पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले भेलाले ८ बुंदे पोखरा घोषणापत्र जारी गरेको छ । पोखरामा आज (शुक्रबार) भएको भेला घोषणापत्र लेखन समितिका संयोजक दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा ८ बुंदे पोखरा घोषणापत्र जारी गर्दै सकिएको हो । समितिमा संघीय सल्लाहकार हुमबहादुर गुुरुङ, गण्डकी इन्चार्ज एमबि आस्थामगर, गण्डकी सल्लाहकार शान्ती गुरुङ र मनोज घर्तीमगर थिए । फोनिज गण्डकीले पोखरा घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघको महासंघको आगामी कार्य समिति पूर्ण समावेशी गर्न माग गरेको छ । यमहासंघको सदस्यता विवादको समाधान गर्दै निर्वाचन गर्न पनि महासंघको केन्द्रीय समितिसँग फोनिज गण्डकीले माग गरेको हो । महासंघको २७ औं महाधिवेशनले संस्थापकको विषयलाई टुङ्गो लगाउन विज्ञ समिति गठन गर्ने लिखित समझदारी गरिएको स्मरण गराउदै प्रतिबद्दता कार्यान्वयनको समेत माग गरेको संयोजक श्रेष्ठले बताए । घोषणापत्रमा आसन्न निर्वाचनमा आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, महिला तथा पछाडि परेका अल्पसंख्यक लोपोन्मुख जाति समुदाय, क्षेत्र, लिङ्गबाट प्रतिनिधित्व गर्ने पत्रकारलाई बढी भन्दा बढी केन्द्र, प्रदेश र जिल्ला कार्य समितिहरुमा समेट्न पत्रकार सम्बद्ध सबै संघ संस्थाहरुलाई फोनिज गण्डकी बिशेष आग्रह समेत गरेको छ । भेलाले फोनिज रजत जयन्ती बर्षभर विविध कार्यक्रम गरि मनाउने केन्द्रीय नीति अनुसार गण्डकी प्रदेश र मातहतका जिल्लाहरुमा रचनात्मक कार्यक्रम गरि मनाउने निर्णय समेत गरेको छ । यस्तै फोनिज सम्बद्द पत्रकारहरुलाई आफ्नो क्षमता अभिबृद्दि गर्दै आदिवासी जनजातीका मुद्दा, संस्कार संस्कृति, परम्परा, रैथाने प्रबिधि र भाषाका बिकास र अधिकारका मुद्दामा निर्भिकतापूर्बक कलम चलाउन आग्रह गर्दै प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभुतिको सुनिश्चिाताको लागि तिनै तहको सरकार र स्थानीय प्रशासकसँग माग गरेको छ । फोनिजले समावेशीकरणको संवैधानिक सिद्धान्तलाई आत्मसात गर्दै गण्डकी प्रदेश भित्र नियुक्त÷मनोनित हुने सरकारको सबै प्रकारका सञ्चार सम्बद्ध समिति÷संयन्त्तहरुमा आदिवासी जनजाती पत्रकारको प्रतिनिधित्वकालागि गण्डकी प्रदेश सरकार र सम्बद्ध सरोकारवालाहरुमा माग गरेको छ ।
पोखरा: स्थानीय स्रोत साधनको प्रयोग गरेर उद्यमी बन्न सकिने पोखरामा शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । रेडियो जननी ९०.६ मेगाहर्जको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ८ र पद्मावती हस्तकला उद्योगको सहयोगमा आयोजित रोजगारमुलक सीपको आवश्यकता तथा बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उद्यमशिलताको लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले खेर गैरहेको सामाग्री प्रयोग गरेर पनि उद्यमी बन्न सकिने बताउनुभयो । उहाँले वडावासीमा उद्यमी बन्नको लागि कस्तो सीप आवश्यक छ अथवा कस्तो तालिमको माग हुन्छ, त्यस किसिमको तालिमको आयोजना वडाले गर्ने प्रतिवद्धता जनाउनुभयो । उद्यमशिलताको विकासको लागि वडा कार्यालय स्थानिय संघसंस्थासँग हातेमालो गरेर जान तयार रहेको उल्लेख गर्नुभयो । पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखाका प्रमुख मनोहरी कडरियाले आफूले निर्माण गरेको सामाग्री आफैले पहिले प्रयोग गर्ने बानीको विकास गर्न सके स्थानीय उत्पादित वस्तुको उपयोगीता बढ्ने बताउनुभयो । त्यसले गर्दा बजार व्यवस्थापनमा टेवा पुग्ने उहाँको भनाई छ । पद्मावती हस्तकला उद्योगका प्रोपाइटर तथा रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले स्थानीय स्रोत साधन र खेर गएको सामाग्रीको उपयोग गरेर दैनिक जीवनमा आवश्यक वस्तुहरु निर्माण गर्न सकिने जानकारी दिनुभयो । उक्त निर्माण गरेको सामाग्री बिक्री गरेर आर्थिक उपार्जन गर्न सकिने उहाँको भनाई थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वाणिज्य तर्फका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, पोखरा व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पर्यटन तथा घरेलु कार्यालयका प्रमुख महराज ढकाल, आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेलले लगायतले उद्यमशिलताको विषयमा बोलेका थिए ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा शुक्रबार पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकीको सहकार्य र सहयोगमा भएको कार्यक्रममा कार्यालय गण्डकी प्रदेशका सचिव केशवराज ढकालले राज्यको चौथो अंग भनेर चिनिने पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न यस्तो खालको कार्यक्रमले सहयोग पु¥याउने बताए । पत्रकारिता पेसामा आफ्नो भूमिका निर्वाह गर्दै राज्यलाई खबरदारी गर्न पत्रकार हिच्किचाउन नहुनेमा उनको जोड थियो । उनले भने, ‘पत्रकारिता पेसामा हरेक समुदायका व्यक्तिको बराबरको सहभागिता गराउनु जरुरी छ ।’ पत्रकारिता क्षेत्रको हितका लागि यस्ता कार्यक्रमको आयोजना गर्नु अझै आवश्यक रहकोमा उनले जोड दिए । कार्यक्रममा फोनिज गण्डकीकी उपाध्यक्ष खिमा गुरुङले आदिवासी जनजाति समुदायका व्यक्तिको पत्रकारिताको क्षेत्रमा संख्या बढाउनुुपर्नेमा जोड दिइन् । पत्रकारिता क्षेत्रमा प्रवेश गर्नेको संख्या धेरै भए पनि उनीहरुलाई यही पेसामा टिकाइराख्नु चुनौती बन्दै गएको उनले बताइन् । फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीष मगरको अध्यक्षता भएको कार्यक्रम महासचिव धनबहादुर गुरुङ ‘सुमन’ ले सञ्चालन गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले आमसञ्चार र समावेशी पत्रकारितकाका विषयमा सहजीकरण गरेका थिए ।
पोखरा: सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा थप शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गर्दै आएको छ । सेलवेजले पोखरा १७ विरौटा र पोखरा ५ प्रस्याङमा शाखा विस्तार गरेको हो । दुई शाखा थपिए सगँ पोखरामा १० शाखा पुगेका छन् । सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको छ । सेलवेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले बताए । विरौटा देखी छोरेपाटन, पुम्दीभुम्दीलाई लक्षित गरि विरौटा शाखा खोलिएको बताए । त्यसै गरी प्रस्याङ शाखाबाट त्यस वरपरको क्षेत्रलाई लक्ष्त गरेर खोलिएको बताए । दैनिक आवश्यकता पर्ने सामान किन्न सहज रुपमा पाइने उनले बताए । सेलवेजले यसअघि पोखराको चिप्लेढुंगा, लेकसाइड, विरौटा, भद्रकालि, शान्तिनगर, अम्मरसिंह र बगरमा शाखा बिस्तार गरिसकेको छ । केहीमहिना भित्रै पोखरामा अन्य क्षेत्रमा पनि शाखा बिस्तार गर्ने उनले बताए । नयाँ शाखामा ग्राहक आकर्षण गर्न विभिन्न छुट दिएको पनि उनले बताए । अहिले खाद्यसामाग्री, विद्युतीय सामान राखिएको छ । होम डेलीभरीको पनि व्यवस्था भएको उनले बताए । लक्की ड्र मार्फत कार जित्ने अवसर पनि भएको उनले बताए । दुई हजार सम्मको खरिद एउटा कुम्पन पाइने र बम्पर उपहारमा एमजिको इभि कार जित्ने सक्ने उनले बताए । त्यसै गरी प्रथम पुरस्कार स्कुटर, दोस्रो ४० इन्चको टिभि, तेस्रो माइक्रो ओभन, चौथोमा पंखा, पाँचौमा राईकुकर, छैटौमा हटपट उपहार जित्न सकिने उनले बताए । यो उपहार योजना सेलवेज र सेल्सबेरीका सबै शाखामा असार र साउन महिनाभर चल्ने बताए । पोखराको चिप्लेढुंगाबाट सन् १९९३ मा सामान्य खाद्यपसलको रुपमा सेलवेजले सेवा दिन थालेको थियो । त्यही व्यवसाय बिस्तार हुँदै जाँदा सन् २००४ मा काठमाडौं प्रवेश गरेको सेलवेजले २०१४ देखि सेल्सबेरीको नाममा शाखा संचालन गरिरहेको छ । विरौटा शाखाको पोखरा १७ की वडा अध्यक्ष राधीका शाहीले उद्घाटन गरीन् । उनले पोखरा १७ विरौटा देखी छोरेपाटन क्षेत्रमा सहरी घनत्व बढ्दै गएको बताए ।
पोखरा: विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा फेला परेको नगदसहित सामान प्रहरीले सम्बन्धित धनी भारतीय नागरिकलाई २ सातापछि फिर्ता गरेको छ । सामान फेला परेको सूचनापछि आज जिल्ला प्रहरी कार्यालय कास्कीमा आएका भारतीय नागरिकलाई प्रहरीले सामान २ सातापछि फिर्ता गरेको हो । गएको जेठ ३१ गते विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा फेला परेको नगदसहित सामान पोखरा रानी पौवा बस्ने सम्झना रानामगरले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएकी थिइन् । विन्ध्यवासिसिनी मन्दिरको पार्किङ क्षेत्रमा नगदसहित सामान फेला पारेर कास्की प्रहरीलाई बुझाएपछि प्रहरीले सम्बन्धित व्यक्तिलाई सामान फिर्ता लैजान जेठ ३१ गते नै सूचना जारी गरेको थियो । प्रहरीले जारी गरेको सूचनाको पछि आज भारतीय नागरिक संकेत गोविन्द गुप्तालाई नगदसहितको सामान फिर्ता गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा साईड ब्याग, घडी, ईयरवट, डाटाकेवल, मनिवर्स, संकेत गोविन्द गुप्ता नाम गरेको भारतीय आधारकार्ड, स्थायी लेखा संख्य कार्ड र भारतीय नगद रु १० हजार ३ सय २० रुपैयाँ फेला परेको थियो ।
पोखरा: पोखरामा पार्किङ गरेर राखेको जेसिबी रोलरमा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको छ । पोखरा महानगरपालिका–९ जनप्रिय स्कुल पछाडि प्रतिभा मार्ग स्थित सडक निर्माणको लागि पार्किङमा राखेको सिम्रन कन्ट्रक्सन प्रालि, महतगौडाको जेसिबी रोलर मेसिनमा हिजो मध्यरातमा आगलागी भएको हो । जेसिबी रोलर मेसिनमा मध्यरातमा आगलागी हुँदा रोलरको फलाम भाग बाहेक पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । रोलर मेसिनमा आगलागी भएको सूचनापछि स्थानीय, नेपाल प्रहरीको दमकलको सहयोगमा साढे १ बजेको समयमा आगलागी नियन्त्रणमा आएको डिएसपी शर्माले बताए । आगालागीको कारण खुलेको छैन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यस वर्ष हुने चौथौ हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता हुँदैछन् । महोत्सवको तयारी स्वरुप महोत्सव स्थल वरपर सरसफाई गरिसकिएको छ भने खेत हिल्याउने कार्य समेत सुरु भएको छ । हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा गर्व गराउँदै कृषिमा आकर्षण बढाउने उद्देश्य साथ महोत्सव आयोजना गरिएको हो । महोत्सवले समग्र पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आवागमन बढाउने तथा कृषि क्षेत्रका लागि महोत्सव महत्वपूर्ण हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक हरीशरण पौडेलले बताए । ‘कृषिमा कृषकलाई प्रोत्साहन: विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ स्थानीय देवीस्थान टोलमा महोत्सव हुँदैछ ।जसमा विभिन्न कलाकारले प्रस्तुति समेत राख्नेछन् । प्रतियोगितामा प्रथम तथा द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ। महोत्सव सञ्चालनका लागि करिव रु।७ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
पोखरा: दोहोरी साँझको क्षेत्रमा छुट्टै छवि जमाएको निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिले विशेष सांगीतिक कार्यक्रमको आयोजना गरी २० औं वार्षिकोत्सव मनाउने भएको छ । पोखराको चिप्लेढुंगामा सञ्चालनमा रहेको दोहोरी साँझले यही १५ गतेदेखि २० गतेसम्म विविध सांगीतिक कार्यक्रम गरी वार्षिकोत्सव मनाउने निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिका सञ्चालक सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार ६ दिनसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकार एवं नियमित कलाकारहरुको विशेष प्रस्तुती रहनेछ । वार्षिकोत्सवको अवधिभर बेलुकी साढे ७ बजेदेखि २ बजेसम्म दोहोरी साँझले सेवा दिनेछ । सञ्चालक गुरुङले ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकार कुमार पुन, शंकर विरही गुरुङ, श्याम रानामगर, चिज गुरुङ, निर्जला गुरुङ, चिजा तामाङ, निशा गुरुङले सांगीतिक प्रस्तुती दिनेछिन् भने मोडेल तथा डान्सर अशु गुरुङको प्रस्तुती दिनेछिन् । यस्तै दोहोरी साँझका नियमित कलाकारहरु टेक क्षेत्री, गुुप्त गुरुङ, विनोद गुरुङ, किसान नेपाली, टसबहादुर गुरुङ, सञ्जय गायक, प्रशान्त तामाङ, पाण्डव गुरुङ, याम बहादुर नेपाली, मनोज नेपाली, इन्द्रा गुरुङ, कल्पना आले, बत्तिकुमारी थापा, चिना थापा, सरिता राई, ललिता पुन, पुजा तामाङ, सुनिमा गुरुङ, निरुता थापा मगर र निशा गुरुङको प्रस्तुती रहने छ । सोही कार्यक्रमको अवसरमा पछिल्लो समय लोकप्रिय बनेको (गोर्खे खुकुरी, सोल्टी बजारमा) गीतका सर्जक तथा गायक निश्चल दवाडीलाई सम्मान गरिने दोहोरी साँझले जनाएको छ ।
पोखरा: पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका छात्र सचेत सुवेदी एसईई परीक्षामा ४ जिपिए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीवार बिहान प्रकाशित नतिजामा सुवेदीले ४ जिपिए ल्याएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले जानकारी दिए । एसइईमा अक्षराङ्कन पद्धति अवलम्बन गरिएपछि एसओएस गण्डकीबाट ४ जिपिएसहित सचेतले नयाँ अभिलेख कायम गरेको प्रधानाध्यापक सुवेदीले बताए । परीक्षाको तयारीमा आफ्नो निरन्तरको साधना तथा शिक्षकहरूको रचनात्मक पृष्ठपोषण र हौसलबाट आफूले यो सफलता हासिल गरेको छात्र सचेत सुवेदीले बताए । ‘सबै विषयलाई समान महत्त्व प्रदान गरी तयारी गर्दा मैले आज यो सफलता प्राप्त गर्दा खुसी लागेको छ ।’ उत्कृष्टता हासिल गर्ने छात्र सचेतले भने, ‘यस सफलताका पछाडि मेरा अभिभावकहरूको पनि सदैव उत्प्रेरणादायी भूमिका रह्यो ।’ विद्यालयका तर्फबाट यस वर्षको एसइईमा सहभागी ८८ जना विद्यार्थीमध्ये ४ जिपिए प्राप्त गर्ने १ र ३.९५ जिपिएभन्दा माथि प्राप्त गर्ने ६ जना विद्यार्थी रहेको विद्यालयका सहप्रधानाध्यापक वीरसिंह बुढाले बताए । त्यस्तै ५१ जना विद्यार्थीले ३.६ भन्दा माथि, १५ जना विद्यार्थीले ३.२ भन्दा माथि र त्यसमुनिका बाँकी विद्यार्थी पनि राम्रै जिपिएका साथ उत्तीर्ण भएको सहप्रधानाध्यापक बूढाले जानकारी दिए । सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित एसओएस गण्डकी अनाथ, असहाय र परित्यक्त बालबालिकाका अतिरिक्त समुदायका अन्य बालबालिकाहरूलाई समेत शैक्षिक सेवा प्रदान गर्दै आइरहेको उत्कृष्ट शैक्षिक संस्था हो ।