पोखरा: लायन्स क्लब अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्टको आयोजनामा बृहत वृक्षारोपण तथा गोडमेल कार्यक्रम राष्ट्रिय बिभुति तथा सहिद पार्क, पोखरा १८ जामुनवोटमा सम्पन्न भएको छ । डिस्ट्रिक्ट ३२५ एम, जि.एस.टी. को अर्डिनेटर एम जे एफ लायन जगन्नाथ तिमिल्सिनाको संयोजकत्वमा, ट्री प्लान्टेसन डिपार्टमेन्टको सेक्रेटरी लायन नवराज अधिकारीको अध्यक्षातामा ३६ क्लबहरुको संयुक्त समन्वयमा सम्पन्न कार्यक्रम डिस्ट्रिक्ट ३२५ एम का डिस्ट्रिक गभर्नर लायन चण्डी प्रसाद अर्यालको प्रमुख आतित्थतामा सम्पन्न भएको हो । कार्यक्रममा २ ट्रक प्राङ्गारिक मल, २० बोरा जुतो र कुखुराको मल बिरुवामा राखी वृक्षारोपण तथा गोडमेल गर्नुको साथै राष्ट्रिय बिभुति तथा शहिद पार्कमा सरसफाई प्रयोजनार्थ झारपात काट्ने कृषि औजार राष्ट्रिय बिभुति तथा सहिद पार्क व्यवस्थापन समितिका अध्यक्ष श्री भरत बहादुर थापालाइ हस्तान्तरण गरीएको ट्री प्लान्टेसन डिपार्टमेन्टको अफिसर लायन राम प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । लायन्स क्लबले एभोकार्ड़ो ३० वटा, बेलाउती ३० वटा, धुपी ४० वटा, फूलहरुका विरुवा ३० र अन्य विरुवा २० गरी १५० विरुवा आज सारेको हो भने पार्क व्यवस्थापन समितिको माग वमोजिम अन्य थप बिरुवा उपलब्ध गराउने भएको हो । कार्यक्रममा फर्स्ट भि. डी. जी.एम जे एफ लायन धनीराम बराल, डिस्ट्रिक क्याविनेट सेक्रेटरी एम जे एफ लायन शिवराज आचार्य, डिस्ट्रिक क्याविनेट ट्रेजरर एम जे एफ लायन शम्भुराज वास्तोला, पि.आर ओ इन चिफ लायन डोलराज पोखरेल, न्यु भ्याईस इनएटिएभिव चिफ लायन पुस्पा आचार्य, को चिफ एडभाइजर लायन दामु अधिकारी, रामचन्द्र पोखरेल, उमानाथ बराल, तारा गिरि, चिफ अफ काउन्सिलर गण्डकी दिनबन्धु पोखरेल, जि।एस।टि। डिस्ट्रिक कोअर्डिनेटर जगन्नाथ तिमिल्सिना, पढाउ अभियान चिफ बिष्णु बराल, रास्ट्रीय बिभुति तथा सहिद पार्क समितिका अध्यक्ष भरत बहादुर थापा, भृकुटी आमा समुह ग्यारजती को अध्यक्ष मनु भण्डारी लगाएत विभागीय प्रमुख, रिजन र जोन चियर पर्सन, क्लवका पदाधिकारीहरुको उलेख्य संख्यामा उपस्थिति रहेको थियो, कार्यक्रममा विभिन्न क्लबहरुको तर्फबाट २७० भन्दा बढी लायन तथा लियो लिडरहरुको उपस्थिति रहेको थियो ्र कार्यक्रमको स्थानीय संयोजन लायन्स क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लव अफ पोखरा डेस्टिनेशनले गरेको थियो, भने कार्यक्रमको संचालन ट्री प्लान्टेसन डिपार्टमेन्ट अफिसर लायन सन्तोष शर्मा तिमिल्सिनाले गर्नु भएको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं.१३ ले समग्र वडाको वस्तुस्थिति विवरण एकीकृत गरी वडा प्रोफाइल प्रकाशन गरेको छ । सो प्रोफाइल वडा अध्यक्ष किरण बराल लगायत जनप्रतिनिधिहरूले १५ औँ नगर सभाको अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई उपलब्ध गराउनु भएको छ । जनसाङ्ख्यिक विवरण, भौगोलिक अवस्थिति, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, मानव संसाधन, भौतिक विकास तथा पूर्वाधार, आर्थिक विकास, वन वातावरण तथा भू संरक्षण, सामाजिक सङ्घसंस्था, धार्मिक अवस्थिति, सांस्कृतिक पहिचान, पर्यटन तथा खेलकुद लगायत समग्र वडाको चिनारीका रूपमा प्रोफाइल तयार गरिएको वडा अध्यक्ष किरण बरालले बताउनुभयो । वडा प्रोफाइलको आधारमा विकास निर्माणका योजनाहरू तय गर्न र वडाको समृद्धिमा थप कदमहरू चाल्न सहयोग पुग्ने उहाँको विश्वास छ । योजनाहरू बनाउन त्यसका लागि तथ्यगत विवरण आवश्यक पर्ने भएकाले वडा प्रोफाइल त्यसको प्रमुख स्रोतका रूपमा रहने उहाँले बताउनुभयो । नगरप्रमुख धनराज आचार्यले वडा नं.१३ ले जस्तै अन्य वडाहरूले पनि यस प्रकारका प्रकाशनहरू गर्न जरुरी रहेको बताउनुभयो । यसले स्वयम वडाको वास्तविकताको उजागर गर्ने भएकाले विकास कार्यक्रमहरूको प्राथामिकीकरणमा समेत महत्त्वपूर्ण सहयोग पुग्ने उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाको श्वेत पत्र प्रकाशनको कार्य अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चाँसो रहेको बताएका छन् । नेपाल अपाङ्गता संघ कास्की र राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजना र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गण्डकीको सहयोगमा भएको स्वास्थ्य तथा सहायक सामग्री वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । “अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध छ । सम्बन्धित संघसंस्थासँग समन्वय गर्दै अगाडि बढनेछौं ।”, उनले भने । मन्त्री थापाले अपाङगता भएका नागरिकको क्षमता अभिवृद्धि, सीप विकास र रोजगारी सिर्जनामा प्रदेश सरकार लागिरहेको बताए । त्यसका लागि आवश्यक बजेट विनियोजन समेत गरिएको भनाई उनको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई सीप विकास तालिम दिलाई उनीहरुबाट उत्पादित वस्तुको बजारीकरणमा समेत प्रदेश सरकारले सहयोग गर्ने उनले उल्लेख गरे । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अधिकृत राममणी ढुंगानाले अपाङ्गता भएका व्यक्तिहरुको समस्या प्रकृति अनुसार फरक रहेको र आगामी दिनमा समन्वयका आधारमा कार्यक्रम तय गरिने बताए । राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकीका अध्यक्ष जगन्नाथ सुवेदीले प्रदेश सरकारबाट उपलब्ध भएको सहयोग सामग्रीले ठूलो राहत मिल्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जनमा जोड्ने खालको कार्यक्रम ल्याउनुपर्ने आवश्यकतालाई औंल्याए । पोखरा महानगरपालिका अन्तर्गत नगर संजालका अध्यक्ष गंगा बहादुर खड्काले प्राप्त सामग्रीको सही सदुपयोग गर्न आग्रह गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरुले पाउनुपर्ने सुविधा नपाएको गुनासो गर्दै यसमा निर्मम भएर लाग्न उनले प्रदेश सरकारलाई अनुरोध गरेका छन् । कार्यक्रममा अपाङ्गता भएका व्यत्तिहरुलाई व्हीलचियर, मेडिकल सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रम नेपाल अपाङ्गता संघ कास्कीका अध्यक्ष विष्णु सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पोखरा: पोखरा ९ नयाँबजारमा रहेको सिटि जिम र खेलकुद पत्रकार मञ्च गण्डकी बिच भानु जयन्तीको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । सिटी जिमले हप्ताको एक दिन फुटसल खेल खेल्ने आफ्नो अभियानलाई अघि बढाउँदै खेल क्षेत्रमा कलम चलाउँदै आएका खेल पत्रकारको छाता संगठन खेलकुद पत्रकार मञ्च गण्डकी सँग मैत्रीपूर्ण फुटसल खेलेको हो । मैत्रीपूर्ण प्रतियोगितामा सिटी जिमले १९–५ गोलले जित हासिल गरेको छ । अत्याधुनिक प्रविधिसहित सञ्चालनमा आएको जिमले गुणस्तरीय सेवा दिदैँ आइरहेको सञ्चालक गोकर्ण कार्कीले बताए । उनका अनुसार जिमले हरेक हप्ता विभिन्न क्लब तथा संघसंस्थाहरु सँग मैत्रीपुर्ण फुटसल खेल खेल्दै आइरहेको छ ।
पोखरा: तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुद्धारा वैवाहिक वर्ष गाठको अवसरमा स्थापित तथा फोनिज कास्की मार्फत सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार खेम सारु मगर सम्मानित भएका छन् । फोनिज कास्कीको आयोजनामा शनिबार पोखरा, नयाँबजार स्थित तमु धिंमा भएको ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार (२०८१) अपर्ण कार्यक्रम मार्फत फेटा, भांग्रा, प्रमाणपत्र र नगद सहित, प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ र कर्म तमुले मगरलाई सम्मान गरे । सारु मगर रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरा मालेपाटनमा विगत तीन दशकदेखि कार्यरत छन् । सम्मानित पछि बोल्दै सारु मगरले पुरस्कारले थप जिम्मेवारी र उर्जा मिलेको बताए । उक्त अवसरमा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजका लागि प्रदेशका मु्ख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीपरिषद्बाट पास गरीसकेको सुनाईन् । यसको ऐन बनाएर सुरुवात गर्न मात्र बाँकी रहेको बताउँदै सांसद गुरुङले आगामी दिनमा सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनका अनुसार प्रदेशको तथ्यांक अनुसार मगरहरु १८ र गुरुङहरु ९ प्रतिशतले मातृभाषा बोल्दै आएका छन् । कार्यक्रममा तमु धिंका संस्थापक अध्याक्ष कर्म तमु र फोनिजका संघिय सल्लाहकार हुम बहादुर तमुले समग्रह आदिवासी जनजातिको अधिकारका लागि जस्ताको तस्तै, निश्पक्ष रुपमा कलम चलाउने विश्वास व्यक्त गरे । कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार रिता गुरुङ, तिलक पुन मगर, हर्क आले मगर, राज बहादुर गुरुङ, शान्ति गुरुङ, एम.बी आस्था मगर, हुम बहादुर गुरुङ, उदय बहादुर अमात्य, रुद्र श्रीस मगर, दीपेन्द्र श्रेष्ठ सम्मानित भैसकेका छन् ।
पोखरा: पद्म नर्सिङ होम प्रा.लि.ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय भन्दा बढिले सेवा लिएका छन् । पद्म नर्सिङ होम प्रा.लि.पोखरा–३, नदिपुरको आयोजना एवं पोखरा महानगरपालिका वडा नम्वर ३ को सहकार्यमा शनिबार हस्पिटल प्राङ्गणमा सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय भन्दा धेरै सेवाग्राहीले सेवा लिएका हुन् । कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका ३ का वडा अध्यक्ष प्रकाशमान उदासले बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर स्वास्थ्य शिविरको शुभारम्भ गरेका थिए । निःशुल्क स्वास्थ्य शिविरमा ५ सय भन्दा धेरैको स्वास्थ्य परिक्षण गरिएमा १ सय ४३ जना जनरल मेडिसिन र मुटु सम्बन्धि, ९५ आँखा सम्बन्धि, ५५ जना हाडजोर्नी तथा नसारोग सम्बन्धि, ७२ जना स्त्रीरोग सम्बन्धि, ४४ जना नाक कान घाँटी रोग सम्बन्धि, ५८ जना बालरोग सम्बन्धि, ३५ जना सर्जिकल सम्बन्धी र १६ जना बाल दन्तरोग सम्बन्धि बिरामीहरुको निः शुल्क स्वास्थ्य परिक्षण गरिएको प्रा.लि. का प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला जानकारी दिए । शिविरमा १ सय १८ जनाका जनाको भिडियो एक्सरे, १ सय ५२ जनाको ल्याब परिक्षण, ९५ जनाको मुटुको इसिजी, र ६६ जनाको एक्सरे गरिएको थियो भने बिरामीहरूका लागि आवश्यक औषधी समेत निःशुल्क वितरण गरिएको नर्सिङ होमले जनाएको छ । शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठ, बरिष्ठ रेडियोलोजिष्ट डाक्टर कालु शर्मा सुबेदी, बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर नारायण गौतम, फिजिसियन डाक्टर सुदर्शन सुवेदी र डाक्टर राजेन्द्र पौडेल, बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डे र डाक्टर सरिता गुरुङ्ग, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदिप नारायण अग्रहरी र डाक्टर अम्बालिका शाक्य, बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर रामचन्द्र बास्तोला र डाक्टर राजन पौडेल, बरिष्ठ जनरल सर्जन डाक्टर ओम बहादुर कार्की, बाल दन्तरोग बिशेषज्ञ डाक्टर भावना सिग्देल, हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डाक्टर नितेश मण्डल, मेडिकल अफिसर डाक्टर आश्ना बाटाजु, डाक्टर बिज्ञान कोइराला, डाक्टर स्वराज श्रेष्ठ लगायतका चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए भने प्रा.लि. मा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले उपचारमा सहजिकरण गरेका थिए । स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्दै वडा अध्यक्ष उदासले स्वास्थ्य संस्थाहरुले आफ्नो सेवालाई सहज र प्रवाभकारी बनाउदै सेवामुलक रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिए । पद्म नर्सिङ्ग होम सँगको सहकार्यमा आफ्नो वडाका नागरिकहरुलाई घरदैलोमा नै निःशुल्क उपचारको ब्यवस्था गर्न पाउदा खुसी लागेको उनको भनाई थियो । आगमी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिदै अध्यक्ष उदासले सेवा मुलक संस्थाहरुले आफ्नो दाहित्व भुल्न नहुने बताए । पद्म नर्सिङ्ग होम प्रा.लि.पोखरा–३,नदिपुरका अध्यक्ष इन्दिरा शर्मा सुबेदीले नागरिकको सहज स्वास्थ्य सेवा आफुहरुको उदेश्य रहेको भन्दै बिपन्न र असाहय नगरिकलाई सुलभ स्वास्थ्य सेवा दिन आफुहरु प्रयत्नशिल रहेको बताईन्। प्रा.लि.का प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले स्वास्थ्य संस्थाहरुको उत्तरदायित्व नाफामुलक मात्रै नभएकोले सेवा भावलाई अगाडि बढाउन आफ्नो संस्था तयार रहेको भन्दै गाउँ घरका दुरदराजमा रहेका जनता सम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफुहरु लागि रहने बताए । उनले यस निःशुल्क स्वास्थ्य शिबिरमा सेवा लिएका र थप उपचार गर्नुपर्ने अवस्था देखिएका बिरामीहरूलाई विशेष छुटका साथ थप उपचार गराउने समेत बताए । गत बर्ष मात्रै न्युरोडबाट पोखरा ३ नदिपुर स्थित आफ्नै भवनमा सरेको नर्सिङ्ग होमले आफ्ना सेवाहरुलाई थप गर्दै लाने क्रममा छिट्टै डायलसिस सेवा समेत सुरु गर्न लागेको ब्यवस्थापक नरेश पौडेलले जानकारी दिए ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । आदिकवि भानुभक्तको २११ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले पोखरामा आयोजना गरेको भानु विशेष समारोहमा प्रमुख अतिथि भट्टले नेपाली भाषाका आदिकवि भानुभक्तलाई सबैले स्मरण गर्नुपर्ने बताउनुभयो । भानुका कृति सामाजिक कल्याणका लागि समर्पित,जातीय एकताका प्रतीक र क्रान्तिका मुख्य आधार मान्न सकिने भन्दै उहाँले आदिकवि भानुभक्तले नै छरिएर रहेको नेपाली भाषालाई एकीकरण गर्ने काम गरेको उल्लेख गर्नुभयो । ‘नेपाल राष्ट्रलाई भावनात्मक रूपले एकीकृत गर्न र नेपालीपनको पहिचान गराउन भानुको महत्वपूर्ण योगदान रहेको छ । उहाँका सिर्जनाबाट नेपाली भाषाको उन्नयन, प्रवर्द्धन र मानकीकरण भई नेपाली राष्ट्रियतालाई बलियो पार्नमा सर्वोपरि योगदान पुगेको छ ।’ भट्टले भन्नुभयो – ‘भानुभक्तको सबैभन्दा ठूलो योगदान वाल्मिकी रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर ठूलो जनसंख्यामा पुर्याउनु रहेको छ । नेपाल र विश्वभरका नेपालीभाषी रहेका क्षेत्रमा हाम्रो भाषा तथा साहित्य फैलाउन सेतु बन्नुभएको छ ।’ आजको दिन साहित्यिक, सांस्कृतिक, शैक्षिक तथा सामुदायिक संस्थाहरूले आदिकवि भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम गरिरहेको र यस्ता उत्सवले युवा पुस्तामा साहित्यिक भोक जगाउने र भाषाप्रति सम्मान तथा नेपाली भाषाप्रति गौरव बढाउन मद्धत पुग्ने विश्वास प्रदेश प्रमुख भट्टको छ । आदिकवि भानुभक्तसँग जोडिएका विभिन्न ठाउँहरुलाई जोडेर साहित्य पर्यटनको माध्यमबाट अगाडि बढ्न सके मुलुकको समृद्धिमा सहयोग पुग्ने भन्दै भट्टले हामी आफ्नो मातृभाषाको शक्ति एवं महत्व जगाउन र आदिकविको विरासतलाई संरक्षण गर्दै अगाडि बढाउन आ–आफ्नो ठाउँबाट दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उक्त अवसरमा प्रदेश प्रमुख भट्टले पृथ्वी नारायण क्याम्पसमा नेपाली विषयमा सर्वोत्कृष्ट विद्यार्थी रामबहादुर कुमाल र नेपाली विषयमा लामो समय पढाउनुभएकी पोखरा २६ स्थित लक्ष्मी माविकी शिक्षिका ईश्वरीकुमारी जिसीलाई आयोजकका तर्फबाट नगदसहित सम्मान गर्नुभएको थियो । यस्तै, भानु वाङ्मय प्रतिष्ठानको भवन निर्माणका लागि सहयोग स्वरुप प्रदेश प्रमुख भट्टले व्यक्तिगत रूपमा नगद २० हजारको चेक स्वकीय अधिकृत ललित ओझामार्फत् प्रतिष्ठानका अध्यक्ष साहित्यकार सरुभक्तलाई प्रदान पनि गर्नुभयो ।
पोखरा: पोखरा ३० स्थित खुदिखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्य भएको छ । शुक्रबार खुदीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर बिष्णु थापामगरको मृत्यु भएको हो । पोखरा महानगरपालिका–३० खुदिखोलामा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा थापामगर गम्भीर घाइते भएका थिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि सरुवा तथा संक्रमण अस्पताल शिसुवा पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: अविरल वर्षाले पहिरो जाँदा पोखरा १९ तल्लोकोट ठाँटीमा मृत्यु भएका ५ जनाका सामूहिक अन्त्योष्टी गरिएको छ । माथिबाट आएको पहिरोमा परेर मृत्यु भएका ७ जना मध्ये ५ जनाको चिन्तेबौर सेती नदीकिनार चिन्तेबौर घाटमा सामुहिक दाहसंस्कार गरिएको हो । कुल बहादुर परियार र उनी श्रीमती मनकुमारी परियारलाई एउटै चितामा अन्त्योष्टी गरिएको स्थानीय भुजेलले जानकारी दिए । उनका अनुसार कुल बहादुरका कान्छी छोरी प्रशना परियार, आमा लक्षिमा परियार र राधिका परियारको पनि सोही घाटमै अन्त्योष्टी गरिएको हो । माइत आएकी कुलबहादुरका छोरी प्रभा परियार र ज्वाई अस्मित परियारको शव भने उनीहरुकै घर पठाइएको थियो । उक्त पहिरोमा परी कुल बहादुरका छोरा पवन परियार घाइते भएका छन् । यो पनि पढ्नुहोस कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु, ३ जना घाइते अब कुल बहादुरको सन्तानको रुपमा जेठी छोरी जापानमा रहेकी छिन् भने छोरा पवन घाइते छन् । गएरातीका पहिरोमा परेर कास्कीका कुल ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका थिए ।