तनहुँ: तनहुँको व्यास नगरपालिकाको मत गणनासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ । उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि हालका नगर प्रमुख वैकुण्ठ न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले बिहीबार दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ। सर्वोच्चबाट अन्तिम निर्णय नभएसम्म उच्चको आदेशअनुसार पुनः मतगणना गरिए आफूलाई अपूरणीय क्षति हुने भन्दै उनले पहिलो सुनुवाइमै अन्तरिम आदेश दिनुपर्ने माग उनले गरेका छन्। गत जेठ १ गते उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले व्यास नगरपालिकामा पुनस्मतगणना हुने फैसला थियो। निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको फैसलामा उल्लेख छ। जसअनुसार अदालतले असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै तिथि मिति नै तोकिदिएको थियो। २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले धाँधली भएकाले पुनः मतगणनाको माग गर्दै उच्च अदालत पोखरामा मुद्दा दर्ता गराएका थिए। मुद्दा दर्ता भएको दुई वर्षमा मात्रै उच्च अदालतले यस्तो फैसला गरेको थियो ।
पोखरा: सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले पोखरामा बुधबार कार्यकर्तालाई प्रशिक्षण राखेको छ। गण्डकी प्रदेश स्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण बुधबार मध्याह्न सभागृहमा सुरू भएको हो। पार्टीको गण्डकी प्रदेश समितिले गरेको प्रशिक्षणमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरूङलगायत नेताहरू पनि सहभागी छन्।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेता भट्टराईले काठमाडौँ महानगरप्रमुख शाहले राजनीतिक व्यवस्था परिवर्तनको संवाहक राजनीतिक दलका नेताहरुको जेलजीवनको उपहास गरेकामा आपत्ति जनाए । “हामी काठमाडौँ महानगरपालिकाका प्रमुखलाई सहयोग गर्न तयार छौं । एमालेका अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारले काठमाडौँको फोहोर व्यवस्थापनका लागि सहयोग गरेको हो,” सांसद भट्टराईले प्रमुख शाहप्रति लक्ष्य गर्दै भने, “काठमाडौँलाई अझ सुन्दर बनाउन तपाईंको योजना के छ ? आउनुहोस् हामीसँगै काम गरौँ । उत्तेजना फैलाउने उच्छृङ्खल गतिविधि नगर्न म आग्रह गर्छु ।” सांसद भट्टराईले सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारीका तमाम नीतिगत समस्याका सन्दर्भमा स्पष्ट धारणा पेस गर्ने विश्वास व्यक्त गरे । उनले सबै प्रकरणमा आफ्नो पार्टी अनुसन्धानका लागि तयार भएको बताए । “गिरिबन्धुको विषय लिएर हाम्रो पार्टी, पार्टी अध्यक्षमाथि नियोजित ढङ्गले आक्षेप लगाइएको छ”, सांसद भट्टराईले भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनमा अवरोध गरेका कारण जनताका धेरै विषय सदनमा उठाउन नसकिएको समेत बताए ।
पोखरा: नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन् । सोमबार सम्पन्न भएको मतगणनामा आचार्यले २ सय ७७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी दीपक पौडेलले २ सय १० मत पाए । यस्तै उपाध्यक्षमा २सय ८४ मतसहित नरेन्द्र ढुङ्गाना निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी मोहन गुरुङले २ सय ३ मत प्राप्त गरे । सचिवमा २ सय ७० मतसहित सुशिल बस्नेत निर्वाचित भए । उपसचिवमा विष्णुप्रसाद गौतम र महिला उपसचिवमा हरिमाया विश्वकर्मा निवाचित भए । बिहान ८ बजेपछि सुरु भएको मतदान साढे १२ बजेतिर सकिएको थियो । मतदानका लागि २४ वटा विद्युतीय मतदान मेसिन राखिएको थियो । ४ सय ९८ मतदाता रहेका ४ सय ८८ मत खसेको निर्वाचन समितले जनाएको छ । महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भइसकेका छन् ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुसार द्रुत गतिमा काम अघि बढाएका हुन् । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार व्यवस्थापन कमिटीका सम्बन्धित निकायले सदस्यता अभिलेख, कार्यप्रगतिको विवरण केन्द्रमा बुझाएका छन् । आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्न लागिएको दशौँ राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरी सबै कमिटी, विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको छ । केन्द्रीय सङ्गठन विभागले नेता तथा कार्यकर्ताको सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रियाका साथै शुल्कसहितको विवरण केन्द्रले प्रमाणित गरेपछि त्यसको नामावली विवरण सम्बन्धित कमिटीमा पठाएको छ । महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी, विधान र साङ्गठनिक दस्तावेजलाई थप छलफल गर्न सबै जिल्ला तथा कमिटीहरूमा पठाइएको छ । सबै कमिटीले मस्यौदा दस्तावेजमाथि आफ्नो कार्यक्षेत्रमा रहेका पार्टी सङ्गठित सदस्यहरुलाई यही जेठ ३२ गतेसम्म छलफल गराउने तालिका छ । तल्लो तहदेखि नै आएका सुझावलाई समेटेर ती दस्तावेज थप समृद्ध बनाइने र चार वटै दस्तावेजलाई एउटै साझा प्रतिवेदन बनाएर महाधिवेशनमा लैजाने तयारी गरिएको उपप्रमुख अर्यालले जानकारी दिए ।
पोखरा: नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने बताउनुभएको छ । शनिबार पोखरामा नेकपा (एमाले) पोखरा महानगरपालिका कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले ०८४ मा हुने निर्वाचनमा बहुमत ल्याएपछि एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दावी गर्नुभयो । ‘जहिलेसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापीत हुन सक्दैन । त्यसबेलासम्म यो देशका समस्या समाधान गर्न सकिदैन, राष्ट्रियताको समस्या समाधान गर्न सकिदैन, राष्ट्रिय स्वाभिमानका मुद्दाहरु प्रभावकारी ढंगले उठाउन सकिदैन’ उहाँले भन्नुभयो । देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखिनै सुदृढ बनाउनुपर्नेमा उहाँको जोड थियो । अहिलेको राजनीतिक समीकरण मिसन ८४ लाई सहयोग पुग्ने सकारात्मक स्टेप मात्र भएको भन्दै एमाले कुनै मोर्चाको पक्षमा नरहेको समेत उहाँले खुलाउनुभयो । ‘हामी यतिबेला कुनै मोर्चाको पक्षमा छैनौं । यो समाजवादी मोर्चा, वामपन्थी एकता ठुला–ठुला कुरा गर्ने कामचाहीं अर्कै गर्ने, त्यसकारण हामीले भनेको के हो भने वामपन्थीको एकता भन्दा पनि कामपन्थी एकता चाहियो’ उहाँले प्रष्ट पार्नुभयो । कामको आधारमा अहिलेको समीकरणले दलहरुलाई नजिक ल्याउन भने सक्ने उहाँको भनाई छ । ‘कामको आधारमा एकता हुन्छ, सकारात्मक काम गर्नेहरु एकठाउँमा जम्मा हुन्छन्, सकारात्मक काम गर्न नसक्नेहरु अर्को ठाँउमा जम्मा हुन्छन्’ उहाँले थप्नुभयो । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले आगामी निर्वाचनमा तीनवटै तहमा एमालेले बहुमत ल्याउनुपर्ने बताउनुभयो । अहिलेको समीकरण एमालेललाई निर्णायक तहमा पु¥याउने एउटा कदम मात्र भएको उहाँको भनाई थियो । उहाँले आगामी निर्वाचनमा पोखरा महानगरपालिका ३३ वटै वडामा जित्नेगरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो महानगरपालिका बनाउन चुनौती भएपनि एमाले बाहेक अरुले बनाउन सक्दैन, त्यसको लागि पुराना घटना विर्सेर अगाडि बढौं’ उहाँको आग्रह थियो । अधिवेशनले आज नयाँ नेतृत्व चयन गर्नेछ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताउनुभएको छ । सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा उहाँले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न आग्रह गर्नुभयो । वर्तमान सत्ता समीकरणमा रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राख्नुभएको जिज्ञाशामा प्रधानमन्त्री दाहालले भन्नुभयो, “सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ ।” आफूले पनि केही दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भ सुनाउँदै उहाँले दलका नेताहरुबीच भेटघाट गर्दैमा राजनीतिमा कुनै फरक नपर्ने बताउनुभएको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले ठूलो अन्योलको बीचमा सहमति कायम गरेर बजेट प्रस्तुत गर्नुपर्ने चुनौतीलाई चिरेर जनअपेक्षा र पार्टी योजनाअनुसार नै बजेट संसद्मा बजेट प्रस्तुत भएको उल्लेख गर्दे बजेटमाथिको छलफलमा प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिनुभयो । “बजेटमा कृषिलाई प्रमुख प्राथमिकतामा दिइएको छ, समय सापेक्षता र मुलुकको अर्थतन्त्रको अवस्थाअनुसार बजेट सन्तुलित छ । बजेट कार्यान्वयन गरेर जानुपर्छ, यसमा सबैको सहयोगको अपेक्षा छ”, प्रधानमन्त्री दाहाललको भनाइ उद्धृत गर्दै मुख्य सचेतक पाण्डेले भन्नुभयो । बैठकमा माओवादी संसदीय दलका नेता एवं प्रधानमन्त्री दाहालले आगामी आइतबारदेखि बजेटसम्बन्धी छलफल र संसद्मा रहेका महत्वपूर्ण विधेयकलाई पनि सँगसँगै अघि बढाइने बताउनुभएको उहाँले जानकारी दिनुभयो । बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटका मुख्य विषयवस्तु बारे जानकारी गराउनुभएको थियो । उहाँले बजेटमा पार्टीले दिएको सुझाव तथा जनआकाङ्क्षा समेटिएको स्पष्ट पार्नुभएको थियो । बैठकमा १२ सांसदले बजेटका सबन्धमा टिप्पणी गर्नुभएको थियो ।
काठमाडौं: प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित भएको छ । समितिको आजको बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित गरेको हो । बैठकले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सकेर सर्वसम्मत पारित गरेको सभापति राजकिशोर यादवले जानकारी दिनुभयो । राष्ट्रियसभाबाट पारित भएको विधेयकको प्रतिवेदन अब प्रतिनिधिसभामा पेस हुनेछ । त्यहाँबाट स्वीकृत भएर पुनः राष्ट्रियसभामा लैजानुपर्ने, प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाले स्वीकार गरेमा अध्यक्षबाट प्रमाणित भई राष्ट्रपतिकहाँ पठाउने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बनेर कार्यान्वयनमा आउने प्रावधान छ ।
पोखरा: नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले ‘समृद्ध प्रदेश: सुखी प्रदेशवासी’ प्रति कटाक्ष गरेर सत्तापक्ष अगाडि बढ्छ भने आफूहरुलाई किमार्थ स्वीकार्य नहुने बताउनुभएको छ । बिहीबार गण्डकी प्रदेश सभाको बैठकमा बोल्दै उहाँले सरकार बदलिँदा अघिल्लो सरकारका राम्रा कामलाई निरन्तरता नदिने गरेकोमा असन्तुष्टि जनाउनुभयो । ‘नव उदारवादी अर्थतन्त्रको नाममा गरिबी बढाउने, केही मुठीभर मानिस धनी हुने, प्रदेश त्यसको मतियार बन्ने हो भने किमार्थ प्रतिपक्षलाई स्वीकार हुँदैन’ उहाँले भन्नुभयो । यसपालीको बजेट सबै दल मिलेर पास गर्नुपर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । त्यसकुरालाई ध्यान नदिई एकपक्षीय रुपमा सत्तापक्ष जाने हो भने के गर्ने भन्नेबारे सल्लाह गरेर निर्णय गर्ने खुलाउनुभयो । ‘अहिलेका मुख्यमन्त्रीले भनेजस्तो हामी २७ जना छौं देखाइदिन्छौ भन्ने पक्षमा छैन, कस्लाई देखाउनेरु जनता हाम्रो अगाडि छन् निमुखा छन् बाटो बनेको छैन, पूल बनेको छैन, बेरोजगारी हटेको छैन, औद्योगीक क्षेत्र निर्माण भएका छैनन्, वित्तीय समानिकरण अनुदानमा चुनौती आइरहेको छ कस्लाई देखाइदिनेरु’ उहाँले भन्नुभयो ‘म त्यत्रो धम्कीपूर्ण भाषा भन्न सक्ने हैसियतमा छैन, म गर्दिन पनि’ उहाँले खुलाउनुभयो । अघिल्लो वर्षको बजेट ल्याउँदा एमालेले जितेको क्षेत्रमा ताकि–ताकि बजेट काटेको आरोप उहाँको थियो । ‘अघिल्लो पटक बडा सन्तुलित अर्थमन्त्रीले ल्याएको बजेट छानी–छानी एमालेमाथि, अझ विशेषत विपक्षी दलको नेताको ठाउँमा नपार्ने भनेर सपथ खाएको त होइन होला, तर प¥यो त्यस्तो कसरी हो, म तपाईहरुलाई केही भन्दिन, तर बजेट ल्याउदा त्यसरी ताकि–ताकि ल्याउनु भयो भने मलाई ताक्नुहोला अरुलाई नताक्नुहोला’ चेतावनी शैलीमा उहाँले भन्नुभयो । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका अधिकारीले करको दर नभएर करको दायरा बढाउन समेत आग्रह गर्नुभएको छ । करको दायरा बढाउन सके आन्तरिक राजश्व बढ्ने दावी उहाँको छ । ‘करको दर होइन दायरा बढाउने र करको क्षेत्रमा ल्याउने काम गरौं, कम्तीमा तीन तारेसम्मका होटलमा हामी जाने र स्थानीय रिर्सोटहरु स्थानीय तहलाई दिने गरी जान सकियो भने आन्तरिक राजश्व बढ्छ’ उहाँको भनाई थियो । हामी हाम्रा निष्ठा विश्वासप्रति कटिबद्ध छौं, त्यो हाम्रो सार्वभौम अधिकार हो । तर, हाम्रा साझा कुराहरु पनि छन् । त्यसतर्फ ध्यान दियौँ भने हाम्रो प्रदेशलाई बलियो र सुदृढ बनाउन सक्छौ । पर्यटनको क्षेत्रमा नयाँ पदमार्ग खोल्ने, हिमालय क्षेत्रमा लुकेका पदमार्गलाई अगाडि बढाउनुपर्ने उहाँको तर्क थियो । पोखरा पर्यटनको राजधानी घोषणा गर्दाको गाइडलाइन अनुसार पूर्वाधार विकास गर्न, २४ सैं घण्टा खोल्न, सुशासन शान्ति सुरक्षा प्रदान गर्न लगानी कति हुन्छ बजेटको सिद्धान्त र प्राथमिकता बनाउँदा ध्यान दिनुपर्ने बताउनुभयो । प्रकृति र संस्कृतिलाई साथमा लिएर यहाँको पर्यटनलाई अगाडि बढाउनुपर्नेछ । जलवायू परिवर्तनले पारेको असरको समाधान गर्नेतर्फ ध्यान दिनुपर्नेछ । यसका अलावा जनसांख्यिक लाभ लिँदै उद्यमशिलतातर्फ लगरे स्वरोजगार सिर्जना गर्नेतर्फ जानुपर्ने खुलाउनुभयो । पछिल्लो समयमा चुनौतीको रुपमा देखिएको जंगली जनावर र मानवबीचको द्धन्द व्यवस्थापन तर्फ समेत प्रदेशले उतिकै ध्यान दिनुपर्ने अधिकारीले बताउनुभयो ।