँबी र चप्पलसमेत फेला परेको बताइएको छ ।
पोखरा: केही दिन यता देशभर भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण नदी, खोलामा पानीको बहाव बढ्दा तटीय क्षेत्रमा बाढी तथा पहिरोको जोखिम बढेको छ । यसैबिच पोखराको मध्यभाग भएर बग्ने सेती नदीमा पानीको बहाव बढ्दा केही परिवार आंशिक रुपमा विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले पोखरामा वर्षाका कारण १ सय बढी परिवार आंशिक रुपमा विस्थापित भएको जानकारी दिए । ‘कास्कीमा पनि बाढी पहिरोको जोखिम उत्तिकै छ, एसपी थापाले सुनगाभा न्यूजसँग भने,‘डुबान र बस्तीमा पानी पसेपछि अहिलेसम्म करिब १ सय भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । आंशिक रुपमा विस्थापित भएका हुन् पूर्ण रुपमा होइन ।’ प्रहरी उपरीक्षक थापाका अनुसार वर्षाका कारण सेती नदीमा पानीको बहाव बढ्दा पोखरा–३३ पशुपतिस्थित सुकुम्बासी टोलमा रहेका करिब २७ घर जोखिममा परेपछि आफन्तमा आश्रय लिएका छन् । यो पनि पढ्नुहोस पहिरामा पुरिएर स्याङ्जामा तीनको मृत्यु, पाँचजना घाइते पर्वत: पहिरोमा बेपत्ता भएका दुई जना मृत फेला तनहुँ पहिरो अपडेट: बेपत्ता तीनै जनाकाे शव फेला सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जामा सडक भासियो यस्तै पोखरा महानगरपालिका–१४ गोष्टी टोलस्थित सेती नदीको किनारमा बसोबास गर्ने २३ परिवारलाई टोल विकास संस्थाको भवनमा राखिएको छ । भने पोखरा १३ कमलपोखरी क्षेत्रपनि डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जल तथा मौसम विभागको मौसम पूर्वानुमान बमोजिम अझै केही दिन भारी तथा मध्यम वर्षा हुने अनुमान रहेकाले नदी तथा खोलाका तटीय क्षेत्रमा सावधानी अपनाउनसमेत आग्रह गरेको छ । जिल्ला भित्र कतै विपद् जन्य घटना भए स्थानीय तह, जनप्रतिनिधि, सुरक्षाकर्मीहरुलाई तुरुन्त खवर गर्न समेत कास्की प्रशासनले अनुरोध गरेको छ ।
पोखरा: तनहुँबाट पोखरा ल्याएर नाबालिगलाई सामुहिक बलात्कार गरेको आरोपमा कास्की प्रहरीले भारतीय नागरिकसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले नाबालिगलाई शरिर बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा भारतीय नागरिकसहित २ जनालाई पक्राउ गरेको जानकारी दिए । उनका अनुसार ति दुइजनालाई गत १८ गते (मंगलबार) बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वर गाउँपालिका स्थायी घर भई पोखरा–११ बस्ने २१ वर्षीय अरुण कुमार दास र भारतको बिहार प्रदेश सितामणी स्थायी घर भई पोखरा–११ नै बस्ने १९ वर्षीय सुनिल दास रहेको डिएसपी शर्माले बताए । यस्तो छ घटनाक्रम, गएको असार १७ गते तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुबाट नाबालिकालाई छलकपट गरी झुक्याउदै र डरत्रास देखाई भारतीय नागरिकसहित २ जनाले ग ८ प ४२८० नम्बरको मोटरसाईकलको बीचमा राखी पोखरामा ल्याए । तनहुँबाट पोखरा ल्याएका नाबालिकालाई उनीहरुले पोखरा महानगरपालिका–११ रानीपौवास्थित कोठामा बन्धक बनाएर सामुहिक बलात्कार गरे । त्यसपछि अर्काे दिन असार १८ गते बिहान तनहुँ फर्किदै गर्दा पोखरा महानगरपालिका–३० पावरहाउसस्थित पृथ्वीराजमार्ग सडकखण्डमा प्रहरीले चेकिङ गर्ने क्रममा भाग्न खोजे । त्यसपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा नाबालिकाले आफुलाई सामुहिक बलात्कार गरेको खुलाए । त्यसैको आधारमा कास्की प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढायो । अहिले पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत कास्कीबाट अपहरण वा शरिर बन्धक तथा जवरजस्ती करणी सम्बन्धि मुद्धामा असार १८ गतेदेखि नै लागू हुने गरी पहिलो पटक ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
(पोखरा महानगरपालिका -१, कस्केरी)
पोखरा: चलचित्र पत्रकार संघ नेपाल कास्कीको २१ औं स्थापना दिवसका अवसरमा रिभ्यू बक्स खोलिएको छ । संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका दुुई सिनेमा हल क्युएफएक्स र मिडटाउनमा राखिएको रिभ्यू बक्स खोलिएको हो । दुवै सिनेमा हलमा आएका दर्शक प्रतिक्रियालाई हेरेर लक्की ड्र मार्फत ८ जना विजेताको घोषणा गरिएको छ । विजेतालाई सिनेमा हलको तर्फबाट टिकट र पपकन, दमदार बिरायनी, क्लाउड नाइन रेष्टुरेण्टबाट खाजा र बन्जी नेपालको तर्फबाट बन्जीको व्यवस्था मिलाइएको छ । सो अवसरमा कास्कीको चलचित्र पत्रकारिताको अवस्था र आगामी स्वरुपका विषयमा चर्चा गरिएको छ । संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले चलचित्र पत्रकार संघ नेपाल कास्कीको क्रियाशिलता प्रशंसनिय रहेको उल्लेख गरे । २०६० साल असार २२ गते आफ्नो नेतृत्वमा संघको स्थापना गर्दा चलचित्र पत्रकारिता पोखरामा नगन्य भएको र हाल आएर यसले विस्तार रुप लिँदै आएको बताए । पोखराबाट प्रकाशित हुने पत्रिकामा मनोरञ्जन बीटलाई स्थान नदिनुु दुखद भएको भनाई उनको छ । निवर्तमान अध्यक्ष अरुण गिरीले अन्य बीटमा लेख्ने पत्रकारले चलचित्रमा पनि कलम चलाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । सिनेमा मार्फत विभिन्न मुद्धाहरुको उठान हुुने भएकाले विषयगत रिर्पोटिङ सिनेमा मार्फत पनि गर्न सकिने भनाई उनको छ । संघका सल्लाहकार सुरेश रानाभाटले चलचित्र पत्रकार संघ नेपाल कास्कीले आफ्नो आयतन बढाउँदै लैजानुपर्ने बताए । संघले अहिलेसम्म गरेका कामहरु उदाहरणीय रहेको र अब दस्तावेजलाई पनि ख्याल गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे । पोखराको प्राकृतिक सौन्दर्यता र पर्यटनलाई जोडेर सिनेमा माध्यम प्रचारप्रसार गर्न सकिने भनाई उनको छ । संघका अध्यक्ष प्रभु अधिकारीले कास्कीको चलचित्र पत्रकारितालाई बढ्वा दिँदै जाने उल्लेख गरे । सबैका सुझावलाई आत्मसात गर्दै संघको आगामी कार्यक्रम तय हुने भनाई उनको छ । चलचित्र पत्रकारलाई हेर्ने दृष्टिकोणमा फरकपन आएको बताउँदै समयसापेक्ष कार्यक्रम गर्ने उनले बताए । कार्यक्रममा संघका संस्थापक सदस्य विष्णुु सापकोटा, सागरराज तिमिल्सिना, विभु भुसाल, पूर्वसहसचिव विजय नेपाल, नेपाल प्रेस युनियन कास्कीका सचिव धनबहादुर गुरुङ (सुमन)ले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष अर्पण तिवारीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सन्तोष बस्यालले गरेका थिए ।
पोखरा: पोखरामा चितुवा धपाउने क्रममा एक प्रहरी जवान घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र रेग्मीका अनुसार घाइते हुनेमा प्रहरी चौकी छोरेपाटनमा कार्यरत ३२ वर्षीय प्रहरी जवान नारायण प्रसाद तिवारी रहेका छन् । पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित शनिबार बेलुकी करिब साढे ५ बजे श्याम बास्तोलाको बारीमा चितुवा आएको सूचनापछि प्रहरी टोली धपाउन पुगेका थिए । सोही क्रममा प्रहरी जवान तिवारीलाई कम्मरमा चिथोरेर घाइते बनाएको थियो । यद्यपी उपचारपछि उनका अवस्था सामान्य रहेको प्रदेश प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा वडा नं. ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कूलले एसईई २०८० मा सर्वोत्कृष्ट ४ जिपीए प्राप्त गरेकी छात्रा अदिती पराजुलीसहित ४० जना विद्यार्थीहरुलाई सम्मान, बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी पराजुलीलाई ल्यापटप, सम्मानपत्र, ट्रफी, नगद र दोसल्लाले सम्मान गरेको हो । जिपीए ३.९० देखि ३.९५ ल्याउने विद्यार्थीहरु अंकिता कोइराला, शैलज अधिकारी, प्रकृति भुषाल, विवश सुवेदी र प्रताप तिमिल्सिनालाई नगद, ट्रफी र दोसल्लाले सम्मान गरेको छ । बाँकी सबै विद्यार्थीलाई ट्रफी र मालाले बधाई ज्ञापन गरिएको थियो भने अभिभावकलाई दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका, शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गरे । आचार्यले पोखराका विद्यालयमध्ये शान्ति निकेतन उत्कृष्ट विद्यालयका रुपमा स्थापित भएको उल्लेख गर्दै शिक्षा महाशाखामा विद्यालयको गतिविधिको रेकर्डले नै पुष्टि गर्ने बताए । साथै, थोरै जिपीए आएपनि तिनै विद्यार्थीहरु जीवनमा सफल हुने गरेका दृष्टान्त सुनाए । विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयले समयसापेक्ष शैक्षिक योजना तथा रणनीतिहरुलाई अवलम्वन गर्दै विद्यार्थीका सर्वाङ्गिण विकासमा केन्द्रीत भई उत्कृष्ट पठनपाठन गरिरहेकोले ऐतिहासिक नतिजा प्राप्त गर्न सकेको बताए । संस्कारयुक्त शिक्षा तथा जीवनपयोगी सीपलाई प्रमुख आधार मान्दै आउँदा दिनमा विद्यालय अघि बढ्ने प्रतिबद्धता जनाए । डा। पराजुलीले भने – ’यस विद्यालय स्थापना गर्दैगर्दा शैक्षिक महापुरुषहरुले जुन परिकल्पना गर्नुभएको थियो, यी र यस्ता उपलब्धिले स्थापनाकालका परिकल्पना साकार भएको छ । उहाँहरुको योगदानको कदर भएको छ।’ सर्वोत्कृष्ट ४ जिपीए ल्याएकी छात्रा अदिति पराजुलीले आफू शिक्षक, अभिभावक र साथीहरुको सहयोगले नै यस उपलब्धि प्राप्त गर्न सफल भएको भन्दै सबैप्रति आभार व्यक्त गरिन् । कार्यक्रमको अध्यक्षतासमेत गरेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भुर्त्यालले विद्यालयको शैक्षिक उपलब्धिमा सिंगो पर्स्यांङ टोल नै सन्तुष्ट रहेको अभिव्यक्ति दिए । साथै, विद्यालयले सधैँ लोभलाग्दो शैक्षिक उत्पादन गरेकोमा संस्थापक प्रिन्सिपल डा। पराजुलीलाई विद्यालय व्यवस्थापन समितिले सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका सहप्राचार्य यदुविलास भुर्त्यालले स्वागत मन्तव्य राखेका थिए्र त्यसैगरी, व्यवस्थापन समिति सदस्य पुरुषोत्तम पराजुली र अभिभावककातर्फबाट भेषराज घिमिरेले बोलेका थिए । साथै, कार्यक्रममा एसएलसी पहिलो ब्याच २०६७ का प्रथम विद्यार्थी सञ्जिव भुर्त्याललाई अमेरिकाबाट सिभिल इञ्जिनियरिङमा विद्यावारिधी हाँसिल गर्न सफल भएकोमा उनका बुवाआमा चन्द्रबन्धु÷सीता भुर्त्याललाई सम्मान गरिएको विद्यालयका परीक्षा विभाग प्रमुख हेम सुवेदीले जानकारी दिए ।