काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दलको बैठक बस्न लागेको सचेतक निशा डाँगीले जानकारी दिइन् । उनका अनुसार बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनमा दलको भूमिकालगायतका विषयमा छलफल हुनेछ । दलका नेता तथा रास्वपा सभापति रवि लामिछाने बेलायतमा छन् । उनको अनुपस्थितिमा बैठकको अध्यक्षता कार्यवाहक नेता विराजभक्त श्रेष्ठले गर्नेछन् ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २९ मंसिरका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक २९ गते शुक्रबार दिउँसो १२:१५ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक एजेन्डा छन्।
पोखराः नेकपा (एमाले)ले यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट शुरु गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को कास्की आइपुगेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली कास्की प्रवेश गरेको हो । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को टोलीलाई कास्की र पर्वतको सिमाना नयाँपुलमा स्वागत गरिएको एमाले कास्कीका उप–सचिव एवम् प्रचारप्रचार विभाग प्रमुख दर्शन लामाले जानकारी दिए । नयाँपुलपछि अन्नपूर्ण गाउँपालिकाका नागडाँडामा स्वागत र पोखरा महानगरपालिका २५ मिलचोक हेम्जामा स्वागत एवम् भेटघाटको कार्यतालिका रहेको छ ।
काठमाडौं: प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताउनुभएको छ । माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज उहाँले भ्रष्टाचार विरोधी र सुशासन प्रवद्र्धनको अभियान यो सरकार नरोकिएको बताउनुभयो । “सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ ।” उहाँले भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । “नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पु¥याइएको छ । नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको छ । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ।” मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको उल्लेख गर्दै उहाँले सामाजिक न्याय र सुशासनका क्षेत्रमा धेरै काम भएको जानकारी दिनुभयो । मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सत्तापक्ष, प्रतिपक्ष, अर्थतन्त्रका विज्ञ, निजी क्षेत्रका साथै सरोकारवालासँग बृहत् अन्तक्र्रिया गरेर समाधानको प्रयत्न अगाडि बढाइएको प्रधानमन्त्री दाहालले बताउनुभयो । पहिलो वर्ष सेवा प्रवाहमा सुधारको थालनी गरेको सरकारले निर्णायक कामको सुरुआत गरेको उहाँको भनाइ थियो । “यसअघि ससाना काम भए, अब ठूल्ठूला परियोजना निर्माणको थालनी गरिनेछ”, प्रधानमन्त्रीले भन्नुभयो । योसँगै कर्णाली चिसापानी, बूढीगण्डकीलगायत ठूला परियोजना निर्माण सुरु गरिने उहाँले जानकारी दिनुभयो । आज मात्रै बसेको मन्त्रिपरिषद् बैठकबाट बूढीगण्डकी आयोजनाका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले उक्त आयोजनाको छिट्टै शिलान्यास हुने विश्वास दिलाउनुभयो । आफ्नो विदेश भ्रमणबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको गौरव बढेको उहाँको भनाइ थियो ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टीको नियमावली–२०८० लाई विधान मस्यौदा समितिमा पठाइ रायसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले आगामी पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तह सहित पार्टीको सबै तहमा उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । बैठकले आसन्न राष्ट्रियसभाको निर्वाचनमा राप्रपा सहभागी हुने र यसका लागि अन्य दलसँग आवश्यक सहयोग जुटाउन संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले इलाममा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न पार्टीका उपाध्यक्ष हेमजङ गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १, २ र ३ गते काठमाडौँमा बस्ने छ ।
ढोरपाटन: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी क्षेत्रको सम्भावना खोज्न झुलाघाट(चिवाभन्ज्याङ संकल्पयात्रा सुरु गरेको बताएका छन् । झुलाघाट–चिवाभन्ज्याङ समृद्धिको यात्राका क्रममा जिल्ला सदरमुकाम बागलुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब एमालेले गाउँमै रोजगार सिर्जना गरेर बसाइँसराइलाई रोक्ने खाले कार्यक्रम ल्याउने बताए । उनले अहिले जस्तोसुकै विकट ठाउँमा पनि सडक सञ्जाल र इन्टरनेट पुगेको बताए। पहाडी क्षेत्रका नागरिकलाई सुखी र समृद्धि बनाउनका लागि बसाइँसराइ रोकी रोजगार सिर्जना गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिए । अध्यक्ष ओलीले भने, ‘हामी पश्चिम झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धि यात्रामा छौँ, यसबीचमा हामीहरूलाई धेरै सम्भावनाको अध्ययन गरेका छौँ, यहाँ नागरिकलाई कसरी विकाससँग जोड्ने र यहाँ कसरी समृद्धि ल्याउने भन्ने हामीहरूले योजना बनाउन थालेका छौँ ।’ अध्यक्ष ओलीले देश र राष्ट्रियता बचाउन मिसन २०८४ सफल पार्नुपर्ने बताएका छन् । मिसन सफल पार्न एमालेको एकल बहुमत आउन जरुरी रहेको उनको भनाइ थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको विषयमा उच्च अदालत पाटनमा मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनका अनुसार २८ गते एकल इजलासमा पेसी तोकिने भएको हो । यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो । पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए । दुई न्यायाधीशको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार २८ गते एकल इजलासमा सुनुवाइ गर्ने तय भएको हो । त्यस दिन गोलाप्रथाबाट छानिएका न्यायाधीशको इजालासले खाण थुनामै रहने कि धरौटी वा साधारण तारेखमा रिहा हुने भन्ने विषयमा आदेश दिनेछ । गएको शुक्रवार उच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकामध्ये ९ जनालाई थुनामै राख्ने, ६ जनालाई धरौटीमा रिहा गर्ने र चार जनालाई साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ । रास्वपाको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले पार्टीको सचिवालयको बैठक आज बस्ने बताईन् । उनका अनुसार थपिएका केन्द्रीय सदस्यहरुले आज शपथ लिने कार्यक्रम छ । “साझ ५ बजे सचिवालयको बैठक र त्योभन्दा अघि नवमनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहणको कार्यक्रम छ”, सहप्रवक्ता रावलले भनिन् । महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकको निर्णयबाट पार्टीको केन्द्रीय सदस्य थपिएको थियो । बैठकमा पार्टीको विभिन्न विभागको कार्यविधि अनुमोदन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विदेसिएका युवालाई स्वदेश फर्कन आग्रह गर्नुभएको छ । विदेशमा आर्जन गरेको ज्ञानलाई मुलुक समृद्ध बनाउनका लागि स्वदेश फर्कन उहाँले आग्रह गर्नुभएको हो । राष्ट्रिय बाल अधिकार परिषद्ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले देशमा केही छैन भन्नुभन्दा देशमा फर्केर केही गर्छु भन्ने सोच्न बनाउन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले देश बिग्रनुको दोष सबै नेतालाई दिन नहुने धारणा राख्नुभयो । “राजनीतिज्ञले देशमा बस्ने वातावरण नै बनाइ दिएनन् भनेर झोला बेरेर हिँड्नुभन्दा अब युवाले मिलेर देश बनाउनमा लाग्नुपर्छ । युवा अवस्थामै देशको नेतृत्व गर्ने प्रधानमन्त्री भएर निस्किनुपर्छ । त्यसका लागि म सहयोग गर्न तयार छु ।” उहाँले आफ्नो खेत बाँझो राखेर विदेशमा मजदुरी गर्न जान नहुने बताउनुभयो । अब आउने चुनावमार्फत विकास गर्ने नेतालाई निर्वाचित गरी युवाले आफ्नो दायित्व निभाउनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बालबालिका पनि राजनीतिबारे सचेत हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिका राजनीतिक प्रचार प्रसारमा लाग्न पाइँदैन तर राजनीतिक ज्ञान हासिल गर्न अहिलेको आवश्यकता रहेको छ ।” सम्मेलनका संयोजक तथा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले सरकारले अब युवालाई देशमै बस्ने वातावरणको सिर्जना गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।