पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल कास्कीले आयोजना गरेको औद्योगिक मेलामा बोल्दै उहाँले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न रैथाने उत्पादनलाई ब्राण्डिङ गर्नुुपर्ने बताउनुभएको हो । “गुणस्तरियतामा ख्याल राख्दै रैथाने उत्पादनको बजारीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ । जसका लागि प्रदेश सरकार यहाँहरु सँगै छ ।”, उहाँले भन्नुभयो । मन्त्री थापाले साना तथा मझौला व्यवसायीहरुको आत्मबल बढाउने गरी प्रदेश सरकारले नीतिगत निर्णय गरेको जानकारी गराउनुभयो । सहुलियत ब्याजदरमा बैंकबाट ऋणको व्यवस्था मिलाइएको भनाई उहाँको छ । प्रकृति, संस्कृति, भेषभूषालाई आत्मसात् गर्दै हामीले हाम्रा उत्पादनमा ख्याल गर्नुपर्ने उल्लेख गर्नुभयो । आयत भन्दा पनि निर्यातमुखी बजारीकरणमा ध्यान दिन व्यवसायीलाई उहाँले आग्रह गर्नुभएको छ । सानै भए पनि आफ्नै व्यवसायले खुशी मिल्ने बताउँदै निरन्तरताले नै सफलता मिल्ने भनाई उहाँको छ । कार्यक्रममा साना तथा मझौला व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष हरिभक्त पराजुलीले साना तथा मझौला व्यवसायीको पीरमर्कालाई बुलन्द बनाउने कार्य गर्दै आएको जानकारी गराउनुभयो । गण्डकी प्रदेश अध्यक्ष ढाकाराम पौडेलले साना तथा मझौला व्यवसायी महासंघमा २५ करोड सम्म लगानी गर्ने व्यवसायी संस्थामा आबद्ध भएको उल्लेख गर्नुभयो । उहाँले प्रदेशलाई आर्थिक रुपमा सम्पन्न बनाउन साना तथा मझौला व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कास्कीकी अध्यक्ष सिर्जना तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य मेला संयोजक भागिरथ शर्माले गर्नुभएको थियो । मेला पोखरा ९ नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा ५ दिनसम्म चलेको थियो ।
पोखरा: पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ डकुमेन्ट्री प्रर्दशन थालिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेष्ट बाइ दोज हु वेयर दियर’ डकुमेन्ट्री प्रदर्शन गरिएको हो । संग्रहालयमा आउने पर्यटकलाई यो डकुमेन्ट्री नियमित देखाइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले बताइन् । जोन पोर्टर र डन बुसले निर्माण गरेको डकुमेन्ट्री ३४ मिनेट लामो छ । सगरमाथा आरोहणका निम्ति सन् १९२१, २२ र २४ मा तिब्बततर्फबाट भएका प्रयासबारे डकुमेन्ट्रीमा उतारिएको छ । एक सय वर्षअघि सन् १९२४ मा १२ जना बेलायती नागरिक र दार्जिलिङका शेर्पा सहितको आरोहण दलले सगरमाथा चढ्ने प्रयास गरेका थिए । तिनै विषयलाई समेटेको डुकुमेन्ट्री देखाउन सुरु गरेको संग्रहालयले त्यतिबेलाका तस्वीरलाई ‘द फाइट फर एभरेस्ट १९२४’ नाम दिएर पर्यटकलाई प्रस्तुत गरिरहेको छ । तस्बिर जेठ २६ देखि नियमित प्रदर्शनीमा राखिएको हो । सोेमबारदेखि नै स्लोभेनियाका नागरिकले नेपालका हिमाल चढ्न थालेको इतिहासबारे जानकारी दिने तस्बिरकोसमेत प्रर्दशनी गरिएको छ । प्रदर्शनीको उच्च अदालत पोखराका न्यायधिश धनसिङ महराले उद्घाटन । सन् १९७५ मा स्लोभेनियाका नागरिकले मकालु हिमालको आरोहण गरि विश्वका १४ वटा हिमाल आरोहण गरेका छन् । साथै पर्वतारोहण संघले संचालन गर्दै आएको मनाङ माउन्टेनेरिङ स्कुलमा पर्वतारोहणको लागि गाईड तालिम लगायतका कामसमेत गरेको छ । तीनै फोटाहरु प्रर्दशनीमा छन् । फोटो प्रदर्शनीले पर्वतारोहण संघ र संग्रहालयको सम्बन्धलाई अझै कसिलो बनाउने विश्वास गरिएको छ । ति ऐतिहासिक फोटोलाई अब नियमित प्रदर्शनीमा राखिनेछ । कार्यक्रममा उच्च अदालत पोखराका रजिष्ट्रार अच्युत कुँइकेल, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नाटा गण्डकीका अध्यष हरिराम अधिकारी, टेवान अध्यक्ष कमला गिरी, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पर्यटन विज्ञ डा. रामजी शर्मा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका सल्लहाकार हरिध्वज तुलाचन लगायतकोे उपस्थिती रहेको थियो । संग्रहालय हिमाल र हिमाली जनजीवनबारे अध्ययन अनुसन्धान गर्न चाहने पर्यटकको रोजाई बनेको छ । पोखरा महानगरपालिका– १७ रातोपैह्रामा १०० रोपनी क्षेत्रफलमा संग्रहालय छ । २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले संग्रहालयको उद्घाटन गरेसँगै सञ्चालनमा आएको संग्रहालय नेपाल पर्वतारोहण संघको मातहातमा सञ्चालनमा छ । संग्रहालयमा हिमाल, हिमाली समुदाय, जनजीवन र गतिविधिलाई उतारिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा चालु वर्षमा १०५ देशका पर्यटकले भ्रमण गरेका गरेका छन् । सार्कबाहेक ९८ देशका पर्यटकले भ्रमण गरेको संग्रहालयको रेकर्डमा उल्लेख छ ।
गण्डकी: पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो । तालैतालको सहरको उपमा पाएको पोखरामा नौ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन् । यिनै तालतलैयाका कारण पोखरा चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । पोखराका तालतलैयामा बर्सेनि झण्डै तीन सय प्रजातिका विदेशी चरा चीन, साइबेरिया लगायतका देशबाट आउने गरेको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । प्रत्येक वर्षको हिउँद र वर्षातको समयमा छुट्टाछुट्टै प्रजातिका चरा पोखराका तालतलैयामा देखिने गरेको उनले जानकारी दिए । ‘विशेषगरी हिउँदको समयमा सिकारी प्रजातिका चरा पोखराका तालतलैयामा देख्न सकिन्छ, वर्षात्को समयमा कोइली प्रजातिका चरा देख्न सकिन्छ’, उनले भने, ‘साइवेरियालगायत टाढाटाढा विदेशी मुलुकबाट आएका चरा केही समय बिताएर फर्कने गरेका छन् ।’ पोखराका रामसार सूचीमा सूचीकृत तालमध्येको एक रुपाताल पनि हो । सुन्दा अचम्म लाग्न सक्छ तर, रुपातालले बर्सेनि झण्डै ५० लाख रुपैयाँ बराबरका माछा विदेशी चरालाई खुवाउँदै आएको छ । साविक लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भागले छोएको यस तालमा प्रत्येक वर्षको हिउँदमा आउने जलेवालगायत प्रजातिका चराले ५० लाखभन्दा बढीको माछा खाएर जाने गरेको रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताए । ‘विशेषगरी पुस माघको समयमा करिब तीन महिना साइबेरियालगायत स्थानबाट रुपातालमा आउने करिब दुई सय ५० सङ्ख्याका जलेवाको आहारा माछा नै हो’, उनले भने, ‘सामान्यतः एउटा जलेवाले दिनभरिमा आधा किलोसम्म माछा खाने गर्दछ ।’ रातको समयमा ताल आसपासको जङ्गलमा बस्ने जलेवा बिहान सूर्योदयदेखि सूर्यास्तसम्म तालमा नै रहने र माछा खाने गरेको उनले जानकारी दिए । विगतमा अतिक्रमणमा पर्दै गएको ताललाई संरक्षण गर्ने उद्देश्यका साथ २०५८ सालदेखि सहकारी स्थापना गरी माछापालन गर्दै आयआर्जनसमेत गरिँदै आइएको उनले जानकारी दिए । सहकारी सञ्चालनमा आएसँगै यसका माध्यमबाट तालको संरक्षण र उपयोगमा जोड दिइएको बताउँदै उनले हाल सहकारीमा एक हजार ३० जना आबद्ध भइसकेको बताए । सहकारीअन्तर्गत माछा मार्न, चौकीदार, बैंकिङ कारोबार आदिका लागि २४ जनालाई रोजगारी दिन सकिएको सहकारीले जनाएको छ । सहकारीले वार्षिक करिब रु दुई करोड बराबरको माछा उत्पादन गर्न सफल बनेको जनाउँदै उहाँले तालमा रहु, नैनी, कमन, सिल्भर कार्प, तिलापियालगायत जातका माछा उत्पादन हुने गरेको बताए । उनका अनुसार तालमा करिब २४÷२५ स्थानीय जातका माछा रहेका छन् । रुपाताल पछिल्लो समयमा जलचर, वन्यजन्तु, पर्यावरण अध्ययन अनुसन्धान गर्ने खुला पाठशाला जस्तै बनेको जनाउँदै उनले वर्षेनी करिब २५ राष्ट्रबाट अध्ययन अनुसन्धानकर्ता आउने गरेको जानकारी दिए । रुपातालमा उत्पादित माछाको बजारका लागि कुनै समस्या नरहेको सहकारीका कर्मचारी रामजी अधिकारीले बताए । रुपातालको माछाको माग बढिरहेको जनाउँदै अधिकारीले मागबमोजिम पुर्याउन धौधौ हुने गरेको अनुभव सुनाए । तालको संरक्षण र विकासका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत पूर्वाधार विकासका काम भइरहेका छन् । चरणबद्ध अघि बढ्ने परियोजनाको लागत चार अर्ब ५२ करोड ८८ लाख रुपैयाँ रहेको परियोजनाका सूचना अधिकारी इञ्जिनियर कृष्णबहादुर विकले जानकारी दिए । उनका अनुसार परियोजनाअन्तर्गत जग्गा अधिग्रहणका लागि नौ सय ९५ रोपनी जग्गाको सूचना निकालिएकामा हालसम्म नौ सय ८७ रोपनी क्षेत्रको मुआब्जा वितरण गरिसकिएको छ । मुआब्जा वितरणका साथै तालबेंसीको पुल निर्माण भइसकेको छ भने सडक निर्माण पनि सम्पन्न भइसकेको छ । हाल बाँध निर्माणको काम अघि बढेको उनले जानकारी दिए । बाँध निर्माण भएपछि हाल रहेको पानी सतह छ सय २० मिटरबाट बढेर छ सय २४ मिटर हुने र तालको क्षेत्रफल हालको एक सय २२ हेक्टरबाट बढेर एक सय ८३ पुग्ने उनले जानकारी दिए । रुपातालको जलाधार क्षेत्र आसपासका जङ्गललाई समेटेर खुला चिडियाखाना सञ्चालनमा आउनुले पनि यस क्षेत्रको संरक्षण र विकासमा थप योगदान पुग्ने देखिएको छ । पचभैया प्राणी उद्यान केन्द्रका रुपमा सञ्चालित चिडियाखाना बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा साविक लेखनाथ नगरपालिकाका वडा नं ११, १२ र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर बनाइएको हो । यहाँको एक सय ३४ हेक्टर क्षेत्रफललाई समेटेर पूर्वाधार विकासका कार्यक्रम अघि बढाइएको छ । चिडियाखाना परिसर एवं रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा तीन सय ६१ प्रजातिका वनस्पति, एक सय ७५ प्रजातिका जडीबुटी पाइन्छन् । त्यस्तै रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चराका साथै जङ्गल क्षेत्रमा बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छन् । यहाँ आउने पर्यटकले यहाँबाट रुपातालको मनोरम दृश्यसँगै चिडियाखानामा चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् । रुपा तालमा मोती उत्पादनको पनि सम्भावना देखिएको छ । यसअघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेसँगै रुपातालमा पनि मोति उत्पादन गर्ने सोच अघि बढाइएको सहकारीका अध्यक्ष अधिकारीले बताए । उक्त विषयलाई हाल परीक्षणका रुपमा अघि बढाइएको बताउँदै उहाँले परीक्षण सफल भएसँगै मोतिखेतीसमेत गरिने जानकारी दिए ।
पोखरा: पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बीबीए कार्यक्रम संयोजक हरी अधिकारीले बताए । कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायीक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेकोमा खुसी व्यक्त गरिन् । यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ती तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए । कार्यक्रममा पत्रकारहरु भरत कोइराला, शोभाकान्त सिग्देल र फडिन्द्र अकिञ्चनले विद्यार्थीहरुको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्यांकन गरेका थिए । पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरुबाट आफ्नो नमूना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको कार्यक्रममा सहभागी विद्यार्थी रचित पौडेलले बताए । पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरु बिबिए र बिसिआईएस (आईटी) कार्यक्रममा अध्ययन गरिरहेका छन् ।
पोखरा: राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा महानगरपालिका–१ हरिचोक–याम्दी खण्ड निर्माण कम्पनीले निर्माणलाई तीव्रता नदिएपछि महिनौदेखि यहाँका स्थानीयहरु आन्दोलित छन् । हरिचोक–याम्दी सडक खण्ड निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगर्दा स्थानीयले हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य भएपछि स्थानीय आजित भएका छन् । निर्माण कम्पनीलाई समयमा नै निर्माण सम्पन्न गर्न तीनै तहको सरकारलाई स्थानीयहरुले विभिन्न कार्यक्रम गरेर दवाव दिएपनि कामले तीव्रता नलिएपछि सिम्पानीका स्थानीयहरुले असार १५ सडकमै धान रोपेर सांकेतिक विरोध गरेका छन् । हरिचोक–याम्दी सडक खण्डमा अन्तर्गत सिम्पानीका स्थानीयले सिम्पानीमा सडक खण्डमा रोपाइँ गरेर सांकेतिक विरोध गरेको त्रि–शक्ति समाज सेवा क्लबका सह–सचिव प्रविन सुवेदीले जानकारी दिए । समयमा नै सडक नबनेपछि उनीहरुले सिम्पानी जाऔं, धान रोपौं अनि संगै, दही चिउरा खाऔं’ भन्न नारासहित सांकेतिक विरोध गरेको स्थानीयहरुले बताएका छन् । विरोध कार्यक्रममा त्रि–शक्ति समाज सेवा क्लब, स्थानीय आमा समूह, टोल विकास संस्थाहरुको सहभागिता रहेको थियो । पर्वतस्थित मध्यपहाडी लोकमार्गको कार्यालय अनुसार काठमाडौंको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले वि.सं.२०७९ साउनमा सडक निर्माण गर्ने जिम्मा लिएको थियो । समयमा नै काम पूरा हुन नसक्ने देखिएपछि ठेक्काको म्याद आउँदो चैतसमम थप भएके कार्यालयले जनाएको छ ।
पोखरा: असार १५ देशभर राष्ट्रिय धान दिवससँगै दही चिउरा खाने दिनको रुपमा मनाइएको छ । गाउँदेखि शहरसम्मनै आज राष्ट्रिय धान दिवससँगै दही चिउरा खाने दिन विशेष रह्यो । शहरको विभिन्न स्थानमा रोपाइँ महोत्सव नै आयोजना गरेर राष्ट्रिय धान दिवस मनाइयो । यसै राष्ट्रिय धान दिवसको अवसरमा प्रत्येक असार १५ मा पर्यटन प्रर्वद्धनसँगै धानबालीको संरक्षणमा पोखरा पर्यटन परिषद्ले पोखराको विभिन्न क्षेत्रमा रोपाइँ महोत्सव आयोजना गर्दै आएको छ । पोखराको बढ्दो शहरीकरण र स्थानीय बासीहरुको बद्लिदो जीवनशैलीलाई रोपाइँ महोत्सवले परम्परागत खेती प्रणालीलाई पुस्तातन्तरण गर्न स्थापित गरेको पोखरा पर्यटन परिषद्को विश्वास छ । पोखराको विभिन्न स्थानमा राष्ट्रिय धान दिवसको अवसरमा १९ वर्षदेखि रोपाइँ महोत्सव गर्दै परिषद्ले यसको वर्षको महोत्सव पोखरा महानगरपालिका–२३ मार्गी स्थित फेवाफाटमा आयोजना ग¥यो । मार्गीस्थित फेवाफाटमा महोत्सव अवलोकनका लागि पुगेकी पोखरा लेकसाइडका सावित्री पहारीले पहिले फेवाफाँटमा नै रोपाइँ गरेको झल्को मेट्न आएको बताइन् । ‘हामीले फेवाफाँटमा यसरी नै पहिले रोपाइँ गरेका थियौं, अहिले रोपाइँ गर्न छोडियो । रोपाइँ महोत्व छ भन्ने थाहा पाएर रोपाइँको झल्को मेट्न आएको, पहारीले भनिन्, ‘अहिले तालको कारण पनि केही फाँटहरु बाँझो हुन पुगेको छ, रोपाइँ गरेको भए राम्रो हुने हो ।’ उनले आफ्नो बच्चा लगायत नयाँ पुस्तालाई रोपाइँबारे जानकारी नभएको बताइन् । ‘खेतबारी बाँझो राखेको राम्रो त होइन । सबैलाई सुखसँगै व्यापार नै गर्नुपर्ने, विदेश जानुपर्ने, उनले भनिन्, ‘हाम्रो बच्चाहरुलाई खेतमा रोपाइँ कसरी हुन्छ भन्ने नै थाहा छैन, जान्दैनन्, चामल कहाँदेखि आउँछ, बोरामा भन्छन्, हलो के हो, गोरु के हो भन्ने चिन्दैनन् । यसका लागि यो महोत्सवले जानकारी दिएको छ ।’ यस्तै पोखरा लेकसाइडकै हरिमाया पहारीले पनि खेतीयोग्य जमिन घर घडेरीमा परिणत भएको भन्दै दुख व्यक्त गरिन् । ‘हामीले पनि यही पामेको फाँटमा रोपाइँ गरेका हौं, अहिले अधिकांस फाटहरुमा घरहरु बनेका छन्, खेती योग्य जमिनमा घर, घडेरी बनेको राम्रो होइन्, पहारीले भनिन्, ‘अहिलेका युवापुस्तामा खेती किसानी केहो भन्ने विषय पुस्तान्तरण गर्न आवश्यक छ, यो महोत्सवले पक्कैपनि कृषिमा लाग्नुपर्छ भन्ने सन्देश दिन्छ भन्ने लागेको छ ।’ पोखराका इतिहासकार सुनिल उलकले रोपाइँ महोत्सवलाई रोपाइँमै केन्द्रित गर्नुपर्ने धारणा राखे । ‘रोपाइँ महोत्सवलाई हामीले महोत्सव बनायौ तर रोपाइँमा नै केन्द्रित गर्न सकेनौं’, उलकले भने, ‘रोपाइँ महोत्सवमा सहभागी भएका सबैलाई रोपाइँमा केन्द्रित गर्न हामीले २०÷२५ रोपनीको प्लट छुट्टयाएर धान रोपाइँमा नै केन्द्रित गर्न सके रोपाइँ महोत्सवको महत्व बढ्छ ।’ उनले महोत्सवमा सहभागी भएकाहरुलाई रोपाइँमा नै केन्द्रित गर्न सकेको भए त्यसले प्रतिफल पाउने बताए । ‘रोपाइँमा हजारौंको संख्यामा सहभागी भएकाहरुलाई रोपाइँमा केन्द्रित गर्न सकेको भए रोपाइँ के हो भन्ने थाहा हुन्थ्यो, उलकले भने, ‘महोत्सवलाई रमाइलोको लागि मात्र प्रयोग ग¥यौ कि भन्ने मलाई लाग्छ ।’ पोखराका बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबुढुवा, सेदिबगर, फेवा फाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफाँट जस्ता पोखरा महानगरपालिका भित्रका खेतीयोग्य जमिनको खण्डीकरणले धानकाे उत्पादनमा ह्रास आइरहेको बताइएकाे छ ।
पोखरा: पोखरामा अवैध रुपमा नदीजन्य पदार्थ निकासी गरेको आरोपमा प्रहरीले १२ वटा सवारीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा नदीजन्य पदार्थ निकासी भइरहेको सूचनाको आधारमा पोखरा–१९ दशखेतघाट आज बिहान प्रहरीले चेकिङ गर्ने क्रममा १२ वटा सवारी नियन्त्रणमा लिएको छ । दशखेतघातमा अवैध रुपमा नदीजन्य पदार्थ ओसारपोसार गरिरहेको अवस्थामा १२ सवारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । प्रहरीले नदीजन्य पदार्थ ओसारपोसार गरिरहेको अवस्थामा सवारी साधान चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कुनै कागजपत्र पेश गर्न नसकेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले ग १ क १२१५ नम्बरको टिप्पर, ना १ क ६२१४ नम्बरको टिप्पर, गण्डकी ७ एए ००७६नम्बरको टिप्पर, बा ४ क ३३ २१ नम्बरको टिप्पर, ग २ ख १४५ नम्बरको टिप्पर, ग १ क २४०२ नम्बरको टिप्पर,ग २ ख ३२८ नम्बरको टिप्पर, ग २ ख ११५६ नम्बरको टिप्पर, ग १ क ६३९२ नम्बरको टिप्पर, ग १क ५११३ नम्बरको टिप्पर, ग १ ख ७९९० नम्बरको टिप्पर, ग १ त ७०१२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
पोखरा: प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो । गण्डकीका १० जना युवाको पहलमा एप सञ्चालनमा ल्याएको ई–ड्राइभले केही समयमै सेवा शुभारम्भ गर्नेछ । यात्रुले प्लेस्टोर र एपस्टोरको माध्यमबाटबाट ई–ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट आवश्यकता अनुसार सवारीसाधन बुक गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको ई–ड्राइभ गण्डकीका अध्यक्ष भीमसेन कार्कीले जानकारी दिए । ‘पहिलो चरणमा पोखरामा विद्युतीय कार, मोटरसाइकल, स्कुटरजस्ता सवारीमार्फत सेवा दिनेछौं । पोखरामा २५ वटा आफ्नै विद्युतीय सवारी सञ्चालनमा ल्याइनेछ’, कार्कीले भने । एक हजार बढी मोटरसाइकल र स्कुटरसँगै भाडाका सवारीसाधन कम्पनीसँग आबद्ध भएको उनले जानकारी दिए । आवद्ध हुन चाहने थप सवारीले एप डाउनलोड गरेर रजिस्ट्रेसन गर्न सक्ने उनको भनाइ थियो । भाडाका सवारीसाधन सरकारले तोकेकै दरमा प्रयोग हुने कार्कीले बताए । उनले थपे, ‘७० वर्ष पूरा भएका वृद्धवृद्धा, अशक्त, अपांग, सुत्केरी, महिला, विद्यार्थी र दैवि प्रकोपमा परेकालाई छुटसहितको सेवा दिनलाई कम्पनी प्रतिबद्ध छ ।’ विद्युतीय एम्बुलेन्स संचालनमा ल्याउने प्रालिको योजना छ । एम्बुलेन्सले गरिव विपन्न वर्गलाई सामाजिक उत्तरदायित्व बहन गर्दै निशुल्क सेवा प्रदान गर्ने तयारीमा छ । यात्रुको सुरक्षालाई ध्यानमा राखेर ई–ड्राइभमा नेभिगेशन प्रणाली प्रयोग गरिएकाले कुन सवारी साधन कहाँ छ ? भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने अध्यक्ष कार्कीले उल्लेख गरे । ‘यात्रुले यात्राका क्रममा आफुलाई असुरक्षित महसुस गरेमा एपबाटै आकस्मिक बटन थिचेर प्रहरी र ई–ड्राइभ कन्ट्रोल रुममा जानकारी दिन मिल्नेछ’, उनले भने, ‘यो एपबाटै ३ जना आफन्तलाई लोकेसन शेयर गर्न मिल्ने फिचरसमेत उपलव्ध छ ।’ ई–ड्राइभ नेपालमा दर्ता भएका सवारी प्रयोग गर्दा यात्रु पूर्ण रुपमा सुरक्षित रहने दाबी गरिएकोे छ । सबै सवारीको नियन्त्रण कम्पनीसँग हुने भएकाले सेवाग्राहीमैत्री रहेकोे ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले बताउँछन् । उनका अनुुुसार दुर्घटनाको जोखिमलाई ध्यान दिएर ई–ड्राइभ सुविधा लिने चालक र सेवाग्राही दुवैको ७ लाख रुपैयाँ बराबरको बिमा गरिनेछ । ७० हजार रुपैयाँसम्मको उपचार खर्चको व्यवस्था कम्पनिले गर्ने उल्लेख गरेको छ । ई–ड्राइभले काठमाडौं उपत्यका र लुम्बिनी प्रदेशको बुटवल र भैरहवामा सेवा दिदैं आइरहेको छ । गण्डकी प्रदेशसँगै कोशी प्रदेश र लुम्बिनीको नेपालगन्जमा सेवा विस्तारको चरणमा हो । आम नागरिकलाई सरल, सहज र विश्वसनीय सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको मास्केले बताए । ‘अर्कोतर्फ नेपालमै बनेको एप भएकाले सेवाग्राहीको डेटा विदेशिने डर हँुदैन । ई–ड्राइभले पाउने सेवा शुल्कको १० प्रतिशत सिधैं सरकारलाई भुक्तानी गर्नेछौैं’, उनले भने, ‘स्वदेशमै निर्मित एप भएका कारण जे जति आम्दानी हुनेछ त्यो विदेशिने छैन । यसले अर्थतन्त्र चलायमान बनाउनुका साथै युवा पलायन रोक्न सघाउने छ ।’ वातावरणमैत्री विद्युतिय सवारीलाई सञ्चालनमा ल्याएर पर्यावरणमैत्री शहर निर्माणमा सघाउने उदेश्य रहेको उनले बताए । ई–ड्राइभ नेपालका अध्यक्ष मास्केले बजारमा भएका ट्याक्सी समितिसँग भिड्न नभइ सहजीकरण गर्न आएको बताए । ‘ट्याक्सी चालकको रोजरोटी खोस्न आए, भिँड्न आए भनेर जुन चर्चा भइरहेको छ । यी कुराहरु नितान्त गलत हो । हामी उहाँहरुलाई सहजीकरण गर्न आएका हौं’, उनले भने । उनले सबै प्रक्रिया पूरा गरेर दर्ता गरेकाले अब सरकारको तर्फबाट बन्ने कार्यविधीको पखाईमा रहेको उल्लेख गरे ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले भेलाले ८ बुंदे पोखरा घोषणापत्र जारी गरेको छ । पोखरामा आज (शुक्रबार) भएको भेला घोषणापत्र लेखन समितिका संयोजक दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा ८ बुंदे पोखरा घोषणापत्र जारी गर्दै सकिएको हो । समितिमा संघीय सल्लाहकार हुमबहादुर गुुरुङ, गण्डकी इन्चार्ज एमबि आस्थामगर, गण्डकी सल्लाहकार शान्ती गुरुङ र मनोज घर्तीमगर थिए । फोनिज गण्डकीले पोखरा घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघको महासंघको आगामी कार्य समिति पूर्ण समावेशी गर्न माग गरेको छ । यमहासंघको सदस्यता विवादको समाधान गर्दै निर्वाचन गर्न पनि महासंघको केन्द्रीय समितिसँग फोनिज गण्डकीले माग गरेको हो । महासंघको २७ औं महाधिवेशनले संस्थापकको विषयलाई टुङ्गो लगाउन विज्ञ समिति गठन गर्ने लिखित समझदारी गरिएको स्मरण गराउदै प्रतिबद्दता कार्यान्वयनको समेत माग गरेको संयोजक श्रेष्ठले बताए । घोषणापत्रमा आसन्न निर्वाचनमा आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, महिला तथा पछाडि परेका अल्पसंख्यक लोपोन्मुख जाति समुदाय, क्षेत्र, लिङ्गबाट प्रतिनिधित्व गर्ने पत्रकारलाई बढी भन्दा बढी केन्द्र, प्रदेश र जिल्ला कार्य समितिहरुमा समेट्न पत्रकार सम्बद्ध सबै संघ संस्थाहरुलाई फोनिज गण्डकी बिशेष आग्रह समेत गरेको छ । भेलाले फोनिज रजत जयन्ती बर्षभर विविध कार्यक्रम गरि मनाउने केन्द्रीय नीति अनुसार गण्डकी प्रदेश र मातहतका जिल्लाहरुमा रचनात्मक कार्यक्रम गरि मनाउने निर्णय समेत गरेको छ । यस्तै फोनिज सम्बद्द पत्रकारहरुलाई आफ्नो क्षमता अभिबृद्दि गर्दै आदिवासी जनजातीका मुद्दा, संस्कार संस्कृति, परम्परा, रैथाने प्रबिधि र भाषाका बिकास र अधिकारका मुद्दामा निर्भिकतापूर्बक कलम चलाउन आग्रह गर्दै प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभुतिको सुनिश्चिाताको लागि तिनै तहको सरकार र स्थानीय प्रशासकसँग माग गरेको छ । फोनिजले समावेशीकरणको संवैधानिक सिद्धान्तलाई आत्मसात गर्दै गण्डकी प्रदेश भित्र नियुक्त÷मनोनित हुने सरकारको सबै प्रकारका सञ्चार सम्बद्ध समिति÷संयन्त्तहरुमा आदिवासी जनजाती पत्रकारको प्रतिनिधित्वकालागि गण्डकी प्रदेश सरकार र सम्बद्ध सरोकारवालाहरुमा माग गरेको छ ।