पोखरामा व्यापक व्यापार हुन्छ रे ! (तस्बिरसहित)
पाेखरा | असोज २२, २०८१

पोखरा: केही काला, केही सेता–काला च्याङ्ग्राहरु सडक छेउ कुना कुदिरहेका छन् ।
मुस्ताङ र बझाङ आसपास जिल्लाको लेकबाट झारिएका ति भेडा च्याङ्ग्राहरुले यतिबेला याम्दी जौबारी क्षेत्रमा हैकम जमाएका छन् ।
ति बथानबाट केही पोखरामै खपत हुन्छन् भने केही बुटवल, चितवन, दमौली, काठमाडौंसम्म पुग्छन् । गत वर्ष आधा लाख पर्ने च्याङ्ग्राको मूल्य यो वर्ष ३५ हाराहारीमा झरेको छ । चीनबाटपनि च्याङ्ग्रा नेपाल भित्रिएपछि नेपाली भेडा च्याङ्ग्राको मूल्य ह्वात्तै घटेको व्यापारीहरु सुनाउँछन् ।
‘सरकारले राम्रो गरेन युवा विदेश पलायन भए मात्रै भन्छ । अहिले सरकारले चीनबाट भेडा च्याङ्ग्रा ल्याएर हामीलाई घात गरेको छ त्यसैले हाम्रो भाउ परेन ।’ अछामबाट ४ दिन लगाएर पोखरा आइपुगेका च्याङ्ग्रा व्यापारी दीपक बोहरा गुनासो पोख्छन् ।
उनी आफ्नो काकाको व्यापार देखेर पोखरा आएका हुन् । ‘काकाले पोखरामा व्यापक व्यापार हुन्छ भन्नुहुन्थ्यो । त्यही भएर म पनि अनुभव गर्न आएको हुँ तर अहिले सरकारले हामीलाई चीनको नाका खोलेर घात गर्याे । त्यसैले सोचेजस्तो व्यापार भएन,’ उनले भने ।
बझाङबाट मात्र नभएर मुस्ताङबाट पनि पोखरा झार्न उस्तै सकस छ ।
कतै ट्रकमा हुल्नुपर्ने, कतै चरनका लागि झार्नुपर्ने । भने, कतै शुल्क तिर्नुपर्ने बाध्यता छ ।
‘यहाँसम्म आउनत साह्रै मुस्किल छनी हजुर, अनेक दिग्दारी खेप्नुपर्छ । बाटो भर पैसा तिर्दै आउनुपर्छ । गाडीमा हाल्ने झार्ने गर्दा पोखरा आइपुग्न चार दिन जति लाग्यो । यो वर्ष व्यापार भएपनि सस्तो भएकाले साहुलाई तिर्नमात्र पुग्छ जस्तो छ ।’
उनले अहिले ग्राहकको इच्छाअनुसार ३२ हजार सम्म विक्री गरेको सुनाए । ‘उतै मेरो २६/२७ जति परेको छ मैले अहिले ग्राहकहरुको इच्छाअनुसार ३२/३३ (हजार) मा दिइराको छु । दुख अनुसार फाइदा छैन ।’ बोहराले भने ।
बोहरा जस्तै अन्य व्यापारीहरुपनि सडक किनारमा भेडा च्याङ्ग्रासँगै घेरिएका छन् । रोजीरोजी विभिन्न बथानमा मोलमोलाई भइरहेका छन् ।
भेडाको मूल्य केही कम छ भने च्याङ्ग्राको मूल्य साइज अनुसार निर्धारण गरिएको छ । बोहराका अनुसार च्याङ्ग्राको मूल्य ३० हजारमाथि छन् ।
‘विगतका वर्षहरुमा भन्दा यस वर्ष भेडा–च्याङ्ग्राको मूल्य कम भएको पाए, नागडाँडाका भवानी प्रसाद गौतमले भने, ‘मैले सुने अनुसार चीनबाट पनि आएको कारणले यो वर्ष अलि सस्तो भएको रहेछ ।’
गौतम जस्तै पोखरा १२ फूलबारीकी अंशु गर्बुजाको परिवार पनि हरेक वर्ष च्याङ्ग्राको स्वाद लिने गर्छन् ।
दशैँमा भेडा च्याङ्ग्राको मासु खाने प्रचलन अनुसार च्याङ्ग्रा किन्न पुगको बताइन् । ‘यो सिजनल जस्तै हो । हामीले चाहदैमा अरुबेला पनि किन्न पाइदैन, उनले भनिन्, ‘त्यसैले दशैँको अवसरमा खाने गरिन्छ । अर्काे कुरा यसले लेकका जडिबुटी खाएका हुनाले स्वास्थ्यबर्दक हुने विश्वासले हरेक वर्ष च्याङ्ग्रा खाने गरिन्छ ।’
बद्लिदो समय र मूल्य
याम्दी आसपासमा यतिबेला भेडा च्याङ्ग्रा किनबेचको माहौल छ ।
त्यहाँ सानोतिनो मेलानै लागिरहेको छ । च्याङ्ग्रा व्यापारी, ग्राहक र रमाइलो हेर्नेहरुको भीड देखिन्छ ।
त्यही भीडमा भेटिएका पुराना गोठाला जो उमेरले ३ बिसे १४ पुगे । उनले विगत सम्झदै वृद्ध प्रेम बहादुर शाहीले भने, ‘हामीले जम्मा २० रुपैयाँ नाफा राखेर च्याङ्ग्रा बेच्थेऔं।’
उनले करिब ५० वर्ष पहिले १ सय देखि १ सय ५० सम्म च्याङ्ग्रा बेच्ने गरेको बताए । ‘अहिले यहाँ रमाइलो हेर्न आएको हुँ । मेरो बेलामा च्याङ्ग्रा हेरेर बेचिन्थ्यो, स्मरण गर्दै शाहीले भने, ‘१ सय, १ सय २० देखि बढीमा १ सय ५० रुपैयाँसम्म बेचेको याद । त्यै हो २० रुपैयाँ जति नाफा खाइन्थ्यो ।’
१ सय रुपैयाँमा च्याङ्ग्रा बेचेका शाहीको उमेरसँगै बजार भाउ पनि बद्लिएको छ । र च्याङ्ग्राको मूल्य यसवर्ष ५० हजारसम्म पुगेको छ ।
शाहीले परिवर्तित समयानुसार मूल्य वृद्धि हुनुपर्ने तर्क राखे । ‘मुन्छेहरुले खेती किसानी गर्न छाडे । दुख गर्न छाडे । अहिले त किन्न पाए भाछ, उनले भने, ‘ मै पनि त ७४ वर्ष पुगे । त्यही भएर यो महंगी ठिकै लाइच ।’ (शाही कै भाषामा)
पोखरा: विश्व वातावरण दिवसको अवसरमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विविध कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवसमा प्लाष्टिक प्रदूषण अन्त्य गरौँ भन्ने मूल नाराका साथ विद्याल...
पोखरा: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ वर्षका नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख डिल्लाराज भट्टले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गरे । प्रदेश सरकारको नीति तथा कार्य...
काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाड...